रोमान्स उपन्यासमा निकै नाम कमाएकी अमेरिकी लेखिका सुसान मिचेनको फेसबुकमा सन् २०२० को अक्टोबर महिनामा उनकी छोरीले आफ्नी आमाको निधन भएको घोषणा गरेकी थिइन् । सो घोषणापछि उनको देहान्तमा श्रद्धाञ्जली व्यक्त गर्नेहरूको बाढी नै आयो ।

केहीले लेखेः ‘तिमीलाई प्रेम र अँगालोभरिको माया ।’

केहीले लेखेः ‘तिमीलाई सम्झिरहनेछु ।’

यसपछि लेखिका सुसनको फेसबुक पेजबाट उनका उपन्यासहरू बिक्री गर्ने विज्ञापनहरू आइरहन्थे । लेखिकाका केही अप्रकाशित भनिएका कथाहरू बेलाबेलामा त्यहाँ छापिन्थे ।

केही समययता भने लेखिका सुसान मिचेन ज्यूँदै रहेको आँकलन गर्न थालिएको थियो । खासमा केही समयअघि फेसबुकको एउटा समूह ‘द वार्ड’मा उनी ज्यूँदै रहेको घोषणा गरियो । त्यसपछि ट्वीटरमा ड्रागरअफलायर्स नामक एउटा अकाउन्टमा लेखिका सुसन झूटी रहेको र उनले आत्महत्या नगरेको टिप्पणी गरे ।

त्यसको प्रमाणका रूपमा एउटा लेखोट पेश गरेका छन् । जसमा लेखिएको छः ‘म ज्यूँदै छु । मेरो परिवारले त्यो बेला मलाई जसरी मरेको घोषणा गरे, त्यो एउटा बाध्यतामा गरिएको निर्णय थियो र त्यो जरूरी पनि थियो । मरेको अभिनय गर्नु गलत हो वा सही, त्यो समयलाई छाडिदिऊँ तर जसले म मरेको कुरामा दुःखी भए र यतिबेला म ज्यूँदै रहेकामा गाली गरिरहेका छन्, उनीहरूप्रति मेरो सादर प्रेम छ । म यतिबेला आराम गरिरहेकी छु र केही समयमै म राम्रो लेखनीमार्फत प्रकाशन जगतमा फर्कनेछु ।’

तर उनको यो घोषणालगत्तै सुसन कसरी ज्यूँदै आइन् भन्ने रहस्य सुल्झन सकेको छैन । सुसनलाई मन पराउनेहरूले उनको फेकिङ डेथ (नक्कली मृत्यु)माथि गाली गर्न थालेका छन् । नक्कली मृत्युको बदलामा ‘द वार्ड’ नामक उनको सम्मानमा बनाइएको ग्रुप छाड्नेहरूको लर्को लागेको छ ।

यसरी छाडे पनि आफूलाई कुनै फरक नपर्ने सुसन बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म फेसबुक छाड्नेहरूलाई दोष दिन चाहन्नँ । त्यो बेला मेरो बाध्यता थियो । त्यो बाध्यता यतिबेला सकिइसकेको छ । अब म पुनः लेखनीमा स्थापित हुने प्रयास गरिरहेकी छु ।’

मिचेनलाई रोमान्स लेखिकाका रूपमा चिनिन्छ । उनले ‘चान्स इन्काउन्टर’, ‘स्पेशल डेलिभरी’, ‘लसिङ हिम एन्ड फाइन्डिङ यु’ जस्ता रोमान्स उपन्यास बेस्ट सेलर भएका थिए ।

सानैदेखि किताब पढ्न भनेपछि हुरूक्क हुने सुसनले बिहे गरेपछि लेख्न थालेकी हुन् । उनको पछिल्लो उपन्यास ‘लभ टु लास्ट लाइफटाइम’ सन् २०२० को अक्टोबरमा प्रकाशित भएको थियो ।

फेसबुकमा उनको मृत्युको घोषणा गरिएको भए पनि उनका कुनै निजी पोस्टहरू गरिएका थिएनन् । उनका किताब बिक्रीमा राखिन्थे, केही प्रेरणादायी भनाइहरू मात्र पोस्ट गरिन्थ्यो ।

सन् २०२१ को नोभेम्बरमा सुसनकी छोरीले आफ्नी आमाको जन्मदिनको अवसर पारेर अमेरिकन फाउन्डेसन फर सुसाइड प्रिभेन्सन नामक संस्थाका लागि सुसनको निजी फेसबुकमार्फत पैसा उठाउने एउटा कार्यक्रम गरिन् ।

यो एउटा पुनीत कार्य थियो । यसबाट धेरै लेखकहरू खुसी पनि भए । एउटी छोरीको राम्रो कदमका लागि आमाछोरीकै प्रशंसा गरियो ।

तर त्यतिबेला प्रशंसा गर्नेहरू नै उनीहरूलाई मृत्युको हल्ला फिँजाएकामा गाली गरिरहेका छन् । चर्चाका लागि आत्महत्याजस्तो गम्भीर कुरामा मजाक बनाएकामा उनीहरूको आलोचना गरेका छन् ।

केहीलाई भने उनको मृत्यु र जीवनले खासै फरक पारेको छैन । नेगाभर्स नाममा ट्वीट गर्ने एक जनाले लेखेका छन्, ‘मलाई उनको रोमान्स पढ्नु छ । उनी ज्यूँदै रहेकामा म खुसी छु ।’