
सहरमा बसेर हामीमध्ये धेरै जसोले साँघुरो दृष्टिकोणले संसारलाई हेर्ने गर्छौं । सरसुविधायुक्त भौतिक पूर्वाधारहरूले सहरको जीवन सहज अवश्य बनाएको हुन्छ तर जीवन बाँच्न गरिने वास्तविक सङ्घर्ष सहरको सहजीकरणमा कताकता हराएको हुन्छ। जेसुइट शिक्षाका केही मूल सिद्धान्तअन्तर्गत ग्रामीण परिवेशमा गई विद्यार्थीहरूले केही समय बस्नुपर्ने हुन्छ। यस्तो ग्रामीण शिविर अर्थात ‘रुरल इमरसन क्याम्प’ विद्यार्थीहरूले आदिबासी तथा सीमान्तीकृत जनसंख्याको जीवनशैली, जीवन भोगाइ , चुनौती र कठिनाइहरू बुझ्न सकून् भन्ने अपेक्षाले आयोजना गरिन्छ ।
सहरी जीवनको सजिलो भुलभुलैयामा रमाइरहेका विद्यार्थीहरूलाई टाढा लगेर ग्रामीण जनजीवनका यथार्थसँग साक्षात्कार गराइन्छ ताकि जीवनको वास्तविकताबोध विद्यार्थी कालमै हामीले गर्न सकौँ । यही महान् लक्ष्य बोकी सेन्ट जेभियर्स कलेज माइतीघरमा बीए दोस्रो वर्ष पत्रकारिता र मनोविज्ञान अध्यनरत विद्यार्थीहरूलाई गत कार्तिक २० गते समस्तीपुर -१ आँबुखैरेनीमा ‘रूरल इमरसन क्याम्पमा’ लगिएको थियो ।

मीमांशा ढुङ्गेल
क्याम्प जानु अगाडि नै हामी विद्यार्थीहरू हप्ताैँ पहिलेदेखि तयारीमा खटेका थियौँ । क्याम्पको सम्पूर्ण योजना, तयारी र व्यवस्थापन सम्हाल्न विद्यार्थीहरू होस्टेमा हैँसे गर्दै लागिपरेका थिए । गुरुहरूको नेतृत्व र मार्गनिर्देशनमा विभिन्न कार्य समिति गठन गरी उचित कार्य विभाजन पनि गरिएको थियो । सबेरै उठी पढ्न आएका हामी कलेजपछि पनि सबैजना क्याम्पको काममा लागिपरेको देख्दा मनै हर्षविभोर भएर आउँथ्यो । कक्षाको पढाइ त नितान्त आफ्नो व्यक्तिगत उन्नतिको लागि हुनसक्छ तर यो क्याम्प भने समाजको हितको लागि थियो।
४५ जनालाई खाना पकाउनेदेखि लिएर आवश्यक रासनको व्यवस्थापन , बसोबास इत्यादि सबै कार्य आफैँ जुटाउनु पर्ने थियो । हामी सबै क्याम्पका लागि निकै उत्साहित त थियौँ नै साथै मुटु ढुकढुक पनि गरिरहन्थ्यो । कतै तयारीमा केही अपुग पो हुने हो कि ? कतै केही भूलचुक भयो भने ? भन्ने जिम्मेवारीबोधले टाउको भारी पनि पार्थ्यो । आमाबुबाको छत्रछायामा निर्धक्क बाँचिरहेका धैरैजनाको थाप्लोमा जीवनमा पहिलोपटक जिम्मेवारीले चुनौती दिँदै थियो। । अनिश्चितता र अनभिज्ञताले चिटचिट पसिना आउनु त स्वभाविक नै भयो ।
कार्तिक २० गते झिसमिसेमै हामी सबैजना कलेजको प्राङ्गणमा भेला भयौँ । साथमा लग्नुपर्ने झोलाझाम्टा, स्लिपिङ ब्याग, म्याट बोकेर सबै बसाइँ सराइ गर्न लागेका झैँ थियौँ । क्याम्प प्रस्थान गर्नुअघि हाम्रा फादर प्रिन्सिपलले हामीलाई निक्कै प्रोत्साहित गर्नुभयो । उहाँका शब्दले दिएको ऊर्जाले सशक्त भएर हामी क्याम्पका लागि हिँड्न तयार भयौँ ।
हामीलाई ओसार्न दुई वटा बस माइतीघर चोकमा आइसकेका थिए । तर वास्तविक लडाईं भने भाँडाकुँडा ओसार्न पो पर्यो त ! मिथकमा सुनेझैँ नर्कमा पापीहरूलाई तार्न बडेमानका कराही, डेक्ची, डाडू के के जाति भाँडाकुँडा हामी आफैँले गाडीसम्म ओसार्यौं । अनि सुरूभयो हाम्रो यात्रा आँबुखैरेनीको ।
प्रायः लामो यात्रा नगरेका हामीमध्ये धेरै थियौँ । बाटोमा बान्ता नआओस् भनेर धेरै साथीहरूले बान्ता नआउने औषधी खाएका थिए त्यसैले आधाभन्दा बढी साथीहरू त गाडीमै भुस भए । बाटोमा दुई पटक पेटपूजालाई गाडी रोकियो । खानाले तृप्त भएपछि बल्ल यात्राको आनन्द आउन थाल्यो । हुँइकिँदै हामी आँबखैरेनीतर्फ आयौँ ।
हामी बस्ने विद्यालय श्री चन्द्रोदय मा. वि आँबुखैरेनी बजारभन्दा एक घन्टा माथि उकालोको टुप्पोमा थियो । झ्याल बाहिर हेर्दा आँङ नै सिरिङ्ग हुने बाटो थियो । हामी विद्यालय पुग्दा सन्ध्याले छोपिसकेको थिएन । हाम्रो स्वागतमा विद्यालयका शिक्षकहरू र विद्यार्थीहरू फूल र अबिर लिएर बस्नुभएको थियो । नेपालको यही अपनत्व र मिठासले हामीलाई सबैभन्दा भिन्न तुल्याउँछ । हाम्रो सम्पूर्ण टोलीलाई स्वागत गरेर चन्द्रोदय मा.वि मा हामीलाई भित्र्याइयो । हामी कुनै होटलमा नभई विद्यालय परिसरभित्रै रहनसहन गर्ने योजनाले आएका थियौँ । छात्राहरू करिब ४० जना एउटै ठूलो हलमा बस्ने भएका थियौँ । घरका किङ्ग र क्वीन साइजका फराकिला न्याना ओछ्यानमा फैलिएर सुत्ने बानी भएका हामी विद्यार्थी भुइँमै ओछ्यान लगाएर स्लीपिङ ब्यागमा सुत्ने तर्खर गर्दै थियौँ ।
कसैको टाउकोमा अर्काको खुट्टा पर्ने , कसैको ढाडमा कसैको लात्ता पर्ने , सुत्ने समयदेखि नै हाम्रो सङ्घर्षको शिक्षा सुरु भएको थियो । दिनभर गाडीको थकान बिसाउन नपाई एउटा टोली खाना पकाउन दगुरी हालेका थिए । हरेक दिनका निम्ति बिहानको ब्रेकफास्ट, लन्च, दिउँसोको खाजा र बेलुकाको खाना पकाउने टोली छुट्याइएको थियो । साथै भाँडा माँझ्ने, शौचालय सफा गर्ने, वातावरण सफाइ गर्ने टोली पनि निर्धारित थियो । गएकै दिन आफ्नो भने शौचालय सरसफाइ गर्नुपर्ने पालो पर्यो। सफा ट्वाइलेट चाहिने आफूलाई यसै त ट्वाइलेट फोहोर छ भनेर घरमै नाकनिक गर्थें । त्यस दिन सामुदायिक विद्यालयको ट्वाइलेट सफा गर्न म तयार हुनुपर्यो ।
आफ्नो टोलीसहित युद्धमा सहभागी हुन लम्किएँ । राति ट्वाइलेटमा बत्ती पनि थिएन । टर्च बाल्दै ब्रस, हार्पीक बोकेर सिपाहीहरू युद्ध मैदानतर्फ लम्कियौँ । हाम्रो मनोबल दृढ नै थियो । मास्क लगाएका थियौँ । एकछिन सास रोकेरै, आँखा चिम्लिएर भए पनि सफाइ गर्न हामी तत्पर भयौँ। तर ट्वाइलेट छिर्नासाथ यामानको भीमकाय माकुरोले हाम्रो सआगमनलाई ‘दर्शन’ गरेर बसेको रहेछ । हाम्रो साताेपुत्लाे उड्न क्षणभर पनि लागेन।
फिल्ममा पो माकुराले टोके स्पाइडरम्यान भइन्थ्यो होला, यहाँ त त्यो माकुरो देख्दा मात्र पनि हामी ‘डेडम्यान’ भइसकेका थियौँ । घरमा आमाले सबै काम गरेर मायाले सम्झाउँदा पनि खुट्टा पसारेर आरामले गनगन गर्ने हाम्रो जमातलाई त्यो माकुरोले असली औकात देखायो। त्यसदिन त ट्वाइलेट सफा पार्नु पनि कुनै महायुद्ध जितेभन्दा कम थिएन।
आफ्ना साथीहरूले पकाएको खानामा केही खोट नदेखाई लखतरान परेर गलेका हामी सबैले एक सासमा खाना निल्यौँ । त्यो रात निद्रा पनि बेजोडको लाग्यो । मस्तसँग आरामले दिउँसोसम्म सुतौँला भन्ने हाम्रो भ्रम सबेरै ५ बजे सुजन सरको आह्वानले टुट्यो। यो क्याम्प हाम्रो धैर्यता, सहनशीलता, परिश्रम र अनुशासनको परीक्षा थियो ।बिहानै हामी सबैजना पी. टी गर्न तल चौरमा हाजिर हुनैपर्यो ।
हाम्रो आदरणीय गुरु चुन सरले कसरतको थालनी गर्नुभयो र सबैजना सैनिक जसरी उफ्रिन थाल्यौँ । त्यो दिन हाम्रो उद्घाटन समारोह थियो । विद्यालय परिसरमा विद्यालयकै प्रधानाध्यापक, वडा अध्यक्ष गाउँका अरू प्रतिनिधिको उपस्तिथिमा हामीले क्याम्पको उद्घाटन गर्यौँ । औपचारिक रूपमा हाम्रो क्याम्पको प्रारम्भ भयो । त्यो दिन दिउँसो हामी सबै सुजन सर, चुन सर र प्रकृति मिसको नेतृत्वमा गाउँको भ्रमणका लागि हिँड्यौँ । आँबुखैरेनी निकै सुन्दर बस्ती थियो। वरपर हरियाली, टिलिक्क टल्किएको हिमाल, जताततै तरकारी खेती, निकै रमणीय बस्ती थियो ।
हाम्रो भ्रमणका क्रममा हामीले एउटा विशाल झोलुङ्गे पुल तर्नुपर्ने भयो। परबाट पुल देख्नासाथ मेरी साथी आशिका र म क्लन्त भइहाल्यौँ । कीर्तिपुरको पुल तर्न त गोडा लगलग काम्थे, त्यो पुल त नेपालकै दोस्रो ठूलो रहेछ । हिम्मत गरेर केही पाइला के सारेका थियौँ, आशिका त लल्याकलुलुक परिहाली- “म सक्दिनँ ! म त जान सक्दैसक्दिनँ, मम्मी ! मम्मी ! ” भनेर रुन पो थाली । ऊ डराएको देखेर म पनि बरफ जसरी ठिङ्ग उभिएँ । छेउबाट २-३ जनाले समातेर बल्लतल्ल पुल तारिदिए।
त्यो दिन भ्रमणबाट फर्किएर खाना पकाउने पालो मेरै टोलीको थियो । घरमा लडेको लोटा पनि नउठाउने मैले त्यो दिन करिब ४०-४५ जनालाई खाना अड्कलेर पकाउनुपर्ने थियो । प्याज काटिरहँदा धरधर आँसु झर्दै थियो र साथीहरूले आमालाई भिडियो कल लगाए।
‘बाफ्रेबाफ आज त दर्हो पानी पर्छ जस्तो छ । तैँले खाना बनाउन लाग्या ! लौ के देख्नु पर्यो यो आँखाले ’ आमा मेरो बिल्ला उडाउन थालिन् ।
त्यो दिन आफूले पकाएको खाना सबैले मीठो मानेर खाइदिँदा अर्कै किसिमको आनन्द आयो । आफूलाई नपरेसम्म थाहा हुँदैन भन्थे । अनवरत वर्षौंदेखि हामीलाई यसैगरी खाना पस्किँदै,खुवाउँदै आएकी आफ्नी आमाप्रतिको सम्मान हिमालझैँ अग्लिँदै गयो ।
अर्कोदिन हामी विद्यार्थीहरूले विद्यालयमा जनचेतनामूलक कक्षाहरू राखेका थियौँ । विभिन्न उमेरसमूहका विद्यार्थीहरूलाई विभाजन गरी मानसिक स्वास्थ्य, यौनहिंसा विरुद्ध ‘गुड टच, ब्याड टच’ इत्यादि विषयमा हामीले सत्रहरू राखेका थियौँ । ससाना बालबालिकालाई रमाइलो तरिकाले कला र शिल्प देखाउने कार्यक्रम पनि गर्यौँ । त्यही दिन एउटा टोली भने माथिल्लो गुरुङ गाउँमा सर्वेक्षणको लागि निस्कियो । आँबुखैरेनीमा वैदेशिक रोजगारीको केकस्तो अवस्था रहेको छ भनी बुझ्न हामी प्रश्नवलीसहित घरघरमा पुग्यौँ ।
त्यहाँका गाउँलेहरूले गरेको आतिथ्य सत्कारले हामीलाई मन्त्रमुग्ध पार्यो । वहाँहरूले हामीलाई परबाट सर्वेक्षण गर्न आएका टोली भन्दा पनि आफ्नै मामाघर आएका भान्जाभान्जी जसरी माया गर्नुभयो । दूध, मोही, उखु, सुन्तला दिएर हामीलाई निकै स्नेह गर्नुभयो । आँबुखैरेनीमा वैदेशिक रोजगारीको व्यापक समस्या रहेछ । नयाँ पुस्ताको मन कृषिमा नलागेपछि थुप्रै गाउँले विदेशिएको हामीले पायौँ । धैरै गाउँलेहरू निरक्षर रहेछन् । साक्षर भएका पनि १० कक्षा नपुग्दै पढाइ छोड्ने थुप्रै व्यक्तिहरू भेट्यौँ । कक्षाकोठाभित्र पढेका समस्याहरू, नेपालको वास्तविक हविगतको यथार्थ चित्रण हामीले यस सर्वेक्षणमा गर्न पायौँ ।
त्यस गाउँमा धेरैजसो बूढाबूढीहरु थिए। बल्लतल्ल हामीले युवासँग भलाकुसारी गर्ने मौका पाएका थियौँ । त्यसको आफ्नै रोमाञ्चक कहानी छ । प्रश्न सोध्दै जाँदा हामी एक युवकसमक्ष पुग्यौँ जो टिकटक बनाउँदै थिए । प्रश्न सोध्न खोज्दा उनी सुरुमै मानेनन् । बल्लतल्ल फकाएपछि हामीले गफगाफ सुरु गर्यौँ ।
‘अब हजुरको उमेर थाहा भएन, दाइ भनौँ कि भाइ ?’ मैले विनम्र प्रश्न गरेँ ।
‘सोल्टा भने हुन्छ सोल्टा ।’ ङिच्च दाँत देखाउँदै उनी हाँसे । यस्तो हाँस उठ्यो र पनि हाँसो थाम्दै म र मेरी साथी मुखामुख गर्यौँ ।
थप प्रश्न सोध्दै थियौँ, उनले पुलुक्क हामीतिर हेरे।
“अनि यहाँको नाम चाहिँ ?”
हामीले सोझा किसिमले नाम भन्यौँ । उनले पुनः सोधे, “अनि थर चाहिँ ?”
मेरी साथी अदिती, थर भन्न खोज्दै थिई उनले कुरा काट्दै बीचमै भनेँ, ” भो थर केलाई चाहियो, गुरुङ नै बनाइ हाल्छु नि !”
फर्किने क्रममा हामी यति हाँस्यौँ। अहिले सम्झँदा पनि पेट मिचीमिची हाँस उठ्छ ।
भोलिपल्ट हामीले एउटा सन्देशमूलक नाटक पनि देखायौँ । सत्ता परिवर्तनको कथाचित्रण गर्दै त्यस नाटकमा मातृसत्तात्मक समाज भएको भए कस्तो हुन्थ्यो भनेर अहिले गरिने लैङ्गिक विभेदप्रति व्यङ्ग्य हानिएको थियो त्यो नाटकमा । गाउँलेहरू परपरदेखि आएर नाटक हेरिदिनु भयो । हामी सबै प्रभावित भयौँ । हामी सबै मिलेर त्यही दिन आँधीमूल भन्ने ठाउँ घुम्न पनि गएका थियौँ । वरपर माछापालन गरिएको थियो र बीचमा मन्दिर थियो । हरियाली हेर्दै हामी फर्किरहेका थियौँ ,बाटोमा गोरुको आतङ्क पनि भोग्यौँ । फर्किने एक गोरुको बथानले हामीमाथि आक्रमण गर्यो । ज्यान जोगाउने क्रममा टाप कस्नेमध्ये एउटा म पनि थिएँ । आँबुखैरेनीमा चितुवाले मान्छे मारेको कथा सुनेर अघिल्लो दिन सबै त्राहीमाम थियौँ । आफूँलाई भने झन्डै गोरुले सिङमा उनेर श्रीपेच बनाएन ।
लगभग पाँच दिनको बसाइमा हामीले थुप्रै कार्यहरू गर्यौँ । कोही साथी खाना पकाउँथे, कोही सरसफाइ गर्थे । आफूभन्दा ठूला कराही मस्काइरहन्थे, कोही बिहानबिहान फोहोर फाल्न हिँड्थे। राति सुत्नुअगि सधैँ क्याम्पफायर गर्थ्यौं। दिनभरिका गतिविधिलाई पुन: परिक्षण गरी, आफ्नै क्रियाकलापलाई मूल्याङ्कन गर्थ्यौं । हाम्रा गुरुहरूको नेतृत्व सराहनीय थियो । ४०-४५ जना विद्यार्थीको जिम्मेवारी लिएर वहाँहरू अभिभावकको भूमिकामा हुनुहुन्थ्यो । आपसी मेलमिलाप र अन्तसम्बन्धमा दरार नआओस् भनी सक्दो जमर्को गर्नुभयो ।
हामीले फर्कने दिनअगि समापन कार्यक्रम राखेका थियौँ । निकै भव्य किसिमले नाचगान गरियो । त्यहाँको स्थानीय गुरुङ भेषभुषा लगाई चन्द्रोदय मा. वि . का विद्यार्थीहरूले पनि बेजोडको नृत्य प्रदर्शन गरे । चुड्का नामक नृत्य हेर्न पायौँ अनि बाजा पनि बजाए । लोकनृत्य र लोकसङ्गीतले बनाएको सुरम्य वातावरणमा गाउँका सबै मिलेर निकै बेर रमाइलो गर्यौँ ।
फर्कने दिन बिहानै हामीलाई बिदाइ गर्न अबिर, माला लिएर धेरैजना आउनुभयो । आँखाभरि आँसु लिँदै हामीलाई बिदाइ गर्न आउनुभएका बुढी आमाहरू देख्दा मन भारी भएर आयो ।
आँबुखैरेनीले हामीलाई कृतज्ञताको असली अर्थ सिकायो । सहरका इमारतसँगै हाम्रा मनहरू पनि कताकता कंक्रिटीकरण भई सकेछन् । ग्याजेटमा वा व्यक्तिगत स्वार्थमा हामीले मानवता बिर्सिएका छौँ । आँबुखैरेनीको स्वच्छ हावापानी र मिजासिला गाउँलेको उदार मनले हाम्रो पनि आँखा खुल्यो । सानोभन्दा सानो असुविधालाई पनि ठूलो समस्या ठानेर गुनासो गरिरहने हामीमध्ये धेरैलाई यो क्याम्पले पाठ सिकायो ।
चन्द्रोदय मा.वि. का कति बालबालिका घन्टौं हिँडेर स्कुल आउँथे तर पनि उनीहरूको अनुहारमा रत्तिभर पनि शोक थिएन । गाउँमा भौतिक सुविधा न्यून थियो तर कसैका मुहारमा ग्लानि थिएन । हामी सुखको पछि भौंतारिएर आफ्नै पाइतलामुनि खुसीलाई गाड्छौँ । सन्तोषलाई अँगालो मारेर आँबुखैरेनीजस्ता कयौँ ग्रामीण माटोमा थुप्रै नेपालीहरूले खुसीलाई हुर्काइरहेका छन् । यो ग्रामीण इमरसन क्याम्प हाम्रो लागि ज्वलन्त उदाहरण थियो, जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने । आँबुखैरेनी जानुअगि हामी अपरिपक्क र अनावश्यक हक जमाउने केटाकेटी थियौँ तर कार्तिक २६ मा फर्किंदै गर्दा हामी सबैले आफैँमा ठूलो परिवर्तन महसुस गर्यौँ । मीठा याद मात्र नभई समस्तीपुरबाट हामी समस्तले जिम्मेवारीबोध , कर्तव्यबोध र कृतज्ञता बोकेर सेन्टजेभियर्स कलेज माईतीघर फर्कियौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

