अध्यायः १३, अन्तिम अंश

‘म तकिया भ्वाङबाट माथि फाल्छु । तिमीहरू त्यसैबाट भ्वाङ पत्ता लगाऊ’ भकुन्डे भाइले तलबाट चिच्याएर एउटा तकिया भ्वाङबाट माथि उराल्यो । केटाकेटीहरूले त्यतैतिर गुल्टनबाजी खाए । उनीहरूले बादलको भ्वाङ भेटे । पहिले आशिष भ्वाङबाट तल हाम्फालेर भर्याङको टाउकामा पुग्यो । अनि अमर हाम्फाल्यो, तर ऊ भर्याङको टाउकामा अड्न नसकेर रूखको हाँगामा खस्यो, बल्लतल्ल हाँगामा समातेर अड्यो । अनि काम्टे भ्वाङमा देखियो । तर जीउमा बाँधेका काम्टाले गर्दा ऊ तल झर्न सकेन, भ्वाङको मुखैमा अड्क्यो । अब पर्यो फसाद ।

“ए, काम्टे बा ! किन भ्वाङको मुख थुनेको ?’ अमर आत्तियो । “तिमीले गर्दा गीता झर्न पाउन्न । भट्टै फाल हाल । साँच्चै गीता त भ्वाङको मुखबाट परपर गुल्टँदै गई । काम्टे आत्तियो । उसले हत्तरपत्त गीताको जीउमा बाँधिएको डोरी समात्यो । अब गीता गुल्टन छोडी । त्यसैबेला काम्टेले बाँधेको एउटा तकिया फुस्क्यो । काम्टे भ्वाङबाट तल खस्यो । भकुन्डे भाइले उसलाई बीचैमा समात्यो । काम्टेले गीताको डोरी बेसरी तान्यो । गीता पनि भ्वाङबाट हाम्फाली र रूखको फराकिलो हाँगामा बजारिई । तर जीउमा तकिया बाँधेकीले उसलाई चोट लागेन ।

“कस्तो डरलाग्दो धरती !’ भकुन्डे भाइले भन्यो ।

“तर तिमीले बादलको भ्वाङ पत्ता लगायौ । त्यसैले तिमीलाई धन्यवाद !’ सबैले भकुन्डे भाइलाई धन्यवाद दिए ।

त्यो मडारिने धरतीको सैरमा कसैलाई पनि मजा आएन । वास्तवमा त्यो यात्रा त गल्तीले नै भएको थियो । उनीहरू भकुन्डे भाइको घर फर्के ।

‘अब यी तकियाहरूलाई के गर्ने ?’ आशिषले आफ्नो जीउबाट तकिया फुकाउँदै सोध्यो ।

“सबै भकुन्डे भाइलाई दिने’ गीताले भनी ‘ती उसका चिप्लेटीका लागि काम लाग्छन्‌ । कसो भकुन्डे भाइ ?’

‘हो नि त मलाई काम लाग्छन्‌ ।’ भकुन्डे भाइले खुसी हुँदै भन्यो ‘मेरा चिप्लेटीका केही गद्दाहरू फाटिसकेका छन्‌ । यी तकियाहरू गद्दाकै सट्टा काम लाग्छन्‌ ।’

‘ठीक छ ‘ अमरले आफ्ना तकियाहरू फुकाएर भकुन्डे भाइलाई दियो । अरूले पनि त्यसै गरे । अनि भकुन्डे भाइले आफ्नो भण्डारबाट फलफुलको सरबत झिकेर सबैलाई दियो । अनि केही मिठाईहरू पनि भिक्केर दियो ।

‘अब त बादलमाथिको धरती हेर्ने रहर कहिल्यै गर्दिन’ गीताले भनी ‘भो, त्यस्तो अलच्छिनी धरती । म त कायल बाबा !’

“हो ।’ आशिषले पनि कान समातेर भन्यो “म पनि चेत बाबा काशी ! म त त्यसबारे सोच्दै सोच्दिन ।’

‘तर मेरो सानो धरती नि ?’ काम्टेले भन्यो ‘त्यो त अलच्छिनी छैन नि ।’

अमरको मुखमा बम मिठाई थियो । त्यसले गर्दा उसले बोल्न सकेन । तर त्यो बम मिठाई भएकोले त्यसले बिचित्रको करेन्ट लाग्थ्यो । त्यसैले बोल्न खोज्दा मुखभित्रै त्यो पड्केर अमर टक्क भयो ।

‘किन ! तिमीलाई मिठाईको धक्का लाग्यो ?’ भकुन्डे भाइले हाँस्तै भन्यो कि अरू खान्छौ ?’

“भयो ।’ अमरले नमजाको मुख लाएर भन्यो ‘तिम्रो मिठाई तिमी आफै खाऊ । अब त हामी जान्छौं ।’

सबै उठेर चिप्लेटीतिर गए । गीताले आफ्नो मन परेको गद्दा लिएर चिप्लेटीको मुखमा बस्तै भनी ‘बिचरा काम्टे बाले त आफ्नो सानो धरती पनि हराए हगि ?… अब उनी फर्केर कहाँ जान्छन्‌ ?’

‘ऊ अब आफ्नै साथी के-नाम-के-रे कहाँ बस्छ नि” आशिषले भन्यो ‘ए, एहै काम्टे बा ? तिमी के गर्न लाग्यौ ?’

बिचरो काम्टे पनि मुखभरि बम मिठाईको बुजो हालेर त्यसको करेन्टको झमझमको स्वाद चाखिरहेको थियो । उसले आशिषको पुकारमा लाटोझैँ हेर्न थाल्यो ।

‘किन ?’ आशिषले हाँस्तै भन्यो ‘बम मिठाईको स्वाद मजा लाग्यो !’

“नजिस्क्याऊ बिचरा काम्टे बालाई’ गीताले भनी ‘उसको मुखमै बम पड्केला फेरि !’

‘बम ?’ काम्टेले हत्तपत्त मिठाई निल्दै तर्सेझैँ भन्यो ‘खोइ कता छ बम ? भाग भाग ! बम… बम…’

गीता खित्खित्‌ गर्दै चिप्लेटीबाट मट्याङग्रा छुटेझै धरतीतिर झरी । अनि आशिष र अमर पनि गोलीझैँ झरेर घोप्टेको धराप हुँदै तल धरतीको झ्याउको गद्दामा खसे । त्यताबाट झटपट उठेर उनीहरू मोहिनी वन पार गर्दै पछिल्तिरको बगैँचा भएर घर पुगे ।

उनीहरू यसरी साँझपख घर पुग्दा आमा उनीहरूलाई पर्खिरहनुभएको थियो । उनीहरूको मुख र जीउभरि दरफर्याएका धर्साहरू देखेर उहाँले तीखो स्वरमा सोध्नुभयो ‘तिमीहरूले के गरेर आयौ ? हेर, जीउभरि दरफर्याएको घाउ ? यस्तै चाल हो भने म तिमीहरूलाई अबदेखि बाहिर जान दिन्नँ । हेर लुगा पनि ठाउँ-ठाउँमा च्यातेका । एक त नयाँ लुगा हाल्न सकेको छैन, भएको लुगा पनि यसरी धराधरा पारेर…’

केटाकेटीले केही भन्न सकेनन्‌ । दोषी अनुहार लाएर घोसेमुन्टो लगाएर कोठातिर गए ।