१५. मनचिन्ते धरती, अंशः १ 

त्यस दिन आकाश छर्लङ्ग उघ्रिएको, बडो रमाइलो थियो । गीता बिहान सबेरै उठेर आमाको धन्दा सघाउन थाली । आशिषले बगैँचामा गएर आफैले रोपेको सिमी, बोडी टिपेर ल्यायो । अमर गएर बगैँचामा बाबुलाई सघाउन थाल्यो । यसरी उनीहरूले आमा-बालाई खुसी तुल्याउने जमर्को गरे । आमा-बा पनि साँच्चै खुसी हुनुभयो ।

“लौ, आज तिमीहरू निकै ज्ञानी भयौ । आमाले भन्नुभयो ‘भातसात खाएर जहाँ मन लाग्छ गएर खेल । हामी केही भन्दैनौं ।’

केटाकेटी मुखामुख गरेर हाँसे । आज त आमाको छाती नाङ्ला जत्रै भएको थियो । उनीहरूले खोजेको जस्तै भयो । अनि भातसात खाएर उनीहरू आफ्ना कोठामा गए ।

‘अब त हिमानीको निम्तोमा जान रोकटोक भएन नि !” गीताले चरीझैं चहकिँदै भनी । तर बाटामा खान चिया के गर्ने भन्ने कुरो उठ्यो । ‘कि थर्मसमा हालेर लाने ?…’ तर उनीहरू मनचिन्ते धरतीमा जाने भएपछि त्यहाँ किन लानु पर्यो ?

“त्यहाँ त जे खोजे पनि पाइन्छ नि । …चिया पनि त पाइएला’ आशिषले भन्यो । गीताले पनि उसको कुरामा सही थापी । अनि लुगासुगा लाएर उनीहरू मोहिनी वनतिर हिँडे । इन्द्रजाली रूखमा भकुन्डे भाइले बाल्टिन-गाडी झारिदिएको रहेछ । कति बुज्रुक छ भकुन्डे भाइ !… उनीहरूले बाल्टिन-गाडीमा बसेर डोरी झड्कारे । भकुन्डे भाइले उनीहरूलाई माथि तान्यो ।

रिसाहा बाउन्नेको घरअगाडि पुगेर अमरले गाडी रोक्यो । उसले रमाइलोका लागि ढोकाबाट चियायो । त्यो नै उनीहरूका लागि दशा भयो। किनभने रिसाहा बाउन्ने घरमै थियो । अमरले चियाएको देखेर उसले एक बाल्टी पानी खन्याइदियो । अमर निथ्रुक्क भयो । रिसाहा बाउन्ने ‘खुच्चिङ ! खुच्चिङ ! चियाएको स्वाद पाइस्‌’ भन्दै खुब दङ्ग पर्दै नाच्न थाल्यो ।

“बदमास बाउन्ने ! तँलाई पख’ अमर झोक्किदै आफ्नो भिजेको लुगा निचोर्न थाल्यो ।

‘तिम्रो जीउबाट त प्याजको गन्ध पो आउँछ दाइ !’ गीताले भनी ‘त्यो त तरकारी पखालेको पानी पो रहेछ क्यार !…’

अमरले रिसाहा अनुहार लाएर गीतालाई हेर्यो । अनि उसले डोरी झड्कार्यो । बाल्टिन-गाडी फेरि माथि सर्कन थाल्यो । टोड्के हुचिल आफ्नो टोड्कामा मजासँग सुतिरहेको थियो । त्यसलाई उठाउनु मनासिब थिएन । उनीहरू अगाडि बढ्दै गए । हिमानीको घरमा हिमानीलाई खोजे । तर हिमानी घरमा थिइन । उसको ढोकामा एउटा सूचना कागतमा टाँसिएको थियो- “म भकुन्डे भाइकहाँ गएकी छु।’

अब बाल्टिन-गाडी त्यहाँबाट मास्तिर सर्क्यो । …लुगा धुने केटीले लुगा धोएको पानीको छाँगोबाट बचेर उनीहरू अगाडि जान खोजे । तर बच्ताबच्तै अमर त केही भिजिहाल्यो । अमर मुरमुरियो ‘दुष्ट आइमाई !…’

‘त के भो त !’ गीताले दाजुलाई जिस्काउँदै भनी ‘अलिअलि शीतल नै भयो । त्यसमाथि साबुन पानीले तिम्रो लुगाको गन्ध त पखालिदिन्छ नि !’

“नकरा तँ बोक्सी !’ अमरले झर्केर भन्यो । उनीहरूको गाडी श्री के-नाम- के-रेको घरअगाडि पुग्यो । के-नाम-के-रे घरअगाडि बेतको मेच हालेर घुरिरहेको थियो । उसैको छेउमा बिचरो काम्टै कुकुरझै गुँडुल्किएर बसेको थियो । त्यो देखेर गीता हाँस्न थाली- खित्‌ खित्‌ खित्‌… ।

“चुप लाग्‌ ! उत्ताउली केटी’ अमरले उसको कान समातेर हप्कायो बेकारमा उनीहरू उठलान्‌ ।’

गाडी मास्तिर सर्क्यो । त्यसैबेला काम्टे बिउँझेर बेसरी छिउँ काढ्यो । त्यसले के-नाम-के-रे आत्तिँदै उठ्यो । “के के भुइँचालो आयो ?…’

‘होइन ।…’ काम्टेले हावामा सूँ सू सुँघ्दै भन्यो ‘तिमीलाई प्याजको गन्ध आएन ? …मलाई त आयो । …क्या मिठो प्याजको तरकारी मलाई खुब मिठो लाग्छ प्याजको सुरुवा ।’

‘दाइ, काम्टे बाले त तिम्रो लुगाको प्याजको गन्ध सुँघेजस्तो छ नि !’ गीताले आँसु काढ्ने गरी हाँस्तै भनी ।

केटाकेटीहरू ती दुई लहडी बूढाहरूलाई छोडेर माथि सर्के । उनीहरू लुगा धुने केटीको घरमुनि मात्र के पुगेका थिए लुगा धोएको पानीको छाँगोले उनीहरूलाई निश्रुक्क रुझाइदियो ।

‘कहाँकी डङ्किनी आइमाई । सबै निश्रुक्कै रुझाइदिई’ अमर मुरमुरियो ।

उनीहरू भकुन्डे भाइको घर पुगे । हिमानी र भकुन्डे भाइ हस्याङ र फस्याङ गर्दै बाहिर निस्के । अमरहरू रुझेको देखेर भकुन्डे भाइले सोध्यो “के बाहिर पानी परेको छ ?… तिमीहरू त निथ्रुक्कै रुझेछौ । …कि लुगै समेत नुहाएर आयौ ?’

“होइन । …त्यही लुगा धुने डङ्किनीले !…’ अमरले मुरमुरिँदै जवाफ दियो । ‘तिमीहरूसँग केही ओभाना लुगा भए देऊ । हामी त्यो फेरेर चिसा लुगा सुकाउँछौं ।’

भकुन्डे भाइले दराजबाट केही ओभाना लुगा झिकेर दियो । अमरहरूले रुमालले आङ राम्ररी पुछे, ओभाना लुगा फेरे । त्यति बेलासम्म हिमानीले मनचिन्ते धरतीका बारे सबै कुरा बेलिबिस्तार बताई । उसले अतास्सिएझैँ गरेर भनी “उहाँ क्या त्यस धरतीमा आफूले जे चितायो त्यही पाइन्छ रे । …हामी आफूआफूलाई मन परेको कुरा लिऔंला ।… गीता तिमी के लिन्छयौ ?’

‘यहाँ मडारिने धरतीमा जस्तो जोखिम त छैन ?’ अमरले अलि शङ्का गरेर सोध्यो । हिमानीले भनी छैन छैन, किन हुन्थ्यो ?… यो धरती त अर्कै धरती हो । तर हामी त्यहाँ धेरै बेर भने बस्नु हुन्न । फेरि धरती घुमेर रूखबाट पर गयो भने फसाद पर्छ, हामी त्यहाँ कैद पर्छौँ ।’

“तर धन्दा नमान’, भकुन्डे भाइले अघि सरेर भन्यो ‘म भर्याङको टाउकामा बसेर धरती घुम्न लागेको थाहा पाउनासाथ तिमीहरूलाई खबरदार गरूँला । तिमीहरू झटपट बादलको भ्वाङबाट हाम्फालेर आइहाल्नू ।’

भकुन्डे भाइले हौस्याएपछि सबैजना निर्धक्क भएर बादलको भ्वाङबाट माथि गएर मनचिन्ते धरतीमा उभिन पुगे । साँच्चै त्यहाँ त अनेक थरिका मालताल र वस्तुभाउले धरती खचाखच भरिएको रहेछ । सुनदेखि ऊनसम्म, सियोदेखि हात्तीसम्म, जता हेरे पनि खचाखच । …अनेक थरिका जनावरहरू, जातजातका फलफूल, सागपात, मेच-टेबिल, खाट, पलङ, दराजजस्ता कोठाका सामानदेखि भाँडाकुँडा, लुगा-कपडा सारा खातका खात थिए ।

वा: वा; क्या अचम्मको धरती !’ गीताले खुसीले उफ्रुँदै भनी ‘लौ दाइ !

क्रमश….