प्रिय मेस्सी भाइ,

तिमीलाई थाहा छ जीवनमा सबैभन्दा ठूलो विस्मात् के कुराले दिन्छ ? कुनै योग्यतम् पात्र आफूले डिजर्भ गर्ने कुराबाट वञ्चित भएको साक्षी बस्नुपर्दा मन असाध्यै रून्छ । वञ्चितिको कारण जेसुकै होवस् न ! तिमीले वर्ल्डकप नजित्ने हौ कि भन्ने अत्यासले वर्षौंदेखि मभित्र एक किसिमको छटपटी थियो । खेलकौशलका हिसाबले यस धर्तीमा हालसम्म जन्मिएको सर्वोत्कृष्ट फुटबलर हौ तिमी । एउटा अब्बल टिमभित्र रहेको तिमीजस्तो जादुयी खेलाडी वर्ल्डकपविहीन रहने कुरा सम्झँदा मात्र पनि ऐंठन भएर आउँथ्यो ।

संयोगवश सन् १९९० मा भारतको कोलकाता पुग्दा मैले वर्ल्डकप हेर्ने अवसर पाएको थिएँ । स्कुले विद्यार्थी नै थिएँ त्यतिबेला । टेलिभिजन नभएको हुँदा गाउँमा हेर्न सम्भव थिएन । त्यही बेलादेखि नै अर्जेन्टिनी कलात्मक फुटबलको फ्यान हुँ म । तानमा गलैंचा बुनेझैँ छोटाछोटा पासद्वारा मुभ बुनेर जब तिमीहरू गोलरूपी बुट्टा भर्छौ, औधी मनमोहक लाग्छ मलाई । त्यसयताका हरेक चार वर्षमा त्यो आकाशे जर्सी लगाई रात/रातभर हुटिंग गर्दै जाग्राम बसियो । एक न एक दिन अर्जेन्टिनाले तेस्रो वर्ल्डकप उचाल्थ्यो नै । बत्तीस वर्ष कुरिसकेको मजस्तो समर्थकलाई छत्तीस, चालीस वा चवालीस वर्ष कुर्न कुनै गाह्रो थिएन । तर यसपल्ट अर्जेन्टिनाका लागि भन्दा पनि तिम्रो लागि वर्ल्डकप जित्न चाहन्थें म । कुनै हालतमा । कसैगरी ।

तिमीले वर्ल्डकप नजित्दा फुटबलले हाथ्र्यो । एक भन्दा बढी वर्ल्डकपको हकदार थियौ तिमी । कम्तीमा एउटा वर्ल्डकपले तिम्रो हुने हक माग्थ्यो । तर नजिक पुगेर पनि नियतिले त्यसलाई मञ्जुर गरिरहेको थिएन । तिमीले नजित्दा वर्ल्डकपले हाथ्र्यो । समग्र फुटबलजगतले एक किसिमको अधुरोपन महसुस गथ्र्यो युगयुगसम्म । तर अर्बौं फुटबल प्रेमी मनहरूको मान राख्दै तिमीले जित्यौ यसपटक । तिमीले जित्दा मेरो जीवनको अधुरोपनको एउटा भाग भरिएको महसुस गरेँ मैले । आफ्नो थाप्लोमा बाँकी रहेको ठूलै जिम्मेवारी पूरा गरेझैँ आनन्द र हलुकोपन महसुस गरिरहेछु । तिमीले नजित्दा उत्पन्न हुने संताप र छटपटीबाट जोगाइदियौ । आभारी छु तिमीप्रति । तिमीलाई लाखौंलाख बधाई ! शुभकामना भनिनँ । एउटा फुटबलरका रूपमा तिमीले जित्न बाँकी केही छैन । शुभकामनाको औपचारिकताभन्दा माथि उठिसक्यौ तिमी !

फुटबलको जुन सनसनीपूर्ण कथानक पछिल्लो दुई दशकमा तिमीले बुन्यौ, क्लाइमेक्स त्योभन्दा भीषण रह्यो । मनै हल्लाउने । सिरिङ्ग पार्दै मुटु चिस्याउने । आफूलाई प्राप्त अन्तिम मौकामा कुनै थ्रिलिङ उपन्यासको तिलस्मी नायकझैँ तिमीले खेल्यौ । कुनै महायोद्धा आफ्नी अपहरित राजकुमारीलाई शत्रुको चङ्गुलबाट बचाउन अन्तिम युद्धको मोर्चा सम्हालिरहेको छ । सूर्यास्तअघि राजकुमारीलाई छुटाउन नसके योद्धाले आफ्नो जीवन र राजकुमारी दुवैलाई सदाको निम्ति गुमाउनेछ । घाम आधा डुबिसकेको छ । योद्धाले आफ्नी राजकुमारीलाई जोगाउन सक्ला कि नसक्ला ? योद्धाकै जीवनरक्षा होला कि नहोला ? अन्तिम युद्धमा पराजीत भई आफ्नी प्रियतमालाई जोगाउन नसकेको अपयश बोकेर के महायोद्धा इतिहासको गुमनाम वा बदनाम पात्र बन्नेछ ? फाइनल भिड्दै गरेका तिमीलाई टेलिभिजन स्क्रीनमा हेर्दा त्यस्तै लागिरह्यो मलाई ।

जब तिमी २–० ले अघि बढ्यौ, सबै सुखद् हुने अनुमानले म प्रफुल्ल थिएँ । छोरा र श्रीमतीलाई भनेँ– ‘हाफटाइमसम्म यही स्कोरलाइन रह्यो भने खेल नब्बे प्रतिशत जितियो ।’

७५औँ मिनेटसम्म पनि तिम्रो प्रतिद्वन्द्वीको अस्तित्व मैदानमा कतै देखिएन । मलाई लाग्यो, तिम्रा प्रतापसामु लल्याकलुलुक प्रतिद्वन्द्वी आत्मसमर्पणको मनस्थितिमा पुगिसके । तर तिमीद्वारा सृजित उत्कृष्ट कथानकको यति फितलो अन्त्य सायद नियतिलाई मञ्जुर थिएन ! तत्पश्चात्, जे जे गर्नु थियो सायद उसैले गर्‍यो । तिम्रा हकमा त ठीकै भो होला । हामी पिसियौं नराम्रोसँग ।

स्कोरलाइनमा दुई/दुईको बराबरी देखिएपछि भाउन्न होला जस्तो भयो । के नियतिलाई मञ्जुर छैन यसपल्ट पनि ? यत्रो विराट प्रतिभालाई जन्माएर अधुरै तुहाउने षडयन्त्रमा छ ऊ ? म आफैँसँग सोध्न थालेँ । उकुसमुकुस भयो । सोचें– ‘२–२ भनेको शून्य–शून्य त हो !’ मानौं, आरम्भमै छौं हामी । म चाहन्थें– रेफ्रीले सिट्टी फुकिहालोस् । ताकि, रिग्रुप गर्दै अर्को आरम्भ गर्ने मौका तिमीहरूलाई मिलोस् । बुद्धिचालकै सही राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भिडेको अनुभवका आधरमा म जान्दछु ऐन घडीमा त्यस्तो ब्रेक पाउनुको महत्व । त्यही पो नपाइएला कि भनी म अदृश्य नियतितर्फ याचनापूर्ण दृष्टिले हेर्दैथें ।

एक्स्ट्रा टाइममा तिमीले तेस्रो गोल गर्‍यौ । म बुर्लुक्क उफ्रिएँ– ‘हो, यस्तो पो रहेछ नियतिको चाहना !’ ग्रयाण्ड भिक्ट्री । ग्रयान्ड फेयरवेल । तिम्रै निर्णायक गोलमा विश्वकप ! के चाहियो अरू ? हठात् बोलें म– ’यस्…, अब काम तमाम !’

महेश थापा

छेउमै रहेको मेरो छोरोले भन्यो– ‘…म केही बोल्दिनँ ! …म केही बोल्दिनँ ! जे पनि हुनसक्छ यहाँ ।’ उसले समर्थन गर्ने स्पेनिश टोली अप्रत्यासित रूपमा हार्दा मैले निकै उडाएको थिएँ । हामी बाउछोरा एकअर्काले हार्दा खुसी हुनसक्ने एक मात्र चिज हो– खेल । क्रिकेटमा ऊ दक्षिण अफ्रिकाको समर्थक, म इंग्ल्यान्ड र पाकिस्तानको । फुटबलमा म अर्जेन्टिना र इटालीको समर्थक हुँ भने ऊ स्पेनको । खेललाई लिएर हामीबीच घोचपेच चलिरहन्छ । तर ऊ पनि चाहन्थ्यो– ‘मेस्सीले वल्र्डकप जितोस् । बिकज, हि डिजर्भस् !’

मैले ठानेँ, गेम ओभर । ग्रयान्ड भिक्ट्री ! द अल्टिमेट भिक्ट्री फर मेस्सी ! कतै नेपथ्यमा बसिरहेको नियति मैतिर हेरेर हाँस्दै पो थियो कि त्यतिबेला ? मलाई देखाइदिने संकल्प गरीकन । मेरो समर्थक दिमागले भन्दा छोरोको खुला दिमागले खेललाई ठीकसँग रिड गरिरहेको थियो सायद त्यतिखेर । जे पनि भइरहेको खेलमा यहीचाहिँ नहोला भन्ने के थियो र !

इन्जुरी टाइमलाई दुई मिनेट छुट्याएर हामी बाउछोरा प्रत्येक मिनेट खेल सकिन बाँकी समयको काउन्टडाउन अपडेट गरिरहेका थियौँ । दश, नौ, आठ, सात हुँदै हाम्रो हिसाबले ६ मिनेट समय बाँकी रहँदा तिमीतर्फको पेनाल्टी एरियामा रेफ्रीले सिट्टी बजायो । म स्तब्ध भएँ । रिप्ले हेर्दै मैले भनेँ– ‘डी–बक्स बाहिर हो क्यारे !’ मलिन अनुहारमा छोरोले भन्यो– ‘…ऊऽऽ पेनाल्टी ! मैले भनेकै थिएँ नि, केही नबोलौँ ।’

मध्यान्तरपछि एम्बाप्पेलाई जिस्क्याउँदै फेसबुकमा मैले एउटा पोस्ट गरेको थिएँ– ‘खरानीको डल्लो कति साह्रो, एम्बाप्पेलाई बल छुन कति गाह्रो !’ केटकेटीमा वल्लो वा पल्लो टोलबीच हुने म्याच जितेपछि विपक्षीलाई गिज्याउन हामीले भट्याउने नाराको एउटा अंश थियो त्यो । खेलको झन्डै तीनचौथाई हिस्सा अलमस्त सुतिरहेको एम्बाप्पे एकाएक जागेझैँ भयो त्यसपछि । हरर मुभीमा कसैले ‘नगर्नू’ भनी अह्राएको उपद्रो जबर्जस्ती गरिदिएर शैतान जगाउने क्याटालिस्ट रोल मैले नै निभाएँ कि क्याहो भन्दै स्वयंलाई कोसेँ । तर हुनुहुनामी भइसकेको थियो । हठात् जागेको दैत्यरूपी एम्बाप्पेले ह्याट्रिक गर्दै खेललाई तीन/तीनको बराबरीमा पुर्‍याइसकेको थियो ।

मसँग अब घडी हेर्दै काउन्टडाउन गर्ने सामथ्र्य पनि बाँकी थिएन । तीन मिनेटको इन्जुरी टाइम थपेको चाहिँ देखेँ । मेरो अनुमानविपरीतको थप एक मिनेट तिमी विरुद्ध नियतिको अन्तिम षडयन्त्र त हैन कतै ? म थरथरी कामेँ, मेस्सी भाइ ! इन्जुरी टाइमको पनि निर्धारित अन्तिम सेकेन्डतिर काउन्टरमा फ्रान्सका कोलो मुआनीलाई अर्जेन्टाइन डी–बक्सभित्र वान अन वानको सिचुएसनमा देख्दा मेरा नौनारी गले । एमी मार्टिनेजले त्यो प्रहारलाई कसैगरी जोगाइदिएकोमा राहतको सास फेर्न पाएको छैन भर्खरै मैदान प्रवेश गरेका चर्चित अर्जेन्टाइन फरवार्ड डिबाला बल लिएर फ्रेन्च डी–बक्समा पुगिसकेका थिए । खेल त्यहाँ आइपुग्दासम्म म खुसी हुनसक्ने स्थितिमा पनि थिइनँ । के भइरहेको छ भन्ने मेसो नै दिमागले पाउन छाडिसकेको अवस्था थियो । सामान्य अवस्था हुँदो हो त विश्वफुटबलका दुई खतरनाक स्ट्राइकर डिबाला विपक्षी गोलपोस्ट नजिक बल लिएर खडा छन् र लौतारो मार्टिनेज पास माग्दै गरेको अवस्थामा म पक्कै एक्साइटेड हुन्थेँ । मार्टिनेजको हेडर वाइड गएर आँखा झिपिक्क गर्न नभ्याउँदै दैत्यरूपी एम्बाप्पेलाई अर्जेन्टाइन डी–बक्समा बल लिएर जाँदै गरेको देखेपछि म सल्याकसुलुक भएँ । मलाई लाग्यो– ‘यत्ति नै रहेछ । सबै सकियो ।’

मनैमनमा मैले नियतिलाई सरापेँ । बेस्कन ।

कुनै खेलमा म यसरी डराएको कहिल्यै थिइनँ । फुटबलकै पनि थुप्रै प्रतियोगिताहरूमा हजारौँ दर्शकमाझ एउटा खेलाडीको हैसियतले मैदानमा आफैँ भिडेको छु । जीत/हारलाई बडो नजिकबाट नियालेको छु । बुद्धिचालको राष्ट्रिय प्रतियोगिताका अन्तिम राउन्डको टप बोर्डमा म आफैँले खेलेको छु । त्यो भनेको फाइनल भिडेजस्तै जस्तै हो । खेलमा हुने तनाव र दवाबलाई म बुझ्दछु । त्यसलाई झेल्ने सामथ्र्य पनि राख्दछु । तर यसपल्ट म डराएँ, मेस्सी भाइ । जीवनमै पहिलोपल्ट । डरको कारण तिमी थियौ ।

तिमीले डिजर्भ गर्ने त्यो अल्टिमेट ग्लोरीबाट चुक्लाउ कि भन्ने डर । युगले जन्माएको एउटा महान् फुटबलरको अधुरो र धुमिल विम्ब भविष्यका निम्ति छोडिएला कि भन्ने डर ।
रेफ्रीले सिट्टी फुकेजस्तो लाग्यो । खेल सकिएको हो वा होइन भन्ने पनि मेसो पाउन सकिरहेको थिइनँ । ‘धन्न, डिबालाले क्लियर गर्‍यो !’ छोराको यो बोलीले बल्ल मलाई केही राहत दियो । तथापि, मेरो सास गलामै अड्किएको थियो । टाइब्रेकरमा तिमीहरूले दुई गोलको एडभान्टेज पाइसक्दा पनि म ढुक्क हुन सकिरहेको थिइनँ । ‘नियतिको खुरापाती दिमागमा के होला, होला ?’ संशयको बादल मभित्र मडारिइरहेको थियो । मोन्टियलको चौथो प्रहारले जाली चुमेसँगै तिमीले उत्सव मनाउन घुँडा टेकेपछि मात्रै हो मैले ठीकसँग सास फेर्न सकेको ।

मेस्सी भाइ, तिमीले वर्ल्डकप उचालेको दिन के के पो लेखौँला भन्नेमा थिएँ । २०१० यताको मात्रै हिसाब गर्दा पनि ठ्याम्मै बाह्र वर्ष भइसक्यो । साथीभाइसँग यो बाह्र वर्षको हिसाब एकै झमटमा फच्चे पारौँला भन्नेमा थिएँ । अलमलियौ तिमी ? सायद तिमीलाई थाहा छैन हाम्रो पारा । तिमी मैदानमा भिड्दै गर्दा यता हाम्रो संजाले वल्र्डकप चलिरहेको हुन्छ । त्यहाँ चल्ने ट्याकल र उठापटकको त तिमी कल्पनै गर्न सक्दैनौ । आईटी रिभोल्युसनले मूर्तता पाउनुभन्दा धेरै पुरानो हो यो प्रतिद्वन्द्विता । संजालमा त निकै पछि उक्लिएको । कट्टु लगाएर हामी बजार, टोल र खोलाको बगरबगर दौडिने बेलादेखिको । तिमीलाई थाहा छ युवावयमा टेक्तै गरेको उमेरमा हाम्रो छिमलका अर्जेन्टिना र ब्राजिल समर्थकहरू सँगै बसेर फुटबल हेर्ने अवस्थै हुन्थेन । सबै उस्तो नभए पनि खेलकै बीचमा लाप्पा खेल्न तम्सने दुई/चार मुस्तन्ड निस्कि त हाल्थे । अनि खेल हेर्ने कि झगडा फर्‍याउने ? बजारको एउटा गल्लीमा अर्जेन्टिना समर्थकले तम्बु गाडेर वल्र्डकप हेर्ने र अर्को गल्लीमा ब्राजिल समर्थकले हेर्ने चाँजो मिलाई त्यस्ता समस्या किनारा लगाउने कोसिस गरिन्थ्यो । तर गोल भएका मौकामा एकअर्काको तम्बुमा छारो उडाउन पुग्नेमध्येका एकाधले कठालो समातासमात पर्व निम्त्याएरै छाड्थे ।

हाम्रो सम्बन्धको त्यो ऐतिहासिक आयामलाई नबुझेकाहरूले अचेल हामीहरूबीच चल्ने संजाले घम्साघम्सीलाई उदेकलाग्दो नजरले हेर्नु स्वभाविक हो । तर वर्ल्डकपकै चल्ते यो ढल्कँदो जोवनमा केही साता त्यो किशोर र युवावयमा फर्केर बाँच्ने मौका पाउँछौं हामीजस्ता धेरैले । औपचारिकताका बन्धनबाट धेरै टाढा रही आउने त्यो उन्मुक्त अभिव्यक्तिमा पाइने मिठास र सुगन्ध बेग्लै हुन्छ ।

हो, तिमीले जितेका दिन दशकौंदेखिका बेरुजु फछ्र्यौट गरौँला भन्ने फिराकमा थिएँ । तर जसै तिमीले जित्यौ, परीकथाझैँ संयोगान्तक अन्दाजमा तिमीभित्रको त्यो जादुयी खेलाडीले पूर्णता पाएको आभाषले मलाई आल्हादित तुल्यायो । हर्ष, खुसी र आल्हादको त्यही भेलले मभित्र कटकटिएर बसेका तमाम आवेग र मैललाई यसरी बगाएछ कि केही लेख्नै मन लागेन । मात्र तिमीलाई हेरिरहेँ मैले । एकटक । ध्यानदृष्टिले ।

गोल्डेन बल लिएर फर्कंदै गर्दा स्टेजमा सजाइएको वल्र्डकप ट्रफीलाई नजिक आई बडो लोलुप नजरले निहार्‍यौ तिमीले । सुस्तरी सुमसुम्यायौ । र, म्वाइँ खायौ । त्यो दृश्यलाई अपलक हेर्दै तिम्रो स्पर्शलाई महसुस गर्ने कोसिस गरेँ । त्यो ट्रफी उचाल्न यस युगको सर्वयोग्य पात्र तिमी नै थियौ । हुङ्कार भर्दै तिमीले त्यो ट्रफीलाई हावामा उचालेको तस्वीर मैले पछिल्लो एक दशकमा देखेमध्येकै सुन्दर लाग्यो ।

भोलिपल्ट फेसबुक र म्यासेन्जरभरि मलाई बधाईको ओइरो लागेको थियो । मानौं, वल्र्डकप मेस्सीले नभई महेशले जितेको होस् । तर फाइनलले यसरी निचरेको थियो कि म्यासेज र कमेन्ट रिप्लाइ गर्ने त के, खोलेर हेर्ने ऊर्जा पनि मभित्र बाँकी थिएन । दोस्रो दिन शरीरमा ऊर्जा त फर्कियो, तर तृप्तिको अनुभूतिले केही लेख्ने जाँगरै चलेन । तिम्रो त्यो जीतको झङ्कारलाई आफैँभित्र महसुस गर्न खोज्दैथेँ । तेस्रो दिन मात्रै हो मैले केही म्यासेज रिप्लाइ गरेको । कमेन्ट त अझै हेरेकै छैन ।

मोक्ष भनिने जिनिसको एउटा टुक्रो कतै भेटिए यस्तै पो देखिन्थ्यो कि ! न त माद । न उन्माद । न आवेग । न विद्वेष । तृप्ति र उन्मुक्तिको एउटा भावलहर मभित्र दौडिरहेको थियो । जसले सञ्जालमा केही लेख्न वा झटारो हान्न मलाई दिएन । मन लाग्दा यिनै पंक्ति कोरेँ, नत्र तिम्रो जीतलाई फिल गर्दै दिन कटाएँ । तिमी पत्याउँछौ मेस्सी भाइ ? तिम्रो जीतपछिको पूरै एक साता फेसबुकमा मैले पोस्ट गरिनँ । न त पोस्ट । न कमेन्ट । न रिप्लाइ । म फेसबुकमा जोडिएको चौध वर्षे अवधिमा यस्तो मौनता मैले कहिल्यै साधेको थिइनँ । अरू त कुरै छोड्देऊ, तिम्रो तस्वीर पोस्ट गर्दै एक शव्द ‘बधाई’ पनि लेखिनँ । लेखिरहन जरूरी नै लागेन !

मजस्ता प्रशंसकको निम्ति तिम्रो यो जीतलाई शव्दमा बयान गर्न गाह्रो छ । ‘माझी: द माउन्टेन म्यान’ नामक हिन्दी बायोपिकका मुख्य पात्र दशरथ माझीले आफ्नी प्रियतमाको जीवन हर्ने अजङ्गको पहाड एक्लै फुटाएर बनाउँदै गरेको बाटोतर्फ हेर्दै भन्दछ– ‘शानदार, जबर्जस्त, जिन्दावाद !’

जीवनको अन्तिम वर्ल्डकप खेल्दै तिमीले दिलाएको यो उपहारका निम्ति तिम्रा करोडौँ प्रशंसकले प्रकट गर्ने भावलाई बोक्ने यही उक्ति दोहोर्‍याउँदै बिट मार्छु– शानदार, जबर्जस्त, जिन्दावाद !