साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यी किशोरीको डायरी पढेपछि…

 

मलाई कुनैपनि किताब पढ्न सुरु गरिसकेपछि सकभर छिटो सकिहालौँ लाग्छ तर एनी फ्य्राङ्कको ‘द डायरी अफ अ योङ गर्ल’लाई करिब पच्चिस दिन लगाएर सकेँ। यो त्यति धेरै समय लगाउनुपर्ने किताब त होइन, तर मलाई लाग्यो।

मैले पढेको उक्त किताब ६०औं संस्करणको थियो। सायद आजसम्म सबैभन्दा धेरै पढिएका किताबहरुको सूचीमा यो पुस्तक पनि अगाडि नै आउँदो होला। पढिसकेपछि मलाई पनि यो निकै राम्रो पुस्तक रहेछ भन्ने लाग्यो। त्यस्तै ज्ञानबर्धक र मर्मस्पर्शी पनि।

सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो।

सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो। विशेषतः यो डायरी एनीको परिवार तानशाह हिट्लरद्वारा निर्देशित नाजी आर्मीको नरसंहार छल्न जर्मनबाट भागेर नेदरल्यान्डमा लुकेर बस्दा लेखिएको हो। उनीहरु यसरी एउटै घरमा लुकेर बसेको अवधि दुई वर्षको छ— सन् १९४२ देखि १९४४ सम्म। उक्त समयावधिमा एनीले गोप्य ठाउँमा लुकेर बस्दा दिनहुँजस्तो भोगेका, सुनेका, पढेका र मनमा लागेका कुराहरु टिप्दै जाँदा यो डायरी तयार भएको हो।

यो किताबका केही पत्रहरु, जुन मैले किताब पढ्दै जाने क्रममा मनन गरेको थिएँ, यहाँ चर्चा गर्न चाहेँ—

एनी र उनको परिवार जर्मनबाट भागेर नेदरल्यान्डमा शरण लिन पुग्दा उनी जम्मा १३ वर्षकी थिइन्। हामी सबैलाई थाहा भएकै कुरा हो, यो उमेरमा किशोरकिशोरीहरु अलि बढी चुलबुले र जिज्ञासु स्वभावका हुन्छन्। शारीरिक र मानसिक विकासको दृष्टिकोणले पनि एउटा महत्त्वपूर्ण कालखण्ड हो, टिनएज। तर यही सिक्ने, खेल्ने र रमाउने उमेरमा कुनै एउटा घरमा बाहिरै ननिस्की लामो समय लुकेर बस्नुपर्दा एनीले भोगेका र त्यो दुई वर्षको अन्तरालमा अनुभव गरेका तमाम शारीरिक तथा मानसिक परिवर्तनहरुको सँगालो हो यो किताब।

जब मान्छे आफ्नो कुरा कसैलाई व्यक्त गर्न असमर्थ हुन्छ, उसले भित्रभित्रै कुण्ठा पाल्न थाल्छ। कालान्तरमा त्यस्ता कुण्ठाहरु मानसिक रोग बनेर निस्कन्छन्। यद्यपि एनीको अभिव्यक्त हुने तरिका अलग छ। उनका अनुसार, यदि तपाईं कसैसँग आफ्नो कुरा खुलस्त भन्न सक्नुहुन्न भने त्यस्तो अवस्थामा कागज र कलमको सहारा लिनु नै उत्तम विकल्प हुन सक्छ। उनले एक ठाउँमा लेखेकी छन्—आवेगमा आएर मुखमा आएका सबै कुरा आफू अगाडिको मान्छेलाई ओक्ल्नुभन्दा बरु कागजमा लेखेर रिस पोख्नु राम्रो। कागज जस्तो धैर्यवान् र सहनशील—जसले तपाईंको सबै कुरा धैर्य गरेर सुनोस् अनि पचाओस्—मान्छे कदापि हुन सक्दैन।

यो डायरी कोविद १९को महाव्याधिको क्रममा पढेका हुनाले पनि मैले यसलाई हामी बन्दाबन्दीको बेला घरमै बस्नुपरेको स्थितिलाई पनि जोडेर हेर्न खोजेँ। यी दुई परिस्थितिमा फरक यत्ति छ कि, हामी घरमै बसेर विषाणुबाट बच्दै थियौं, एनी र उनको परिवार मानवताको शत्रुको रुपमा आएको खुद मानवरुपी दानवबाट। यद्यपि कोरोनाको भन्दा हिटलरद्वारा रचित नरसंहार कैयौं गुना बढी कहालीलाग्दो र अमानवीय थियो। हामीले पनि बन्दाबन्दीमा घरै बस्दा धेरै अप्ठेरा परिस्थितिहरु भोग्यौं, धेरै कुरा गुमायौं पनि। त्यस्तै एनी फ्य्राङ्क, उनको परिवार र समस्त यहुदीहरुले पनि धेरै कुरा गुमाएका थिए। धेरै कष्टकर दिनहरु भोगेका थिए। हरदिन सुनिने गोलीका आवाजले गर्दा उनीहरुले श्वासभन्दा बढी मृत्युभय फेरेका थिए। उनीहरुमा पनि अरुसरह जीवन जिउने चाह थियो, तर यहुदी भएकै कारण उनीहरु त्यसबाट पुरै वञ्चित हुनुपर्यो।

त्यस्तै डायरीमा एनीले उनी र उनको आमाको बीचको चिसो सम्बन्ध र बुबासँगको सुमधुर सम्बन्धको पनि धेरै नै चर्चा गरेकी छिन्। उनलाई सधैं लागिरह्यो—उनकी आमाले उनलाई कहिल्यै माया गरिनन्, कहिल्यै बुझिनन् र बुझ्ने कोसिस पनि गरिनन्। फेरि कहिले उनलाई लाग्थ्यो— आमाको स्वभाव आफैँमा त्यस्तो होइन, परिस्थितिले गर्दा अलि झोंक्की र चिढचिढे भएकी हुन्। उनी सबै कुरामा अलि दुविधामा देखिन्छिन्। हुन त उनको उमेर नै त्यस्तै थियो। यद्यपि धेरै ठाउँमा उनको आमा प्रतिको दृष्टिकोण त्यति राम्रो देखिदैन।

कहीँकहीँ उनी बुबा ओटोसँगको आत्मिय सम्बन्धमा पनि शंका व्यक्त गर्छिन्। उनी बुबालाई प्रेम गर्छिन् र ओटो पनि उनलाई हुरुक्कै गर्छन्। यहाँनेर बुबाछोरीको सम्बन्धलाई मनौवैज्ञानिक अवधारणा ‘इलेक्ट्रा कम्प्लेक्स’को दृष्टिकोढबाट पनि हेर्न सकिन्छ।

बीचमा एउटा चिठीको प्रसंग छ, एनले ओटोलाई लेखेको। उक्त चिठी पढिसकेपछि बुबा ओटोले चित्त दुखाउँछन्। त्यो चिठीपछि बाउछोरीको सम्बन्ध केही चिसिएको पाइन्छ। यो चिठीको प्रसंग निकै मार्मिक छ किनभने चिठीमा एनीले आफूलाई आफूखुशी बाँच्न र निर्णय लिन दिनू भनी बुबालाई वचन लगाएकी हुन्छिन्। यो कुरा ओटोले सोचेका पनि हुँदैनन्, त्यसकारण उनलाई त्यो चिठीले निकै मर्माहत तुल्याउँछ।

त्यस्तै उनीहरुसँगै त्यही घरमा लुकेको एउटा अर्को परिवार छ, भ्यान डनको। उनीहरु तीन जना छन्—मिस्टर भ्यान डन, मिसेज भ्यान डन र उनीहरुको छोरा, पिटर। एनको मिसेज भ्यान डनसँगको सम्बन्ध पनि त्यति राम्रो हुँदैन। उनी जहिल्यै एनीको कुरा नकार्छिन्, जुन एनीलाई पटक्कै मन पर्दैन। मिस्टर डसेलसँग एउटै कोठामा बसे पनि ऊसँग पनि एनीको राम्रो सम्बन्ध हुँदैन। उनकी दिदी मार्गोट र पिटरबाहेक एनको सबैसँगको सम्बन्ध त्यति राम्रो नभएको हामी पढ्दै जाँदा बुझ्न सक्छौँ।

डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ।

bahulako diary small and inside post

बा-आमासँग सम्बन्ध नराम्रो भए पनि छोरा पिटरसँग भने उनको नजिकको सम्बन्ध स्थापित हुन जान्छ। डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ। उनीहरु बीच जस्तै अन्तरंग कुराकानी पनि सहजै हुन्थ्यो भन्ने कुरा पनि उनले डायरीमा खुलाएकी छन्।

उनीहरुका केही बाहिरी सहयोगीहरु पनि छन्, जसले उनीहरुलाई रासन ल्याउनेदेखि लिएर धेरै कुरामा सहयोग गरेका हुन्छन्। यस्तो समयमा पनि सहयोग गर्नेहरुप्रति एनी सधैं कृतज्ञ छिन्।
लामो समय एकै ठाँउमा बस्दा जस्तोसुकै प्रगाढ सम्बन्धमा पनि केही खट्पट् परिहाल्छ भन्ने कुरा पनि यहाँ बयान गरिएका फरक-फरक प्रसंगहरुबाट बुझ्न सकिन्छ। नेपालीमा उखानै छ नि— एउटै बिस्तारामा सुतेपछि गोडा लागिहाल्छ नि! त्यस्तै अवस्था त्यहाँ पनि रहेको कुरा यो डायरी पढ्दा थाहा लाग्छ।

यस्तै उनको मानसिक स्थितिमा आउने परिवर्तन, उनको झोँक्की र मनमौजी स्वभाव पनि पढ्दै गर्दा बुझ्न सकिने कुराहरु हुन्।

एनीको पठनपाठन र लेखनीमा विशेष रुचि भएको देखिन्छ। उनले लेखक हुने सपना पालेकी रहिछन्। यसैक्रममा उनले केही कथाहरु पनि लेखेकी थिइन्। उनी ती कथाहरु छद्म नाममा भए पनि छपाउन चाहन्थिन् तर प्रतिकूल समयका कारण उनी आफ्नो सपना दबाउन बाध्य हुन्छिन्। यद्यपि उनको स्वभाव आशावादी छ। उनलाई विश्वास छ— यो सबै एक दिन सकिन्छ र उनीहरुको जीवन पहिलेजस्तै सामान्य स्थितिमा फर्किन्छ। त्यसैले एनीको सकारात्मक र आशावादी सोच एकदम प्रशंसनीय छ। उनीहरु लुकेर बसेका भए पनि जन्मदिन र चाडहरु आफ्नो स्थितिअनुसार मनाइरहेका हुन्छन्। बाहिरी संसारको जीवन र भित्री संसारको जीवनको दुई तहमा विभाजित भए पनि उनीहरु आफ्नो गच्छेअनुसार उपहार लिने-दिने र फरक-फरक खानाका परिकारहरु बनाएर खाने गर्छन्। तर कहिलेकाहीँ खानाको अभावमा एउटै कुरा बारम्बार पकाएर खानु परेको कुराहरु पनि एनीले खुलाएकी छन्।

सम्बन्धित पोस्टहरु

यसरी पो बरालिनु

नगरकोटी इन हिज “घाटमाण्डु”

कथाभित्रको कथाः घनचक्कर

अधुरा पोट्रेटहरू

एनी नयाँ भाषा र नयाँ कुरा सिक्न हरदम उत्साहित थिइन्। उनी आफूलाई आत्मविश्वासी र स्वावलम्बी भन्न रुचाउँछिन्। यसरी जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि हामी सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश यसै डायरीबाट ग्रहण गर्न सकिन्छ।

कहीँ कहीँ एकदम झिना-मसिना घट्नाहरु पनि बयान गरेकाले केही अल्छी लाग्छ तर उनलाई डायरी लेख्दा आनन्द आउने हुँदा र उनको उमेरलाई मध्यनजर गर्दा ती कुराहरु सहजै पचाउन सकिन्छ।

अर्को महत्त्वपूर्ण कुरा के छ भने, पाना पल्टाउँदै जाँदा उनको लेखनीमा आएको वैचारिक परिपक्वता र गाम्भीर्यता पनि महसुस गर्न सकिन्छ।

यी त डायरीमा बयान गरिएका मुख्य कुराहरु मात्र हुन्, यीबाहेक अन्य स-साना कुरा, झ्यालबाट आकाश चिहाउने, टाढासम्म हेर्दाका अनेकन् अनुभूतिहरूले पनि पाठकको मन हुँडल्ने क्षमता यो डायरीमा छ। जे होस्, एनी फ्य्राङ्कको डायरीबाट सिक्न सकिने धेरै कुराहरु छन्। इतिहासका घटना र उनको घर-परिवारमा घटेका घटनाहरुको प्रसंगहरु सँगसँगै लेखिएको यो डायरी साँच्चै नै पठनीय छ।

एनी फ्य्राङ्क कसैगरी जीवितै हुन्थिन् भने गएको जुन १३ देखि ९१ वर्ष पुगेकी हुने थिइन्। त्यो उमेरमा यसरी रोचक तरिकाले डायरी लेख्न सक्ने एनी जीवितै हुन्थिन् भने कति धेरै साहित्य कत्थिन् होला भन्ने डायरी पढ्दै गर्दा मनमा उब्जिन्छन्।

क्यानबेरा, अस्ट्रेलिया

प्रतिक्रिया
Loading...