Chovar Blues Mobile Size

अमेरिकास्थित बोस्टन सहरमा बस्दै आएका शिव प्रकाश आफ्नो पहिलो औपन्यासिक कृति लिएर आएका छन् – समभोक । मोरङमा जन्मिएका प्रकाश साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहने स्रष्टा हुन् । यसअघि उनको ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा आइसकेका छन् । समग्रमा, ‘समभोक’ उनको पाँचौं कृति हो ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि प्रकाशोन्मुख उपन्यास ‘समभोक’मा केन्द्रित रही शिव प्रकाशसँग गरिएको कुराकानीको सम्पादित अंश:

पुस्तकको कभरमा लभ ट्र्यागल बनाएर ‘भोक, भोग र सम्भोग’लाई लेखिएको छ । अनुमान गर्न सकिन्छ – पुस्तकले यी तीन कुराका बारेमा बुल्नेछ । यसकै बारेमा थप प्रस्ट पारिदिनुहोस् न !

यो किताब भोक, भोग र सम्भोग – तीन खण्डमा लेखिएको छ । यो तीनवटा कुरालाई मस्तिष्कमा गडेर बसेको धारणाभन्दा भिन्न कोणबाट हेर्ने कोसिस गरिएको छ । दार्शनिक दृष्टिबाट हेरिएको छ । अझ, हामीकहाँ सम्भोगलाई चाहिँ भौतिकतासँग मात्र जोडेर हेर्ने गरेको पाइन्छ । तर, उपन्यासमा सम्भोगलाई मैले भौतिकताबाट टाढा राखेको छु । सम्भोगलाई दार्शनिक दृष्टिले हेर्दा कस्तो देखिन्छ ? भन्ने कुरा आम पाठकमाझ सम्प्रेषण गर्ने कोसिस गरेको छ ।

शिव प्रकाश

आवश्यकताको आधारमा हेर्दा मानवमा ‘भोक’पछि ‘भोग’ र ‘भोग’पछि ‘सम्भोग’ जागृत हुन्छ भन्ने पनि हो ?

हो । उपन्यास तीन खण्डमा छ । पहिलो भोकको खण्ड, जसलाई एउटा पात्रले बोकेको छ । दोस्रो भोगको खण्ड, जसलाई अर्को पात्रले निरन्तरता दिएको छ । र, तेस्रो खण्ड सम्भोग, जसको मुख्य पात्र अर्कै छ । यसरी उपन्यासको तीन खण्डलाई फरक तीन केन्द्रीय पात्रले प्रतिनिधित्व गरेका छन् । अन्त्यमा, तीनै केन्द्रीय पात्रहरुको माध्यमबाट भोक, भोग र सम्भोगको संयोजन भएको छ ।

तपाईंको कुरा सुन्दा, उपन्यासमा जुन कुरा समेटिएको छ यो गैरआख्यानको विषय हो जस्तो लाग्यो । तर तपाईंले यस विषयमा उपन्यासै चाहिँ किन लेख्नुभयो ?

म अमेरिका बस्न थालेको लगभग २३ वर्ष भयो । त्यहाँ बस्दा मैले फुटकर रुपमा रचनाहरु गरिरहेँ । दुई–चारवटा पुस्तकहरु प्रकाशनमा पनि आए । तर त्यहाँ बस्दै जाँदा मलाई एउटा प्रश्नले सताउन थाल्यो – आखिरमा मान्छे किन आफ्नो देश र माटो छोडेर परदेशिन्छ ? मैले आफैंलाई केन्द्रमा राखे सोच्न थालेँ – मलाई भोकले अमेरिका ल्यायो । मजस्ता लाखौंको नेपाली मात्र होइन, विश्वका करौडौं मानिसमा यो भोक जाग्यो । लाग्यो – अमेरिका चाहिँ भोकको दौड हो ।

अमेरिका पुगेपछि मान्छेको एउटा भोक त सकिन्छ, तर अन्य भाकहरुको सामना क्रमबद्ध रुपमा गर्दै जानुपर्छ । भाकबाट विभिन्न भोगहरु उत्पन्न हुँदा रहेछन् । तीमध्ये कति सामधान हुँदा रहेछन्, तर कति नहुँदा रहेछन् ।

यो भोकको भित्री पाटो बारेमा हाम्रा नेपाली लेखकहरुले गम्भीरताका साथै लेखेको पाइनँ । लेख्छन् कि भनेर पर्खिएँ पनि, लेखेनन् । विदेशी लेखकहरुले लेखेका त रहेछन्, तर त्यहाँ हाम्रो परिवेश थिएन । र, केही नजिकका साथीहरुसँग कुरा गरेँ । भोकसँग भोग र सम्भोगलाई पनि समेट्ने योजनाबारे सुनाएँ । उहाँहरुले विषयलाई नयाँ त मान्नु भयो, तर सँगै आख्यानीकरण गर्न असम्भवजस्तै रहेको पनि सुझाउनु भयो कतिले । उहाँहरुलाई यो फिलोसोफीको विषय लाग्यो । तर जोखिक उठाएरै भए पनि म लेख्ने मनस्थितिमा पुगेँ । र, अन्तत: यसले उपन्यासको रुप ग्रहण गर्यो ।

भनेपछि, उपन्यासमा पात्रहरु नेपाली छन्, परिवेशचाहिँ अमेरिकाको छ ?

हजुर । परिवेश अमेरिकाको छ । केन्द्रीय पात्रहरु नेपाली छन् । तर नेपालीमात्रै चाहिँ छैनन् । यति हो, पात्रताचाहिँ सबैले नेपाली नामबाट पाएका छन् । उपन्यास तेस्रो मुलुकबाट अमेरिकाको भोकको दौडमा मिसिन जानेहरु सबैको कथा–व्यथा हो ।

तपाईंको कुरा सुनिरहँदा लाग्यो – यस उपन्यासको लेखनमा तपाईंले लामो समय खर्चिनुभएको छ । भन्दिनुहोस् त, ठ्याक्कै कति समय लाग्यो ?

योचाहिँ अब कस्तो छ भने, मलाई भोक, भोग र सम्भोगलाई हाम्रा सतही आँखाले देखेका र समान्य मस्तिष्कले बुझेकाभन्दा फरक कोणबाट लेख्नु र पाठकलाई बुझाउनु पनि थियो । त्यसैले, यस विषयलाई आख्यानीकरण गर्नका लागि प्लट सोच्नै मात्र २ वर्षजति लाग्यो । लेख्नका लागि चाहिँ १ वर्ष लाग्यो । समग्रमा, तीन वर्षको मिहेनतले उपन्यास तयार भयो ।

तपाईंले लामो समयबाट अमेरिकाकै बासिन्दा । तेस्रो मुलुकबाट अमेरिका पुगेकाहरुको कथा–व्यथालाई अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा नलेखेर नेपालीमै चाहिँ किन लेख्नुपर्यो ?

पहिलो कुरो, मेरो अङ्ग्रेजी सामान्य कामचलाउ मात्र हो, भाषामा पकड छैन । म अङ्ग्रेजीमा उपन्यास लेख्न सक्दिनँ । दोस्रो चाहिँ, तेस्रो मुलुकका जति पनि मानिस अमेरिका पुगेका छन्, तिनीहरुको भोकमा समानता छ । तर भोक चाहिँ फरक छ । केन्द्रीय पात्रहरु नेपाली पृष्ठभूमिकै छन् । पृष्ठभूमिमा नेपाल जोडिएको छ । पात्रहरुमा नेपालीपन छ । यो उपन्यास विभिन्न भोकको दौडमा रहेक आम नेपाली पाठकले बुझ्नु पनि पर्छ । नेपाली भाषामै लेख्नुको कारण यही हो ।

उपन्यासमा नेपाली पाठकले नयाँ कुरा चाहिँ के पाउँछन् ?

यो उपन्यासले जुन विषय समेटेको छ, त्यो विषयलाई आख्यानीकरण गर्नु आफैंमा नयाँ कुरो हो कि भन्ने मलाई लाग्छ । सम्भोगको कुरा गर्दा, यौनसाहित्यहरु प्रशस्त लेखिएका छन् । तर उपन्यासले समेटेको सम्भोगको विषय यौनसाहित्य होइन । उपन्यासमा पाठकले ‘फिलोसिफिकल टच’हरु प्रशस्तै पाउनु हुनेछ ।

मैले जाने र बुझेसम्म, पूर्वीय साहित्यको सुरुवात दर्शनबाट भएको हो । तर वर्तमान समयमा हाम्रा साहित्यबाट दर्शन हराइसकेका छन् । विषयलाई भन्दा बजारलाई केन्द्रमा राखेर चटपटे किसिमका पुस्तकहरु लेखिन थाले । ‘समभोक’मा बजार केन्द्रित चटपटेपन छैन । विषयको गभीरतासँगै दर्शनको स्वाद पाठकहरुले पाउनुहुनेछ ।

अन्त्यमा, यो उपन्यासलाई लिएर तपाईंको अपेक्षा के छ ?

त्यस्तो केही छैन । मेरो के छ भने, म कम लेख्छु । लेखेपछि भरसक केही नयाँ कुरा लेख्छु, तर कुनै पनि अपेक्षा राखेर लेख्दिनँ । यसमा पनि, यसपछि अर्को उपन्यास म सायदै लेख्छु । त्यस कारणले, कुनै पनि अपेक्षा राखेर लेखिएको उपन्यास होइन । माथि नै पनि भने, लेख्नका लागि जरुरी लागेर लेखेको हुँ ।