पढेको थिएँ, सुनेको थिएँ — समीक्षा ‘आत्मगत’ नबनाउनू । ‘वस्तुपरक’ बनाउनू । कुरा बुझिनँ ।

आफ्नो ताल छोडिनँ । एकडेढ वर्ष भयो यस्तो ‘रोग’ लागेको । अस्ति प्रज्ञा–प्रतिष्ठनमा भेट हुँदा मेरो यस्तै एउटा लेख पढेका एकजना विश्वविद्यालयीय समालोचकले भन्नुभयो, ‘शिरदेखि पुछारसम्म पढेँ । पूरै उटपटाङ । अलि तल केही गम्भीर कुरा आउला भन्दाभन्दै लेख सकियो । के लेख्नुभएको त्यस्तो ?’

यो कुरा सुन्ने साक्षी – घनेन्द्र ओझा । सार थियो — वस्तुपरक लेखिएन ।

यसपालि कम्मर कसेँ — यो लेखलाई ‘वस्तुपरक बनाउँछु ।’ उपशीर्षकहरू लेखेँ — विषयप्रवेश । सैद्धान्तिक अवधारणा । विधातात्त्विक विवेचना । निष्कर्ष । सन्दर्भसूची ।
केही गतिला शब्द पनि शब्दकोशबाट टिपेँ ।

अनि केही कुरा झलझली सम्झेँ ।

— म जुन पुस्तकको बारेमा लेख्न खोजिरहेको छु, त्यसको शीर्षक हो ‘बाआमा’, मित्र रामलाल जोशीको । ‘बाआमा’ भनिसक्दा भावुक भई उठेँ । हैट, केको वस्तुपरक !

— विमोचन सम्झिएँ । प्रकाशक–उद्घोषक मित्र भूपेन्द्र खड्काले भनेका थिए, रामलालजीले ‘ऐना’मै मदन पुरस्कार पाइहाल्नुभयो । नपाउनुभएको भए यसमा पाउनुहुने थियो । अब, प्रकाशककै यस्तो भरोसा भएको पुस्तक । मजस्ता पाठकको सातोपुत्लो त्यसै उडिजानु स्वाभाविक हो ।

— दश दिनमा दश हजार प्रति बिक्यो । प्रमाण सामाजिक सञ्जालमा आयो । बजारमा चिलका जस्ता आँखा गाडेर हिँड्ने मजस्ताका ‘दु:खी आत्मा’ का लागि त्यो समाचार आफैँमा एउटा एकमुखे रुद्राक्ष थियो । त्यसको केही दिनमा लेखक स्वयंले ‘बाआमा’को दोस्रो संस्करण बजारमा आएको सूचना सामाजिक सञ्जालमा राखे । एकजना समवयी साथीको लेखकीय प्लस व्यवसायिक सफलतामा आह्लादिन नहुने कुरै भएन । चरम् आह्लादको विषयमा कोही ‘वस्तुपरक’ प्रतिक्रिया दिन सक्ला र ?

— ‘ऐना’ले मदन पुरस्कार पाएको केही समयपछि मेरा विद्यार्थीहरूले मेरै परिकल्पनामा बनाएको विमर्श नेपालले, आफ्नो नियमित शृङ्खला ‘विमर्शमा फलानो लेखक’मा ‘विमर्शमा रामलाल जोशी’ कार्यक्रम सम्पन्न गरेको थियो । शङ्खमूलस्थित चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्टको सभाकक्षमा । त्यस कार्यक्रमको परिकल्पना मेरै थियो । व्यवस्थापकीय सहयोग गणेश जोशीको । मजस्तो अक्करे मान्छेले कुनै लेखकलाई यत्तिको सम्मानका साथ विमर्शमा उतार्नु – रामलाल जोशीको आख्यनकार व्यक्तित्वको उदय र उनको ‘ऐना’ले आर्जन गरेको उचाइको सम्मानमा थियो । थप, उनका आगामी कृतिले अझ बुलन्दी छुँदै जाऊन् भन्ने कामनाको जाहेरी पनि थियो । ‘सखी’को आकारले झण्डै अल्मल्लिएँ । अहिले ‘बाआमा’ सँग छु । कुरा गर्दैछु ।

— अहिले तेस्रो परिमार्जित संस्करण आएको छ । ‘बेस्ट सेलर’ को स्टिकर स्वभाविकै भइगयो ।

मेरो आलोचकीय मस्तिष्क पूरै नेपथ्यमा गएको छ । अगाडि आएको छ मेरो लहडी कलम । सोचेको लेख्दैन, नसोचेको लेखिबस्छ ।

तर यहाँ मेरो कलम लहडी हुनुमा मेरो दोष छैन । दोष रामलालजीको छ । कारण हुन्—

१. यस पुस्तकका मनोहारी शक्तिहरू । यिनको म ‘शक्ति काण्ड’मा विवेचना गर्नेछु ।

२. यस पुस्तका नगण्य सीमाहरू । यिनलाई म ‘सीमा काण्ड’मा समेट्ने छु ।

३. मेरो काइते बुद्धिले नथामेका कारण उत्पन्न भएका केही प्रश्न, संशय, आक्रोश वा अलमलहरू । यिनलाई म ‘उद्भ्रान्त खण्ड’मा समेट्ने छु ।

यति गरिसकेपछि आफैँ ताली मार्नेछु । आफैँ माफी माग्नेछु ।

अँ, बजारमा तेस्रो परिमार्जित संस्करण आएको छ । मेरो टेबलमा भएको, र मैले छलफलका लागि उठाएको चाहिँ पहिलो संस्करण नै हो । हुन त तेस्रो संस्करण आइसकपछि यो छलफल लेखिरहँदा मैले पछिल्लो संस्करणलाई आधार मान्नुपर्ने हो । तर, पटक पटक किन्न सकिनँ । सकिँदैन । यो मेरा वा हाम्रा सीमा हुन् । तर, बच्ने एउटा आधार त छ नि मसँग ।

त्यो के भने, मेरो आशा — पहिलो संस्करणमा आएका भाषिक त्रुटि वा मुद्रा राक्षस तेस्रोमा सञ्च्याइए होला । कस्ता त्रुटि ? जस्तै— भनूँला हुनुपर्नेमा भनुँला, उदास अनुहार हुनुपर्नेमा उदासी अनुहार, कतै ‘कालीमा’ कतै ‘कालिमा’, मूक हुनुपर्नेमा धेरै चोटि ‘अमुक’ (नबोल्नुको अर्थमा), एक वचन प्रथम पुरुषी कुरामा पनि ‘के बेलौँ, के भनौँ’ जस्ता पदावली, ‘झेली’ हुनुपर्नेमा ‘झ्याली’ (झ्याली त बजाउने बाजा पो हुन्छ क्यारे ?), ‘दु:ख’ हुनेमा ‘दुख’, ‘सधैँ’ हुनेमा ‘सधै’, ‘मसँगै’ हुनेमा ‘मँसँगै’, कतै ‘आँगनभरी’ त कतै ‘अँगालोभरि’, ‘यमुना’ हुनेमा ‘युमना’ आदि, कति कति । कुनै पात्रले कतै दुई जनाको सल्लाहका बीच ‘के गरौंला, के खाउँला’ भनिरहँदा सोचेँ — के गरौँला, के खाऔँला पो हो कि ? अथवा, एकरूपताका लागि, र आफैँसँग बोल्दा चाहिँ ‘के गरूँला, के आऊँला’ हो ? गाजेमाजे छ । ‘गरुँला’, ‘गरूँला’ र ‘गरौँला’ एकै हुन् वा फरक, यस किताबमा छुटिँदैन । कतै पढेँ — ‘कथा त्यहाँ पुग्दा हाम्रा आँखा अभिशप्त भइसकेको हुन्थे ।’ अभिशप्त ? कि अश्रुशिक्त ? अनि कि, २३२ पृष्ठको किताब रु. ५९९ मा किनेको छु । यस्ता त्रुटिले चित्त काट्छ कि काट्दैन, भन्नुहोस् न ? ‘यस्तो त भइहाल्न नि’ भन्न त पाइँदैन नि, किन कि यो मदन पुरस्कार विजेता लेखकको कृति हो । कुनै महेश पौड्याल सहेश पौड्यालको होइन नि । यसमा प्रकाशक पनि बोलून् ।

अथवा, मेरो नेपाली कमजोर छ, मान्छु । मैले नबुझेको हुँ भने कसैले त बुझाइदेला नि ।

अँ, कुनै पात्रले ‘डरका कारण आँट र साहस गरेकी थिइनँ’ भनिरहँदा, आँटले बोकेको अर्थमा साहसले के थप्यो ? अथवा महेश्वर गुरुको ‘धवल वर्ण’ र ‘उज्ज्वल मोहडा’ को उल्लेख बारम्बर गर्नाले कथामा थप्यो ?

मैले आख्यान पढ्न जान्नै छोडेको हुनुपर्छ । ‘साह्रै बिग्रिइस्, बद्री !’ भन्दा फरक पर्दैन मलाई ।

साथीहरूको भनाइ पुन: सम्झन्छु— जमाना कहाँ पुगिसक्यो, मान्छे ह्रस्व–दीर्घमै छन् । मेरो भनाइ— मलाई जमानासँग हिँड्नु नै छैन । मलाई उत्कृष्ट लेखकहरूको उत्कृष्ट लेखमा शुद्ध नेपाली भाषा पढ्ने रहर छ । यसमा ममाथि मुद्दा लाग्छ भने लागोस् । जमानासँगै हिँड्न जानेको भए कहाँ पुगिसक्थेँ ।

महेश पौड्याल

तर, प्रथम संस्करणका यी नगण्य भाषिक त्रुटि त पक्कै पनि सच्चिए होला । यत्ति विश्वास गर्ने अधिकार पनि त छ । त्यसैले, यसमा रिसाइनँ । अलि अलि चित्त दुखाएको हुँला, त्यसमा माफी मागेँ ।

जमाना कहाँ पुगिसक्यो, यसमा नअल्झौँ होला । कथातिर लागौँ ।

१२ वटा कथा छन् । औसतभन्दा लामा नै छन् । प्रत्येक कथामा बाआमाको कुनै न कुनै रूपको उपस्थिति छ । अधिकांश कथा ‘डौटी’ आसपासको भूगोलमा जन्मिएका छन्, यद्यपि कतिपयले धनगढी, काठमाडौँ, चितवन, बम्बै वा अमेरिका पनि, प्रसङ्वश समेटेका छन् । तर तिनको मियो ‘डौटी’ मै छ ।

अब शक्ति काण्डतिर लागौँ । कथा चैँ भनिनँ । बिक्रीको शीर्षस्थ सूचीमा रहेको पुस्तकको कथा प्राय: सबै पाठक वा साहित्यका पारखीका घरमा पुगिसक्यो भन्ने विश्वास लिएको छु । त्यसैले, कथा दोहोर्‍याएर लास्टै बोर पार्ने काम नअरम क्यार ।

भाग १: शक्ति काण्ड

१. यो किताबले पूरा सङ्ग्रहमा बाआमा कुरा समेटेको छ । उनीहरूको माया, सङ्घर्ष, त्याग, निर्दोषिता, समर्पण, सन्तानप्रतिको अतिशय ममता, जन्मभूमिप्रतिको प्रेम, जीवनप्रतिको विरक्ति, सपना, दु:ख, पीडा र पलायन समेटेको छ । त्यसैले, यी कथाले नछुने सायदै कोही होला । कथाको भावनात्मक पक्ष ज्यादै प्रवल छ । यिनमा प्रयोग गएका संवेगात्मक प्रसङ्गले पाठकलाई पनि ‘सजल नयन’ वाला बनाएरै छोड्छ । बाआमा पुस्ताको पीडाबाट विमुख हुँदै गरेको नयाँ पुस्तालाई मज्जाले झक्झक्याएको छ । हृदय परिवर्तनको आह्वान जोडदार रूपमा गरेको छ । म पनि ज्यादै हल्लिएँ । कतिपय प्रसङ्गले ग्लानिबोध पनि गराए ।

२. यहाँ सङ्ग्रहित कथामा आञ्चलिक सुगन्धको मिठास सुरूदेखि अन्त्यसम्मै अनुभव गर्न पाइन्छ । रामलाल जुन भूगोलबाट उठेर नेपाली आख्यानमा उदाए, त्यस भूगोललाई उनले ‘ऐना’ मा जस्तै, यसमा पनि समेटर उत्तिकै न्याय गरेका छन् । निन्यारु, झुराउनु, बेरौटो, ब्यानतारो, सौँराइ काट्नु, लाम्ला जस्ता स्थनीय भाषाका शब्द तथा डौटी, कोटिला, शिवपुरी धाम, शिवगङ्गाको किनार, धनगढी, द्वारीगडा, बामन्तोली, छडीखोला, सेती, रानीवन आदि सुदूरपश्चिमेली पहाड त तराईका ठाउँहरूले आञ्चलिक स्वाद ज्यादै सुन्दर तरिकाले पस्केको छ । साथै, देउकी लगाउतका त्यता प्रचलनमा रहेका कुप्रथा, डेउडा लगायताका नाचका कुरा, बडा केदारको जात्रा, तथा थारूहरूको मृत्यु संस्कारका प्रसङ्ग आदिले उक्त भूगोललाई सश्रद्धा न्याय गरेको देखिन्छ । गाउँ, गाउँ–सुहाउँदा पात्रका नाउँ, बोली र तिनका निर्दोष जीवन र ससाना सपनाहरू यस सङ्ग्रहका अर्का मिठासपूर्ण पक्ष हुन् ।

सुदूरपश्चिम उता भारतसँग पनि सटेको छ, र त्यहाँको स्थानीय लवजमा हिन्दीका शब्द नेपालीमा सरोबरी भएर मिसिन्छन् । यहाँ पनि चिल्लाउनु, सावन, मुसाफिर, कन्धा, मासुमजस्ता शब्द यसै गरी आएका छन् । यसले पनि सौन्दर्य बढाएको छ ।

३. ईर्ष्यै गर्नु जस्ता सुन्दर सूक्ति छन् पुस्तकभरि । मन्त्रजस्ता । टिपिहालौँ जस्ता । केही हेरौँ—

(क) मैले आफ्नै आँसु कुल्चिएर हिँडे ।

(ख) प्रत्येक मान्छेलाई अर्काका कुरा कथा लाग्छन्, आफ्ना कुरा व्यथा ।

(ग) जीवन भोग्नेहरूका लागि व्यथा हो, सुन्नेहरूका लागि कथा ।

(घ) एउटै कठोर सत्य पनि हजार झुटभन्दा शक्तिशाली हुँदो रहेछ । बरू हजार झुटहरूमा भ्रमित भइरहनुपर्ने तर एउटै क्रूर सत्यसँग सामना गर्नु नपरोस् ।

(ङ) देवताले बास छाडिदिएपछि मन्दिरको के अर्थ? देवीले प्राण छाडिदिएपछि मूर्तिको के अर्थ? भावना उम्रन छाडेपछि मनको के अर्थ? मनले बास छाडिदिएपछि घरको के अर्थ?

(च) पहेँला पातले आज झरे पनि झर्नु हो, भोलि झरे पनि झर्नु हो । झर्नु नै उसको नियति हो भने कहिले झर्दा के भो र?

(छ) मान्छेको मन यस्तो उर्वर भूमि हो, जहाँ प्रेम रोपे प्रेमैप्रेम फुल्छ, घृणा रोपे, घृणैघृणा ।

(ज) बाबाको सौंराइ लागे फुपूको मुख हेर्नू, बा । आमाको सौंराइ लागे मामाको मुख हेर्नू ।

(झ) आँखामा बगिरहेको कर्णालीमाथि रुमाल राखेँ ।

(ञ) देवतालाई गाउँमै निरीह छोडेर रोगीहरू सहर पसेका छन् अथवा विदेश भासिएका छन् ।

(ट) मान्छेको जात यस्तै हो, भान्जौ । भएको बाटो छोड्छ र नयाँ बाटो खोज्छ । आफूसँग भगावनलाई छोड्छ र स्वर्गको खोजीमा भौंतारिन्छ ।

(ठ) एउटा कठोर बाबुलाई पनि कमजोर बनाउने शक्तिशाली चीज दुनियाँमा यदि केही छ भने त्यो सन्तानकै माया रहेछ ।

(ड) सन्तानलाई हातमा लिएर उसको मासुम अनुहार हेरेपछि एउटा बाबुको हृदय पनि आमाको हृदयमा परिणत हुँदो रहेछ ।

(ढ) भाग्नु भनेको चिहानघाटसम्म पुग्नु रहेछ । जीवन भनेको नभाग्नु रहेछ । भाग्नु त मृत्यु नजिक पुग्नु रहेछ ।

४. करुणाले भरिएका, भक्कनो भुटाउने अनेक प्रसङ्ग छन् । जस्तै—

— म मृत्युशय्यामा पुग्दा पनि (आमाले) सोच्नुभएन, जति दु:ख र तकलिफ हुँदा पनि कहिल्यै सोच्नुभएन, ‘अब त छोरो गइदिए पनि हुन्थ्यो ।’

— आमा मरेपछि, बहिनीको स्याहार गरिरहेको बालक भन्छ— ‘आँसु पुछ्न उठेको मेरो बूढी औँला आमाका आँखामा होइन, बहिनीका आँखामा थियो । मेरो दायाँ काखतिर रुने आमा होइन, बहिनी थिई । जसरी मैले बहिनीलाई भ्रम दिइरहेको थिएँ, त्यसरी नै त्यो रातले मलाई भ्रम दिएको थियो ।’ वाह! क्याबात ।

— आँसु उसका खसिरहेका थिए । मन मेरो रोइरहेको थियो ।

— बडेमानको झोलाभित्रका किताबले म उसै थिचिएको हुन्थेँ । यता बाबाका सपनाहरूले झन् थिचिन पुग्थेँ ।

— उसका सजल नयन र करुण हेराइले आग्रह गरेको मौन भाषा म बुझ्थेँ, ‘बाबा, मलाई संसार हेर्ने इच्छा छ । धोको मेटेर बाँच्ने इच्छा छ । मैले बाँचेर संसार साँघुरो हुन्न भने मलाई बचाउनुस् ।’

— छोराको करूण हेराइ र सजल नयानको भाषाले मुटुमा चिरा पार्न थाल्यो । मलाई त्यस बेला लाग्यो, धरतीमा चिरा पार्न पो भुइँचालो आउनुपर्छ । ढुङ्गामा प्वाल पार्न पो छिनो र सम्बल चाहिन्छ । हृदयमा चिरा पार्न छोरोका सजल नयनभन्दा शक्तिशाली अरू के हुन्छ र? मुटुमा प्वाल पार्न सन्तानका करुण अनुहार र मौन आर्तनादभन्दा बलवान् अरू के हुन्छ र?

— यस मुद्दाको फौसलापछि तपाईंहरू जोकोही एउटा न एउटा पक्षमा अवश्य ताली बजाउनेहरू हुनुहुन्छ । यस इजलासमा हामी तीनवटा मात्रै यस्ता अभागा सन्तान छौँ महोदय, जो यस मुद्दाको कुनै पनि पक्षमा ताली बजाउन सक्दैनौँ ।

५. कथामा अन्तरपाठीय सम्बन्ध छ । ‘आमको काख’ मा बेपत्ता भएकी आमाको प्रसङ्ग ‘दाजीको दु:ख’ मा पनि आउँछ । उही कार्यपीठिका दोहोरिन्छ । नन्नी, रामनाथ, जेठा मामा, जय, विजय, टिपुरा कन्सी, लाहुरेनी आमै, नौलाघरी काका जस्ता पात्र धेरै कथामा आउँछन् । यसले यी कथालाई ‘व्यूहकथा’ बनाएको छ, र यसले कथा सङ्ग्रहलाई औपन्यासिकता प्रदान गरेको छ । ‘बौजूको बात’ कथामा रामायणका पात्रका नाम र रामायणको मूल कथासँग तादम्य राख्ने प्लट निर्माण गरिएको छ । यो आफैँमा नवीन, सिर्जनात्मक र प्रयोगशील पक्ष हो ।

६. कथामा धेरै ट्रेजिक मोडहरू छन्, जसलाई विडम्बनापूर्ण यथार्थहरूले जन्माएको छ । यस्तोमा, ती निरीह पात्रहरूमा पाठकले आफैँलाई पाउनु स्वाभाविकै हो । उदाहरण—

क. ‘आमाको काख’ कथामा आमाकै कथा लेख्न छोराले घर छोड्यो । तर यता आमाले नै गृहत्याग गरिदिनुभयो ।

ख. ‘साथीको सम्झना’ कथामा — चैतको महिना चट्याङ परेर (शरदका) बाआमा एकैसाथ ठहरै परेको दिन ‘हामी’ कुखुराको चल्ला पोलेर खाँदै थियौँ ।

ग. उहिले बाबा छँदै थिए, फुपूको मुख किन हेर्नु? अहिले बाबाको सौंराइले व्याकुल छु । तर फुपू छैनन् । कसको मुख हेर्नु?

घ. उस बेला (श्रीमतीलाई) दिल्लीबाट घर ल्याएको थिएँ, जुन बेला घर ल्याउनु थिएन उपचार गर्नु थियो । यस बेला उपचार गर्नु थिएन, घर लैजानु थियो । तर अब घर थिएन । कहाँ लैजानु?

भाग २: सीमा काण्ड

१. ‘बाबाको माया’ मा मपात्रको सुत्ने कोठामा ‘सबै भगवानका फोटा’ टाँसिएका थिए ।’ तेत्तीस कोटिकै? अन्य धर्मका पनि कति भगवान् छन् । ‘सबै’ भनेपछि त, आत्तिएँ नि । कस्सम ।

२. यो कथा छोरा र आमाको मायामै केन्द्रित छ । तर एक ठाउँ छोरो भन्छ, ‘आमाका उदासी अनुहारमा विषादका कति रेखा थिए? मनमा कति अवसाद र छटपटी थियो? त्योसँग मलाई के मतलब?’ हैट । कसरी आमा बालमतलबमा पर्न सक्छिन् एउटा अबोध बालकको? ऊसँग अन्य जिज्ञासा होलान्, मान्छौँ । तर, आमा ‘के मतलब’ को विषय हुँदिनन् । हुनु हुन्न पनि ।

३. बालक मपात्रको बालकै साथी छ, दले । भन्छ, ‘ऊ देखिस्, कत्रा छन् मेरा बाका जुँगा? छोरा मान्छेका जुँगा तेत्रै हुनुपर्छ, बुझिस्?’ एउटा अबोध बालक, कसरी यस्तो पुरुषवादी? लैङ्गिक विभेदको यो पुट त्यस शिशुमा । पात्र, पात्रता र संवादमा पनि ‘आवश्यकता’ र ‘स्वाभाविकता’ का सिद्धान्त आकर्षित हुन्छन् । भर्सिमिलिच्युड भन्छन् क्यार । हैट, सिद्धान्तको नकुरा अरम ।

४. बूढी, अबोध गाउँले आमा ‘बाबाको माया’ शीर्षकको कथामा भन्छिन्— ‘जसका लागि पलपलमा जिन्दगी तड्पिरहन्छ । जसको यादमा मुटु जलिरहन्छ । जसको अभावमा हृदय पानीबिनाको माछाझैँ छटपटाइरहन्छ, उही मान्छेको न फोटो, न सपना, न बिपना ।’ हैट, दार्शनिकको हंस कसरी पस्यो अनपढ, गाउँले बूढीमा? जीवनमा कहिल्यै नदेखेका बा घर आउँदा अबोध छोरालाई उनी ‘भर्खरै जेलबाट भागेर आएको कैदी जस्ता हतभागी’ लागे । त्यो बोलकलाई यस्तो तुलना कसरी आयो? एकछिन् अगाडि यस्तो हतभागी, भगौडा कैदीजस्ता लागेका बा, एकै छिनपछि ‘एकदम शान्त, सौम्य र सुकोमल’ लागिहाले । ‘देख्दैमा साह्रै मायालाग्दो अनुहार’ भयो उनको, जुन एकैछिन अगाडि ‘निन्याउरो’ थियो, जसमा थिए कलेटी परेका ओठ ।

५. त्यही केटो भन्छ, ‘बाबा गाउँलेहरूको बीचमै बसेर सिद्धान्तका कुरा गरिरहनुभएको थियो ।’ ती ‘सिद्धान्तका कुरा’ हुन् भन्ने कुरा उसले ठम्याएकोमा मचाहिँ साह्रै आश्चर्यचकित छु ।

६. बिधवा भएकी आमाका बारेमा लाहुरेनी आमै बालकलाई भन्छिन्, ‘तोरी आमाका खाने–लाउने दिन गए अब ।’ हैट, खान–लाउनै पो नपाइने?

७. ‘पछि पछि त पानी पनि यति स्वादिलो लाग्न थाल्यो कि खानाको स्वादै बिर्सइयो ।’ यसमा चैँ टिप्पणी गरिनँ, ल?

८. ‘बाबाको माया’ कथाका बाबा, आफ्नो अबोध छोरालाई भन्छन्, ‘छोरा मान्छेको जातले स्यानो मन गरेको स्वाउँदैन । छोरा मान्छेले त सध्धैँ चौडा छाती अर्नुपर्छ, बुझिस्?’ यिनले छोरालाई कस्तो लैङ्गिक आचरण सिकाइरहेका छन्? यस्ता हरफ पढिरहँदा महिला पाठकले, अथवा सचेत पुरुष पाठकले के सोच्लान्?

९. ‘राजनीतिमा छल, कपट र धुत्र्याइँ घुस्यो ।’ यानि, यसअघि थिएन । सोच्छु— कहिलेचाहिँ थिएन र?

१०. ‘आखिर मान्छे भन्नु छातीमा चल्ने एउटा सास न हो ।’ सोच्छु— कुखुरो पनि त्यही न हो । होइन र?

११. ‘सम्बन्ध भन्नु भावनाको एउटा कडी न हो, जोडिएपछि मन–मुटुमा लेखिइजान्छ ।’ तर नि, कति सम्बन्ध यस्ता हुन्छन् जो टुट्छन्, फुट्छन्, मेटिन्छन् । यानि, मन–मुटुमा लेखिँदैनन् । होइन र?

१२. केवल चोर औँला चुसाएर दाइचाहिँले कलिली बहिनीलाई धेरै दिन बचायो । जादु ।

१३. खेल्दा, बहिनीले ढुङ्गाका बाआमा बनाई । ढुङ्गाका छोराछोरी बनाई । ढुङ्गाको देवीथान बनाई । ढुङ्गाका देवता बनाई । यो त सजिलै मानिहालौँ हामी पाठकले । तर ‘ढुङ्गाकै मन बनाई ।’ हैट, मन पनि ढुङ्गाको?

१४. ‘भदौरे भेल’ आएका बेला पनि केटाकेटी खोलामा पौडिन गए । बहिनी बगायो । भेल थाहा पाई पाई जान दिए होलान् र अभिभावकले? त्यो पनि, एउटीलाई होइन, धेरैलाई? बच्चैले पनि थाहा पाउनुपर्ने भेलको कुरा त नि? पौडी खेल्न सक्ने उमेर जो छ ।

१५. बहिनीलाई खुवाउन केही थिएन । दाइले औँलो चुसाएर बचायो । तर पनि बहिनी भेलमा डुबेर मरी । पछि दाइ अलि ठूलो भएपछि ‘पढाउनलाई बाबासँग पैसाको कमी थिएन ।’ घर कस्तो भने— घरमा गाडी, मोटरहरू थिए । नोकर, चाकरहरू थिए । धन–सम्पत्ति थियो । लुगाकपडाको कमी थिएन । खाने कुराको कमी थिएन । पूरै मिसम्याच । अस्वाभाविक ।

१६. ‘चल्न थालेको धीमा सास…’ । माने, अघि रोकिएको थियो र?

१७. ‘आफ्ना असहाय आँखा बूढाले.त्यसरी नै मतिर सोझ्याए, जसरी हेर्छन् बिरामी बा, ओछ्यानबाट परदेशी छोरालाई ।’ अब, ओछ्यानबाट परदेशी छोरालाई कसरी हुर्नु? ऊ त परदेशमा छ । घरै आएको भए त एउटा कुरा । कल्पना मात्रै गरेको भए पनि अर्को झनै सुन्दर कुरा । तर यहाँ त हेरिसके बाले ।

१८. आज आमाको किड्नी मिल्छ भन्ने थाहा भयो । भोलि ट्रन्स्प्लान्ट । हैट । यो प्रक्रिया चकित्सा शास्त्रअनुसार बुझौँ । बीचमा धेरै जाँच हुन्छन् । अनेक प्रक्रिया । कति छिटो?

१९. मान्छेकै बस्तीमा बच्चाहरू फूल, पुलती, चरा र हाँससँग खेले । यो पत्याइयो । ती मृगशावकहरूसँग पनि ‘हरेक दिन’ खेले । यो कठिन भयो कुरो ।

२०. ठूलो भीडबाट एउटा जोगीले कसैको बच्चा टिप्यो, लग्यो । कसैले देखेन होला? रोकेन होला? पुलिस थिएन? बालक रोएन? रोएको थाहा पाउँदा जनमानस जागेन? खै, बुझिएन ।

भाग ३: उद्भ्रान्त काण्ड

अचेल कुरा अलि कम बुझ्छु । दिमागमा प्रश्न आइहाल्छन् । थाम्नै सक्दिनँ ।

१. ‘समर्पण’बाटै सुरू । रामलालले बाआमालाई ‘बालकको तोतेबोली’ समर्पण गरेको बताएका छन् । यानि, उनले पाठकलाई धेरै गम्भीर वा परिपक्व कुराको आस नगर्नू भन्ने कुराको सङ्केत गरेका हुन् ? हामीले बढी आस गर्‍यौँ ? आफैँलाई धिक्कार ।

२. आमुखमा लेख्छन्, ‘बाबा विश्वासका देवता, आमा यथार्थकी देवी’ । ‘मेरो दृष्टिमा’ भनेर थपेका भए मैले बुझिहाल्थेँ । तर, यसलाई एउटा सार्विक सत्यको रूपमा राखे । कसैले च्यालेन्ज नै गर्‍यो भने म देखाऊँला— बा पनि जिउँदै, आमा पनि जिउँदै, तर बाले पनि फालेका, आमाले पनि फालेका बच्चा म चिन्छु । तिनका अगाडि यो सूक्ति वाचन गरौँ न एकचोटि । अगाडि भन्छन्, ‘बाबा आकाश हुन्…आमा धरती ।’ बाबा सधैँ माथिल्लो, आमा धरातलको । प्रथमत: यो एउटा क्लिसे हो । दोस्रो, यो विभेदकारी चिन्तन पनि हो । हामीले अब त, आमालाई आकाश, र बाबालाई धरती भन्ने पनि आँट गरे हुँदैन र? प्रश्न नि । फेरि भन्छन्, ‘धरती विश्वासमा अडेको छ ।’ अनेक कोणबाट सोचेँ, बुझिनँ । मेरो दिमाग काइते छ । अलि तल भने— ‘यी लेखिएका कथा होइनन्, भोगिएका कथा हुन् ।’ उसो भए संस्मरण वा जीवनी भनेर पढ्नु कि क्या हो? तर, पछाडिको गाताको भित्री पानामा भनिएको छ, ‘बाआमा उनको सृजनात्मक आख्यान हो ।’ ‘भोगिएका कथा’ कसरी ‘सृजनात्मक आख्यान’ भए? फेरि, आख्यान भनेपछि ‘सृजनात्मक’ भनिरहनु पर्छ र? अ–सिर्जनात्मक आख्यान चाहिँ कस्तो हुन्छ? प्रश्न त हो नि । उत्तर पो क्या हो, कसो हो ।

३. गाउँका निर्दोष, अनपढ वा गरिब पात्र छन् सङ्ग्रहभरि । तिनको बोली नै गाउँले । तिनको बौद्धिक स्तर त्यसै बुझिन्छ । तर बेलाबेला देउता आउँछ कि रामलालजीको लेखकीय हंस पस्छ, ती दार्शनिक वा उच्च साहित्यिकरले जस्तो बोल्छन् । बालपात्रमा पनि त्यही । ‘बाबाको माया’ को बालपात्र भगवानलाई प्रार्थनमा भन्छ, ‘मेरो भगवान्, मलाई यो बन्धन चुँडाल्ने शक्ति देऊ । संसारमा धर्मले हार्‍यो, भगवान् । मानवता पराजित भयो । पापले जित्यो, प्रभु । मलाई बन्धन चुँडाल्ने शक्ति देऊ ।’ हैट, यदा यदा हि धर्मस्य….! लेखक रामलालको आत्मा यता पस्यो । ‘बौजूको बात’ कथामा चिठी पनि पढ्न नजान्ने पात्र छिन् जुना बौजू । लेख्न पनि नजान्ने जुना बौजूको भाषण सुनियो भने अचम्ममा परिन्छ । नमुना यहाँ छ: ‘वसन्तको मौसम चलिरहेथ्यो । रुखमा नयाँ पालुवाहरूको सुवास थियो, फूलमा भँवराहरूको भुनभुन । चराहरूको उस्तै कलरव सुनिन थाल्यो, कोइलीको कुहुकुहु उस्तै । खङ्ग्रङ्ग भएको आरूको रुख हराभरा भएर झाङ्गियो । काभ्रेका हाँगा फुलेल भएर महकिन थाले । रानीवन हरियालीमय भएर बतास सुसेल्न थाल्यो…मनको अतल गहिराइमा डुुबेका कुरा सपना बनी प्रकट हुँदा रहेछन् ।’ हैट । ‘लेखिएको कथा’ मा अनपढ पात्र भन्छ, ‘दु:ख गरे सुख पाइन्छ भन्ने कुरा प्रकृतिको विधानमै छ । सङ्घर्ष गरे सफलता पाइन्छ भन्ने यथार्थ पनि शास्त्रमै उल्लेख गरिएको कुरा होे ।’ हैट, उसलाई शास्त्र पनि थाहा छ ।

४. अधिकांश कथाका मुख्य पात्रहरू भाग्यवादी वा नियतिवादी छन् । ‘बाबाको माया’ कथाकी आमा भन्छिन्, ‘आफ्नै भगमानको भरोसामा बस्याकी छु ।’ ‘दाजीको दु:ख’ मा योगी भन्छन्, ‘तर भाइ, मान्छे नियतिको पुतली रहेछ, जो आफ्नै खुशीले उड्न सक्दैन ।’ अगाडि भन्छन्, ‘नियतिका अगाडि जस्तोसुकै स्वाभिमानी शिर पनि झुक्दो रहेछ ।’ ‘बौजूका बात’ मा मपात्र भन्छ, ‘मैले नियतिलाई सम्झन थालेँ ।’ अलिपछि जूना बौजू भन्छिन्, ‘के भनूँ, गोसी? सब भगमानको लीला हो । मान्छेको हातमा केई छैन । सोचेर पनि केई नहुँदो रैछ ।’ करिब करिब सबैजसो पाठका प्रमुख पात्रहरू घोर भाग्यवादी र नियतिवादी छन् । यस्तोमा, उनीहरू दु:खमा जाक्किनु स्वाभाविकै हो । र पाठकले पाउने सन्देश, कुनै बलियो सन्देश वा नवीन दृष्टि हुँदैन । नियतिवादभन्दा पुरानो त सायदै कुनै जीवन–दर्शन होला । यी कथाका ‘दृष्टि’ पक्षमा खोइ त समकालीनता, उसो भए?

५. आख्यानमा एउटा ‘स्पोइलर एलर्ट’ भन्ने कुरा हुन्छ । सो के भने, अगाडि के आउँदैछ भनेर पाठकलाई अनुमान लगाउन सजिलो पार्दिने भूल । ‘बाआमा’ भित्रका कथामा धेरै छन् यस्ता । यस्ताले कौतूहलतालाई कायम राख्दैन, फुस्काइदिइहाल्छ । ‘प्रिय मन! मुटुमा चिराचिरा पारेर लेखिएको छ, त्यो रातको कथा—’ भन्दिएपछि बुझ्यौँ — अब दु:ख पर्‍यो । ‘दैवले पर्दा उठाउनु त थियो नि’ भनेपछि त झनै प्रस्ट भयौँ । तयारै भइहाल्यौँ हामी । तयारै भएकाले दु:खको कथा पढ्नु कुन उत्सुकताको कुरा भयो त? पहिल्यै छोरो जन्मन्छ वा छोरी भन्ने थाहा भएजस्तै हो यो । अर्को कथामा नवजात शिशुको च्यहाँ सुन्नासाथ बाबाले अँध्यारो मुख लाउनुभयो । पतृसत्तात्मक सोच भएको बाबुको हाउभाउबाट हामी पाठकले थाहा पाइहाल्यौँ नि छोरी जन्मिछ भनेर । खोई त क्युरियोसिटी बाँकी? अनि कि, छोरी जन्मँदा यसरी अँध्यारो मुख लाउने तिनै बाबा, अलि पछि, छोरीलाई खोलाले बगाउँदा ‘लासलाई अँगालो हालेर रुनुभयो । दायाँ हातले निधार ठोक्नुभयो । रुँदैरुँदै काखमा बोकेर लैजानुभयो ।’ परिवर्तन, नाकटीय छ नि ।

६. दु:खी पात्रहरू आफैँ ‘कठैबरा मेरो जिन्दगी । कठैबरा, मेरो दशा । कठैबरा, मेरो जुनी,’ भन्दिन्छन् । उनका वरिपरिका घटना पढेर पाठकले पो निकाल्नुपर्ने यो निचोड । अब यहाँ पाठकको काम रुनुमात्रै भयो । अङ्ग्रेजीमा भन्छन्— शो, डु नोट टेल । यहाँ छ— टेल, टेल, टेल । यु मे ओर मे नोट शो । ‘कठै मेरो चाहना । कठै मेरो कामना’ भन्दिएपछि कथा ‘प्रेडिक्टेबल’ होइदिन्छ । यो कमजोर आख्यानशिल्पको नमुना हो ।

७. ‘आमाको काख’ कथामा बाबाको मृत्यु हुन्छ । अनि बालक मपात्र भन्छ, ‘कठै, के भनूँ । बाबाको अवसानपछि आमाको चोला उस्तै कहाँ रह्यो र ?’ यसपछि, अब केके हुन्छ भनेर मलाई सोध्नु हो र १०० नम्बर पूर्णङ्क दिन्छु भन्नु हो भने, ८० ल्याइन्छ । गाउँमा, लोग्ने मरेकी विधवा आमाको अवस्था के हुन्छ, यो पाठकले खररर भन्दिन्छन् । यहाँ कथालाई लम्याएर पाना भर्नु पर्ने नै थिएन । पाठकलाई विश्वास गरौँ ।

८. ‘आमाको काख’ कथामा आमाले विधवाको पहिरन लगाएको बालकलाई मन परेन । स्वाभाविकै हो । आमा निदाएको मौका पारेर बालक भित्र जान्छ, बाकस खोल्छ । रातो साडी, रातै चोलो, राता फुर्का भएको डोरी, रातै रिबन, राता चुरा र झुम्का, रातो टीका र चाँदीका पायल झिक्छ । सरासर आमाको नजिक जान्छ । ओके । अब एक एक गरेर लाइदिन्छ, निदाएकी आमालाई । अनि कि, कपाल मुसार्द आमा पनि उठिनन् । चुल्ठो बाटिदिँदा पनि उठिनन् । रिबन बाँध्दा पनि । गालामा सुस्तरी पाउडर र लाली दलिदिँदा पनि । (सासै फेर्न पनि बिर्सियो बालकले, यहाँनिर । तर मरेन ।) खुट्टामा पाउजु बाँधिदियो, उठिनन् । हातमा ठूलठूला चुरा लाइदियो । उठिनन् । कानमा झुम्का र घाँटीमा बेरौटो बाँधिदियो, उठिनन् । माथिल्लो आङ रातो चोलोले र तल्लो आङ साडीले छोपिदियो, उठिनन् । हात र खुट्टाका नङमा पालिस लाइदियो, उठिनन् । आँखाका परेलीमा हल्का गाजल घसिदियो, चौडा निधारको बीचमा लालबन्दी टाँसिदियो । उठिनन् । हैट, निदाएकी कि कोमामा गएकी ? तर, निक्कै तल गएर ‘दुईचोटि हाई काढेपछि’ आमा उठिन् । कस्तो खाले निद्रा, आमाको ? बुझिनँ ।

बाबाले यत्तिका लुगाफाटा र गरगहना छोडिदिएका रहेछन् । यानि, घर त सम्पन्नै पो देखियो त । तर, केही दिनमै ‘डेक्चीमा हेर्दा भातको सितै हुँदैनथ्यो’ भन्ने दिन आइहाले । तर, फेरि अलि तल, दशैँमा, छिमेकका बच्चा नन्नी र दलेले नयाँ लुगा लाएको देखेको बालक दु:खी भयो । स्वाभाविक । अनि, दोस्रो दिन नै आमाले द्वारीगडाको दोकानबाट नयाँ लुगा ल्याइदिनुभयो । हैट, तिलस्मी आमा । पैसा त रहेछन् त ! कस्ती आमा भने, छिमेकीका बच्चाको नयाँ लुगा देखेर दु:खी हुने उमेरको बच्चोलाई लामो बाटो बोकेर पनि हिँड्न सक्ने । कस्तो भने, बालककै शब्दमा सुनौँ— ‘हिँड्दाहिँड्दै थकान र भोकले म यति व्याकुल भएँ कि कहाँ पुगेर निदाएँ, होस रहेन । दोस्रो बिहान ब्युँझँदा मैले आफ्नै कोठामा आमाको काखमा सुतेको पाएँ ।’ आधा बाटोबाट रातभरि बोकेर आमाले कोठैमा ल्याइपुर्‍याइन् । साथमा झोला पनि थियो । झोलमा एउटा हँसिया, एउटा बन्चरो, एउटा डेक्ची, एउटा अम्खोरा, दुई बट्टा सलाई, र अरू सामान पनि थिए । सकिन्छ त ?

९. धनगढीमा मन्त्रालय, संसद आदि आइसकेको समय हो । ‘आधुनिक क्लिायेपेट्रहरू’ ले सहर भरेको समय हो । यानि अचेलको समय । यस्तो समयमा पनि बच्चालाई हैजाबाट बचाउन बाआमाले अनकान्टारको गुफामा लगे, र ‘धेरै दिनपछि’ घर फर्काए । यो जमाना बच्चालाई लिएर धेरैदिन गुफा बस्ने समय हो र भन्या ? हुन त मलाई त्यताको भूगोल नबुझेको भएर पत्यार नगालेको पनि हुन सक्छ है । माफ मागेँ ।

१०. निकै दु:ख गरेर एउटी विधवा आमाले छोरालाई पढ्न काठमाडौँ पठाइन् । महान् आमा । तर छोरो एक्ली, विधवा आमा भेट्न ३२ वर्षमा एकचोटि पनि गएन । बिहे गर्‍यो, छोराछोरी जन्मे । अहँ, न बिहेमा खबर गर्‍यो, न सुत्केरोमा । सुतक बार्नूसम्म भनेन । बिहेमा पनि बोलाएन । कि छोरो नै निठुरी, कि रामलाल निठुरी । ठम्याऔँ न । ३२ वर्षपछि धनगढी गयो, ‘गगनचुम्बी’ महल बनायो । डोटीबाट आमा ल्यायो । आमाको शरीरमा जादु जसरी फेरि रगत भरियो, ओठमा हाँसो । अलिपछि आमा २० दिनका लागि गाउँको घर जानुभयो । म भए, २१ दिन, २२ दिन वा २३ दिन पर्खन्थेँ । २४ दिनमा त फोन गर्थें गर्थें वा खोज्न हिँड्थेँ । आखिर, गाउँमा दलेको फोन थियो नै । तर यहाँ २० हप्ता, यानि १४० दिन हुँदा पनि पात्रले आमालाई फोन गरेन । हैट । बीस हप्तापछि दलेले फोन गरेर आमा बिरामी भएको सुनायो । अनि मात्र गयो । ल्यायो । शरीरका रोगको उपचार गर्‍यो । गुड बोय । अलिपछि आमालाई मानसिक रोग लाग्यो । पागलै हुनुभयो । खुट्टाभरि गुहु दलेर भित्र पस्न थाल्नुभयो । तर अहँ, एकचोटि पनि मनासिक अस्पताल लगेन । मनोपरामर्श दाताको दैलो ढक्ढक्याएन । दबाई ल्याएन । बरू भन्यो— अब त आमा गइदिए पनि हुन्थ्यो । मैले कथा बिग्रिएको ठहर गरेँ ।

११. पागल आमा भन्छिन्, ‘ठूला किताब लेखेर क्यार्नु ? ठूला कुरा गरेर क्यार्नु ? ठूला कुरा त सबैले गर्छन् । सबैले लेख्छन् । तँ साना कुरा लेख् । तर मनका कुरा लेख् ।’ हैट, पागल दार्शनिक । समालोचक पनि, आमा ।

१२. ‘आमाको काख हुँदा संसार परिपूर्ण र भरिपूर्ण लाग्दो रहेछ । अनि यस बेला ? यानि, आमा नभएको बेला ? यसपछिको त पाठकले खरर आफैँ भन्छन् नि । अनुमान लाउँछन् । अर्को कुरा, ३२ वर्षमा आमा सम्झेर घर नगएको पात्र, आमा हराउँदा भन्छ, ‘सबै चीज त छ, तर आमाको काख छैन । आमाको काख छैन । र त लाग्छ, केही छैन मसँग ।’ परिवर्तन अकल्पनीय छ नि ? फेरि भन्छ, ‘तर मसँग अब रुने त्यो आँगन छैन ।’ म भन्छु— आँगन त छ, छ ।

१३. सौतेनी आमा क्रूर हुन्छन् भन्ने एउटा मान्यतालाई विश्वभरि समान्यीकृत गरिएको छ । तर यो सार्विक सत्य कुरा होइन । रामलाल जोशीका कथाले पनि त्यही गल्ती गरेको छ । ‘दाजीको दु:ख’मा स्वयंवर योगीकी सौनेती आमाको चित्रण यस्तै छ । यस्तो भूल लेखकहरूले कहिले सच्याउने? आफू कहिले सच्चिने?

१४. ‘दाजीको दु:ख’ कथाको एउटा सार छ — बाले हुर्काएका बच्चा सुष्क हुन्छन्, कठोर हुन्छन् । आमाले हुर्काएका कोमल । यस सारमा लैङ्गिक विभेद लुकेको छ । स्टेरियोटाइप आयो । र यो वैज्ञानिक यथार्थ पनि होइन ।

१५. आफ्नै दुई छोरा बम्बैमा मारिएको खबर सुन्दा, जुना बौजूको प्रतिक्रिया कस्तो हुन्छ समान्यत: ? भक्कानो भुट्दैन ? बोल्न नसक्ने हुन्नन् ? यहाँ त यसो भन्न थालिन् सुनिसक्दा — ‘ओ मेरो भगमान्, के सुन्नु पर्‍यो यो ? सुन्नभन्दा पहिल्यै यी कान किन फुटेनन् हँ ? म किन अन्धी भइनँ ? आफ्नै प्राणको चिताभित्र जलीजली मर्नलाई म किन बाँचे ?’

१६. कथामा टेक्ने–समाउने ठाउँ मुगाएका पात्रहरू जोगी बनेका छन्, जोगिनी बनेका छन्, मठ–मन्दिरमा बस्छन्, ध्यान गर्छन् । यानि, अध्यात्मकको बाटो भन्नु भगौडा सांसारिकले पलायन गर्ने बाटो हो । यही हो र ? अर्काथरि पात्र, एकछिन भेटेर केकसो भनेर सोध्ने नयाँ, अज्ञात पात्रलाई जीनवको इतिवृत्तान्त सुनाउन थालिहाल्छन् । कथावाचनको कुनै नयाँ शैली अविष्कार गर्नु वाञ्छनीय भइसक्यो ।

१७. शास्त्र पढायो, द्रव्य चढायो । कुटिल ओठमा बाहुन मुस्कुरायो… बाहुनका प्रफुल्ल ओठमा आएर उसका बाआमा मुस्कुराएका हुन् । लोभी र कुटिल आँखामा आएर पितृहरू सन्तुष्ट भएका हुन् । हैट । समय पढौँ । समाज बुझौँ । पुराना स्टेरियोटाइपको नयाँ अविष्कार किन गर्ने ? नभए, श्राद्ध आफैँ पढौँ, आफैँ गरौँ–गराऔँ । अब यहाँ कसैले भन्ला, यो महेशे आफू बाहुन पर्‍यो, र यसो भन्यो । आ, भनून् न ।

१८. ‘बा, कहाँबाट आउनुभएको ? घर कहाँ हो ? कहाँ जानु छ ?’ बूढाले एकछिन निर्मिमेष हेरे । आँसुढल उनका आँखा क्षणभरमै पोखरीजस्ता भए ।’ — अनि कि, रामलालजीका अधिकांश पात्र यस्ता छन्, जो रोइहाल्छन् । आँसुकै पोखरी । ‘सजल नयन’ त कति कति । ‘साथीको सम्झना’ कथामा पनि ‘घर कहाँ हो नि?’ भनेर कुनै अनजानले सोध्दा बूढो गाइनेले ‘कठै कहाँ भनम् हजुर’ भनिसक्दा ‘बाहुलाले आँसु र निधारका पसिना पुछ्यो ।’ ‘गुरुको साथ’ कथाका महेश्वर गुरु त पात्रको अभिनन्दन कार्यक्रमको पूर्ण अवधिभर खुसीका आँसु खसाएर रोइ नै रहे । कति रामो समय रोएका ? खुसी आँसु त बरर खस्छन्, सकिन्छन् नि । नपत्याए पढौँ— ‘एक जना वयोवृद्ध सज्जन दर्शकदीर्घाको अग्रभागमा बसेका । गालामा हात लाएर धरधरी रोइरहेका ।’ यो कार्यक्रमको सुरूको कुरा । यो रुवाइ अन्त्यसम्मै कायम छ कथामा । अन्त्यमा भनियो, ‘ती सज्जन जहाँ गालामा हात लाएर धुरुधुरु रुँदै थिए, त्यहीं टुलुटुलु मलाई हेरिरहेका थिए । अझ तल, ‘आँखा पूर्णकलशझैँ भरिएका थिए, आँसु थिए कलशको पानीझैँ छचल्किएका ।’ साह्रै अस्वाभाविक ।

१९. क्यान्सर उपचार हुन नसक्ने मोडमा पुग्यो बूढीको । अस्पतालले बिदा दियो । यानि, अब कुनै पनि दिन बूढी मर्छिन् । कति गलेकी छिन्, अनुमान गर्नुस् । ती बूढी, चितवनबाट बूढासहित हिँड्दै कता कता पुगिन् । जहाँ रात पर्‍यो, त्यही बास । कति दिन गुम्बामा, कति दिन जोगीका कुटीमा । डुल्दैडुल्दै आखिर एक दिन आफ्नै जन्मभूमि पुगे । यानि, चितवनबाट हिँड्दै डुल्दै सायद डोटी । अस्पतालले बिदा दिएको क्यान्सरको बिरामी । यसरी हिँड्छ ? ओछ्यान पो पर्छ । धेरै महिनापछि मरिन् । पत्याउन सकिँदैन । कि यसलाई तिलस्मी कथा भनेर पढ्नुपर्छ । नत्र त गाह्रै छ ।

२०. बूढा पनि राजी । बढी पनि राजी । अब डिभोर्स केसमा अदालतले बहस गराउनुपर्छ ? प्लस, कोर्टमा अनधिकृत साक्षीले बम लिएर प्रवेश गर्ने, भाषण गर्ने, र फैसला बदल्न बाध्य पार्ने । ‘नलेखिएको बयान’ कथाको सन्देश उत्कृष्ट छ । तर बुनोट, भएन । न्यायाधीशलाई ‘न्यायमूर्तिज्यू’ भन्ने पनि अदालती व्यवहारको भाषा भएन, यद्यपि यो माइनर कुरा भइगयो । कथामा छोरी कलिलै हुँदा बा विदेश गए । तर छोरीलाई बाका सबै स्वभाव थाहा छन् । कसरी ?

२१. शिष्य ठूलो कवि होस् भन्ने हेतुले गुरु महेश्वर शर्माले कहिले माधव घिमिरेका, कहिले लेखनाथका त कहिले देवकोटाका कविता वाचन गरेर सुनाए, र आफैँले लेखेको भनेर दावी गरे । पछि कुरा थाहा भयो । त्यस बेला आफ्नो बचाउमा गुरुले भने, ‘खास कुरा यो थियो कि पाठमा पढेको पात्रको अनुकरण बालकले गर्दैन । आफ्ना परिवारका बढाले अथवा गुरुले जे गर्‍यो, बालकले त्यही गर्न चाहन्छ ।’ अनि कि, अर्को पाठमा त श्रवणकुमारको कथा सुनेर सब बच्चा श्रवणकुमार बनेका थिए त, रामलालजी ? र नि, अर्काको कविता आफ्नै भनेर पढ्नु, र त्यसबाट विद्यार्थी प्रेरित भएर ठूलो कवि हुनु पनि ठिक बाटो भएन । म आफैँ पनि शिक्षक हुँ । अरूका कविता, कथा, निबन्ध उपन्यास पढाउँछु । मेरा विद्यार्थी, तिनैबाट प्रेरणा लिएर कथा, कविता, उपन्यास लेख्छन् । कथाले गलत सन्देश दियो भने, त्यो गलतै हो ।

२२. बिबिसी बज्यैले त्यो अनकन्टर गाउँमा रेडियोले फुक्नुभन्दा अघि नै सबै समाचार थाहा पाउँछिन् । यो पनि जादुभन्दा कम भएन मेरा लागि । अझै दिमाग टुङ्गोमा आएको छैन ।
अझै पचास बुँदाजति कुरा लेख्न सक्छु यसमा । तर छोडेँ । लामो कसले पढ्ला र ? अँ, ससाना किरिङमिरिङ हटाउने हो भने ‘भेटिएकी देवी’ जस्ता उत्कृष्ट कथा यस सङ्ग्रहका गहना हुन् । यस कथाले देउकीको नियति कारुणिक ढङ्गमा प्रस्तुत गरेको छ । ‘छाडिएका भगवान्’मा सङ्केत गरिएको जस्तो युवा पलायन नेपालमा जरुर छ, तर त्यो हदको छैन । कथा अतिशयोक्तिमा भास्सिएको छ । वास्तवमा यो कथा नभएर एउटा डोक्युमेन्ट्री जस्तो भयो । ‘छोराको सपना’ चैँ निबन्धको निकट छ । कथातत्व छैनन् । छोराको प्रतीक्षामा रहेका दम्पत्तिको मनोविज्ञान शीर्षक दिनु हो भने पाठकले यस कथाको अधिकांश कुरा लेखिदिन्छन् । ‘छोरीको रात’को अधिकांश अंश निबन्ध ।

म लेखकलाई के भनूँ ? प्रकाशकलाई ? दुवैलाई बधाई । तर धेरै हतारो भयो । धेरै असंवेदनशीलता छ कथामा, जसलाई हटाउन सक्नुहुन्थ्यो । सामान्य गाउँले पात्रका मुखमा कस्ता संवाद सुहाउँछ ? बालपात्र कसरी व्यवहार गर्छन् ? गाउँमा के सुहाउँछ, के सुहाउँदैन ? कुन मोडमा पात्रहरूको व्यवहार कस्तो हुन्छ ? स्वाभाविक र यथार्थवादी मोडमा पात्रहरू किन नाटकका पात्रले जस्तो बोल्छन्, र दोबाटोमा भेटेका दुई गाउँले जस्तो बोल्दैनन् ।

आलोचक–समालोचक को मारो गोली । आफ्नो विरासत बचाउनुहोस् । म जस्ता काइते आत्मा आफैँ चुप लाग्छन् ।

नेपाली आख्यान सङ्कटमा छ । कृपया बचाउनूस् । करुणा र बौद्धिकताको सम्यक सन्तुलन बनाऔँ । कथाको सन्देश पक्षको पनि अर्थ हुन्छ, सोचौँ । मूल्यविधान वा मान्यतामा आफ्नो कित्ता क्लियर गरौँ । डिस्कोर्स अगाडि बढोस्, नरोकियोस् कतै । ओभर–राइटिङ घटाऔँ । पहिल्यै कौतूहलता खुस्काउने प्रसङ्गलाई छोपौँ । आख्यान हो नि त, जसमा पाठकलाई बाँध्ने एउटा ठूलो तन्तु कौतूहलता हो ।

यति भए भगवान्ले हामी सबैको र हाम्रो आख्यानको रक्षा गर्छन् । मैले सजल नयनले यति कुरा भनेँ, लेखेँ ।

माफ पाऊँ ।