नेपाली साहित्य जगतमा ‘मिथकीय पात्र’ बनिसकेकी स्रष्टा पारिजातको जीवनी ‘सुश्री पारिजात’ प्रकाशनमा आएको छ । फाइन प्रिन्टले प्रकाशनमा ल्याएको पारिजातको जीवनीलाई गोविन्द गिरी प्रेरणाले लेखेका हुन् । गिरीका अनुसार उनले चार वर्षको लेखनीपश्चात पारिजातको जीवनीलाई ‘सुश्री पारिजात’को नाममा पुस्तकको आकार दिएका हुन् । चार वर्षमा लेखिसके पनि यो पुस्तकका लागि विगत २० वर्षदेखि सामग्रीहरु सङ्कलनमा खटिएको गिरीले बताएका छन् ।

०३० को दशकमा पारिजात चर्चित साहित्यकारको रूपमा स्थापित भइसकेकी थिइन् । उनका रचनाहरू जताततै छापिन्थे । गोविन्द गिरी प्रेरणा भने ०३० को दशकमा साहित्यमा भर्खरै पाइला चाल्दै थिए । गिरी भन्छन्, ‘‘मैले साहित्य ०३४ सालबाट लेख्न सुरु गरेँ, त्यसबेलासम्ममा पारिजात बामपन्थी लाइनमा आइसकेकी थिइन् । उनको शिरिषको फूल कोर्षमा थियो, तर बजारमा पाइँदैन थियो । बजारमा शिरिषको फूललाई पुन:मुद्रण गर्न पारिजातले नै अनुमति दिइनन् भन्ने हल्ला सुनिन्थ्यो ।’’

भने नि, नेपाली साहित्य क्षेत्रमा ‘मिथकीय पात्र’ बनेसकेकी पारिजातको जीवनी ‘सुश्री पारिजात’ प्रकाशनमा आएको छ । पछि शिरिषको फूलको पुन:मुद्रण भयो । त्यसको बेग्लै कथा छ । कसरी भयो ? ‘सुश्री पारिजात’ पढ्दा थाहा लागिहाल्छ ।

गिरीको पारिजातसँगको पहिलो भेटलाई विस्मृतिमा पुगेर सम्झन्छन् । पारिजातलाई भेट्न जाँदा चुरोट लिएर जानुपर्छ भन्ने हल्ला काठमाडौंमा व्यापक थियो । गिरी हल्लाबाट टाढा थिएनन् । बुझ्नु भयो नि ! मिथक के !

०४४ सालको कुनै दिन गिरी दुई बट्टा खुकुरी चुरोट लिएर पुगे पारिजातलाई भेट्न । मुसुक्क मुस्कानसहित पारिजातले चुरोट हातमा लिइन् । गिरी कामको सिलसिलमा पारिजातलाई भेट्न पुगेका थिए ।

काम के भने, गिरी प्राइवेट अडिटको काम गर्थे । अमृत बोर्डिङ स्कुलको अडिटको काम पाएका थिए । र, त्यही सिलसिलमा पारिजातसामु पुगे । स्कुल सुकन्याको भए पनि सबै काम पारिजातले नै गर्दिरै’छिन् । पारिजातले गिरीसँग भनिन्, ‘हामीले त पैसा नभएर अडिट नगर्या, तपाईँ लेखकै आउनुभयो । के गर्ने होला ?’

गिरी भन्छन्, ‘‘पारिजातसामु मैले केही सैलियतपूर्ण कुराहरू राखें, र त्यही अनुसार काम भयो । छुट्टिने बेला मैले आफ्नो किताब उहाँलाई उपहार दिएँ, उहाँले मलाई शिरिषको फूलको अङ्ग्रेजी अनुवाद ‘ब्लू मिमोसा’ हस्ताक्षरसहित उपहार दिनुभयो । जुन अहिले पनि मसँग सुरक्षित छ ।’’

त्यसपछिका दिनहरूमा गिरीको पारिजासँगको भेटले निरन्तरता पायो । मिर्मिरे पत्रिकामा गिरी साहित्यकारहरूको अन्तर्वार्ता लिन्थे । एकदिन पारिजातको अन्तर्वार्ता लिन भनी गए । त्यसबेलासम्म अन्तर्वार्ता लिनेलाई मात्र पारिश्रमिकको व्यवस्था थियो । दिनेलाई थिएन । गिरीले मिर्मिरेमार्फत् पहिलोपटक अन्तर्वार्ता दिनेलाई पनि पारिश्रमिकको व्यवस्था गराएका थिए ।

गोविन्द गिरी प्रेरणा

अन्तर्वार्ता छापियो । पत्रिकाको एक प्रति र पारिश्रमिक लिएर गिरी पुन: पारिजातलाई भेट्न पुगे । भन्छन्, ‘‘पारिजातले खुसी मुद्रामा पारिश्रमिक लिनु भयो । पत्रिकामा छापिएको अन्तर्वार्ता सर्सती हेर्नुभयो, र भन्नुभयो – प्राय:ले मेरा कुरालाई बङ्गाइटिङ्गाइ छापिदिन्छन्, तपाईंले चाहिँ मेरो कुरालाई जस्ताको तस्तै छाप्नु भएछ । तपाईंको स्मरणशक्ति तारिफ योग्य रहेछ ।’’

टेप रेकर्डको समय थिएन त्यो । कुरा गर्दागर्दै सकेको टिपोट गर्ने, छुटेको स्मरणमा राख्ने, र त्यसकै आधारमा अन्तर्वार्ता तयार पार्न समय थियो त्यो ।

पारिजात जीवितै हुँदा गिरीलाई लागेको थिएन कि कुनै दिन उनको जीवनी लेख्नेछन् । पारिजातको ‘अनिँदो पहाड’ चित्त नबुझेरै कटु–आलोचनै गरेर गिरीले समीक्षा लेखेका थिए । तर पछि भेट हुँदा पारिजातले उक्त समीक्षा नपढेझैं व्यवहार गरेको सम्झन्छन् गिरी ।

पारिजातको पहिलो जीवनी होइन, ‘सुश्री पारिजात’ । आफूलाई शङ्कर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने इच्छा रहेको बताउँछन् गिरी । भन्छन्, ‘‘महिला, त्यसमाथि धेरै विवाद र चासोको पात्र भएकाले म सुरुमा पारिजातको जीवन लेख्ने निष्कर्षमा पुगेँ । अर्को कुरा चाहिँ, मैले जति पनि पारिजातका जीवनी पढेँ, तिनमा पारिजातका बारेमा मैले थाहा पाएकै पनि धेरै कुरा छुटेका थिए । मलाई लाग्छ – कसैका जीवनी लेखिन्छ भने त्यहाँ उसको जीवनको सम्पूर्ण पाटाहरू उद्घाटित हुनुपर्छ । त्यही छुटेका कुराहरूलाई पूर्ति गर्न र सम्पूर्ण रूपमा पारिजातलाई प्रस्तुत गर्न ‘सुश्री पारिजात’ लेख्न कसिएँ ।’’

अग्रज साहित्यकारहरूका बारेमा गिरीको चासो लोभलाग्दो छ । त्यसैले पनि होला, किताब लेख्न थाल्नुपूर्व नै उनीसँग पारिजातका बारेमा आम पाठकसामु उद्घाटित नभएका धेरै कुराहरू थिए । थप जानकारी तथा तथ्यहरू कहाँ पाइन्छ भन्नेमा उनी जानकारै थिए ।

पुस्तकमा गिरीले फगत आफूले थाहा पाएका कुराहरूमात्र उल्लेख गरेका छैनन् । आफूभन्दा माथि उठेर पुस्तक तयारीका क्रममा विभिन्न व्यक्तिहरूसँग अन्तर्वार्ता गरेका छन् । पुस्तक तयारीको क्रममा पारिजातकी बहिनी सुकन्या, पारिजातको निकट साथी दया सिंह, ‘दार्जीलिङकी पारिजात’ उपमा पाएकी विन्द्या सुब्बा, प्ररशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटालगायत पचासौं व्यक्तिहरूसँग अन्तर्वार्ता लिएको दाबी गर्छन् गिरी । त्यहाँबाट आफूलाई थाहा नभएका तथा थाहा भए पनि अपुष्ट रहेका धेरै कुराहरू पत्ता लगे । जिम्मेवार साहित्यकार तथा पारिजातका सङ्गतिहरूसँगको अन्तर्वार्तामा आएका कुराहरूलाई गिरी प्रमाणिक नै हुने मान्छन् । किताब मुद्रणमा हुँदासमेत आफूले पारिजातका बारेमा नयाँ कुराहरू प्राप्त गरिरहेको बताउँछन् उनी ।

‘दोस्रो संस्करणमा थपिन सक्ने थप जानकारीहरू आउने सम्भावना कतिको छ ?’ – यो प्रश्न हो । उत्तरमा गिरी भन्छन्, ‘‘अवश्य केही कुराहरू थपिन्छन् । मैले खोज्दा भेटेसम्मका कुराहरूलाई पुस्तकमा समेटेको हुँ । अहिले ‘म पनि पारिजातसँग नजिक थिएँ, यस्ता यस्ता घटनाहरू भएका थिए’ भन्ने व्यक्तिहरू फेला परिरहनुभएको छ । आवश्यकता र तथ्यका आधारमा ती कुराहरूलाई आगामी संस्करणमा अश्यनै समेट्ने छु ।’’

नेपाली साहित्यमा दिवंगत भइसकेका व्यक्तिहरूको सबल पाटाहरू मात्र उजागर गर्ने प्रवृत्ति परम्पराजस्तै बनेको छ । तर यो मामिलामा गोविन्द गिरी फरक देखिएका छन् । उनले पारिजातका सबल र दुर्बल दुबै पाटालाई उत्तिकै महत्त्वका साथ पुस्तकमा समेटेका छन् । कसैको जीवनी लेख्दा उसको जीवनका सबै पाटाहरू उजागर हुनुपर्छ भन्ने मान्यता गिरीको छ । नेपाली साहित्य परिवेशमै यात्रारत् भएर पनि विदेशी लेखकका जीवनीहरू प्रशस्त पढेका कारण यो सोचको विकास आफूमा भएको हुनसक्ने उनको अनुमान छ ।

एक पक्षले पारिजातको देवत्वकरण गरिरहने र अर्को पक्षले ‘पारिजात केही पनि होइन’ भन्ने मान्यता राख्ने प्रवृत्तिलाई गिरीले नजिकबाट नियालेका छन् । उनी भन्छन्, ‘‘मलाई यी दुबै पक्ष ठिक लाग्दैन । पारिजात पनि मान्छे थिइन्, कमीकमजोरी बिनाको मान्छे हुँदैन । कमजोरी लुकाएर कुनै पनि मान्छे महान् हुन सक्दैन । बरु, कमजोरीसहित मान्छे सफल हुन्छ । मैले यही धारणामा रहेर ‘सुश्री पारिजात’ लेखेको हुँ ।’’

पारिजातको जन्म मितिलाई लिएर हुने विवाद विद्यामानै छन् । उनका दुईभन्दा बढी जन्म मिति प्रयोगमा रहेको देखिन्छ । प्रकाशक फाइनप्रिन्टले ‘आधाकारिक जन्म मितिसहित…’ लाई ब्राण्ड गर्दै ‘सुश्री पारिजात’को विज्ञापन गरिरहेको छ । गोविन्द गिरीले पारिजातको जन्म मितिलाई पुस्तकको दोस्रो पृष्ठमा ‘पुख्र्यौली र बाल्यकाल’अन्तर्गत निर्क्योल गरेका छन् । ०६५ सालमा प्रकाशनमा आएको कृष्णप्रसाद घिमिरेको ‘पारिजातका नाटक’लाई आधार मान्दै लेखेका छन्, ‘‘पहाडकी रानी दार्जीलिङ । दार्जीलिङको प्रख्यात लिङ्गिया चियाबगान । त्यही चियाबगानमा काम गर्ने डा. कालुसिंह तामाङ । यिनै कालुसिंह तामाङकी कान्छी श्रीमती अमृत मोक्तान । जेठी श्रीमतीको निधनपछि भित्रिएकी । अमृत मोक्तानको कोखबाट १९९० फागुन ३० अर्थात् १३ मार्च १९३४ का दिन एउटी बालिकाको जन्म भयो ।’’

गोविन्द गिरीका अनुसार कृष्णप्रसाद घिमिरेले दार्जीलिङ गएर पारिजात पहिलोपटक स्कुलमा भर्ना हुँदा उल्लेख गरेको जन्म मितिलाई पुस्तकमा समावेश गरेका थिए । स्कुल भर्ना गराउँदा पिता डा. कालुसिंहले सो मिति उल्लेख गरेका थिए, जुन विद्यालयमै गएर ढड्डा पल्टाएर घिमिरेले प्राप्त गरेका थिए । गिरीले ‘सुश्री पारिजात’का माध्यमबाट त्यही मितिलाई आधिकारिक घोषित गरेका छन् ।

उसो त, गिरी जन्म मितिमा विवाद भएको कुरा मान्न तयार छैनन् । सही जन्म मितिको खोजी चाहिँ नभएको उनको तर्क छ । भन्छन्, ‘‘यदि त्यो मितिलाई आधिकारिक नमान्ने हो भने पारिजातको चिना (जन्म कुण्डली) नै खोज्नुपर्ने हुन्छ, अब त्यो भेट्न सम्भव लगभग छैन ।’’

अब थोरै पुस्तकभित्रको कुरा गरौं ।

गिरी पारिजातको जीवनकथालाई विभिन्न उपशीर्षकहरुमा खण्डित गरेर पाठकमैत्री मात्र बनाएका छैनन्, रोचक र गहकिलो समेत पारेका छन् ।
‘दार्जीलिङ: छेकुडोल्मादेखि विष्णुकुमारी बाइवा’ उपशीर्षमा पारिजातको ‘पहिलो कविता’, ‘चुरोटको लत’देखि ‘पहिलो प्रेम’सम्मको चर्चा गरिएको छ । त्यस्तै, ‘काठमाडौंका सुरुवाती दिन’ उपशीर्षकमा काठमाडौं आगमनका सुरुवाती दिनहरुदेखि ‘प्रेमीको बिहेको निम्तो’सम्मका प्रशंगहरु समेटिएको छ ।

‘जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर’ शीर्षकअन्तर्गत पारिजातका ‘आर्थिक सङ्कटका दिन’हरुदेखि शिरिषको फूलको प्रकाशन, पारिजातबाटै पुस्तक प्रकाशनमा रोक हुँदै ‘पारिजात–शङ्कर’ सम्बन्धका विभिन्न पाटाहरुको चर्चा गरिएको छ । त्यस्तै, ‘राल्फा युग र पारिजात’, ‘कथायात्रा’, ‘आरोप’, ‘प्रगतिवादी लेखन’, ‘पारिजात र राजनीति’, ‘सम्पादन, अनुवाद र स्तम्भलेखन’लगायत शीर्षकअन्तर्गत पारिजातका विभिन्न अँध्यारा तथा उज्याला पाटाहरुमाथि प्रकाश पारिएको छ ।

‘आनीबानी’ शीर्षकमा ‘चुरोट, रक्सी, प्रेम र यौन’सँग पारिजातको सम्बन्ध, अध्ययनको शैली, लेखनीका छद्यनामहरु, धार्मिक आस्था, चलचित्र लेखनको अधुरो सपनालगायत ‘मिथक’जस्ता लाग्ने रोचक कुराहरुको उल्लेख गरिएको छ । त्यस्तै, ‘पारिजातको साहित्यिक दृष्टि’ र ‘विविध संलग्नता’ शीर्षकअन्तर्गत लेखनीय तथा राजनीतिक पक्षधरताका साथै पारिजातका लेखनीका विविध आयामहरुको विस्तृतमा चर्चा गरिएको छ ।

पुस्तक अन्तिम उपशीर्षक छ – चिरनिद्रामा । यस खण्डअन्तर्गत पारिजातका अन्तिम दिनहरुमा नागरिकता नहुँदा उपचारका लागि विदेश जान पासपोर्ट बनाउँदाको सङ्घर्ष, पासपोर्टमा ल्याप्चे लगाएको प्रशंग तथा पारिजातका अन्तिम इच्छाहरुको उल्लेख गरिएको छ । जसले पाठकलाई संवेदनशील तुल्याउँछ ।

मलाई लाग्छ, यति पढिसक्दा हाम्री ‘मिथकीय पात्र’ पारिजातको जीवनकथा ‘सुश्री पारिजात’भित्र भएका कुराहरुको अनुमान तपाईंले पक्का लगाइसक्नु भयो । सम्पूर्ण रुपमा पारिजातलाई जान्न र बुझ्नका लागि त करिब ४ सय पृष्ठको पुस्तक छिचोल्नै पर्ने हुन्छ ।