बर्माको सीमासम्म फोन र म्यासेन्जरको समस्या थिएन, त्यसैले चाहिएको समयमा पनि नचाहिएको समयमा पनि, काम भएकासँग पनि नभएकासँग पनि कुरा गरिन्थ्यो । सायद नेटवर्कको भ्यालु के हो बुझिसकेका थिएनौँ । जसले याद गर्दथ्यो, उसैलाई पहिले गरिन्थ्यो । यसो गर्दा आमासँग कुरा गर्न छुटिरहेको थियो । आमाहरु चाहीँ याद गर्छन् तर प्रविधिसँग जानकार नहुँदा फोन गर्दैनन् ।

जब भारतीय सीमामा राधाकृष्णको मन्दिरमा खान खाएर बाहिर निस्कियौँ, मोबाइल नेटवर्कले साथ छाड्यो । जब नेटवर्कले साथ छाड्न थाल्छ, आफ्ना निकट याद आउँछन् । सायद मानिसले अन्तिम समयमा आफन्त याद गर्नुको कारण पनि यही होला । कमजोर नेटवर्कका बीचमा मैले आमा र बैनीलाई याद गरेँ ।

‘नेपाल पुग्यौ ?’ फेरि आमाले त्यही कुरा सोध्नुभयो ।

आमाको हतारोमा नेपाल प्रतिको अनुराग राम्रैसँग पाउँछु । मैले केही भन्न सकिनँ, नेपाल पुग्न बाँकी छ भनेर उहाँलाई निरास बनाइहाल्न मन लागेन ।

तर फोनमा बैनी बोलेको सुनियो, ‘दिदी भर्खर इण्डियाको बोर्डर पुग्नुभयो । अहिले कहाँ नेपाल पुग्नु र ?’ बैनीले आमालाई जिस्क्याइरहेकी थिइन् ।

‘अब फोन गर्दा नेपालबाट गर्छुहोला,’ मैले आश्वासनको स्वरमा आमालाई भनेँ, ‘अब चाँडै पुग्छु ।’

आमाबाट बैनीले फोन लिएपछि यात्रामा के गर्नुहुन्छ, के गर्नुहुन्न सम्झाउन थाली । ‘औषधि लिन नबिर्सनू, बीच बीचमा वाइफाइ जोडेपछि म्यासेज छाड्नु…’ आदि इत्यादि ।

घरमा म ठूली छोरी, करिब करिब अभिभावक म नै हुँ तर मेरी बैनी सधैँ मेरो अभिभावक बन्न खोज्छे । अर्तिउपदेश दिन थाल्छे । म उसको कुरालाई हस् हस् भनेर मानेको अभिनय गर्छु ।

फोन राखेपछि मलाई पनि लाग्यो, अब हामी नेपालको नजिकै छौँ । तर हाम्रो टोली नेता भीमजीले मेरो कुरा सुनेपछि भन्नुभयो, ‘सबै कुरा ठिक भयो भने पनि नेपालको बोर्डर पुग्न दुई दिन लाग्छ । कहाँ नजिक छ र नेपाल ?’

भीमजीले दुई दिन भनेर लामो रास्ता भएको बताउन खोज्नु भएको थियो तर मेरोलागि त्यो दुई दिन दुई घन्टा जस्तो पनि महसुस भएन । कतै जान लागेको यात्रुका लागि बस आएर छेउमा रोकिँदा पनि गन्तव्यमा पुगेको अनुभूति हुन्छ । मलाई त्यस्तै लाग्यो ।

भारतको बाटोभरिका लागि घरसँग र नेपालसँग सम्पर्कमा रहन भारतीय सिम लिने कि भन्ने कुरा चल्यो तर दुई दिनका लागि किन पैसा खर्च गर्ने ? भीमजीले मन्दिरमै एउटा सिमको जुगाड गरिसक्नु भएको थियो । त्यसले नै नेपाल र बर्मा दुवै ठाउँमा सबैले कन्ट्याक्ट गर्न सकिन्छ । यही कुरामा सहमति भयो । एक प्रकारले नेटवर्कहरुबाट टाढा रहेर स्वतन्त्र हुने मौका पनि थियो यो । हामी सबैले स्वीकार गर्यौ ।

मनभरि पितृभूमिको माया सङ्गालेर दिउँसोको एक बजे हामी पुनः दुई वटा ट्याक्सी चढ्यौँ । जनवरी महिनामा पनि गर्मी महसुस भयो । गर्मीले नै बताउँदै थियो, हामी तातो इलाकामा प्रवेश गर्दैछौँ । पहाडी बाटोमा, जाडो मौसममा पनि गर्मी हुनु मेरालागि अनौठो कुरा थियो ।

अघि र पछि गर्दै कुत्दैछन् हामीलाई बोकेका दुई गाडी । एउटामा हामी नारीवादी र अर्कोमा पुरूषवादी बाँडिएर बसेका थियौँ । हामी आफ्नै गफमा मस्त भयौं । अघि टमू आउँदा कल्पना गरेको बाटोसँग बल्ल पो साक्षात् भो । पक्की सडकको निर्माण कार्य भइरहेकाले घरि उचालेर थ्याच्च पछार्ने । दाँयातिर हुत्याएर लाने, बाँयातिर सोरेर ल्याउने, घरि दिनको उज्यालोलाई अन्धकार पर्ने धूलो चिरेर एकनासले हुइँकिएको गाडी र बाटोको होडबाजीले भने मेरो ज्यान थिलोथिलो पार्न कुनै कसर छोडेन । पहाडका मनोरम दृश्य आँखामा कैद गर्दै हामी आफ्नो रमाइलो धूनसँगै लागिपरेकै थियौं । छेउछाउ ठूला ठूला चट्टान र गहिरा खाईहरूको टेडोमेडो डरलाग्दो बाटो हुँदै सुन्दर फाँटतिर लम्किन थाल्यो हाम्रो गाडी । सर्सौंको पहिँलो फूलले त्यो फाँट हेर्न लायक बनाएको थियो । दृश्य निकै सुन्दर भएकाले यी लोभलाग्दा दृश्य फोनमा क्याप्चर गर्न कत्ति ढिला गरिनँ । यही गतिको तछाँडमछाँडमै बाटो छेउका साना ठूला घर, मन्दिर

र, बजार पछि छाड्दै करिब पाँच बजेतिर हामीलाई.ल्याएका दुई वटा गाडीले मणिपुर बस स्टपमा छोडिदिए ।

हामीलाई राति २ नबज्दै डिमापुर पुग्नुपर्ने रहेछ । एकपल्ट राम्रोसँग मणिपुरको राजधानी इम्फाल हेर्न नपाइकनै हिँड्नुपर्ने भयो ।
हतारमा टोली नेता भीम पाण्डे गाडीको बन्दोबस्त गर्नतिर लाग्नु भयो । नयाँ सडक, नयाँ देश र नयाँ परिवेश बुझ्न कठिन थियो हाम्रोलागि । टेलिभिजन र सिनेमाहरुमा इण्डियाका बारेमा थाहा नभएको होइन, तर यहाँ हिन्दी बोलेको नसुन्दा र बोर्डका अक्षरहरु पनि फरक हुँदा हामी अर्कै कुनै मुलुक पुगेको भान भइरहेको थियो । यस्तो बेलामा भीमजीको साथ अभिभावकको साथ अनुभव भइरह्यो ।

[bs-quote quote=”नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

खासमा डिमापुरबाट सिलिगुढीसम्मको टिकट भारतीय सीमामै काटिएको थियो । त्यही राति डिमापुरबाट दुई बजेको रेल थियो । मोरेमैँ रेलको टिकट काटिएको कारण रेल स्टेसन नजिकै होला भन्ने अड्कल काटेको थिएँ । तर हामीलाई चार घन्टापछि जुन ट्याक्सीले इम्फाल छाडेका थिए, त्यो ट्याक्सीवालाले राति २ बजे नागाल्याण्डको डिमापुर स्टेसन पुग्न कठिन छ भनेर डर देखाइदिएको थियो । यो कुरा हामीले भीमजीलाई सुनायौँ । यसकारण पनि भीमजी चिन्तित हुँदै नयाँ गाडी खोज्न थाल्नु भएको थियो ।

गाडी बुझेर, बुकिङ् गरेपछि पाण्डेजीले भन्नुभयो, ‘चिन्ता गर्नुपर्दैन, राति एक बजेसम्म हाम्रो गाडी   डिमापुर पुग्छ । गाडीबालाले पूरापूर आश्वासन दिएकाे छ ।’

इम्फाल बस स्टपमा एक घण्टा जतिको पर्खाइपछि हाम्रो बस डिमापुरतिर लाग्यो । मणिपुर बसस्टपको साँझको घुइँचो, अस्तव्यस्त परिस्थिति र वातावरण नै रिसाएर फुलेजस्तो गुम्म  थियो । हिजो रातिदेखि लगातार गाडीमा हामी हिँडिरहेकाले हामी पनि त्यही चालमा ढलिसकेको थियौं । बस स्टार्ट भएपछि मैले बसका यात्रुहरु हेरेँ । मलाई सबै नेपाली अनुहार जस्तै लागे । सायद पहाडी अनुहार भएकाले त्यसो लागेको हुनसक्छ । वा नेपाल जान लागेका कारण मनमा त्यस्तो भाव आएको हुन सक्छ ।

बस केही क्षणअघि बढेपछि कानमा नराम्रो खबर ठोक्किन आयो । सँगै एउटा सुनसान ठाउँमा गाडी पनि रोकियो । सेनापति भन्ने जगामा स्थानीय सरकारको विरोधमा केही नारीवादीहरुले चक्काजाम गराएका रहेछन् । चक्का जाम भनेपछि हामीलाई चिन्ता लाग्नु स्वाभाविक थियो । हामीले सोधपुछ गर्न चाह्यौँ तर भाषाको सीमितताका कारण यति मात्रै थाहा पायौँ कि यहाँ सरकारसँग स्थानीय विद्रोहीहरुको बेला बेलामा झगडा परिरहन्छ र बेला बेलामा चक्का जाम पनि भइरहन्छ ।

अब हामी यताकतै बास बस्नु पर्छ । यो स्थिति रातभर रहन पनि सक्छ । कुनैपनि बस पाँचबजेबाट न यता पस्न पाउँछ, न उता छिर्न नै । म रिस्क लिएर जान चाहन्न ।’ डाईबर दाइले  हामीलाई हिन्दीमा त्यहाँ भएको समस्याबारे अवगत गराए । ड्राइभरको कुरा सुनेर हामी रुनु न हाँस्नु भयौँ । डिमापुर जानेले छिचोल्नु पर्ने एउटा सानो सहर रहेछ सेनापति ।

पहिला त मलाई पनि मधू दीलाई झैं सेनापतिमा चक्काजाम हुँदैमा हामी बाटामा बस्नुपर्छ जस्तो लागेको थिएन । तर गाडीको जाम र ड्राइभर आफ्नो सिटबाट अलप भएपछि भने हाम्रो टेन्सन बढ्दै गयो । उसै पनि शरीर थाकेको थियो, त्यसमाथि बीच बाटामा आइपरेको यो अप्ठ्यारोले मन नै थकाइदियो ।

[bs-quote quote=”हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ ।

हाम्रो रेल छुट्ने भो भन्ने चिन्ता र रातभर सडकमै रात गुजार्नु पर्ने भयले हामी दुःखी थियौँ । उसै पनि मलाई हिजोदेखि नै निद आएको छैन । निद पूरा नभएपछि त्यसको असर मन र शरीरमा पर्छ । यही कारण अरुभन्दा बढी मलाई दिक्क लागेको थियो । आफ्नो माग पूरा गराउन अरुलाई दुःख दिने कुरा बर्मामा कल्पना गर्न पनि सकिँदैन । अघिसम्मको खुसी यहाँ गाडी रोकिने कुराले हराउँदै गयो र बदलामा चिन्ता, तनाव र रिस बढ्दै गयो । तर हामी के नै पो गर्न सक्थ्यौँ र ?

हामीसँग ड्राइभरलाई फकाउनुबाहेक अर्को उपाय थिएन । हामीले आधा नेपाली आधा हिन्दी भाषा मिसाउँदै ड्राइभर दाइलाई सडकमै बास नबस्न अनुरोध गर्यौँ । उनलाई हामीले फकाउँदै भन्यौँ, ‘बस बिस्तारै हाँकेर सेनापतिसम्म पुगौँ । त्यहाँ बस्न खान राम्रो पाइन्छ, यो बाटोमा बस्दा हामीलाई नराम्रो लागिरहेको छ ।’ यो कुरा हामीले पटक पटक भन्यौँ र हाम्रो अवस्था बुझिदिन अनुनय विनय गर्यौँ तर ड्राइभर दाइले हाम्रो कुरा बुझ्दा रहेनछन् । केवल मुन्टो हल्लाएर बुझेको अभिनय मात्रै गरेका रहेछन् । एकजना यात्रुले हाम्रो समस्या मात्रै होइन, हाम्रो भाषाको अन्तर्य सुनेर अनुवाद गरेपछि मात्र ड्राइभरले केही बोले तर के बेलो हामीले थाहै पाएनौँ ।

निकै बेरपछि ड्राइभर दाइ बीच सडक बस रोकेर नजिकैको होटलभित्र पसे । अरु यात्रुहरु पनि खाना खाने तयारी गर्न थाले । हामीलाई खाना  खाने जाँगर चलेन । खाना रुचोस् पनि कसरी ? चिन्ता र भयले नै हाम्रो पेट भरिएको थियो । हेर्दा हेर्दै रातको ८ बज्यो, ९ बज्यो । अब हाम्रो अनुरोध, अनुनय विनय पनि बेकार जान थाल्यो । हामी पूर्ण रुपमा गल्न थाल्यौँ र परिस्थितिसँग सम्झौता गर्न थाल्यौँ । ड्राइभर अझै दुकानमै थिए । हामीलाई ड्राइभरको नियतमाथ नै शंका लाग्न थालिसकेको थियो तर हाम्रा लिडर भीम पाण्डे भने ड्राइभरलाई अझै पनि फकाउन अझै प्रयत्नशील हुनुहुन्थ्यो ।

रातको १० बजेतिर म, सरगम, मधू र सीमा गरी चार जना युवतीहरु बोटलको पानी किन्न नजिकै एउटा किराना पसलतिर लाग्यौं । त्यहाँ पानी कसरी माग्ने, हाम्रो भाषा कसरी बुझाउने भनेर सल्लाह गर्दैथियौँ, दुकानबाट एउटी महिलाले के चाहियो नानी हो भनेर नेपाली भाषामा सोधिन् । यो रातमा यो भाषा हाम्रालागि मरभूमिमा तिर्खाएको बेला पाएको पानीसरह भयो । हामीले ड्राइभरमाथिको शंका बतायौँ र नेपाल जान लागेको कुरा पनि बतायौँ । ती नेपाली दिदीले भन्नुभयो, ‘उता स्थिति साँच्चै नै खराब छ नानी हो, चिन्ता गर्नुपर्दैन । पुलिसले नै गाडी रोकेका हुन् । ड्राइभरले सही जग्गामा रोकेका हुन् ।’

नेपालीहरु नपुगेको ठाउँ कहाँ छ होला ? यो सुनसान ठाउँमा नेपालीहरुले दुकान थापेर बसेका छन् । गरिखाएका छन् । नेपालीहरु जहाँ गए पनि बाँच्न सक्छन् भन्ने यो प्रमाण थियो ।

नेपालीको दुकान भन्ने थाहा पाएपछि हामीले पाण्डेजी, ढकालजी सबैलाई बोलायौँ । यो विरोनो ठाउँमा नेपाली बोलेर केही क्षण हाम्रो तृष्णा मेटियो । हामीले पानी किन्यौँ र त्यहीँ खाजा खायौँ । यसले हामीलाई शरीरमा ऊर्जा दियो । त्यसपछि तिनै दुकान मालिकको सहारामा हामीले ड्राइभरलाई थर्काउँदै भन्यौ, ‘प्रहरीले नै गाडी रोकेको हो भन्ने कुरामा हामीलाई विश्वास छैन । प्रहरीकै अघि गाडीलाई लिएर हिँड ।’

यो रातमा यसरी बस्नुको अर्थ पनि थिएन । डराएर पनि केही हुनेवाला थिएन । जे हुन्छ अब आँखा अगाडि हुन्छ भनेर हामीले ड्राइभरलाई कर गरेपछि बल्ल गाडी स्टार्ट भयो । यद्यपि यी सबै कुराको जानकारी हामीले नेपालमा पर्खीबस्नु भएको ज्ञान सरलाई दिइरहेका थियौँ । हामीसँग टिम लिडरससँग एउटा मात्र भारतीय सिम थियो । यसमा डाटा चलाएर हामी पल पलको कुरा ज्ञान सरलाई भनिहेका थियौँ । परबाट हाम्रो कृयाकलाप ध्यान दिइरहनु भएको छ भन्ने लागेर पनि होला हाम्रो डर केही कम भइरहेको थियो ।

तर घरमा भने यो कुरा जानकारी गराउन सकेनौँ । साधारण नेटवर्कका कारण हाम्रो जे जति समय खर्चिएको थियो, सबै ज्ञान सरका लागि मात्र थियो । फेरि प्रतिकूल परिस्थितिमा घरमा जानकारी गराउनु चिन्ताको कारण मात्र हुन्थ्यो, त्यसैले आवश्यक अवस्थामा बाहेक हामीले डेटाको पैसा खर्च गर्न चाहेनौँ । हामीलाई के ढुक्क थियो भने ज्ञान सरलाई सबै कुराको जानकारी गराउन सकियो भने हामीलाई अप्ठ्यारो पर्न दिनु हुने छैन ।

रातको ११ बजेतिर बल्ल गाडी हिँड्यो । करिब एक घन्टाजति बस सरासर हिँड्यो । चक्का जाम छ भन्ने कुरा हामीलाई विश्वास लागेन । नत्र एक घन्टा कसरी गाडी हिँड्या त ? हामी एक आपसमा कुरा गर्न थाल्यौँ । हामीलाई ड्राइभरको नियतमाथि झन बढी शंका लाग्यो तर जसै हामी सेनापतिको मुखमा पुग्यौं, त्यहाँ प्रहरीहरूको गस्ती थियो । सम्पूर्ण रोडलाई बन्द गरिएको थियो र प्रहरीको टुक्रीले अन्य बसहरुलाई पनि रोकेका थिए । हाम्रो बस अघि बढ्न खोज्यो । तुरुन्तै सिठ्ठी बजाएर गाडी रोक्ने कडा आदेश प्रहरीले दिइहाले ।

प्रहरीले गाली गर्दै ड्राइभरलाई केही भने । ड्राइभरले हामीलाई देखाएर केही भन्यो । त्यसपछि प्रहरी हामी छेउ आएर कहाँ जाने, कहाँबाट आएको भनेर धेरै कुरा सोधे । हामीले यथार्थ कुरा भनेपछि उनले पनि भने, ‘बिहानसम्म गाडी खुल्ने सम्भावना छैन । उता खतरा छ, त्यसैले बिहानसम्म यहीँ बस्नू ।’

डिमापुर समयमै पुग्ने र रेल चढेर सिलुगुडीसम्म पुग्ने सपना तत्कालै ध्वस्त भयो । हुन त रेल छुट्ने अनुमान हामीले गरिसकेका थियौँ तर पनि गाडी हिँडेकाले केही आशा थियो । प्रहरीले नै सुरक्षाका लागि बाटो बन्द गरेको बताएपछि रेल छुट्ने पक्का भयो । त्यति मात्र होइन, अब कति दिनपछि नेपाल पुगिन्छ, त्यसको केही ठेगाना भएन ।

गाडी अलिकति अगाडि पुगेर सुनसान ठाउँमा रोकियो र ड्राइभर सुत्यो । हाम्रो टोली भने निरास र हतास एक आपसमा गुनगुन गर्दै रात बिताउन थाल्यौँ । अब काटिसकेको रेलको पैसाको माया भन्दा पनि रेल छुटेकोमा चिन्ता थियो । त्यो भन्दा पनि समयमा विश्व नेपाली साहित्य महोत्सवमा पुग्न नससकिने भन्ने चिन्ता सुरु भयो । नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो ।

[bs-quote quote=”जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो ।

राति कुन बेला हो, अगाडिबाट लाइट बालेका केही बस आइरहेको देखिन थाल्यो । पक्कै गाडी खुल्यो होला भन्ने लागेर हामीले मस्त निदाएको ड्राइभरलाई उठायौँ । हामीलाई जुन किसिमको हतारो थियो, निदाएको ड्राइभरलाई हुने कुरै भएन । उसले निद्रालु आँखा मिच्दै बस हाँक्न थाले । बाटामा प्रहरीहरु थिए र थिए धुँवा र धुलोको समिश्रण । खासमा यसरी रातविरात चक्का जाम हुनु मेरालागि अनौठो थियो । प्रहरीले अघि बढ्ने सङ्केत गरेपछि गाडीले गति लियो । यही बीचमा देखेँ, सडकमा टायर बलिरहेको दृश्य, जाउरा र मुडाको आगो र व्याप्त अनौठो गन्ध । मैले त यस्तो दृश्य हिन्दी सिनेमाहरुमा मात्र हुन्छ भन्ने ठानेको थिएँ, यहाँ त आँखैले देख्न पाएँ ।
विस्तारै पूर्वतिर उज्जालोको लालीमा देखियो । स–साना र घुमाउरो बाटो हुँदै बस अघि बढ्यो । थकाइले शरीर चुर थियो । निद्रा त लागेको थिएन तर हामी शरीरलाई बसको मोडले जता लैजान्छ, उतै छाड्न स्वतन्त्र छाड्न बाध्य थियौँ । अब त हड्ताल हुने ठाउँ आउँदैन होला, आए पनि त्यस्तै केही समस्या नहोस् भन्दै कामना गर्दै अघि बढ्यौँ ।

बिहान ८ बजेतिर डिमापुर सहर प्रवेश गरेपछि भने मन केही हलुको भयो । डिमापुर त्यही सहर थियो, जसले हामी त्यहाँ पुग्नुपूर्व नै हामीलाई बोकेर सिलिगुडी पुर्याउनु पर्ने रेललाई हामी पुग्नुपूर्व नै पठाइसकेको थियो । अब अर्को रेल कहिले जान्छ, कहिले हामी रेल चढ्छौँ केही थाहा थिएन । केवल रेल चढ्न कहिले पाइएला भन्ने कल्पना मात्र थियो ।

गाडीबाट उत्रिएपछि थाहा भयो, अर्को रेल भोलिपल्ट दुई बजे जान्छ । हामीसँग झण्डै १६ घन्टा थियो । खाना नखाएको पनि करिब १६ घन्टा भएको थियो । भोक त थिएन, शरीर भने निकै थाकेको थियो ।

भीमजीको सल्लाहानुसार होटल बुक गरियो । नुहाइधुवाइ गरेर सुत्ने प्रयास गरियो तर होटलमा पनि कसैलाई निद्रा परे जस्तो लागेन । किनभने शरीरलाई मात्र विश्राम भएर हुन्न रहेछ, मनलाई पनि विश्राम चाहिने रहेछ । मन तबमात्र खुसी हुनेवाला थियो, जब हामी नेपाल पुग्थ्यौँ । उसै पनि डिमापुरमा खानाको बन्दोबस्त राम्रो हुन्न । फोहोरी सहरको उपनाम पनि दिइएको रहेछ, यो सहरलाई । अघिल्लो दिन राधाकृष्ण मन्दिरको खाना अझै पेटमै छ भन्ने ठानेर हामीले दिनभरि डिमापुरको होटलमा बितायौँ ।

भोलि बिहानको २ बजे हामीलाई लिन रेल आउँछ भन्ने आशा गर्दै, अब केही दिनमै नेपाल पुगिन्छ भन्ने कल्पना गर्दै हामी कुरिरह्यौँ ।