सरकारले लकडाउन केही खुकुलो बनाएपछि महिनौँपछि आज निस्केको छु बाहिर । यस बीचमा डेराबाहिर ननिस्किएको त हैन तर सामान्य तरकारी लिन, दुध किन्न, ताजा हावा खाउँ न भनेर टपक्क मास्क लगाएर घरबाट थोरै तल मात्र निस्किएको थिएँ । पेट भरिने गरेर, चित्त बुझ्ने गरेर, भोक नै मेटिने गरेर भने आज निस्किएँ किनकि म आज महिनौँ दिनमा चिया अड्डामा चिया पिउन भनेर निस्किएँ ।
समाचारहरुले छ हजार बढी मान्छे संक्रमित भएको बताइरहँदा मान्छेहरु कोरोनाको त्रासबाट फुत्किएर बाटोमा हिँडिरहेका देखिए । मान्छेलाई मृत्युभन्दा स्वतन्त्रता प्यारो हुन्छ यसै भनिएको हैन रहेछ । भलै देशभित्र त आवत जावत छ होला, अरु सुविधाहरु पनि छन् होला तर दशकौंदेखि आफ्नो देशभित्र बन्दीझैं जीवन बिताइरहेका उत्तर कोरियाली जनताहरु कसरी बाँचेका होलान् भनेर मलाई महसुस भयो । भौतिक लकडाउनसँगै मानसिक अनि वैचारिक लकडाउन कति भयावह हुन सक्छ होला भनेर कल्पना गर्दा पनि मलाई नरमाइलो लाग्छ ।
पातला बस्तीहरु छिचोलेर बाक्लो घाँस भएको चौरमा पुग्दछु । ठाउँ तपाईंहरुलाई त्यति जरुरी छैन । काठमाण्डूको भित्री शहरबाट फुत्किएर रिंगरोडबाहिर निस्किएपछि लगभग सबै दिशाहरुमा उस्तै खुल्ला ठाउँ, जंगल, चौर, झरनाहरु तपाईं पाउन सक्नुहुन्छ । म उत्तरको भेगमा बस्छु । चौरबाट नजिकै देखिने नागार्जुन जङ्गल, शिवपुरीको डाँडा हेर्दा मन चङ्गा भएर आउँछ । रङहरुमा पनि मानसिकता बदलिदिने ताकत हुने रहेछ । म मनोविज्ञानको विद्यार्थी त हैन, न त मलाई चित्रकला अनि रङहरुको ज्ञान छ । तैपनि मलाई लाग्छ, प्राकृतिक हरियो रङले मस्तिष्कको मसाज गरिदिन्छ, गर्मीमा शितल र जाडोमा न्यानोपन भरिदिन्छ ।
चौरमा फुटबल खेल्न आएका केटाहरु छन् । जोडले हल्ला गरिरहेछन्, तर खुल्ला ठाउँका हल्लाहरु हावामै मिस्सिएर सकिँदा रैछन् । साँघुरा ठाउँमा भए पो हल्लाले पनि अस्तव्यस्त बनाउँछ जिन्दगी । चौरको छेउमा साँझमा कसरत गर्न भनेर कुदिरहेका केटीहरु देखिन्छन् । पातला ट्राउजर अनि स्लिभलेसमा छन् । मलाई महिलाहरुका लुगाका नाम खासै आउँदैन । हामीले लगाउने स्याण्डोजस्तै लुगा होला त्यो तर शरीरमा टपक्कै टाँसिएको हुँदोरहेछ । मलाई ती कुदिरहेका केटीहरुको अनुहार र जिउडाल देखेर अचम्म लाग्यो । यसरी कुनै शिल्पकारले काठमा अति नै संयमित भएर बसिलाले तासेर, रामो र छिनुले खोपेर कुँदेको मुर्तिभन्दा पनि सटिक जिउडाल अनि भर्खर किनेर ल्याएका नयाँ थालझैं बेदाग अनुहार भएका केटीहरुले कस्ता केटाहरुसँग बिहे गर्छन् होला ? के मजस्ता झुसे केटाहरुको भाग्यमा होलान् त यिनी सुकिला सुन्दरीहरु ? भए पनि मैले यस्तो चिनियाँ माटाका मुर्तिहरुलाई नचर्किने गरेर जतन गरेर राख्न सकूँला त ? गुमाउने डर त सधैँ सुन्दर अनि मूल्यवान कुराहरुकै हुने रहेछ ।
सोचहरुले मलाई प्रश्नहरुको दहमा लगेर चोबल्दिन्छन् । सधैँ यत्तिकै तन्दुरुस्ती र सुन्दरतालाई मुट्ठीमा लिएर समयलाई एकै ठाउँमा किलो ठोकेर रखिरहलान् कि कुनै घरकी बुहारी बनेर आफैँ व्यवहारको गोठमा थुन्लान् त यी अप्सराजस्ता केटीहरुले ? के यिनीहरुका गाला पनि चाउरिएलान् त कुनै दिन ? आधा पानी भरेको बेलुनझैं झोल्लिएलान् त कुनै दिन यिनीहरुका पनि छाती ? पाउरोटीका पिसझैं फुँदा पर्लान् त यिनीहरुका पनि पेट ?
चौरको छेउमा कुदिरहेका उनीहरुमध्ये एउटीको नजर उनीहरुतिरै एकोहोरिएको मेरा आँखाहरुमा पर्छ । मलाई लाज लाग्छ । लाजभन्दा बढी डर लाग्छ । तर उनीहरुको यौवन र वैंशलाई जोकोहीले यसरी नै नियाल्छ भनेर उनीहरुलाई थाहा हुँदो हो । या त्यसरी नियाल्ने म मात्र पनि हुँदो हुँ, किनकि मैले यतिबिघ्न सुन्दर केटीहरु प्रत्यक्ष नदेखेको पनि त महिनौँ भैसक्यो ।
म त चिया पिउन निस्केको मान्छे, खै के सुरले हो चौरको छेउमा प्रकृतिमा विचरण गर्न मस्त भएछु । आज चियाभन्दा पनि दुधचियाकै रङजस्तो रातो हुँदै गएको क्षितिज हेर्न मन लाग्यो । त्यो क्षितिजबाट फैलिएर आकाशका पानाभरि पोतिएको गोधुलीको रातो रङ हेर्न मन लाग्यो । यसले पनि मलाई बेग्लै आनन्द दिएर गयो । मलाई लाग्यो, सिन्दुरे रङ पनि त मगजको मसाज गर्ने रङ रहेछ । तर मलाई त्यो सिन्दुरे रङको यादले मगजमा शान्ति हुँदैन, जुन रङ कसैले उनको सिउँदोमा पोतिएको तस्बिर पठाउँदा देखेको थिएँ । मलाई सोध्न मन थियो उनलाई, यदि अर्कैको सिन्दुर लगाउने तयारी गर्दै थियौ भने किन भनिनौ मलाई ? किन बताइनौ मेरो जीवनमा साँझ नै नआई एकैचोटी अँधेरी रात आउँदैछ भनेर ? के फेसबुकमा ब्लक गर्दैमा सबैथोक सकिएको थियो र ? जिन्दगी त यथार्थतामा बाँच्नुपर्छ । हत्केलाहरुले नाडी छामेर, ओठहरुले निधार छामेर, अँगालोले छाती कसेर बाँच्नु पर्छ जिन्दगी । नाथे बुढीऔंलाले च्याटमा लेखेर अनि त्यसैले ब्लक गरेर कहाँ अर्थपूर्ण हुन्छ र जिन्दगी ! च्याटका सस्ता इमोजीभन्दा कैयौँ गुणा बलिया हुन्छन् छातीका संवेगहरु, ओठका हाँसोहरु, कण्ठका भक्कानाहरु, आँशुका लहरहरु ।
चौरबाट उठेर अर्को छेउको चियापसलमा पस्छु । साथीहरु छैनन् साथमा, न त उनी नै । केवल टेबल र कुर्सीमा यादहरु हल्ला गर्दै बसिरहेका छन् । लामो लकडाउनपछि भर्खर तंग्रिन लागेको चिया पसलको कुनामा चिया उम्लिरहन्छ । मेरो मन भने सुदूर अतितमा पुग्दछ, जतिबेला उनको जुठो चिया पिएको दोस्रो भेटको अपराह्नमा म डेरामा बसिरहेको हुन्छु ।
‘फुर्सद भए भेटौं न आज पनि,’ सन्चो बिसन्चो, खाना, खाजा इत्यादि औपचारिकता सजिलै निभाएपछि फोनमा यति भन्न भने अलि सकस नै भएथ्यो उनीलाई ।
‘कहाँ ?’ फुर्सद छ, छैन भन्नलाई त दिमागले सोच्नु पर्थ्यो होला तर मन न थियो गौप्राणी, सिधै भेट्ने ठेगाना सोधिदियो ।
‘चिया अड्डामा, तर हिजो हजुरले बोलाएको ठाउँमा हैन । आज मेरो च्वाइस,’ उनी हल्का लाडिएर बोलेकी थिइन् । मलाई त्यो लाडप्यार अनि त्यो नखरा नै प्रिय लागेको थियो ।
उनको स्कुटरको पछिल्लो आसनमा बस्न भनेर लोकल बसको चालक पछाडि उभिएर, कहाँ आइपुग्यो भनेर हेर्न बेला बेलामा निहुरिँदै, ठाउँहरु नियाल्दै नियाल्दै पुगेको थिएँ चक्रपथ । भाटभटेनी अगाडिको सडकछेउमा स्कुटरमा बसेर दुई खुट्टाहरुले भुइँमा हल्का टेकेर स्कुटर थाम्दै हेल्मेट लगाएको टाउको अररो गर्दै पछाडि हेरिरहेकी थिइन् उनी । मेरो उपस्थिति हुनासाथ उनका ओठहरुले मुस्कानको चित्र कोरिदिए । त्यो चित्र फैलिएर हामीसँग सँगै चाबहिल हुँदै बानेश्वर पुगिसकेको थियो ।
‘आज यता पिउने है चिया ?’ उनले स्कुटरको डबल स्ट्याण्ड लगाउँदै गर्दा मेरा आँखाहरुले ‘द मटका’ भनेर लेखेको साइनबोर्ड टाउको उठाएर हेरिसकेका थिए ।
पुराना यादका सिलसिलालाई तोड्न मेरो अघिल्तिर भर्खर चियाको कप आइपुग्छ । म फिस्स हाँसेर पसलेलाई नबोलिकन धन्यवाद भन्छु । आज यो कपलाई म निष्फिक्री कप नै भन्न सक्छु । नत्र त त्यसदिन, हाम्रो दोस्रो भेट अनि दोस्रो चियाको दिन, दुवै कपबाट मैले नै चिया पिएपछि भनेको थिएँ, ‘यो कपमा हाम्रो पनि नाम लेखेर राखिदिउँ ।’ मेरा आँखाहरुले चिया अड्डाका भित्ताको सोकेसभरि पुराना कपहरुमा नाम लेखेको देखिसकेका थिए ।
‘कप हैन, यसलाई मटका भन्छन् बुद्धुराम ।’
मैले त्यसैदिन पहिलोपटक माटोको कपमा चिया पिएको थिएँ । उनीबाट मेरो न्वारन भएर बुद्धुराम भन्ने नयाँ नाम पाएको थिएँ । अनि उनको पनि त नयाँ नाम जुरेको थियो ।
‘ज्ञानी । म बुद्धु भए तिमी ज्ञानी ।’
उनको हाँसो थापागाउँको ओरालो हुँदै बिजुलीबजारको पुलसम्मको ट्राफिक जाम जत्तिकै लामो थियो ।
म फेरि यादको कान्लो ओर्लिएर वर्तमानको तल्लो सुर्कोमा आइपुग्छु । एक्लो औंलाले बोकेको कप अनि एक्लो ओठले पिएको चिया रित्याएर म घर फर्किन्छु । लामो लकडाउन केही खुकुलिए पछिको पहिलो चिया । पैसा तिरेको पिएको पहिलो चिया । मनमा गुलियो खेलाउँदै फर्किन्छु ।
साँझ मेसेजमा कोरियन नायिकाको गुडियाजस्तो अनुहार लिएर निक्की झुल्किन्छे । हाई, हेलो अनि खानपानका औपचारिक कुराहरु सोधिसकेपछि ऊ मुख्य मुद्दामा आउँछे ।
‘लेखकसँग त केही बोल्नै नहुने है ? एक एक शब्द दुरुस्तै लेख्दिने ।’
‘किन केही गल्ती गरेँ र मैले ?’
‘गल्ती हैन, मिठो अपराध गर्नुभाछ ।’
‘बुझिनँ ।’
अज्झ, हेरन स्वाङ पारेको !’
‘…’
‘मेरै बारेमा लेख्दिनु पर्छ त ? जे बोल्यो त्यही लेख्दिने सिधै ? कथा केही पाउनु भएन ? तपाईंले लभस्टोरीहरु पनि आफैँ सबैसँग लभ गर्दै त्यही दुरुस्त लेख्नु हुन्छ कि क्याहो ?’ कति धेरै प्रश्नहरु, कति ठूलो आरोप लगाई उसले । मसँग उसलाई दिने कुनै स्पष्टीकारणहरु हुँदैनन् । स्विकार्नु नै वेश लाग्यो । यति गर्दिए वादविवाद गर्नु पनि परेन, पन्छिन पनि सजिलो ।
‘तपाईंले भनेका सबैकुरा सत्य हुन्, अबदेखि सधैँ तपाईंले जे भन्नु हुन्छ त्यही कथा लेखिदिन्छु । सजिलो भयो मलाई । न त कल्पना गर्नुपर्ने, न त अर्थोक कुराको झन्झट ।’
‘खुब, रिसाउनु भयो कि क्याहो ? सरी म जिस्किएको ।’
‘सरी भन्ने हो भने त जिस्किएको मतलब नै भएन नि,’ म थोरै फ्लर्ट गर्छु ।
‘हिहिही’, ऊ लेखेरै हाँस्छे । मलाई यो फेक आईडी मन पर्न थालिसकेकी छ किनकि ऊ इमोजी नराखी कुरा गर्छे, ‘एउटा कुरा बताऊँ ?’ ऊ सोध्छे ।
‘प्लिज…’
‘तपाईंको चिया अड्डामा केही पनि हुँदैन, तैपनि पढौँ पढौँ लागिरहन्छ ।’
‘कस्तो केही पनि हुँदैन भन्नाले ?’
‘पुरै पढिसक्दा पनि गुदी केही हुँदैन । तैपनि नरोकिई पढ्न मन लाग्छ ।’
‘तपाईंको प्रेम हो यो । खासमा मैले त के लेख्छु र, सबै तपाईंकै कुरा त लेख्ने हो ।’
ऊ बेस्सरी हाँसेको देखाउन हाहाको लश्कर नै टाइप गरिसक्छे, र सोद्छे, ‘चिया अड्डाको तेस्रो भाग कहिले लेख्नु हुन्छ ?’
‘लेखिसकें ।’
‘मतलब ?’
‘यही च्याट हुबहु छाप्दिने हो अब । बरु चौथो भाग के लेख्ने सोच्दैछु,’ यति टाइप गर्दा के भएर हो, नेट चल्दैन । कति मिठो च्याट हुँदैथ्यो । पापी इन्टरनेट !
तत्काल मलाई एउटा लाइन फुर्छ, ‘मायाप्रेमका लागि धनसम्पत्ति हैन, मन चाहिन्छ भन्ने पुराना कुरा हुन् । प्रेमका लागि त नकाटिने अनि फुर्तिलो इन्टरनेट चाहिन्छ !’