सन् १९६८ अक्टोबर ८ मा विलियम सेक्सपियरको प्रख्यात नाटकमा आधारित फिल्म रोमियो जुलियट रिलिज भएको थियो । फिल्मलाई फ्रान्को जेफिरेलीले निर्देशन गरेका थिए । प्यारामाउन्ट पिक्चर्सले निर्माण गरेको सो फिल्म कम्पनीलाई यतिबेला दशा लागेको छ । सो फिल्ममा अभिनय गरेका दुई मुख्य रोमियो जुलियटले कम्पनीले त्यतिबेला आफूहरूलाई नग्न दृश्यमा अभिनय गर्न बाध्य बनाएको भन्दै मुद्दा हालेका छन् । कम्पनीले सो बाध्य पारेकामा र आफूहरूलाई यौन शोषण गरेकामा ५०० मिलियन डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने दाबी गरेका छन् ।

फिल्ममा जुलियटको अभिनय गरेकी ओलिभिया हुसे त्यो बेला जम्मा १५ वर्षकी थिइन् । उता रोमियोको अभिनय गरेका लियोनार्ड ह्विटिङ जम्मा १६ वर्षका थिए । यतिबेला दुवै ७० वर्षभन्दा बढी उमेरका छन् ।

प्यारामाउन्ट कम्पनीले उनीहरूलाई यौन शोषण गरेको, यौन दुर्व्यवहार गरेको, गलत क्रियाकलाप गरेको लगायतका आरोप लगाउँदै दुवै कलाकारले लस एन्जल्स काउन्टी अदालतमा मुद्दा हालेका हुन् ।

फिल्मका निर्देशक जिफरेलीको भने सन् २०१९ मा निधन भइसकेको छ ।

निर्देशकले रोमियो र जुलियटको अन्तरंग दृश्य खिच्न नाङ्गैजस्तो देखिने लुगा लगाइने भनिए पनि उनीहरूलाई नग्न रूपमा नै दृश्य खिच्न बाध्य पारिएको बयान दिएका छन् ।

पहिला नाङ्गै नखिचिने भनिए पनि झुक्याएर पछि सेटमा नाङ्गै बनाएर दृश्य खिचिएको उनीहरूले बताएका छन् । उनीहरूको रोमान्स दृश्य थाहै नदिई गोप्य तरिकाले खिचिएको र कम उमेरका किशोरकिशोरीलाई त्यसका लागि बाध्य पार्नु सभ्य समाजको कलंक भएको अदालतमा प्रेषित मुद्दामा जनाइएको छ ।

यसबारेमा भने निर्माण संस्था प्यारामाउन्ट ग्लोबलले कुनै प्रतिक्रिया जनाएको छैन । उता फिल्मका निर्देशकको नाममा बनाइएको द फ्रान्को जिफरेली फाउन्डेसनले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।

यसअघि यस किसिमको यौन शोषण वा दुर्व्यवहारका सन्दर्भमा एउटा निश्चित अवधि पार गरेपछि कुनै मुद्दा नलाग्ने नीतिका कारण उनीहरू चुप बस्न बाध्य भएको तर सन् २०२२ को अन्त्यमा अमेरिकाको क्यालिफोर्निया राज्यले यौन शोषण र दुर्व्यवहारजस्ता कुरामा समयको कुनै छेकछन्द नराखिने कानुन बनाइएपछि भने उनीहरूले आफूमाथि भएको अन्यायको ७० वर्पपछि मुद्दा हालेका हुन् ।

यो कानुन पारित गरिएपछि अब यस्ता दुर्व्यवहारको मुद्दाको चाङ लाग्ने बताइएको छ ।

https://cdn.jwplayer.com/previews/9RkpyhEB