भारतका एक युवाले संस्कृत व्याकरणको एक गम्भीरतम् समस्या सुल्झाएपछि आउँदा दिनमा उन्नत कम्प्युटरहरुमा संस्कृत भाषा प्रयोग गर्न सहज हुने भएको छ । अहिलेसम्म संसारभर ल्याटिन (अंग्रेजीको मूल भाषा) भाषा प्रयोग गरिँदै आएको थियो ।
क्याम्ब्रिज विश्वविद्यालयमा पिएचडी थेसिस गरिरहेका ऋषि राजपोपटले सुझाएको समाधानका कारण अब आउँदा दिनमा कम्प्युटरको मेसिन ल्याङ्वेजका रुपमा संस्कृत प्रयोग गर्न सहज हुने भएको हो ।
प्राचीन भारतमा लेख्य भाषालाई नियमबद्ध बनाउन ऋषि पाणिनीले संस्कृत भाषाको व्याकरण तयार पारेका थिए । ‘अष्टाध्यायी’ नामक सो व्याकरण संसारकै पुरानो व्याकरणमध्ये पर्छ । २५ सय वर्षभन्दा पनि पुरानो यो व्याकरण निकै क्लिष्ट, अप्ठेरो र बुझ्न कठिन मानिएकाले पछि संस्कृतका अर्का विद्वानले लघुसिद्धान्त कौमुदी व्याकरण तयार पारेका थिए । वरदराजाचार्य:ले बालबालिकाका लागि सिक्न सजिलो होस् भनी व्याकरणलाई सजिलो पारेका थिए ।
पाणिनीले संस्कृतलाई सुसभ्य लेख्य भाषामा परिणत गर्न चार हजारभन्दा बढी व्याकरणीय सूत्र वा नियम बनाएर ‘अष्टाध्यायी’मा संकलित गरेका थिए । यी नियमका आधारमा मूल वा उपसर्ग वा प्रत्ययबाट व्याकरणीय रूपमा शुद्ध शब्दहरू बन्थे ।
शताब्दीऔंदेखि भाषाविद्हरूले पाणिनीका नियमहरूलाई आधार बनाएर ‘भाषा मेसिन’ बनाउने प्रयास गरिरहेका थिए तर त्यो मेसिनले भनेजस्तो सही काम गर्न सकिरहेको थिएन ।
क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत भाषामा पाणिनीकै व्याकरणमाथि पिएचडी गरिरहेका २७ वर्षे ऋषि राजपोपट पछिल्लो समय अचानक चर्चामा आए । उनको दाबी छ, ‘आफूले शताब्दीऔँदेखि बुझ्न नसकेको र अलपत्र परेको एउटा पंक्तिको अर्थ अन्ततः बुझें र त्यो बुझाइले अब यतिन्जेल देखिएका व्याकरणको समस्या समाधान हुनेछ ।’ र, यो समाधान पनि उनले यति सरल किसिमले निकालेका छन् कि पत्याउनै गाह्रो छ । पाणिनीले बनाएको मूल नियमलाई आधार बनाएर जब सफ्टवेयरमा वाक्यहरू हाल्दा ती वाक्यहरू बिनाकुनै अपवाद सही–सही रहेको सफ्टवेयरले देखाएको छ । जबकि यसअघि त्यस्तो भएको थिएन ।
शताब्दीऔंदेखि भाषाविद्लाई दुविधामा पारिरहेको ‘विप्रतिषेधे परम कार्यम्’ (१ः४ः२) नियमले राजपोपटलाई पनि अप्ठेरामा रिङ्ग्याइरहेको थियो । उनले पाणिनीको यो समस्यालाई क्याम्ब्रिजको थेसिसमा मूल विषय बनाएका थिए । तर यसले उनलाई यति धेरै अल्झायो कि नौ महिनासम्म यसैमा घोत्लिरहे ।
एक दिन उनले आफ्ना गुरू भिन्सेन्जो भरजिआनीकहाँ गएर विषय त्याग्न खोजेको बताए । भिन्सेन्जो क्याम्ब्रिज विश्वविद्यालयका एसियाली तथा मध्यपूर्व अध्ययनका प्राध्यापक र उनको पिएचडी थेसिसका शोध निर्देशक थिए ।
भिन्सेन्जोले भने, ‘कुनै पनि समस्या समाधानको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त एउटै छ– त्यो हो सरलता । तिमीले कुनै पनि समस्याको समाधान क्लिष्ट र जटिल पायौ भने त्यो सम्भवतः गलत समाधान हो । समाधान भन्ने कुरा सधैँ आश्चर्यजनक रूपमा सरल हुन्छ ।’
यसपछि ऋषिले नौ महिनासम्म संस्कृतको ‘स’ पनि उच्चारण गरेनन् । सो अवधिमा उनले कुनै किताब पल्टाएनन् । बरु उनले पूरा गर्मीयाममा पौडी खेल्ने, साइक्लिङ गर्ने, खाना पकाउने, प्रार्थना गर्ने र ध्यान गर्ने कुरामा आफूलाई व्यस्त राखे ।
जब विश्वविद्यालय शुरु भयो, यसपछि उनी पुनः काममा लागे । उनले पाणिनीको सो पुस्तक पल्टाए र जुन ठाउँमा अड्किएका थिए, त्यही पद पढ्न थाले । तत्काल पाणिनीले के भन्न खोजेको हो, त्यो बुझेँ कि भन्ने महसुस उनलाई भयो ।
‘पन्ना पल्टाउँदै जाँदा र ती हरेक वाक्यहरू पढ्दै जाँदा मैले वाक्यका ढाँचाहरू बुझ्न थालेजस्तो महसुस भयो,’ उनले भने, ‘यसपछि त मेरो खुसीको कुनै सीमा रहेन ।’
साढे दुई वर्षको कडा र सचेतनापूर्वक काम गरेपछि राजपोपटले पाणिनीको व्याकरण इन्जिनले पहिले किन काम गरेन भन्ने विषयमा थेसिस तयार पारे ।
प्रायः पाणिनीको व्याकरणका नियमहरूमा दुईवटा नियमहरू अकस्मात् आउँथे र तिनले विवाद र समस्या खडा गरिदिन्थे । यस्ता समस्यामा ‘विप्रतिषेधे परम कार्यम्’ (१:४:२) भन्ने नियममा विद्वान्हरुले दिएको परिभाषाअनुसार काम गर्दा सधैँ समस्या भइरहन्थ्यो ।
राजपोपटले त्यही विवादलाई निराकरण गरेका हुन् । यसका लागि उनले केही गरेनन्, मात्र देखिएका समस्यालाई जे समाधान भनिएको थियो, त्यसलाई उल्ट्याइदिए ।
यसअघिका विद्वान्हरूले दुईवटा उत्तिकै सशक्त नियमहरूबीच टकराव भए, पछिल्लो नियम सदर गर्ने चलन थियो । माथि जेजस्तो भए पनि पछिल्लोलाई मान्यता दिने सो नियमका कारण भाषामेसिनले काम गरिरहेको थिएन । यसका अनेक समस्या देखिएका थिए ।
राजपोपटले त्यहीँ समस्या देखे । पाणिनीले भन्न खोजेको त्यो होइन भन्ने उनले बुझे । पाणिनीका अनुसार कुनै दाहिने शब्द (प्रत्यय) अनुसार होइन, मूल शब्दअनुसार व्याकरण प्रयोग गरिनुपर्छ ।
राजपोपटले यही सामान्य कुरालाई भाषाइन्जिनमा प्रयोग गर्दा हरेक पटक व्याकरण सही सही उपयोग भएको पाइयो र यसले कुनै पनि अपवाद निर्माण गरेन । जबकि यसअघि गलत नियम लगाइएकाले धेरै समस्या देखिएको र अपवादहरू देखापरेका थिए ।
उनले उदाहरणका रूपमा एउटा वाक्य प्रस्तुत गर्दै भने, ‘ज्ञानम् दियते गुरूणाः अर्थात् गुरूद्वारा ज्ञान दिइन्छ । यहाँ पाणिनीको नियम लगाउँदा एउटा गुरूमाः हुने भयो र अर्को ज्ञान हुने भयो । पहिले मेसिन प्रयोग गर्दा जहिले पनि गुरू अर्थात् पछिल्लो शब्दलाई हेरेर व्याकरणको शुद्धाशुद्धि हेरिन्थ्यो । ज्ञान मूल शब्द परिवर्तन नभई यहाँ गुरू शब्द परिवर्तन भएर गुरूणाः भएको छ ।
‘पाणिनीको शैली पूरै स्पष्ट छैन र अष्टाध्यायीका समस्याहरू सुल्झाउने प्रयास गर्दा कयौं समस्याहरूसँग जुझ्नुपर्ने हुन्छ,’ उनले थेसिसमा लेखेका छन् ।
’…पाणिनीका नियमहरूको ठ्याक्कै यही अर्थ हो भन्न मुस्किल हुन्छ किनभने सूत्रको शैली नै ज्यादै संक्षिप्त र सटीक हुन्छ । थोरै शब्दमा धेरै भन्न खोजिएको हुन्छ । त्यसैले यसलाई ज्यादै अप्ठेरो मानिएको हो ।’
उदाहरणका लागि, केही नियमहरू त एक शब्दमै अटाएका हुन्छन् । एउटै शब्दका पनि अनेकार्थक हुन्छन् । एक शब्दभित्र नियमहरू एकअर्कामा खप्टिएका पनि हुन्छन् ।
उनी भन्छन्, ‘पाणिनीले आफ्नो पुस्तक अष्टाध्यायीलाई सीधा तर बन्द व्याकरण मेसिनका रूपमा बनाउन खोजेका थिए ।’ पाणिनीका कामहरूले व्याकरणहरू आफैँमा पूर्ण छन् र यसले बिनाकुनै समस्या वा अपवादले काम गर्छ भनी बनाइएका थिए ।
‘पाणिनी अद्भुत दिमागका थिए,’ राजपोपट भन्छन्,’ उनले मानव इतिहासमा अद्वितीय व्याकरणीय मेसिन बनाएका हुन् ।’
उनले ‘इन पाणिनी वि ट्रस्टः डिस्कभरिङ द अल्गोरिदम फर रूल कन्फ्लिक्ट रिसोलुसन इन द अष्टाध्यायी’मा शोधपत्र पूरा गरेका हुन् ।
‘पाणिनीले कहिल्यै पनि उनले बनाएका नियममा नयाँ नियम थप्न भनेर अष्टाध्यायी लेखेका थिएनन् । यो आफैँमा पूर्ण थियो । यसलाई हामीले जति चलाउँछौं, त्यति नै यसले हामीलाई दुविधामा पारिदिन्छ,’ राजपोपट भन्छन् ।
वर्षौंदेखि वैज्ञानिकहरूले कम्प्युटरमा पाणिनीमा आधारित भाषाका नियमहरू बनाउन खोजिरहेका थिए र यसमा सोचेजस्तो समाधान निकाल्न सकिरहेका थिएनन् । राजपोपटको खोजले त्यो समाधान निकालेको मात्र होइन, अब पूर्णतः संस्कृतमा आधारित कम्प्युटर प्रोग्राम चल्ने बनेको छ ।
संस्कृत भाषा वैदिक धर्म मान्नेहरूको पवित्र भाषा हो । यसको संरचना कस्तो छ भन्ने बुझाइले विज्ञहरूलाई महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरू पढ्न सजिलो हुने मात्र नभई, त्यसको सटीक जानकारी हात पर्नेछ ।
राजपोपटका प्राध्यापक भरजिआनी भन्छन्, ‘मेरा विद्यार्थी ऋषिले समस्याको समाधान निकालेका छन् । उनले सदियौंदेखि जुन समस्याले विद्वान्हरू अल्झिरहेका थिए, त्यो उल्झन अब पूरा भएको छ ।’
यो खोजले संस्कृत अध्ययनलाई क्रान्तिकारी रूपमा सहज बनाउनेछ भने यस भाषाप्रति सर्वसाधारणको चासो अझ बढाउने भरजियानीको धारणा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।