यो समीक्षा होइन । समालोचना पनि होइन । त्यो यस्तो भाषामा लेखिँदैन ।

यो ‘कर्णाली ब्लुज’ लाई विगत दुई दशककै सर्वाेत्कृष्ट नेपाली उपन्यास हो भनेर भन्ने, अनि लेख्ने पनि एउटा जिज्ञासु पाठकको मनोवेग हो । ‘फिरफिरे’ आएर पनि लामो समयपछि कतै लेखेको रहेछु— ‘कर्णाली ब्लुज’को उचाइ यस्तो उचाइ हो, जसलाई लेखक आफैँँले उनका अन्य कृतिमा छुन सकेका छैनन् । तर म आशा गर्छु, बुद्धिसागरले आगामी दिनमा आफैँलाई पछार्नेछन्, र धेरै अगाडि जानेछन् ।’

मेरो यो कुरो प्रकाशित छ, ‘फेसिङ अ लिटल भोल्क्यानो’ नाम गरेको अन्तरवार्ता पुस्तकमा ।

त्यो मेरो तटस्थ मूल्याङ्कन थियो । ‘एक्लो’ आएपछि मेरो त्यो वाक्य फेरिन्छ र स्वत: विनिर्मित हुन्छ भन्ने मेरो विश्वास थियो । तीव्र चाहना पनि । तर, वाक्य कायम रह्यो । फेरिएन ।

‘एक्लो’बारे कवि रमेश क्षितिजले समाजिक सञ्जालमा लेखे— उपन्यास पढेर निराश भयौँ भन्नेहरू उनकै शब्दमा ‘परम्परागत उपन्यास पढ्न अभ्यस्त, उपन्यासमा भयानक कथा, खत्रा इन्डिङ र हेभी दर्शन खोज्नेहरू’ हुन्, अथवा, ‘थोत्रा सिद्धान्तको उही फ्रेमबाट नैतिक शिक्षा, द्वन्द्व, वाद वा घोषणापत्र पढ्न चाहने’ आदि हुन् । यानि, ‘एक्लो’ ले निराश पार्‍यो भनियो भने, माथिका पगरी गुँथ्न तयार हुनुपर्छ । अर्थात्, ‘एक्लो’ का पाठकलाई निराश हुने ठाउँ नै छैन । यानि, निराश हुन पाइएन । बुद्धिसागरको उत्कर्ष नै यही हो भनेर बोल्न वा लेख्ने छोडौँ?

कवि रमेश क्षितिजले बुद्धिसागरको पक्षमा यति रक्षात्मक हुनुपर्ने बाध्यता त म बुझ्छु, तर प्रयोजन बुझ्दिनँ । उनको त्यो बाध्यताले एउटा स्वतन्त्र पाठकको विवेकलाई एकातिर गलहत्याउन सक्छ भन्ने भ्रम डरलाग्दो भ्रम हो । प्लस, बुद्धिसागर, मेरो नजरमा, यस्ता रक्षात्मक बैशाखी टेकाउनुपर्ने लेखक नै होइनन् । उनी हाम्रो हृदयको मणि, ‘कर्णाली ब्लुज’ का सर्जक हुन् । उनको त्यस मास्टरपिसको सापेक्षतामा हामीलाई ‘एक्लो’ पढ्ने अधिकार छ, र निराश वा आशावान् र सन्तुष्ट वा असन्तुष्ट हुने पूर्ण अधिकार छ । कुनै परम्परागत फ्रेम नबोकी, उपन्यासले जे भन्छ त्यही हेरेरै पनि ‘एक्लो’ माथि अनेकौँ कोणबाट स्याबासी दिने, र त्यति नै कोणबाट प्रश्न उठाउने पनि अधिकार छ ।

कवि रमेश क्षितिजले बनाएको कसीमा निगेटिभ मार्किङ पाउने पाठकको कित्तामा उभिन तयार छु म, ‘एक्लो’ को हकमा । यस पुस्तकको आचोनात्मक पठक नै हुनु हुन्न र प्रशंसै मात्रै गरिनुपर्छ भन्ने अप्राज्ञिक सल्लालाई अक्षरश: ग्रहण गर्न सकिएन । ‘एक्लो’ भव्य स्वरूप, विशाल काया र सुन्दर छपाइमा आएको तर गुण र दोष लगभग बराबर भएका कारण ‘औसत’ बन्न पुगेको एउटा उपन्यास हो । यस कुराको प्रमाण यस लेखभरि छरेको छु । सरी कवि रमेश क्षितिज !

बुद्धिसागरलाई चाहिँ ‘सरी’ भन्नु पर्दैन । आख्यानमा उनको वर्तमान र भविष्य कति हो कति उज्यालो छ । एक व्यक्तिको रूपमा पनि बुद्धिसागरको शालीनता ईर्ष्या लाग्दो छ नै । उनले यत्तिको मूल्याङ्कनलाई हाँसेर ग्रहण गर्छन् भन्ने मेरो विश्वास छ । उनको भावुकता र हतारोले छलेका कतिपय ठाउँमा एउटा पाठकले उनको ध्यानाकर्षण गर्नु नै पर्छ ।

कथा देशले पढिसक्यो । वा पढ्दैछ । कथा भन्दिनँ । बुद्धिसागरको ल्याकतको कुरा गर्छु ।

— मूल पात्र ‘श्री’ गाउँबाट सहर आउँछ, र सहरका कहर निरन्तर झेल्छ । झिल्काजस्ता आउने अस्थायी सफलतापछि पुन: असफलता वा अनिश्चितता हात पर्छ । सहरको कोर्रा खेपेका धेरै युवाको प्रतिनिधि हो श्री । धेरै पाठकले उसमा आफैँलाई भेट्छन् । उसका सानाठूला रहर, बाध्यता, बदमासी, छल, इमान्दारी — ती सबैसँग पाठकको समनाधर्मिता कुनै न कुनै मोड वा प्रसङ्गमा गाँसिन्छ ।

— सहरले मान्छे खान्छ पनि बनाउँछ पनि । कुनै ठोस योजना बिनै सनकमा, वा अन्यत्र अलि असहज भएका कारण सहर पस्नेहरूलाई सहरले ठाडै निलिदिन्छ । वा, ठूलो सपना देखेर सहर पस्ने, र सपनाको सन्धानको दिशामा सिन्को पनि नभाँच्नेलाई सहरले काँचै खान्छ । अथवा, आफ्नो क्षमता बुढीऔँलो जति, र रहरचाहिँ सिङ्गो हातजति बाकेका पात्रलाई सहरले खाइदिन्छ । उपन्यामा भेटिने आदि, सूर्यबहादुर, तोप र श्रीजस्ता मुकाममा नपुग्दै हराएका पात्र यस्तै नियतिका उदाहरण हुन् । ‘एक्लो’ ले हामीलाई सहरको यस स्वभावलाई सैद्धान्तीकृत गर्ने बलियो आधार दिन्छ । अँ, एउटा कुरो । सहरकेन्द्रित लेखन र सहरको अमानवीय पाटोको चित्रण, पश्चिममा ‘हाई मोडर्निज्म’ यानि उच्च आधुनिकताको एउटा लक्षण हो । त्यसैले, विश्व साहित्यको दृष्टिविन्दुबाट हेर्दा ‘एक्लो’ ले लेखनको नयाँ व्योम उघारेको भने होइन । बरू धेरै पछि फर्किएको हो । यसो भनेर ऐतिहासिक आख्यान पनि होइन ।

— श्रीको दश ब्यान्डको कालो रेडियोले टिपेको फोनवार्ता — फोनवार्तामा प्रेमी नीलसँगको संवादमा आइरहने समीरा, उसको पुस्तक र भाषा प्रेम, श्रीमा उसप्रति बढ्दै गएको अनुराग र पुस्तक तथा भाषाप्रतिको नयाँ प्यार, र त्यसले श्रीको जीवनमा ल्याएको सकारात्मक परिवर्तन — यो नेपाली आख्यानमा बिल्कुलै नयाँ कुरा हो । यसले आवाजको सम्मोहनले निर्माण गरेको एउटा मनोलोक, त्यस मनोलोकले उमार्ने सपना, र ती सपनाको पछि, मरीचिका पछ्याउने मृगको जस्तो नियतिले पनि कसरी मान्छेको जीवनमा ठोस, मूर्त र वास्तविक परिवर्तन ल्याउन सक्छ, ‘एक्लो’ को कथामा पढ्न पाइन्छ ।

— घरबेटी बाआमाको, आदिको, टोपको, सूर्यबहादुरको र श्रीको — पाँच ठूला कथा समानान्तर छन् । ती सबै आफ्नै अस्तित्वको भूमरीमा बाँचेका खण्डित पात्र हुन् । तिनलाई जोड्ने कडी श्री हो । श्री आफैँ भने जोडिनेभन्दा तोडिने प्रकृतिको छ । आफ्नै घर, परिवार, आमाबा र दाइसँग टुटेको छ । यस्तोमा लेखकसामु कथालाई पनि र पाठकलाई पनि बाँधिरहने बलियो ‘हुक’ चाहिन्छ । नत्र, आख्यानको बुनोट खुस्किन सक्छ । बुद्धिसागरको विलक्षणता भनौँ, आफैँ ‘क्लेफ्ट’ जस्तो लाग्ने श्रीले यी समानान्तर कथालाई मज्जाले जोडेको छ — कतै संवेगले, कतै संवेदनाले, कतै राणनीतिले, त कतै प्रेमले । यसको अर्थ, श्री अनेक शक्ति र प्रतिभाले सम्पन्न पात्र हो । अँ, ऊ आफ्नै वर्तमान र भविष्य निर्माणको प्रश्नप्रति चाहिँ गम्भीर छैन, र त्यसैले उसको अँध्यारो नियति कोरेको छ ।

— सहरमा समान प्रकृतिका समस्या, अनिश्चिता वा एक्लोपनले अपरिचित र असंलग्न मानिसहरूका कथालाई कसरी एकआपसमा जोडेर एउटा जालो बनाएको हुन्छ, तर त्यो जालो कसरी बिहानीको शीतमा निथ्रुक्क भिजेर, सूर्योदयसँगै टुटेर चुर चुर हुन्छ, ‘एक्लो’ले देखाउँछ ।

— मरुभूमिमा देखिने पानीको छायाजस्तो सफलताको मरीचिका, र आफ्नै हत्केलाका रेखाजस्तो वास्तविकता बेकेर बाँचेका समान्य मान्छेको सामान्य कथामा कसरी एउटा सिङ्गो जीवनको दर्शन निर्मित हुन सक्छ, त्यो कुरा यस उपन्यासमा छ ।

— बालक, किशोर, अधबैंसे, वृद्धवृद्धा, अनपढ, पढेलेखेका, स्वार्थी, सहयोगी, पागल, किचकन्नी, भूत, व्यापारी…सबै प्रकारका मान्छे वा अस्तित्व कतै न कतै अटाएका छन् । यानि, अनेकौँ पुस्ताको साझा कथा हो ‘एक्लो’ ।

— आख्यानमा कविता, र कवितामा पनि सूक्तिका एक विलक्षण शिल्पी हुन् बुद्धिसागर । ‘एक्लो’ मा अनेकौँ यस्ता हरफ छन्, जसलाई टपक्क टिप्नु र आफ्नो कार्यकक्षको अगाडिको भित्तोमा ठूला अक्षरले लेखेर राख्नुजस्तो लाग्छ । उदाहरण हेरौँ—

१. कथाहरू बोकेर हिँडेको मानिस कहिल्यै रित्तो हुँदैन ।

२. असल काम गर्दा अलिकति हिसाब तलमाथि भए नि फरक पर्दैन…खराब काममा मात्रै मान्छेहरू हिसाब ट्याक्क मिलाउँछन् ।

३. प्राय: प्रेम प्रश्नबाट सुरू हुन्छ र अन्त्य पनि प्रश्नबाटै हुन्छ ।

४. अनकन्टार जङ्गलमा अलपत्र परेर बाटो नभेटिएर रिँगटा आइरहेका बेला ढाटाटाढा ढलेको रुख पनि बाटो जस्तो लाग्छ ।

५. कथाको संसारमा घाम र जून एकैचोटि झुल्किन सक्छन् ।

६. गर्धन छिनालिएको बोकाले पनि एक पटक खुट्टा तन्काउँछ । त्यो जीवनमोहको अन्तिम झट्का हुन्छ ।

७. गुम्नै लागेको कुरालाई फेरि प्राप्त गर्दा माया झन् बढ्दो रहेछ । कोमाबाट ब्युँझिएकालाई जीवनको माया यसैगरी लाग्दो हो ।

८. संसारको सबैभन्दा थकान र त्रासले भरिएको कर्म हो, अरूको गोप्य कुरा बोकेर हिँड्नु ।

९. म यस्तो वैज्ञानिक भएको थिएँ, जसले उत्साह र हर्षमा जून र ताराहरूसम्म पुग्न पृथ्वी छोडेको थियो । त्यहीँ पुगेपछि अथाह सन्नाटा र निस्सारता मात्र थियो ।

१०. नमिलेको हिसाब बोकेर बाँँचिरहनु नै जिन्दगी हो ।

उपमा वा रूपक अलङ्कारको प्रयोग तथा प्रतीकात्मकताको प्रयोगमा बुद्धिसागर, मलाई लाग्छ, अतुलनीय छन् । केही उदाहरण:

१. मलाई आवाज निकाल्न रत्नपार्कतिर मुखबाट ब्लेडका लहरा निकालिरहेको जादुगरलाई जत्तिकै गाह्रो हुन्छ ।

२. म फेला नपर्ने गरी हराइहालेँ भने पनि खोज्नलाई कोही थिएन । म त शिशिरको त्यो अन्तिम पहेँलो पात थिएँ ।

३. मैले अन्तिम डल्लो म:मतिर हात बढाएको थिएँ, अचानकै शोकको खबर सुनेर नुन बारेझैँ हात रोकेँ ।

४. अन्तिम वसन्तलाई बिदा गरेको रुख जस्तो उसका बाबा !

५. म त केवल छापिइसकेको कथाको किताबभित्र पस्न खोजेको पात्र थिएँ ।

६. मैले यसो नजर उठाएर हेर्दा देखेँ— आत्माको रङ जस्तो, एकदमै सोतो पन्छी उड्दै उड्दै गइरहेको थियो ।

७. मलाई आफ्नै पिँडौला काटेर खाऊँ जस्तो भोक लागिरहेको थियो ।

८. आफूलाई थाहा भएका नदी र समुद्र पिउन थालेँ । सबै पिइसकेपछि घना जङ्गलमा पातमाथि बसेका पानीका थोपा पनि पिउन थालेँ ।

९. उसलाई जेब्राक्रसमै अचानक अल्जाइमर भए जस्तो भएको थियो ।

पढियो, मज्जा आयो ।

‘सासै नरोकी, एकै बसाइमा’ पढिएको भने होइन । ४९४ पृष्ठको उपन्यास र काठमाडौँको व्यस्त जिन्दगी । अलि छोटो उपन्यास लेखिदिएको भए पनि हुने भन्ने लाग्यो । बेलाबेला लाग्यो यस्तो ओभरराइटिङ किन गर्छन्, जस्तो कि— ‘त्यसैले कल्पना गर्थें, केही वर्ष कोसिसमा बित्लान् । केही महिना उदासीमा । केही साता छटपटीमा । केही दिन मौनतामा । केही घण्टा उत्साहमा । केही मिनेट सम्भावनामा । र केही सेकेन्ड प्राप्तिमा ।’ यति कुरा त पाठकले आफैँ भन्दिन्छन् । अथवा कली क्याफेमा कहाँ कहाँ के राखिएको थियो, र त्यसको मेन्युमा के थियो भन्ने लम्बेतान विवरण, जसले कथाको अग्र–प्रवाहमा आधा इन्चको पनि योगदान दिँदैन । अथवा, त्यहीँको वेटर परशुरामले लगाएका लुगा र जुत्ता, तथा उसको अनुहार र कन्चट आदिको लामो विवरण, जुन कथामा यत्रो चासोको विषय नै होइन । घटाउँदा हुन्थ्यो । माइक्रोडेस्क्रिप्सन भनिने यस्तो अतिशय मिहीन कुराको वर्णन, पाठकको सामान्य ज्ञान वा अनुमानको परिधिभित्र छ भने त्यसलाई छोड्दा हुन्छ । तर, त्यसले कथामा कुनै नवीन पक्षको वा भावको उद्घाटन गर्नु छ भने, त्यो अनिवार्य हुन आउँछ । ‘एक्लो’ मा मूल कथालाई प्रभावित नपारी खुम्च्याउन मिल्ने धेरै ठाउँ छन् ।

लामो आख्यानको दबाव अर्कै मनोविज्ञानबाट ग्रसित हुन्छ । तर छरितोपन चाहिँ पाठकमैत्री हुन्छ । ठूलो आकारका तर धेरै ठाउँ छाँटकाँट गरेर घटाउन मिल्ने आख्यानदेखि डराउने पाठकहरूको प्रतिनिधि त हुँ नि म । मेरो कुरालाई ‘इस’ भनेर बाडर्नै चाहिँ मिल्दैन ।

हो, सासै नरोकी, एकै सासमा पढिएन । रोकियो अनेक कारणले । बुद्धिसागरले अन्य कृतिमा दिएजस्तो हृदयमा कम्पन हुने कारूणिकता यसमा दिएनन्, र त्यस कारणले गति रोकेको चाहिँ, कमसेकम होइन । स्पिड ब्रेकर तीनवटा छन् ।

१. पहिलो— सोचमग्न बनाउने प्रसङ्गहरू जसमा बुद्धिसागर ‘एट हिज बेस्ट’ छन् । एकछिन नरोक्किई, केही चिन्तन नगरी, अलिकति छक्क नपरी, थोरै ईर्ष्या नगरी अगाडि बढ्नै सकिँदैन ।

२. दोस्रो— अनेक प्रश्नहरूले रोक्छन्, जो पाठकको मनमा उठ्छन्, र उनीहरू भन्छन् — यस्तो पनि हुन्छ र ? नहुने कुरो ।

३. अन्तिम स्पिड ब्रेकर — प्रकाशकको पनि र लेखक आफैँको पनि स्थापित इज्जतमै कालो कोठी लाउने भाषिक त्रुटि । अचेल कसै कसैले भन्छन् — ‘जमाना कहाँ पुगिसक्यो मान्छेहरू ह्रस्व–दीर्घमा अल्झेका छन् ।’ मलाई यस्तोमा अल्झिरहन मनपर्छ । कारण, मेरो नेपाली कमजोर छ, र मानक आख्यान पढेर मैले नेपाली सिक्नु छ । मेरा जुनियरलाई पनि सिकाउनु छ ।

यिनलाई एक एक गरी नियालौँ ।

सोचमग्न बनाउने प्रसङ्ग एक – प्रशंसाको नाममा !

१. आख्यानमा पात्रको मनोलोक उतार्नु सबैभन्दा चुनौतीपूर्ण विषय हो । बुद्धिसागरले नीर र समीराको केवल र केवल आवाज सुनेको भरमा एउटा पूरा पृथ्वी कोरेका छन्, र त्यस पृथ्वीमा श्रीको मनोलोक उभ्याएका छन् । यो बिल्कुलै प्रयोगशील र नवीन कल्पना हो । सलाम । पाठकले यस भव्य यथार्थसँग आफूलाई जोड्न धेरै घोत्लिनुपर्छ । रोकिएर सोच्नुपर्छ ।

२. एक्ला मान्छेको आस्तित्विक युद्धमा उसको छेउछाउ कोही हुँदैन । छन् जस्ता देखिनेहरूको उपस्थिति पनि केवल रणनैतिक अथवा संयोगिक हो । छेउछाउ हुने सबै आफैँमा द्वन्द्वग्रस्त छन् । प्रत्येक पाठकलाई इमान्दारीपूर्वक आफैँभित्रका दृश्य–अदृश्य द्वन्द्वलाई केलाउन यस उपन्यसाले बाध्य तुल्याउँछ । र, आफैँलाई भित्रैबाट उधिन्नु भनेको निकै समय खर्चनु पनि त हो ।

३. श्रीले धेरैजसो पात्र ओरालोमै भेटेको छ । किन होला – पाठक सोचमग्न हुन्छन् नै ।

४. कतिपय हास्यप्रधान प्रसङ्ग वा मुटुछेड सूक्ति पढेपछि पाठक, एकछिन रोकिएर फिस्स हाँस्नु, वा जीवन सम्झेर सोचमग्न हुनु अवश्यंभावी छ । गडडड आदिको मोटरसाइकल हुँइकेजसरी हुइँकिँदा कहाँ देखिन्छ सहरको पूर्ण रूप?

सोचमग्न बनाउने प्रसङ्ग दुई – आलोचनाको नाममा !

१. उपन्यासले काठमाडौँलाई एकाङ्गी दृष्टिले हेरेर भिलेन बनाएको छ । काठमाडौँ सामान्य मान्छेलाई सफलताको उत्कर्षमा पुर्‍याउने सहर पनि हो । तर अठोट, प्रयास, तयारी र समर्पणमै कमजोर पात्र हो श्री भने उसलाई काठमाडौँले यसरी खाइदिनु उपन्यासमा पूरै पुर्वानुमानयोग्य यानि ‘प्रेडिक्टिबल’ बनेको छ । यसले उपन्यासले जन्माउने कौतूहलता वा दिने झटका पूरै धूलीट्याम भएको छ ।

२. श्रीको कथाको मूल भँगालामा आदिको समानान्तर कथाको खास प्रयोजन देखिँदैन । यस्ता प्लटलाई ‘इपिसोडिक प्लट’ भनिन्छ र कथाको मूल उद्देश्यमा यिनको खासै ठूलो भूमिका हुँदैन । तीव्र गतिमा दौडनुपर्ने मान्छे दुर्घटनामा परेर मर्नु पनि काठमाडौँको विशेषता हो भन्ने झिनो सार त, एक लाइन कतै लेखेर सक्दा हुन्थ्यो ।

३. आवाजै सुनेको भरमा कल्पेकी पात्रको कल्पनामा दिनरात डुब्ने श्री अन्तिम पानामा पुग्दा एक्लो, उदास र असफल हुने कुरामा पाठकले आश्चर्य मान्ने, वा अप्रत्याशित पीडाको अनुभूति गर्ने संभावनानै छैन । आफू पढाइ वा जागिरमा खासै सफल नभए पनि श्री दार्शनिक जस्तो गम्भीर पात्र हो । उसलाई, अर्काकी प्रेमिकाको कल्पनिक अनुरागमा डुबेर समय खर्च गर्नु फजुल हो भन्ने थाहा छ । तर पनि ऊ आफैँलाई बाँध्न सक्दैन । यो उसको निकै ठूलो कमजोरी हो । सामान्यत: आस्तित्विक चरित्रहरू अनेकौँ प्रतिकूलतासँग एक्लै भए पनि लड्नसम्म लड्छन् । अन्तिम विन्दुसम्म डट्छन् । तर हाम्रो श्री जीवन–निर्माणप्रति, सुरूदेखि नै त्यति प्रतिबद्ध छैन । बाग्मतीमा धेरै पानी बगिसक्दा पनि ऊ अङ्ग्रेजीमा पास भएरै छोड्छु भन्ने अठोट गर्दैन, र त्यो दिशामा काम गर्दैन । एउटा सनोतिनो जागिर खोजेर आफैँ उभिन्छु भन्ने अठोट गर्दैन, तर मैदीदेवीको मन्दिरमा बहुला भीमसेनसँग रात काट्न तयार हुन्छ । त्यसैले, अन्ततोगत्वा, कथाको परिदृश्यबाट उसको प्रस्थान अन्यौलपूर्ण हुन्छ भन्ने कुरा पाठकले पहिल्यै अनुमान लगाउन सक्छ । त्यसैले श्री त सही अर्थमा ‘ट्रेजिक’ पात्र पनि बन्न सकेन । समीराको अमूर्त उपस्थितिप्रतिको अतिशय अनुरागले उसलाई कहाँ पुर्‍याउँछ भन्ने चासो बाहेक उसमा पाठकको गहिरो चासो हुनुपर्ने विषय छैन । वास्तवमा, सबै प्रक्षेपणयोग्य कुराका बीच श्री–समीरा सम्बन्ध उपन्यासमा पाठकधको चासोलाई अन्त्यसम्म बाँधेर राख्ने एकमात्र कडी हो । तर दुर्भाग्य, त्यो उपन्यासको मूल विषय नै होइन । त्यो सरमा मान्ख्छे खाने दिवास्पप्न वा मनोहारी भ्रमको ‘एउटा’ उदाहरण मात्रै हो । एउटा सुदूरको उज्यालो, जो छ तर कतै भेटिँदैन । उपन्यासको सार बोकेर हिँड्ने मूल पात्रमा, उपन्यासको केन्द्रीय कथ्यभन्दा अलि फरक विषयले डेरा जमाउनु, र त्यसमा पाठकको बढी चासो अल्झिनु, उपन्यासको मूल कथ्यभन्दा अन्यत्र ध्यान भड्किनु पनि हो ।

४. अँ, काठमाडौँले मान्छे खाइदिन्छ र निकम्मा बनाइदिन्छ भन्ने कुरो बुझाउने चैँ धेरै उपन्यास र कथा छन् विश्व साहित्य वा नेपाली साहित्यमा । कविता पनि छन् । मोडर्निज्मको पूरै प्रकल्प यतैतिर ढल्केको छ । ‘एक्लो’ को कथासार यही नै हो भने त यस सारमा कुनै नयाँ कुराको उद्घाटन छैन ।

सोचमग्न बनाउने प्रसङ्ग तीन— आक्रोशको नाममा !

१. सिर्जनशील अलङ्कारका बादशाह बुद्धिसागरलाई ‘दाम्लो फुकेका गोरुजस्तै’ अथवा ‘आफ्नै लासको मलामी’ वाला क्लिसे भइसकेका उपमा किन प्रयोग गर्नुपरेको?

२. बिल्कुलै अनपढ जस्ता लाग्ने गाउँले आमाले ‘क्याल्कुलेटर, प्यारालाइसिस’ र ‘प्लास्टिक’ जस्ता अङ्ग्रेजी शब्दको यति सटिक उच्चारण गर्नु आफैँमा अविश्वसनीय छ । सामान्य अनपढ पात्रले ‘भाडा तिरेर कोठामा बस्नेहरू त जति पनि आउँछन् । मनमा बस्ने थोरै हुन्छन्’ भनिराछन् । अथवा सिरीकी गाउँले आमा भन्छिन्, ‘भगवानले आकाशबाट ठूलो आवाजमा सन्देश दिँदैनन् । भगवानले सन्देश दिनलाई अरूको सहारा लिन्छन् । सपना, पन्छी, बतासका झोक्का अथवा मानिस चुन्छन् । तिनैबाट सन्देश दिन्छन् ।’ अथवा, म:म बेच्ने राम दाइ भन्छन्— ‘जब मानिस भोकाएर आउँछन् र स्वाद मानीमानी मैले पकाएको परिकार खान्छन्, म उनीहरूको सन्तुष्ट अनुहारमा आफ्नो खुसी भेट्छु । मेरो आत्मा शीतल हुन्छ ।’ सामान्य पात्रको मुखमा कुशल शब्दशिल्पी बुद्धिसागरको वास भयो । ती पात्रको अबोध र निर्दोष भाषाको वास भएन कि?

३. ‘राति साढे १० बजे म भित्तातिर कोल्टे फेरेर मन्द स्वरमा घुरिरहेको थिएँ ।’ एक्लै सुतेको पात्र, घुरेको कसरी थाहा भयो? अनि, त्यो घुराइ ‘मन्द’ थियो— त्यो कसरी थाहा भयो?

४. कल्याणीले मोटरसाइकलमा पछाडिबाट कोतरेकैले आदिको जिउमा घाउ भयो । पत्याउन साह्रै गाह्रो । कस्सम ।

५. ‘किनभने’, ‘किनभने’ — धेरै ठाउँ । धेरै व्याख्या गर्ने मोह । पाठकको चेतनालाई अलि बढी विस्वास गरेर यो ‘किनभने’ को अधिक चक्कर छोड्ने कि?

६. ‘आखिरीमा ट्याक्सी ड्राइभर न परे’ जस्ता वाक्य तथा ‘मान्छे’ बन्न पुलिसको जागिर छोड्यो भनेजस्ता कुराले ट्याक्सी ड्राइभर तथा पुलिसप्रतिको दृष्टिकोण नकारत्मक तथा ‘स्टेरियोेटिपिकल’ बनाउँछ । सबै पेसाको सम्मान गर्नुपर्ने आजको युगमा यसो गर्नु हुन्थेन ।

७. एकैछिन आएका कान्छा बाले डसनाले च्यापेर राखेको मार्कसिट भेटे । यानि, डसना खोदलखादल पारे । हैट, यो अलि बढी भएकै छ ।

८. छोराले अमेरिकन केटी ल्यायो भनेर रिसाएका काठमाडौँका घरबेटीले ५ महिनासम्म डेरावालसँग भाडै माग्न बिर्से । अपत्यारिलो ।

९. परीक्षा हलबाहिर बसेका शिक्षकले १५ मिनेटमा १०० नम्बरकै प्रश्नको उत्तर खर्खर लेखिभ्याए । ती तिलस्मी पात्र हुनुपर्छ ।

१०. फोन नलागेको पीरमै ‘भनन्न रिँगटा लागेजस्तो’ हुनु र ‘छेउको बिजुलीको पोल समाउन पुग्नु’ पनि अतिशयोक्ति नै हो । फोनै नाथु त कति लाग्दैन लाग्दैन ।

११. ‘सहरमा सबैभन्दा छिटो मन्दिर उठ्छन् ।’ मन्दिरभन्दा छिटो उठ्ने तरकारी व्यापारी, पूर्वपश्चिम जाने दिवा–सेवाका गाडी, अखबारका हकर र दूधवालालाई सोधौँ ।

१२. ‘शङ्खमुलको किनार’ भन्नाले सायद शङ्खमुलनेर बाग्मतीको किनार हो । मिलाएर बुझ्यौँ ।

१३. घट्टेकुलो बस्ने श्रीले मैतीदेवी मन्दिर छोडेर घर आउने बेला ‘म फेरि फर्केर आउने छैन’ भन्नु अपत्यारिलो । पाँच मिनेटको बाटो । त्यहाँ पुगेकै छ नि, फेरि पनि ।

१४. पत्रकार हो भन्ने बुझेपछि जहाँका मान्छे पनि एउटै प्रश्न सोध्छन्— अब देश कता जान्छ? सल्लाह नै गरेजस्तो । अति–संयोग । फ्ल्याट क्यारेक्टहरूको भीड ।

१५. ‘सल्केकी छु’ लाई स्थानीय भाषा भनिएको छ । कुन स्थानको? बरू त्यो झर्रो वा आम बोलचालको भाषा हो कि?

१६. ‘कुकुरले पनि आलस्य मानेर हाई काड्दा रहेछन् भनेर मैले यसैपालि थाहा पाएको हुँ ।’ यानि, यति बुझ्न श्रीलाई २६ वर्षको हुनु पर्‍यो ।

१७. ‘अस्पतालकै एम्बुलेन्सले लास पशुपति पुर्‍याइदिने भएको थियो ।’ शवबाहन पो हो कि?

१८. ‘छरितो ज्यान भएकाले पनि होला, उनै थिइन् लेखा शाखा प्रमुख ।’ कसरी बुझ्नु?

१९. रेष्टुराँमा वेटरले बिलको चिर्कटामा ग्राहकका नाम लेख्छ । होइन कि?

२०. जुन दिन देशप्रेम साप्ताहिक बन्द भएर श्रीको जागिर खुस्कियो, त्यसै दिन, लामो अन्तरालपछि आमाको फोन आयो । असंभव त भएन, तर अति–संयोग त हो नि ।

२१. ‘समूहबाट छुटेको पन्छीलाई थाहा हुन्छ, ऊ फेरि समूहसम्म पुग्दैन ।’ ओके । तर, यो कुरा कसरी थाहा पाउँछ मान्छेले? पुग्न पनि त सक्छ नि ।

२२. ‘मलाई त्यही क्षण लागेको थियो, काठमाडौँमा डेरा सर्नु भनेको एउटा ग्रहबाट अर्को ग्रहतिर सर्नु हो । फेरि भेटघाट असम्भव छ ।’ तर, सम्भव छ । चाहनु पर्छ । कत्रो पो छ र काठमाडौँ?

२३. भाषाज्ञानको कुनै प्रमाण बिनै श्रीले भाषा सम्पादकको जागिर पायो । यसको आधार भेटिँदैन । सत्यकथा पढेकै आधारमा यस्तो होला त? कि साथीको सदासयताले मात्रै भएको हो?

२४. अङ्ग्रेजी नआउने कारणले, कली क्याफेमा विदेशी टुरिष्टले सोध्लान् कि भनेरै श्रीले काखीमा ‘द गुड अर्थ’ च्यापेर लल्याकलुलुक हुनुपर्छ र? आउँदैन भन्दा भइहाल्छ नि?

२५. भो, भाषिक त्रुटिको ‘नकुरा अरम’ । रात्तै पारेको छु ‘एक्लो’ का पाना ।

र यो सूची निकै लामो छ । अहिले यत्ति नै…

अब बिट मार्ने बेलामा, छलफलका केही बुँदा—

१. रेडियोले कसैको फोनवार्ता टिप्यो । निरन्तर ६ वर्ष । झ्यार्रझुर्रका बीच टिपेको वार्ता कति चैँ स्पष्ट हुन्छ? त्यसकै आधारमा एउटा मान्छेको करिब करिब सम्पूर्ण यथार्थ टिप्न सम्भव छ? हाउभाउ, सोध, चाख, साख, परिवार, हब्बी, सम्बन्ध, खटपट, डिभोर्स…त्यसै बेला छेउछाउ अरू फोनमा पनि त वार्ता चले होलान् । तिनलाई चैँ रेडियोले टिपेन । किन होला?

२. उपन्यासले, अङ्ग्रेजी नजान्ने मान्छे काठमाडौँमा करिब करिब निकम्मा नै हुन्छ भन्ने सन्देश पनि दिएको छ । तर यो सत्य–सन्देश होइन । हुँदै होइन ।

३. कथामा माओवादी द्वन्द्वको कुरा, हाइवेका होटलमा दिइने तरकारीमा छरेको धनियाँका पातजस्तो पातलो छ । द्वन्द्वको कुनै घनीभूत चित्रण छैन । द्वन्द्वलाई पूरै मिल्क्याइदिए पनि श्रीको कथा उभिन्छ । कथाले अझ सार्विक हुने मौका पाउँछ । बिर्सिएको सपना बेला बेला झल्याँस्स सम्झना आएजस्तो आउँछ माओवादी द्वन्द्व । त्यसले त कथाको बलियो पृष्ठभूमि बन्ने गौरव पनि पाउँदैन ‘एक्लो’ मा ।

६. गौशालामा आदिको मृत्यु भयो, दुर्घटनामा । त्यहाँ श्री थिएन । उसलाई घटनाको विवरण कसैले सुनाएन । यो उपन्यास श्रीको दृष्टिविन्दुबाट लेखिएको हो । त्यसो भए, आदिको मृत्युको पूर्ण र सचित्र विवरण कसको दृष्टिविन्दुबाट लेखिएको हो? श्री त एकैचोटि भस्मेश्वर घाट पुगेको हो, सूर्यबहादुरको ट्याक्सीमा । घटनाको कुनै प्रत्यक्ष दर्शीले सुनाएको थाहा छैन । यो संरचनागत त्रुटि भयो कि?

७. सूर्यबहादुरले आफ्नो अति नै गोप्य कथा सिरीलाई किन भन्यो, त्यो पनि काठमाडौँ छोड्ने बेलामा? त्यसबाट पाउनु के थियो? रानीबारीछेउ, ट्याक्सीभित्र केटीसँग घटेको घटना नसुनाएकै भए पनि कसले पो थाहा पाउँथ्यो र? अथवा ऊ ‘एन्सिएन्ट मेरिनर्स सिन्ड्रोम’ बाट ग्रसित थियो, जसमा अपराध गरेको मान्छेले अपराधको कथा कसैलाई नसुनाउँदासम्म उसले शान्ति पाउँदैन? फेरि, सिरीलाई सुनाएर उसैलाई पनि न्याय भएन । उक्त घटनाबाट सूर्यबहादुरले अप्रत्यक्ष रूपमा अन्याय गरेको त यसैकी श्रीमतीलाई थियो । तर, उनी यसबारे अझै बेखबर ।

अन्त्यमा,

हाम्रो विराट आख्यानकार बुद्धिसागरको ‘एक्लो’मा अलि घुर्मैलो देखेँ । ‘कर्णाली ब्लुज’को उत्तराधिकारी आएन, ‘फिरफिरे’को आयो । बुद्धिसागरलाई धुइँपत्ताल खोज्नुपर्ने देखिन्छ । उनलाई सेलेब्रटी सिन्ड्रोमले पो छोयो कि ? थोरै फिल्म, अलिकति फ्रेन्च, केही अङ्ग्रेजी पुस्तकका नाम, तिनको अति नै झिनो सम्मरी, अलिकति युरोप, एकाध अङ्ग्रेजी गीत…!

र नि, अलि माथिल्लो, भच्र्युअल भूगोलबाट हेर्दा, साना मान्छेको सानो संसारका ठूला धाँजा र धर्सा अलि किरिङमिरिङ देखिए कि? साना साना मान्छेहरूको सूक्ष्म भौतिक र मनोवैज्ञानिक भूगोलसँगको बुद्धिसागरको निकटता घट्दै गएको हो र?

भो, यतातिर म सोच्न पनि चाहन्नँ । मलाई विश्वास छ, मैले कुनैदिन बुद्धिसागर भेट्टाएरै छोड्छु । उनी मेरा लागि, टोपको भाषामा पश्चिमबाट उदाएका घाम हुन् ।
त्यतिञ्जेलका लागि अर्को उपन्यासको प्रतीक्षा गर्नुको विकल्प रहेन । म पुन: ‘कर्णाली ब्लुज’ तिर फर्किएँ, ल?