प्रख्यात पत्रकार तथा लेखक माइकल लेविस सर्वसाधारणका लागि त्यति परिचित नाम नभए पनि उनका अनुसन्धानात्मक पुस्तकमा आधारित चर्चित फिल्महरू बनेका छन् । तीमध्ये मनीबलद बिग सर्ट त प्रख्यात र पुरस्कार विजेता फिल्म नै रहे । द ब्लाइन्ड साइड पनि कम चखिलो फिल्म छैन ।

उनै लेखक तथा पत्रकारले हालै चर्चामा आएका साम बैंकम्यान फ्रायडमाथि पुस्तक लेख्न थालेको विषयले नै चर्चा पाउन थालेको छ ।

फ्रायड हालै कंगाल घोषित भएका क्रिप्टोकरेन्सी कम्पनी एफटिएक्सका खर्बपति मालिक थिए । फ्रायडसँग लेविसले भेटेको र उनीमाथि जीवनी लेख्न थालेको आशंका गरिएको छ ।

उनले सन् २००८ मा लेखेको पुस्तक द बिग सर्ट सेयर बजारमा हुने बदमासीमाथि निकै प्रख्यात पुस्तक हो ।

बेलायतको चर्चित पत्रिका द टाइम्स लेख्छः फ्रायडमाथि यदि लेविसले पुस्तक लेखिरहेको हो भने लेविसका लागि यो निकै फाइदाकारी कुरा हो भने फ्रायडका लागि दुःश्वप्न हो किनभने उनको अनुसन्धान र विषयवस्तुमाथिको गहिरो अध्ययनले पुस्तकलाई पठनीय मात्र होइन, विगत ६ महिनादेखि फ्रायडलाई पछ्याइरहेका लेविसले निकै नाटकीय घटनाक्रमहरूसमेत पाएका छन् ।

फ्रायडलाई अमेरिकी उच्च अदालतले २५० मिलियन डलर धरौटीमा छाडेको छ भने प्रहरीले व्यापक अनुसन्धान गरिरहेको छ । यही बेला फ्रायडसँग लेविसले भेटेको चर्चाले पुस्तक बजारमा पहिल्यै बेस्ट सेलर हुने अपेक्षा गर्न थालिएको छ ।

फ्रायडका बाबुआमा स्टानफोर्ड ल स्कुल क्यालिफोर्नियाका प्राध्यापक हुन् । लेविसले बाबुआमासँगै फ्रायडसँग पनि क्यालिफोर्नियास्थित निवासमा भेटेको द न्युयोर्क पोस्टले लेखेको थियो ।

त्यसो त केही महिनाअघि नै फ्रायडको जीवनी आउनुपर्ने थियो तर अड्किरहेको थियो । तर यस घटनापछि भने प्रकाशकले चाँडै पुस्तक सिध्याउन दबाब दिइरहेको र पुस्तक तयार भइनसक्दै यसमाथि फिल्म वा शृंखला बनाउन एप्पल कम्पनी र अमेजनबीच प्रतिस्पर्धा भइरहेको पनि समाचारमा जनाइएको छ ।

फ्रायडको कम्पनी एफटिएक्स सन् २०१९ मा स्थापना गरिएको थियो । कम्पनीले बिटक्वाइन लगायतका सबैजसो क्रिप्टोकरेन्सीहरूलाई नगदमा परिणत गर्ने काम गर्थ्यो । गएको महिना यस कम्पनीबाट लगानीकर्ताहरूले करोडौँ डलर निकालेपछि एकै झमटमा कम्पनी कंगाल भएको थियो । यसको सेयर कारोबार पनि झन्डै शून्यमा झरेको थियो । यो कम्पनीको उच्चअवस्थामा ३२ बिलियन डलर मूल्याङ्कन गरिएको थियो ।

यो कम्पनीका मालिक साम ब्याकम्यान फ्रायड पनि अन्य अर्बपतिझैँ रातारात सेलिब्रिटी बन्न पुगेका थिए ।

तर जब लेविस र फ्रायडबीच भेटघाट भएको खबर बाहिरियो, यसले केही आलोचकहरूले भने लेविसलाई लतार्नुसम्म लतारेका छन् । बैंकिङ घोटालामा कसुरवार ठानिएका फ्रायडको अपराधलाई कमतर बनाउन वा उनीप्रति सद्भावजन्य सामग्रीहरू लेखाउन यो भेटघाट तय गरिएको केहीको धारणा छ।

उनको कम्पनीमा १ लाख मानिसहरूले करोडौँ गुमाएर कंगाल भएकाले यस्ता व्यक्तिलाई नायकका रूपमा पुस्तकमा महिमामण्डन गर्न नहुने केहीको धारणा छ ।

फ्रायडमाथि आठ वटा कसूरमा अभियोग लगाइएको छ । तीमध्ये अवैधानिक रूपमा रकमान्तर गरेको आरोप पनि छ । उनकी केटी साथी क्यारोलिन एलिसन र पूर्व कर्मचारी गेरी वाङले प्रशासनलाई यस अभियोगमा सघाउने बताइएको छ । कसरी गर्लफ्रेन्डहरू उनको दुस्मन भए भन्ने कथा पनि किताबमा आउनसक्ने केहीको अनुमान छ ।

राजनीतिक प्रभाव बढाउन कसरी दलहरूलाई दान दिइन्थ्यो भन्ने कुरामा पनि प्रशासनले अनुसन्धान गरिरहेको छ ।

उता यत्रो काण्ड मच्चिसक्दा पनि फ्रायडले आफ्नो गल्ती नरहेको, व्यापारमा उतारचढाव हुने र कहिलेकाहीँ गरिएका नजरअन्दाजले कम्पनी डुब्ने गरेका उदाहरण पेश गरेका छन् ।

फ्रायडको भेटमा लेखक लेविसको धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन ।