निहिता विश्वास, विकिनी किलरका रूपमा प्रख्यात भएका चार्ल्स शोभराजकी प्रेमिकासँगकाे अन्तर्वार्ता, जुन अश्विनी कोइरालाको कृति ‘उनीः नेपाली समाजका विचित्र पात्र’मा सङ्ग्रहित छ ।
===
जेलमै फेला परे त म के गरूँ ? – निहिता विश्वास
प्रेममा मात्रै विश्वास गर्नेहरूका लागि निहिता विश्वास आदर्श हुन सक्छिन् । १२ युवतीको हत्या र प्रशस्त ठगी गरेको आरोप लागेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजसँग एउटी नेपाली किशोरी निहिता विश्वासले जेलबाहिरबाटै प्रेम मात्र गरिनन्, विवाह भएको घोषणासमेत गरिन् । आजभोलि उनी शोभराजको सिन्दुर लगाएर सार्वजनिक कार्यक्रममा प्रस्तुत हुन्छिन् । सन् १९७० तिर भारतमा कार चोरीबाट अपराधको सञ्जालमा प्रवेश गरेका चार्ल्स शोभराज सन् १९७३ मा गहना लुटपाटमा संलग्न भएर जेल परेका थिए । त्यही जेलबाट सुरक्षाकर्मीलाई छक्याएर फरार रहेका शोभराजले आफगानिस्तान, इरान, टर्की, थाइल्याण्ड र हङकङमा समेत अपराध गरेर दर्जनौँ पटक जेल पुगिसकेका छन् । तीन दशकअघि नेपाल आएका बखत दुई विदेशी युवतीको हत्या गरेको अभियोगमा चार्ल्स केही वर्ष यता केन्द्रीय कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । ७० वर्ष पुग्न लागेका ती वृद्ध अपराधीसँग एउटी २१ वर्षे कलकलाउँदी युवती प्रेममा फँसेपछि उनको कथा संसारभर चर्चाको विषय भयो ।
निहिता विश्वास, विकिनी किलरका रूपमा प्रख्यात भएका चार्ल्स शोभराजकी प्रेमिकासँगकाे अन्तर्वार्ता यस्तो छ, जुन अश्विनी कोइरालको कृति ‘उनीः नेपाली समाजका विचित्र पात्र’मा सङ्ग्रहित छ ।
धेरै मानिसहरू एउटा खतरनाक अपराधी र तपाईंजस्ती कलकलाउँदी युवतीबीच प्रेम हुन्छ भन्ने विश्वास नै गर्दैनन्, किन होला ?
जसले समाजले तोकेको नियम हेर्छ, उसले प्रेम गरेको हुँदैन । उसले प्रेमलाई नाफा घाटामा तौलेको हुन्छ । प्रेम अर्कै कुरा हो, समाजमा देखिने प्रेम वा विवाह अर्कै कुरा हो ।
तपाईंको विचारमा प्रेम नै सबैथोक हो, उमेर, जात, अपराध, समाजको चलन केही होइन ?
पहिलो त प्रेम नै हो । जब प्रेम नै छैन भने अरू कुरा मिलेर के हुन्छ, जीवनभर दुःखी हुनुबाहेक । तपाईं जीवनमा सुख चाहनुहन्छ कि दुःखी भएर पनि समाजको नियममा बाँधिन चाहनुहुन्छ, त्यो तपाईंको रोजाइ हो । मैले प्रेम रोजेँ ।
तपाईंले आफूलाई लैला-मजनु, हीर-राँझा, रोमियो-जुलियटजस्तै प्रसिद्ध पात्र बनाउन जीवन दाउमा राख्नु भएको त होइन ?
जतिखेर मैले चार्ल्सलाई भेटेँ, मन पराएँ, त्यो बेला मैले मेरो र उनको खुसी मात्र विचार गरिरहेकी थिएँ । जहाँसम्म रोमियो-जुलियट जस्ता प्रसिद्ध जोडीहरूको कुरा गर्नुभयो, उनीहरूसँग मेरो कुरा मिल्न सक्छ, किनभने मैले पनि प्रेम नै गरेकी हुँ ।
त्यस्तो के विशेषता देख्नुभयो चार्ल्समा ?
के देखिन चार्ल्समा ? उच्च बौद्धिकता देखेँ, हम्बलनेस यति मन पर्यो कि, म सोच्न बाध्य भएँ । आखिर मान्छे यति असल कसरी हुन सक्छ ?
आखिर उमेर पनि त एउटा कुरा हो नि होइन र ?
२५ वर्षे तन्नेरीभन्दा कम फूर्तिला छैनन् शोभराज । बौद्धिक दृष्टिकोणले परिपक्व र मेरो उमेरजस्तै रोमान्टिक । प्रेम थोडा शरीरलाई गर्ने हो र ?
शोभराजको सबैभन्दा राम्रो के लाग्छ ?
आँखा मन पर्छ ।
पहिलो नजरमा प्रेम हुन्छ ?
हुँदो रहेछ ।
शोभराजसँगको पहिलो भेटलाई कसरी लिनुहुन्छ ?
पहिलो नजरमै यो असाधारण खुबी भएको मानिस हो जस्तो लाग्यो । पहिलो भेटमै म उनको हुँ भन्ने फिल भयो । त्यही भेटमा मैले आफ्नो मन दिएँ ।
प्रेम विकसित हुन समय चाहिन्छ, स्थान पनि चाहिन्छ, होइन र ?
प्रत्येक दिन २० मिनेट गफ हुन्थ्यो । त्यतिखेर मलाई आफूले २० वर्षसम्म सिकेका कुराभन्दा यो बीस मिनेट धेरै थाहा पाए झैँ हुन्थ्यो ।
शोभराजसँग जेलमा कसरी भेट भयो ?
उनलाई नेपालको कानुनबारे जान्न एक जना अनुवादक चाहिएको थियो । पत्रिकामा विज्ञापन आएपछि म काम खोज्दै सेन्ट्रल जेल गएकी थिएँ । मेरो ममी पनि वकिल भएकाले पनि नेपालको कानुनसम्बन्धी सहयोग गर्न सक्ने देखेर उनले मलाई काममा राखे । र, यही सिलसिलामा भेट भएको थियो ।
कुन कुराले तान्यो ?
शोभराजमा देखावटीपन छैन । उनी विश्व चर्चित हुन् तर फूर्ति लगाउँदैनन् । उनले धेरै पढेका छन् र संसार बुझेका छन् । मैले जिज्ञासा राख्दै गएँ र उनले भन्दै गए । त्यो धारावाहिक जस्तै प्रत्येक दिन हाम्रो गफ बढ्दै जान्थ्यो र मलाई उनका प्रेममा पर्दै गएको महसुस हुन्थ्यो ।
कसले प्रस्ताव राख्यो ?
शोभराजले नै राख्नुभयो ।
के भन्नुभयो ?
भेटको दुई हप्तापछि उहाँले भन्नुभयो, हामी धेरै नजिक भैसकेका छौँ, के हामी जीवनभरका निम्ति साथी बन्न सक्छौँ ? मैले हुन्छ भनेँ । भोलिपल्ट आमालाई लिएर गएँ । आमासँग २० मिनेट कुराकानी भएपछि उहाँले स्वीकृति दिनुभयो ।
यसरी प्रेम हुन्छ भन्ने मलाई त विश्वास नै लाग्दैन, यो प्रेम नै हो भन्ने विश्वास छ ?
कफी खाँदाखाँदै प्रेम हुन सक्छ भने जेलमा प्रेम किन हुँदैन ? हामीलाई फलामका डन्डीहरूले छेके पनि भावना त त्यसले छेक्न सक्तैन । के पार्कमा भेट्दा प्रेम हुने र जेलमा भेट्दा प्रेम हुँदैन भन्ने छ र ?
कतिले आफूलाई प्रसिद्ध बनाउन प्रेमको नाटक गर्नुभयो भन्छन् नि ?
यो मेरो प्रेमको अपमान हो । जब कोही व्यक्ति समाजको विरुद्ध जान्छ, यस्ता आरोप सुन्नुपर्छ । म यसलाई सुनेको नसुन्यै गर्छु ।
तपाईंहरूबीच विवाह पनि भएको हल्ला छ, साँचो हो ?
दुई बीचको भएको विवाहलाई बाहिर किन हल्ला भनिन्छ मैले बुझ्न सकेको छैन । मैले उहाँको सिन्दुर लगाएको छु, देखिरहनु भएको छैन र ?
न जन्ती, न बाजा, तपाईं त दुलही पनि हुनुभएन, कसरी विवाह भएको मान्ने ?
उहाँ जेलभित्र भएकाले कानुनी रूपमा विवाह गर्न नमिलेर मात्र म दुलही हुन सकिनँ । मैले उहाँलाई श्रीमान् मानेर सिन्दुर लगाएकी छु, उहाँले मेरो औँठी स्वीकार गरेर मलाई श्रीमती मान्नु भएको छ भने पुगेन र ?
तपाईंहरूबीच शारीरिक सम्पर्क पनि भएको छैन क्यारे, कि भयो ?
(लजाउँदै) छैन…।
शारीरिक सम्पर्क बिना विवाह पूर्ण भएको मानिदैन, तपाईं बाहिर चार्ल्स भित्र, कस्तो लाग्छ ?
जीवनमा प्रेम वा विवाहका लागि शारीरिक सम्पर्क आवश्यक छ र ? मलाई त त्यस्तो लाग्दैन । अहिले केही समय बाहिर भयौँ भन्दैमा शारीरिक सम्पर्क नभएकै आधारमा हाम्रो प्रेम र विवाह कमजोर हुन्छ भन्ने मान्दिनँ ।
तपाईं राम्री हुनुहुन्छ, भर्खरै तरुनी हुनुभएको छ । तपाईंले एक से एक युवा केटा पाउनु हुन्थ्यो होइन र ?
त्यही भएर त चार्ल्सलाई पाएँ नि ! म सपनाको राजकुमार सेतो घोडामा आउँछ, कल्पनाको संसारमा पुर्याउँछ भन्ने कुरामा विश्वास गर्दिनँ । गाडीमा, मोटरसाइकलमा अथवा जहाँबाट पनि मेरो राजकुमार आउन सक्थ्यो । जेलबाट आयो त मैले के गर्ने ?
तपाईंहरूको प्रेम र विवाह भएको पनि लामो समय बित्यो, अहिले आएर राम्रो-नराम्रो पनि बुझ्न थाल्नुभयो, कस्तो लागेका छ ?
मानिस जति प्रेममा पर्दै जान्छ, उति नै आनन्द प्राप्त गर्दै जान्छ । मलाई चार्ल्सका बारेमा कसैले नराम्रो भन्यो भने हाँसेर उडाउन मन लाग्छ । त्यस्ता मानिसलाई बिचरा भन्न मन लाग्छ । मानिसलाई के थाहा प्रेमको महानता ? म जुन स्वर्णिम जीवन बाँचिरहेकी छु, त्यसको आनन्द मलाई मात्र थाहा छ । चार्ल्सजस्तो बौद्धिक मानिस एक-दुई मात्र होलान् । उनलाई भेटेर मेरो जीवन धन्य भएको छ ।
फ्रान्समा चार्ल्सीकी ११ वर्षकी छोरी छन्, तपाईं २१ वर्षे युवती, कस्तो लाग्छ ?
सानै उमेरमा आमा भएको अनुभव हुन्छ । उनीसँग म घन्टौँ कुरा गर्छु । उनले मलाई आमाकै व्यवहार गर्छिन्, मलाई साह्रै आनन्द आउँछ ।
भनेपछि चार्ल्स तपाईंका लागि शत प्रतिशत ठीक छन् ?
हो ।
उनका लागि तपाईं नि ?
चार्ल्स निकै बौद्धिक र व्यावहारिक छन् । म कम उमेरकी भएकीले हुनसक्छ, उनीजस्तो हुन सकेकी छैन । म केहीअघि जन्मिएकी भए, ममा पनि उनीजस्तै क्षमता भएको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्छ ।
जिन्दगी प्रेमले मात्र चल्दैन, भविष्यको योजना के छ ?
एउटी श्रीमतीका नाताले उहाँलाई निर्दोष साबित गर्न म जीवनभर लागिरहन्छु । अदालतले एक दिन निर्दोष साबित गर्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । त्यसबेलासम्म म प्रतिक्षा गरेर बसिरहनेछु ।
सधैँभरि अदालत धाएर जीवन चल्छ र ?
पहिलो कर्तब्य त उहाँलाई जेलजीवनबाट मुक्त गर्नु नै हो । त्यसबाहेक उहाँको प्रोडक्सन हाउस छ, फ्रान्समा उहाँका बिजेनस छन्, त्यसमा मेरो केही सहयोग हुन्छ भने गर्छु ।
छोराछोरीको चाहना छैन ?
चार्ल्सलाई छोरी असाध्यै मन पर्छन् । उनका लागि दुई वटी छोरी उपहार दिन चाहन्छु ।
सर्वोच्च अदालतले चार्ल्सलाई जन्मकैदको सजाय सुनाएको छ, कसरी दिनुहुन्छ छोरी ?
उनी निर्दोष छन् भन्ने कुरामा म विश्वस्त छु । एक दिन न एक दिन उनी बाहिर आउँछन् । मेरो प्रेमले उनलाई चाँडै बाहिर निकाल्छ भन्ने लाग्छ ।
(अश्विनी काेइरालाकाे चर्चित पुस्तक “उनी”बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।