साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

…र यसरी फुलिरहेछ ईन्द्रकमल

खेमराज पोखरेल

म एक नम्बर प्रदेशको हुँ । ऊ ७ नम्बरको हो । ऊ खाँटी बाबुसाहेब । यो धङ्धङीमा ऊ हुर्कियो, बाँच्यो । मलाई समाजले दलित भन्यो ।

म दलित भनिने हेपाइस्को चेपमा, विभेद र कुण्ठामा हुर्किएँ । बाँचे । पढेँ । म आफैँ आफूलाई ‘दलित’ भनेर अपरचुनिटी भजाउने दाउमा लागेँ । नेपालमा छँदा हामी कहिल्यै भौतिक रूपले भेटिएनौँ । तर नभेटे पनि ऊ र म सारमा क्षेत्रको नाममा, जातको नाममा, धर्मको नाममा, राजनीतिको नाममा, भाषा र भाषिकाका नाममा खुब जुध्यौँ । बेस्सरी जुध्यौँ अनि फेरि हामी लुसुक्क ‘बेटर लाइफ’ खोज्दै अमेरिका छिर्यौँ । अमेरिका छिरेपछि एउटा फाइदा भयो हामीलाई । ऊ अहिले मेरो मिल्ने साथी हो । उसका र मेरा बिचबाट क्षेत्रको, जातको, धर्मको, राजनीतिको, बाबुसाहेब र दलितको तथा भाषा र भाषिकाको विभेदीय पर्खाल हट्यो । हामीमा अब विल्कुल नेपाली फिलिङमात्र बाँकी रह्यो । हामी साँच्ची बराबर भयौँ । यो अनुभवले मलाई बल्ल नेपाली हुनुको गर्व बोध भएको छ ।

bahulako diary small and inside post

गाउँले र समाजले चिन्ने उसको नाम जेठा बाबुसाहेब हो । प्रमाणपत्रमा केशवजी जङ्ग शाही हो । समाजले चिन्ने मेरो नाम निरे दमाइँ हो । प्रमाण पत्रमा भने निर्मल बहादुर नेपाली हो । अमेरिकामा हामी एउटा कम्पनीमा काम गछौँ । जागिर छ । समान छ । नेपालको परिभाषामा भन्ने हो भने स्तरीय छ । जतिसुकै स्तरीय काम गरे पनि अमेरिकामा हामी आफूलाई दुई नम्बर नै ठान्छौँ । डायस्पोरिक मर्म बोकेका छौँ । यही मर्मभित्र हामी बिनाभेदभाव आफन्तिएका छौँ ।

अमेरिकामा रहँदा बस्दा हामी निकै बिजी भयौँ । जीवन बाँच्न गर्नुपर्ने सङ्घर्ष कस्तो हुन्छ भन्ने अमेरिकामै चाल पायौँ । नेपालमा त के थियो र घर पुग्दा दुवैजनाका घरमा भात पाकेकै हुन्थ्यो । फरक उसको घरमा मसिनो र फरफराउँदो हुन्थ्यो होला, मेरो घरमा मोटो र गिलो हुन्थ्यो होला । तर अमेरिका आएपछि हामीमा केही विभेद र फरकहरू छैनन् । त्यसैले त हामी अलि आमभन्दा भिन्न भएका छौँ । आमबाट निस्केर विशेष भएका छौँ । यो यही विशेषको सनकमा हामी धेरै फेसबुक चलाउने मान्छेको औकात नाप्थ्यौँ । मौका मिल्यो भने खिसिट्युरी पनि गथ्र्यौँ । धेरै फेसबुक चलाउनेहरू फुर्सदिला, वाइह्यात र सतही मान्छे हुन् भनिठान्थ्यौँ । यद्दपि हामी दुवैका निर्जीव फेसबुक अकाउण्टहरू छन् । संसारसँग जोडिन ऊ र म दुवै कहिलेकाहिँ फेसबुकका पानालाई कर्सरले स्वार्र तान्थ्यौँ । अरूका सामग्री हेथ्यौँ । लिन्थ्यौँ । हाम्रा अनुकुलका सामग्री नभए –उफ कस्ता कस्ता वाइह्यात सामग्री पोस्ट गरेका मान्छेले भनेर दिक्क हुन्थ्यौँ । लेखक कवि भनाउँदाहरूले पनि ताइँनतुइँका कुरा किन पोस्ट गरेका हुन् भन्थ्यौँ । कसैकसैले त फाँइफुट्टा र भुइँफुट्टा आग्रह पूर्वाग्रह स्टाटस हालेर गमक्क परेका देख्थ्यौँ । कथित विद्वताका, कुण्ठाका र असफलताका भडाँसहरू पोखिएका देख्थ्यौँ । हामी त्यो अवस्थामा मान्छेलाई फेसबुके भनेर हियाउथ्यौँ ।

तर ऊ अहिले धडाधड लामा–लामा स्टाटस हाल्दै छ । फेसबुकमा कहर हाल्दै छ । पीडाको धुकधुकी हाल्दै छ । मान्छेका, मान्छेका प्रवृतिका सार हाल्दै छ । सम्वेदनाका, रुवाइहरूका र चित्त दुःखाइहरूका ब्यथा हाल्दै छ । उसले आफूलाई फेसबुकका पानाभरि छताछुल्ल पारेको छ । छरेको छ । पोखेको छ । म फेसबुकको पानामा आएका उसका कुरा देखेर विह्वल भएको छु ।

कोरोनाको लकडाउनमा घरभित्र कैद छौँ हामी । उसको पीडामा सान्त्वना दिन उसको घर जान मिल्दैन । त्यसैले मैले उसलाई सान्त्वना दिने अभिप्रायले फोन गरेको थिएँ । फोनमा औपचारिक सान्त्वना सकेपछि मैले उसलाई भनेको थिएँ– “केशव, यी सबै कुरा यसरी विस्तारमा फेसबुकमा किन हालेको ?, समवेदना शान्तिका लागि त बरु मान्छेलाई भन्नु नि आफ्ना पीडा, साथीभाइलाई भन्नु नि । आफन्तलाई भन्नु नि । किन छताछुल्ल पोखियौ फेसबुकका पानामा यार ?“

उसले निकै दिग्दारी भावमा जवाफ दिएथ्यो– “निर्मल, म पनि त्यही ठान्थेँ । तर अहिले लागिरहेको छ कि कहाँ छन् साथीभाइ !, कहाँ छन् मान्छे !!, कहाँ छन् आफन्त !!! औपचारिक फर्मुलामा बाँचेको रहेछ मान्छे । कहाँ छ समय मान्छेलाई अर्काका कहर सुन्न ! अर्काका पीडा सुन्न !! अर्काका समवेदना सुन्न ! मान्छेलाई त आफ्नै स्याँसाँहार र फुस्याँहारले गलित बनाइदिएको रहेछ । विकासले मान्छेलाई यन्त्र बनाइदिएको रहेछ । व्यक्तिवादी दर्शनले मान्छेलाई एकलै उभ्याइदिएको छ । बल्ल थाहा पाएँ कि यन्त्रमा कहाँ सम्वेदना हुन्छ र ! मैले यो बेला यस्तै अनुभूत गरेँ यार । एउटा फेसबुक रहेछ जम्मा । जो जसले जे लेखे पनि पोष्ट हुन दिन्छ । कसैले सुनोस् वा नसुनोस्, कसैले पढोस् वा नपढोस्, कसैलाई राम्रो लागोस् वा नलागोस्, जसलाई जे भन्न मनलाग्छ –भनोस्, परवाह गर्दैन । आफ्नो बह पोख्न त पाइयो नि ।“

उसको जवाफ सुनेपछि म पनि घोरिन थालेको छु । यो मेरो साथी किन यस्तो भनिरहेछ । एकछिन मान्छे भएकोमा म आफैँभित्र मान्छे खोज्न थालेको छु । हो त साँच्ची म कहाँ मान्छे हो र ! परिवेशको आवश्यकता पूरा गर्दै यन्त्र भएको हाडमासुको एउटा थुप्रो न हुँ म पनि ! साह्रै दिग्दार लागेर आएको छ । अनि उदाशी र वैरागी भावमा उसको फेसबुक प्रोफाइल खोलेको छु र उसका स्टाटसहरू पढ्न थालेको छु ।

मे ३, २०२०

खेमराज पोखरेल

बुवालाई हन्हनी ज्वरो आइरहेको थियो । नाकबाट सिँगान बगिरहेथ्यो । खोकि लागिरहेथ्यो । अक्सर बुवालाई यस्तो भइरहन्थ्यो । बेसार हालेर उमालेको तातो पानी खानुहुन्थ्यो । त्यसमा तुलसीपत्र पनि हाल्नुहुन्थ्यो । अलिकति नुन हाल्नुहन्थ्यो । खानु हुन्थ्यो । राति सुत्ने बेलामा दूधमा बेसार हालेर सधैँ पिउनु हुन्थ्यो । बिहान उठेर रामदेव बाबाको अनुलोम विलम गर्नुहुन्थ्यो । उहाँको जिन्दगी यसैगरी चलेको थियो । बुवालाई ज्वरो पनि आएको हाच्छिउँ पनि आएको र लहरे खालको खोकी पनि लागेको हुनाले यो पल्ट हामीले डाक्टरकोमा पुर्याउने विचार गर्यौँ । कोरोनाको लकडाउन भएकाले एम्बुलेन्सलाई फोन गर्यौँ । तत्काल एम्बुलेन्स आयो । धन्न छ अस्पताल, धन्न छ सरकार, एम्बुलेन्स सजिलै आयो । नेपालमा भएको भए यो एम्बुलेन्स कहाँ यत्ति छिट्टै पाउनू ! धन्य छ भगवान ।

मे ४, २०२०

 

हिजो बुवालाई अस्पताल लगेको आजसम्म केही खवर आएन । कोरोना लागेको हुनसक्ने भएकाले परिवारका हामी कसैलाई अस्पताल जान दिएनन् । एम्बुलेन्समा आएका डाक्टर, नर्स सबै अर्को अन्तरिक्षबाट आएका एलियन जस्ता सेतै थिए । नाक, कान, मुख, आँखा तथा पूरै शरीर छोपिएको थियो । हामीसँग टाढै बसेर उनीहरूले बुवालाई लगे । हामीलाई पनि १५ दिन घरमै क्वारेन्टाइन बस्नु भन्ने सल्लाह दिएर गए । ‘ज्वरो आयो, हाछिउँ आयो वा खोकि लाग्यो भने हामीलाई फोन गर्नुस्’ भनी हिँडे । हामी पनि सम्भावित कोरोना प्रकोपले आतङकित थियौँ । पहिले पहिलेका डाक्टर तथा नर्सहरू उनीहरूको सेतो एप्रोनमा सौम्य र शान्त देखिन्थे । दयालु भगवानजस्ता लाग्थे । तर अहिले आएका एलियन टाइपका डाक्टर र नर्स त अपहरणकारी शैलीका लाग्दथे । तर पनि सोचेँ –यी महान हुन्, यत्रो कोरोनाको जगजगी छ सहरमा, विश्वमा । तर उनीहरूले त आफ्नो ज्यानको बाजी लगाएर हाम्रो सेवा गरिरहेका छन् । धन्य छन् यिनीहरू । धन्य छ भगवान ।

मे ५, २०२०

 

अस्पतालबाट फेसबुकमा बुवाको मेसेज आएको थियो । हामी आत्तिएका थियौँ । तर बुवा मेसेज लेख्दै हुुनुहुन्थ्यो न आत्तियौ तिमीहरू । मलाई केही हुन्न । यहाँ राम्रो व्यवस्था रहेछ । डाक्टर, नर्सहरूले चौबीस घण्टा ड्युटी दिएका छन् । हेरचाह गरेका छन् । खानपीनको पनि राम्रो व्यवस्था छ । ओढ्ने ओछ्याउने पनि गजबको छ । सुग्धर सफा उस्तै राम्रो छ । यहाँ अरू पनि बिरामीहरू राखिएको छ । तर हामी अलग अलग छौँ । वाइफाइको पनि राम्रो व्यवस्था छ । अस्पताललाई ध्वनि प्रदूषणबाट जोगाउन बोल्न मनाही छ । तर फेसबुकमा च्याट गर्न भने जत्ति पाइन्छ । बिर्सिएका साथीभाइ, इस्टमित्र तथा आफन्तसँग खोजिखोजी च्याट गर्न पाइएको छ । यो फेसबुकले त संसारलाई एकदम सानो गाउँजस्तो बनाएछ । आफन्तसँग चिनाएर नजिक पनि बनाइदिएको छ । हिजो डडेल्धुरामा माल्दाइसँग च्याट गरेको थिएँ । मलाई ‘बल्ल बिराम लागेर अस्पताल पुगेर सम्झिस्’ भन्दै रुनुहुन्थ्यो । अनुहार हेरेको त निकै बूढो हुनुभएको रहेछ । उता पनि क्वारेन्टाइनमै घरभित्र बसेका छन् रे । सञ्च–सुबिस्तै छ रे । अस्पताल भनेको त यस्तो पो हुनु पर्दछ ।

मे ६, २०२०

 

अस्पतालबाट फोन आएको थियो । बुवालाई कोरोना पोजिटिभ देखियो रे । ‘तर नडराउनु, निको हुने सम्भावना धेरै छ’ भनेका थिए डाक्टरले । हामी घरभरिका एकै ठाउँमा बैठक कोठामा भेला भएर बेस्सरी रोयौँ । कोरोना पोजिटिभ भन्ने कुरा सुनेपछि हाम्रो घरमा प्रलय भयो । हामी निरीह थियौँ । परिवेश निरीह थियो । हामी अस्पताल जान पाउन्न थियौँ । यो बेला हामीसँग कोही थिएनन् । भगवान भरोसा गर्नुभन्दा अरू कुनै उपाय थिएन । यो बेला जति निरीह र विवस हामी कहिल्यै भएका थिएनौँ । हाम्रो परिवार वैष्णव धर्म मान्दछौँ । अघिपछि शिव र देवीलाई नमान्ने हामी यतिबेला गुहार मागिरहेका छौँ । लगातार तेत्तीसकोटी देवता भाकिरहेका छौँ । बिर्सिसकेका मष्ट कूल देवतालाई पनि सम्झिरहेका छौँ । अमेरिकामा बसेका हुनाले दिमागमा जिससको पनि चित्र आएको छ । जिससको पनि प्रार्थना गर्न थालेका छौँ । जिससको मात्र होइन अल्लाहलगायत संसारका सबै धर्मका सबै देवतासँग गुहार मागेका छौ– हे प्रभु ! बुवालाई निको होस् ।

मे १०, २०२०

 

अस्पतालबाट फोन आएको थियो । आज बुवाको अवसान भयो । कोरोनाले परमधाम लग्यो । लास हामीलाई दिँदैन रे । अस्पतालले नै लासको व्यवस्थापन गरिदिन्छ रे । यो कुरा सुनेर हामी परिवार मर्माहत भएका छौँ । बेस्सरी रोएका छौँ । रुनका लागि पनि कोही छैनन् । मेरी बूढी र म मात्र सोफामा बसेर रुँदै छौँ । हाम्री एउटी ४ वर्षे छोरी छे । ऊ हजुरबाकी अत्यन्त प्यारी छे । हामी रोएको देखेर ऊ हामीलाई भन्दैछे , ह्वाइ आर यू क्राइङ मम ? ह्वाइ आर यू क्राइङ पापा ? ह्वेर इज ग्य्राण्डफा ?

हामी उसलाई रोएर नै भन्दै छौँ- नो मोर ग्य्राण्डफा, नानी ।

ऊ फेरि सोध्छे- ह्वाट ह्यापेन ?

हामीसँग कुनै उत्तर छैन । बुवाको लासलाई सदगत पनि गर्न पाइएन । हामी परम्परागत सनातनीय प्रचलनभन्दा अर्कै बैकुण्ठे गथ्र्यौँ । किनकि बुवा वैष्णव हुनुहुन्थ्यो । तर अहिले हामी विह्वल भएका छौँ । नुन बारेर बसेका  छौँ । अनलाइन सेतो सर्ट र प्यान्ट मगाएको छु । आएपछि सेतो लुगा लगाउँछु । योभन्दा बढी केही गर्न पनि पाउने कुरा नै भएन । हे भगवान् !

मे ११, २०२०

 

आज बुवा स्वर्गे हुनुभएको दोस्रो दिन भयो । घरमै बसेर चोखोनितो गरेका छौँ । अरू केही गर्न पाइने अवस्था होइन । बुवाको लासलाई सरकारी गोदाममा हजारौँ लाससँग राखिएको छ । सम्झिरहेको छु त्यो गोदाममा हिन्दु, इसाइ, इस्लाम, यहुदीलगायत सबै भाषा, धर्म, सम्प्रदायका लासलाई एउटै गोदाममा स्टोर गरिएको छ । कुनै विभेद छैन । कुनै देवता वा चलनले आएर केही भनेका छैनन् । बुवा भन्नु हुन्थ्यो म मरेपछि एउटा राम्रो वैकुण्ठे गरिदे है । सरासर स्वर्ग पुगिन्छ । भगवानभित्र समावेश हुन पाइन्छ । त्यसपछि जरामरणको अन्त्य हुनेछ । फेरिफेरि जन्मिनु, फेरिफेरि मर्नु पर्दैन यो भव सागरमा । तर त्यसो भएन । राम्रो वैकुण्ठे त परै जाओस् लास हेर्न र छुन समेत नपाइने र बाबाले भन्ने गरेका म्लेक्ष र अम्लेक्षको पनि केही विभेद भएन । यो कुरा भने मनभरि सोचिरहेको छु । यो कोरोना कहरमा वैकुण्ठे गर्ने कसरी !!

मे १२, २०२०

 

आज बुवा स्वर्गे हुनुभएको तेस्रो दिन भयो ।

यो बेला बुवाका यादहरू आइरहेका छन् । मेरो बुवा सामान्य हुनुहुन्थ्यो । पत्रपत्रिकाले हेडलाइन बनाउने नाम थिएन मेरो बुवाको । कम पढेलेखेको हुनुहन्थ्यो । डोटीको झिग्रानामा घर थियो । कहिलेकाहिँ खप्तड जान बास बस्न आउने यात्रुबाहेक त्यहाँ कोही सुकिला मुकिला पुग्दैनथे । उही प्याङ्खरको खेतीपाती गर्नुहुन्थ्यो । गाई पाल्नु हुन्थ्यो । गोठ बस्नु हुन्थ्यो । मान्छे निकै समाजसेवी र पौरखी हुनुहुन्थ्यो । चार गाउँले पत्याउँथ्यो । असल हुनुहुन्थ्यो । मान्छे मेरो बुवालाई आँखामा राखे नबिझाउने भन्थे । त्यो दुर्गममा उहाँले स्कुल, बाटो खोल्न सक्रिय भूमिका खेल्नु भएको थियो । कसैको मरुपरुमा उहाँ पुगिहाल्नु हुन्थ्यो । चाहिएको सहयोग गरिहाल्नुहुन्थ्यो । मलाई काठमाडौँमा राखेर पढाउने चेत थियो उहाँको । पहाडको हावापानी उहाँ भौतिकरूपले पनि निकै बलियो हुनुहुन्थ्यो । मान्छे मेरा बुवालाई भन्थे ‘एक झमट त बाबुसाहेबलाई देखेर काल पनि भाग्छ, बाघ पनि तर्सिन्छ’ । तर आज यो परदेशको ठाउँमा आँखैले नदेखिने कोरोनाको भाइरसले बुवालाई लगेको छ ।  कस्तो निरीह हुँदोरहेछ मान्छेको जीवन ! कस्तो निर्दयी भयौ नि भगवान !

मे १३, २०२०

 

आज बुवा बितेको चौथो दिन भयो ।

साथीभाइका फोनहरू आइरहेछन् । मलाई सम्वेदना दिइरहेछन् । जीवनमरणका कथाहरू, भवितव्यहरू सुनाइरहेछन् । संसारको रित बुझाइरहेछन् । जन्मेपछि मर्नु पर्ने कुरा निश्चित भएको ज्ञान दिइरहेकाछन् । म सुनिरहेको छु । बुझिरहेको छु  । तर मलाई लागिरहेको छ मान्छेहरू औपचारिक भइरहेछन् । कोही कोही त मेरो बुवाको उमेर सोध्छन् । म भन्दछु ६५ । अनि उनीहरू यसरी भन्दछन् कि मानौँ ६० कटेको मान्छे मर्नु स्वाभाविक हो । मानौ ६५ वर्ष भएकाले मेरा बुवाले मर्नु ठिक थियो । मैले अब आफ्ना बुवाको मृत्युलाई पनि ठिक मान्नु पर्ने कुरा घुमाउरो पाराले बताउँथे मान्छे । म छक्क परिरहेको छु कि खोई मान्छेको सम्वेदना ! कस्तो अब्डेरो बनायौ नि भगवान यो मान्छेको सृष्टि !

मे १४, २०२०

 

आज मेरो बुवाले परमधाम यात्रा गर्नु भएको पाँचौँ दिन हो ।

कोठाको एकाछेउमा बनाइएको कोरामा बसेर म बुवालाई अघोरै सम्झिरहेको छु । काठमाडौँमा इन्जिनियरिङ सक्दा नसक्दै मलाई अमेरिकाको इडिभी परेको थियो । मैले आफू अब अमेरिका जाने कुरा गर्दा बुवाले भन्नु भएको थियो ः इन्जिनियर भएर नेपालका गाउँपाखामा बाटो बनाउँछ, यो झिग्रानामा मोटर बाटो ल्याउँछ मेरो छोरोले भनेको त अमेरिका पलायन हुने पो कुरा गर्छ । भैगो छोड्दे त्यो डिभीसिभी । तँ एक्लो छोरो होस् । शैलेश्वरी देवीको कृपाले सिलगडीमा घडेरी किनिदिएको छु । दिपायलमा पनि घडेरी बैना गरेको छु । काठमाडौँमा पनि एउटा घडेरी छँदैछ । तँलाई के नपुग्दो छ र !, देशको सेवा पो गर्नुपर्छ । त्यो अमेरिकामा के छ ! न बिहेका जन्ती छन् त्यहाँ, न मर्दाका मलामी छन् । ओल्लो कोठा पल्लो कोठा परदेश हुने सभ्यतामा के जानू त ! यहाँ त चार गाउँले मात्र होइन, जिल्लाले पनि चिन्छ ।  राम्रो काम गरिस् भने त जिल्लाले मात्र होइन देशले नै चिन्दछ । नेपाली भइरहनुको आनन्द नै बेग्लै हुन्छ ।

तर मैले मानिनँ । म अमेरिका आइछाडेँ ।

मे १५, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको छैठौँ दिन हो ।

कोठामा एक्लै बस्दा त्यसै त्यसै एकसूरा हुँदोरहेछ जिन्दगी । त्यसमाथि बुवाको कोरामा बस्दा र कोही आफन्त साथीभाइ आउन नपाउँदा त झन् कहर भएको छ जिन्दगी । बाल्यकालमा बुवाले बोकेर एक घण्टाको बाटो सिलगडी झारेको सम्झना आएको छ मलाई । तिनताक मेरो आमाको मृत्यु भएको थिएन । बुवा आमालाई भन्नुहुन्थ्यो ः यो अहिले पो चिचिलो छ, हेरचाह गर्नुपर्छ । भोलि त यसले हामीलाई मात्र होइन पुरै देशको सेवा गर्छ । यसलाई अहिले मलजल गर्नुपर्छ ।

त्यसको केही वर्षमै आमा बित्नु भयो । बुवा एक पाखे हुनुभयो । कैयौँ मान्छेले फेरि अर्को बिहे गर्ने सुझाव दिए । तर कुनै हालतमा मान्दै मान्नु भएन ।

मे १६, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको सातौँ दिन हो ।

बुवाको म एक्लो छोरो । म कुनै हालतमा नेपाल नफर्केकाले बुवा एकदम निराश हुनुहुन्थ्यो । ‘तैले मेरो लास हेर्न र सदगत गर्न पनि नपाउने भइस्’ भन्नु हुन्थ्यो । बुवाले पनि कुनै पनि हालतमा अमेरिका नआउने अड्डी लिनुभएको थियो । मैले नै धेरै फकाएर एकपल्ट अमेरिका हेर्न त आउनु भनी उहाँलाई कर गरेको थिएँ । बल्ल उहाँ राजी हुनु भएको थियो । र अमेरिका आउनु भएको थियो । हामी धेरै खुसी भएका थियौँ । मेरी छोरी हजुरबासँग एकदम खेल्ने साथी भएकी थिई । मलाई लाग्दै थियो कि अब नातिनीको मायाले उहाँलाई अमेरिका तान्न सजिलो हुनेछ । बुवा पग्लिँदै हुनुहुन्थ्यो । तर दैव लागे । उहाँ आएकै बेलामा कोरोनाको शिकार बन्नुभयो । अहिले मलाई पछुताउ लागेको छ । मैले बुवालाई अमेरिका नबोलाएको भए पनि त हुन्थ्यो नि !

मे १७, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको आठौँ दिन हो ।

म सम्झिरहेको छु कि बुवा सधैँ मलाई असल मान्छे बन्नुपर्छ भन्नु हुन्थ्यो । चार गाउँले असल भन्ने हुनुपर्छ भन्नु हुन्थ्यो । पैसा जाबो त जसले पनि कमाउँछ । आफन्त, साथीभाइ तथा देशको लागि छाहारी हुनसक्नु पर्छ भन्नुहुन्थ्यो । मान्छेलाई मान्छेजस्तो ठान्ने हुनुपर्छ भन्नुहुन्थ्यो । चराचर जगतमा दयावान हुनुपर्छ, दानदातब्य, सहयोग, परोपकार र मान्छेलाई पर्दा काँध थाप्ने खालको हुनुपर्दछ भन्नुहुन्थ्यो । आफूले मात्रै खान त चराले पनि खाएको छ, मान्छेको चोला पाएका छौँ हामीले, मानवधर्म निकै ठूलो धर्म हो, मान्छेले असल भनून्, अनि पो जीवन हो त भन्नु हुन्थ्यो ।

मे १८, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको नवौँ दिन हो ।

कोरोनाले बनाएका लासहरूलाई हजारौँको सङ्ख्यामा जम्मा पारेर एकान्त जङ्गलमा लगेर एउटै खाल्डामा गाडिएको समाचार सुनेपछि म झन् विह्वल भएको छु । कस्तो देस्यान लाग्यो, मर्दा पनि आफन्तले लास छुन, सदगत गर्न नपाउने ! मैले कल्पना गरेँ कि त्यही लासको डङ्गुरमा मेरा बुवाको पनि लास थियो होला । रुनुबाहेक अरू केही गर्न सकिने कुरा थिएन । धर्म, पैसा, शक्ति र आफन्त सबै नाकाम थिए । लाचार थिए । निरीह थिए । यस्तो बेला मलाई बोध भइरहेछ यो सांसारिक ङार्रङुर्रको के अर्थ होला !

मे १९, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको दसौँ दिन हो ।

हिन्दु विधिअनुसार कपाल खौरनु थियो । कपाल खौरिदिने कोही थिएनन् । धन्य छिन् मेरी जीवन सँगिनी, उनले रेजरको सहायताले खौरी दिइन् । यदाकदा उनले मेरो आँखीभुइँ कैँचीले मिलाइदिन्थिन् । तर आज यस्ता पनि दिन आउँदा रहेछन् । आमा बितेको धेरै वर्ष भएको थियो । बुवालाई पनि बिताउँदा ममा एकाएक टुहुरो भएको, अनाथ भएको र निरीह भएको अुनभूति हुँदैछ । यस्तो अवस्थामा मैले गौर गरेर श्रीमतीको अनुहारलाई हेरेको छु । पश्चिमी प्रचलनअनुसार श्रीमती भनेको सेक्स पार्टनर हो, मन बुझाउने साथी हो, कर्म मिलाउने सहकर्मी हो । तर हिन्दु मान्यताअनुसार श्रीमतीमा तीन रूप हुन्छन् भन्ने पढेको थिएँ । प्रवल अग्नि–ज्वाला शान्त पारिदिने यौन पार्टनर, दुःख सुखमा सधैँ साथ दिने दर्बिलो साथी र आमालेझैँ माया गर्ने आमाको प्रतिमूर्ति पात्र । त्यसैले यो बेला मलाई पश्चिमी मान्यता पटक्कै मन परेको छैन । आज मेरी श्रीमतीले आफ्नो तीनै रूप मलाई देखाएकी छिन् । अरूले जे सुकै भनोस् । श्रीमान्–श्रीमतीलाई अर्धाङ्ग–अर्धाङ्गिनी भनिएको बल्ल बुझ्दैछु । धन्य मेरी श्रीमती ।

मे २०, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको एघारौँ दिन हो ।

आज एकाएक मेरा दिमागभरि झिग्राना आएको छ । झिग्राना वनपाखाभरि उन्मुक्त भएर हाँसेको, नाचेको, दगुरेको याद आइरहेछ । ऐसेलुको झ्याङ भित्र– भित्र छिरेर काँडाले कोतर्दै ऐसेलु खाएको याद आइरहेको छ । त्यो बेला जीवन कस्तो उन्मुक्त थियो । त्यो जीवनको आनन्दको अनुभूति गरिरहेको छु । त्यो रमाइको मूल्य नाप्दै छु । खप्तडको वनमा फुलेका जङ्गली लालीगुराँस फुलेको सम्झिएको छु । आहा ! त्यो जीवन । त्यो मेरो थियो । तर यहाँ यी गुडिरहेको सभ्यता मेरो होइन । यिनमा मेरो कुनै उच्छवास जोडिन्न ।

मे २१, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको  बाह्रौँ दिन हो ।

मेरो बुवा देशलाई ‘आमा’ भन्नुहुन्थ्यो । बुवाको अवसान भएको सुनेपछि झिग्राना मात्र होइन पूरै डोटी जिल्ला नै शोकग्रस्त भएको छ रे । बुवाको आत्माको शान्तिको लागि शैलेश्वरीमा दीपप्रज्वलन गरेका छन् रे । झिग्रानामा एउटा सडकको नाम बुवाको नाममा राख्ने निर्णय गरेका छन् रे । यो सुनेर बुवाप्रति गर्वले मेरो छाति चौडा भएको छ । आफ्ना ठाउँ,े आफन्त र देश भनेको आफ्नो हो । यहाँ त पल्लो घरको मान्छेलाई पनि थाहा छैन कि मेरो बुवा खस्नु भएको छ भनेर । खासमा बुवाको लास त वेवारिसझैँ भयो भने मरेपछिको सदगतको पनि के काम हुँदोरहेछ भन्ने लागिरहेको छ । नेपाल आमाको काखमा रहेको झिग्रानामा मेरो बुवा अब कहिल्यै कहिल्यै मर्नु हुन्न । एउटा सन्तोष लागेको छ ।

मे २२, २०२०

 

आज मेरो बुवा स्वर्गवास हुनुभएको तेह्रौँ दिन हो ।

अमेरिकामै भएका भुटानी पण्डितजीले जुम प्रविधिले शुद्धशान्ति गरिदिनु भयो । मैले एकमुष्ट दक्षिणा क्रेडिटकार्डबाट जम्मा गरिदिएँ । हेर्दाहेर्दै बुवाको काम सकिएको छ । रातको समय छ । आफ्नै घरको फ्रन्ट यार्डमा निस्किएको छु । आकाश, पाताल बादल र परिवेश अँध्यारो भएकोजस्तो भएको छ । टुहुरो भएको महसुस गरेको छु । लागिरहेको छ कि कोही आफन्त वा बिराना छैनन् । आफूलाई माया गर्ने आफ्नो देश छैन । कोही साथी वा परचक्री छैनन् । एकदिन सबै छोडेर जानु पर्ने रहेछ । माया, काया, देश, परदेश सबै छोडेर जानु पर्नेरहेछ । पानीका फोकाजस्तो प्वाक्क फुट्ने रहेछ जीवन । यस्तो कल्पना गर्दागर्दै जुनेली रातमा मधुरो पिलपिल गरिरहेको ध्रुवतारालाई आकाशमा खोजिरहेको छु ।

मे २३, २०२०

 

आज मेरो बुवा बित्नु भएको चौधौँ दिन हो ।

हिजो शुद्धशान्ति सकियो । सेतो लुगा फालेर रङ्गिन लुगा लगाएको छु । परदेशको ठाउँमा सधै सेतो लुगा लगाइरहन सम्भव छैन । मेरी छोरी मेरो काखमा आएर बसेकी छिन् । उनका अनेकौँ प्रश्न, जिज्ञाशा र आग्रह छन् । प्रकट गर्छिन् । उनका प्रश्नहरू यस्ता हुन्छन् ः

– के अब ग्य्राण्डफा कहिल्यै फर्केर आउनुहुन्न ?

– ग्य्राण्डफालाई एञ्जेलले किन लगेको पापा ?

– के सबै मान्छेलाई एञ्जेलले लैजान्छ पापा ?

– पापा तपाईँ एञ्जेलसँग नजानु ल ।

र म सोफामा पल्टिएर आँगनको ईन्द्रकमल फूललाई एकोहोरो भएर हेरिरहेको छु । सेताम्य फुलेको छ । सुवास छरेर वातावरण नै सुवासित मुग्ध पारेको छ । जिन्दगी अनुभूत गर्दैछु । पुराना फूलहरू, पातहरू तथा हाँगाहरू ओइल्याएर, पहेँलिएर र मक्किएर झरेका छन् । देस्यान लागेर मरेका छन् । झरेका छन् । उही ईन्द्रकमल फूलको बुटोमा कलिला सुकोमल मुना–पातहरू, सुन्दर डाँठहरू तथा उर्जावान पूmलका कोपिलाहरू पनि देख्दछु । आखिर यही रहेछ जीवन । जन्मनु र कर्म गर्नु । कर्म गर्नु याने ईन्द्रकमल फूललेझैँ सुवास छरेर मगमगाउनु । र सनैसनै बुढिनु र विलिन हुनु ।

छोरी संसारका रित, खेल, झेल तथा बेमेललाई थाहा नपाएकीले अलमस्त खेल्न थालेकी छिन् । मैले थाहा पाएर नै छोरीलाई काखमा लिएको छु । उनका आँखामा ईन्द्रकमल फूलको कोपिला देख्दै छु । र हेरिरहेको छु कि यसरी पो फुलिरहने रहेछ ईन्द्रकमल !

मे २४, २०२०

सान एण्टोनियो, अमेरिका

प्रतिक्रिया
Loading...