
भागः २५, अंशः ७
अमेरिकी झन्डा जताततै देखापर्यो । सवारी साधनको भीड भित्रका पहेँला ट्याक्सीको एन्टिनामा, भीडभाडले भरिएको सडक पेटीमा हिँडेका बटुवाहरूको सर्टमा र कोटको कलरमा सनफ्रान्सिस्कोको आर्ट ग्यालरी र हवाङ्ग खुल्लै पसलहरूको अगाडिको । पालमुनि बस्ने मगन्तेहरूको मैलो क्यापमा पनि जताततै झन्डै झन्डा देखियो । एक दिन मैले बाटोमा एडिथलाई भेटेँ । एडिथ फुटपाथे आइमाई हुन् जो सटर एन्ड स्टकटनको कुनामा अकोर्डियन बजाएर बस्छिन् । उनको गोडाको छेउमा राखेको अर्कोडियनको बाकसमा पनि मैले अमेरिकन झन्डाको स्टीकर टाँसेको फेला पारेँ । ट्वीन टावरमाथिको आकमणको लगत्तै पछि अमेरिकाले अफगानिस्तानमा बम बर्षा गर्यो । नर्दन एलाएन्स अफगानिस्तान पस्यो भने तालिबानहरू मुसा दुलोभित्र पसे जस्तै बेपत्ता भए । त्यसपछि लगत्तै मान्छेहरू किराना पसलमा लाइनमा उभिँदा पनि मैले बचपन बिताएको सहर कान्धार, हेरात, मजार-ई-शरिफको कुरा गर्थे । म धेरै सानै छँदा बाबाले मलाई र हसनलाई कुन्दुज लिएर जानुभएको थियो । अकासियाको छायाँमा बाबा र हसनसँग बसेर माटोको भाँडोमा पालैपालो तरबुजाको जुस तान्दै बियाँ थुकेर कसले टाढा पुर्याउने रहेछ भनेर हेरेको बाहेक मलाई त्यस यात्राको बारेमा त्यति धेरै सम्झना छैन । अहिले डान रादर, टम ब्रोकाव, अनि स्टारबक्समा ल्याटेस चुस्दै गरेका मान्छेले पनि कुन्दुजको युद्ध र उत्तरमा तालिबानको अन्तिम पकड जस्ता
कुराहरू गर्दै थिए ! त्यो बर्षको डिसेम्बरमा पास्तुनहरू, ताजिकहरू, उज्वेक र हजाराहरू संयुक्त राष्ट्र संघको विशेष निगरानीमा वोन सहरमा भेला भए र छलफल गरे ता कि निकट भविष्यमै तिनीहरूको भूमिमा विगत बीस बर्षदेखि चलिरहेको अशान्तिको अन्त्य होस् । हमिद कार्जाइको क्याराकुल ह्याट र हरियो रङको चपान संसारभरि प्रसिद्ध भयो ।
शोहरबले यी सबै कुरा निद्रामै हिँडेर टारेको थियो ।
जे पनि हुन सक्छ, तर केही कुराको आवश्यकता छ भन्ने नागरिक दायित्व बोध गरेर शोराया र म अफगान प्रोजेक्टमा लागि पर्यौँ । हामी त्यो चोटाको सन्नाटा, त्यो ब्ल्याक होलले जस्तै सबै कुरा तान्ने सन्नाटालाई चिर्न लागि पर्यौँ । म पहिला यति सक्रिय कहिल्यै पनि थिइनँ, तर जब सोफियाका लागि अफगानी राजदूत भइसकेका एकजना कबिर नामका मान्छेले मसँग हस्पिटल प्रोजेक्टको लागि आग्रह गरेपछि मैले सहयोगको बचन दिएँ । त्यो सानो अस्पताल अफगान-पाकिस्तान सीमा नजिकै खडा गरिएको थियो । अस्पतालमा एउटा सानो सर्जिकल युनिट थियो जहाँ बारूदी सुरूङ्ग विस्फोटमा घाइते भएको अफगानी शरणार्थीहरूको उपचार गरिन्थ्यो, तर पैसाको अभावले त्यो बन्द भएको थियो । म प्रोजेक्ट म्यानेजर भएँ भने शोराया मेरो सहायक म्यानेजर भइन् । मैले मेरो धेरै जसो समय अध्ययनमा, संसार भरिका ईमेल गरेर आर्थिक सहयोगका लागि निवेदन हालेर र पैसा जम्मा पार्ने अनेकौं कार्यक्रमहरू गरेर बिताउँथेँ । शोहरबलाई यहाँ ल्याएर मैले राम्रो काम गरेको छु भनेर आफैँले आफैँलाई सम्झाइरहन पनि बिर्सदैनथैँ ।
त्यो बर्ष सोफामा बसेर, ब्ल्यांकेटले गोडा ढाकेर टिभीमा डिक क्लार्क हेरेर शोरायाको र मेरो दिन बित्यो । जब त्यो सिल्भर बल खस्थ्यो र झिल्झिले कागजका टुक्राहरूले स्कीन उज्यालो पार्दा मान्छे खुसीले चिच्च्याउँदै एक अर्कालाई चुम्बन गर्थे | हाम्रो घरमा भने नयाँ बर्ष त्यसैगरी सुरू भयो जसरी अघिल्लो बर्ष बितेको थियो । सन्नाटामा ।
अनि चार दिन अघि सन् २००२ को पानी परिरहेको एउटा चिसो दिनमा एउटा सानो अचम्मको घटना घट्यो ।
फ्रिमोन्टको लेक एलिजाबेथ पार्कमा हुने अफगानीहरूको जमघटमा सामेल हुन मैले शोराया, खाला जमिला र शोहरबलाई लिएर गएँ । अन्तिममा गएर एक महिनाअगाडि जर्नेल साहेबलाई मन्त्री पदको जिम्मेवारी दिने गरी अफगानीस्तान फिर्ता बोलाइएको थियो र दुई हप्ताअगाडि नै उनी त्यतातिर उडिसकेका थिए । उनले आफ्नो त्यो खरानी रङको सुट र पकेट घडी छोडेर गएका थिए । योजना चाहिँ उनी गएर सबै कुरा ठीकठाक गरिसकेपछि मात्र खाला जमिला पनि जाने भन्ने थियो । उनलाई जर्नेलको साह्रै अत्यार लागेको थियो र उनलाई बूढाको स्वास्थ्यको साह्रै चिन्ता थियो । हामीले उनलाई अलिक बेर हामी सँगै बस्न पर्छ भनेर जिद्दी गरेका थियौँ ।
अघिल्लो बिहिबार, बर्षातको पहिलो दिन, अफगानी नयाँ बर्षको दिन थियो जसलाई साल-ए-नाउ भनिन्छ । खाडी वरिपरि बसोबास गर्ने अफगानीहरूले ईस्ट बे र त्यो पेनिन्सुला भरिनै उत्सव मनाउने योजना बनाएका थिए । कबिर, शोराया र मैले रमाइलो गर्नुपर्ने अर्को कारण पनि थपिएको थियो । कारण के भने रावलपिन्डीको हाम्रो त्यो सानो अस्पताल एक हप्ताअगाडि सुरू भएको थियो । अस्पतालमा सर्जिकल युनिट थिएन, मात्रै पेडियाट्रिक युनिट थियो । हामी सबै के कुरामा सहमत थियौँ भने सुरूवात राम्रो भएको थियो ।
धेरै दिनसम्म घाम लागेको थियो, तर आइतबार बिहान जब मैले गोडा ओछ्यान बाहिर झुन्ड्याएँ, झ्यालमा पानीको थोपाले हानेको सुनैँ । अफगानी शुभ साइत, मैले सोचेँ | म एक्लै खितिति हाँसे । शोराया निदाउँदै गर्दा मैले बिहानीको नमाज प्रार्थना गरेँ । अब मलाई त्यो मस्जिदबाट ल्याएको प्रार्थना लेखेको पर्चा हेर्न जरूरी थिएन । श्लोक मलाई सहजै खर्र आउँथ्यो ।
हामी लगभग दिउँसोतिर पुग्यौँ । हामी पुग्दा ६ वटा पोल गाडेर त्यसमै लामो प्लास्टिकको पालमुनि २-४ जना मात्र मान्छे बसेका थिए । कसैले बोलानी फ्राई गर्दै (Aush) र चियाको कपहरूबाट तातो बाफ उड्दै थियो । क्यासेटको प्लेयरमा अहमद जाहिरको पुरानो गीतको थोत्रो चक्का बज्दै थियो । हामी चार जना त्यो भिजेको चौर काटेर पारी जाँदै गर्दा म मुसुक्क हाँसेँ । शोराया र म अघि अघि, खाला जमिला बीचमा थिइन् भने पहेँलो रेन कोटको हुड पछाडि हल्लाउँदै शोहरब सबैभन्दा पछि हिँड्दै थियो ।
“त्यस्तो हाँसो उठ्दो के छ र ?” पट्याएको पत्रिका आफ्नो टाउको माथि राख्दै शोरायाले भनिन् ।
“पगमानबाट अफगानीलाई अलग्याउन सकिन्छ, तर अफगानीबाट पगमान छुट्याउन सकिन्न,” मैले भनेँ ।
हामी मेकशिफ्ट टेन्टमुनि निउरिएर छिर्यौँ । शोराया र खाला जमिला पालुङ्गोको बोलानी (Bolani) फ्राई गरिरहेको एउटा मोटी आइमाई भएतिर गए । शोहरब एकैछिनसम्म त्यही छानोमुनि उभियो र अनि रेनकोटको खल्तीमा हात राखेर पानीमा भिज्न गयो । अहिले हसनको जस्तै खैरो र सीधा उसको कपाल पानीले भिजेर तालुमा टाँसियो । ऊ एउटा कफी रङको पुडल (कुकुर) नजिकै रोकियो र नियालेर हेर्यो । कसैले पनि उसलाई देखेजस्तो गरेनन् । कसैले पनि उसलाई पालमुनि आउन बोलाएन । समयको अन्तरालसँगै त्यो अनौठो निर्णय गरेर हामीले धर्मपुत्र पालेको त्यो सानो बच्चाको बारेमा भगवानको कृपाले गर्दा सोधपुछ गरिने काम बन्द भएको थियो । अफगानी खोजिनीति कहिलेकाहीँ कति सीधा हिसाबको हुन्छ भन्ने कुरालाई ख्याल गर्दा त अलि सन्चो नै भएको थियो । ऊ अरू बच्चाहरूसँग किन सँगै खेल्दैन, ऊ कहिल्यै पनि बोलेको सुनिन्त किन होला भनेर मान्छेले सोध्न छोडेका थिए र सबैभन्दा राम्रो त के भएको थियो भने मान्छेले अनावश्यक रूपमा ‘कठैबरा” भन्न, विस्तारै टाउको हल्लाएर च्वच्व गर्न र “ओह गङ्ग विचारा’ ओहो त्यो ‘विचरा नबोल्ने फुच्चे’ भनेर हामीलाई वाक्क पार्न छाडेका थिए । त्यो नयाँ कुरा ओइलाएर सकियो । धमिलो वालपेपर जस्तै शोहरब नयाँ पृष्ठभूमिमा घुलमिल भइसकेको थियो ।
मैले त्यो सानो, सेतै कपाल भएको कबिरसँग हात मिलाएँ । उसले मलाई एक दर्जन मान्छेसँग परिचय गरायो । एकजना अवकाश प्राप्त शिक्षक, अर्को इन्जिनियर, एउटा भूपू आर्किटेक्ट, एउटा सर्जन, जो अहिले हेवार्डमा एउटा हट डग पसल चलाइरहेको थियो । तिनीहरू सबैले मेरो बाबालाई काबुलमै चिनेको कुरा बताए र बाबाको बारेमा स-सम्मान कुरा गरे । बाबाले कुनै न कुनै तरिकाले तिनीहरू सबैको जीवनमा राम्रौ छाप छोड्नु भएको रहेछ | ती मान्छे सबैले मलाई भने कि उहाँ जस्तो बाउ पाउनु त मेरो अहो भाग्य नै थियो ।
हामीले आसन्न लोया जिर्गा (Loya Jirga) अठ्ठाइस बर्षको निर्वासनपछि राजाको आसन्न फिर्ती सवारी लगायतका कार्जाइको अगाडि तेर्सिएका कठिन र सायद अपजसिलो हुन पनि सक्ने उनले सुल्झाउनपर्ने कामहरूको बारेमा गफगाफ गर्यौँ । मलाई सन् १९७३ को सम्झना आयो जुन रात जाहिर शाहको भतिजले…
क्रमश…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

