सन् २०२२ मा सबैलाई चकित पारेर कोलिन हुभर सबैभन्दा बढी बिक्री हुने लेखिका बन्न पुगेकी छन् ।
उनको इट इन्ड्स विद अस २७ लाख २९ हजार प्रति बिक्री हुन पुग्यो । त्यस्तै भेराइटी २ लाख ४ सय १८ प्रति बिक्री भयो । इट स्टार्ट्स विद अस १८ लाख ८५ हजार तीन सय ५१ प्रति बिक्री भयो । यस्तै अग्ली लभ १५ लाख २ हजार ३६ प्रति बिक्री भयो । उनको रिमाइन्डर्स अफ हिम १२ लाख ३५ हजार ६ सय ५५ बिक्री भयो । नोभेम्भर ९ भने ९ लाख ९९ हजार ५ सय ५२ प्रति बिक्री भयो । अल योर पर्फेक्ट्स ५ लाख ९१ हजार ९ सय ३६ प्रति बिक्री भएर चकित पार्न सफल भयो । त्यस्तै मे बि समडे उपन्यास ५ लाख ४३ हजार ६ सय ५८ प्रति बिक्री भएर वर्षभरि बिक्री भएका २५ सूचीमा २४ औँ नम्बरमा पर्न सफल भयो ।
पुस्तक बिक्रीबारे चासो राख्ने कम्पनी एनपिडी बुकस्क्यानका अनुसार हुभरका तीन उपन्यासले त वर्षभरि बेस्टसेलर सूचीमा नाम राखिरहे । उनका सम्पूर्ण उपन्यास एक वर्षभरिमा १ करोड ४३ लाख प्रति बिक्री भएका छन् । यो त प्रिन्ट कपी मात्र हो । इबुकको गणना भने गरिएको छैन ।
उनका दुई उपन्यास इट इन्ड्स विद अस र भेराइटी २०‑२० लाख प्रति बिक्री भएर सबैलाई चकित पारिदिएका छन् ।
उपन्यासहरू गत वर्ष निकै राम्रो बिक्री भएको एनपिडी बुकस्क्यानको तथ्याङ्क छ । २०२१ को तुलनामा २०२२ मा साढे आठ प्रतिशत बढी उपन्यास बिक्री भए । सबैभन्दा बढी बिक्री भएका २५ पुस्तकमध्ये १५ वटा उपन्यास नै छन् । सबैभन्दा बढी बिक्री भएको गैरआख्यानमा एउटै मात्र पुस्तक परेको छः एटमिक ह्याबिट्स । वर्षभरि यो पुस्तक अमेरिकामा मात्र १२ लाख ७२ हजार प्रति बिक्री भयो । सन् २०१८ मा प्रथम पटक बजारमा निस्केको यो पुस्तक हालसम्म एक करोड प्रति बिक्री भइसकेको छ भने ५० भाषामा अनुदित भइसकेको छ ।
हुभरको जस्तो प्रायः सबैजसो उपन्यासले वर्षभरि बढी बिक्री हुने मौका अरूले नपाए पनि टप २५ मा एमिली हेनरीका दुई पुस्तक भने सूचीमा चढेर एउटै व्यक्तिका एकभन्दा बढी पुस्तक बिक्री हुने सूचीमा पर्न सफल भयो । उनको बुक लभर्स ५ लाख ७६ हजार ७ सय १ प्रति बिक्री भएर २१ औँ नम्बरमा चढ्यो भने पिपुल वि मिट अन भ्याकेसन उपन्यास ५ लाख ४० हजार ८ सय ३ प्रति बिक्री भएर २५ औँ नम्बरमा रहन सफल भयो ।
बढी बिक्री हुने सूचीमा यस पल्ट अचम्म चाहिँ जेम्स प्याटरसनका लागि रह्यो । २५ बढी बिक्री हुने उपन्यासमा कतै पनि उनका उपन्यास परेनन् । जबकि यसअघि उनका कयौँ उपन्यासहरू सूचीमा पर्ने गर्थे । अँ, सूचीबाहिर उनको उपन्यास रन रोज रनले ५ लाख १५ हजार प्रति बिक्री भएर नाम राख्न सफल भएको छ । यो उपन्यासको चर्चा यहाँ किन गर्नु परेको भने उनले यो उपन्यास डली पार्टनजस्ती प्रख्यात गायिका तथा अभिनेत्रीसँग मिलेर लेखेका थिए । यस्तै अर्का गज्जबका थ्रिलर उपन्यास जोन ग्रिसम लेखक पनि चिप्लिएर २९ औँ नम्बरमा पुगेका छन् । उनको द ब्वाइज् फ्रम बिलोक्सी ४ लाख ९५ हजार प्रति बिक्री भएको छ ।
उसो भए यी उपन्यासको बिक्रीले पाठकहरूको कस्तो मनस्थिति प्रतिविम्बित गरिरहेको छ त ? विश्लेषकहरू भन्छन्, लगातार तीन वर्षको कोभिड १९ को महामारी र त्रासका बीच मानिसहरूले आफूलाई बिर्सन खोजेका छन् । उनीहरूलाई केही रमाइलो चाहिएको देखिन्छ । रेड ह्यान्डेडः हाउ अमेरिकन एलिट्स गेट रिच बाई हेल्पिङ चाइना विन किताब यसपटक २ लाख ४५ हजार मात्र बिक्री भयो । त्यस्तै डोनाल्ड ट्रम्पमाथि लेखिएको कन्फिडेन्स म्यान १ लाख २७ हजार प्रति मात्र बिक्री भयो । झन्, उपराष्ट्रपतिका रूपमा सेवा गरेका माइक पेन्सको संस्मरण त १ लाख १२ हजार प्रति मात्र बिक्री भयो । यसले राजनीतिप्रति सर्वसाधारणको बढ्दो दिग्दारी र घट्दो रूचिका बारेमा बताएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

