
हाल अस्ट्रेलियाको पथमा छु ।
सुपरिचित आख्यानकार नयनराज पाण्डेले सोधे, “दाइ तपाईंलाई कुन पुस्तक पठाऊँ ?”
मैले भनेँ, ‘एक्लो’ र ‘यसोधरा’ ।
नयनभाइले आफ्नो बादा पुरा गरे । दुवै पुस्तक हात परे । आज ‘एक्लो’का कुरा ।
पाना हेरेँ ४९४ । अनि मूल्य हेरेँ ८४०/. । अहम् नगरीभन्दा नेपाली पाठकको सरदर आर्थिक आँट हेर्दा पुस्तक महङ्गो हो कि ? तर लेखकको कम्तीमा २ वर्षको श्रमको मूल्य, प्रकाशकको लगानी आदि हेर्दा ठीकै हो कि जस्तो पनि लाग्यो । लेखक र प्रकाशकको आँटपछि पाठकले आँट गरेर पुस्तक किन्नु पर्यो, आँट गरेरै ४९४ पाना छिचोल्नु पर्यो ।
अहम् शब्द पुनः दोहोर्याउन मन लाग्यो, अहम् नगरी भन्दा पाठकलाई एक प्रकारको चुनौती नै हो । कसैलाई मेरो कुरामा विपरीत मत छ भने आफ्नो कुरा राखौँ । म पनि सिक्छु । राम्रो तर्क आउँदा आफ्नो भूल स्विकार्दै आत्मसात् गर्छु । धेरै पाना भएको भएर नै पुस्तकको मूल्य बढेको हो भने उपन्यासलाई यति विघ्न बाक्लो बनाउन आवश्यक थिएन । उपन्यासमा समेटिएका विषय वस्तुलाई ३०० पृष्ठमा ४५०/ मूल्य राखेर पाठक समक्ष सजिलै उपलब्ध गराउन सकिन्थ्यो ।
विद्वान् समालोचक महेश पौड्याल र राजकुमार बानियाँको समीक्षा पढिसकेको थिएँ । पुस्तकबारे फेसबुकमा यत्रो हल्ला खल्ला भइसकेपछि मलाई लाग्यो मैले पनि केही लेख्नु पर्छ । तर, यो पनि एक प्रकारको समस्या हो । ८०० भन्दा बढी मूल्य चुकाएर पुस्तक किन, अनि ६/७ दिन खर्चेर पढ, अनि घन्टौं बसेर पुस्तकमाथि लेख ।
पुस्तक पढ्न मन लाग्यो किनेँ, पढेँ । सक्की गो । राम्रो नराम्रो मैले थाहा पाएँ । अब लेख्ने किन ? प्रश्न हुन सक्छ । त्यो पनि होइन । जसरी पुस्तक पढ्नको आफ्नै मजा छ लेख्नुको पनि उस्तै मजा हुन्छ । कुनै पनि काम गर्दा मजा आउनु पर्छ । मजै आएन भने मजाको बेइज्जती हुन्छ ?
मात्र एउटा कुरा यो समीक्षा होइन । यो एलबीको पाठक प्रतिक्रिया हो ।
पाठकले यस उपन्यासको म पात्र सिरीबाटै लेखकको मनोभाव बुझ्न थाल्छ । उपन्यास मानव चरित्रको चित्रण भएकोले लेखकले काल्पनिक पात्रहरूलाई माध्यम बनाएर चित्रित गरेको उसको आफ्नो मनोभाव नै हो । साथै पाठकले पढ्ने क्रममा उपन्यासका पात्र वा घटनाक्रमसँग आफूलाई जोडेर पनि हेर्न सक्छन् । यस क्रियालाई तादात्मीकरण प्रक्रिया पनि भन्न सकिन्छ । लेखक, उपन्यासको पात्र र पाठकबीच एक प्रकारको तारतम्य स्थापित भइरहेको हुन्छ । तुलना पनि हुन सक्छ र हुन्छ पनि ।
घटनाक्रमलाई हेर्दा सिरीको कथा अलिअलि मेरो कान्छो छोरासँग मेल खाँदो रहेछ । सिरी एस.एल.सी.मा गेस मार्कको अनुकम्पाले पास भएको रहेछ भने मेरो कान्छो त ऊ भन्दा पनि अब्बल । एस.एल.सी. मै गुल्ट्याङ्ग । तर फेल भए पनि अंग्रेजीको प्रोफेसरको छोराले बाउको इज्जत धानेको थियो । ब्याक अंग्रेजीमा होइन म्याथमा । अर्को वर्ष क्लियर गरेर आइ कम पढ्ने सिलसिलामा सिरीकै शैलीमा काठमाडौंलाई आफ्नो परिचय स्थल बनाउने चाहना गर्यो ।
छोराको राजधानी प्रेम देखेर खुसी लाग्यो । तर के गर्ने, आइ कममा फेल भा छ, भा छ । ऊ फेल भएको भइ हुँदा पनि चामल र नोट लिएर आमा प्रत्येक महिना पुगिराख्थिन् । काठमाडौँमा उसले कहाँकहाँ डेरा सरेन ? तेस्रो पटकमा उसले कम्प्युटर साइन्स क्लियर गरेर बि.बि.यस. मा भर्ना हुँदा मैले लामो सास फेरेको थिएँ । त्यही खुसीमा उसले मेरो मोटर साइकल माग्यो । त्यो ताका अर्थात् २०६२ तिर म क्याम्पास चीफ भएकोले क्याम्पसको मोटर साइकल चलाउँथेँ ।
…
अब ‘एक्लो’ उपन्यासमाथिको अहम् प्रश्न – पुस्तक बाक्लो छ र महङ्गो छ, माथि नै भनिसकेको छु । ८०० रुपैँया तिरेर किनेको पुस्तकबाट पाठक वर्गको केही त अपेक्षा हुन्छ नै । पाठकको त्यो अपेक्षा पूरा गर्न पुस्तक सफल छ ?
समयको निकै महत्त्व हुन्छ । ५० पृष्ठ प्रतिदिनका हिसाबले पनि १० दिन लाग्छ यो पुस्तक पढ्न । १०० का हिसाबले ५ दिन । उपन्यास आनन्दका लागि पढ्ने हो मेलो पुर्याउन होइन । उपन्यासले आनन्द दिन सकेन भने कृतिले तान्दैन कि आफैँ लतारिन पर्छ पानाहरूका पछिपछि । एउटा राम्रो कुरा के भने बुझेर पढ्नेहरूका लागि खासै बुझ्नु पर्ने केही छैन यसमा । सिरीको मुखबाट सिरीको कथा सरर बग्दै गर्छ । कुनै जटिल पटकथा छैन पाठकलाई अलमलिनु पर्ने ।
आइएमा फेल भएको, भाडा तिरेको वा तिर्न न सकेको, घरबाट बाउले पैसा पठाएको वा न पठाएको, बैँक धाएको, खाटमा पल्टेर सिलिंगतिर हेर्दै गरेको अनि ऊ जस्तै दुई-तीन जना लफङ्गुहरू टोप, सुर्यबहादुर, आदि र लाफङ्गुहरूकै आदर्श रूप भीमसेन आदि आदि सितको झीना मसिना कथा वस्तुको सेरोफेरोमा उपन्यासले निकै पाना पचाएको छ ।
यी सब बुझ्न धेरै टाउको दुखाउन पर्दैन । पढ्दै गर्दा यिनीहरूप्रति न कुनै गुनासो न कुनै हर्ष । तर मान्नु पर्छ लेखकले यस्तो हल्का विषय वस्तु र यस्ता साधारण पात्रलाई लिएर पनि कत्ति झ्याउ नमानी यति बाक्लो उपन्यास लेख्न सके । प्रकाशकलाई छाप्न बुद्धिसागर नाम नै काफी । कर्णाली ब्लुजले बनाएको बेस्ट सेलर सेलिब्रेटी जो हो । बधाई छ कवि ।
…
यति महङ्गो र समय खर्चेर पढेको पुस्तकको विषय गम्भीर हुनु पर्ने मेरो प्रस्ट धारणा हो । किनकि विश्वेश्वरप्रसाद कोइरालाको मोदीआईन र नयनराज पाण्डेको उलार निकै साना छन् तर विषयले मथिङ्गल हल्लाउन सफल छन् । यति मोटो किताबले मजस्तो पाठकलाई खासै छुन नसक्नु कृतिको कमजोरी हो ।
मोटो पुस्तकको कुरा गर्दा हेनरी फिल्डिंगको टम जोन्स, जेम्स जोइसको युलिसेस, नेपालकै मदनमणि दीक्षितको माधवी, लिओ टोल्सटयको अन्ना केरेनिना धेरै नाम लिन सकिन्छ । तर तिनमा विषय छन्, मुद्दा छन् । विषयमा गम्भीरता छ । बिचरा सिरी न आफू गम्भीर छ न उसको घटनाक्रम न उसका छर छिमेकी मित्र ।
बेकनको भनाइ छ – कुनैकुनै पुस्तक टेस्ट (स्वाद) लिने र थन्काइदिने । कुनै पुस्तक सर्लक्कै निल्दिने र कुनैलाई चबाई चबाई खाने र पचाउने । यस उपन्यासमा शीर्षकअन्तर्गत धेरै च्याप्टर छन् । कुनै कुनै च्याप्टर टेस्ट गरेर राख्दिने खालका, कुनैकुनै सर्लक्क निल्दिने खालका तर जहाँजहाँ समीरा भेटिन्छिन्, उनको प्रसङ्ग चबाई चबाई खाने र पचाउने भित्र पर्छ । राम्रोको प्रशंसा सबैले गर्छन् । म पनि गर्छु ।
ब्याक ग्राउण्डमा उपन्यासभरि छिरलिएर बसेका माओवादी घटनाहरूको उपस्थितिलाई कसरी जस्टिफाई गर्ने ? नयाँ के छ त्यसमा वा उपन्यासले कसरी त्यसको माग गर्यो ? माता पिताको इच्छा विपरीत विदेश गएको छोराले विदेशी केटीसँगको विवाह, नेपालमा प्रकाशनको समस्या र नील-समीराको प्रेम प्रसङ्गमा सीमित रही जीवन दर्शन सहित गम्भीर साहित्य डिजाइन गरेको भए बुद्धि सागरले न्याय गर्न नसक्ने होइनन् । ४५६-५८ मा रहेको समीराको मोनोलग बयान, उसको जीवन दर्शन र दृष्टिकोण बुद्धिसागरको अद्वितीय लेखन हो । वाह !
त्यसर्थ कहाँ र कसरी कुरो बिग्र्याे र बुद्धिसागर किन उपन्यास लेखनको यो अहं पाटोलाई बिर्सेर कन्फ्युजड शैलीमा कलम चलाउँदै गए ? कतै प्रकाशकको चेप्पुवामा त परेनन् ? कुरो त्यसरी पनि बिग्रन्छ । ‘फिरफिरे’ र ‘एक्लो’मा ७ वर्षको ग्याप छ ।
…
यस उपन्यासबाट सिक्न पर्ने वा लिन पर्ने कुरा के छ ? राजकुमारले आफ्नो समीक्षालाई बीट मार्दै लेखेका छन् “सिरीले आवाजकी डिजाइनर समिरालाई भेट्छ कि भेट्दैन ? त्यो थाहा पाउन उपन्यास नै पढ्नुहोला ।“ समीराको मोनोलगमा लिन सके लिनु पर्ने कुरा धेरै छन् ।
“मलाई थाहा छ, काठमाडौंको घेरो नाघेपछि मेरो हुनेछैन । तर मेरो आत्मविश्वास छ– म धेरै मानिस कमाउनेछु । म ती मानिस कमाउनेछु, हो आफ्ना लागि अधिकार, स्नेह र सद्भाव अर्को भाषामा खोज्न चाहन्छन् ।” (४५७ कृपया पुरै पढ्नु होला । निकै मार्मिक पङ्क्ति छन् )।
यी शब्द समीराले बोले पनि लेख्ने बुद्धिसागर हुन् । यसले उनको बौद्धिकता र काव्यिक भोकको परिचय दिन्छ ।
समीरालाई सिरीले मन पराउँदा मैले पनि मन पराएँ साथै सिरीप्रति दया जाग्यो । दया !
पर्लबकको उपन्यास गुड अर्थको प्रसङ्ग राम्रो छ । तर धेरै प्रश्न उठ्न सक्छन् । आई.ए.मा बारम्बार अंग्रेजीमा फेल हुनेले शब्दकोषबाट गुड अर्थका शब्दहरूको माने खोजेर पुस्तक पढेको अलिक पत्यार लाग्दो छैन । अनि, त्यति प्रसिद्ध पुस्तकलाई सिरीले धेरै माया गर्छ भने लेखकद्वारा अन्य सतही प्रसङ्ग हटाएर गुड अर्थभित्रको विषय वस्तुमाथि पनि केही चर्चा गरेको भए ?
मैले नबुझेका धेरै कुरा छन् जस्तै यस उपन्यासको मुख्य पात्र वा हेरो (प्रोटागनिस्ट) सिरी हो ? किन त उसको चरित्रमा गिरावट ? पहिला चुरोट रक्सि खाँदैनथ्यो तर आमा, बा र दाजुबाट प्राप्त आर्थिक सहयोगबाट ऊ रातारात २८ हजारे ओइल किंग सिरी बन्न पुग्छ । तर उसको चरित्रमा सुधार आउँदैन ।
लेखकको विचारमा श्री टाइपका नेपाली केटाहरू यस्तै हुन् कि ? सदा संयोगको भरमा बाँच्ने ? कहिले जुत्ता भेटाउने कहिले पैसा । एउटा अर्को कुरा पनि सिरी अश्लील उपन्यास लेख्न मान्दैन तर सम्पादन गर्छ । सिरीको चरित्रलाई राम्रोसँग अध्ययन गर्ने हो भने लेखकले उसलाई खण्डित मानसिकताको पात्रका रूपमा उभ्याएका छन् ।
अनि मावोवादीकोका एक्टिविटी- ल ठीक छ युद्धको मौसमले गर्दा, तर आदिलाई मर्न(मार्न) किन जरुरी पर्यो ? यसले उपन्यासको पटकथा संरचनामा कसरी सहयोग गर्छ ? अर्को मन्दिरमा भिकारीसँग सुतेको र कतिदिन भोकै बसेर बेहोस भएको अनि घरबेटीले लगेको आदि आदि त अलिक बढी नै नाटकीय भए जस्तो मलाई लाग्यो ।
आख्यानको धरातल काल्पनिक हुन्छ तर सत्य जस्तो देखिनु पर्ने होइन र ? मैले त कक्षा कोठामा यसरी नै पढाउथेँ । कथाले माग्दै नमागेका धेरै प्रसङ्ग छन् । दरबार हत्याकाण्ड त सत्य घटना नै हो । सबैलाई थाहा भएको र कालो इतिहास बनिसकेको छ अनि उपन्यासमा यसको प्रासंगिकता ? अनि उपन्यासमा समावेशको कारण ? रेष्टुराँको मेन्यु र वस्तुको विस्तृत विवरण । कथा लम्ब्याउनकै लागि जस्तो लाग्छ ।
कुनै योजना न बनाई ६/७ वर्षको लामो समयसम्म मनमा आएका कुरा डाईरीमा टिपोट गर्दै गर्यो अनि लामो समयको टिपोटलाई उपन्यास बनाउँदा लेखकमा कन्फुजन आउँछ नै । साँझपख टेबलमा बस्यो दिमागमा विभिन्न कुरा लेखिरहन्छन्, तिनै लेख्यो अनि फाइन प्रिन्टलाई दियो । यो लेखन-धर्मको विरुद्ध भएन र ?
उपन्यासमा कथाको कुनै सिक्वेन्स नभएकोले २०० पृष्ठ पढिसकेपछि जुन च्याप्टर पल्ट्याएर पढे पनि फरक पर्दैन । तर समीराको प्रसङ्ग भने निकै गम्भीर शैलीमा पढ्दा राम्रो । महाभारतमा युधिष्ठिर बनवासमा हुँदा महर्षि वृहद्श्वले नल दमयन्तीको कथा सुनाएका थिए । दमयन्ती धेरै सुन्दरी थिइन् ।
सिरीको दस ब्याण्डको रेडियो महर्षि वृहद्श्वको अवतार बनेर समीराको कथा सुनाउँछ । त्यहीँबाट उसले गुड अर्थ जस्तो विश्व प्रसिद्ध पुस्तकको नाम सुन्छ । थोरै भए पनि जीवनको अर्थ बुझ्न थाल्छ । यसको अर्थ सिरीलाई उपन्यासकारले नेपालको आधुनिक युधिष्ठिर भनेका छैनन् । लेखकले उसको चित्रण पृष्ठ २ मै गरेका छन् –“मावोवादी तिम्रै उमेरका हुन्छन् । अनि जिङ्र-रिङ परेका दुब्ला, कपडा मैलेका र मैलो झोला बोकेका हुन्छन् भन्ने सुनेको थेँ । तिमी ठ्याक्कै त्यस्तै छौ ।”
…
अन्त्यमा उपन्यासमा प्रश्न गर्ने धेरै ठाउँ छन् तथापि औसत छ तर हीलोमा कमल खिलेझैं समीरा खिलेकी छन् । उपन्यासको शक्ति !
राजकुमार भाइ मैले तपाईंको समीक्षा पढेर तपाईंको स्टेटसमा केही भनेको थिएँ । उपन्यास पुरै पढेर आवश्यक परेमा मेरो भनाइ फिर्ता लिन्छु भनेको थिएँ तर फिर्ता लिने परेन । म आफ्नो भनाइमा कायम नै रहेँ है । अस्तु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

