नदी जस्तै बग्ने
मनहरुलाई
बाँध बाँधेर
झिलिमिली बिजुली बाल्छु भनेर
झुक्यायो मोराले
गल्ती मेरो थियो
मैले भन्नु पर्थ्यो
नदी थुन्नु हुन्न, बाँध बाँध्नु हुन्न
अरूको बस्ती उजाड पारेर बत्ती बाल्नु हुन्न ।

डा. हिमलाल श्रेष्ठ

धर्ती जस्तै उर्बर मेरो जोवन
धरा धरा कोरेर हिँड्यो त्यो बैगुनी
गुनैगुनको भकारी म
चुपचाप असरल्ल
अलमल्ल
पल्टिरहेँ
गल्ती मेरो थियो
मैले भन्नु पर्थ्यो
उर्बर धर्तीलाई कोर्नु हुन्न
अरूको फसल चोर्नु हुन्न ।

सुतेका साथीहरु
दिन रात सपना देख्छन्
कहिले साथीहरु सपनालाई लखेट्छन्
कहिले सपनाहरुले साथीहरुलाई खेद्छन्
जुगजुग चली रहन्छ सपनाको खेती
तर सपनालाई कुल्चेर हिँड्छ
कुनै न कुनै हिटलर
गल्ती मेरो थियो
मैले भन्नु पर्थ्यो
सपना त उनीहरुको नैसर्गिक अधिकार हो
सपनालाई कुल्चनु हुन्न
आकांक्षालाइ धकेल्नु हुन्न ।

अभिशप्त छ बस्ती
खण्डहर छ सहर
जल्दै छ पृथ्बी
धुमिल छ आकाश
बन्जर छ भूमि
सुक्दैछन् नदी नाला
महत्वाकांक्षाको रकेट प्रक्षेपण गरेर हिँड्यो ऊ
गल्ती मेरो थियो
मैले भन्नु पर्थ्यो
आऊ सँगै बाँचौँ
जुग जुग पुग्ने इन्धन साँचौँ
स्वच्छ सहर बसाऔँ
सरलतामा रमाऔँ ।

अश्राङ्ग, गोरखा
हाल, कटुन्जे भक्तपुर