अध्यायः चौबीस

मरूभूमिमा मेरो हवाइजहाज बिग्रेको आज आठौँ दिन भैसकेको छ । पानीको अन्तिम घुट्को पिउँदै म फुच्चे राजकुमारले भन्दै गरेको कथा सुन्दै थिएँ ।

अन्त्यमा मैले फुच्चे राजकुमारलाई भनेँ, ‘तिम्रो यात्रानुभव बडो रोमाञ्चक र घतलाग्दा छन्‌ । तर मैले अझै आफ्नो जहाज मर्मत गरिसकेको छैन । पिउने पानी पनि सकियो अब । यदि जलाशयतिर पुग्न सके औधी खुसी हुन्थेँ म ।’

फुच्चे राजकुमारले भन्यो, “मलाई पनि तिर्खा लागेको छ, जाऔँ, कतै जलाशयको खोजी गरौँ ।’

समय बित्दै गयो, रात पर्यो तर हामीले कतै जलाशय फेला पार्न सकेनौँ । फुच्चे राजकुमार र म दुवैजना धेरै थाक्यौँ । केही नलागेपछि हामी बालुवामाथि बस्यौँ | तिर्खाले मलाई ज्वरो आउला जस्तो भएको थियो । बालुवामाथि बसेर हामीले ताराको, मरूभूमिको अनि अन्य थुप्रै दृश्यहरूको सुन्दरताका बारेमा एक आपसमा चर्चा गर्यौँ ।

फुच्चे राजकुमारले भन्यो, “ताराहरू सुन्दर देखिनुको कारण हामीबाट धेरै टाढा भएकाले हो । यहाँ कतै न कतै कुवा हुनुपर्छ जसले मरूभूमिलाई सुन्दर बनाएको छ ।”

केहीबेरमै फुच्चे राजकुमार भुसुक्कै निदायो । उसलाई बोकेर हिँड्दा सारा पृथ्वीमा योभन्दा नाजुक मूल्यवाण चीज अरू कुनै छैन जस्तो लाग्यो मलाई । उसको आधा खुलेको ओठमा देखिने हल्का मुस्कानले म भावुक भएँ । एउटा फूलप्रतिको उसको निष्ठा निदाइराखेको बेलामा पनि स्पष्ट प्रतिविम्बित हुन्थ्यो । उसमा दीपकको ज्योति जस्तै झिल्मिलाइराखेको अनुभव गर्न सकिन्थ्यो ।