
१.
डाक्टरसाब ! मलाई निद्रै पर्दैन अचेल । खाना खाएर सुतेको एक–डेढ घण्टासम्म त छट्पटिइ नै रहन्छु । मुटु ढुकढुक गरिरहेको हुन्छ । त्यसै त्यसै डर लाग्छ । यताउता कोल्टे फेर्छु । तर निदाउनै सक्दिनँ …।
२.
डाक्टरसाब ! मेरो अचेल चाँडै नै निद्रा खुल्छ, एकाबिहानै ब्युँझिसक्छु । सबैजना सुतिरहेका हुन्छन् तर मेरो भने ब्युँझिएपछि आँखै लाग्दैन । शरीरमा आलस्य, थकान भइरहन्छ दिनभर, निद्रै नपुगेको जस्तो लाग्छ….।
३.
डाक्टरसाब ! अचेल त मलाई निद्रै लाग्दैन । रातभरि काम गरेरै बस्न सक्छु, नयाँ नयाँ योजनाहरु बनिरहेका हुन्छन् । साह्रै नै खुसी छु । निद्रा नै चाहिने त होइन रहेछ नि मानिसलाई ?

प्रा.डा. अजय रिसाल
उपरोक्त तीन भिन्न सन्दर्भहरु तीनथरिका मनका कथाका पाटाहरु हुन्, अथवा तीन भिन्न मनोरोगहरुका आयामहरु हुन् ।
तर एउटा लक्षण भने तीनैमा समान छन्, निद्रामा समस्या ।
पहिलो सन्दर्भमा रोग एङ्गजाइटी डिस्अर्डर हो । यसमा मानिसलाई अनायास डर, छटपटी, मुटुको धड्कन बढ्ने जस्ता समस्याहरु देखा पर्दछन् । ती सबका कारण उसलाई निद्रा लाग्दैन । बेलुका सुत्न खोज्दा केही घण्टा छटपटीमै अनिदो भएर नै बित्छ । निद्रा नपर्दा झनै छटपटी बढ्छ ।
“किन निद्रा परेन ?” भन्ने चिन्ताले अत्यास अर्थात् एङ्गजाइटी अझै बढाउन थाल्छ ।
दोस्रो उदाहरण डिप्रेसनको हो । यसमा निद्राको प्रायः अन्तिम चरणमा गडबडी भई अरु समयमा भन्दा २–३ घण्टा अझै चाँडो निद्रा खुल्ने हुन जान्छ । निद्राको कमीले व्यक्तिमा थकान, आलस्य आदि देखा पर्दछ । व्यक्तिमा नैराश्यता या उदासीनता दिनको बिहानी समयमा ज्यादा रहने हुँदा अनिद्रासँग ती सबै लक्षणहरु सम्बन्धित हुने गरेको पाइन्छ ।
तेस्रो उदाहरणमा व्यक्तिलाई निद्राको आवश्यकता नै नरहेको जस्तो महसुस हुने गर्दछ । उसमा तीव्र उत्साहको सञ्चार भइरहने, हरदम खुसी अनि कार्यमा नै लागिरहेको झैं हुने हुँदा नयाँ नयाँ योजना बनाउने, ज्यादै खर्च गर्ने अनि धार्मिक गतिविधिमा पनि अलि धेरै नै लाग्नेजस्ता लक्षणहरु पाइन्छन् । यी सबै हाइपोम्यानिया (अझैँ गम्भीर अवस्थामा रहे म्यानिया) का लक्षणहरु हुन् ।
यिनै उदाहरणहरुले प्रष्ट्याउँछन् कि मनका कथाहरुमा भनौं या मानसिक समस्याहरुमा “निद्रामा गडबडी” प्रमुख लक्षण हुने गर्दछन् । यी बाहेक साइकोसिस , सोमाटोफर्म डिस्अर्डर जस्ता रोगहरुमा पनि “अनिद्रा” प्रमुख रुपमा देखा पर्ने गर्दछन् । साइकोसिसमा मस्तिष्कमा असामान्य रुपमा भइरहने विचारहरुको क्रिया–प्रतिक्रियाले गर्दा अनि सोमाटोफर्म डिस्अर्डरमा दुखाइ या सम्भावित अन्य शारीरिक लक्षणहरुका कारण निद्रा नपर्ने हुन सक्दछ ।
वास्तवमा, मानसिक रोगहरुको जैविक कारकतत्त्वहरुको खोजी गर्दा रसायनहरुमा हुने असन्तुलन पनि एक प्रमुख कारण भएको पाइन्छ । त्यही रासायनिक असन्तुलनले नै मस्तिष्कका अवयवहरुमा असर गरी निद्रामा समस्या ल्याउने गर्न सक्दछन् ।
यी सबै कारणहरुले गर्दा नै मानसिक रोगहरुको उपचारमा निद्रामा सहायता गर्ने औषधिहरु पनि प्रयोग गर्ने गरिन्छ । एङ्गजाइटीमा उपयोग हुने बेन्जोडाइजिपाइन समूहका औषधिहरुले निद्रामा सन्तुलन ल्याउने काम गर्दछन् । त्यस्तै डिप्रेसन, साइकोसिस, म्यानियाजस्ता रोगहरुका लागि प्रयोग हुने औषधिहरुमा पनि निद्रालाई सहायता गर्ने रसायनहरु पाइन्छन् । तर सबै मनोरोगका लागि प्रयोग हुने सबै औषधिहरु ‘निद्रा लाग्ने औषधि’ मात्र भने होइनन्, यो भ्रमबाट भने बच्नुपर्दछ । यसका बारेमा तल विस्तृत रुपमा बताइएको छ ।
यी बाहेक ‘निद्रा नलाग्ने समस्या’ कुनै पनि मानसिक रोगहरुसँग सम्बन्धित नभइकन प्राथमिक रुपमा नै निद्राकै समस्याका रुपमा नै देखा पर्न पनि सक्दछन् । यस्तो समस्यालाई ‘प्राइमरी इन्सोम्निया’ भनिन्छ । यस्तो समस्या भएका व्यक्तिहरु ‘निद्रा पुगेन’ भनेर नै हामीकहाँ आउँदछन् । त्यस्ता रोगको उपचारका लागि लाग्नुभन्दा पहिले बिरामीहरुको पूरा विवरण लिएर माथि उल्लेखित भएझैंका कुनै रोग भए–नभएको निर्क्योल गर्नुपर्दछ । त्यसपछि प्राइमरी इन्सोम्निया नै भएको प्रमाणित भएमा त्यस्ता व्यक्तिहरुको निद्राको कमीले तिनको दैनिकीमा कति गहिराइसम्म प्रभाव पारेका छन् भनी विचार गर्नुपर्दछ ।
सामान्य निद्राको समस्या मात्र भएमा तिनलाई ‘शयन स्वास्थ्य’ (स्लीप हाइजिन) का बारेमा सुसूचित गराउनुपर्दछ । यदि अनिद्राले दैनिकीमा बढी नै असर गरेको छ भने त्यस्ता व्यक्तिहरुलाई छोटो समयका लागि ‘निद्रा लाग्ने औषधि’ प्रदान गर्न सकिन्छ । तर त्यस्ता औषधिहरु बिस्तारै घटाउँदै गएर अवस्था सामान्य भएपछि भने बन्द नै गरिदिनुपर्दछ ।
माथि उल्लेखित भएझैंका मानसिक रोगहरुका कारण निद्रामा समस्या भएका व्यक्तिहरुमो चाहिँ प्राथमिक रोग (सम्बन्धित मनोरोग) को उपचारका क्रममा बिस्तारै नै निद्राका समस्याहरु पनि हराउँदै नै जान्छन् । यस्ता रोगहरुमा पनि पहिले अलि बढी मात्रामा औषधि दिएर निद्राका समस्याहरुलाई निस्तेज गरिन्छ । रोगका लक्षणहरुमा कमी आउँदै गरेपछि या निद्राका समस्या घट्दै गएपछि भने ती औषधिहरुको मात्रा पनि घटाउनु पर्दछ ।
अतः निद्राको समस्या साधारण समस्या होइन, यसमा कुनै मनोरोग नै लुकेको पनि हुन सक्दछ । त्यसैले त्यस्ता समस्या भएका जोसुकैले पनि ‘शयन स्वास्थ्य’का बारेमा सजग भएर आवश्यक पर्दा मनोचिकित्सकको सल्लाह लिन हिच्किचाउनु हुँदैन ।
अब कुरा गरौँ, “निद्रा लाग्ने औषधि”हरुसँग सम्बन्धित भ्रमहरुका बारेमा ।
१.
डाक्टरसाब ! मलाई ‘निद्रा लाग्ने औषधि’ चाहिँ नदिनुहोस् है ! बरु काउन्सेलिङ्ग मात्र गर्नुस् । तपाईंले जतिचोटि बोलाए पनि आउँछु …।
२.
औषधि त के नै हुन्छ र यस्तो रोगको ? डाक्टरहरुले त खालि ‘निद्रा लाग्ने औषधि’ दिएर बिरामीहरुलाई लठ्याउने मात्र न हुन् ।
३.
त्यो ‘निद्रा लाग्ने औषधि’ त धेरै खानु हुँदैन है ! त्यसले बानी लगाउँछ, पछि छुटाउन नै सकिन्नँ …।
उपरोक्त तीन सन्दर्भहरुमा अन्तर्निहित जनमानसमा रहेका भ्रमहरु अनि तिनले मानसिक रोग उपचारको गाम्भीर्यतामा ठड्याएका शंकाहरुले कहिलेकाहीँ चिन्तित बनाउँछ मलाई ।
माथिका उदाहरणहरुले मनोचिकित्सा पद्धतिको वैज्ञानिकतामाथि तीन महत्त्वपूर्ण प्रश्नचिन्हहरु औंल्याएको मान्दछु मः
१. मानसिक समस्याहरुमा डाक्टरी औषधि नै हुँदैन ।
२. मनोचिकित्सकहरुले खालि ‘निद्रा लाग्ने औषधि’ दिएर मनोरोगीहरुलाई लठ्याउने र तिनका अफ्ठ्यारा व्यवहारहरुलाई निस्तेज मात्र गराउने हुन् ।
३.‘निद्रा लाग्ने औषधि’हरुले बानी लगाउँछन्, अनि त्यसबाट मानसिक रोगीहरुले जीवनैभर छुटकारा पाउन सक्दैनन् । यसरी नै मनोचिकित्सकहरु मनोरोगीलाई दुहुनो गाई बनाउने गर्दछन् ।
पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक जमघटमा हुने गरेका कुराकानी, अलिकति जान्नेबुझ्ने कहलिएकाहरुको भनाइ सबैको संश्लेषण गर्दा हाम्रो समाजमा यी भ्रमहरुले नराम्ररी नै जरो गाडेको महसुस गर्दछु म । एक मनोचिकित्सकका नाताले यस्ता भ्रमहरु व्याप्त रहिरहनुमा म आफूलाई पनि जिम्मेवार नै ठान्दछु अनि त्यस्ता भ्रम निवारणार्थ नै कलम चलाइरहेको पनि छु ।
२१औं शताब्दीमा आइपुग्दा मनोचिकित्साको क्षेत्रमा ठूलो प्रगति हासिल भइसकेको म मान्दछु । १६औं–१७औं शताब्दीमा जस्तो ‘टाउकोमा प्वाल पार्ने’, ‘बोक्सी धपाउने’, ‘आगो लगाउने’ जस्ता विधिहरु अपनाइन्नँ अहिले सभ्य समाजमा । न त १८औं–१९औं शताब्दीमा झैं मानसिक रोगीहरुलाई बाँधेर, थुनेर, यातना दिएर पाशविक स्तरमा नै राखिन्छ अचेल । न त २०औं शताब्दीमा झैं बिरामीहरुले देख्ने सपनाको आधारमा, उनीहरुसँग एक्लै गरिएका कुराकानीको माध्यमद्वारा या जे कुरामा पनि यौनिक विश्लेषण मात्र गरेर उपचार गर्ने प्रयास नै गरिन्छ अचेल ।
समय धेरै नै परिवर्तन भइसकेको छ । त्यसैले त २०औं शताब्दीको ‘हिस्टेरिया’लाई ‘डिसोसिएसन’ भनिन्छ अचेल । साइकोसिस र न्यूरोसिसदेखि पर अचेल अनेकौं मानसिक रोगहरु छलफलमा आइसकेका छन् ।
आनुवंशिकता, रासायनिक तत्त्वहरु (न्यूरोट्रान्स्मिटर, हर्मोन, खनिज पदार्थ) अनि मस्तिष्कको अध्ययन (सिटीस्क्यान, एम.आरं आइ.)बाट प्रायः सबै मानसिक रोगहरुको जैविक कारकतत्त्वहरुको आँकलन भई नै सकेको छ । अनि तिनै अध्ययनहरुका आधारमा थुप्रै औषधिहरु बनिसकेका छन् सन् १९५० यता ।
अब भन्नुहोस्, त्यसै मुताबिक गरिने उपचार वैज्ञानिक नहोला त ? अतः ‘मानसिक रोगहरुको डाक्टरी औषधि छँदै छैन’ भन्ने भ्रम पालिरहनु चेतनाको कमी, अध्ययनको सीमितता अनि तार्किक विश्लेषणको अभावका कारण नै हो भनी मान्न सकिन्छ । पहिलेजस्तो मनोचिकित्सा अध्ययन गरी मनोचिकित्सक बन्न हिच्किचाउने डाक्टरहरु ज्यादै कम छन्, अतः यो भ्रम निवारणका लागि सबै मनोचिकित्सकहरु एकजुट हुनुको विकल्पै छैन ।
अब कुरा गरौँ ‘निद्रा’को ।
हाम्रो दैनिक जीवनमा यसको महत्त्वका बारेमा मैले धेरै भनिरहन नपर्ला । हाम्रो मस्तिष्कलाई कम्प्यूटरसँग तुलना गर्ने हो भने त्यसको सफ्टवेयरलाई चुस्त–दुरुस्त राख्न चाहिन्छ निद्रा । शारीरिक मात्र नभई मानसिक थकानबाट मुक्तिका लागि पनि चाहिन्छ निद्रा । त्यस्तै, कोष एवं तन्तुहरुको वृद्धि–विकास अनि स्मरणशक्ति एवं वैचारिक संश्लेषण सबैका लागि चाहिन्छ निद्रा । त्यसैले नै पनि होला, हाम्रो संस्कृतिमा पनि “या देवी सर्वभूतेषु निद्रारुपेण संस्थिता…” भनेर निद्राकी देवी योगमायाको आराधना गर्ने परम्परा छ । त्यस्तै, ग्रीक सभ्यतामा पनि ‘हिप्नोस’ भनेर निद्राकी देवीलाई मान्ने गरेको पाउँछौँ हामी ।
अब जाऔँ मानसिक रोगका लक्षणहरुतर्फ । माथि नै भनिसकियो, ‘निद्रामा कमी’ प्रायः सबै मानसिक रोगहरुको लक्षण हो । तनाव अनि उदासीनता, एङ्गजाइटी या डिप्रेसनका कारण निद्रा लाग्दै नलाग्ने, रातको बीचमा ब्युँझिएपछि निद्रा पर्दै नपर्ने या अरु समयमा भन्दा निद्रा चाँडै खुल्ने हुनसक्दछ ।
त्यस्तै, म्यानिया या हाइपोम्यानिया जस्ता रोगमा बिरामीहरुको उत्साहमा अनि विचारमा आउने तीव्र प्रवाहका कारण बिरामीहरुलाई निद्राको आवश्यकता नै महसुस नहुने हुनसक्दछ । सोमाटोफर्म जस्ता रोगहरुमा भने दुखाइका कारण निदाउन नसक्ने हुनसक्दछ । हेरिल्याउँदा ‘निद्राको गडबडी’ को उपचार नगरी कुनै पनि मानसिक रोगको उपचार नै नहुने रहेछ ।
त्यसैले, मानसिक रोगहरुको लक्षणात्मक उपचार पनि ‘निद्राको उपचार’ बाट नै सुरु हुन्छ । हामीले प्रयोग गर्ने एण्टिडिप्रेसेण्ट अनि मुड स्ट्याबिलाइजर औषधिहरुले तिनको मुख्य काम क्रमशः डिप्रेसन र म्यानियाको उपचारका क्रममा निद्राको सन्तुलन पनि मिलाइरहेका हुन्छन् । अनि सेडेटिभ–हिप्नोटिक औषधिहरु प्रमुखतः निद्रामा हुने गडबडी अनि एङ्गजाइटी रोगका लागि नै हुन् । अझ मद्यपानजन्य समस्याको प्रारम्भिक चरणमा त यी सेडेटिभ–हिप्नोटिक औषधि नभई हुन्न ।
अतः यो कुरामा सबैजना स्पष्ट नै हुनुपर्दछ कि मनोचिकित्सकहरुले दिने सबै औषधि ‘निद्रा लाग्ने औषधि’ होइनन्, अनि मानसिक रोगीहरुलाई लठ्याउने मात्र तिनको उद्देश्य कदापि हुँदैन । हो, तिनले दिने औषधिले अलिकति ‘निद्रा लगाउने काम’ भने गर्दछन्, तर त्यो पनि मनोरोगहरुको उपचारको प्रक्रिया नै हो ।
अब तेस्रो भ्रमको कुरा गरौँ । हो, सेडेटिभ–हिप्नोटिक समूहका औषधिहरुले भने बानी लगाउन पनि सक्दछन् यदि चिकित्सकीय निगरानी एवं सरसल्लाहमुताबिक प्रयोग गरिएका छैनन् भने । चिकित्सकहरुको सल्लाहबेगर औषधि पसलमा ओभर द काउण्टर यस्ता औषधि प्रयोग गर्ने व्यक्तिहरु लागूपदार्थ दुर्व्यसनीहरु पनि हुन सक्दछन् । हामी चिकित्सकहरुले भने त्यस्ता औषधिहरु निश्चित समयका लागि अनि बिरामीका प्रकार हेरेर मात्र प्रयोग गर्ने गर्दछौँ । बिरामीको अवस्था ठीक हुँदै जाँदा त्यस्ता औषधिको मात्रा घटाउँदै जान्छौँ अनि बिरामीको अवस्था राम्रो भएपछि त्यस्ता औषधि बन्द नै पनि गरिदिन्छौँ ।
यस्ता कुरा बिरामी एवं बिरामी–पक्षलाई राम्ररी बुझाउन सकेमा यी भ्रम पनि हट्नेमा दुविधा रहन्न । अतः मनोचिकित्सक साथीहरु ! बिरामी–पक्षलाई रोग एवं उपचार–विधिका बारेमा सल्लाह–सुझाव दिनमा कन्जुस्याइँ कदापि नगरौँ, नत्र यस्ता भ्रमहरुले हाम्रो पेशा एवं हाम्रो उपचार सेवा कार्यको अवमूल्यन मात्र गराउँछन् ।
यी त भए भ्रमहरु ! यस्ता भ्रमको पछि लागेर सरकारी तवरबाटै समेत नकारात्मक कार्यहरु भएको म जानकारी गराउन चाहन्छु । बिना अध्ययन सेडेटिभ–हिप्नोटिकहरुलाई लागू पदार्थको कोटिमा राखेर तिनको आयातमा बेला बेलामा प्रतिबन्ध लगाइने गरिँदा हामीलाई समेत अहिले उपचार–प्रक्रियामा हात बाँधिएको अनुभव हुने गर्दछ । प्रभावकारी नियमनको साटो नियन्त्रण मात्र भइदिँदा कसरी उपचार कार्य हुनसक्ला त ?
अतः म यस आलेख मार्फत् सम्पूर्ण सचेत पाठकवृन्दमा निद्राका समस्याहरुमा अन्तर्निहित मनका कथाव्यथा अनि ‘निद्रा लाग्ने औषधि’ सित सम्बन्धित यावत भ्रमहरु चिरेर मनोचिकित्साको हाम्रो प्रयासमा हातेमालो गर्न आह्वान गर्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

