परिदृश्य १ :

चोभार डाँडाको उत्तरपश्चिमतर्फको पाखोमा छ जाल्पादेवी मन्दिर । यहाँबाट कीर्तिपुरको थुम्को छ्याङै देखिन्छ । चन्द्रागिरीको पूरै रेन्ज मात्र हैन काठमाडौँ उपत्यकाको पूर्वदक्षिण कुनामा रहेको फुलचोकी डाँडाबाहेक करिब दुइसय सत्तरी डिग्रीको नजारा देखिने यो गजबको भ्यान्टेज प्वाइन्ट हो ।

बिक्रम भक्त जोशी

त्यो दिन म नियमित हिँडाइका दौरान त्यतै पुगेको थिएँ । वरपरको नजारा त लोभलाग्दो थियो नै, मौसम पनि बिछट्टै सुहाना थियो । तर एउटी महिलाको च्याँठिएको आवाजले छिनछिनमा वातावरणको सौम्यतालाई बिथोलिरहेको थियो । हाइटमा रहेको मन्दिरको अग्रभागको चाक्लो बार्दली भागबाट तल हेर्दा एउटी वृद्ध महिला चौरको छेउमा निस्फिक्री आफ्ना बाख्रा पाठाहरुको बथानलाई गाली गर्दै थिइन् । लठ्ठी उजाउँदै सराप्दै थिइन् । दृश्य हाँसउठ्दो त थियो नै, ती महिलाको गोडागोडामा ढेपिँदै अल्झाउँदै गरेका सानो कालो पाठोको अबोधपन उत्तिकै प्यारो थियो । अलि मास्तिर पुरानो ढुङ्गे घरमा यी निसन्तान एकल महिला यिनै मूक प्राणीहरुसँग बस्दिरहेछिन् । यो जान्दा मनमा अत्यास लाग्यो ।

करिब एक महिनापछि बुङमतीभन्दा दक्षिणतिर रहेको फर्सीडोल हुँदै सल्यानटार जाने उकालो चढ्दै गर्दा तिनै चोभारवाली वृद्धाको झझल्को दिने अर्की महिला झुप्रोअघि निस्सार बसेकी देखेँ । टाढा टाढा केही खोज्दै गरेको भावमा । मानौं कसैलाई कुर्दैछिन् । एउटा नमिठो भावनाले मनमा चसक्क पार्‍यो ।

अनि सोचेँ, किन नकोरुँ यिनैजस्ता वृद्धाहरुको एकाकीपनको एउटा कथा !

परिदृश्य २ :

फेरि चोभार ! यसपटक भने पाङ्गा जाने बाटोतर्फको हिँडाइका क्रममा । एउटा बाह्र-तेह्र वर्षजतिको बालक काठको गाडाको भरमा आफ्ना लुला पाइला चाल्दैछन्, आफ्नो लल्याकलुलुक परेको ज्यान तिनैमा टिकाउँदै, तिनकै भर लत्रिँदै । कष्टप्रद लाग्ने हिँडाइका बीच उनको अबोध हाँसो, यस्तो लाग्थ्यो मानौं बादलबीच चियाउँदै गरेको उज्यालो चन्द्र । म सद्दे शरीर लिएर पनि हिँड्न गाह्रो मान्दै थिएँ । दु:खमनाउ गर्दै थिएँ । आखिर दु:खको परिभाषा के हो त ? त्यो भनेको आफूद्वारा परिभाषित कम्फोर्ट जोनको दायरा संकुचन हुनु हैन त ? दु:खका बीच सुख खोज्नुपर्ने रैछ, भेटिन्छ ! बस्, हिँडाइले दुखेका मेरा गोडा तत्काल बिसेक भए ।

अनि सोचेँ, किन नकोरुँ यिनैजस्ता फरक क्षमता राखेर हाँस्दै गरेका अबोध पात्रहरुको एउटा कथा !

परिदृश्य ३ :

एकदिन म हिँड्दै थिएँ, नागदहलाई पछाडि छाडेर, बज्रबाराहीतिर जाने बाटोमा, एकसुरले । मानिस उति हिँडेका थिएनन्, टन्टलापुर घाम जो लागेको थियो । आँखीदह के कटेको थिएँ, मेरो पछाडि सर्‍याकसुरुक गर्दै केही चीज दायाँबाट बायाँ हुत्तियो । दुई-चार पाइला के अघि बढेको थिएँ, फेरि उस्तै सर्‍याकसुरुक गर्दै केही चीज बायाँबाट दायाँ हुत्तियो । यसपटक देखेँ, सानो काँठको न्याउरीमूसो दायाँतर्फको झ्याङमा पस्दै गरेको ।

पर बज्रबाराहीको जङ्गल नजिकिँदै थियो । देब्रेतिर सन्तानेश्वर महादेवको थुम्को ठिङ्ग उभिएको थियो । एक्लो हिँडाइले कल्पनाको घोडा बेतोड कुदाउने गर्छ । हिँड्दै जाँदा एउटा सरियल पात्रको जन्म भयो दिमागको एउटा कुनामा । बज्रबाराही देवी आफ्नो बँदेलस्वरुप धारण गरेर पाल्नुभो र सर्याकसुरुक गर्दै घरि दायाँबाट बायाँ त घरि बायाँबाट दायाँ हुत्तिँदै मेरो पिछा गर्न थाल्नुभो । के हुँदैछ थाहै नदिई अचानक मलाई जुरुक्क उचालेर आसमानमा विचरण गराउनुभो । तन्द्रा न हो, चञ्चल मन उड्न कत्ति पनि बेर लागेन ।

अनि सोचेँ, किन नकोरुँ त्यो सगर विचरणको एउरा स्वैरकाल्पनिक कथा !

एवम् रीतले ‘निकथा’को खाका तयार भयो । त्यतिखेर थाहै थिएन, यी निकथा हुन् भनेर !

एकदिन सखारै मेरो घरको कौसीमा आएर कुट्कुट् कुर्र गर्दै कराइबस्ने अनि नयनमा पहेँलो गाजल लगाउने सारौँ चरीले डाङ्ग्रेको नाम लिएर आयो र मेरो कानमा सुटुक्क एउटा करुण कथा सुनाएर गयो । बाध्यताले बाढीमा हेलिएर बग्दै बेपत्ता हुने एउटा भुइँमान्छेको कथा । त्यो मैले कोरेँ । त्यो प्रकाशित भयो साहित्यपोस्टमा, नाउँ थियो ‘सुनको पोको’ ।

लगत्तै साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको प्रोपोजल आयो, पुस्तक प्रकाशन गर्ने हो ? ओके भनेँ । १५ कथा रेडी थिए । पठाएँ । ग्रीन सिग्नल पाएँ । चार अरु थपेँ र १९ कथाको भोलुम तयार पारेँ । सबै पढेर ‘जुकरबर्ग क्याफे’का मालिकले भन्नुभो, अरे, यो त निकथा हो ! के हो निकथा- मेरो प्रश्न । नियात्रा पनि छ, निबन्ध जस्तो पनि । कथा त हो नै । अनि भएन त निकथा ? प्रधानसम्पादकज्यूले मुसुमुसु हाँस्दै भन्नुभो । म भने अनिश्चित अवस्थामा रहेँ । यस्तो पनि हुन्छ र ? कहिल्यै नसुनेको विधा । तर सोच्दै जाँदा हो कि जस्तो लाग्यो । मनमनै गमेँ । हो त, बातमा दम छ है । कन्भिन्स्ड भएँ ।

आखिरमा, पुस्तकको भित्री पृष्ठमा विधा अन्तर्गत ‘निकथासङ्ग्रह’ भनेर छापियो ।

निकथा अर्थात् नियात्रात्मक कथा, या भनूँ निबन्धात्मक कथा !

जब म हिँडाइमा निक्लेर फर्कन्थेँ, मैले छिचोलेका बाटाहरु अनि पुगेका ठाउँहरुको वर्णन गर्दै फेसबुकमा फोटाहरु पोस्ट गर्ने गर्थें । बाटो र यात्राको वर्णनले नियात्रा बनायो । ठाउँ, भूगोल, कल्चरको वर्णनले निबन्ध बनायो । यो सिलसिला क्रमबद्ध चल्यो केही समय । तर म मेरा वर्णन अझ इन्ट्रेस्टिङ होस् भन्ने चाहन्थेँ । त्यही भएर यात्राका दौरान भेटेका पात्रलाई टिपेर तिनका वरिपरि कथा बुन्न थालेँ, कुनै काल्पनिक घटनाक्रमको बुनोटमा । तिनै कथालाई वर्णनको घोलमा मिसाएर फिटेँ । नियात्रा, निबन्ध र कथाको फ्युजनले बनेको पूर्ण चित्रले एउटा छुट्टै प्रकारको कथा बोल्न थाल्यो ।

उदाहरणका लागि बोसन डाँडाको परिचयात्मक वर्णनमा एक्लो बूढोको कथालाई मिसाउँदा मेरो पहिलो निकथा ‘बोसनको सेरोफेरो: यथार्थको अनुभूति’ को जन्म भयो । जुन पछि ‘बोसन हाइट’ शीर्षकमा छापियो ।

वास्तवमा, हरेक पटकको यात्रामा रियल पात्र भेटिन्न । सम्भव नै पनि हुन्न । नभेट्दा के गर्ने त ? त्यस्तो बेला जन्माएँ सरियल पात्र यानि स्वप्नरुपी पात्र, जुन नितान्त मेरो मस्तिष्कको उपज हुन्थ्यो । तिनै पात्रलाई निकथाको प्रोटागोनिस्ट बनाएँ । थोरै फेन्टासीको तड्का थपेँ, कतै म्याजिक रियालिज्मको बुट्टा हालेँ । बस्, निकथा तयार !

यस लेखको सुरुमा उल्लेखित तीन परिदृश्यहरु दृष्टान्त हुन्, कसरी मेरा यात्राका दौरान भेटेका र कल्पेका पात्रहरुको वरिपरि फन्को मार्दै निकथा बने भनेर । पहिलो परिदृश्यले ‘उत्सर्ग’ जन्मायो, दोश्रोले ‘पर्खाल’, अनि तेश्रोले ‘फ्लानर फेन्टासी’ ! प्रत्येक निकथा निर्माणका पछाडि आफ्नै कथा छन् । यहाँ हरेकका बारे लेख्न सम्भव छैन । पढ्न पनि त झिजो लाग्ला । फुर्सदमा भेटेर सुनाउँला, हुन्न ?

अँ- अनि म कोसिस गर्छु यी निकथाले कुनै न कुनै किसिमबाट सन्देश प्रदान गरुन्, मोरलका रुपमा होस् कि इन्फर्मेसनका रुपमा । ताकि पाठक सोचमग्न होउन् । केही सिकुन् । चिन्तन गरून् ।

संक्षेपमा भन्दा निकथालाई म यसरी परिभाषित गर्न रुचाउँछु-

निकथा त्यस्तो रचना हो जसमा तीन तत्त्वहरु हुन्छन्- तथ्य, कथ्य अनि सन्देश !

यात्राका वर्णन, स्थान संस्कृति भूगोलको सतही वर्णन तथ्यका रुपमा दरिने भए । तिनका वरिपरि बुनेको रियल वा सरियल पात्रको कथाले कथ्ने भए कथ्य । तथ्य र कथ्यको सम्मिश्रणले कुनै न कुनै सोसल वा कल्चरल मुद्दालाई सम्बोधन गरोस्, कुनै न कुनै सकारात्मक सन्देश वा इन्फर्मेसन देओस्, जुन लेखनको मूल अभिप्राय हुने भए ।

यसरी त्रिशूलका तीन हाँगा तयार हुन्छन्, जसको बिँडमा कथानकको माखेजालो तयार पार्छु । र, बन्छ एउटा निकथा !

अँ, ‘चोभार ब्लुज’ शीर्षकबारे नालीबेली त सुनाउनै बाँकी छ ।

चोभार- मैले होस सम्हालेदेखि मेरो घरको झ्यालबाट देखिने डाँडा । मेरो घरको दक्षिण-पश्चिम दिशामा टुसुक्क बसेको हुन्छ त्यो, चम्पादेवी पहाडको काखमा । उराठलाग्दो गर्मीको मौसममा होस् कि माघको ठिहिर्याउने जाडोमा, त्यो डाँडाले मेरो साथ छोडेन । त्यो डाँडा, जुन विहानको छ बजे रेडियोमा ‘जय शिव शङ्कर’ भजनका बीच बीचमा बज्ने शङ्खको ध्वनिसँगै उजेलिँदै गएको म हेर्दै हुन्थेँ । साँझको सूर्यास्तसँगै अँधेरो छाउँदै जाँदा म साँझ साढे पाँच बजे बज्ने बाल-कार्यक्रम सुन्दै मधुरिँदै गएको तिनै डाँडा नियालिरहेको हुन्थेँ ।

हो, चोभारसँग मेरो एउटा सुन्दर सम्बन्ध छ, बाल्यकालको नोस्टाल्जिया छ । यो डाँडाको थाप्लोमा लटरम्म फल्ने ऐँसेलु टिप्न जाँदा चिथोरिएका हातले नोस्टाल्जियालाई अझ गाढा बनाउँछ । चोभारसँगको सम्बन्ध अझ प्रगाढ बनाउँछ । यही डाँडाको फेदमा त्यतिखेर निर्मल बग्ने वाग्मतीमा मेरो असफल पौडी कक्षाको याद जुडेको छ । नदीपारी ठाडो डाँडाको उकालो चढ्दा चिप्लिएर फेदसम्म घिसृँदा छिल्किएका छालाको चर्चराहट छ ।

त्यसैले ती यादहरुलाई भौतिक स्वरुप दिने मन सधैँ रह्यो । त्यो डाँडालाई श्रद्धासुमनको एक थुङ्गो सम्मान चढाउने रहर सधैँ रह्यो ।

यसरी मेरो निकथासङ्ग्रहको शीर्षकमा ‘चोभार’ समेटियो ।

अब रह्यो ‘ब्लुज’ माहात्म्य । नेपाली साहित्यका पुस्तकको शीर्षकमा समावेश गर्न निक्कैले निक्कै रुचाएको निक्कै नै पपुलर शब्द । धेरैले मेरो खिसीट्युरी गरे । बुक टाइटलका लागि अरु शब्दै नभएको जस्तो, नेपाली शब्दै नपाएको जस्तो भनेर कृटिसाइज गरे । तर यो शब्दले जस्तो अरु शब्दले कथासङ्ग्रहका निकथाहरुलाई न्याय दिएको मैले भेटिनँ । किनकि प्रत्येक निकथामा एउटा ‘कशिश’ छ, एउटा स्याडनेस, एउटा ब्लुज ! जिन्दगीको यात्रामा भेटिने अवसाद ! त्यसैले एक समय ‘चोभार अवसाद’ नामकरण गरुँ कि भनेर बनाएको सोचलाई समेत तुहाएँ । पश्चिमेली देशमा रङ्गभेदका कारण अफ़्रिकी समुदायले आफूले खेप्नुपरेको दु:ख भुलाउन गाउने ‘दर्दभरी’ गीत ‘ब्लुज’ले जताउने अर्थले मेरा निकथाको आत्मालाई जागृत गरेझैं मलाई लाग्यो । मैले ‘ब्लुज’ रोजेँ ।

यसरी मेरो निकथासङ्ग्रहको न्वारान भयो – ‘चोभार ब्लुज’ भनेर !

मेरा लेखाइमा हिँडाइका कुरा धेरै उल्लेख भए, अत: यो विषयमा क्लारिफिकेसन दिनुपर्ने जरूरी देखेको छु । यो मान्छे किन धुमधुम्ती एक्लै हिँडिबस्छ भन्ने कौतूहल मेटाउन जरूरी छ ।

बहत्तरको भुइँचालोले त्रस्त मनलाई किञ्चित् शान्त पार्न म हिँड्न थालेको हुँ । र, लगत्तै आएका स्वास्थ्यमा थोरबहुत गडबडीलाई मेन्टेन गर्न पनि हिँड्न थालेँ । धेरैजसो एक्लै हिँडेँ । ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा घन्काउँदै रनबन डुल्ने ‘प्रकृति प्रेमी समूह’सँग पनि हिँडेँ । नीला टिसर्टमा सजिएर ठमठम्ती पहाडको थाप्लैथाप्लो लम्किने ‘हाइक फर नेपाल’ का जवानहरुको जमातमा मिसिएर हिँडेँ । अरु चार मिलनसार साथीसङ्गीका साथ हिँड्दाहिँड्दै आफैँलाई ‘यात्री द हाइकर्स’ नाम दिएर पनि हिँडेँ ।

त्यो बखत खुब हिँडेँ । कतिपय हिँडाइमा मेरा निकथाका खुराक आफूले टेकेका माटोमै भेट्न थालेँ । त्यतै बग्दै गरेका शीतल हावामा भेट्न थालेँ । शीतले लपक्कै भिजेका घाँसका त्यान्द्रामा भेट्न थालेँ । च्यातिएका लुगा लगाएर धुलोमैलोमा लडीबुडी खेल्दै गरेका बालकहरुको अबोध मुस्कानमा भेट्न थालेँ । ती सबै हेलैसित टपक्क टिप्दै मोबाइलको नोटबुकका पानाहरुमा सँगाल्दै गएँ । पुस्तक तयार पार्न लेखिएका प्रत्येक शब्द यही मेरो मोबाइलमा टाइप गरिएका हुन् । कहिल्यै कापीमा लेखिनँ । कम्प्युटरमा टाइप गरिनँ । अहिले सोच्दा मज्जा लाग्छ । यसरी पनि पुस्तकको पाण्डुलिपि तयार हुँदो रहेछ !

कहिलेकाहीँ म आफ्नै पुस्तक पल्टाएर पढ्न बस्छु । पढ्दै जाँदा सोच्न थाल्छु- कतै मैले यी निकथाका मार्फत् आफ्नै भोगाइका कथा त लेखिरहेको छैन ? अथवा भनुँ मेरा अनुमानित भोगाइका कथा लेख्न खोजेको त हैन ?

सोच्छु, ‘बोसन हाइट’का एक्लो वृद्धको कथामा आफ्नो वृद्धत्व गाँसेर म कतै सोलिटारी लाइफको दमित त्रास व्यक्त गर्दै त छैन ? अनि फेरि सोच्छु, ‘लकडाउन फेन्टासी’को आफ्नो अल्टर इगो पात्रमार्फत् कतै म आफैँलाई सकारात्मक सोचको पक्षधर बनाउन खोजेको त हैन ?

मानौं चोभार ब्लुजले मलाई उजागर गरेको छ ।

बस्, यिनै गन्थनको सिलसिला न हो, चोभार ब्लुजको निकथा !