पारिकारिक सुख, खण्डः १ अन्तिम अंश
सोन्यालाई सुताएर कात्या पनि हामीकहाँ फर्केर आई । उसले मेरो उदासीनताबारे पनि त्यहाँ बताइदिइहाली । यस विषयमा मैले कुरै चलाएकी थिइनँ ।
“एहे, यिनले त गाँठी कुरा नै मलाई भनेकी रहिनछिन् ।”- सेर्गेइ मिखाइलिचले मुसुमुसु हाँस्दै मलाई घोचपेच हुने गरी टाउको हल्लाउँदै भने ।
“के बताउनु र !”- मैले जवाफ दिएँ । – “यो ज्यादै उराठलाग्दो छ र छिटै बिलाएर पनि जानेछ ।”
त्यतिखेर मलाई के पनि लाग्यो भने मेरो खिन्नता बिलाएर जानेमात्र होइन, बिलाएर समेत गइसकेको छ, मानौँ कहिल्यै पनि त्यो अस्तित्वमा नरहेको होस् !
“एक्लोपनामाथि विजय पाउन नसक्नु राम्रो होइन । ”-उनले भने ।-“के तपाईं मामूली नारी हुनुहुन्छ र ?”
“जरुर मामूली नारी हुँ !”-मैले हाँसेर जवाफ दिएँ ।
“हैन, बरु यस्तो नारी पो हुनुहुन्छ होला जो अरुले माया गरेर पुल्पुल्याउन्जेल साप रमाउँछे, तर लाडप्यार गर्ने कोही नभएर एक्ली पर्नासाथै न्यासरिएर वैलाउँछे । यस्तो अवस्थामा पर्दा ऊ कुनै कुराबाट पनि आनन्दको अनुभव गर्दिन र सबै कुरा देखावटी मात्र रहेछु, आफ्नो निम्ति त कोही पनि हुँदो रहेनछ भन्ने ठान्छे ।”
“मेरो बारेमा त तपाईंको यस्तो राम्रो धारणा पो रहेछ ! ”_केही त जवाफ दिनैपर्ने हुनाले मैले भनेँ ।
हो त नि !”-उनले तुरुन्तै सही थापे । अनि केही बेर मौन रहेर फेरि थपे ।-“आफ्नो बुबाकी छोरी त्यसै त हुनुभएको होइन नि तपाईं ! उनको केही न केही अंश त तपाईंले अवश्य पाउनु भएको छ नाइँ !”
उनको दयालु र सचेत दृष्टिले फेरि मलाई आकृष्ट गरिहाल्यो र म आनन्दाभूतिले अलि लज्जित समेत हुन पुगेँ ।
उनको हँसिलो मुखमण्डलमा तब मात्र पो मैले त्यो विलक्षण दृष्टिको झल्को पाएँ जुन उनको लागि मात्र स्वाभाविक थियो, तर बिस्तार-बिस्तार बढी सतर्क र अलिक खिन्न पनि देखियो ।
“तपाईंले दिक्क मान्नुपर्ने कुनै कारणै छैन र दिक्दार हुनु पनि हुँदैन ।”-उनले भने ।-“तपाईं संगीत पनि राम्रै बुझ्नुहुन्छ, अनि पुस्तक र अध्ययन पनि त छँदै छन् । तपाईंको सम्पूर्ण जीवन त बाँकी नै छ र त्यसको लागि पछि तपाईंलाई पश्चाताप परोइन । एक वर्षपछि त ढिला समेत भइहाल्न सक्छ !”
मसित उनले बाबुले झैँ अथवा काकाले झैँ यसरी कुरा गरे । आफूलाई मेरो स्तरमा राख्न उनलाई बिध्नै गाह्रो परिरहेको छ भन्ने मैले अनुभव गरेँ एकातिर कुन कुराले गर्दा मलाई ग्लानि भइरहेको थियो भने उनी मलाई आफूभन्दा ज्यादै कलिलो ठानिरहेका थिए, किन्तु अर्कोतिर कुन कारणले गर्दा मलाई बिछट्टै खुशी पनि लागिरहेको थियो भने म एउटीको निम्ति मात्र उनी आफूलाई अर्कै रुपमा प्रस्तुत गर्ने जमर्को गरिरहेका थिए ।
त्यसपछि सारा साँझभरि नै उनी कात्यासँग घरव्यवहारको कुराकानी गर्दैरहे ।
“लौ त, बिदा ! मेरा प्याराहरू !”-उनी आफ्नो ठाउँबाट उठे, अनि म नेर आएर मेरो हात समात्दै उनले भने ।
“फेरि कहिले यतातिर आउनुहुन्छ नि ?”-कात्याले सोधी ।
“वसन्तमा !”-मेरो हात समातेको समात्यै उनले जवाफ दिए ।-“अब म दानिलोम्का (हाम्रो अर्को गाउँ ) जाँदैछु ! त्यहाँको हालखबर पनि बुझेर आफूसक्दो चाँजोपाँजो मिलाउनेछु । त्यसपछि आफ्नै कामले गर्दा मास्को पनि जानुछ । तर ग्रीष्मयामभरि त हाम्रो भेटघाट प्रशस्तै हुनेछ !”
“किन यतिका लामो समयसम्म बाहिरतिर जानुहुन्छ नि ?”-मैले ज्यादै दिक्दार हुँदै भनेँ ।
हुन पनि मैले उनलाई दिनहुँ बगलमै देख्ने आशा राखेकी थिएँ । त्यसैले गर्दा ती मलाई अचानक विरक्त लागेर आयो र फेरि मेरो दिक्दारी फर्किने भयो भन्ने विचार उठेर अलि , डर समेत लाग्यो । सके मेरो मनभित्रको यो भाव मेरो अनुहारमा र मेरो स्वरमा पनि भल्क्यो होला !
“कुनै न कुनै काममा आफूलाई अल्झाइइराख्नोस् ! दिक्क हुने त नामै नलिनोस् ”-उनले ज्यादै नै रुखो र चिसो स्वरमा भनेको जस्तो मेरो मनमा पस्यो । -“अँ , वसन्तमा त म तपाईंको जाँच लिनेछु नि !”-मतर्फ हेर्दै नहेरी चट्ट मेरो हात पनि छोडेर उनले अगाडि थपे ।
मटानकोठामा उभिएर हामी बिदाबारी हुँदै थियौँ । हतरपतर आफ्नो भुवादार ओभरकोट लगाएर मतर्फ उलने एक नजर फिराए । व्यर्थमा यस्तो प्रयत्न नगरे पनि हुने हो उनले !’-मैले मनमनै सोचेँ ।-“मतर्फ यसरी नजर दौडाएर मलाई अपार आनन्दको अनुभव हुँदो हो भन्ठानेको पो छन् कि क्या हो उनले ? असल मान्छे हुन् उनी, सापै असल मान्छे हुन् !…बस् । यत्तिकै हो !”
जे होस्, त्यस रात कात्या र म निकै बेरसम्म निदाउनै सकेनौँ । हामी गफ चुटिरहेका थियौँ, तर उनको सन्दर्भमा हुँदै होइन, बरु यो गृष्ममा के के गर्ने र आउने हिउँद कसरी बिताउने भन्ने बारेमा ! किन ? यस भयंकर प्रश्नले अब मेरो पिछा गर्न छोडिसकेको थियो । हरेक व्यक्तिले सुखी भएर बाँच्नु पर्छ भन्ने कुरा मलाई ज्यादै स्पष्ट र सरल प्रतीत भइरहेको थियो । यसको कारण के त भने पोक्रोभ्स्कोएको हाम्रो पुरानो र अँध्यारो घर एकाएक जीवन र उज्यालोले भरिपूर्ण हुन गएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।