“नमाग मसँग साहारा नमाग,

भुँइमा छु आकाशका जूनतारा नमाग ।”

२०५० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा माथि उल्लेखित गीतले गायक राजेश पायल राईलाई सर्वश्रेष्ठ गायकको उपाधि दिलाएको थियो । यही गीतमा गरिएको सङ्गीतले भरत लामालाई पनि उत्कृष्ट सङ्गीतकारको पुरस्कार दिलायो । यता नेपाली साङ्गीतिक आकाशमा प्रवेशका लागि सङ्घर्ष गरिरहनुभएका रमेश क्षितिजलाई यही गीतले गीतकारको रुपमा चिनाउने काम पनि गर्यो । सोही प्रतियोगितामा यस गीतले गीतकार क्षितिजलाई सर्वश्रेष्ठ गीतकार बनाइदियो । एउटै प्रतियोगितामा एउटै गीतले एकै पटक तीन ओटा उपाधी पाइसकेपछि गीतले चर्चा पाउन थाल्यो ।

डिजी शर्मा (युएई)

रेकर्ड भएको तीन दशक हुन लाग्दा पनि यस गीतलाई पहिलेझैँ प्रेम पूर्वक मन पराउने श्रोताहरुको कमी छैन । अहिले पनि यो गीत उत्तिकै लोकप्रियताका साथ गुञ्जिरहेको छ । उसो त २०४७ सालमै उहाँको पहिलो गीत रेडियो नेपालमा रेकर्ड भइसकेको थियो । “तिर्खाएको काकाकुल सरी भयो” बोलको गीत रेकर्ड गराएर गीतकार क्षितिजले सङ्गीतिक सहकार्यको यात्रा सुरु गर्नुभएको थियो । शान्तिराम राईको सङ्गीत रहेको सो गीतमा गायक राजेशपायल राईकै आवाज रहेको छ । गायक राईबाटै साङ्गीतिक सुरुवात भएर होला गीतकार क्षितिजका अधिकांश गीतहरु उहाँकै आवजमा रेकर्ड भएका छन् । यी सहित गीतकार क्षितिजका एक सयभन्दा धेरै गीतहरु विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन् । जसमध्ये २५ ओटा गीत रेडियो नेपालमा रेकर्ड भएका छन् ।

अधिकांश सर्जकहरुको साहित्य लेखनको यात्रा कविताबाट भएको पाइन्छ । कवि/गीतकार क्षितिजले पनि कक्षा ४ मा पढ्दा नै कवितामार्फत साहित्यिक यात्रा सुरु भएको थियो । ६ कक्षामा आइपुग्दासम्म त उहाँले नाटक नै लेखिसक्नु भएको थियो । त्योबेला तुकबन्दी मिलाएर लेख्ने, आफ्नो खेल, वरिपरिको परिवेशसँग सम्बन्धित कविताहरु सिर्जना गर्ने गरेको उहाँ सम्झिनु हुन्छ । ६ कक्षामा स्काउटले आयोजना गरेको कार्यक्रमका लागि शिक्षकहरुको अनुरोधमा उहाँले स्काउटसँग सम्बन्धित नाटक लेख्नु भएको थियो । नाटक मञ्जनमा उहाँ स्वयंको पनि अभिनय रहेको थियो । त्यतिबेला उहाँ स्काउटमा आबद्ध हुनुहुन्थ्यो ।

स्कुलमा छँदा अरु बेलै पनि कविताहरु सुनाइ रहने, अरुका निबन्धहरु पढेर सुनाउने, कक्षाकोठामा कुनै पाठ अथवा कविता पढेर सुनाउनु पर्यो भने शिक्षकहरुले उहाँलाई नै पढ्न लगाउने जस्ता कुराहरुले कवि क्षितिजलाई सानैबाट सक्रिय बनाइरह्यो । जसले गर्दा साथीहरुमाझ “यसले लेख्छ है” भन्ने एक खालको सानो भए पनि परिचय बनिसकेको थियो उहाँको । त्यति सानै उमेरमा साहित्यप्रति रुची कसरी पलायो होला ? भन्ने जिज्ञासामा कुनै पनि क्षेत्रप्रतिको मान्छेको झुकाव यो जन्मको मात्रै नभएर अघिल्लो जन्मको संस्कार पनि जोडिएर आउने उहाँलाई लाग्छ । सानैबाट मान्छेको स्वाभाव र उसको रुची केमा छ/हुन्छ ? भन्ने कुरा अघिल्लो जन्ममा उसले गरेको कर्मले पनि निर्धारण हुन्छ र यो जन्मजन्मान्तर भएर जान्छ भन्ने कुरामा उहाँ विश्वास राख्नुहुन्छ । लेख्ने भन्ने कुरा कुनै तालिम लिएर अथवा कुनै घटनाबाट सिकेर नहुने भएकोले स्वभावैले मान्छेलाई त्यतातर्फ आकर्षित गर्ने भएकोले सानैबाट आफ्नो स्वभाव त्यस्तै हुँदै आएको उहाँ बताउनु हुन्छ ।

सानैबाट रेडियोका कार्यक्रमहरु सुन्ने तथा घरमा भएका विभिन्न पत्रपत्रिका र किताबहरु पढ्ने बानीले पनि आफूलाई साहित्यमा तानेको उहाँ उल्लेख गर्नुहुन्छ । स्कुलमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि उहाँ भाग लिइरहनु हुन्थ्यो । भाग लिने क्रममा, क्षेत्र स्तरीय, जिल्ला स्तरीय हुँदै अञ्चल स्तरीयसम्मका प्रतियोगिताहरुमा भाग लिएको उहाँलाई सम्झना छ । यसरी उहाँ कहिले जिल्ला सदरमुकाम त कहिले अञ्चल सदरमुकाम पुग्नुभयो । बाहिरबाट कुनै प्रतियोगिता सम्बन्धित सूचना आउँदा प्रधानाध्यापकले पनि उहाँलाई नै पहिले खोज्नु हुन्थ्यो भाग लिनको लागि । किनभने विद्यालयलाई पनि उहाँमाथि विश्वास थियो । यसरी स्कुलमा शिक्षकहरुले धाप मार्दै जानुभयो । साथीभाइहरुले पनि लेखकको रुपमा प्रशंसा गर्न थाले । यी कुराहरुले उहाँमा उत्प्रेरणा जगाउने काम गरे ।

कवि/गीतकार क्षितिजको जन्म २०२६ साल बैशाख १३ गते सल्यानमा भएको थियो । सल्यानमा जन्मिए पनि उहाँको बाल्यकाल दाङको हेकुलीको मिरौलीमा बितेको थियो । माध्यमिक तहसम्मको पढाइ पनि उहाँले दाङबाटै पूरा गर्नुभयो । एसएलसी दिने बेलासम्म स्कुलको पुस्तकालयबाट थुप्रै साहित्यिक कृतिहरु उहाँले पढिसक्नु भएको थियो । कविताका नोटबुक र एउटा उपन्याससमेत तयार पारिसक्नु भएको थियो । जसले गर्दा लेखक बन्न पाए हुन्थ्यो भन्ने आकांक्षा मनको एउटा कुनामा छँदै थियो । लुकेको त्यही सपना पूरा होला कि भन्ने आशाले पढ्नका लागि काठमाडौँ जाने कुरामा उहाँले जोड दिनुभयो घरमा ।

रमेश क्षितिज

उच्च शिक्षाका लागि काठमाडौँ आउने बेलामा पनि उहाँ साहित्य लेखनमा सक्रिय नै हुनुहुन्थ्यो । साहित्य सिर्जनामा लागेर भोलिका दिनमा केही गर्छु अथवा केही गर्नुपर्छ भन्ने भावाना उहाँको मनमा दाङ छोड्दाखेरि नै थियो । पढाइभन्दा पनि काठमाडौँ आउन पाए साहित्य सिर्जनका लागि उचित वातावरण पाइएला कि भन्ने उहाँलाई लाग्थ्यो । त्यही रहरले डोर्याउँदै उहाँलाई राजधानीसम्म ल्यायो । ठ्याक्कै यस्तै होला भन्ने त यकिन थिएन तर भविष्यका लागि केही सपनाहरू थिए उहाँसँग । वि सं २०४३ सालबाट नेपाल ल क्याम्पसमार्फत उच्च माध्यमिक तहको अध्ययन सुरु गर्नुभएका गीतकार क्षितिजले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।

अहिले त रमेश क्षितिज भन्ने बित्तिकै नेपाली कविता र साङ्गीतिक क्षेत्रमा एउटा विशिष्ट पहिचान बनिसकेको छ । अहिले सञ्चारका माध्यम र प्रविधिका कुराले गर्दा आम-पाठकमाझ पुग्नका लागि त्यति गाह्रो अवस्था छैन कुनै सर्जकलाई । हिजोका दिनमा पक्कै पनि यो अवस्था थिएन । त्यसो हुँदा काठमाडौँ आइसकेपछि सुरुवाती चरणमा सिर्जना प्रकाशन लगायत कुरामा केही अप्ठ्याराहरु झेल्नु परेको कवि,गीतकार क्षितिज सम्झिनु हुन्छ ।

त्यो बेला पत्रिकाहरुमा छापिनु पनि ठुलो कुरा हुन्थ्यो । गोरखापत्र थियो । रेडियो नेपालमा “साहित्य संसार” भन्ने साहित्यिक कार्यक्रम थियो । मधुपर्क, गरिमालगायत केही सीमित मात्रामा सिर्जना प्रकाशन, प्रसारण हुने स्थानहरु थिए । अभिव्यक्ति, नव कविता, भन्ने पत्रिका पनि निस्किन्थ्यो । ती पत्रपत्रिकाहरुमा धेरै लामो समयसम्म हुलाकबाट लेखेर आफ्ना रचनाहरु पठाउने गरेको सम्झना छ । त्यही क्रममा केही रचनाहरु छापिए पनि । मधुपर्कमा एउटा कविता छापिसकेपछि धेरैले आफूलाई चिने भन्ने भएछ उहाँलाई । किनभने त्यो बेला मधुपर्क नपढ्ने सायदै थिए। त्यसमा आफ्नो कविता प्रकाशित भइसकेकोले उहाँलाई त्यस्तो लागेको रहेछ । तर त्यस्तो होइन रहेछ । त्यसपछि पनि लामो समयसम्म सङ्घर्ष गर्नु पर्ने स्थिति थियो ।

पहिले हुलाकमार्फत पठाए पनि पछि रचनाहरु लिएर आफैँ मधुपर्कसम्म पुग्नुभयो र छापिए पनि । एक दिन उहाँ कलेज जाँदै गर्दा रेकर्ड भएको आफ्नो पहिलो गीत रेडियोबाट बजिरहेको थियो । रेडियो कुनै एउटा पसलमा थियो । गाउँमा छँदा आफूले पनि रेडियो एकदमै धेरै सुन्ने गरेका कारण त्यही रेडियोबाट आफ्नो गीत बजिरहँदा “अब त मलाई सबैले चिन्छन ” भन्ने महसुस भयो उहाँलाई । पसलसम्म पुग्दा र गीत सुनिसकेपछिको उहाँमा मानसिक रुपमा निक्कै अन्तर भइसकेको थियो । उहाँलाई लाग्यो म चर्चित भइसकेँ । यसरी कहिले छापिनुको सङ्घर्ष, कहिले आफ्नै गीत रेडियोमा सुन्दाको आनन्द, कहिले राम्रो लेखौँ भन्ने भावनालगायत यस किसिमका सङ्घर्षहरु सधैँ रहिरहने कवि,गीतकार क्षितिजको बुझाइ छ ।

त्यो बेला प्रकाशन,प्रसारण गर्ने माध्यम थोरै हुनु र भएका माध्यममा पनि सर्जकको पहुँच कम हुने अवस्थामा कहिलेकाहीँ राम्रो रचना हुँदाहुँदै पनि नछापिने अवस्था पनि रहन्थ्यो । यो स्वाभाविक पनि हो । विशेष गरी राजधानी बाहिरबाट आउने स्रष्टाहरुले यो किसिमको सकस भोग्नु पर्थ्यो । बाहिरबाट आउनेहरुको काठमाडौँमा सम्पर्क हुँदैन, कसैसँग चिनजान हुँदैन । जिन्दगीका अन्य कुराहरुलाई पनि एकसाथ लैजानु पर्ने अवस्था हुन्थ्यो । पहिलो पाइला आफैँले हिँडेर तय गर्नु पर्थ्यो । प्रत्येक बाटो आफैँले बनाउनु पर्ने भएका कारण त्यसो हुनु स्वाभाविक थियो ।

अहिलेको जस्तो सहज अवस्था नभएका कारण छापिनु मात्रै पनि ठुलो उपलब्धि हुन्थ्यो । यस किसिमका सङ्घर्ष आफूलाई मात्रै नभई आफ्ना समकालीन र अग्रज पुस्ताले पनि बेहोर्नु परेको कवि, गीतकार क्षितिज स्वीकार गर्नुहुन्छ । यसकारण पनि हुन सक्छ उहाँले आफ्नो पहिलो कविता सङ्ग्रह आफ्नै खर्चमा प्रकाशन गर्नुभयो । त्यतिबेला उहाँ विद्यार्थी जीवनमै हुनुहुन्थ्यो । वि सं २०५६ सालमा प्रकाशित “अर्को साँझ पर्खेर साँझमा” कविता सङ्ग्रह उहाँको पहिलो कृति बन्न पुग्यो । त्यसकारण त्यो बेलाका आफ्ना सङ्घर्षहरु अलिक बेग्लै खालको भएको उहाँ उल्लेख गर्नुहुन्छ ।

कवि गीतकार क्षितिजले नेपाली साहित्यमा चार दशकको लेखन यात्रा पार गरिसक्नुभएको छ । यस अवधिमा उहाँका हालसम्म दुई कविता सङ्ग्रह, एउटा गीत सङ्ग्रह र एउटा गीति एल्बम प्रकाशित छन् । २०५६ सालबाट सुरु भएको उहाँको कृति प्रकाशनको यात्रा १२-१३ वर्षपछि आएर दोस्रो कवितासङ्ग्रह २०६९ भदौमा “घर फर्किरहेको मानिस” प्रकाशित गर्नुभयो । दोस्रो कविता सङ्ग्रह प्रकाशनको पुरापुर एक दशकपछि अहिले उहाँ तेस्रो कविता सङ्ग्रहको तयारीमा हुनुहुन्छ । यसअघि उहाँका गीत सङ्ग्रह आफैँ आफ्नो साथी भएँ -२०६३ र गीति एल्बम “क्षितिज” -२०६८ बजारमा आइसकेका छन् । यो चार दशकको साहित्यिक यात्रामा कृतिगत रुपमा सङ्ख्याका हिसाबले उहाँका समकालीन अन्य सर्जकहरुको तुलनामा कवि, गीतकार क्षितिजका कृति सङ्ख्या अलिक कम भएको हो कि भन्ने लाग्छ । यसरी आफ्ना कृतिहरुको सङ्ख्या कम हुनुमा धेरै कुराहरु कारकको रुपमा रहेको उहाँ स्वीकार गर्नुहुन्छ ।

सयमको परिवर्तनसँगै मान्छेका सोचहरु, जीवनलाई हेर्ने दृष्टिकोणहरु र मान्छेका जीवनका मोडहरु परिवर्तन हुँदै जान्छन् । त्योसँगै देश र समाजमा पनि एक खालको परिवर्तन आउँछ । यस्तो अवस्थामा हतार गरेर लेखिरहँदा कतिपय कुराहरु दोहोरिएर आउन सक्ने सम्भावना रहन्छ । त्यसकारण पनि वर्षमा औसतमा ३,४ ओटा मात्र कविता लेख्ने गरेको उहाँ सुनाउनु हुन्छ । एकै बसाइमा ५,६ ओटा कविता लेख्ने, नयाँ कुनै घटना आउनसाथ त्यसमा कविता लेखिहाल्ने त्यस खालको क्षमता आफूसँग नभएकोले पनि सङ्ख्यात्मक रुपमा सिर्जना कम हुन गएको हो भन्ने उहाँको ठहर छ ।

यसका साथै पहिलो सङ्ग्रह प्रकाशित गरिसकेपछि आफ्ना कविताहरुप्रति गम्भीर हुनुपर्छ र आगामी दिनमा लेखिने कविताहरुमा बिम्ब, विचार, शैली र संरचनाका हिसाबले केही फरकपन आउनु पर्छ भन्ने चेत पलायो । केही फरक आएन र तिनै पुरानै कुराहरुलाई फेरि पुरक रुपमा दोहोर्याउँदै गइयो भने नयाँ कविता लेखिराख्नुको अर्थ हुँदैन भन्ने लागेर योजनाबद्ध रुपमै कम लेखेको उहाँ उल्लेख गर्नुहुन्छ ।

यसरी लामो समयसम्म कविताहरु लेख्दै राख्ने र लेखिसकिएका सिर्जनाहरुलाई बारम्बार सम्पादन गर्ने, त्यसलाई छाँटकाँट गर्ने, परिमार्जन गर्ने बानी छ उहाँको । केही वर्ष अघि लेखेको कविता अहिले पढ्दा त्यसमा केही कुराहरु सच्याउनु पर्ने अथवा परिमार्जन गर्नुपर्ने लाग्यो भने उहाँ त्यो गरिहाल्नु हुन्छ । त्यसले कवितालाई अझ सुन्दर बनाउन मद्दत गर्छ भन्ने उहाँलाई विश्वास छ । कवि भएर कविता लेखिरहँदाको मनस्थिति र पछि आफैँ त्यसको पाठक भएर पढिरहँदा मनस्थिति फरक हुने भएकोले पनि सच्याउनु पर्ने ठाउँहरु प्रशस्त हुन सक्छन ।

कविता एउटा निरन्तरको साधना पनि भएकोले त्यसो गरिनु जरुरी छ । यसले कवि र कविता दुबैलाई सुधार्न मद्दत गर्छ । तर यसो गर्दा कहिलेकाहीँ घाटा पनि बेहोर्नु पर्ने हुन्छ । एउटा कुनै भावमा कविता लेखेर राख्यो । परिमार्जन गर्ने नाममा लामो समय त्यो प्रकाशन गरिँदैन । पछि अरु कसैले ठिक त्यही भावमा लेखिदिन्छ र प्रकाशन गर्छ । यस्तो अवस्थामा आफ्नो सिर्जना खेर जान सक्छ र यस्तो घटना धेरै पटक भइसकेको छ कवि गीतकार क्षितिजलाई पनि । आफ्ना कविताहरु कम हुनुमा यो पनि एउटा कारण भएको उहाँ बताउनु हुन्छ । यद्यपि वर्षौंदेखि लेखिरहेको भए पनि हरेक पटक आफूलाई सुन्दर बनाउनेतर्फ लागिरहनु पर्छ भन्ने उहाँको धारणा छ ।

विगत तीन दशकभन्दा लामो समयदेखि निजामती सेवामा पनि उहाँ कार्यरत हुनुहुन्छ । विभिन्न पदमा रहेर उहाँले काम गर्दै आउनु भएको छ । सरकारी कामकै सिलसिलामा उहाँ यतिबेला सिन्धुली जिल्ला आइपुग्नु भएको छ । जागिरे जीवनले आफ्नो लेखनमा कहीँकतै अवरोध गरेको हो कि भन्ने पनि उहाँलाई लाग्छ । उहाँलाई आख्यान पनि लेख्न मन छ । त्यसको लागि समय अपुग छ । यदि जागिर नहुँदो हो त आख्यानतिर पनि कलम चल्थ्यो कि पुरै समय लेखन र अध्यनमै बित्थ्यो कि, प्रशस्त कृतिहरु निकालिन्थ्यो होला कि भन्ने पनि उहाँ ठान्नुहुन्छ ।

तर व्यस्तताका बाबजुद पनि अहिलेसम्म जे जति लेखिए त्यसबाट उहाँ सन्तुष्ट नै हुनुहुन्छ। किनभने जीवनका बहुआयामिक पक्षहरु हुने भएकोले कुनै एउटा पक्षलाई एकदमै अघि लैजाने र अर्कोलाई पछाडि छोड्नुपर्छ भन्ने उहाँलाई लाग्दैन । जीवनका अन्य पाटाहरुलाई पनि सन्तुलन कायम गर्दै अघि बढ्नु पर्ने हुन्छ । त्यो उहाँले गरिरहनु भएको पनि छ । त्यसकारण जागिरबाट बचेको समय, बिदाको समय, साँझ बिहानको समयलाई उहाँले लेखनमा सदुपयोग गर्दै आउनु भएको छ ।

अधिकांश कविहरुले कवितालाई परिभाषित गर्न सकिन्न अथवा कविताको कुनै निश्चित परिभाषा हुँदैन, छैन भन्नुहुन्छ । निश्चित परिभाषा अथवा मापदण्ड नभए पनि कसैले लेखेको कविता भयो कि भएन भनेर छुट्याउनलाई केही न केही आधार त होलान् नि भन्ने जिज्ञासा सधैँ रहिरहन्छ मेरो । कवि गीतकार क्षितिज पनि कवितालाई परिभाषित गर्ने पक्षमा हुनुहुन्न । कविता भौतिक बस्तु नभएकोले यसलाई केही हदसम्म परिभाषित गर्न खोजे पनि सधैँ त्यो परिभाषामा कविता नअटाउन सक्छ । जस्तो हामी कसैलाई प्रेम गर्छौं भने अब त्यो प्रेमलाई कस्तो खालको प्रेम भनेर परिभाषा गर्ने कसैले विशुद्ध भन्ला, कसैले गहिरो भन्ला । कसैले के भन्ला । प्रेम त आखिर अनुभूतिमा आधारित हुन्छ । त्यसकारण कविता पनि प्रेमजस्तै अनुभूत गर्ने कुरा हो । यसलाई परिभाषामा बाँधेर खुम्च्याउनु जरुरी छैन ।

कविता साँच्चै नै कुनै मापदण्ड, सूत्र अथवा कुनै परिभाषामा अटाउन सकेको भए सबैभन्दा बढी समालोचकहरु प्रसिद्ध कवि हुने अवस्था हुन्थ्यो होला । किन भने उहाँहरु कविताका सिद्धान्त पढाउनु हुन्छ, कविताका अङ्ग-प्रत्यङ्गहरु केलाउनु हुन्छ । कतिपय अवस्थामा हामीले कवितालाई सैद्धान्तिककरण गर्न खोजे पनि यसको बारेमा कुनै एउटा चिज मात्र राम्रो हुन्छ भनेर भन्न सक्ने अवस्था हुँदैन । तसर्थ जुन कविताले मानिसको हृदयलाई हल्लाउन सक्छ, स्पर्श गर्न सक्छ, त्यही नै कविता हो । जुन कविताले मान्छेलाई रुपान्तरण गर्नमा मद्दत पुर्याउँछ त्यो नै सुन्दर कविता हो । मान्छे निराश भएर बसिरहेको अवस्थामा उसले अँध्यारो मात्रै देखिरहेको हुन्छ । यस्तो बेला जुन कविताले आशा र उज्यालो देखाउने काम गर्छ, त्यो कविता नै सुन्दर कविता हो भन्ने उहाँ ठान्नुहुन्छ ।

त्यसै गरी कविता एकान्तमा एक्लै बसेर गहिरो ढङ्गले अध्ययन गरेर मनन गर्ने विषय हो भन्ने पक्षमा कवि क्षितिज हुनुहुन्छ । उहाँ स्वयंले पनि यस्तै गर्दै आउनु भएको छ । उहाँ आफैँ पनि त्यस्तै खालका कविता लेखनमा रुची राख्नुहुन्छ । जसरी गीत सुन्ने विधा हो । त्यसरी नै कविता पढ्ने विधा हो । सुन्ने गीतहरुमा श्रोताले आफ्ना जीवनकथाहरु मिसाउँछन् । उनीहरुले त्यसमा आफू पात्र भएको महसुस गर्छन् ।

त्यस्तै एकान्तमा बसेर कविता पढिरहँदा कविको एउटा मनस्थितिको अभिव्यक्तिसँग पाठकले आफूलाई गाँस्दै-गाँस्दै लागिसकेपछि त्यो ठाउँको अमूर्तता त्यो ठाउँको गम्भीरता व्यापक हुन्छ । तर कवितालाई प्रदर्शनीको माध्यम बनाउँदा हामीले त्यो अवसर कम पाउछौँ । जस्तो आफ्नो सामान्य कवितालाई कुनै प्रसिद्ध व्यक्तिबाट वाचन गराइयो भने त्यस कविता धेरैले हेर्छन्, सुन्छन् । किनभने सामान्य कविताहरु पनि सुन्दर वाचनले अत्यन्त राम्रो बनाइदिन सक्छ । तर कवितामा पाठकले आफ्नो स्थान भेट्न गाह्रो हुन्छ । किनभने त्यहाँ कवि र पाठक बिचमा एकान्तमा पढ्दाको जस्तो ग्याप हुँदैन ।

एकान्तमा बसेर कसैको सुन्दर कविता पढिरहनु भएको छ भने तपाईं कतै त्यसको नायक बन्नुहुन्छ । कतै त्यसको पात्र बन्नुहुन्छ । कतै तपाईंको कथा त्यो कविले भनिरहेको जस्तो लाग्न सक्छ । अनि तपाईं आफूले त्यसलाई आफूसँग समन्वय गर्दै त्यसलाई नाच्दै कविको मानस यात्रासँग तपाईं पनि यात्रा गर्न पाउनु हुन्छ । तर यी कुराहरु कविताको नाटकीय प्रस्तुतिले सिमित पारिदिन सक्छ । उसो त कविलाई भेट्नु, उसको कुरा सुन्नु, शरीर उपस्थितिलाई रुचाउनु त्यसलाई अन्यथा लिन हुन्न ।

यसकारण पछिल्लो समय कविताको प्रस्तुतीकरणमा आएको व्यापक परिवर्तनलाई स्वीकार गरेर जानु पर्छ भन्ने विचार उहाँ राख्नुहुन्छ । किनभने कविहरुमा विविधता भएजस्तै कविताका पाठकहरुमा पनि विविधता छ । सबैलाई एकै खालको कविता र प्रस्तुति ग्राह्य हुन्छ भन्ने हुँदैन पनि । कवितालाई लोकप्रिय र व्यवसायिक बनाउन कविताको प्रस्तुतीकरणमा पछिल्लो नयाँ पुस्ताले गरेको परिवर्तनले महत्त्वपूर्ण भूमिका खेलेको उहाँ स्वीकार गर्नुहुन्छ । त्यसको खुलेर प्रशंसा पनि गर्नुहुन्छ उहाँ । तर सबै कवि र कवितालाई एकै दृष्टिकोणले हेरिनु पर्छ भन्ने उहाँ ठान्नुहुन्न ।

नेपाली साहित्यमा केही यस्ता सर्जकहरु हुनुहुन्छ जो गीत र कविता दुबै विधामा उत्तिकै सफल हुनुहुन्छ । ती मध्ये एक कवि गीतकार क्षीतिज पनि पर्नुहुन्छ । कवितामा सफल भएको एउटा कवि गीत लेखनमा पनि कसरी लोकप्रिय बन्न सक्छ त भन्ने जिज्ञासामा उहाँ त्यसको कारण यसरी खुलाउनु हुन्छ, कविता हामी स्वच्छन्द हिसाबले लेख्न सक्छौँ । तर गीतमा केही प्राविधिक पक्षहरु छ्न् । गीतको मिटर हुन्छ । शब्द कत्तिको साङ्गीतिक छ भन्ने पनि हुन्छ । अब त्यो मिटरमा बसेर लेख्दा कतिपय अर्थहरु सही तरिकाले सम्प्रेषण गर्ने खालको सामान्य प्राविधिक ज्ञान एउटा गीतकारलाई आवश्यक पर्छ। त्यसकारण कविता र गीतमा संरचनागत रुपमा केही फरक छ ।

गीत अलिक ठुलो मासमा जाने, अलिक बढी सरल प्रस्तुतीकरण हुने र केही प्राविधिक ज्ञान पनि हुनुपर्ने भएकोले सबै कविहरुले गीत नलेख्नु होला । तर जसले कविता लेख्छ उसले गीत लेख्न चाहिँ सक्छ । चाहने हो भने त्यो ठूलो कुरा होइन । गीत पनि शब्दकै सम्प्रेषण हो । शब्दसँगै खेल्ने हो । खाली त्यसलाई प्राविधिक रुपमा सङ्गीतबद्ध गर्न मिल्ने, गाउन मिल्ने र साङ्गीतिक खालका शब्दहरुको प्रयोग हुनु आवश्यक छ ।

कवि गीतकार क्षितिज योग ध्यानमा पनि विशेष रुचि राख्ने भएकोले उहाँका सिर्जनाहरुमा त्यसको प्रभाव पर्ने गरेको पाइन्छ । जीवनप्रति सकारात्मक दृष्टिकोण भएका, जीवन दर्शन भएका, अलिक आध्यात्मिक खालका कविताहरु लेख्न उहाँ रुचाउनु हुन्छ । जीवनप्रति मान्छेको दृष्टिकोण परिवर्तन गरी सकारात्मक बनाउन उत्प्रेरणा दिने खालका सिर्जना गर्ने कोसिस रहन्छ । त्यसमा कति सफल, कति असफल भन्ने कुरा पाठकले निर्धारण गर्ने कुरा भयो । योग ध्यान भन्ने कुरा लेखनसँग मात्रै नभएर जीवनप्रतिको दृष्टिकोण निर्माण गर्न, जीवन पद्धतिलाई सरल र असल बनाउन, करुणा भाव, प्रेम, र सद्भाव जस्ता कुराहरु आफूमा बिस्तार गर्न पनि यसको अहम महत्त्व छ । योग ध्यान भन्ने कुरा आफ्ना कमजोरीहरुबाट मुक्त हुने एउटा प्रयास पनि हो भन्नुहुन्छ उहाँ ।