यम घिमिरे

 

यम घिमिरे

आऊ, भाइरल बनौँ
जम्मै परिवार नै बनौँ !

बाबा, प्रहरीमा डिएसपी
हजुर फुक्दिनुस्
“टोले गुण्डाका घुँडा फुकाल्छु”
फुकाल्ने, सक्ने वा नसक्नेसँग के चासो
फाइदा पो हेर्नू
सोसल मिडियाले चिन्छ
ताली बजाउँछ
हाकिमले हेप्न सक्दैन
जागिर नै खाएसी, डिएसपी नै भएसी
अलिक भाइरल त हुनु पर्यो नि !

दाजु, नगरको अधिकृत
हजुर ठोक्दिनुस्
“जनप्रतिनिधि भन्दैमा हुँदैन,
भ्रष्टचारीका टुप्पी पड्काइन्छ”
टिभीले “टुंगटुंग ढिस” थपेर बजाइदिन्छ
युट्युबले “जन्मिए राष्ट्रका सच्चा सपूत” भन्छ
भोलि टुप्पी उनले पड्काइदिए
बरु सरुवा खानुहोला
अधिकृत नै खाएसी, सरुवा नै खान परेसी
अलिक भाइरल सरुवा त खानुपरिगो नि !

मामु, उपमेयर
हजुर पिट्दिनुस्
“नगरका सबै बीउ बोकालाई मासिक
रू. दुई हजार भत्ता”
भए बाख्रीको गर्भाधान हुन्छ
र, महिलाले आय आर्जन गर्छन्
नत्र बाँझै पल्टिन्छ हाम्रो के जान्छ !
मेयर नै खाएसी, महिला नै भएसी
केही त गर्नै पर्यो नि महिलाको लागि
खानु छ नाथे पाँच वर्ष उप
के गुमनाम उप खानु खाएसी !
टिभीले देखाउँछ
युट्युबे आउँछन्
जितेरै आएसी, उप नै खाएसी
अलिक भाइरल त खानुपरिगो नि !

मामा, भर्खर कृषि मन्त्रीमा नियुक्त
हजुर नि फुक्दिनुस्
“अब किसानलाई युरियाले पुरिने दिन आउँछन्”
हेडलाइनले टाँगिहाल्छन्
फोटो र भिडियो मागिहाल्छन्
भोलि
युरिया नपाएर किसान रुन थाल्यो भने
मामाजी दोस्रो पल्ट नि उही कुराले भाइरल !
मन्त्री नै भएसी, दौरासुरुवाल नै सिलाएसी
गुमनाम मन्त्री त के मन्त्री !

काकी, समानुपातिकमा सांसद
हजुर कुर्लिनुस्
“पहिलो महिनाको तलब
मुसहरकी छोरीको पढाइलाई”
आफैँले अघि नसरे
गरीबलाई हेर्ने होइन कसैले
सुधार साना कुराबाट थाल्नुपर्छ
समानुपातिक नै खाएसी
पहिचानको नि कुरा आउँछ
सुमुसुमु सांसद नि खान्छ कोही ?
तेलीले नि “छोरीको पढाइ हुजुर”
भनेछ भने
“तेरा बाप का ठेक्का नहीँ लिया”
भन्दिनू बरु कानैमा गएर कसैले नसुन्नेगरी
नलाउनु कोट लाएसी
पार्टीको कोटामा पाएसी
भाइरल सांसद त हुनुपरिगो नि !

भाइ, तँ मेकानिकल इन्जिनियर पास
पाए जागिर खाऊँला भन्ने आस
तँ कवाड सवाड जोडेर
झन्डै ९० वर्ष पहिले नै
अम्रिकानेले उडाइसकेको
एउटा हेलिकप्टेर बना र एउटा युट्युबे बोला
“आमाका माखामुन्द्रा बेचेर बनाएको” भन्
छेउबाट सानाबाले “राज्यले हेरेन” भन्दिनुहुन्छ
युट्युपेले “प्रतिभा नचिन्ने गुन्द्रुके सरकार” थप्दिन्छ !
प्रतिभा नै निक्लेपछि
लुसुलुसु प्रतिभा नि हुन्छ कहीँ ?
मुले कुरै बुझ्दैन
भाइरल प्रतिभा त हुनैपर्यो नि !

हजुरआमा, ८० पुगेर के बसी खानु पर्या
आउनुस् थोते गिजा उद्याएर यता
छोडेर राम नाम र राधा पियारी
हाल्नुस् दुईचार शिलोक मेरो क्यामेरामा
मलाई हेरेर गाइदिनुस्
“लभ खेल्नू छान्नू वर केटो आफैँ बाउको भर नपर्नू
मायामा लाउन मन हेर्नू कान्छी सिन्दुरलाई धन हेर्नू”
नातिनीकी हजुरआमा भएर नि
भाइरल खानदानकी हजुरआमा भएर नि
उसै के बस्नु आफैँ नभए जस्तो !

म, भर्खर १६ पुग्दैछु
मेरो त उमेरै भाइरल भइगो
तै नि चानसमाथि बोनस
म टिकटक खेल्छु
“होSSइ, ती ठूला भोगटे, भोगटेले ठाउँ मात्रै ओगटे!”