अमेरिकाको ओहियोको अस्टबलस्थित प्रेटी गुड बुक्समा जब चेल्सी बेनिङको नयाँ पुस्तक निस्केको अवसरमा गएको डिसेम्बरको अन्तिम शनिबार हस्ताक्षर कार्यक्रम राखिएको थियो ।
प्रेटी गुड बुक्सका कर्मचारीले लेखिका चेल्सीका लागि राम्रो व्यवस्था गरे । चम्चमाउँदा कुर्सी र डेस्क, डेस्कभरि चेल्सीको नयाँ पुस्तक अफ क्राउन्स एन्ड लिजेन्ड्सको थाक बनाएर राखिएको थियो । बेलायतीहरूको लोककथाका पात्र किङ आर्थरको देहान्तको २० वर्षपछि के भयो भन्ने विषयमा लेखिएको यो बाल साहित्यसँग सम्बन्धित सुन्दर श्रीपेच, किङ आर्थरको तरबार, किङ आर्थरको सानोतिनो मूर्ति पनि त्यहाँ राखिएको थियो । चेल्सीका केही साथीहरू किङ आर्थरका साथीहरूले लगाउने पहिरनको नक्कल गरी बसेका थिए । पूरा सेटिङले मध्यकालीन झल्को दिइरहेको थियो ।
३३ वर्षीया लेखिका चेल्सी बेनिङ यसअघि ओहियो राज्यको गिरार्डस्थित सार्वजनिक पुस्तकालयमा काम गर्थिन् । पहिलो पुस्तक निस्केकाले उनी उत्साहित मात्र थिइनन्, पुस्तक हस्ताक्षर कार्यक्रममा राम्रै पाठकहरू भेला हुने अपेक्षा गरेकी थिइन् । वास्तविक नाउँ चेल्सी भेन्डरग्रिफ्ट पोडगोर्नी भए पनि उनले नयाँ करियरका लागि नयाँ नाम छनोट गरेकी थिइन् ।
कार्यक्रमका बारेमा उनले फेसबुकमा प्रचार गरेकी थिइन् । यसका लागि कार्यक्रम डिजाइन गर्दा ३७ जनाले कार्यक्रममा आउने निश्चित गरेका थिए । तर कार्यक्रम शुरू भयो तर जम्मा दुई जना मात्र देखा परे ।
तीन घण्टा उनी सो पुस्तक पसलमा निराश भएर यताउति गरिरहिन् । उनका साथीहरू उनको निराशा देखेर अझ बढी नर्वस भए ।
भोलिपल्ट बिहान चेल्सीले सय जना फलोअर भएको ट्वीटरमा कसरी आफ्नो किताब हस्ताक्षर कार्यक्रम सुपर फ्लप भयो र पाठकहरू अचानकसँग कसरी गायब भए र यो कसरी भविष्यका लागि खतरा सूचक हो भन्ने आत्मस्वीकृति लेखिन् ।
उनले ट्वीटरमा लेखेकी छन्, ‘यति फ्लप बुक साइनिङ मैले कल्पना पनि गरेकी थिइनँ । इमान्दारीपूर्वक भन्ने हो भने म अलि लज्जा महसुस पनि गरिरहेकी छु ।’
यति लेखेर केही घण्टापछि हटाउने उनले योजना बुनिरहेकी थिइन् । यत्तिकैमा हेनरी विङ्क्लरको घण्टी बज्यो । हेनरी विङ्क्लर अमेरिकी लेखक, फिल्म निर्देशकले यी नवलेखिकाको ट्विटरलाई रिट्विट गर्दै लेखेः यो त शुरूवात मात्र हो । अब क्रमशः पाठकहरू लेखकको हस्ताक्षर कार्यक्रममा हराउँदै जानेछन् ।’
१० लाख फलोअर भएका हेनरीले यो रिट्विट गर्नेबित्तिकै उनको स्वीकारोक्ति भाइरल भइहाल्यो । यससँगै प्रख्यात लेखिका मार्गरेट एटवुडले पनि यस्तै स्वीकारोक्ति पोखिन्, ‘मैले पनि यस्तै कोही नआएको कार्यक्रममा लज्जास्पद तरिकाले कुरेर बसेकी छु । रोचक त के भयो भने, कार्यक्रम जोगाउन एक महानुभाव पसलमा छिरे । ती पनि दुर्भाग्यवश छिरेका रहेछन् किनभने उनी रक्सी खोज्दै छिरेका थिए, फँसे पुस्तक हस्ताक्षर कार्यक्रममा । प्रिय, चेल्सी बेनिङ, तिमी एक्ली छैनौ । हाम्रा पाठक पनि हराएकै हुन् । तर अर्को पटक हामीलाई पनि बताऊ है ! सकेसम्म प्रचार गरौँला ।’
सन् २००३ मा विङ्कलरले लेखेको हाङ्क जिप्जर शृङ्खला पुस्तकको हस्ताक्षर कार्यक्रममा पनि जम्मा ६ जना भेला भएका थिए । उनले चेल्सीलाई थप्थपाउँदै ट्वीटरमा भनेका थिए, ‘यस्तो बेइज्जती भोग्नु सजिलो त हुँदैन !’
बेस्टसेलर लेखक विङ्कलरको अवस्था त्यस्तो थियो भने पुलित्जर पुरस्कार विजेता जुनोट डियाजले पनि आफ्ना कतिपय कार्यक्रम यस्तै खालीखाली रहेको स्मरण गरेका थिए ।
उसो भए, पाठकहरू किन गायब भइरहेका छन् त ? यसका पछाडिको कारण के हो ? अल्फ्रेड ए. नोफ पब्लिकेसन्स हाउसमा ३० वर्षभन्दा बढी समय प्रचार प्रसार हेरिरहेका पल बोगार्ड्स भन्छन्, ‘यस्ता स्थानीयस्तरका किताब हस्ताक्षर कार्यक्रममा दर्शक स्रोताहरूको उपस्थिति घट्दै जानुको मूल कारण स्थानीय पत्रिकाहरू हराउनु हो । स्थानीय साना पत्रिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिन्थे, अचेल ती पत्रिका बन्द भइसकेका छन् । सबै कुरा अन्तर्राष्ट्रिय वा राष्ट्रिय चर्चाका मात्र आउँछन्, गाउँठाउँका कुरा आउँदैनन् । त्यसैले पाठकसम्म यस्ता सूचना पुग्न छाडेका छन् । त्यसैले बुक साइनिङमा एक्कादुक्का मानिसहरू मात्र देखिएका हुन् ।’
घट्दो पाठकका बारेमा जोन ल्यान्डले जत्ति मज्जाले कसले पो बताउला ! ल्यान्डको नयाँ थ्रिलर उपन्यास ब्लड मूनलाई उनले रोडी आइल्यान्ड लेखक प्रदर्शनीमा विमोचन राखेका थिए । उनलाई थाहा थियो, यत्रा धेरै लेखकहरूको भिडमा उनको गन्ती हुने छैन । त्यसैले बालबालिकाहरूलाई लोभ्याउन यहाँ चकलेट सित्तैमा पाइन्छ भनेर बोर्ड झुन्ड्याए । चकलेट खान पाउने भएपछि बालबालिकाहरू ओइरिए । उनीहरूका बा‑-आमाले चाहिँ लाजगाल किताब किनेर फर्किए ।
ल्यान्डले यस्ता पुस्तक हस्ताक्षरमा अर्को फन्डा पनि अपनाउने गर्छन् । उनले कार्यक्रममा ससाना बालबालिकालाई छेउमा राख्छन् । त्यहाँ आउने दर्शक वा पाठकहरूले सोच्छन्ः अहो ! यो लेखक चैं राम्रो मान्छे होला किनभने उसले आफूसँग आफ्ना केटाकेटी पनि ल्याएको छ । राम्रो मान्छेसँग गएर दुई चार गफ त गर्नै परो ! यस्तोमा ल्यान्डले ती मनकारीसँग गफ गर्दै किताब भिडाउन भ्याइहाल्छन् ।
त्यसो त पाठक नआउने भनेको अपरिचित वा कम परिचित लेखकहरूकहाँ मात्र हो । प्रख्यात लेखककहाँ पाठकको घुइँचो भने लाग्न छाडेको छैन । थ्रिलर लेखक लि चाइल्डको कार्यक्रममा मान्छेको भिड निकै ठूलो हुने गर्छ ।
एक पटक आफ्नो पुस्तक पसलमा लि चाइल्डलाई ल्याउँदा ठाउँ यति साँघुरो भयो कि पछि कार्यक्रम कन्सर्ट हलमा सार्नु परेको थियो । एमिली पावेल भन्छिन्, ‘पाठक घटेका हुन् तर राम्रा लेखकका घटेका छैनन् । मेरै पुस्तक पसलमा राम्रा लेखक आउँदा अटाइनअटाई भएका थिए । तर पहिलो पटक लेखिरहेकाहरूले किताब यात्रा गर्दा बढ्दा अपेक्षा गर्नु मुर्खता नै हुन्छ ।’
उनले उदाहरण दिँदै भनिन्, ‘मेरा एक जना मित्र क्रिस्टोफर एम. हूडको पहिलो किताब निस्केपछि हौसिएर मैले मेरो पसलमा किताब पढ्ने कार्यक्रम राखेँ तर कोही आएनन् । नयाँ लेखक हेर्न को आउँछ ? पछि लेखक क्रिस्टोफरसँग चियागफ गर्नेमा म र मेरा कर्मचारी मात्र भयौँ ।’
क्रिस्टोफर फेरि चानचुने लेखक होइनन् । उनी न्युयोर्क हाइस्कुलमा सिर्जनात्मक लेखन कार्यक्रम नै चलाउँछन् ।
तर त्यो दिनको ट्वीटेको आत्मस्वीकृतिपछि चेल्सीका फलोअर पनि एक सय जनाबाट बढेर हजारौँ पुगेका छन् । उनको त्यसपछिका बुक साइनिङ कार्यक्रममा कहिल्यै झिँगा धपाउनु परेको छैन । उनको सो पुस्तक ७ हजार बढी बिक्री भइसकेको छ ।
द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

