Chovar Blues Mobile Size

तेह्रथुम जिल्लाको म्यांग्लुंग बजारमा जन्मिएर हाल अमेरिको भर्जिनिया राज्यमा बस्नु हुने वसन्त श्रेष्ठ नेपाली साहित्यको लागि सुपरिचत नाम हो । श्रेष्ठ नेपालमा हुँदा साहित्यमा जसरी समर्पित भएर लाग्नु भएको थियो अमेरिकमा पनि त्यति नै सक्रिय भएर लाग्नु भएको छ । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली साहित्यिक एवं गैर साहित्यिक संघ संस्थाहरूमा पदाधिकारी भएर पनि उहाँले कार्य गर्नु भएको छ ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि प्रा. विश्वराज अधिकारीले साहित्यकार एवं सामाजिक अभियन्ता वसन्त श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश;

अचेल के गर्दै हुनुहुन्छ ?

अध्ययन, मनन र लेखन नै अचेल मेरो समय व्यतित गर्ने आधार भएको छ ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ ?

हो । म अहिले एउटा संस्मरण लेख्ने सुरसारमा छु । प्रवासमा रहँदा नेपालबाट साहित्यिक कार्यक्रम या अन्य कार्यक्रमको लागि अमेरिका भ्रमणमा आउनुहुने साहित्यकार, कलाकार र अन्य विशिष्ट व्यक्तिहरुको बारेमा विभिन्न कार्यक्रममा बोलेका र ती साहित्यकारहरुको साहित्यिक पाटोको पनि यो संस्मरणमा समेट्ने प्रयत्न गर्नेछु ।

वसन्त श्रेष्ठ

साहित्यमा यसरी समर्पित भएर लाग्न कोबाट प्रेरणा पाउनुभयो ?

निश्चय नै मेरो बुबा नारायणमान श्रेष्ठ (एन एम सर) बाट नै प्रेरणा मिलेको हो । उहाँले तेह्रथुम जिल्ला म्याङ्ग्लुङ्ग बजारमा २००४ सालमा श्री सिंह बाहिनी हाई स्कुलको स्थापना मात्र गर्नु भएन, संस्थापक हेड मास्टर भएर थुप्रै वर्ष सेवा गर्नु भो । सो स्कुलबाट २०१६ सालमा हस्त लिखित पत्रिका “मगज” निकाल्नु भो । उहाँले सो पत्रिकाको सम्पादन मात्र गर्नु भएन, कथा पनि लेख्नु भएको थियो । शिक्षक भएको कारणले घरमा महाकवि देवकोटाको सुलोचना, शकुन्तला महाकाव्य पढेर बुझाउनु हुन्थ्यो । पाठ्यपुस्तकमा भएको अंग्रेजीको कथा, कविता बारेमा बुझ्ने गरी हामीलाई पढाउनु हुन्थ्यो । यस आधारमा घरमै साहित्यिक वातावरण भएको कारणले मभित्र साहित्यिक जागरण आएको म महसुस गर्दछु ।

तपाईँले लेख्नु भएको कृति “अँगालो भरिको अनुभूति” कस्तो पुस्तक हो ?

चार वटा कवितासंग्रहको प्रकाशन पछि यो गधमा मेरो पहिलो संस्मरण पुस्तक हो । यस पुस्तकमा मेरो बाल्यकालदेखि अमेरिकासम्मको विविध विषयका रोचक घटना परिघटनाको प्रसंगहरु समावेश गरेको छु। त्यस्तै मेरो साहित्यिक कर्मको जीवनको सुरुवात नेपालदेखि अमेरिकासम्ममा मेरो संलग्नता बारेमा विस्तृत रुपमा यस सङ्ग्रहभित्र समावेश पनि गरेको छु ।

तसर्थ यो पुस्तकबाट पाठकहरूलाई मेरो बारेमा मात्र होइन, अमेरिकामा साहित्यिक तथा सामाजिक संघ संस्थाको प्रारम्भिक अवस्था र विकासको बारेमा पनि उलेख्य रुपमा जानकारी प्राप्त हुनेछ ।

अँगालोभरिको अनुभूतिले पाठकलाई कस्तो सन्देश दिनेछ भनी सोच्नुभएको छ ?

यस पुस्तकले पाठकलाई सकारात्मक बन्न र संघर्षशील बन्न प्रेरणा र उत्साह भर्ने छ भन्ने मैले ठानेको छु । किनकि यो पुस्तक मैले मेरो दिमागले मात्र होइन मेरो हृदयले लेखेको छु । कतिपय मेरा लेखहरु मैले आँसु बगाउँदै लेखेको पनि छु । तसर्थ यो मेरो जीवन कहानी पनि हो । यो सत्य घटनामा आधारित मेरो राम कहानीभन्दा फरक नपर्ला । त्यसैले पाठकहरुमा अवश्य नै सकारात्मक सन्देश जानेछ भन्ने मैले ठानेको छु । त्यसैले यो पुस्तक ज्ञानोपयोगी मात्र न भई जानकारीमूलक पनि छ भन्ने विश्वासमा छु ।

अमेरिका आएको पच्चीस वर्षपछि मात्र मातृभूमि नेपाल पुग्दा कस्तो लाग्यो ?

नेपालमा पुग्दाको त्यो क्षण म शब्दमा वर्णन गर्न सक्दिनँ । त्यो क्षण जब मैले नेपालको माटो टेकेँ, सबभन्दा पहिला माटोलाई मुट्ठीमा लिएर शिरमा राखेँ । कोही मलाई भन्छन् होला म भावनामा बगेँ । तर यथार्थमा मेरो दुई आँखामा खुसीको आँसु छचल्किरहेको थियो । म भावविभोर बनेर बिस्तारै एयरपोर्ट भित्र जाँदै थिएँ । लाग्छ त्यो मेरो अलौकिक समय थियो । किनकि प्रवासमा रहँदा व्यस्तताको बाबजुद चाहँदा चाहँदैमा पनि मेरो आफ्नो देशको माटो टेक्नु, घर परिवार भेट्नु अनि आफ्नु जन्मेको घर हेर्नु मैले करिब मेरो जीवनको आधा उमेर पर्खनु परेको थियो । तसर्थ त्यो समय मेरो सम्पूर्ण जीवनकै उत्तम समय र क्षण थियो भन्ने मेरो अनुभूति छ।

धेरै व्यक्तिहरुको विचारमा प्रबासको बसाइ र खास गरी अमेरिकाको बसाइ अति सुखद, सरल हुन्छ भन्ने छ । के यो विचार सत्य हो ?

त्यो भनाइ अर्धसत्य चाहिँ हो । किनकि प्रवासमा विशेष गरी अमेरिकाको जीवन यापन एउटा काम गर्न सुरु गरेपछि एक प्रकारले सरल र सजिलो हुन जान्छ । जीवनको न्युनतम आवश्यकता गाँस, बास र कपासको जोहो गर्न सकिन्छ नै । अति सुखद भन्ने मलाई लाग्दैन । किनकि म भन्ने गर्छु हामी प्रवासमा सुखमा छौँ तर खुसी छैनौँ । किनकि हामीले हाम्रो जन्मेको माटो, परिवार र देशलाई छोडेर आएका हुन्छौँ । आफ्नो भाषा, साहित्य, काल र संस्कृतिको अभाव र पहिचानको खडेरीले जहिले पनि सताइरहेकै हुन्छ । त्यसले आफ्नो मुट्ठीभरको सुखलाई सधैँ अभावमा परिणत गरिरहेको हुन्छ । हो, हाम्रो दोश्रो पुस्ताको जीवनले यो अभाव महसुस नगर्ला तर हाम्रो पहिलो पुस्ताको प्रवासी जीवनले यही नै अभावको महसुस गरिरहन्छ ।

नेपालमा आर्थिक विकास नै भएन भन्दै निरास हुने व्यक्तिहरुको सङ्ख्या ठुलो छ । पच्चीस वर्षपछि तपाईं आफ्नो जन्मस्थान तेह्रथुम म्याङ्ग्लुङ्ग बजार पुग्दा तपाईँले नेपालमा आर्थिक विकास भएको रहेछ भन्ने अनुभूत गर्नु भयो कि भएन ?

नेपाल एउटा अर्ध विकसित राष्ट्र हो । विकासको प्रचुर सम्भावना भएको देश हो । खनिज, जलविद्युत र पर्यटनको अद्वितीय विकासको सम्भावना भएको हाम्रो देश संसारकै अनुपम, एउटा सुन्दर देश हो । नेपाल प्राचीन सभ्यताको विकास, विविध भाषा, कला र संस्कृतिको खानीको देश भनेर संसार प्रसिद्ध छ । त्यो देश विगत सयौं वर्षदेखि राजनैतिक अस्थिरताको कारण विकासको नाममा धेरै पछि परेको सत्य हो ।

वर्तमानमा राजनैतिक अस्थिरताको बाबजुद पनि सामाजिक र आर्थिक रुपमा नेपाल सबल भएको र यहाँ विकास भएको यत्र तत्र देख्न पाइन्छ । अनुभूत गर्न पाइन्छ । सडक विस्तार, सहर विकास, मान्छेका न्यूनतम आवश्यकता परिपूर्ति यी नै केही आर्थिक विकासका सूचक हुन् जो पहिलेको तुलनामा नेपालमा वृद्धि भएको देख्न पाइन्छ।

के भविष्यमा नेपाल सदाका लागि बस्ने गरी फर्किने विचार छ ?

अवश्य छ । समय र परिस्थितिले साथ दिएमा त्यो समय छिट्टै नआउँला भन्न सकिन्न ।

नेपालमा पठन संस्कृतिको ठुलो अभाव छ । पठन संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?

पठन संस्कृतिको विकासको प्रमुख धरातल नै पुस्तकको अभाव नभई सजिलो वितरण प्रणाली हो । त्यसको मेरुदण्ड भनेकै लाइब्रेरीको स्थापना हो। आम मान्छेलाई सजिलो गरी पुस्तक वितरण गर्न सक्नु नै पठन संस्कृतिलाई बढावा गर्नु हो । त्यस आधारमा कुनै पनि विषयमा पुस्तक आम मान्छेको हात पुग्न सक्ने वातावरण बनाउनको लागि जति सक्दो धेरै लाइब्रेरीको व्यवस्था भयो भने आम मान्छेमा पठन संस्कृतिको विकास हुन्छ भन्ने मेरो विश्वास छ ।

स्वयं साहित्यकारहरुले नै पनि अन्यको कृति पढ्न रुचाउँदैनन् । धेरै साहित्यकारहरु यस्ता पनि छन् जो अरुका कृतिहरु पढ्न चाहँदैनन् र केवल आफ्नो पुस्तक अरुले पढिदिऊन् भन्ने अपेक्षा गर्छन् । के यो भनाइ सहि हो ?

यो भनाइ मलाई चाहिँ सत्य प्रतित हुँदैन। किनकि कुनै पनि साहित्यकार सफल हुनुमा उनको अध्ययनको र ज्ञानको क्षमतामा निर्भर गर्दछ । जुन साहित्यकारले अरुको कुनै पनि पुस्तक पढेनन् भने उनको लेखनमा त्यति दम नै हुँदैन । किनकि उसले आफ्नो बाहेक अरुका विचार, भावना र प्रतिक्रिया नबुझी लेखेका लेखले के सान्दर्भिकता र पाठकका के विचारलाई न्याय दिन सक्ला र ? यो अहम् प्रश्न हो । त्यसैले कुनै साहित्यकार या लेखकले सफलता प्राप्त गर्नु भनेको निजले अरुको विचार र भावनालाई पनि बुझ्न सक्नु हो । जो अध्ययन गरेपछि मात्र अनुभूत गर्न सकिन्छ । जुन लेखकले अरुलाई पढेर आफ्नो ज्ञानलाई निखार्छन् त्यही लेखक या साहित्यकारको सफलता निश्चित छ ।

उपहार स्वरूप प्राप्त भएको पुस्तक त नपढिने स्थितिमा खरिद गरेर पुस्तक पढ्नेहरूको सङ्ख्या कसरी वृद्धि हुन सक्छ ?

सबैले सबैका पुस्तक पढ्छन् भन्ने केही निश्चित हुँदैन । सबैको आआफ्नो सीमा हुन्छन् । बजारमा गुणस्तर राम्रा पुस्तकको बिक्रीमा कमी आएको जस्तो लाग्दैन । हो अचेल पुस्तक धेरै प्रकाशित भएका छन् । तर गुणस्तरीय राम्रा पुस्तकहरु धेरै थोरै मात्र प्रकाशित छन् । जसको व्यापार उल्लेख्य छ भन्ने मलाई लाग्दछ। अधिकांश निम्नस्तरको पुस्तक प्रकाशन गरेर व्यापार भएन भन्नु गलत हो । आज हरेक उपभोक्ताको माग पहिलेको तुलनामा धेरै माथिल्लो स्तरको भइसकेको छ । त्यस स्तरलाई मापन गर्ने सक्ने कुनै पनि पुस्तकको माग बढेकै जस्तो लाग्छ ।

पछिल्लो समयमा कसको कृति पढ्नु भयो

मैले भर्खरै पढेर सकेको पुस्तक डा. भगवान कोइरालाको “हृदय” हो।

नेपालमा पठन संस्कृतिको विकास हुन नसक्नुको कारण के होला ?

यस विषयमा मैले माथि पनि आफ्नो विचार राखिसकेको नै छु । फेरि पनि दोहोर्याउँदै छु । गाउँ, बजार, सहर, स्कुल जताततै लाइब्रेरीको व्यवस्था गरेर पुस्तक उपलब्ध गरिदिने हो भने पठन संस्कृतिको विकास हुने कुरामा म विश्वस्त छु । स्कुलको विद्यार्थीको समयदेखि नै उनको रोजाइको पुस्तक सजिलो गरी लाइब्रेरीमा उपलब्ध गराइदिएमा उनको पढ्ने बानी या भनौँ पठन संस्कृतिको विकास हुँदै जान्छ, न कि ह्रास हुन्छ । तसर्थ पुस्तक सजिलै उपलब्ध गराउने माध्यम नै लाइब्रेरी नै हो । यसर्थ पठन संस्कृति विकासका लागि सर्वसुलभ लइब्रेरी आवश्यक छ ।

काठमाडौँमा सुन चाँदीका पसलहरु ठुलो सङ्ख्यामा खुलेका छन्, खुल्दै छन् । यसले नेपालीहरुको क्रय शक्ति वृद्धि भएको दर्शाउँछ । बढेको क्रय शक्तिले पुस्तक खरिद गर्न व्यक्तिहरुलाई किन उत्प्रेरित नगरेको होला ?

यो प्रश्नलाई विद्यमान समाजको रुपान्तरणसँग तुलना गर्दा मनासिब ठहर्ला । आज हामीले बाँचेको समय एकाइसौँ शताब्दीको भए तापनि हाम्रो गाउँ, घर र बजार उही पुरातन विचार शैली, अन्ध विश्वास र आदिम परम्परामा नै जकडिएको छ । हामी जति नै उत्तर आधुनिक अवस्थामा पुगिसकेको ठानिए तापनि हाम्रो सोच, संस्कार र परम्परा उही पुरानै सभ्यता र संस्कारसँग जकडिएका छौँ । त्यही कारण हो हाम्रो समाज परिवर्तन भए पनि हाम्रो संस्कार र परम्पराले हामी पुरानै समाजमा विद्यमान छौँ ।
राजनैतिक उदारताले सामाजिक र आर्थिक विकासमा उदारमना परिवर्तन ल्याइदिन्छ । अझै पनि हामी सामाजिक उदारीकरणको समयमा गुज्रिरहेको कारणले सुन चाँदीको तुलना पुस्तकसँग गर्न मनासिब नठहरिएकोको अवस्था पक्कै पनि हो ।

साहित्यिक पुस्तकको सन्दर्भमा नेपालमा पठन संस्कृतिको विकास नहुनुमा वा पुस्तकहरु ठुलो संख्यामा बिक्री नहुनुमा बढी को दोषी होला ? प्रकाशक, वितरक, पुस्तक पसल वा स्वयं लेखक ?

पहिलो लेखक हो, जो जस्तोसुकै पुस्तक पनि लेखक हुने लोभमा प्रकाशनमा ल्याउने गर्दछन् । आम पाठकले त्यो रुचाउँदैनन् । दोस्रो दोषी त्यो प्रकाशक हो जो पैसाको लागि स्तरहीन पुस्तक प्रकाशनमा ल्याउँछ । तेस्रो दोषी वितरक नै हो जो राम्रो पुस्तकलाई उचित वितरण नगरी आफ्नोको मात्रै पुस्तक वितरण गरेर पाठकलाई राम्रो पुस्तक पढ्नबाट वञ्चित गर्दछ।

पुस्तक पाठकहरुको रुचिअनुसार लेखिनु पर्ने हो वा लेखकको रुचिअनुसार ?

यो दुवै हो । पाठकको रुचि नभएको पुस्तक बिक्री नहुँदा पठन संस्कृतिको विकास भएको मानिन्न । लेखकको रुचि नभएको पुस्तक लेख्ने लेखको त्यो पुस्तक स्तरहीन र गुणस्तरहीन हुन जान्छ । तसर्थ लेखकको रुचि भएको विषयमा पाठकको रुचिलाई पनि ध्यानमा राखेर लेखिएको पुस्तकले बजार पाउँछ र सफलता हासिल गर्दछ । त्यही नै सफलताको कडी हो ।

नेपालमा जे जति पुस्तकहरु प्रकाशित एवं बिक्री हुन्छन्, ती केवल परम्परागत (कथा, उपन्यास, नियात्रा ) पुस्तकहरु मात्र हुन्छन् । फरक र विविध विषय (कृषि, पाककला,बिशेष घटना) मा लेखिएको पुस्तकहरु बिक्री हुन् किन कठिन हुन्छ ?

यो प्रश्न समाजको वर्गीकरण र समाज विकाससँग सम्बन्धित छ । ती जो कृषि भन्नुहोस् या पाककलाको पुस्तक पढ्ने कति प्रतिशत साक्षर होलान् ? जो त्यस पेशासँग या त्यो पुस्तक पढेर लाभ लिन सकोस् । भन्नुको तात्पर्य आज पनि अधिकांश कृषि पेशा अपनाउने व्यक्तिहरु साक्षर छैनन् । त्यस्तै पाककला पेशा अपनाउनु हुने या रुचि हुने कति प्रतिशत साक्षर होलान् अहिले हाम्रो समाजमा । ती न्यून छन् भन्ने लाग्छ । त्यसै कारणले ती पुस्तक पढ्नको लागि त्यो पेशामा शिक्षित र साक्षर व्यक्ति हुनु पर्दछ । त्यस्ता व्यवहारिक पुस्तकको लागि या त पाठ्य पुस्तकको हिसाबले बिक्री हुन्छन् या त त्यसको लागि हाम्रो समाजले केही अरु समयको माग गर्दछ ।

एक लेखक वा साहित्यकारलाई उसको कल्पना र विचार शक्तिले लेख्नका लागि बढी सघाउँछ वा उसको अध्ययनशील प्रवृति र बानीले ?

वास्तवमा लेखक वा साहित्यकारको अध्ययन, ज्ञान, विवेक र बुद्धिले निजको विचार परिष्कृत पार्छ भने लेखकको कल्पना शक्तिले निजको लेखमा निखार ल्याउँदछ । र त्यसरी लेखिएको लेख या पुस्तक सर्वप्रिय हुन मद्दत गर्दछ। त्यस कारण दुबैले सघाउँछ तर अध्ययनले उनको विचार अझ फराकिलो गर्दछ।