पारिवारिक सुख खण्डः २ अंशः १ 

आखिर वसन्त पनि लागिहाल्यो । मेरो पुरानो खिन्नताको ठाउँ सम्भ्रान्त आशा र आकांक्षाको स्वप्निल खिन्नताले लियो । वसन्तयाममा अक्सर यस्तो हुनेगर्छ । मेरो जीवन

हिउँदको प्रारम्भमा जस्तो रहन गएको थिएन, बरु मैले आफूलाई सोन्याको साथमा, संगीत र पढाइमा व्यस्त राखेकी थिएँ । अक्सर म बगैँचामा जाने गर्थे र घण्टौंसम्म एक्लै उद्यानपथमा यताउति टहलिरहन्थें वा बेन्चमा बसेर कुन्नि के के हो के के विचार गरिरहन्थे । म के चाहन्थे र के कस्तो आशा राख्येँ त्यो त दैव नै जानोस्‌ ! कहिलेकाहीँ, खास गरी जूनेली रातमा आफ्नो कोठाको झ्यालनेरै बसेर म पूरै रात छर्लङ्ग काट्ने गर्थें । अनि कहिले चाहिँ कात्याले थाहापत्तो नै नपाउने गरी न्यानो कोट समेत नलगाएर बगैँचातिर डुल्न निस्कन्थें र शीतका थोपाले भिजेको घाँसमा कुल्चँदै तल तलाउसम्म नै दगुरेर जाने गर्थे । एकपल्ट खेतमा समेत टहल्न निस्केकी थिएँ भने अर्कोपल्ट चाहिँ मध्य रातमा हाम्रै बगैँचाको एक छेउबाट अर्को छेउसम्म नै चक्कर लगाउन पुगेकी थिएँ ।

मेरो मथिङ्गलमा ती दिनहरूमा कस्ता कस्ता कल्पना र विचारहरू उब्जन्थे तिनको अहिले सम्झना गर्न र तिनलाई बुझ्न समेत अब त मलाई निकै गाह्रो पर्छ । सम्झना नै गर्न पुगे तापनि ती वास्तवमा मेरै कल्पना थिए भनेर विश्वास गर्न चाहिँ निकै कठिन हुनजान्छ । ती कल्पनाहरू यस किसिमले वास्तविकताबाट ज्यादै टाढा र अनौठा पनि थिए ।

आफूले दिएको वचन पूरा गर्दै मई महिनाको अन्त्यतिर सेर्गइ मिखाइलिच पनि आफ्नो यात्रा-भ्रमण सकेर टुप्लुक्क आइपुगे ।

पहिलोचोटि उनी साँझपख हामीलाई भेट्न आएका थिए । त्यसबेला उनको आगमनको हामीले कुनै प्रतीक्षा नै गरेका थिएनौँ । बरण्डामा बसेर हामी चियापान गर्ने तरखरमा थियौँ । बगैँचा हराभरा भइसकेको थियो र नछाँटिएको झ्याङभित्र जुरेलीहरू पनि फूर्र फू्र उडिरहेका देखिन्थे । पूरै ग्रीष्म ऋतुभरि नै ती चराहरू त्यही बास बस्न आएका थिए । कोपिलाहरू पट्पट्ट फुट्नै आँटेको हुँदा हसिनाका झ्याङहरूमा यत्रतत्र सेता र गुलाफी रङका छिर्बिरे बुट्टा देख्न सकिन्थ्यो। उद्यान-पथमा उभिएका भोजपत्रका पातहरू सूर्यास्तको प्रकाश परेर पारदर्शक प्रतीत भइरहेका थिए । बरण्डामा शीतल छहारी परिरहेको थियो । छिटै नै साँझको शीत झरेर घाँस पनि निथ्रुक्क भिज्नेछ । बगैँचा पछाडिको आँगनबाट दिनको अन्तिम आवाज आइरहेको थियो भने पर गोरेटोमा गाईवस्तुको बथान धपाएर ल्याइएको स्वर पनि सुनिदै थियो । बरण्डा अगाडिको बाटोमा पानीको ढ्वाङ बोकेर अर्धसिल्ली निकोन फटाफट जाँदै थियो । ऊ डलिया फूलको बोटमा पानी हाल्दै थियो र पानी छर्कने भाँडोबाट चिसो पानीको फोहरा छुटेर फूलका झ्याङहरू र तिनलाई अड्याउन ठड्याइएका घोचाका थाँक्रोहरूको वरिपरि खोस्रिएको माटोमा काला चक्काहरू देखा परिरहेका थिए ।

हाम्रो बरण्डामा राखिएको टेबुल निक्खर सेतो टेबुल पोशले ढाकिएको थियो त्यसमाथि टलक्क टल्किने गरी माझिएको सेतो सामोभारमा बाफ निकाल्दै पानी उम्लिरहेको थियो । त्यही नै क्रेन्देल्की र बिस्कुटहरूले सजाइएका रिकापीहरू भाँडोमा चाहिँ सिकर्नी पनि राखिएको थियो । आफ्ना थसुल्ला हातहरूले कात्या लगनशीलताका साथ
कपहरू माझ्दै थिई । नुहाइ-धुवाइ गरेपछि म लस्तसँग चपाउँदै थिएँ र चिया पाकुन्जेल पर्खेर बस्ने समेत धैर्य नभएकोले बाक्लो सिकर्निमा चोपेर क्वाप्प रोटी चपाउदै थिए । आङमा मैले ह्वार्लङ्गे बाहुला भएको एकसरो सूती ब्लाउज लगाइराखेकी थिएँ भने टाउकोमा चाहिँ भिजेका कपाल समेटेर जुरो पारी एउटा रूमालले बाँधिराखेको थिएँ ।
झ्यालबाटै सबभन्दा पहिले कात्याले नै उनलाई देखी ।

“ए, सेर्गेइ मिखाइलिच पो !” उसले उद्गार पोख्दै भनी । – “हामी पनि तपाईंकै विषयमा कुरा गर्दैथियौँ त ।”

म लुगा फेर्न जाने विचारले हतपत उठेँ, तर ढोकाका संघार नाघ्न उनले मलाई देखिहाले ।

‘गाउँघरतिर पनि यस्तो ठस्सा किन र ?” रुमाल बेरिएको मेरो टाउकोमा निहार्दै मुसुमुसु हाँसेर उनले भने । “बूढा ग्रिगोरीको अगाडि त तपाईं लजाइरहनुभएको छैन भने म पनि त तपाईंको लागि ग्रिगोरी सरह नै त हुँ नि !”

तर उनले मलाई ग्रिगोरीको नजरले नहेरेर एकदमै अर्कै पाराले निहारिरहेका थिए र यो चाल पाउँदा मलाई कसो कसो ज्यादै नै अप्ठ्यारो लाग्यो ।

“म छिटै आइहाल्छु ल !”-मैले पाइला अगाडि सार्दै उनलाई जवाफ दिएँ ।

“यस पहिरनमा नसुहाएको नै के छ र ?”-अलि चर्को स्वरले उनले भनेको सुनियो ।“हुबहु किसान केटी जस्ती पो देखिनुहुन्छ त !”

“कस्तो अनौठा किसिमले उनले मलाई हेरेको त हँ !’-माथि चोटा कोठामा हतपत लुगा फेर्दै मैले विचार गरेँ । जे होस्‌, भगवानको कृपाले उनी आइपुगिहाले । अब नियास्रो हराउने भो नाइँ !’ ऐनातर्फ एक नजर फिराएर म रमाउँदै भरेङबाट तल ओर्लिहालेँ । अनि आफ्नो हतपतलाई लुकाउनेसम्म पनि प्रयत्न नगरेर स्याँस्याँ र फ्याँफ्याँ गर्दै म सरासर बरण्डामा दाखिल भइहाले । टेबुलको एक छेउमा बसेर उनी कात्यासँग हाम्रो घर-व्यवहारबारे कुराकानी गर्दै थिए । म तर्फ एक नजर दौडाएर उनी मुस्कुराए, अनि उनले कुराको मेसो फेरि अगाडि बढाउँदै लगे । उनको भनाइअनुसार त हाम्रो कामकुरा सबै नै निकै राम्ररी चलिरहेको थियो । एउटा ग्रीष्मयाम मात्र
हामीले सोन्याको पढाइ-सढाइको लागि या त पिटर्सबर्गतर्फ लाग्ने भयौँ, या त विदेशतर्फ नै प्रस्थान गर्नेभयौँ ।

“अँ, तपाईंसँगै विदेशतर्फ जान पाइए त हो ! नत्र त हामी बनमा बाटो बिराउने बच्चाहरू झैँ बडो बिचल्लीमा पर्नेछौँ !”-कात्याले तर्क झिकी ।

“तपाईहरूको साथमा विश्वभ्रमण नै गर्न पनि म तयार छु !”-अलि गम्भीरता झल्काउँदै त अलि ठट्टा गर्दै उनले भने ।

“विश्वभ्रमण भने विश्वभ्रमण नै सही !” मैले भनेँ ।

उनले मुसुमुसु हाँस्दै टाउको हल्लाए ।

“मेरी मुमाको साथमा को रहला ? घर-व्यवहार कसले चलाउला !”-उनले प्रश्न तेर्स्याए ।-“तर अहिले यो गन्थनको कुनै प्रयोजन छैन । बरु बताउनुहोस्‌, तपाईंहरूको समय कसरी बित्यो ? कतै फेरि पहिले झैँ खिन्नताले त छोपेन ?”

उनको अनुपिस्थतिमा लेखपढ गर्नमा नै आफूलाई व्यस्त राखेको र कत्ति पनि दिक्दार नभएको कुरा उनलाई मैले बताएँ । कात्याले पनि मेरो कुरामा सही थापी । त्यतिखेर उनले मेरो खूब प्रशंसा गरे । एक सानो बालकलाई जसरी नै मीठा मीठा कुराले र मधुर नजरले मप्रति स्नेह जनाए, मानौं यसो गर्ने उनलाई कुनै विशेष अधिकार न्नै प्राप्त भएको होस्‌ ! मलाइ के पनि लागेर आयो भने मैले उनको अगाडि एकदमै स्पष्ट र इमान्दार हुनुपर्छ अर्थात्‌ आफूले गरेका एक एक असल कासकुराहरूबारे उनलाई बताउनुपर्छ र उनलाई मन नपर्ने खालको कुनै कामकुरा गरिएको छ भने पनि साँचो कुरा स्वीकार गर्नुपर्छ ।

त्यो साँझ निकै मनमोहक थियो । चियापान सकिएपछि पनि निकै बेरसम्म हामी बरण्डामा नै बसिरहयौं । निकै रमाइलो कुराकानी चलिरहेको थियो र हाम्रो वरिपरि गुनगुन आवाज पनि कुन बेला सबै बिलाएर गयो त्यो पत्तै पाउन सकिनँ । चारैतिरबाट फूलको मगमग बास्ना आइरहेको थियो र घाँस पनि शीतले निथ्रुक्क थियो। हसिनाको बोट नजिकै जुरेली चराको चिर्चिर सुनिएको थियो, तर हाम्रो स्वर सुन्नेबित्तिकै चूप लागिहाल्यो । टिलपिल टिलपिल गर्दै ताराहरू चम्किरहेको आकाश हाम्रो टाउकोमाथिसम्म नै खस्किरहेको जस्तो प्रतीत भइरहेको थियो । निस्पट्ट अँध्यारो छाइसकेको त्यतिखेर मात्र मैले चाल पाएँ जब एउटा चमेरो कुनै स्वर नै ननिकालेर अचानक बरण्डाको छतमा उड्न लाग्यो र मैले टाउकोमा बेरिराखेको सेतो रुमाल नेरै फटफट गर्दै पखेटा फटफटाउन थाल्यो । भित्ताको आड लागेर म चिच्याउनै मात्र के आँटिकी हुँदो हुँ, त्यो चमेरो त्यसै गरी तुरुन्त नै हुर्रिएर बाहिर गइहाल्यो र बगैँचाको कालो अन्धकारमा विलीन भयो ।

“तपाईंहरूको पोक्रोभ्कोए मलाई त खूबै मन पर्छ । ”-सेर्गेइ मिखाइलिचले प्रसँग नै मोडेर उद्गार पोखे ।-“म त आफ्नो पूरै जिन्दगी यसरी नै तपाईंहरूको घरको बरण्डामा बसेरै बिताइदिन सक्छु !”

“बस्नोस्‌ न, के छ र ? ”_कात्याले भनी ।

“बस्न पाए त हुन्थ्यो नाइँ !”-उनले गुनगुनाउँदै भने ।-“तर जीवन एकै ठाउँमा कहाँ बसिरहन्छ र ?”

“बिहे-सिहे किन गर्नुहुन्न नि ?”-कात्याले प्याच्च सोधी ।-“तपाईं जस्तो लोग्ने त भाग्यमानी आइमाईलाई मात्र जुर्छ है !”

“कुरा के भने म बसिरहन मन पराउँछु !”-उनले हाँस्दै उत्तर दिए ।- हैन कातेरिना कार्लोभ्ना , तपाई-हाम्रो त बिहे गर्ने उमेर नै घड्किसक्यो अब ! विवाह गर्नको लागि वरको रुपमा त मलाई उहिले नै हेर्न पनि छोडिसके सबले । मैले पनि चित्त बुझाएकै छु र वास्तवमा यस्तो कुरा बेसै पनि लागेको छ मलाई !”

उनी बनावटी पाराले कुरा अजमाईअजमाई बोलिरहे जस्तो लाग्यो मलाई ।

“कस्तो कुरा गर्नुभएको ? _कात्याले अपवाद गरी । छत्तीसै वर्षमा जिन्दगानी बितिहाल्छ र !”

“बितिहाल्दो रैछ त नि !”उनले अगाडि भने ।-“अब त खालि बसिरहने मात्र इच्छा हुन्छ । बिहे गर्न त अरु नै कुरा पो चाहिन्छ त ! सोध्नोस्‌ लौ, यिनैसित ।”-उनले टाउको हल्लाएर मतर्फ इशारा गर्दै थपे ।-“बिहे गर्नुपर्ने त यिनीहरूले पो हो ! तपाईं हामीले त उनीहरूको सुखी जीवन हेरेर रमाउने मात्रै हो !”

उनको स्वरमा मैले एक तमासको विरक्ति र थकथकीको भाव झल्किरहेको पाएँ । उनी एक छिन मौन रहे । न मैले, न त कात्याले नै केही बोल्यौँ ।

“एक छिन कल्पना गर्नुहोस !” आफ्नो कुर्सीमा फर्किएर उनले भन्न सुरु गरे । “कथंकथमचित कुनै सत्र वर्षकी कन्याकेटीसँग मेरो बिहे भयो रे लौ ! भनौं माशा… के रे मारिया अलेक्सान्द्रोभ्नासित यो निकै सुहाउँदो उदाहरण हो । अनायासै मेरे मुखबाट यस्तो कुरा निस्केकोमा मलाई खुसी लागेको छ । यो वास्तवमा ज्यादै राम्रो उदाहरण हो ।

म खितिखिति हाँस्न थालेँ । किन उनी खुशी हुँदै छन्‌ र के यस्तो कुरा हो उनको मुखबाट भन्ने म ठम्याउन सकिरहेकी थिइनँ ।…

“लौ त नढाँटिकन साँचो साँचो भन्नोस ।” उनले ठट्टा गर्दै मलाई भने । “एउटा उमेर ढल्किसकेको अधबैसे मान्छेलाई जीवनसाथी बनाउनु के तपाईंको लागि दुर्भाग्यको कुरा हुनेछैन त ? आफ्ना बाँकी दिनहरू गन्दै ऊ त बसिमात्रै रहन चाहला, तर तपाईंका भने भित्री मनमा कति कति कुराहरू खेलिरहलान्‌, कस्ता कस्ता चाहनाहरू होलान्‌, के के गर्ने सुर होला !

मलाई साह्रै अप्ठ्यारो लागेर आयो । के बोल्ने, के नबोल्ने भन्ने मैले ठम्याउनै सकिनँ र म चूप लागेर त्यसै बसिरहेँ ।

“निश्चय नै पनि म तपाईंसामु विवाहको प्रस्ताव राखिरहेको छैन !”-उनले हाँस्तै भने ।-“तर साँचो कुरा बताउनोस्‌ त ! साँझपख बगैंचाको उद्यानपथमा एक्लै घुम्न निस्कँदा आफ्नो लागि तपाईंले जुन खालको पतिदेवको कल्पना गर्ने गर्नुभएको छ त्यो त म जस्तो अवश्य पनि हुँदैन होला ! हैन त…यो वास्तवमा दुर्भाग्य नै हुनेछ ! कसो ?..”

“जरुर दुर्भाग्य हुनेछैन !..”-मैले बोल्न शुरु गरेँ ।

“जे होस्‌, राम्रो कुरा त अवश्य नै हुनेछैन यो !”-उनले कुरा टुंग्याए ।

“अँ, म गल्ती गरिरहेकी पनि त हुन…”

तर उनले बिच्चैमा मेरो कुरा काटे ।

“ऊ, देख्नुभो त !”-उनले भने ।-“यिनको भनाइ बिल्कुलै ठीक हो । खुलस्त कुराको लागि म यिनीप्रति आभार व्यक्त गर्छु । यस्तो कुराकानी चलेकोमा पनि मलाई खुशी नै लागेको छ । साँच्चै भन्ने हो भने मेरो निम्ति पनि यस्तो अनमेल विवाह त ज्यादै दुर्भाग्यपूर्ण हुनेछ ।”-उनले थपे ।

“कस्तो अनौठो मान्छे हुनुहुँदो रैछ ! तपाईं त एकफुट्टी पनि बदलिनुभएको रहेनछ है !”-कात्याले भनी र साँझको खाना तयार पार्ने काम अह्राउन बरण्डाबाट निस्केर गइ पनि हाली ।

कात्या बाहिर निस्केपछि हामी दुवै एकाएक मौन भइहाल्यौँ । हाम्रो वरिपरिको वातावरण पनि एकदमै शान्त थियो । एउटा जुरेलीले मात्र गाइरहेको सुनिन्थ्यो । त्यो स्वरमाधुरी संध्याकालीन कलरव जस्तो चड्का र उत्तेजक थिएन, बरु रात्रिकालीन गान जस्तै स्निग्ध र प्रशान्त थियो । त्यो सुरिलो स्वर बगैँचाभरि गुन्जिरहेको थियो । अनि तल खोल्सोतिरबाट अर्को एउटा जुरेलीको जवाफ आयो । त्यस साँझ पहिलोपल्ट त्यहाँ त्यो चिर्बिर गुञ्जेको थियो । अनि बगैँचाको जुरेलीले एक छिन आफ्नो गाना रोक्यो, मानौ ऊ अब नयाँ स्वर सुन्नेमा तल्लीन होस्‌ ! त्यसपछि उसले झन्‌ चर्को र सुरिलो स्वरमा गाउन सुरु गर्यो । हाम्रो निमित्त अबोधगम्य उनीहरूको त्यस रात्रिसंसारमा त्यो स्वर चमत्कारपूर्ण निस्तब्धतालाई चिरेर गुन्जिरहेको थियो ।

बगैँचाको रेखदेख गर्ने माली शिशाघरमा सुत्न भनी गयो । बाटोमा बज्रिएको उसको बाक्लो बूटको ट्याकद्याक आवाज टाढिँदै गइरहेको थियो । पहाडको फेदीमा कसैले दुईपल्ट जोडले सुसेलेको सुनियो र त्यसपछि फेरि निस्तब्धता छायो । रुखका पातहरू बिस्तारै हल्लिएर फरफर गरिरहेका थिए । बतासको एक झोक्का बरण्डाको छतमा ठक्कर खान पुग्यो र एक प्रकारको सुमधर बास्न त्यहाँ फैलियो ।

क्रमश…