२०५८ जेठ १९ गत्ते शुक्रबारको रातको नारायणहिटी आज पनि सबैको रहस्यकाे विषयमा सीमित छ । प्रत्यक शुक्रबारझैँ त्यस शुक्रबार पनि सम्पूर्ण राजपरिवार एकै ठाउँमा जम्मा भएको त्यो साँझ एकैछिनमा कहालीलाग्दो भैदियो । आज त्यही रातको पिठिँउमा चढेर देश यहाँसम्म आइपुगेको छ । संविधान सभाबाट संविधान निर्माण गरेर देशले संघीयताको पाँच वर्षे सफल कार्यकाल व्यतित गरेर दोस्रो पटक देशका स्थानीय तहले नेतृत्व लिइसकेका छन् भने संघ र प्रदेशले पनि केही दिनभित्र नयाँ जननिर्वाचित नेतृत्व पाउँदै छ । संघीयता कार्यान्वनमा बितेको पाँच वर्षले जनताहरुलाई यति विचलित र निरास बनाइदियो कि जनताहरुले बितेका तीन वर्षमा राजा वीरेन्द्रका देनहरुलाई पटक–पटक स्मरण गरिरहे अनि सम्झिरहे । यी बेचैनीका दिनहरु निम्त्याउने त्यो जेठ १९ गतेको कहालीलाग्दो रातको नारायणहिटी हत्याकाण्ड ।

राजा वीरेन्द्रको समूल वशं नाशपछिका नेपाली राजनीतिमा आएका उतारचढावले नारायणहिटी राजदरबारलाई नारायणहिटी सङ्ग्रहालयमा रुपन्तरित बनाइदियो जसले समालेर राखेको छ २०५८ जेठ १९ गतेको कालो रातका गोलीका छापहरुलाई । जब नारायणहिटी सङ्ग्रहालयभित्र राजा वीरेन्द्रका सम्पूर्ण परिवार र वशंजहरुसँग साक्षात्कार गरेर भर्खर नारायणहिटी पछाडिपट्टि निस्किएको थिए । आँखा अगाडिको बोर्डले राजा वीरेन्द्रको वशंनाश गरिएको स्थानतर्फ डोर्यायो ।

नारायणहिटी सङ्ग्रहालय पछाडिपट्टिको ढोकामै उभिएको बोर्डले जब राजा वीरेन्द्रको वशंनाश गरिएको स्थानतर्फ औँला तेर्सायो तब मनमा अनौठो भय र मानसिकतामा अत्यासलाग्दो चेतनाले स्थान लियो । मनमा चिसो आभास भयो, मानसपटलका नसाहरु तन्किन थाले र विचारहरु दौडिन थाले । जसले गर्दा हातखुट्टामा कम्कम्याइ उठ्यो । आफूलाई समाल्दै म त्यही बोर्डले तेर्साएका निर्दयी औँलाले संकेत गरेतर्फ अघि बढेँ ।

वीरेन्द्रको वशंनाश भएको स्थानमा पाइला टेक्नुपूर्व गेटमा एउटा बोर्डले भनिरहेको थियो, “राजा वीरेन्द्रको बशंनाश पछि, यहाँका केही भित्ताहरु भत्काइयो ।” बोर्डका कुराहरुले मलाई झन् बढी बेचैन बनायो । “किन भत्काइयो ती रगत लत्पतिएका पर्खालहरु ? राजा वीरेन्द्रका वंशजहरुको आत्माले बस्न दिन्न भनेर वा पर्खालमा लत्पतिएको रगतको डरले ।” मनमा अनेकौँ प्रश्नहरुको बाढी आइरहेको थियो । “कसको निर्देशनमा भत्काइएछ यी निर्दयी पर्खालहरुलाई जसले भगवान् विष्णुको वशं नाश हुँदासमेत ट्वाल्ल परेर हेरिरहे ? अब ती निर्दयी पर्खालहरुलाई हामीले कसरी चिन्ने जसका रगतले पोतिएका अनुहारहरु नै नरहेपछि । ती पर्खालहरुलाई त कालान्तरसम्म जीवित राख्नु पर्ने होइन र ? जो एक युग अन्त्यका साक्षी थिए । जसले समालेर राखेका थिए, भगवान् विष्णुका अवतार मानिने राजा वीरेन्द्रको वंशनाश गर्ने सैतानका तस्बिरहरुलाई ।

साँच्चै आजसम्म भगवानको वध गर्ने राक्षसकाे बारेमा हाम्रा धर्मग्रन्थमा कहीँ कतै उल्लेख गरिएको पाइएको छैन । पक्कै पनि यो कुनै शक्तिशाली राक्षस हुनुपर्छ ? जसले कुनै पनि मायामोहमा नफस्ने विष्णु र उसको वशंलाई आफ्नो मायाजालमा पारेर सबैले हेर्दा हेर्दै नष्ट गरिदियो । कस्तो अच्चम राजा वीरेन्द्रको काखै नजिक बसेर केहीसमय अघिसम्म हाँसिरहेकाहरुले समेत पत्तो पाएनन् उसको मायारुपी स्वरुपको ? जुन दिन भगवानको अवतार मानिने वीरेन्द्रको वशं नासियो । त्यही दिनबाट यो देशबाट सनातन हिन्दू धर्मले बाटो मोड्यो ।” विचारहरुको पर्खालबाट बाहिर निक्लिएर म बिलियार्ड बैठकतिर गएँ ।

जहाँ अर्को बोर्ड हातमा पर्चा लिएर बसेको थियो, “यो देशका जनताले भगवान विष्णुको अवतार मान्ने राजा वीरेन्द्रको हत्या भएको ठाउँ लेखिएको ।” ढोका बन्द थियो । झ्यालबाट भित्र चिहाएँ । बिलियार्ड राखिएको थियो । हल उदाङ्गो अनि उदास थियो । त्यहाँबाट अघि बढेर सिधा अगाडि गएँ जहाँ बनाउँदै गरिएको भवनको मुनि एउटा अर्को बोर्ड खडा थियो । जसले भनिरहेको थियो, “भित्र बिलियार्ड हलमा आफ्नो पतिको हत्या भैसकेपछि रानी ऐश्वर्या आफ्नो पिता मार्ने पुत्रलाई लखेट्दै आउँदा पुत्रले आमालाई मारेको ठाउँ हो यो ।” बोर्डको कुराले मनमा अर्को प्रश्न उब्जाइदियो, “पिता मारिसकेको पुत्रको पछि रानी बिलियार्डहलबाट यहाँसम्म किन लखेट्दै आइन् ? उनले त आफ्नो पति गोली लागेर ढलिसकेपछि अचेत भएर पतिको छातीमा अंगालो हालेर रुने कराउने होइन र ? छोराको रुपको मायावी सैतानको पछि लागेर यहाँसम्म किन आउनु परेको ? सायद उनी पनि उसको मायाजालमा फसिन् होली । नत्र यहाँसम्म नआउनु पर्ने ।

त्यस पछि दायाँतर्फ फर्कें । आँखाअगाडि पुल थियो र त्यही पुलमा अर्को बोर्ड हात खडा गरेर उभिएको थियो, “यही ठाउँ हो, जहाँ आफ्ना पुजनीय मातापिता र प्यारा भाइ अधिराजकुमार निराजन तथा प्यारी बहिनी अधिराजकुमारी श्रुति लगायत बाह्र जना सम्माननीय आफन्तजनहरुको नसाको तालमा उठ्नै नसक्ने युवराज दिपेन्द्रले छानीछानी निसाना लगाएर हत्या गरिसकेपछि आफूलाई समेत गोली हानी अचेत अवस्थामा भेटिएको ठाउँ ।”

त्यहाँबाट सिधा अगाडिको घरमा आँखा गए जहाँ अरु दुईवटा बोर्डहरु थिए । जसमा एउटाले, “अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिलाई नसाले मात्तिएर हलचल गर्न नसक्ने दाइले आफ्ना प्यारा भाइबहिनीलाई लखेट्दै ल्याएर गोली हानी हत्या गरिएको ठाउँ हो यो” भनेको जानकारी दिइरहेको थियो भने अर्को चाहिँले घरका पर्खाललाई कुरुप बनाउने गरी लागेका आठ–दश वटा गोलीका दागहरुतर्फ संकेत गर्दै भनिरहेको थियो, “यी हामीले सुरक्षित गरेर राखेका गोलीका खतहरु हुन्, जुन ती सफल राइफलबाट निक्लिएका थिए जसले यो देश बनाउने कल्पना गरेर देश विकासका खाकाहरुलाई अन्तराष्ट्रियस्तरसम्म छलफल गरिरहेका राजा वीरेन्द्रको समुल वंशनाश गर्न सफल रहेका थिए ।” मनमनै सोचेँ, “तिमीहरुले र यो नारायणहिटीले अरु के समालेर राखेका छौ र ? यी नै गोलीका डरलाग्दा वशं विनाशका डोबहरु सिवाय ।”

यतिबेलासम्म म एकदमै थाकेको अनुभव गरिरहेको हुँदा त्यहाँबाट पछाडि गएर घुम्ने घर नजिकै बसेँ । मनमा अनेकौँ विचारहरु खेलिरहेका थिए । विचारहरूको भुमरीमा नाच्दा नाच्दै म कोठामा पुगेँ । मोबाइल खोलेर गुगलमा गएर नारायणहिटी हत्याकाण्डको बारेमा सर्च गरेँ । अचम्म त्यतिबेला लाग्यो जब यो सबै घटना तीस सेकेण्डभित्र भएको थियो भन्ने थाहा पाएँ । अनि सोचेँ, “कति आश्चार्य लाग्ने झुट एकजना नसाले मात्तिएको व्यक्तिले तिन ओटा राइफल एक्लै चलाएर तीस सेकेण्डभित्र यसरी दौडाई –दौडाई बाह्र जना मार्न सक्ने र आफू पनि मर्न सक्ने रहेछ ? अनि कति लाज लाग्दो कुरा देशको अविभावक राजाको समूल वशं नाशको घटना नेपालीहरुका सामुन्ने २०–२२ वर्षपछिसम्म पनि रहस्य बनेर खडा छ ।

अझै हामीले पत्याइदिनु पर्ने, हामीलाई स्वच्छ न्याय मिल्न सक्छ यहाँ भनेर । यो राजाले त न्याय नपाएको देश हो, हामी रैतिलाई न्याय कसरी मिल्न सक्ला ? कसरी पत्याउनु र ? राजाको वशं नाशपछि कयौँ मुखुण्डो धारी राजाहरुले छानबिन गर्ने आश्वासन दिए जुन आश्वासनबाट अघि बढ्न सकेन । नारायणहिटी हत्या काण्डपछि विदेशी राष्ट्रको नजरबाट गिरेको नेपालले अझसम्म परराष्ट्रनीतिमा सुधार ल्याउनु त परको कुरा उनीहरुको सम्मानको दृष्टिमा समेत पर्न सकेको छैन । उनीहरु सोच्दछन् आफ्नै राजाको सयौँ सैनिकहरुको बिचमा भएको हत्यालाई देखाउन नसक्नेहरुले हाम्रो के नै हित र अहित गर्न सक्छन् भनेर । अब हामीले यो देशको प्रशासन र यहाँका शासकहरुबाट सत्यतथ्य कुरा बाहिरिएला भनेर नचिताए पनि हुन्छ । बरु भारतको RAW पाकिस्तानको ISI, अमेरिकाको CIA, चिनियाँ MSS, र बेलायतको SIS-M16, जस्ता खुफिया निकायसँग सोध्यो भने उनीहरु भनिदेलान्, “तेरो राजाको वशं विनास गर्ने षड्यन्त्रकारी र गोली चलाउनेहरु यी–यी हुन् भनेर ।”

त्यसैले अब हामीले नारायणहिटीले सुरक्षित राखेका राजा वीरेन्द्रको वशं विनाशका आठ–दशवटा डोबहरु हेर्नबाहेक अरुका केही रहस्य थाहा पाउने आशा नगरे पनि हुन्छ ।