आजको रात सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु 

आजको रात
म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु ।

जस्तो- “रात भाँच्चिएको छ
र दिगन्तका ताराहरू थरथर कामेर नीला भएका छन्‌”

रातको यो बतास गुनगुनाउँदै बराल्लिएर हिँडिरहेछ ।

आजको रात, म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु ।

म उनलाई माया गर्थेँ, र
ऊ पनि कहिले काहीँ मलाई माया गर्ने गर्थिन्‌ ।

यस्तै रातहरूमा मैले उनलाई आफ्नो अँगालामा बेरेको थिएँ
अनन्त आकाशमुनि मैले उनलाई कयौँ पटक चुमेको थिएँ ।

ऊ मलाई माया गर्थिन्‌,
म पनि कहिले काहीँ उनलाई माया गर्ने गर्थेँ ।
उनका ती सुन्दर निश्चल आँखालाई
माया नगरी कसरी रहन सक्थेँ र म ?

आजको रात म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु
उनी मसँग छैनन्‌ भनेर
मैले उनलाई गुमाएको अनुभव गर्न ।

यो कष्टकर रातभरि, उनी बिनाको यो कष्टतम्‌ रातभरि
दुबोमा शीत पोखिएफैँ
पोखिन्छन्‌ शब्दहरू हृदयभरि ।

मैले उनलाई अँगाल्न नसक्नुले के अर्थ राख्छ ?
यो रात भाँच्चिएको छ, र उनी यसबेला मसँग छैनन्‌

नियति यही नै हो, टाढा, धेरै टाढा कतै कसैले गाउँदैछ ।
आफूले उनलाई गुमाएकोमा खुसी छैन मेरो हृदय ।

तै पनि मेरो हेराइ उनीसम्म पुग्न चाहन्छ,

उनैलाई खोजिरहन्छ
मेरो हृदय उनको बाटो हेरिरहन्छ, उनी मसँग छैनन्‌ ।

उही रात उही रूखहरूलाई उज्यालाइरहेछ ।
हामी
त्यसबेलाका हामी अहिले उस्तै रहेनौँ ।

म अब उनलाई माया गर्दिनँ भन्ने पक्का छ
तै पनि मैले उनलाई कसरी माया गरेँ !
मेरो स्वर उनीसम्म पुग्ने मन्द बतासको खोजीमा छ ।

अर्कैकी, उनी अर्कैकी हुने छिन्‌
जसरी पहिले उनी मेरा चुम्बन थिइन्‌
उनको बोली, उनको सुन्दर शरीर, उनका अप्रतिम आँखा ।

म उनलाई माया गर्दिनँ भन्ने पक्का छ,
तै पनि कतै म उनलाई अझै पो माया गर्छु कि ?
प्रेम छोटो हुन्छ, बिर्साइ अनन्त लामो ।

मैले यस्तै रातहरूमा उनलाई अँगालामा बेरेकोले
उनलाई गुमाएकोमा खुशी छैन मेरो हृदय ।

उनले मलाई पिरोल्न सक्ने अन्तिम हरफ यिनै हुन्‌

मैले उनका लागि लेख्ने अन्तिम पङ्क्ति पनि यिनै हुन्‌ ।