त्यसो त यदि पुरस्कारलाई लेखकको सफलता र विशिष्टताको मापदण्ड मान्ने हो भने नीलम कार्की निहारिका उपल्लो स्तरकी उपन्यासकार हुन् भन्ने मान्नु पर्दछ किनभने उनका सुरुतिरका उपन्यासहरू ‘बेली’ र ‘हवन’ले खासै कसैको ध्यान तान्न सकेका थिएनन् तर अमेरिका आइसकेपछि प्रकाशित उनको ‘अर्की आइमाई’ उपन्यासका लागि उनलाई ‘सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक’ (२०७०) पुरस्कार प्राप्त भयो । त्यसपछि त ‘चीरहरण’ उपन्यासका लागि ‘पद्मश्री साहित्य पुरस्कार’ (२०७२) र ‘योगमाया’ उपन्यासका लागि ‘मदन पुरस्कार’ (२०७४) प्राप्त भयो । यति मात्र होइन, वैशाख २०७८ मा साङ्ग्रिला पुस्तक प्रालिद्वारा प्रकाशित उनको पछिल्लो उपन्यास ‘द्रौपदी अवशेष’ का लागि उनले ‘गंकी धुस्वाँ–बसुन्धरा पुरस्कार’ (२०७९) प्राप्त गरिन् । उनको ‘४३ कथा’ शीर्षकको कथा–सङ्ग्रहले अथवा उनका कविताहरूले पाठक कति पाउन सकेका छन्, त्यो यकिन छैन तापनि आफूले लेखेर प्रकाशित ६वटा उपन्यासमध्ये ४ वटामा त उनले एक वा अर्को पुरस्कार पाइसकेकी छन् । यस दृष्टिकोणबाट हेर्दा समकालीन आख्यान लेखनमा नीलम जत्तिको सफल उपन्यासकार अरू कोही छैन ।

नीलम कार्की निहारिकाको पछिल्लो उपन्यास ‘द्रौपदी अवशेष’ विस्तारको हिसाबले समग्रमा २३५ (४+४+२२१+७) पृष्ठ लामो छ । छोटा सरल वाक्य र छोटै अनुच्छेदहरूले भरिएको यो उपन्यासमा भाषिक क्लिष्टता पनि छैन । मूलपात्र स्थानीय गाउँलेलाई धुवाँरहित चुल्हो बनाउन सघाउने कुनै विदेशी प्रोजेक्टमा कार्यरत विकासे कार्यकर्ता दिग्विजय, स्थानीय सहयोगी बासिन्दा वाङ्दी र अर्को एकजना स्थानीय साथी–सहयोगी ग्याल्जेन, स्थानीय पात्र (एक किसिमले उपन्यासकी नायिका भन्न मिल्ने) पेमा, पेमाका बुढा नोर्बु, पेमाका सासू–ससुरा, पेमाका अरू लोग्ने, छोरा, ग्याल्जेनकी दिदी, भान्जा, मुखिया आदि पात्रहरू र उनीहरू वरिपरि घुमेको कथा उपन्यासमा छ । योसँगै उपन्यासमा अनेक पृष्ठ दिग्विजय र ग्याल्जेनले मिलेर गरेका लामा यात्राहरूको वर्णन पनि पढ्न पाइन्छ, यद्यपि त्यसलाई यात्रा–संस्मरण भनेर नै त भन्न सकिँदैन । त्यो यात्रा औपन्यासिक मात्र हो ।

कथानकको हिसाबले उपन्यास दुई खण्डमा प्रस्तुत गरिएको छ । पहिलो खण्ड सुरु भएदेखि १३२ पृष्ठसम्म तन्किएको छ भने दोस्रो खण्ड २२८ पृष्ठमा पुगेर अन्तिम रूपले समाप्त भएको छ । भाग एकमा विकासे कार्यकर्ता दिग्विजय काठमाडौँबाट हुम्ला पुगेको र त्यहाँ छ महिना बसेर धुवाँरहित चुलोसम्बन्धी कार्यक्रममा संलग्न भएको, त्यही क्रममा ग्याल्जेन, पेमा र अन्य स्थानीयसित चिनजान र भेटघाट भएका सन्दर्भहरू छन् । त्यही अवधिमा दिग्विजयले हुम्लाका खास ठाउँमा प्रचलित बहुपति प्रथाबारे सोध्ने र उसलाई पाँच कक्षा पास ग्याल्जेनले र केही प्रासङ्गिक किस्साहरू वाङ्दीले बताउँछन् । केही प्रसङ्ग स्थानीय रहनसहन, खेतीपाती र व्यापारबारे पनि छन् ।

दोस्रो खण्डमा उपन्यासले हिउँ परेर केही महिनाका लागि सम्पूर्ण यातायात नै बन्द हुनु, अगावै सदरमुकाम सिमीकोट पुगी त्यहाँबाट विमान चढी नेपालगञ्ज हुँदै काठमाडौँ फिर्न दिग्विजयले ग्याल्जेन र अन्य केही गाउँलेसहित आफू बसेको गाउँबाट सिमीकोटसम्मको यात्रा गर्दाको विवरण कहेको छ । यसरी उपन्यासमा मूलतः विकासे कार्यकर्ता दिग्विजयको छ महिना लामो हुम्ला–बसाइँको बेला उसले गर्ने कुराकानी र सहभागी हुने केही गाउँले रहनसहन र जीवन–पद्धतिमा घुलमिल भएर प्राप्त गरेको अनुभव समेटिएको छ । उपन्यास एक किसिमले कथा पारायण जस्तो छ, दिग्विजयले सोधेपछि प्रतिउत्तरमा उसलाई ग्याल्जेन, वाङ्दी वा अन्य गाउँलेबाट स्थानीय जीवनबारे सुन्नमा आएका कुराहरू नै उपन्यासमा लिपिबद्ध भएका छन् । यत्तिकै आधारमा –अर्थात्, बहुपति प्रथालाई बाँचिरहेका मानिसहरूको आँसु र हाँसोका जीवन्त भावनामा लुटपुटिन नसकेको– उपन्यासलाई “सांस्कृतिक उपन्यास” भनिएको छ ।

आफ्नो अगिल्लो उपन्यास “योगमाया” लेख्दा नीलमले योगमाया न्यौपाने बाँचेको र कर्म गरेको जिल्ला भोजपुर तथा त्यस वरपरका गाउँसमेत प्रत्यक्ष घुमेर अनि सम्बन्धित धेरै मानिस भेटेर मात्र लेखेकी थिइन् । त्यसले गर्दा त्यो उपन्यास विशेष बन्न सकेको थियो । तर, स्वयं नीलमकै अनुसार पनि, “द्रौपदी अवशेष” लेख्दा उनले हतारो गरेकी छन्, एकै पटक पनि बहुपति प्रथा प्रचलनमा रहेको हुम्ली गाउँ–ठाउँमा नगईकन, ती ठाउँमा गएर त्यस प्रथामा बाँधिएका महिला–पुरुषबीच केही दिन (अझ, साता नै पनि) नबसीकन, केवल केही हुम्ली बासिन्दासित कुराकानी गरीकन र केही लेख्य–सामग्री अध्ययन औ केही युट्युब सामग्री हेरेकोलाई मात्र आधार बनाएकी छन् । यसले गर्दा उपन्यासकार हुम्लाको केही खास ठाउँमा प्रचलित यस विचित्र परम्पराको मूल मर्म र संवेदनाको गहिराइमा पुग्न सकेकी छैनन् ।

उपन्यासमा कुनै आदर्शवाद छैन, सिद्धान्तवाद छैन र कुनै आग्रह वा पूर्वाग्रह पनि छैन । केही कुनै खास सन्देश दिने प्रयास पनि छैन, भेटिँदैन । जे छ, सपाट छ । वाचाल छैन । हुम्लाको खास ठाउँ विशेषमा प्रचलित बहुपति प्रथाबारे उपन्यास लेखिएको भए पनि प्रथाको समर्थन या विरोध केही उल्लेख नभएको हुँदा सम्पूर्ण कथा मौनको च्यादरभित्र समेटिएको प्रतीत हुन्छ । कथानक पनि कुनै नायक वा नायिका–प्रधान छैन बरु जे जस्तो भए पनि पुस्तकले धेरथोर समाज–केन्द्रित हुँदै त्यस समाज–विशेषमा विगत लामो समयदेखि चलिआएको खास प्रथा –बहुपति प्रथा– बारे चित्रण गर्न खोजेको छ । यसरी एउटा खास सामाजिक विषय उठान गरेको भएर पनि उपन्यास “द्रौपदी अवशेष” सतही मात्र छ ।

उपन्यासमा खट्किने पक्ष पनि नभएका होइनन् । ‘कैलाश’ पर्वतलाई उपन्यासमा सर्वत्र सचेततापूर्वक ‘कैलास’ पर्वत लेखिएको छ । यथार्थमा ‘कैलास’ शब्दले त्यो धार्मिक आस्था र सनातन धरोहरको संस्कार बोक्दैन जुन ‘कैलाश’ ले धारण गरिआएको छ । यो त शुद्ध संस्कृत शब्द हो र नेपालीको तत्सम शब्द पनि । मलाई लाग्दछ, ‘श’ अक्षरसित यति साह्रो बैर त्यति सुहाउँदिलो छैन, हुनु हुँदैन । भावना र आस्थासित जोडिएको यो कुरा ‘शहीद’ लाई ‘सहिद’, ‘शिकार’ लाई ‘सिकार’, ‘शुरु’ लाई ‘सुरु’ वा ‘खुशी’ लाई ‘खुसी’ बनाए जस्तो हुन सक्दैन ।

उपन्यासको थालनीभन्दा पहिले तत्कालीन प्रतिनिधि सभा सदस्य (संघीय सांसद) छक्कबहादुर लामाको चार पृष्ठ लामो मन्तव्य छ, जुन आफैँमा अनौठो छ । सांसद लामाले लेखेका छन्, “… मानव सभ्यताको उद्विकासका क्रममा विकसित विविध विवाह–प्रथामध्येको यस पौराणिक पाण्डप वा द्रौपदी विवाहको अवशेष यस दुर्गम तथा पवित्र तीर्थस्थल मानसरोवरको छेउ उत्तरी हुम्लामा पाइनु अनौठो भने होइन । … संसारबाट विलुप्त, दुर्लभ र प्राचीन महाभारतकालीन द्रौपदी (बहुपति) वैवाहिक प्रथा उत्तर हुम्ला जस्तो अति दुर्गम हिमाली क्षेत्रमा पाइनुले अन्यथा अर्थ राख्दैन । … यसलाई आधुनिक बजार अर्थतन्त्रको उत्पादन स्वरूपको एक महत्त्वपूर्ण उत्पादन र पर्यटन विकासका निम्ति एक अमूर्त सम्पदाका रूपमा लिन जरुरी देखिन्छ…।”

उदेक लाग्छ– हुम्लाका केही गाउँ–विशेषमा प्रचलित र लोपोन्मुख बहुपति प्रथा कसरी “पर्यटन विकासका निम्ति अमूर्त सम्पदा” हुनसक्छ ? तत्कालीन संघीय सांसद लामाले यसो भनेर कस्तो किसिमको पर्यटनको वकालत गर्न खोजेका हुन् ? यस किसिमको विवाह प्रथा अवलम्बन गरिरहेका महिला र पुरुषहरू के यसबाट खुसी छन् ? अथवा केवल परम्पराको पालनाका लागि विवश भई यसलाई निरन्तरता दिइरहेका छन् ? यसबारे सोच्न र बोल्न पर्दैन उनले ? स्थानीय जनप्रतिनिधिले लेखेर नै संरक्षणयोग्य संस्कृति भनी प्रस्ट उल्लेख गर्दा यसबाट समाज रूपान्तरणको कार्य अगाडि वा पछाडि के हुन्छ भनेर सोच्नु पर्छ पर्दैन ?

धेरै चर्चा र प्रचार पाएको यस उपन्यासलाई ‘सांस्कृतिक उपन्यास’ भनिएको बारे प्रश्न उठाउनुपर्ने हुन्छ, के यो साँच्चै सांस्कृतिक उपन्यास नै हो त ? किनभने त्यस ठाउँ–विशेषमा एक महिलाका अनेक पति हुने रीति त्यहाँको अज्ञात समयदेखि चल्दै आएको स्थापित संस्कार वा संस्कृति होइन । किनभने विवाह–मण्डपमा बसेर एउटी महिलाले धेरै पुरुषसित विवाह गर्ने संस्कार त्यहाँ छैन । किनभने धेरैजसो त भगाएर ल्याई विवाह गर्ने अथवा परिवारका जेठा छोराले बिहे गरी ल्याउने र त्यसरी घर भित्रिएकी युवतीले त्यस परिवारमा भएका दुई, तीन वा चार भाइहरूकी समेत पत्नी भएर जीवन बिताउनुपर्ने परम्परा उल्लेख छ । दाजुभाइको अलग–अलग विवाह भयो भने पछि अंशबण्डा गरी छुट्टिनुपर्ने हुन्छ र त्यसो गर्दा परिवारसित भएको जग्गा सानो–सानो हिस्सामा टुक्रिँदै–टुक्रिँदै कुनै दिन समाप्त नै हुनसक्छ भन्ने मूलकारण देखाई बहुपति परम्परा निर्वाह गरिरहेको प्रसङ्ग उल्लेख छ । केही पुस्तासम्मको सतही उल्लेख भए पनि उपन्यास यो परम्परा कसरी र कहिलेदेखि सुरु हुन गयो भन्ने सम्बन्धमा मौन छ । यसले कुनै सन्देश–विशेष पनि दिएको छैन ।

त्यसमा पनि समग्र हुम्ला जिल्लामा नभएर खास गाउँ–विशेषमा मात्र यो परम्परा किन जारी छ ? हुम्लाबाहेक अन्य छिमेकी हिमाली वा पहाडी जिल्लामा एक महिलाका धेरै पति हुने रीति किन चलनचल्तीमा आउन सकेन ? उपन्यासमा छिमेकी भारतको हिमाचल प्रदेशतिर बहुपति प्रथालाई टोपी प्रथा पनि भनिँदै आएको उल्लेख छ तर त्योसमेत अन्यत्र रहेका यस्ता विवाहको रूप, प्रकृति र प्रवृत्तिबारे थप शब्द छैनन् ।

समग्रमा, उपन्यास जे जस्तो भए पनि नेपाली साहित्यमा निकै कम मात्र उठाइएको, समाजमा लोपोन्मुख हुँदै गएको र आम मानिसको जानकारीमा कमै मात्र रहेको वा छिटपुट सामाजिक अध्ययनको विषय बनेर केही चर्चा मात्र पाएको संवेदनशील विषय–वस्तुबारे कलम चलाएर नीलमले आफूमा रहेको उपन्यास लेखन–क्षमता फेरि एक पटक सगौरव प्रस्तुत गरेकी छन् । ‘द्रौपदी अवशेष’ पढ्ने पाठकलाई उपन्यास नसकिँदासम्म अल्छी भने लाग्दैन ।