अध्यायः १३, अंशः२ 

एक्कासि धरती बढी मडारिन थाल्यो दम बढेको मानिसको छातीजस्तै । त्यो छिटोछिटो उठ्ने र बस्ने गर्न थाल्यो । साथै केटाकेटीहरू पनि हावामा उरालिने र धरतीमा बजारिने गर्न थाले । जीउभरि चोट लागेर आशिष करायो ‘मलाई त सबैतिर चोट लाग्यो ।’

अनि एक्कासि धरती एकपल्ट टक्क रोकियो । केटाकेटीहरू केही रूख उम्रेको धरतीको टुक्रोतिर दगुरे । रूखको टोड्कोमा एउटा सानो पसल देखे । यस्तो मडारिने धरतीमा पनि पसल ! केटाकेटीहरू छक्क परेर हेर्न थाले ।

न यस पसलमा के बेचिन्छ होला ?’ आशिषले आश्चर्य मानेर सोध्यो । तर काम्टेले अर्कै थोक सुनेर जवाफ दियो ‘कहाँ खिचिनु फोटो यस्तो ठाउँमा !’

“कस्तो स्वाँठ रहेछ यो काम्टे ?’ अमरले दिक्क मानेर भन्यो एक थोक भन्यो, अर्को थोक सुन्छ ।’

अमर त्यस रूखको टोड्कोमा बनेको सानो पसलतिर बढ्यो । पसलको पछाडि एउटा सानो घर थियो । घरमा कोही भएझै लाग्दैनथ्यो । धुवाँ-निकासबाट धुवाँ भने निस्किरहेको थियो ।

“ए, सबैजना यता आऔँ, पसलमा के पाइन्छ हेरौं” अमरले भन्यो । गीता र अरू सबै पसलभित्र पसे । पसलमा रङ्गीचङ्गी तकियाहरू थिए । तकियामा डोरी पनि लागेका थिए । त्यो देखेर गीताले हाँसो थाम्न सकिन । ऊ खितखित गर्दै हाँस्न थाली “के अचम्म ! यस्तो ठाउँमा पनि तकिया बेच्न राखेको । कसले किन्ला र ?’

“म त किन्छु भकुन्डे भाइले भन्यो ‘उचालिंदा र पछारिँदा आफ्नो जीउ थिलथिलो भइसम्यो । यो तकिया जीउमा बाँध्न पाए चोट त लाग्दैनथ्यो कि ?’

त्यी तकियाहरू यहाँ बेच्न राखेको मतलब नै त्यही होला’ अमरले विचार गरेर भन्यो ‘नत्र किन राख्थे । लौ हामी पनि एकेकओटा तकिया किनौं । तर पसले त छैन । कससँग…’

त्यसैबेला एउटी हुचीलको जस्तो नाक भएकी सानी आइमाई घरबाट निस्की । त्यो आइमाईले आफ्नो आङमा चारैतिर तकियाहरू बेरेकी थिई। ऊ बडो हाँसो उठ्ती देखिन्थी । उसलाई देखेर गीता फेरि हाँस्न थाली- खितखित खितखित…

‘किन खितखित गर्छे यो छँडुल्नी ! मकै खाने बङ्गारा झर्लान्‌।’ आइमाईले च्याँदिठएको स्वरमा आँखा तर्दै भनी । अनि अमरतिर फर्केर सोधी “के तिमीहरू तकिया किन्न आएका ?’

‘हो दिदी !’ भकुन्डे भाइले अगिसरेर भन्यो र बगलीबाट पैसाको ब्याग झिकेर पैसा गन्न थाल्यो । ‘एउटा तकियाको कति पैसा पर्छ ?’

“पैसा रे ? मोहर भन मोहर । चाँदीका महेन्द्रमल्ली रुपियाँ । एउटाको पाँच मोहर पर्छ ।’ आइमाईले नाकमुख चेप्य्राउँदै भनी । भकुन्डे भाइले पनि मुख बिगार्दै भन्यो ‘पाँच मोहर ? यो त साह्रै महँगो भयो । मसँग त एउटा मोहर मात्रै छ ।’

‘एउटा मोहरमा तकिया किन्ने ?’ आइमाईले आँखा, मुख, हात नचाउँदै भनी ‘जाओ भाग यहाँबाट । तकिया किन्ने, हुँ… !’

बिचरो भकुन्डे भाइ आइमाईको हप्की खाएर मरिच चाउरिएझैँ चाउरियो । अनि उसले काम्टेतिर हेरेर भन्यो ‘काम्टे बा, तिमीसँग केही रुपियाँ छन्‌ ?’

“उपियाँ ?’ काम्टेले कानमा हात राख्दै भन्यो “हो यस्ता तकियामा उपियाँहरू धेरै हुन्छन्‌ त्यसैले म त यस्तो तकिया किन्दिनँ ।’

“कस्तो बज्रस्वाँठ रहेछ । उपियाँ भनेको होइन, रुपियाँ भनेको रुपियाँ ।’ अमरले काम्टेको कानैमा मुख लाएर आफ्नो रुपियाँको ब्याग देखाउँदै भन्यो ‘रुपियाँ, चाँदीको मोहर ।’

“ए, रुपियाँ भनेको ?” काम्टेले हाँस्तै आफ्नो काम्टोबाट एउटा ब्याग झिकेर खोल्दै भन्यो ‘मसँग रुपियाँ छन्‌। कति चाहिन्छ ? …’ तर उ ब्यागभित्र हेरेर खिस्स पर्यो । किनभने ब्याग रित्तो थियो ।

“लौ रुपियाँ त खसेछन्‌” उसले दाँत ङिच्याउँदै भन्यो ‘म डाँडाबाट गुल्टिदा खसेहोलान्‌ । ब्याग त रित्तो छ।’

सबैले आफ्ना-आफ्ना ब्याग हेरे । सबै रित्ता थिए । उनीहरू जिल्ल परे । अमरले आइमाईसँग ‘तकिया उधारो दिनोस्‌’ भनेर माग्यो। तर आइमाई झोक्किएर टाउको नचाउँदै कराई ‘उधारो ? … मैले कसैलाई उधारो दिने गरेको छैन । भाग जाओ !…बड उधारो माग्ने भएका !’

आइमाई झोक्किँदै घरभित्र पसी र जोडसँग ढोका बन्द गरी । गीताले अमिलो मुख लाएर धारे हात लाउँदै भनी ‘मर्न नसकेकी बोक्सी बूढी ।’

त्यसै बेला जीउमा तकिया बेरेका केही मानिसहरू त्यतै आए । तिनीहरूका जीउमा चारैतिर रङबिरङका तकियाहरू बाँधिएका थिए । गीता फेरि खितखित गर्दै हाँस्न थाली । अनि अकस्मात्‌ त्यो धरती फेरि मडारिन, बटारिन, उचालिन र थचारिन थाल्यो । यसो गर्दा त्यो पसल भएको धरतीको थाप्लो एक्कासि डाँडो बनेर उठ्यो । केटाकेटीहरू गुल्टनबाजी खाँदै तल झर्न थाले । साथसाथै पसलमा राखिएका तकियाका डङ्गुर पनि उनीहरूसँगै गुल्टन थाले ।

‘ए, तकिया ! तकिया !’ आशिष खुसी हुँदै कराउन थाल्यो ‘एक-एकओटा तकिया समात सबैले तकिया जीउमा बाँध । अनि जति गुल्टे पनि चोट लाग्दैन ।

सबैले आफूले भेटेका तकिया समातेर छाती, पिठिउँ र टाउकामा बाँधे । अनि त जतिसुकै गुल्टनबाजी खाए पनि जीउमा चोट नलाग्ने भयो । उल्टो गुल्टनबाजी त झन्‌ रमाइलो खेलजस्तो पो भयो ।

तर त्यति बेलै एक्कासि ती साना मान्छेहरू डरलाग्दोसँग चिच्याउँदै रूख रूखमा अँगालो हाल्न पुगे । किनभने त्यहाँ एउटा ठूलो आँधीबेरी चलेर सबै कुरा उडाउन खोज्यो । यो देखेर अमर पनि डरायो । ऊ रूखतिर दगुर्दै चिच्यायो “ए ए ! सबैजना रूखतिर दगुर । एकेकओटा रूख च्यापेर बस । नत्र आँधीले उडाउला ।’

साँच्चै नै त्यो धरती आँधीमा डोलाउन थाल्यो । केटाकेटीहरू ढुन्मुनिँदै रूखतिर दगुरे । बल्लतल्ल एक-एकओटा रूखलाई अँगालो मारेर उठ्न खोजे । तर आँधीले खुट्टा जम्न दिएन । सबैलाई उडाएर रूखबाट पर मिल्काइदियो । सबै भिरालोमा गुल्टनबाजी खाँदै तलतिर पुगे । गुल्टँदागुल्टँदै भकुन्डे भाइ एक्कासि अलप भयो ।

‘ए, भकुन्डे भाइ खोइ ?’ गीता चिच्याई । भकुन्डे भाइ कतै देखिएन । अनि त सबै हडबडाएर उसलाई खोज्न थाले ।

“ए अमर ! ए गीता !’ एक्कासि बादलमुनिबाट भकुन्डे भाइ कराएको सुनियो मैले त बादलको भ्वाङ भेटेँ । म तल भर्याङको मुखमा झरेँ । तिमीहरू पनि भ्वाङतिर गुल्ट ।’

‘तर भ्वाङ कसरी भेट्ने ?’ अमर करायो ।

क्रमश….