‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहिृियक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहिृियक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । पारखीको ‘मनको मन्दिर’देखि डा. सुबोधकुमारको ‘यौनका कुरा’सम्म; पुस्तकको छोटो परिचयसहित ।
===
१. साहित्यकार गोपाल ‘अश्क’
आजभन्दा ५९ वर्ष पहिला पर्सा जिल्लाको भेडीहारी गाउँमा बसोबास गर्ने एक किसान तथा मध्यम वर्ग परिवारमा जन्म लिएका गोपाल ‘अश्क’ जीवनयापनको क्रममा ३२ वर्षसम्म बीमा क्षेत्रमा काम गरेर सेवानिवृत्त भइसकेका छन् । वि.सं. २०४७ सालदेखि प्रारम्भ भएको उनको सिर्जना-यात्रा आज पर्यन्त जारी छ । बहुभाषिक स्रष्टा अश्कका ‘कजरी’ खण्डकाव्यदेखि लिएर ‘फलुवा’ उपन्यासलगायत तीन दर्जन भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । प्रस्तुत पुस्तक जीवनी तथा व्यक्तित्व, सम्बन्ध र संस्मरण, कुराकानीः गोपाल अश्कसँग, कृतित्व र मूल्याङ्कन, कोण प्रतिकोण, समीक्षा समालोचना र भूमिका, भोजपूरी साहित्यमा गोपाल अश्क, हिन्दी साहित्यमा गोपाल अश्क गरी ८ खण्डमा तयार गरिएको छ ।
“स्रष्टाहरू जीवित छँदा नै उहाँहरूको योगदानको कदर गर्नुपर्छ भन्ने कुराको यो राम्रो उदाहरण हो ।” भूमिकामा गङ्गाप्रसाद उप्रेती लेख्छन्- “अग्रजप्रति सम्मान र नयाँ पुस्तालाई हौसला प्रदान गर्न यस्ता कार्यले महत्त्पूर्ण भूमिका खेल्दछन् भन्ने मलाई लाग्दछ ।”
डा. विश्वम्भर कुमार शर्माले जीवनी तथा व्यक्तित्वमा लेख्छन्- “गोपाल अश्क मिलनसार, निर्भीक, खरो बोल्ने, सहीलाई सही र गलतलाई गलत भन्ने तथा आफ्नो आलेचना वाद र विवादको पछि नलागेर सधैँ साहित्यको माध्यमबात समाज र देशको सेवा गरिरहेका छन् ।”
पुस्तकको कभर पृष्ठमा डा.ध्रुवचन्द्र गौतम लेख्छन्- “एक पटक त वीरगन्जको कुनै मञ्चबाट मैले भनेको पनि थिएँ— वीरगन्जमा पच्चीस वर्ष अगि जे म थिएँ, त्यही अहिले गोपाललाई देख्दछु ।”
पुस्तकलाई तन्नेरी प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । ४३४ पृष्ठमा फैलिएको स्तकको मूल्य १५०० रुपियाँ रहेको छ ।
२. दृष्टिकोण — राजेशमान के.सी.
गायन तथा गीत लेखनमा स्रष्टा राजेशमान के.सी.को सङ्कलित रचनाहरुको सङ्ग्रह हो “दृष्टिकोण” । पुस्तकमा धर्म र विज्ञान सहित शान्त मन सक्रिय जीवन, दृष्टिविहीनका लागि सूचना प्रविधि, सिमसारः महत्त्व अपारलगायत २० वटा लेख सङ्ग्रहित छन् ।
“समग्रमा भन्नु पर्दा यस संग्रहमा सबै जसो लेख रचनाहरुले कतै न कतै मानवीय सम्वेदना, प्रकृति प्रेम तथा राष्ट्रियताको भावनालई समसामयिक विषयवस्तुको प्रस्तुतिबाट अभिव्यक्त गरिएको छ ।” भूमिकामा विद्याप्रसाद घिमिर लेख्छन्- “हरेक लेखलाई व्यवहारिक र यथार्थपरक तर्कबाट दृष्टिकोण प्रस्तुत गरेर लेखकले आफ्नो विद्वता र वैचारिक क्षमता प्रस्तुत गरेका छन् । यस मानेमा प्रस्तुत लेख-रचनाहरू अध्ययन गर्ने पाठकको मन-मस्तिष्कले यथेष्ट बौद्धिक खुराक सहित उपयोगीमूलक जानकारीहरु प्राप्त गर्ने छ भन्ने विश्वास मैले लिएको छु ।”
पुस्तकलाई सृजना अभियान भक्तपुरले प्रकाशनमा ल्याएको हो । ८० पृष्ठमा फैलिएको उक्त पुस्तकको मूल्य (व्यक्तिगत-२००), (संस्थागत-३००) रुपियाँ रहेको छ ।
३. मनको मन्दिर — के.बी.पारखी
हाल जापानमा रहेका साहित्यकार के.बी.पारखीको नवीनतम मुक्तक सङ्ग्रह हो, मनको मन्दिर । प्रस्तुत संग्रहमा १५१ थान प्रेमिल मुक्तक संग्रहित छन् ।
“मानिस देशमा बसेर राष्ट्रवादी हुने र विदेशमा बसेर अराष्ट्रवादी हुँदैन । विदेशमा बसेर देशलाई माया गर्नु, संस्कृति र साहित्यलाई माया गर्नु झन् ठूलो कुरा हो ।” भूमिकामा सरुभक्त लेख्छन्-“ब्ब्द्यब् शैली अर्थात् रुवाइ शैलीमा संरचित उनका मुक्तकहरुमा देश र समाजका कथाब्यथा अभिव्यक्त भएका छन् । ‘मनको मन्दिर’ भनेपछि मन अनुपस्थित रहने कुरा भएन । यसमा युवा भनका प्रेमिल अभिव्यक्तिहरू छन् । ‘मनको मन्दिर’मा सधैँ मनकी देवीको उपस्थिति हुँदैन, त्यसैले यसमा घायल मनका अभिव्यक्ति पनि छन् । प्रेमको आराधना गर्नेहरु प्रेमकी देवी वा देवको अनुपस्थितिमा पनि उपस्थिति देख्छन्, यो अर्कै कुरा हो । ”
पुस्तकलाई लेखक स्वयम्ले प्रकाशनमा ल्याएका हुन् । ८८ पृष्ठमा फैलिएको पुस्तककोे मूल्य २५० रुपियाँ रहेको छ ।
४. नेपाली लघुकथा
लधुकथा नेपाल समाजको मुखपत्र हो, “नेपली लघुकथा” । पुस्तकमा ‘बेल्जियममा लघुकथा दिवस मनाउँदा’ सरुभक्तको अभिव्यक्तिदेखि लिएर लघुकथा सम्बन्धित ‘अन्तर्वाता’ लगायत इतिहासका पानाबाट १३ थान लघुकथाहरू संग्रहित छन् ।
“यतिखेर समयले मानिसलाई अति व्यस्त बनाएको छ । उनीहरु अत्यन्तै हतारो र चटारोमा छन् ।” सम्पादकीयमा लेखिएको छ—“थोरै समयमा धेरैभन्दा धेरै काम गर्नुछ । यहीबीचमा नयाँनयाँ कुरा जान्नु, बुझ्नु, र सिक्नु पनि छ । मनोरञ्जन पनि गर्नुछ । हो, यस्तो समयमा स्वाभाविकरुपमा साना रचनाहरु बढी महत्त्पूर्ण हुन्छन् । लघुकथाको जन्म आज हैन, धेरैअघि भएको हो । खोज्दै जाँदा यसको जरो भेट्न वेद पुराणसम्म पुग्नुपर्ने छ ।”
पुस्तकलाई लघुकथा समाज, नेपालले प्रकाशनमा ल्याएको हो । ९६पृष्ठमा फैलिएको पुस्तक शब्दार्थ प्रकाशन तथा भृकुटी एकेडेमी पब्लिकेसनमा पाइन्छ ।
५. यौनका कुरा— डा. सुबोधकुमार पोखरेल
सप्तरी जिल्लाका सांसद, अनुभवी चिकित्सक तथा साहित्यमा रुची राख्नुहुने डा.सुबोधकुमार पोखरेलकृत होे, “यौनका कुरा” । पुस्तकलाई ‘यौन मनोविज्ञान’ र ‘यौन समस्या र तिनको समाधान’ गरी दुई खण्डमा अध्ययन गरिएको छ ।
भूमिकामा डा.भोला रिजाल लेख्छन्, “कथानक रुपमा लेखिएका आख्यानहरु र उठाइएका प्रश्न तथा जिज्ञासाहरुले पुस्तकलाई थप रोचक मात्र बनाएका छैनन् विषय प्रवेशलाई स्वाभाविक र सान्दर्भिक पनि बनाएका छन् ।”
“आजभोलि बजारमा व्यक्तिभित्र अनियन्त्रित यौन उत्तेजना मात्र बढाएर छाडिदिने अराजक पुस्तकहरु प्रशस्त भेटिन्छन् ।” भूमिकामा कमल कोइराला लेख्छन्, “यौनलाई प्रमुख विषयवस्तु बनाएर लेखिएका पुस्तकहरु बजारमा छ्यापछ्याप्ती देखिए पनि यौनचिकित्सा, यौनमनोविज्ञानको अवधारणा, सिद्धान्त र मूल्यमान्यताअनुसार यौनको सही तरिकाले व्यवस्थापन गर्न दिशानिर्देश गर्ने पुस्तकहरुको अभाव छ । यस्तो अवस्थामा आजको बहुसङ्ख्यक दम्पतीमा उत्पन्न हुने विभिन्न यौनसम्बन्धी समस्याहरुलाई मनौवैज्ञानिक र व्यावहारिक ढङ्गले समाधान गर्न यो पुस्तक उपयोगी सावित हुनेछ ।”
पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । ३ सय २ पृष्ठमा फैलिएको प्रस्तुत पुस्तकको मूल्य ५२५ रुपियाँ रहेको छ ।
६. द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद — हस्तबहादुर केसी
वामपन्थी, बुद्विजीवी, नेकपा तथा लेखक हस्तबहादुर केसीको दोस्रो संस्करण्का रुपमा आएको गहन दार्शनिक कृति हो, “द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद” । पुस्तकलाई ‘द्वन्द्वात्मक भौतिकवाद’ र ‘ऐतिहासिक भौतिकवाद’ गरी दुई खण्डमा अध्ययन गरिएको छ ।
“माक्र्सवादी दर्शनले पदार्थ, प्रकृति र सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ ।” भूमिकामा लेखिएको छ, “अझै अगाडि गएर भन्न सकिन्छ कि माक्र्सवादले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य कताउँछ । हरेक वस्तुको आ—आफ्नै पद्धति हुन्छ र त्यही पद्धतिका आधारमा वस्तुको विकास र परिचालन हुन्छ । माक्र्सवादी दर्शनको पनि आफ्नै वैज्ञानिक पद्धति छ, त्यो हो द्वनद्ववादी पद्धति ।”
प्रस्तुत पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । २ सय ८८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४९० रुपियाँ रहेको छ ।
७. संशीत सूर्य – दिलीप अधिकारी
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका युवा कवि दिलीप अधिकारीकृत कवितासङ्ग्रह हो – संशीत सूर्य । अधिकारीका कविताहरुमा समाजिक समस्या, राजनीति तथा मानव स्वभावहरुका विषयमा गहिरो चिन्तन गरेका पाइन्छ ।
संग्रहमा ‘एक्लोपनको म’, ‘साथी’, ‘उनीसँगको सम्वाद’, ‘राउटेको खेद’, ‘लास र त्रासको राजनीति’, ‘मिल्नु, बिन्दु र बढ्नु’, ‘बहुराष्ट्रिय संस्था’, ‘गरिबको चित्कार’, ‘विचार नाविक’, ‘छल, कपट, भ्रष्ट राज्यको मन्दिर’लगायत ७२ शीर्षकमा कविताहरु संग्रहित छन् । संग्रहत कविताहरुले कविले बाँचेको समयको वकालत गरेका छन् । कवि अधिकारी नेपाली जनजीवन, सामाजिक परिवेश, मानव संवेदना तथा सामाजिक समस्यासँग नजिक र संवेदनशील देखिन्छन् ।
पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो । १ सय ३६ पृष्ठमा फैलिएको कवितासंग्रहको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।