
‘स्कुलका छात्राहरु धमाधम बेहोस हुन थाले । शिक्षिकाहरु समेत प्रभावित भइरहेका छन् । पूजापाठ गर्दा, धामीझाँक्री लाउँदा पनि केही हुन सकेन । अभिभावकहरु स्कुललाई नै दोष दिइरहेका छन् । लौ न के गर्ने होला ? अब त स्कुलै बन्द गर्नुपर्ने भो ।’
काभ्रेको एउटा माध्यमिक विद्यालयमा केही समय अगाडि हुन पुगेको सत्य घटना नै हो यो ! यस्तै घटनाका समाचार दोलखा, ओखलढुङ्गा, अनि तराईका स्कुलहरुबाट समेत आइरहेको पाइन्छ । पत्रिकामा, टि.भी.मा, रेडियोमा अनि बजार–गाउँघरमा यस्तै गाइँगुइँ समय–समयमा चल्ने गर्दछन् । हाम्रो ओपिडीमा समेत यस्ता लक्षणहरु देखा परेर बालिकाहरु ल्याइपुर्याइने गरिएको छ यदाकदा । वास्तवमा, ‘महामारी’को नै रुप लिनसक्ने “मनका कथा” का अस्पष्ट पाटाहरु जोडिएका छन् यसमा ।
‘मास हिस्टेरिया’को रुपमा हामीमाझ चिनिने गरेको यो समस्याका मुख्य विशेषताहरु यसप्रकार छन्ः
१. शारीरिक लक्षणहरुः मुर्छित बनाउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा चल्ने,सास फेर्न गाह्रो हुने, अचानक कराउने, चिच्याउने, हाँस्ने, रुने आदि । यीमध्ये पनि महत्त्वपूर्ण भनौँ या प्रायः देखिने लक्षण ‘मुर्छित बनाउने’ या ‘छोप्ने’ नै हो । जनजिभ्रोमा ‘छोप्ने व्यथा’ प्रचलित नै छ ।

प्रा.डा. अजय रिसाल
२. यी लक्षणहरु श्रव्य एवं दृश्यको माध्यमद्वारा एक जनाबाट अर्कोमा अनि समूहगत रुपमा फैलने गर्दछन् ।
३. यी लक्षणहरु पुनः पुनः दोहोरिइरहन्छन् ।
४. यसले जनमानस, प्रायः जसो अभिभावक अनि शिक्षकवर्गमा भय, त्रास एवं आतंकको सञ्चार गर्छन् ।
५. यसको शारीरिक कारणहरु पत्ता लगाउन सकिँदैन ।
६. यी लक्षणहरु छोटो समयमा नै नियन्त्रित हुन सक्दछन् ।
‘मास हिस्टेरिया’ भनिए तापनि वैज्ञानिक आधारमा उक्त नाम विवादास्पद नै रहेको छ । अचेल यसलाई‘मास सोसियोजेनिक इल्नेस’ या ‘मास साइकोजेनिक इल्नेस’ भनिन्छ ।
पश्चिमा देशहरु (बेलायत, दक्षिण अफ्रिका)मा समेत यस्ता समस्याहरु कारखानाका मजदूरहरुमा, सैनिकहरुमा, एयरपोर्टजस्ता सार्वजनिक स्थलहरुमा देखा पर्ने गरेको तथ्यहरु प्रकाशमा आएका छन् । हामीकहाँ भने माथि उल्लिखित भएझैँ स्कुले विद्यार्थी (प्रायः छात्रा)मा यसले बेला–बेलामा प्रकोपको नै रुप लिएर स्कुल नै बन्द हुनपुगेको, स्कुलमा धामी–झाँक्री बोलाइएको, पूजाआजा लगाइएको हामी सुन्ने गर्दछौँ ।
वास्तवमा, यस्ता समस्याहरु मध्यकालीन युरोपेली मुलुकहरुमा देखापर्दा भूतप्रेत, बोक्सी आदिलाई कारकतत्त्व मानेर प्रार्थना गर्ने, बोक्सी भगाउन पीडितहरुलाई शारीरिक यातना दिने, आगो लगाउने या टाउकोमा प्वाल पार्नेजस्ता कार्यहरु गर्ने गरिएको विश्व इतिहासमा पाइन्छ ।
२१औं शताब्दीको अहिलेको समयमा भने यस्ता समस्याहरुको जडका रुपमा वातावरणीय प्रदूषण, विषालु ग्याँस या युद्ध विभीषिका हुनसक्दछन् भन्ने दिशामा अनुसन्धानहरु भइरहेका छन् तर यकिन तथ्यहरु भने प्रकाशमा आइसकेका छैनन् ।
अध्ययनहरुद्वारा प्रमाणित भइसकेको तथ्यहरुलाई दृष्टिगत गर्दा प्रायः जसो ७–३० वर्षका महिलाहरुमा देखिने यस्ता समस्याको मूल कारकतत्त्व तिनको मनोसामाजिक पक्षको अन्वेषण गरेर मात्र छर्लङ्गिन सक्दछ । हतोत्साही मानसिकता, शारीरिक एवं मानसिक दुर्बलता, व्यक्तित्वजन्य मनोवैज्ञानिक समस्या एवं कामको बोझ, पारिवारिक चिन्ता, सामाजिक भेदभाव, गरिबी, पढाइको चाप आदिले गर्दा दमित एवं अवचेतन अवस्थामा रहेका मनोवैज्ञानिक अवयवहरु सतहमा आई यस्ता शारीरिक लक्षणहरुका रुपमा व्यक्त हुन सक्दछन् ।
उदाहरणकै लागि, माथि उल्लिखित स्कुलको घटनामा हामीले नै अन्वेषण गर्ने प्रयास गर्दा त्यस स्कुलको प्रभावशाली विद्यार्थी (९ कक्षाकी प्रथम छात्रा अनि स्कुल क्याप्टेन) पहिले बेहोस हुन पुगेकी अनि त्यसपछि उनको नजिकको मिल्ने साथी, त्यसपछि अर्को, अनि अर्को गर्दागर्दै पूरै कक्षा, अनि अन्य कक्षाका छात्राहरु समेत एकैसाथ प्रभावित भएको पाइएको थियो । सबैभन्दा पहिले बेहोस हुने छात्राको बारेमा शिक्षकवर्गसँगको परामर्श अनि तिनीसँगै बसेर कुराकानी गरेपछि तिनी हालैको परीक्षामा दोस्रो हुने विद्यार्थी (छात्र)भन्दा केही अंकले पछि पर्न पुगेको तथ्य प्रकाशमा आयो ।
किन स्कुले विद्यार्थीहरु नै त ? यसको कारणतर्फ घोत्लिँदा प्रायः ७–१७ उमेर समूहका बालबालिकाहरु दिनको अधिकांश समय स्कुलमा नै रहने र यस्ता लक्षणहरु एउटाबाट अर्कोमा देखासिकीबाट नै फैलने हुँदा विद्यालय नै यी समस्याहरुको सम्भावित क्षेत्र हुनसक्नेतर्फ विचार गर्न सकिन्छ । विद्यालयको जबरजस्ती कडा अनुशासनमा बाँध्ने वातावरण, पढाइको कष्ट अनि शिक्षक–शिक्षिकाको डर पनि कारक हुनसक्दछन्, अनि कहीँ कहीँ त दण्ड–सजायले पनि यस्ता घटनाको सुरुवात गराएको तथ्य बाहिर नआएको होइन ।
किन छात्राहरु नै त ? भन्दा छात्राहरुमा दमित मनोवेगहरु छिटोछिटो प्रष्फुटित हुने भएर हो कि ? या छात्राहरुमा एकअर्काको देखासिकी गर्ने प्रवृत्ति अरु बेला अवचेतनमा लुप्त भएर रहिरहे तापनि यस्तो बेला (आफ्नो नजिकको साथीमा अफ्ठ्यारा शारीरिक लक्षणहरु देखापर्दा) अज्ञात रुपले नै अभिव्यक्त हुने भएर हो कि ? त्यस्तै, यही उमेर समूहमा किशोरकिशोरीहरुमा यौनाङ्गहरुको तीव्रतर विकास हुने अनि यौन–सम्बन्धित जिज्ञासा बढ्ने, एकअर्कासँग यही विषयकै कुराकानी ज्यादा हुने गर्दा घनिष्ठता पनि बढ्ने गर्दछ । विशेषतः किशोरीहरुमा यही समय नै मासिक चक्रको सुरुवात हुने हुँदा त्यसलाई सञ्चालन गर्ने हर्मोनहरुको प्रभावले पनि छात्राहरुमा यस्ता लक्षणहरुको प्रधानता भएको हुनसक्दछ ।
यी सबै प्रश्नहरुको जवाफ प्रष्ट छैन अझै पनि, अध्ययन अन्वेषणकै चरणमा छन् ।
यसरी विद्यालयमा नै बेला–बेलामा देखिइरहने यस्ता समस्याहरुको निराकरण गर्न पाइला चाल्नुको साटो स्कुल नै बन्द हुने अवस्थामा पुग्नु हामी सबैका लागि लज्जाको नै विषय हुनुपर्दछ । त्यस्तै, धामी–झाँक्री या पूजापाठद्वारा रोकथाम हुनसक्दैन यो समस्या । यसका लागि शिक्षक, अभिभावक, सामाजिक एवं राजनैतिक कार्यकर्ता, जनस्वास्थ्य एवं अन्य स्थानीय प्राशासनिक निकाय र स्वास्थ्यकर्मीहरु सबैको समूहगत प्रयास जरुरी हुन्छ । हामीले यिनै कुरा शिक्षकवर्ग अनि अभिभावकहरुलाई प्रष्ट्याउने प्रयास गरिरहेका हुन्छौँ यस्ता प्रकोपहरु फैलिएको बेलामा ।
सारांशमा भन्दा, मनोसामाजिक दृष्टिकोणमा यो समस्या देखासिकीबाट नै द्रुततर रुपमा एउटा विद्यार्थीबाट अर्कोमा फैलिएर महामारीको झैँ रुप लिने भएको हुँदा सबैभन्दा पहिले लक्षण देखाइसकेको विद्यार्थीलाई अलग्गै सुरक्षित ठाउँमा सार्ने व्यवस्था गर्नुपर्दछ, त्यसपछि अन्य विद्यार्थी र शिक्षकवृन्दमा उत्पन्न हुनसक्ने भयत्रासको न्यूनीकरणका लागि यथोचित उपाय अवलम्बन गर्नुपर्दछ । मनोचिकित्साकर्मीहरु यस कार्यमा दक्षता प्राप्त हुन्छन्, अतः तिनलाई अभिभावक र शिक्षकवृन्दमा चेतना फैलाउन र भ्रम निवारणका लागि प्रयोग गर्नुपर्दछ ।
विद्यार्थीहरुमा लुप्त अवस्थामा रहेको मनोवैज्ञानिक समस्याको यथोचित उपचारका लागि यथाशिघ्र संवादको थालनी गर्नुपर्दछ । कसैमा साँच्चै नै शारीरिक समस्या (जस्तैः छारेरोग) छ भने चिकित्सकीय प्रयासबाट उपचार गराउनुपर्दछ । जनचेतनामूलक सामग्रीको प्रचारप्रसारका लागि मिडियाकर्मीहरु पनि सहायक बन्न सक्दछन् । यी सब तथ्यहरुलाई हृदयङ्गम गर्दै सबैको सामूहिक प्रयासद्वारा यो समूहगत रुपमा विकास हुने ‘मास हिस्टेरिया’को महाममारी समानको आतंकबाट मुक्त हुन सकिन्छ ।
अब यो महामारीको प्रमुख लक्षण ‘छोप्ने व्यथा’बारे विस्तृत चर्चा गरौँ ।
कहिलेकाहीँ ओपिडीमा ल्याइएका बिरामीहरुको बारेमा तिनका अभिभावकहरु भन्ने गर्दछन्, “यसलाई ‘छोप्ने व्यथा’लागेको छ डाक्टरसाब ! कत्ति धामीझाँक्री लगाइयो, हुँदै भएन । अब हजुरले नै केही गर्न सक्नुहुन्छ कि भनेर ल्याएको ।” प्रायः जसो स्कुले किशोरीहरु हुन्छन् त्यसरी ल्याइएका । कोही कोही स्कुलकै पोशाकमा ल्याइन्छन् “कक्षामा नै छोप्यो” भनेर । कहिले भने विवाहित युवतीहरु हुन्छन् ।
“छोप्नु” अर्थात् “बेहोस हुनु”, “अर्धचेत अवस्थामा अप्रासंगिक कुराहरु बोल्नु” या “शरीरका अंगहरु अनजानमा नै चलाउनु”, कहिलेकाहीँ त “आँखा अगाडि कालो छायाँ आयो, छोप्यो, घाँटी अठ्यायो, थिच्यो” भनेर पनि बिरामीहरु बताउँछन् । जनजिभ्रोमा प्रचलित “छोपुवा रोग” का यस्तै—यस्तै विभिन्न लक्षणहरु पाइन्छन् । वास्तवमा यस्ता लक्षणहरु “छारे रोग” मा पनि देखिने भएको हुँदा यसको राम्ररी परीक्षण गर्नुपर्ने हुन्छ । पहिले पहिले “हिस्टेरिया”भनेर “किशोरी-युवतीहरुमा हुने यौन असन्तुष्टि या कुण्ठाको परिणाम”का रुपमा व्याख्या गरिएका यस्ता लक्षणहरु अचेल मानसिक रोगको प्रकारका रुपमा “डिसोसिएटिभ या कन्भर्सन डिसअर्डर” भनी वर्गीकृत गरिएका छन् ।
जनमानसमा (पढेलेखेका चेतनशील समाजमा समेत) अझै पनि यो ‘छोप्ने व्यथा’ कूलदेवता बिग्रनाले, बोक्सी लागेर या कसैले टुनामुना गर्नाले हुने रोग हो, डाक्टरी औषधिले यसलाई ठीक पार्न सक्दैन, त्यसैले धामी झाँक्रीहरुबाट बोक्सी पन्छाएर, पशुबलि दिएर या पूजा गरेर मात्र यो निको हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । त्यस्तै किशोरीहरुमा धेरै देखिने यी लक्षणहरु विवाह गरिदिएमा आफैँ ठीक भएर जान्छन् भन्ने धारणाले गर्दा केटीहरुको चाँडै विवाह गरिदिने नराम्रो चलन पनि छ हाम्रो समाजमा।
‘छोप्ने रोग’का लक्षणहरु माथि भनिएझैँ छारे रोग या मिर्गीका कारण पनि हुनसक्छ, अतः नशारोग विशेषज्ञको परामर्शअनुसार परीक्षण विधिहरु प्रयोग गरी यसको जाँचपड्ताल गरेर रोग पहिचानपश्चात् नियमित ओखती सेवन गरेमा यस्ता लक्षणहरुमा कमी आएर बिरामी स्वस्थ बन्न सक्दछ ।
‘छोप्ने रोग’ मुख्यतया एक विशेष प्रकारको मानसिक रोग हो । मनोवैज्ञानिक अध्ययन गर्दा, बिरामीहरुमा अव्यक्त रुपमा रहेका कुण्ठा, चिन्ता या डरहरु कुनै घटनाविशेष या परिवेशका कारण बाहिर अभिव्यक्त भइदिँदा उपरोक्त लक्षणहरु देखिने गर्दछन् । पारिवारिक या सामाजिक तनाव, अध्ययन या कामको बोझ, किशोरीहरुमा क्रमशः विकसित भइरहेका शारीरिक परिवर्तनहरु (यौन अङ्गहरुको वृद्धिविकास, हर्मोनहरुमा हुने उतारचढाव, महिनावारीको सुरुवात ) आदि सबै कारकतत्त्वहरु यससँग सम्बन्धित हुनसक्छन् ।
हालसालैका नयाँ अध्ययनहरुले त मस्तिष्कका केही अवयवहरुमा हुने परिवर्तनसमेत यसका लागि जिम्मेवार ठानेका छन् । मनोवैज्ञानिक शोधहरुले प्रमाणित नै गरेका छन् कि, जुन कुरा व्यक्तिले मौखिक एवं स्पष्टरुपमा बाहिर प्रकट गर्न सकिरहेका हुँदैनन् या व्यक्त गर्न पाउँदैनन्, ती सब लाक्षणिक रुपमा यो रोगमा देखा पर्दछन् । ती लक्षणहरुको मनोवैज्ञानिक विश्लेषण गर्न सक्नेहरुले मात्र त्यसको उचित उपचार गर्न सक्दछन् ।
यस्ता बिरामीहरुलाई धामीझाँक्रीकहाँ लग्दा बिरामीको रोगको सही पहिचान अनि उपचार हुन नसक्ने मात्र नभई अन्धविश्वासको मात्रामा वृद्धि हुनुका साथै पशुबलिजस्तो जघन्य कृत्य गर्न उद्यत हुनुपर्ने अनि परिवारमा अझ बढी आर्थिक संकट पर्न आउने देखिन्छ । असभ्य समाजमा झैँ ‘बोक्सी—प्रथा’कायम रहिरहँदा विशेषतः महिलाहरुले भोग्नुपरेको अपमान, तिरस्कार र हिंसाका प्रहारका बारेमा थुप्रै पटक सञ्चारमाध्यममा खबर आइसकेका नै छन् ।
अतः “छोप्ने व्यथा”लाई हलुका रुपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सकको परामर्शअनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार आई तिनको सुन्दर भविष्यको अपेक्षा गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

