सृजनलाई भेट्नुअघि मेरो चित्रकलाप्रतिको धारणा नै बेग्लै थियो ।

म सोच्थें, “लेखकले कलम चलाएझैं कुचीकारहरूले कुची चलाउने त हुन् ! कुची चलाउँदा जे बन्छ, त्यसलाई एक वा अनेक अर्थ र नाम दिएर बयान त अरूले नै गरिदिने हुन्, त्यसमा चित्रकारको केही भूमिका हुँदैन । महत्त्व हुँदैन । अस्तित्व पनि हुँदैन ।” तर, म गलत रहेछु । म गलत रहेछु भन्ने बुझ्न ऊसँगको मेरो पहिलो भेट नै काफी थियो।

सन्देश, मेरो बालसखा । ऊ र म आज पनि सँगै छौं। साथै छौं र त जीवनका हरेक दु:ख-सुख बाँड्न पाएका छौं । स्कूल, कलेज र विश्वविद्यालयसम्मको पढाइ हामीले सँगै सकेका थियौं । ऊ नेपाली साहित्य पढ्थ्यो, म अंग्रेजी । यसकारण पनि उसको र मेरो गफगाफका धेरै विषयहरू साझा हुन्थे ।

मनोज रेग्मी

एकदिन उसले मलाई आफ्नो एउटा साथीकोमा लिएर गयो । उसको त्यो साथी चित्रकार रहेछ । तर, सडक दुर्घटनामा परेर हलचल गर्न नसक्ने हुँदा घरमै आराम गरिरहेको रहेछ । उसलाई के भएको थियो ? मलाई थाहा थिएन। सन्देशले मलाई उसको बारेमा केही पनि भनेको पनि थिएन । म त बस् सन्देशको पछिलागेर उसको घर पुगेको थिएँ।

जब म सन्देशसँग उसको कोठामा पुगें, ऊ बिस्तरामा पल्टिरहेको थियो । उसको कोठाको भित्ताभरि थरीथरीका पेन्टिङहरू टाँसिएका थिए । टाँसिएका मध्ये कति त विश्वविख्यात आर्टिष्टहरूको मास्टरपिसका कपीहरू पनि थिए।

नयाँ ठाउँमा जाँदा मान्छेले त्यो ठाउँको हरेक कुरा मज्जाले नियाल्छ । त्यो दिन मेरो लागि त्यो कोठा पनि नयाँ नै थियो । त्यसैले मैले कोठाको हरेक सामान मजाले नियालेँ । उसको कोठा नियाल्ने क्रममा मेरो आखाँ बेडको छेउमा राखिएको एउटा बेडसाइड टेबलमा गएर रोकियो । टेबल पुरै औषधि र जुसले भरिएको थियो। त्यही टेबलको एउटा कुनामा सानो फ्रेम गरेर राखिएको दम्पतीको फोटो थियो।

कोठाभरि रङ, पिसाब र औषधिको ककटेल गन्ध फैलिएको थियो। नाकको पोरा नै परपर्याउने कडा गन्ध। अस्पतालको छनक दिने गन्ध।

कोठाको एउटा कुनाको टेबलमा खुला मुख भएका केही सिसीहरू थिए, जसमा विभिन्न आकारका कुचीहरू माथि फर्काएर राखिएका थिए। टेबलमा रङहरू चुहिएका टाटाहरू थिए। कतै रङ लत्पतिएको सुतीका टालाहरू असरल्ल छरिएका । भित्तामा पनि रङका मसिना छिटाहरू देखिन्थे । केही रङका बट्टाहरू मिलाएर टेबलको अर्को कुनामा राखिएको थियो । केही बट्टाका बिर्कोहरू थिएनन् । टेबलको एउटा छेउको स्ट्याण्डमा एउटा स्ट्रेचरमा क्यान्भास थियो। क्यान्भासमा एउटा अधुरो पोट्रेट थियो, जसमा अनुहारको आकार मात्र बनाइएको थियो—आँखा, नाक, ओठ र अन्य भागहरू बिनाको पोट्रेट।

पूर्वतिरको झ्याल नजिकको खाटमा एउटा आकार लम्पसार थियो, जुन घरिघरि तल माथि गरेजस्तो देखिन्थ्यो। सायद उसको स्वास फेराइको लयसँगै उसले ओडेको च्यादरले आफ्नो धर्म निभाएको हुनुपर्छ। टाढाबाटै अनुमान लगाउन सकिन्थ्यो कि उसको स्वासको गति असामान्य थियो। खाटमुन्तिर पिसाबको कृत्रिम थैली झुन्ड्याइएको थियो।

“सृजन, ओइ सृजन !”- सन्देशले बोलायो।

“ हँ, को हो? यता खाट नजिक आउनु न। म आफैं फर्किन सक्दिनँ !”- स्थिर रहेर नै उसले जवाफ दियो।

“म हो के, सन्देश ! कस्तो छ अहिले तँलाई?”

“ए तँ होस् ! कतिबेला आइस् ? म त आफैं फर्किन नसक्ने अवस्थामा छु यार, कि तँ यता आएर मलाई त्यतापट्टि फर्किन मद्दत गर, कि तँ नै यता आइज !”

सन्देश हतपत ऊ फर्केतिर गयो र उसले ओडेको च्यादर तल सारिदियो। अनि आफ्ना दुवै हातले तानेर खाटमा आडेस लगाइदिएर राख्न खोज्यो। मैले उसको पछाडि एउटा सिरानी राखिदिएँ।

“तिमीहरू पनि बस न ! एकजना ऊ त्यो कुर्सीमा बस, एकजना त्यो मोढा तानेर बस,” कुर्सी र मुढा आफ्ना कलेँटी परेको ओठ चुच्चो पारेर देखाउँदै उसले भन्यो।

“उहाँलाई त मैले चिनिनँ नि?” हामी बसेपछि मतिर उसले हेर्दै सोध्यो।

“ए…ऊ? ऊ मेरो साथी, मनोज। मेरो बच्चैदेखिको साथी।” सन्देशले मेरो परिचय दियो।

उसले नि आफ्नो परिचय दिदैं भन्यो- “म सृजन है! म सन्देशको क्लासमेट्, मास्टर्सको !”

हामीले आफ्नो परिचयसँगै एकअर्कासँग आतिथ्यता पनि साट्यौं।

“कसरी भयो यार यो सब? मैले त बल्ल हिजो थाहा पाएँ। अफिसको कामले फिल्ड भिजिटमा तीन महिनाको लागि लोमान्थाङतिर गएको थिएँ। त्यहाँ त नेट र फोन पनि राम्रोसँग नचल्ने रहेछ। केही थाहा पाइनँ । हिजो मात्र फर्केको। घरमा आउनासाथ थाहा पाएँ। अनि बिहानै भेट्न आको !”, सन्देशले आफ्नो प्रश्न र उसले सोध्न सक्ने प्रश्नको उत्तरको पेटारी एकैपटकमा खोल्यो।

सन्देशको कुराले ऊ गम्भीर भयो। उसको कलेटी परेका ओठ जिब्रोले भिजायो। अनि सुस्केरा हाल्दै भन्यो-“खै कसरी भयो भनूँ! जिन्दगीमा कहिल्यै नसोचेको घट्ना घट्यो, यार!”

एकछिन त्यो अधुरो पोट्रेट हेरेर टोलाएपछि उसले थप्यो, “जीवनमा एकैपटक धेरै कुराहरू गुमाएँ यार मैले ।” उसले यति भनिसकेर माथिल्लो दाँतहरूले तल्लो ओठ टोक्यो। एक्कासि उसको अनुहार कालो भयो। उसका आँखाबाट एकाएक अश्रुधारा बग्न थाले।

सन्देश आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो र उसलाई अंकमाल गरेर सुम्सुम्यायो।

एकैछिनमा सृजन सम्हालिएपछि सन्देश फेरि अघिकै ठाउँमा आएर बस्यो।

एकैछिन कोठामा शान्ति छायो। भित्तेघडीको हरेक सेकेन्ड-सेकेन्ड सुईं सर्दा आउने टिक्-टिक् आवाजले त्यो शान्त वातावरणलाई बिथोल्ने प्रयास भने गरिरहेको थियो।

“त्यो दिन म र सुधा मनकामना दर्शन गर्न भनेर हिंडेका थियौं। त्यो बिहान आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो, तर परिसकेको भने थिएन। आमाले, ‘अर्को दिन गए हुँदैन?’, भन्दै हुनुहुन्थ्यो। सुधाले, ‘भगवानको दर्शन गर्न आँटिसकेको के फर्किनु’, भनिन्। त्यसैले हामी हिँड्यौँ।”

ऊ फेरि रोकियो। कतै हरायो। कुममा आँसु र सिँगान पुछ्यो र थप्यो, “मुग्लिङ पुग्दा सिमसिम पानी परिरहेको थियो। सुधाले जाडो भयो चिया खाऊँ भनिन्। मैले बाइक छेउ लगाएँ। हामी चिया पिउन एउटा चिया पसल छिर्यौं। चिया पिएर लगभग बीस मिनेटपछि हामी त्यहाँबाट निस्कियौं। हामी कुरिनटार नजिक पुगेका थियौं। सुधाले मेरो कान नजिक मुख ल्याएर, ‘आइपुगियो अब त, केबलकार नि देखिसक्यो’, मात्र के भनेकी थिइन्, विपरीत दिशाबाट एउटा टिपर अनियन्त्रित हुँदै हामीतिर आयो। बाइक स्पिडमै थियो। मैले केही सोच्नै सकिनँ। झ्याप्प डिस्कब्रेक हानें। बाइक चिप्लियो। बाइक सिधै गएर टिपरमुनि छिर्यो। टिपर मेरो घुँडाभन्दा तलको भागमा चढ्यो। म बेहोश भएँ। मलाई सुधाको बारेमा केही थाहा थिएन। पछि होश आउँदा म हस्पिटलको बेडमा थिएँ। मेरा दुवै खुट्टा काटिएका थिए। देब्रे हात भाँचिएको थियो।

“होशमा आउँदा म असिम पीडामा थिएँ, तर झ्वाट्ट सुधालाई सम्झिएँ। आमालाई सुधाको बारेमा सोध्दा आमा भक्कानिएर कोठाबाहिर निस्किनु भयो। त्यति नै बेला मैले लख काटेको थिएँ। पछि रमेशले, ‘भाउजूको निधन त घट्नास्थलमै भएको’ भन्ने सुनायो। उनको टाउको माइलस्टोनमा गएर बजारिएको रहेछ ।”

यति भनेर ऊ त्यो अधुरो पोट्रेट हेरेर टोलायो। त्यतिबेला उसका आँखा, आँखा कम पानीको मूलझैं देखिन्थे।

सन्देश उठेर उसलाई सम्झाउँदै भन्यो, “के गर्छस् यार ! हुने हार, दैव नटार भनेजस्तो । हाम्रो हातमा केही पनि छैन। जे लेखेको छ, त्यो हुन्छ, हुन्छ। जे भयो भयो। अब तैंले आफूलाई सम्हाल्नुपर्छ। हुन त संसारमा सहानुभूति दिनुजस्तो सजिलो केही छैन। आफूलाई नपरी पीडाको मर्म थाहा हुँदैन पनि। तर, तैंले तेरो परिवारको खुशीको लागि भएनि आफूलाई सम्हाल्नु पर्छ। तँ बलियो हुनैपर्छ। अब तैंले नै सबैलाई सम्हाल्नु पर्छ। मलाई पनि तेरो चोटले मर्माहत तुल्याएको छ। तर तँ चिन्ता न ली, हामी छौं।”

यति भनिनसक्दै सन्देशका आँखाभरि आँशुले अड्डा जमाइसकेका थिए, उसले आफूले लगाएको सर्टको बाहुलाले त्यो अड्डा पुछ्यो।

केहीसमय अघिसम्म उसको बारेमा केही थाहा नभएको मान्छे म, मेरो पनि आँखा अघि नै रसाइसकेका थिए। यहाँनेर मैले महसुस गरेँ, मान्छेले चिने-जानेको वा आफ्नो घनिष्ठ मान्छेको मृत्यु वा भनौं पीडामा मात्र होइन, उसले हरेक मान्छेको दु:खमा एउटा मानवीय संवेदनाको मर्यादामा आँशु चुहाउँछ।

एकछिनमा हामी सबै सम्हालियौं।

“तिमीहरू जुस, चिया केही लिने ?” सृजनले सोध्यो।

हामीले ठिकै छ भनेर खाएनौं ।

मलाई त्यो अधुरो पोट्रेट कस्को होला ? भन्ने मात्र ध्याउन्न थियो।

“त्यो पोट्रेटचाहिँ कसको हो नि?” मेरो छुच्चो मुखबाट फुत्किहाल्यो।

मेरो त्यो प्रश्नले उसको अनुहारको रङ नै फेरियो। केही छिनको गफगाफपछि केही हदसम्म संग्लिएको अनुहार फेरि मेरो प्रश्नले धमिलो अनि कालो देखियो। ओठ थरथराउन थाल्यो र आँखा भरिएर आए। दुईथोपा आँशु खसे र उसले ओडेको च्यादरले उसका आँशु सोसिदियो।

मलाई भने व्यर्थ सोधेछु भन्ने लाग्यो। म र सन्देश पछुतो मिसिएको हेराइले एकअर्कालाई हेर्यौं।

“त्यो पोट्रेट मेरी सुधाको हो, जुन म उनलाई उनको जन्मदिनमा उपहार स्वरूप दिन चाहन्थें। उसलाई सरप्राइज दिन नै मैले उसको मुहार अधुरो राखेको थिएँ। तर…….”, ऊ रोकियो।

ऊ रोकिएपछि मैले सोधेँ, “अब यसलाई यसै अधुरो छोड्नुहुन्छ त? पूरा गर्नुहुन्न?”

उसको केही प्रतिक्रिया नआएपछि म नै फेरि सुरु भएँ, “म हजुरको स्थिति महसुस गर्न नसके पनि पीडा बुझ्न सक्छु। जुन व्यक्तिलाई अगाध प्रेम गरिन्छ उसलाई गुमाउँदा हरेश खाने होइन, उसबाट प्रेरणा लिनु पर्छ। हजुरले यो पोट्रेट पूरा गर्नुभयो भने उहाँको आत्मा पक्कै पनि खुशी हुनेछ। तपाईंको मनको बोझ पनि पक्कै हल्का हुनेछ।”

यति भनिसकेपछि आफैंलाई अलि बढी नै बोलेझैँ लाग्यो।

एकछिन पोट्रेट हेरेर टोलाएपछि उसले गम्भीर हुँदै भन्यो, “मुड नै छैन यार अब त! बन्दै बन्दैन। हातै सर्दैन। आँखामा उनैको अनुहारको हाँसो झल्झली आउँछ। केही कुरामा पनि मन जाँदैन। सुतिरहन, रोइरहन मात्र मन लाग्छ। डर पनि लाग्छ। बेलाबेला तर्सिन्छु। राति ऐंठन हुन्छ। ब्युँझदा पसिनाले लिछिप्प भिजेको हुन्छु। सपनामा सुधाले आफूतिर बोलाउँछिन्। हात दिन्छिन्। म समात्न खोज्छु, सक्दिनँ। हररात सपनामा देख्छु। विपनामा पनि हरेक कुरामा उनैको सम्झना गाँसिएको छ। कसरी बिसर्न सकिएला र खै?”- यति भनिसकेर उसले लामो सुस्केरा हाल्यो र सिरानीमा राखेको टिस्यू बक्सबाट टिस्यू निकालेर आँसुले भरिएका आँखा र बगिरहेको नाक पुछ्यो।

“यदि उहाँ हुनुभएको भए तपाईंको यो हालत देखेर पक्कै पनि खुशी हुनु हुने थिएन। त्यसैले अब तपाईंले जीवनलाई एउटा दिशातिर लानै पर्छ। जीवनलाई गति दिनै पर्छ। त्यो नै सबैको लागि राम्रो हुन्छ। सुरुसुरुमा धिमा भए पनि पछि बिस्तारै जीवनले गति लिन्छ। बाइक पनि त एकैपटक माथिल्लो गियरमा कहाँ दौडिन्छ र! हरेक कुराले गति लिन समय लिन्छ। हाम्रो जीवनले पनि बिस्तारै गति लिन्छ, लय समात्छ अनि हामीलाई एउटा यात्रामा लिएर जान्छ।”

उसलाई साथ र सकारात्मक कुराहरूले प्रभाव पार्न सकिन्छ भन्ने मेरो ठम्याई थियो। सोहीअनुरूप म उसलाई दुवै कुराहरूबाट जीवनलाई फेरि प्रेम गर्न हौसला दिँदै थिएँ।

चिनजान भएपछि म दिनहुँ उसलाई भेट्न थालेँ। दिनदिनै भेट हुदाँ हामी झन् आत्मिय हुँदै गयौँ। यसक्रममा म उसमा आएको आमूल परिवर्तन महसुस गर्न सक्थेँ।

एकदिन उसको कोठाबाट बाहिर निस्किदा आमा ढोकाबाहिर उभ्भिरहनुभएको रहेछ। मलाई देख्नासाथ कारुणिक पारामा भन्नुभयो, “मैले लाख कोशिश गर्दा पनि सामान्य रूपमा फर्काउन नसकेको उसलाई तपाईंको साथले धेरै ठूलो प्रभाव परेको छ। ऊ दिन-प्रतिदिन सामान्य जीवनमा फर्किदैं छ। म हजुरप्रति आभारी छु, बाबु!”

आमाको कुराले मलाई साह्रै भावुक बनायो। मैले आमाको हात मेरो हातमा लिएर भनेँ, “आमा तपाईं चिन्ता नलिनुहोस्, ऊ अब धेरै ठीक भैसकेको छ। उसको अनुहारमा चमक र हातमा फेरि जीवन जिउने चाह बढेर आएको छ। म अहिलेलाई जान्छु है, आमा?”

” हस्, आउँदै गर्नु है?”- आमाले आशावादी स्वरमा भन्नुभयो।

” भैहाल्छ नि, आमा!”- यति भनेर म घर फर्किएँ।

म स्कूल पढाउँथे। स्कूल सकिएर घर आएपछि फ्रेस हुन्थेँ र उसको घर जान्थेँ। यसरी उसको घर जाने एउटा रुटिन नै बनिसकेको थियो।

एक साँझ म उसको कोठामा पुग्दा ऊ औंलाहरूको बीचमा कुची राखेर हावामा केही आकृति कोरेझैं गर्दै थियो। मलाई देख्नासाथ उसले केही अफ्ठ्यारो मानेझैं गरी कुची लुकायो।

“मलाई खुशी लाग्यो तपाईंको हातमा ब्रस देखेर!” -मैले कोठामा छिर्नेबित्तिकै भनें।

उसले अनुहारमा असुहाउँदो मुस्कानले मेरो कुराको प्रतिक्रिया दियो। केही बोलेन।

प्रायः हामी बीचमा चित्रकला र रङको महत्त्वको बारेमा कुरा हुन्थ्यो। कुरा गर्दा गर्दै सृजन कहिलेकाहीँ हराउँथ्यो। भावुक हुन्थ्यो। फेरि आफूलाई सम्हालि पनि हाल्थ्यो। उसले पेन्टिङ गर्दा डिटेलमा विशेष ध्यान दिन्थ्यो। चित्रकलाको बारेमा ऊ घण्टौं बोल्न सक्थ्यो। तर, उसमा त्यो अधुरो पोट्रेटमा कुची चलाउने आँट भने अझै पलाइसकेको थिएन।

एकसाँझ उसले मेरो चित्रकला प्रतिको रुचिबारे सोध्यो। मेरो चित्रकलासम्बन्धी ज्ञानका बारेमा सोध्यो। चित्रकलामा रङको महत्त्वको बारेमा सोध्यो। म उसको जिज्ञासालाई मेरो अल्पज्ञानले पूरा गर्न खोजिरहें। मलाई अलिअलि ज्ञान त थियो, तर त्यो ज्ञानले उसको मस्तिष्कले भण्डारण गरेको ज्ञानलाई छोयो कि छोएन त्यो त मलाई थाहा भएन। तर, प्रयास भने गरेकै हो।

मेरो कनिकुथी व्याख्या सुनिसकेपछि उसको मुहारमा एउटा सन्तुष्टिको भावको झल्को देखिन्थ्यो। उसले हातमा लिएको ब्रस हावामा चलाउँदै सोध्यो, “मलाई तपाईंको एउटा फोटो दिन सक्नुहुन्छ?”

“किन?”- मैले सोधेँ।

“काम छ,” उसले यति मात्र भन्यो।

मैले पर्समा राखेको पासपोर्ट साइजको फोटो देखाएर सोधेँ, “यो हुन्छ?”

“उमम..अलि सानो रै’छ, तर चल्छ! दिनुस्!” उसले मेरो हातबाट फोटो लिएर हेर्दै भन्यो।

त्यसपछि म त्यहाँबाट निस्किएँ।

यता स्कूलमा वार्षिक परीक्षा चलिरहेको थियो। उत्तरपुस्तिका यथासक्दो छिटो सकेर बुझाउन सके केही समय फुर्सद मिल्ने थियो। यो बिदाको अन्तरालमा पढ्ने भनेर केही किताबहरू किनेर पनि ल्याएको थिएँ।

उत्तरपुस्तिका जाँच्ने क्रममा म यति व्यस्त भएँ कि एक हप्तासम्म घरबाहिरै निस्किन सकिनँ।

एक हप्तापछि उत्तरपुस्तिका र प्राप्ताङ्कको लेजर स्कूलमा बुझाएपछि मेरो त्यस वर्षको कर्म सकिएको थियो। काम सकिएको दिन मलाई सृजनको याद आयो। म दिउँसोतिर उसको घर गएँ। उसको कोठामा पुग्दा ऊ ह्विलचेयरमा एउटा क्यान्भास अगाडि बसिरहेको थियो। म नाम बोलाउँदै उसको कोठामा छिरें, तर उसले कुनै प्रतिक्रिया जनाएन। म नजिक गएर हेरें। उसको दाहिने हात छातीको देब्रे पाटोमा थियो। औंलाहरूको बीचमा ब्रस अझै अल्झिरहेको थियो। अगाडिको क्यान्भासमा एउटा अर्को अधुरो पोट्रेट थियो। भुँइमा मैले दिएको फोटो झरेको थियो। मैले अनुमान गरेँ, मैले दिएको फोटोबाट सायद ऊ मेरो पनि पोट्रेट कोर्दै थियो।

मैले निदाएको होला भन्ने सोची बोलाएँ। झक्झक्याएँ। तर, उसको शरिर शिथिल र चिसो थियो। मेरो होशले ठाँउ छोड्यो। मैले आफूलाई सम्हालेर एम्बुलेन्सलाई फोनसम्म गर्न भ्याएँ। एम्बुलेन्स आउनुअघि आमालाई पनि बोलाएँ। आमा सृजनलाई त्यो हालतमा देख्नासाथ बेहोस नै हुनुभयो। केही समयमा एम्बुलेन्स आइपुग्यो। आमा र सृजन दुवैलाई अस्पताल लगियो। म पनि बाइक लिएर अस्पतालतिरै हुँइकिएँ।

अस्पतालमा सृजनलाई हेर्नेबित्तिकै डाक्टरले मृत घोषित गर्यो। उसको मृत्युको कारण मेजर हार्टअट्याक थियो भनेर पनि डाक्टरले खुलायो।

उता आमाको अझै होश आएको थिएन। सृजनका आफन्तहरूलाई छिमेकीले खबर गरिदिएछन्। सबैजना हस्पिटलमा जम्मा हुन थाले। मलाई भने त्यहाँ बस्न मनै भएन, त्यसैले निस्किएँ।

बाटोभरि उसको कोठामा बाँकी रहेका ऊजस्तै चिसा पोट्रेटहरूले मलाई झस्क्याइरहे। उसले यो संसारसँगै दुइटा अधुरो पोट्रेट पनि छोडेर गएको थियो। एउटा सुधा र अर्को सायद मेरो, जुन अब सधैं अधुरो नै रहनेवाला थिए। यो सबको बीच सोचेँ, हामीले जीवनभर जति कर्म पूरा गरे पनि, अन्त्यमा जीवन अधुरैअधुरा कर्महरूको संगम त रहेछ नि !