करिव चार महिना लामो लकडाउन भर्खरै सरकारी घोषणाबाट अन्त्य भएको छ । अपितु हामी जोखिममुक्त भने भएका छैनौँ । बरु कोरोना महामारी अतिशय जोखिमतिर अभिमुख भइरहेको दृश्य गोचर भइरहेको छ । दिनदिनै यसबाट संक्रमितको ग्राफ उकालो चढिरहेको छ । कामना गरौँ, सावधानी र सचेतता अपनाऔँ, कोरोना संक्रमणको गति ओरालो झरोस् । चाँडो भन्दा चाँडो तमाम वैश्विक जनसमुदायले यसबाट त्राण पाउन सकून् । यसबाट पिडित प्रभावित समुदायले छिटै शान्ति र आरोग्यताको सास फेर्न सकून् । अखिल वैज्ञानिक विश्वले यस भाइरसबाट मानव जातिलाई मुक्त गर्न सक्षमता हासिल गरोस् । यसबाट बँच्न स्थायी तवरको औषधि र खोपको विकास गर्न सकोस् ।
कोरोना जोखिमबाट सृजित बन्दाबन्दीले सामाजिक जीवन, राष्ट्रिय जीवन र अन्तर्राष्ट्रिय जीवनका विविध पक्षहरुमा नकारात्मक दुष्प्रभाव र विपत्तिहरु सिर्जना गरेको छ । तर सिर्जना स्रष्टाका निम्ति कोरोनाकाल निकै उर्वर, उत्पादक र सार्थक बनिरहेको कुरा विभिन्न तथ्यहरुले बताइरहेका छन् । कला, साधक, अक्षरकर्मीका निम्ति यो काल सिर्जनाको सहकाल भएर आएको छ । अध्येता र अन्वेषकहरुका निम्ति यो काल अध्ययन, निदिध्यासन र गवेषणाको निम्ति उर्वरकाल बनेको छ । सच्चा साधकका निम्ति यो काल साधनाको समृद्ध काल बनेको छ ।
अधिकांश नेपाली स्रष्टाहरु आफ्नो कलासाधना या सिर्जनसाधनाको बलले मात्र हातमुख जोड्न सक्ने अवस्थामा छैनन् । बिहान बेलुकीको रोजिरोटीको चक्र चलाउनका लागि कुनै न कुनै रुपमा अर्को पेसा, व्यवसाय र नोकरीमा लाग्नुपर्ने बाध्यता छ । पूर्णकालीन लेखक भएर बाँच्न सक्ने अवस्था थोरै लेखकलाई जुरेको होला । धेरै त सिर्जन विधाभन्दा अलग कित्ताको पेसा व्यवसायमा आबद्ध भएर बाँच्नुपर्ने मजबुरी छ ।
रोजिरोटीका अनेकन पेसामा अनुबन्धित यस्ता स्रष्टाहरुलाई सिर्जन कर्मको लागि सधैँ समयको चापाचाप हुने गर्छ । समयकै अभावले स्फूरणमा आएका अनेकन भाव कापी र कन्तुरमा थन्किएका हुन्छन् । अक्षरकर्मी साधकलाई धौ फुकाएर लेख्न समयको विराम मिलिरहेको हुन्न । गायक र गजलकारहरुले समयकै अभावका कारण लय र सुरतालमा जमेर गाउन पाइरहेका हुन्नन् । रङ र रेखामा खेल्ने चित्रकारले मनचिन्त्य मुडमा क्यानभासमा पोखिन अवकाश पाएका हुन्नन् । मूर्ति गढ्ने कलाकारले मनमौजी रुपमा हथौडी र छिनो चलाउन नपाएर मूर्तिको आकृति कुँद्न पाएका हुन्नन् ।
अथक् अविश्रान्त कलमजीवी स्रष्टाहरुको निम्ति सदैव समयको अनिकाल परिरहन्छ । म पनि विगत तीस वर्षदेखि बच्चा पढाउने पेसामा आबद्ध छु । बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म दिनका दिव्य बाह्रघण्टा पाठशालाका चारदिवारी बीच अनुबन्धित छु ।
आफ्नो पेसागत कर्मबाट विराम लिएर थोरै समय फुक्काफाल रुपमा अध्ययन, लेखन र निदिध्यासनमा डुबुल्की लाउने समय आकाशको फल आँखा तरी मर जस्तो बनिरहेको थियो । कल्पनाको आकाशमा निर्वाध उडान भरेर मनचिन्त्य अक्षरयात्राको दौडमा निस्कने सुनौला अवसर नियतिले मलाई कहाँ दिएको थियो र ?
आफ्नो र बालबच्चाको आङमा अस्कोट भिर्नुको आवश्यकताले शिक्षण पेसामा पशुवत् बाँधिएको थिएँ म । नानीहरुका मगजमा अक्षर रोप्न, परिवार जनका पेटमा आँटोपिठो जुटाउन म यस धन्दामा बाध्यकारी रुपमा जकडिएको छु । आँटो, अस्कोट र अक्षरको जोरजाम पछि उब्रेपाब्रेको थोरै समय सृजनकुण्डमा गोता मार्न मिलिआएको हो । रोजिरोटी जुटाउने धन्दामा बाँधिएका तमाम स्रष्टाका कथाव्यथा मेरा जस्तै होलान् भन्ने अनुमान गर्छु ।
मुलुकमा कोरोना कहर सुरु भएपछिका अधिकांश दिन आफ्नै घरको चारदिवारी बीच अध्ययन, लेखन र आत्मरमणका नितान्त निजी कोठे काममा लवलीन भएर बिते । लकडाउन सृजन साधनाको लागि मेरा निम्ति एक अपूर्व अवसर बनेको थियो । लेख्न थातिरहेका अधु्रा सिर्जनाको बिटो निकै कसिलो थियो । बन्दाबन्दीको समय त्यसलाई पूरा गर्ने अनुपक मौका थियो । यो समय आफूलाई अध्ययन गर्न मन लागेका पुस्तक र तिनका विषयवस्तुमा डुबुल्की लाउन पूर्ण अवसर मिलेको थियो ।
बन्दाबन्दीको कारण स्कुल बन्द छन् । क्याम्पस बन्द छन् । कार्यालय बन्द छन् । उद्योगधन्दा बन्द छन् । लामोछोटो दूरीका सार्वजनिक यातायातका साधन बन्द छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय उडान बन्द छन् । आवागमनको निर्वाध गति अवरुद्ध छ ।
कोरोना कहरका आरम्भिक पाँच महिनाको समयलाई फर्केर हेर्दा फायल र कन्तुरमा थन्किएर बसेका अधुरा रचनाको बिटो केलाउनलाई पहिलो प्राथमिकता दिएछु । यस हिसावले कोरोनाकाल सृजनको स्वर्णिम काल बन्यो मेरालागि । यस अवधिमा केही पु्राना अपूर्ण रचनालाई पूर्णता दिने काम मात्र गरिनँ, केही नयाँ रचनाको सृजनापनि गरेछु । केही मन परेका विषय र विधाको अध्ययन, केही अवलोकन, केही समीक्षण र ज्ञानी जनका आप्तवाणी श्रवणमा समयका धेरै हिस्सा खर्च गरेछु ।
आज अनयास फायल पल्टाउँदा कोरोनाकालले एक लोभलाग्दो सिर्जना सूचि दिएछ मलाई । लामा कथा, छोटा कथा, निबन्ध, नियात्रा, कविता लगायतका थुप्रै रचनाहरु सिर्जना भएछन् । यस अघि यो अनुपातमा यति सघन
रुपले सृजनाको बाढी सायदै आएको थियो होला । यस मानेमा कोरोना कालको समय मेरा निम्ति सार्थक र उत्पादनशील रह्यो ।
यस अवधिमा मुलतः कथा, निबन्ध र नियात्रा बढी लेखिएछ । लघुकथातर्फ हिमाली भोटेनी, किर्तनरामको मृत्यु, घिउ र डिउ, कर्मफल, उडान भत्ता, मंगले रसाइली, दर्पण सरको रथारोहण, भाजुमानको धन्दा, अण्डीको बर्को, दूधको धारा, बलात्कार, बृद्धभत्ता, साइलो कामी, लकडाउन, हाकिमको मृत्यु र चिन्ता शीर्षकका सोह्रथान लघुकथा सिर्जना भएछन् ।
लामा कथामा गाडधन, ढोँग, कामरेडको जिब्रो, गंगास्नान, जुल्फीदास, गयल, ल्याप्टू, साँसद कपुर्नाथ, खिनौरी फुपू, गदगद शीर्षकका एकदर्जन रचना सिर्जना भएछन् ।
निबन्धतर्फ समय–ओखती, अज्ञात–आत्मशक्ति, जुराफको प्वाल, मगन्ते–वृत्ति, क्षणभङ्गुरता, झोपडीः मेरो पौरखको दररबार, अईँ–अईँ, गनगन कि गुनगुन, सहानुभूतिका दुःख, कामचोर जमाती, तलेघरहरु, मृत्युबोध, खरिजुकाहरु, सृजनपथ, पाकेको इँटा शीर्षकका पन्ध्रथान निबन्ध लेखिएछन् ।
कुशिनगर यात्रा, सिक्किम यात्रा, मिरिक दार्जेलिङ यात्रा, सिमला यात्रा गरी चारवटा नियात्रात्मक निबन्ध लेखिएछन् । यी ठाउँमा विगतका विभिन्न समयमा यात्रा गरेको थिएँ । यात्रा संस्मरणका टिपोट डायरी कन्तुरमा त्यसै थन्किएका थिए । बन्दाबन्दीकै याममा तिनलाई संस्मरणात्मक आलेखमा तन्काउने काम गरियो । साहित्यकार नन्दलाल आचार्यको नयाँ कथा सङ्ग्रह नयाँ घाममाथि एक समीक्षात्मक भमिकापनि यसै अवधिमा लेख्न भ्याएछु ।
कवितातर्फ झण्डै आधि दर्जन कविता रचिए होलान् । त्यसमध्येका केही थान कविता फेसबुक र अनलाइन पत्रिकामा पोष्ट भएछन् । माथि उल्लेखित सृजनाहरु कतिपय कथा र निबन्धका विषयवस्तु र त्यसका भावभूमि पहिले नै सम्पूर्ण भई या केही अंश लेखिएर कापीका पानामा अधुरो अवस्थामा थन्किएका थिए । कतिपयका कथानक भने दिमागमा भित्रभित्रै पाकेर अन्तरमा अड्किबसेका थिए । यिनलाई लेख्न र पूरा गर्न पाएपछि हृदयमा एक किसिमको हलुङ्गोपन छायो । प्रशव वेदनाको पीडापछि जसरी काखमा एक सुकमार शिशुको प्राप्तिले जन्मदातृ जननीमा एक अपार खुसी र आनन्द मिल्छ । हरेक रचनालाई पूर्णताको डिलमा पुर्याएपछि सोही खालको आनन्द प्राप्ति भएको छ ।
साहित्यिक रचना सृजनाका अतिरिक्त लालशेर राईको स्मृति ग्रन्थ र प्रगतिशील लेखक संघको प्रकाशोन्मुख ग्रन्थ सम्पादनको कार्य पनि यसै अवधिका सम्पन्न गरियो ।
बन्दाबन्दीको समयलाई उपयोग गर्दै अनलाइन यूटुबमार्फत् झण्डै तीन दर्जन संख्याको हाराहारीमा केही राम्रा र सार्थक सिनेमाहरु हेरियो । खासमा सिनेमाप्रति उतिसारो अनुराग भएको मान्छे होइनँ म । सिनेमामा भन्दा अध्ययनमै रुचि र रस राख्दछु । तर बन्दाबन्दीकै अवधिमा हिन्दी सिनेजगत्का केही कीर्तिमानी कलाकारहरु शशीकुपर, इरफान खान र सुशान्तसिहं राजपुतको दुःखद अवशान भयो । खासगरी इरफानको निधनपछि उनले खेलेका केही चर्चित सिनेमाहरु पानसिंह तोमर, मदारी, हिन्दी मिडियम, लन्चबक्स आदिमा विषयमा सामाजिक सञ्जालमा काफी चर्चा परिचर्चा भएको देखियो । त्यसपछि उनका एकाध फिल्म हेर्ने हुट्हुटी जाग्यो ।
सुरुमा पानसिंह तोमर हेरेँ । त्यो सत्य घटना र यथार्थ पात्रमा आधारित सिनेमा थियो । मध्यप्रदेशको एक साधारण किसान परिवारमा जन्मिएको ठिटो पानसिंह तोमर भारतीय फौजमा भर्ती भएर खेलाडीको रुपमा विश्व कीर्तिमान कायम गर्छ र आफ्नो देशको नाम संसार सामु रोशन गर्छ । तर सैन्य सेवा र खेलाडी जीवनबाट अवकाश लिएर गाउँ फर्किनासाथ ग्रामीण सामन्तहरुको चर्को शोषणमा पर्दछ ।
सामन्तहरुले उसको जग्गा कब्जा गर्नेमात्र होइन, उसकी बुढीआमाको निर्मम हत्या गरिदिन्छन् । भ्रष्ट प्रशासन र सामन्ती शोषण विरुद्ध जुझ्नलाई बन्दुक उठाइ विद्राही दल खडा गर्छ । अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्दागर्दै एकदिन पुलिसको गोली लागी मारिन्छ । साँच्ची कै पानसिंह तोमर त्यसरी नै मारिएको थियो । अत्यन्त हृदय विदारक र सत्य घटनामा आधारित रहेछ यो सिनेमा ।
फरक धार र फरक स्वादका सिनेमा खेल्ने मात्र होइन, सार्थक, सन्देशमूलक, गरिबको न्याय व्यवस्था स्थापनाको उद्देश्यबाट इरफानको सिनेकला अभिप्रेरित रहेको बुझेपछि लगातार उनका अरु फिल्महरु हेरेँ । पानसिंह तोमरका आलवा मदारी, तुलसी, लन्चबक्स, हिन्दी मिडियम, अंग्रेजी मिडियम, किलर, प्रथा, एकसाम कि मुलाकात हेरेँ ।
यसैगरी अमिर खान अभिनित थ्री इडियट, मंगल पाण्डे जस्ता सिनेमापनि हेरेँ । अमिताभ बच्चन अभिनित कोहराम, आरक्षण, आनन्द हेरेँ । नाना पाटेकरका जीवन्त अभिनयले सिञ्चित युगपुरुष, तरकीव, अवाम, अव तक छपन्न, क्रान्तिवीर, ट्याक्सी नं.९२११ पनि हेर्न भ्याएँ । नसिरुद्धीन साहका पार र अपना जहान हेरेँ । यस अवधिमा अन्य फिल्मपनि हेर्न भ्याएँ । जसमा गुलाम, अवेड्नस्डे, वेक अफ सिद, पिकु ज्याज्वा, आराधना, दृष्टि, यशवन्त, खामोसी, मौत से जंग, आज कि आवाज, लैला मजून, मदर इन्डिया, चक डस्टर, करामती को, कथा, गीद्ध, गुजारिस, हुतुतु, कविर पर्दछन् । नुमाफुङ, बिनायो, छक्कापञ्जा, पुरानो डुंगा, लुट र देवता जस्ता नेपाली सिनेमाहरुपनि हेरेँ ।
व्यापारिक तथा चलनचल्तीको व्यवसायिक धार भन्दा अलग धारका कलात्मक सिनेमाप्रति मेरो हृदयमा दिलचस्पी रहेछ भन्ने कुरा एकपछि अर्को सिनेमा हेर्दै जाँदा बुझेँ । काव्यचेतले भरिएका सार्थक सन्देश र स्वस्थ आनन्द प्रदानको हेतुबाट सृजित सिनेमा हेर्नु भनेको ठूलै आख्यानको पुस्तक छिचोलेतुल्य लाग्यो । यति त्वरामा बगेर सिनेमा हेर्न मलाई अहिलेसम्म अवकाश मिलेकै थिएन । हुन त पछिल्लो समयमा इन्टरनेट प्रविधिको विकासले असम्भव कुरालाई पनि सम्भव तुल्याइदिएको छ ।
कोरोनाकालले सिनेमाप्रति एक नजानिँदो आकर्षण र आशक्ति मनमा जगाइदिएको छ । लेखन सृजनको हिसाबले यो पाँच महिना जति ऊर्वर रह्यो, फिल्म हेराइको हिसाबले पनि यो काल ऊर्वर नै रह्यो । सिनेमाबाट पनि जीवन सिकिने रहेछ । यसले बाँच्नको निम्ति चाहिने जीवन्त प्रेरणा हृदयमा भर्दोरहेछ । जीवनमा आउने घात, प्रतिघात, संघर्ष र चुनौतीबाट पार हुन, समस्याको दलदलबाट माथि निस्किन यसले ऊर्जा दिनेरहेछ । यस कालमा हेरेका सिनेमाहरुले मलाई केही न केही सिकाएर गएका छन् ।
मेरो मनको एक अज्ञात कुनामा इतिहास अध्ययनप्रतिको सूक्ष्म तृष्णा जीवित थियो । विश्व इतिहासका केही पात्रलाई गहिराइमा गएर छाम्ने छुने चाह थियो । लकडाउनको फुर्सदीले त्यो मनसुवालाई पनि धेरथोर पुरा गरिदियो । इन्टरनेटको उपस्थितिले ज्ञान विज्ञानका अनेक तथ्यहरु आफ्नै काख र हत्केलाको स्क्रिनमा ह्वारारा खसाइरहेको छ । प्रविधिको दुनियाँमा तैरिन सक्नेका निम्ति विषयबस्तुहरु हावामै कुदिरहेका छन् । तिनलाई टिप्नु, छुनु र समात्नु सम्मको कुरा न छ ।
विश्व इतिहासका केही प्रख्यात कुख्यात तानाशाह, वादशाह, र साम्राज्य बिस्तारक योद्धाहरुको विषयमा जान्ने खुलदुली थियो । त्यस खुलदुलीलाई कोरोनाकालले अलि अलि भएपनि पुरा गरिदियो । सिकन्दर, चंगेज खाँ, बाबर, नादिर शाह, तैमुर लङ, महाराणा प्रतापदेखि नेपोलियन बोनापार्टासम्मका वीरगाथाहरु, तिनले गरेका युद्धका विभत्स दृश्यको वर्णन युटुबबाट सुनेँ । लेखनको लागि काम लाग्ने केही घात लाग्दा तथ्य र सन्दर्भहरु डायरीमा टिपोट गरेँ । औरङ्गजेब, शिखगुरु तेगबहादुर, गोविन्दसिंहदेखि नेहरु, इन्दिरा, राजीव र लालबहादुर शास्त्रीसम्मका जीवनवृत्त सरसर्ती छिचोल्ने काम गरेँ । सम्राट अशोक, बिक्रमादित्यदेखि अमरसिंह थापा र सि जीनपीङसम्मका जीवनी सरसर्ती सुन्न भ्याएँ ।
ठगीको दुनियाँमा चमत्कार मच्चाउने नटवरलालदेखि वीरवल राजा अकबरको दरबारमा कसरी मन्त्री बन्न सफल भयो ? सम्मका सत्य घटनाहरु पढियो । राहुल सांकृत्यायनले कुनै सन्दर्भमा हाम्रा महाकवि देवकोटालाई भारतका तीनजना कविहरु पन्त, प्रशाद, निरालासित तुलना गरेका थिए । अर्थात हिन्दी साहित्यका तीनजना महाकविको व्यक्तित्व एउटै महाकवि देवकोटामा समाहित छ भन्ने उनको विश्लेषण थियो । ती पन्त प्रशाद निरालाका व्यक्तित्व र साहित्यसित म करिबकरिब बेखवर रहेको थिएँ । तिनलाई पढ्ने अवलोकन गर्ने पुरानो तृष्णालाई पनि यही लकडाउनको मौका छोपी क्षुधासमन गरेँ ।
सुमित्रानन्दन पन्त, सूयकान्त त्रिपाठी निराला र जयशंकर प्रशादको जीवनी हेर्ने र तिनका काव्यिक धाराको धेरथोर जानकारी हासिल गरेँ । त्यसबाहेक मिर्जा गालिव, नागार्जुन, अज्ञेय, महादेवी वर्मा र हरिबंश वच्चन रायजस्ता हिन्दी साहित्यका बेजोड काव्यमनिषीहरुको विषयमा पनि छिपछिपे ज्ञान हासिल गरेँ ।
यसै क्रममा ब्रुनाईका सुल्तानको विलासी जीवनदेखि नंगा फकिर डायोजनिजको जीवन बाँच्ने शैलीलाई पनि अध्ययन गरेँ । चाणक्य नीति सुनेँ । विदुर नीति सुनेँ । खलिल जिब्रानका कथाहरु सुनेँ । सञ्चार प्रविधिमा गुगल र युटुबको आगमनले हामी अक्षर पढ्ने युगबाट ध्वनितरंग सुन्ने युगमा प्रवेश गरेका छौँ । छोटो समयमा धेरै विषयवस्तुहरु सटिकढंगले ग्रहण गर्ने अवस्थामा पुगेका छौँ । साथै बाटाघाटो, चौतारी, प्रतीक्षालय, यात्रा, विश्राममा पनि सिंगो किताव श्रवण शैलीमा ग्रहण गर्ने अवस्थामा पुगेका छौँ ।
विश्रामका पलहरुमा जे कृष्णमूर्ती, जग्गी बाशुदेव र रजनिश ओशोमात्र सुनिनँ, हाम्रो आफ्नै आकाशका योगी नरहरिनाथ, जगमान गुरुङ र अर्पण शर्मालाई पनि सुन्ने चेष्टा गरेँ । ज्ञान विज्ञान र खोज अन्वेषणका दीर्घ तपस्वी योगी नरहरिनाथलाई जान्नै बाँकी रहेछ । चिन्नै बाँकी रहेछ । पढ्नै बाँकी रहेछ । जीवनको अर्ध शतक आयु गुजारी सक्ता पनि ज्ञान र अवलोकनको दुनियाँमा छिपछिपे दहमा चप्याङ्गचुप्लुङ्गसम्म पनि भएकै रहेनछ । गोता मारेर गहिराइमा डुबुल्की लाउने काम त सिङ्गै बाँकी रहेछ । जतिजति जान्यो त्यतित्यति अधुरो र अपूर्ण ज्ञानको आभासले घरिघरी त मगजलाई शिथिलपनि बनाउँछ । तर मानव चरीको नियति नै जीवनभरि शिष्य बनेर सिकिरहनु हो । अन्तिम मृत्युशैयामा रहँदासम्म पनि केही न केही सिकेर जगत्बाट विदा लिनुमा एक सार्थकता छ ।
तनाव र निराशाले गाँजेको बखत ऊर्जाको चहकिलो ज्योति मधुरो मधुरो बनेको बेला ललित प्रभलाई सुनेँ । स्टीभ जब्सलाई सुनेँ । राजीव दिक्षीतलाई सुनेँ । हर्षवद्र्धन जैनलाई सुनेँ । विकाशानन्दलाई सुनेँ । अशोक भारती सुनेँ । आनन्द अरुण सुनेँ । मोटिवेशनल प्रवचनको आलवा केही गीतसंगीत सुनियो । नेपाली गीती साहित्यका शिखर हस्ती रत्नशमशेर थापाले बन्दाबन्दीकै वीचमा सधैँको निम्ति आँखा चिम्लिए । बिछोडको पीडा खप्न नसकी, घुम्तीमा नआउ है, फूलै फूलको मौसम, दशैँको बेलैमा, ए कान्छा ठट्टैमा बैँश जान लाग्यो, पन्छीमा डाँफे मयूर, जाग चम्क लम्क हे, सुनेर कहिल्यै धित मर्दैन । नेपाली सांगीतिक आकाशमा यी कालजयीगीतहरु भावी दिनमा पनि गुन्जिररहने छन् भन्ने विश्वास छ मेरो । थापाप्रति हृदयबाट श्रद्धासुमन । गीतसंगीतकै कुरा गर्दा दूरदेशका जोन लेननलाई थोबहुत सुन्ने चेष्टा गरेँ । पशुपति शर्माका गीत सुनेँ । कर्णदासलाई सुनेँ । जीवन शर्मालाई सुनेँ ।
तमाम ज्ञानीध्यानीका विचार सुनेपछि एउटा कुराको ठोस निष्कर्षमा पुगेको अनुभूति छ । त्यो अनुभूति के हो भने कुनै पनि मानवजीवन समस्यारहित छैन । कसैको जीवनपनि चुनौतिरहित छैन । जीवन छ र समस्या छन् । जीवन छ र चुनौती छन् । चुनौतिरहित जीवन नपुंसक हुन्छ । त्यसैले समस्या त जीवनको पार्ट अफलाइफ हो । समस्याबाट पार हुनु चाहिँ आर्ट अफ लाइफ हो । त्यसैले प्रत्येक ज्ञानी विज्ञानी जनले समस्याबाट मुक्त हुने कला सिकाउँछन् । त्यस खालको विधि र बाटो दिन्छन् ।
बन्दाबन्दीको समयको अर्को ठूलो उपलब्धी भनेको सेपियन्सको अध्ययन हो । अहिलेको समकालीन विश्वमा पाठक जनले रुचिपूर्वक पढेको कितावभित्र यो पर्दोरहेछ । यसलाई संसारको वेस्ट सेलर बुकभित्रपनि राखिएको छ । सेपियन्स इजरायली लेखक युभाल नोहा हरारीले लेखेका हुन् । उनी हिब्रु विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन् । मानव जातिको उत्पति र विकाससित सम्बन्धित यस पुस्तकमा इतिहास, मानवशास्त्र, जीवशास्त्र, अवशेष विज्ञान, राजनीतिशास्त्र, अर्थशास्त्रदेखि अहिलेसम्म विकसित क्वान्टम फिजिक्स र न्यानो टेक्नोलोजीसम्मका सूक्ष्मज्ञानको विराट मेला छ ।
विश्व ब्रह्माण्डको उत्पत्ति, एककोषिय सूक्ष्म जीवको आरम्भिक अस्तित्वदेखि एक्काइसौँ शताब्दीमा यात्रारत मनुष्य समाजको विकास शृङ्खलालाई सत्य र तथ्यमा टेकेर एकएक कुराको वर्णन गरेका छन् । मान्छेको उत्थान र पतनको भविष्यलाई पनि स्पष्ट दिशानिर्देश गरिदिएका छन् । सेपियन्स भाग १ र २ हिन्दी संस्करणमा अनुदित भएर अडियो बुक्सको रुपमा अनलाइनमा उपलब्ध भएपछि यसलाई मिहिनरुपमा सुन्ने चेष्टा गरेँ । यसले मेरो ज्ञान र वोधको तहलाई माथि उठाएको ताजा अनुभूति छ । यसै समयमा लेखनाथका कालजयी कविताहरुमा डुबुल्की लाएँ । देवकोटाका निबन्धहरु छिचोल्ने चेष्टा गरेँ ।
चैतदेखि साउनसम्मको करिव पाँच महिना लामो बन्दाबन्दीले मेरो वैयक्तिक जीवनमा निकै ठूलो उपलब्धि दिएको छ । भलै राष्ट्रिय जीवनका सामाजिक आर्थिक सूचकहरु सुखद छैनन् । अर्थतन्त्रको ग्राफ ओरालो खसिरहेकोछ । नेपालमात्रै होइन सकल विश्य कोराना महामारीले साँच्चै आक्रान्त छ । यो सकस कति लामो रहन्छ ? यसका विज्ञजन पनि ठोकुवा गरेर भन्न सक्ने अवस्थामा छैनन् । तर लेखन, अध्ययन, अवलोकन र आत्मरमणका हिसावले कोरोनाकाल सृजनसाधनाको स्वर्णिमकाल बनेको छ ।
भनिन्छ, यदि हामीभित्र कुनै जिज्ञासु मन सिक्न तयारी हालतमा छ भने जीवनले हरहमेसा केही न केही सिकाइरहेको हुन्छ । यदि ग्रहणशील पाठक मन हामीसित विद्यमान छ भने समयले हामीलाई हरघडी केही न केही पाठ पढाइरहेको हुन्छ । कोरोनाले अखिल मानव जातिलाई निकै गतिलो पाठ पढाएको छ । हाम्रो चेतनामा केही अजम्मरी शिक्षाहरु पिलाएको छ । थाहा छैन यसको अवतरण हुँदासम्म यसले अरु के के पाठ सिकाउने हो । त्यो हेर्नै बाँकी छ । त्यो भोग्नै बाँकी छ ।
आणविक शक्ति राष्टका विकास, समृद्धि, दम्भ, अहम् र चुरिफरीलाई कोरोनाले क्षणभरमै खोक्रो सावितमात्र गरेन, उनीहरुले जयगान गरिआएको राजनीतिक आर्थिकप्रणाली उपर अनेकन प्रश्नचिह्न खडा गरिदिएको छ । मानिसको स्वास्थ्य र जनजीविकाको सवाललाई प्राथमिकताको अग्रणी स्थानमा ल्याइदिएको छ । आणविक हातहतियारमा बलियो तर औषधिमूलोमा दुब्लो राष्टका कर्तुत र खोक्रोपनालाई कोरोना किटले सतहमा ल्याइदियो । साथै हाम्रो पूर्वीय जगत्को प्रकृति, खानपान र जीवन शैलीका सुन्दरतम पक्षलाईपनि यसले उजागर गरिदिएको छ । प्रकृतिलाई अनादर गरी त्यसबाट विकसित जीवन प्रणाली कति ध्वंसात्मक छ भन्ने कुरा कोरोनाले छर्लङ्ग पारिदिएको छ । भीडभाडयुक्त कृत्रिम शहरी जीवनभन्दा प्रकृति निकटस्थ ग्रामीण जीवनको औचित्यलाई यसले परिपुष्ट गरिदिएको छ ।
निचोडमा भन्नुपर्दा कोरोनाकालको बन्दाबन्दीले मानवीय जीवनमा ल्याएको क्षति र आर्थिक जीवनका यसले पारेको दुष्प्रभाव छुट्टै गहन विवेचनाको विषय हुनसक्छ । विराट विमर्शको विषय हुन सक्छ । तर यसले हामीलाई केही सकारात्मक परिणतिहरुपनि दिएको छ । केही सुखद सिकाइहरुपनि थपेको छ । सर्जकहरुको निम्ति सबभन्दा ठूलो कुरा त मनचिन्त्य साधनाको लागि समयका क्षण उपलब्ध गराएको छ । मलाई लाग्छ यस अवधिमा सर्जकको चालु खातामा सिर्जनाका अनगिन्ती शृङ्खलाहरु थपिएका छन् ।
बन्दाबन्दीले मानिसभित्र प्रसुप्त अवस्थामा रहेको कलाचेत जगाइ दिएको छ । हृदयकन्दरामा लुकिबसेको प्रतिभालाई ब्यूँझाइ दिएको छ । सामाजिक सञ्जालमा देखेको छु, नवनव उन्मेषका अनेकन गायकी प्रतिभाहरु यसै कालमा प्रकट भएका छन् । विलुप्त अवस्थामा रहेका नर्तकीहरु, गजलगोहरु, वाद्यवादक वस्तादहरु कोरोनाकालमा सार्थक सृजना लिएर अवतरित भएका छन् । गीत, गजल, कविता, वाद्यवादन, छन्दवाचन, नृत्य र लेखनका विविध विधामा नवोदित प्रतिभाहरुको उछलकुद उपस्थितिले कोरोनाकाल सृजनशील सर्जकको लागि स्वर्णकाल बनेको अनुभूति सघन बनिरहेको छ ।
लकडाउनको फुर्सतीले हृदयमा विन्यस्त प्रतिभाका अनेकन निष्क्रिय तारहरुलाई झंकृत गरिदिएको छ । यो सुखद कुरा हो । मानिस बहुआयामिक रुचि, रस र स्वाद लिने प्राणी हो । उसलाई भात र भोजनले मात्र कदापि सन्तुष्टि दिन्न । सृजन विधामा आफ्नो रुचि र रसका अनेकन परिकार सिर्जने, त्यसलाई आफ्नो अनुपम कलाले परिपुष्ट पार्ने र अरुलाई समेत आनन्दित गर्ने काममा बन्दाबन्दीले अनुकूलता थपिदियो । त्यसैले कोरोनाकाल मेरोमात्र होइन धेरै ज्ञातअज्ञात सर्जकहरुको निम्ति साधनाको तपस्थली बन्यो । सिर्जन विधाको स्वर्णकाल बन्यो । जय बन्दाबन्दी ! जय साहित्य !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।