१३ वर्षको उमेरमै व्यापारी भए उनी । व्यापारी अर्थात् किराना पसले । शान्त भवन अस्पताल थियो झम्सीखेलमा । अस्पलातको पासमा थियो किराना पसल उनको । कलेजबाट बँचेको बाँकी दिन र सम्पूर्ण रात उनको बित्थ्यो त्यही पसलमा ।

हिरो थिए कलेज जीवनमा । लेख्थे कविता तथा मुक्तक । लेख्न सिकेको थिए छापा अक्षर । हस्ताक्षरको महत्त्व थियो विशेष उनको । अगाडि थिए नाटक लेख्न, खेल्न तथा निर्देशनमा पनि । त्यसैले त, उनी हिरो थिए कलेजमा ।

तर उनी जिरो भइहाल्थे कलेजबाहिरको जीवनमा । पढ्थे पाटन कलेज । साइकलमा चार–पाँचवटा बोरा बाँधेर डोर्याउँदै हुन्थे बिदामा । भेटिन्थे साथीभाइ बाटोमा । केटी साथीहरु भेटिँदा अफ्ठेरो मान्थे विशेषत: । तर विस्तारै त्यसलाई ग्रहण गरे कामको रुपमा । बाध्यतालाई स्वीकार गरे सहजरुपमा ।

बुबा थिए नेसनल ट्रेडिङका सामान्य जागिरे । उहाँकै काँधमा थियो श्रीमती र ५ जना छोराछोरीको दायित्व । साइकलमा बोरा बाँधेर साथीभाइसँग लजाउँदै हिँड्नु बाध्यता थियो हाँस्नेखेल्ने कलिलै उमेरमा ।

शैलीको विशेष महत्त्व हुन्छ सिर्जनामा । मलाई लाग्छ, बुझिसक्नु भयो मेरो सङ्केत ।

बुझ्नु भएन ! अभिवन्द्य क्या !

अझै बुझ्नु भएन ? स्तम्भकार कुरा गर्दैछ श्रीओम श्रेष्ठ ‘रोदन’को । सामूहिक ‘रोदन’को ।

साहित्य तथा पत्रकारिताबाहिरका रोदनका थप कुरो फेरि अर्को बसाइमा गराैंला । सुरुवातको उदेश्य तपाईंलाई केवल ‘रोदन’मार्काको अनुभव दिनुमात्र थियो । यहाँ ‘रोदन’लाई केन्द्रमा राखेर अलिकति साहित्यको, अलिकति पत्रकारिताको, र अलिकति समूहिकताको कुरा गरिनेछ ।

भुलचुक लिने–दिने ।

श्रीओम श्रेष्ठ ‘रोदन’

प्रेमिकाका नाममा पुस्तक:

श्रीओम कलेज जीवनमा हिरो थिए, माथि नै भनिसकिएको छ । उनी प्रेममा थिए, भर्खरै भनियो । यति भनेपछि साहित्य सिर्जनातिर मोडिने बाटो खुल्छ ।

श्रीओमकी प्रेमिकाको उल्लेख बिना उनको साहित्यिक यात्रालाई अगाडि बढाउने नैतिक अधिकार स्तम्भकारलाई छैन ।

श्रीओमले ९ वर्ष प्रेम गरे ।

होइन, गल्ती सुधारेँ । आज पनि उनी प्रेममै छन् । उनकै । बरु यसो भनौं – प्रेमको उमेर ९ वर्षको भएपछि बिहे गरे – २०५३ सालमा ।

अब साहित्यतिर फर्कौं ।

०४५ सालमा कलेज पढ्दापढ्दै श्रीओमले कवितासङ्ग्रह निकाले – ललिता । हालकी श्रीमती अर्थात् त्यसबेलाकी प्रेमिकाका नाममा । चेतन कार्कीको भूमिकासहित । आफ्नो पहिलो कवितासङ्ग्रको ५ सय प्रति निकाल्दा ३५ सय रुपियाँ खर्च भएको ताजै छ सम्झना उनीसँग ।

स्तम्भकार कामना गरिरहेछ – श्रीओमको प्रेम ‘ललिता’सँगै बाँचिरहोस् सधैं–सधैं ।

०४६ सालमा एक सामूहिक रहरले पकड्यो रोदनलाई । सात जना कविको सात–सातवटा कविता राखेर सङ्ग्रह निकाल्ने, सातै जनालाई भूमिका लेखाउने । सङ्ग्रहित कविहरूमा मदन नेप्चुङ, विकास अमात्य, स्व. बालमुकुन्द खनाल, वैकुण्ठ विष्ट, वाशुदेवमणि अधिकारी र रोदन रहे ।

कविताहरू फाट्फुट लेख्ने गरेका रोदनको गहिरो परिचय भने थिएन साहित्य वृत्तमा । रोदन सम्झन्छन् – सात जना कविताबाट सात–सात कविता लिन जति सजिलो थियो, सात जनालाई भूमिका लेखाउन भने उति नै गाह्रो । भूमिका लेखाउनकै लागि उनले मोहन कोइराला, रमेश विकल, वानिरा गिरी, सिद्धिचरण श्रेष्ठ, मञ्जुल, चेतन कार्की, किशोर पहाडीलगायत लेखकहरूबाट समीक्षा लेखाउन प्रयास थाले । समीक्षाकै लागि भनेर माधव घिमिरे, पारिजात, केदारमानलगायत श्रष्टाकामा समेत पुगे । त्यसबेलाका दुई किस्सालाई विशेष रुपमा सम्झन्छन् श्रीओम:

१. श्रीओम नेपाल बैंकका जागिरे थिए, ओमवहालमा । नेपाल बैंककै छेउमा सिद्धिचरणको निवास थियो । बिहान बैंकमा हाजिर गरेर श्रीओम सिद्धिचरणकहाँ पुग्थे । सिद्धिचरण उनलाई कहिले कथा, कहिले कविता, र कहिले निबन्ध वाचन गर्न लगाउँथे । ‘तिम्रो आवाज कति राम्रो’ भनी फुर्क्याउँथे । केहीबेरमा निदाउँथे । र, श्रीओम जागिरमा फर्किन्थे । सिद्धिचरण जीवनको उत्तरार्द्धमा बिरामी भएर सानेपामा छोरीको घरमा थिए । श्रीओमले त्यहाँसमेत गएर उनलाई वाचन गरेर सुनाउन लगाए । साथै, छोटो आशीर्वचन जस्तो भूमिका पनि लेख्दिए ।

२. सिद्धिचरण सुनाउने लाउँथे, केदारमान चाहिँ सुनाउँथे । श्रीओम पुग्न साथै उनी भन्थे – नयाँ कविता लखेको छु, ल सुन । कविता सुनाइसकेपछि ‘भोलि आउनू’ भनी  फर्काइदिन्थे ।

श्रीओम भन्छन्, ‘‘त्यो फुच्चे उमेरमा सिद्धहस्त साहित्यकारहरुसँग नजिएका कारणले मलाई कसैलाई पनि प्रमुख अतिथि बनाउन गाह्रो भएन । मैले सबैभन्दा बढी सायद माधव घिमिरेलाई प्रमुख अतिथि बनाएँ हुँला । तर कहिल्यै घरमा गएर बोलाउनु परेन । सबै टेलिफोनबाटै भयो ।’’

अन्तत: ४७ सालमा श्रीओमले उक्त कवितासङ्ग्रह प्रकाशन ल्याए ।

रोदनले कविताबाट निबन्धसम्मको यात्रा गरिसकेका थिए । ०५३ सालमा निबन्धसङ्ग्रह प्रकाशन गर्ने सोचमा पुगे । तर एक्लै निकाल्ने आँट भने गर्न सकेनन् । फेरि पनि समूहकै सहारा लिए । चार स्रष्टाका चार–चार निबन्ध राखेर सङ्ग्रह प्रकाशनको तयारी जुटे । भीष्म उप्रेती, युवाराज नयाँघरे, ज्ञानेन्द्र विवश र रोदन चार निबन्धकारका रुपमा रहे । र, भूमिका चाहिँ कृष्णप्रसाद पराजुलीबाट लेखाउन चाहे ।

तर पराजुलीले पाण्डुलिपि एक वर्षजति राखेर अन्त्यमा लेखिदिएनन् । अन्तत: शैलेन्द्रप्रकाश नेपालबाट भूमिका लेखाएर ०५४ सालमा सामूहिक निबन्धसङ्ग्रह प्रकाशनमा ल्याए ।

किताब प्रकाशनमा करिब ९ हजार खर्च आएको सम्झन्छन् रोदन । अफिस–अफिसमा गएर पुस्तक बेची प्रेसलाई पैसा बुझाएको बताउँछन् उनी । भन्छन्, ‘‘कसैलाई नचिन्दा र नजान्दा पनि ममा नयाँ–नयाँ किसिमको काम गर्ने रहर थियो । त्यसैले होला, ठुला–ठुला अवसरहरूलाई त्यागेर पनि साहित्य क्षेत्रमै रमाइरहेको छु ।’’

गोरखापत्र यात्रा :

०४८ सालमा श्रीओमले हुँदाखाँदाको नेपाल बैंकको जागिर छोडे, मधुपर्कमा जागिर खान । पाँचौं तहमा पुगिसकेका थिए । बैंकका अतिरिक्त कमाईसमेत हुने ठाउँमा थिए । तर उनमा साहित्यको भोक थियो । त्यो भोकलाई अतिरिक्त कमाईले मेट्न सकेन ।

गोरखापत्रले मधुपर्कका लागि सातौं तहको कर्मचारीका लागि विज्ञापन गरेको थियो । श्रीओम खुल्ला प्रतिस्पर्धाबाट चुनिए । श्रीओम भन्छन्, ‘‘भर्खर बहुदल आएको बेलामा बिनाशक्ति, बिनास्रोत, बिनासोर्स म चुनिएको थिएँ । त्यसअघि म चलचित्र पत्रिकारिता गर्थें । मैले लखेका सबै कुरा मैले साथै लगेको थिएँ । देखाएँ । जसले छानिन सहयोग गरेको ठान्छु ।’’

श्रीओमको पत्रकारिता यात्रा भने ०४० सालबाटै सुरु भएको हो । त्यतिबेला उनी ‘नयाँ मार्ग’ पत्रिकामा स्तम्भ लेख्थे । ०४७ सालबाट भने ‘मधुपर्क’कै ‘मनोविनोद’ स्तम्भअन्तर्गत नाटक समीक्षा लेख्न थालेका थिए । ‘मनोविनोद’ स्तम्भ रमण घिमिरेले लेखिरहेका थिए । घिमिरेले कारणवश छोडेपछि रोदनले अवसर पाएका थिए । त्यसबेला एउटा लेखको २५० रुपियाँ पाएको सम्झिन्छन् रोदन ।

श्रीओमले लामो समय मधुपर्कमा रहेर काम गरे । मधुपर्कमै सम्पादक पनि भए । ०७० सालमा भने उनलाई प्रबन्धसम्पादकका रुपमा गोरखापत्र सारियो । एक वर्ष प्रबन्धसम्पादकको रुपमा काम गरेपछि मधुपर्कको ५० औं वार्षिकोत्सव मनाउन उनी मधुपर्कमै फर्किए, सम्पादकका रुपमा । मधुपर्क इतिहासमा सबैभन्दा ठूलो आयतनको अङ्क सायदै ५० औं वार्षिकोत्सवको हो, जुन राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गरेका थिए ।

०७५ सालको सुरुतिरै श्रीओम पुन: गोरखापत्रमै फर्किए, प्रधानसम्पादकको रुपमा । ३० महिना गोरखापत्रलाई नेतृत्व गरेर उनी गोरखापत्र संस्थानबाट अवकाश लिए । श्रीओम भन्छन्, ‘‘धेरैले जागिर जोडिसकेपछि असन्तुष्टि व्यक्त गर्नुहुन्छ । तर मलाई यो ठाउँसम्म पुर्याउने, साहित्यको रुपबाट चिनाउने, पुरस्कारहरू दिलाउने, देश–विदेश घुमाउने मधुपर्क नै हो ।’’

मधुपर्क र गोरखापत्रका प्रतिनिधि सम्झनाहरू:

०७२ साल वैशाख १२ गते भूकम्प गयो । काठमाडौंको अवस्था सहज थिएन । भूकम्पका पराकम्पनहरू आइरहेका थिए । हरेक क्षेत्रमा कार्यालयमा बसेर काम गर्नु खतरापूर्ण थियो । तर त्यो अवस्थामा पनि श्रीओमको नेतृत्वको ‘भूकम्प विशेष’ विशेषाङ्क मधुपर्कबाट निस्कियो ।

०६६ सालमा, महाकवि देवकोटाको सतवार्षिकी हुँदा मधुपर्कले ‘देवकोटा विशेषाङ्क’ निकाल्यो । सम्पादक श्रीओम नै थिए । मधुपर्कको इतिहासमा रिप्रिन्ट भएको एकमात्र अङ्क बन्यो – देवकोटा विशेषाङ्क ।

त्यस्तै, मधुपर्कको ५० औं वार्षिकोत्सवमा देश–विदेशका अधिकतर स्रष्टाहरूलाई समेटेर निकालिएको सम्भवत: मधुपर्कको इतिहासकै मोटो ‘विशेषाङ्क’ पनि श्रीओमकै नेतृत्वका आएको थियो ।

मधुपर्कका प्राय: सम्पादकहरूलाई लाग्ने गरेको आरोप हो, अनुज पुस्तालाई ठाउँ नदिने । रोदन मधुपर्कमा रहँदा धेरै रचनाहरू हुलाकबाट आउँथे । दिनभर–दिनभर लगाएर हुलाकबाट आएका, टिकट टाँसिएका चिठीहरू खोलेर हेर्दैमा बित्थ्यो । चिठीबाट निस्किएका टिकटहरू पियनहरूले बेच्थे, त्यो उनीहरूको अतिरिक्त आयस्रोतको प्रमुख स्रोत थियो । त्यसरी, हुलाकमार्फत प्राप्त भएका ८० प्रतिशतभन्दा बढी रचना छाप्न नसकेको अनुभव श्रीओमसँग छ । अर्थात्, सम्पादकहरूलाई आरोप लाग्नु स्वभाविकै हो । रोदन भन्छन्, ‘‘निश्चित पृष्ठ भएका कारण कहिलेकहीँ छाप्न योग्य हुँदाहुँदै पनि छाप्न सकिँदैन थियो । विभिन्न कार्यक्रममा जाँदा लेखकहरूले घेरेर आक्रोश व्यक्त गर्नुहुन्थ्यो । उहाँहरुलाई सम्पूर्ण कारण बताएर म फेरि दोहोर्याएर पठाउन अनुरोध गर्थें । मलाई लाग्छ, छाप्न नसकेका साथीहरूलाई पनि मैले धेरै हदसम्म खुसी नै बनाएको थिएँ । जोसुकै लेखक भए पनि वर्षमा कम्तिमा एउटा रचना छापिन्छ भन्ने वातावरण निर्माण गरेको थिएँ ।’’

०६३ सालपछिको कुरो हो । प्रधानमन्त्री प्रचण्ड बनेका थिए । सञ्चारमन्त्री कृष्णबहादुर महरा र गोरखापत्रका अध्यक्ष ओम शर्मा थिए । र, श्रीओम चाहिँ मधुपर्कमा सम्पादक थिए । एकदिन आक्रामक शैलीमा दुई युवा सम्पादकको खोजी गर्दै आए । श्रीओमले ‘मैँ हो, के होला ?’ भने । तर उनीहरूको आक्रमकता उस्तै थियो । तिनीहरूले श्रीओमलाई भने, ‘हामी माओवादीका मान्छे हौं । यत्रो वर्ष तपाईंहरूले मण्डले–काङ्ग्रेस–एमालेलाई छाप्नुभो, अब हाम्रो पालो । सिंहदरबारमा हाम्रो झण्डा फहरिएको छ । राज्यसत्ता हाम्रो छ । अब तल–माथि गर्नुभो भने राम्रो हुँदैन ।’

उनीहरुले निक्कैबेर बुरुकबुरूक गरे । श्रीओमले कुरा सुनिरहे । मधुपर्क अन्य कर्मचारी पनि त्यहीँ थिए, तर कोही बोल्न सकेनन् । अन्तत: श्रीओमले नै सोधे – ‘भाइहरुको कुरा सकियो ? सिद्धिएको भए म बोलूँ ?’

श्रीओमले मोदनाथ प्रश्रितलगायत लुकेर र नाम परिवर्तन गरेर लेख्ने कम्युनिस्टहरुको जानकारी दिए । एक–एक गर्दै सबै कुरा बुझाए । चिया खान दिएर खगेन्द्र सङ्ग्रौला, आहुति लगायतको उदाहरणहरु पेस गरे । र, अन्त्यमा प्रश्न गरे, ‘रचना छाप्नलाई सिंहदरबारमा झण्डै फहराउनु पर्छ र भाइ ?’

अन्तत: आगो भएर पसेका ती दुई युवा पानी भए । ‘हामी भ्रममा रहेछौं, यत्ति भन्छौं – हामीलाई पनि स्थान दिनोस्’ भनेर निस्किए ।

रचना छपाउनका लागि सोर्स लगाउने, पहुँचवालालाई फोन गर्न लगाउने कार्यहरू सामान्य मान्छन् श्रीओम । सम्झन्छन् – एकचोटि बाङ्गलादेशका राष्ट्रपतिको सिफारिससहित नेपाली कविले रचना पठाएका थिए । ती नेपाली लेखकले बाङ्गलादेशका राष्ट्रपतिलाई आफ्नो किताब पठाएका रहेछन्, किताब र नेपालका बारेमा चिठी लेखेर राष्ट्रपतिले पठाएछन् । चिठीमा उनले ‘सार्क सम्मेलनमा आउँदा, विमानस्थलमै हिमालको हावाले छोएर संवेदनात्मक बनेको’ बेहोरा उल्लेख गरेका थिए । र, त्यही चिठ्ठी नेपाली स्रष्टाले आफ्नो रचनाका साथमा पठाएका थिए ।

त्यस्तै, एक जना अफिसरले रचनाका साथमा संयुक्त राष्ट्र संघको लेटरमा महासचिवको नाममा आएको आफ्नो प्रशंसापत्र पठाए । आफैं आएर भेट्ने कुरा गरेनन् । त्यस्तै, मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयहरूबाट समेत यसैगरी आएको बताउँछन् रोदन । गर्वका साथ भन्छन्, ‘‘हामीले रचना राम्रो भएका छाप्यौं, यस्ता सिफारिस तथा पहुँचका आधारमा कसैलाई पनि छापेनौं ।’’

रचनाहरूमा सत्ताका विरुद्धको गन्ध पाउना साथै सञ्चार मन्त्रालयबाट स्पष्टीकरण सोधिने गरेको सम्झन्छन् रोदन । अध्यक्षले डाकेर हप्काउने कामहरू हुन्थे । विशेषत: श्रीओमले गोरखापत्रका रहँदा यस प्रवृत्तिको सामना बढी गर्नुपर्यो । यसमा मन्त्रालयले थाहा पाउनेभन्दा पनि भित्रकै व्यक्तिहरूले मन्त्रालयसम्म खबर पुर्याउने गरेको आकलन गर्छन् श्रीओम । यसका बारेमा एक–एक गर्दै, प्रमाणसहित आफैंले लेख्दै गरेको बताउँछन् ।

गोरखापत्रमा साहित्यक पृष्ठभूमिबाट पुगेका थिए रोदन तर आफूलाई गोरखापत्रमा काम गर्न कत्ति पनि अप्ठेरो नभएको बताउँछन् । रातिको एघार बजेसम्म कार्यालयमै बस्ने बताउँदै भन्छन्, ‘‘सबैलेको शंका थियो – यो मधुपर्कको मान्छेले के पो गर्न सक्ला ! त्यसैले गरेर देखाउने ममाथि चुनौती थियो । म कार्यालयमै रहँदा तीन सिफ्टका साथीहरू काम सकेर फर्किएका हुन्थे । पत्रिकाको २० पेजमा १९ वटा पेज फाइनल गरेर मात्र घर जान्थें, र २० औं पेज घर पुगेर हेर्थे । मेरै कार्यकालमा गोरखापत्रको प्रकाशन विराटनगर र कोहलपुरबाट प्रकाशन सुरु भयो । आधुनिक मेसिनहरू ल्याउन कामको संयोजन मैले नै गरेँ । हुम्ला, जुम्लाका रिपोटरहरूलाई पारिश्रमिक लिन काठमाडौं नै आउनुपर्ने बाध्यता थियो । व्यवस्थानसँग लडेर पारिश्रम खाता–खातामा पुग्ने बनाएँ । अन्य थुप्रै नयाँ कामहरू भए । भनौं न, मैले चुनौतीलाई चुनौती नै ठानिनँ ।’’

लघुकथा अभियानमा ‘रोदन’:

नेपाली साहित्य क्षेत्रमा श्रीओमलाई बिर्सिने हो भने लघुकथा क्षेत्र अधुरो लाग्छ । उनले लघुकथालाई सामूहिक अभियानकै रुपमा अगाडि बढाइरहेका छन् – लघुकथा समाज नेपालको स्थापना गरेर ।

०५३ सालमा लघुकथाकारहरूको राष्ट्रव्यापी बृहत् गोष्ठी भएको थियो, झापामा । त्यतिबेला रमेश विकल प्रज्ञाका प्राज्ञ हुनुहुन्थ्यो र त्यो गोष्ठीको संयोजक उनै थिए । त्यहाँ नेपालका मात्र नभएर भारतको सिक्किम, दार्जीलिङ, मेघालयलगायत ठाउँका नेपाली लघुकथाकारहरूको उपस्थिति रहेको थियो । लघुकथाका लागि तीन सय शब्द सीमा थियो । तर त्यहाँ लघुकथाको अङ्ग्रेजी उल्था ‘सर्ट स्टोरी’लाई मानक बनाई १२ सय शब्दसम्मका कथा वाचन गर्ने कामहरू भए । गोष्ठी भद्रगोल बन्यो । श्रीओम भन्छन्, ‘‘यो गाईजात्रा हेरेर फर्किएपछि मलाई लाग्यो – लघुकथामा केही काम त गर्नै पर्छ ।’’

०५४ सालमा रेयुकाइ नेपालसँग मिलेर राष्ट्रियव्यापी लघुकथा प्रतियोगिता गरे, लघुकथाहरू हुलाकबाटै प्राप्त गरेर । छनोटकर्ता तथा निर्णायकहरूमा रमेश विकल, ध्रुवचन्द्र गौतमजस्ता सिद्धहस्त साहित्यकारहरू राखियो । दुई वर्ष यो प्रतियोगिता आफ्नै नेतृत्वमा गरेपछि भने उनी सल्लाहकार बनेर बसे ।

तर त्यतिबेलासम्म पनि लघुकथालाई अभियानका रुपमा अगाडि बढाउन कुनै संगठन थिएन । राष्ट्रव्यापी प्रतियोगिता भएर पनि लघुकथाको कुनै चर्चा थिएन । प्रचार गर्ने माध्यम रेडियो नेपाल र गोरखापत्र मात्र थिए, तर त्यहाँ पैसा तिरेर विज्ञापन गर्नु सम्भव थिएन । तर श्रीओममा लघुकथालाई छुट्टै विधाको रुपमा स्थापित गराउने उत्कट महत्त्वाकांक्षा जागिसकेको थियो । उनी सम्झन्छन्, ‘‘पहिलो वर्ष राष्ट्रिय सभाका अध्यक्षलाई ल्याएर कार्यक्रम गरेको थिएँ । दोस्रो वर्षचाहिँ राजपरिवार सदस्यलाई ल्याउन सके राम्रै प्रचार मिल्ने सोचेँ, र मभित्र श्रुति राज्यलक्ष्मीलाई ल्याउने रहर पलायो तर दरबारसँग मेरो टाढा–टाढासम्म कुनै पहुँच थिएन ।’’

पहुँच थिएन त के भयो ? टेलिफोन डाइरेक्टरी त थियो नि ! त्यसमा श्रुति राज्यलक्ष्मीको टेलिफोन पनि थियो । श्रीओमले त्यहीँबाट श्रुतिलाई सिधै टेलिफोन गरे । र, अन्तत: ०५५ सालमा राष्ट्र बैंक थापाथलीको हलमा भएको राष्ट्रव्यापी कविता प्रतियोगिताको कार्यक्रममा श्रुतिलाई ल्याइछाडे । अधिराजकुमारीलाई नै कार्यक्रममा ल्याएपछि साथीभाइ चित खाए । सोचे होलान् – अहो ! श्रीओमको त दरबारसम्मै पहुँच रहेछ ।

श्रुति कार्यक्रममा आएको खबर रेडियो, टिभी तथा पत्रिका सबैतिर छ्यापछ्याप्ती बन्यो । सँगै लघुकथाहरूको चर्चा–परिचर्चा पनि बढ्यो । साहित्यिक वृत्तमा साहित्यको नवीनतम विधा लघुकथाले जर्बजस्त प्रवेश पायो । श्रीओमको त बढेकै थियो, भन्नै परेन ।

त्यसपछि पनि निरन्तर रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोष, गोरखापत्र तथा मधुपर्कको वार्षिक उत्सव लगायत धेरै ठाउँबाट श्रीओमले आफ्नै अग्रसरतामा राष्ट्रियव्यापी लघुुकथा प्रतियोगिता गराए । ०५४ सालमा मधुपर्कबाटै ‘लघुकथा विशेषाङ्क’समेत निकाले । यसरी लघुकथा अभियान असङ्गठित रुपमै निरन्तर अघि बढ्दै आयो । र, ०६५ सालमा आइपुग्दा श्रीओमकै परिकल्पनामा लघुकथा समाजको निर्माण भयो ।

त्यसपछि के–के भयो ? – उत्तर तपाईंकै अघि छँदैछ, मैले भन्नै परेन ।

बरु श्रीओमलाई नै सुनौं, ‘‘त्यसपछि अभियानले गति लियो । लघुकथाको सिद्धान्त बन्यो । लघुकथाका सङ्ग्रहहरू प्रकाशन हुन थाले । लघुकथाकै लागि पुरस्कार तथा सम्मानहरू स्थापित भए । र, सबैभन्दा महत्त्वपूर्ण – ‘लघुकथा’ सिद्धान्तसहित आफ्नो छुट्टै अस्तित्वका साथ स्थापित भयो ।

हतारका साहित्यकारका कुरा:

साहित्य साधन हो भन्ने कुरा बिर्सिएर प्रकार प्रकारमा विभाजित भएको बताउँछन् श्रीओम । साहित्य हरेक दिन सिक्ने कुरो हो । ५० वर्षदेखि कविता लेखिरहेको कविले पनि आफूलाई ‘साहित्यको विद्यार्थी हुँ’ भन्छन् । रोदन उदाहरण दिँदै भन्छन्, ‘‘माधव घिमिरे, जसको हरेक रचना धेरैलाई कण्ठस्थ छ, उनी पनि आफ्ना रचनाका बारेमा सचेत थिए । उनी आफ्नो रचनाको समीक्षा, सम्पादन र परिमार्जन आफैं गर्थे ।’’

अहिले साहित्य सिर्जना कुनै दौड प्रतियोगिताजस्तो भएको तर्क गर्छन् श्रीओम । निश्चित दूरीमा कुदेर पुगेपछि घाँटीमा तक्मा झुण्डाइहाल्नु पर्ने । उनी यसको किसिमको कार्यलाई साहित्यप्रतिको बेइमानी मात्र मान्दैनन्, यसले साहित्यमा सङ्ख्यात्मक भारी थप्ने काममात्र भएको बताउँछन् । उनी भन्छन्, ‘‘सञ्जालमा केही कविता–गजल लेख्ने, छोटो समयमै सङ्ग्रह निकाल्ने र पुरस्कार लिइहाल्ने प्रवृत्ति सम्पूर्ण नेपाली साहित्यको ओजलाई नै हल्का बनाइरहेको छ । जो खर्च गरेर तुरुन्तै किताब निकाल्छ, जो खर्च गरेर ठूलो होटलमा पार्टी गरेर किताब विमोचन गर्छ, जो खर्च गरेर पुस्तकको समीक्षा गराउँछ, यसले साहित्य क्षेत्रलाई घाटा पुर्याइरहेको छ ।’’

पुरस्कारले जिम्मेवारी थप्छ । पुरस्कार पाएपछि पुरस्कृत श्रष्टाले सम्बन्धित विधा वा क्षेत्रमा थप जिम्मेवारी वहन गर्नु आवश्यक हुन्छ । तर अहिले धेरै यस्ता पुरस्कार छन्, जुन पुरस्कार पाएको आफ्नै परिवारका सम्पूर्ण थाहा पाउँदैनन्, लोक त धेरै परको कुरा भयो । अब यस्तोमा उसको के जिम्मेवारी समाज र सम्बन्धित क्षेत्रमा ?

अन्त्यमा दुई प्रश्न:

१. तपाईंको संलग्नता धेरै साहित्यिक संस्थाहरूमा छ । यो साहित्यिक मोह हो, लगाव हो वा अरु केही हो ?

मोह नै भन्नुपर्छ । हिजो पनि र आज पनि – लेखेर मात्रै कोही पनि साहित्यकार बन्न सक्ने अवस्था छैन । यसर्थ, म समूहमा विश्वास गर्छु । संगठनको शक्ति बुझेकै कारणले ममा यसप्रतिको मोह बढेको हुनुपर्छ । लेखकहरूको काम लेख्नेमात्र हो भन्ने लाग्दैलाग्दैन मलाई । साहित्यिक कार्य र संघ–संस्था संलग्न पनि हुनुपर्छ । जो सक्रिय हुँदैन उसको सिर्जनाले आवश्यक समर्थन र पाठक पनि पाउँदैन । विगतमा राम्रो लेख्नेहरु पनि, दशकलाई नै प्रतिनिधित्व गर्न सक्ने स्रष्टाहरू पनि निश्चित समयपश्चात हराएका छन् । साहित्य वृत्तमा परिचय र पहिचान नै नभएको मान्छेले जतिसुकै राम्रो लेखे पनि कसले पढ्छ र ! त्यसैले, राजनीतिमा मात्र होइन – साहित्यमा पनि संगठन र सक्रियता एकदमै आवश्यक छ ।

२. तपाईंले धेरै पुरस्कार पाउनुमात्र भएको छैन, आफ्नो नेतृत्वमा धेरैलाई दिनु पनि भएको छ । साहित्य क्षेत्रमा पुरस्कार किनबिच तथा लेनदेन हुन्छ भन्ने चर्चा चलिरहन्छ । यसमा तपाईंको बुझाइ के छ ?

यसमा मेरो दुईवटा जवाफ हुन्छ ।

हो । लेनदेन हुन्छ । यो वर्ष एउटाले पाउने अर्को वर्ष अर्कोले पाउने वा एउटाले अर्कोलाई दिलाउने, अर्कोले एउटालाई दिलाउने तथा पैसा नलिई पुरस्कार पाउने वा विदेशबाट आउँदा स्क्वाज र वाइन ल्याउने र यहाँ सम्मानको फ्रेम पाउने – यस्ता विकृतिहरु असाध्यै धेरै छन् । पुरस्कार प्रदान गर्ने संस्थाहरूले स्रष्टा खोज्नुपर्ने हो, तर स्रष्टाहरूले चाहिँ संस्थाहरू खोज्ने प्रवृत्ति बढेको छ ।

तर मेरो हकमा भने, होइन । मैले धेरै पुरस्कार तथा सम्मानहरू पाएको छु । तर जहाँसुकै, जुनसुकै भेला-सभामा हात उठाएर भन्नसक्छु – आजसम्म कुनै पनि पुरस्कार कसैलाई एक शब्द भनेर वा मागेर लिएको छुइनँ ।

मलाई लाग्छ, सौभाग्यले मेरो उमेर समूहमा सबैभन्दा बढी निर्णायक बस्ने व्यक्ति मै हुँ । म आफू आबद्ध संघ–संस्थामा मात्र होइन, अन्य विविन्न संस्थाका पुरस्कार तथा प्रतियोगिताहरूमा निर्णायक बनेको छु । कतिपय ठाउँमा छलफल गरेर निर्णय लिनेबेलामा बहिष्कार गरेको छु, र निर्णायक समितिबाट राजीनामा दिएको छु । म आबद्ध संस्थामा चाहिँ, बहुमत पुर्याएर मलाई नै थाहा नदिई घोटाला भएको छ भने बेग्लै कुरो, नत्र कुनै पनि आग्रहका आधारमा कसैलाई पनि पुरस्कार दिएको छैन । म आबद्ध रहेको संस्थाहरूबाट पुरस्कार तथा सम्मान पाउने व्यक्तिहरूको सूची हेर्दै पनि धेरै कुरा थाहा हुन्छ । म भएको ठाउँमा राजनीतिक आस्थाका आधारमा पुरस्कार कहिल्यै पनि दिएको छैन । त्यसैले होला, मलाई काङ्ग्रेसले कम्युनिस्ट र कम्युनिस्टले काङ्ग्रेस ठान्छन् ।

एउटा प्रसंग यहाँ उपयुक्त होला । ०६३ सालपछि, माओवादीको सरकार र सत्ता भएका बेलामा क्षेत्रप्रताप अधिकारीलाई ‘मधुपर्क सम्मान’ दिने निर्णय मेरो नेतृत्वमा भयो । मलाई अध्यक्षले डाकेर भन्नुभो – ‘तपाईंले त मण्डलेलाई दिनुभएछ नि ! यत्रो क्रान्ति गरेर आउने अनि मण्डलेलाई सम्मान गर्ने ?’

मैले भनें, ‘को मण्डले सर ?’

अध्यक्षले भन्नुभो, ‘क्षेत्रप्रताप अधिकारी ।’

‘ए हो र सर ! मलाई त थाहा छैन । म त उहाँलाई राम्रो कवि, गीतकार, गाउँको लोकभाकालाई कविता र गीतमार्फत चर्चित बनाउने स्रष्टाको रुपमा मात्र चिन्छु उहाँलाई ।’, मेरो उत्तरको आशय सायद उहाँले बुझ्नुभयो ।

आज तपाईंसँग भन्छु – आजका दिनसम्म मात्र होइन, भोलिका दिनमा पनि मैले निर्णय गर्ने ठाउँमा बेइमानी गर्दिनँ, र हुन दिन्नँ पनि । आजसम्म म यही कारणले पत्याइएको छु, त्यो विश्वास कहिल्यै पनि विचलित हुन दिन्नँ ।

अन्त्यमा,

फेरि पनि,

“भुलचुक लिने–दिने । “– स्तम्भकार