
“मैले त डल्लै कपाल लुँड्याइदिएँ” ड्राइभरले आफ्नो छाेटाे कपाल सुमसम्याउँदै भन्यो । उसको त्यो संवाद सुनेर ऊ र म जो, फ्रन्ट सिटमा थियौँ, आपसमा मुखामुख गर्दै हाँस्यौँ । शायद हामीले रमाइलो मानेको ठानेर होला, गम्भीरजस्तो देखिने जीपड्राइभर बडो रौसिएर अनेक रमाइला गफ गर्न थाल्यो । बाटो त्यति विकट नभए पनि एकापट्टि भीर थियो र चियाका हरिया बुट्यानहरूले ढाकिएको थियो । बाटो कहीँकहीँ घुमाउरो पनि थियो अनि जङ्गललाई छिचोल्दै गाडी द्रुतगतिमा बढिरहेको थियो ।
काठमाडौँतिर दार्जीलिङको बोलीचालीको भाषा नक्कल गरेर बोलेको कहिलेकाहीँ सुनिन्छ र त्यसलाई अलि बढ्तै बनाएर बोलिन्छ, हाँसाइन्छ । तर दार्जीलिङमा र त्यसको सेरोफेरोमा त्यस्तो बोली अत्यन्त सामान्य र सहज भएर बोलेको सुन्दा अलि अनौठो र रमाइलो मान्ने ऊ र मबाहेक कोही थिएन ।

सीता पाण्डे
तीन माइल, छ माइल हुँदै सिक्किमतिर दौडेको जीप लप्चुमा चिया खान रोकियो । हामी पनि ओर्लियौँ । गुलियो भनेपछि हुरुक्क हुने मलाई स्थानीय लप्चुको प्रसिद्ध पेडाले लोभ्यायो । एक प्याकेट झोलामा हालेँ । लप्चुदेखि यता टिस्टातिर आउँदा करिब चालीस-पैँतालीस मिनेटको बाटो भने अत्यन्त रमाइलो रहेछ । सुनसान जङ्गल, सफा र चिल्लो बाटो, घुम्तीहरू, बीचबीचमा जङ्गली पशुपक्षीहरू देखिने त्यस्तो देख्ता लाग्यो, मोटरबाट ओर्लेर हिँडूँ ।
धेरै वर्षपछि दार्जीलिङ जाँदा आफूभित्र पालिरहेको उमङ्ग, उत्साह र आकर्षण दुई दिनमै फिका र खुइलिएको जस्तो भयो । त्यहाँको फोहोर, हिलो अनि बस पार्कबाट होटलका पङ्क, दलालहरूको व्यवहारका सबै ठाउँ र रक गार्डेन, यद्यपि घुम्नु त थियो नै, त्यसैले सेभेन प्वाइन्टका सबै ठाउँ र रक गार्डेन, सनराइनज, बतासेपुल आदि हेर्न गयाैँ । खास गरी हिमालय माउन्टेनियरिङ इन्स्टिच्यूटमा तेन्जिङको सम्पूर्ण इतिहामस जीवित रहेछ र सँगै जोडिएको जुलोजिकल पार्कमा हिमचितुवा, भालुसँग म केही बेर लठ्ठिएँ ।
आगामी आठौँ साफ गेम्सको मास्कट हिमचितुवाको तस्वीर बनाउनका लागि फोटो खोज्दा खप्नुपरेको दुःख र झन्झटलाई सम्झिएँ । त्यतिखेर यसको फोटो खिच्न पाएको भए । हामीसित त्यस बेला पनि लेन्स भएको ठूलो क्यामरा त थिएन, सानो क्यामराले नै खिच्यौँ तर रमाइलो के भएछ भने पछि त्यो फोटो नै आएनछ ।
तेन्जिङले पहिलो पटक सगरमाथा चढ्नुअघि दार्जीलिङकाे रक(चट्टान) आरोहण गर्ने अभ्यास गरेका रहेछन् । त्यस ठाउँलाई अहिले “तेजिङ रक” भनिँदो रहेछ र पर्यटकीय ठाउँको रूपमा विकसित गरिएको रहेछ । त्यहाँ दुइटा ठूला, अग्ला चट्टान रहेछन् र डोरीको सहायताले टुप्पोमा चढ्न सकिने रहेछ । त्यसपछि गार्खा स्टेडियम र प्रसिद्ध रोज गार्डेनमा दुई-चारवटा फोटो खिचेपछि दार्जीलिङ घुम्ने धीत पनि करिबकरिब मेटिएको थियो ।
त्यसको अघिल्लो बिहान हामी टाइगर हिल जाने तयारीमा लाग्यौँ । फेब्रुअरीको अन्त्यतिर पनि दार्जीलिङमा जाडो चर्कै थियो ।
सवा छ बजे सनराइज हुन्छ भनेर हाम्रो जीप बेस्सरी हुइाकियो । बिहानको चियासमेत खान नभ्याएकोले मलाई साह्रै तलतल लागेको थियो । “चिया पिउन भ्याइन्छ कि ?” मेरो आग्रहमा ड्राइभरले भन्यो, “टाइगर हिलमा जत्ति पाइन्छ ।”त्यहाँ पुग्दा अत्यन्त जाडो र धुम्मिएको थियो । सिलिगुडीतिरका मधिसेहरूको टावरमा घुइँचो थियो । त्यति सबेरै बिहान त्यतिका मोटर अनि मान्छेहरूको धुइरो । त्योभन्दा पनि रमाइलो त्यहाँ मलाई के लाग्यो भने राताराता गाला भएका युवतीहरू थर्मसमा चिया-कफी बोकेर हरेक यात्रुलाई आग्रह गर्दथे, “दाजु ! एउटा चिया पिइदिनुस् न ।”
त्यहाँबाट सनराइजका साथसाथै कञ्चनजङ्घा हिमाल पनि देखिने रहेछ । त्यो दिन कुहिरोले गर्दा दुवै देखिएन, बेग्लै कुरा हो । तर मलाई के कुरा खट्कियो भने नेपालको हिमाल देखाएर अरूले व्यवसाय गर्छन् तर हामी नै त्यसबाट बेखबर छौँ, बेवास्ता गर्छौँ । अर्को कुरा के पनि थाहा भयो भने त्यहाँ बेचिएका प्राय सम्पूर्ण तस्वीरहरू इलामको सन्दकपुर र भन्ज्याङको छेउबाट खिचिएका रहेछन् । हामी भने आफ्नै मुलुकको गौरव र सौन्दर्य हेर्न अर्को देशको धर्ती टेक्छौँ । हाम्रा लागि योभन्दा अर्को व्यङ्ग्य के हुन सक्छ र ?
नेपालको आगामी १९९८ लाई भ्रमण वर्षको रूपमा मनाउँदै छ । यसको प्रचारप्रसार पनि भइरहेको देखिन्छ । तर आफ्ना मुलुकमा लुकेका, ओझेल परेका यस्ता राम्रा-राम्रा ठाउँबारे जानकारी गर्न, गराउन र आवश्यक पूर्वाधारको विकास गर्न सकेमात्र भ्रमण वर्षको सार्थकता हुन्छजस्तो लाग्छ । इतिहासको नेपाल कुनै बेला फैलिएर टिस्टासम्म पुगेको थियो । टिस्टा नदी देख्दा अलिकति गर्व, अलिकति दुःख र अलिकति आनन्द लाग्यो । मैले नदीछेवैको माली बजारमा एकैछिन घुमेर यी सबै कुरा सम्झिएँ ।
सिलिगुडीबाट गान्तोक करिब एक सय अठार किमि टाढा पर्दो रहेछ भने दार्जीलिङबाट त्यस्तै सत्तरी किमि टाढा पर्दो रहेछ । कालिम्पोङचाहिँ टिस्टाबाट करिब सत्र किमि दक्षिण-पश्चिममा पर्दो रहेछ । रम्यो दार्जीलिङ र सिक्किमको बोर्डरमा पुग्दा न्यानो र अलिअलि गर्मी पनि महसुस नभएको होइन । हाम्रो जीपमा दुई जना युरोपियनहरू पनि थिए । तिनीहरूको इमिग्रेसन फर्म भर्ने आदि कार्यले गर्दा पन्ध्र-बीस मिनिट त्यहाँ अलमलिनुपर्यो । टिस्टा नदीको किनारैकिनार हाम्रो जीप दक्षिणतिर दौडियो ।
सीता पाण्डेको “यौन र अनुभूति” पुस्तकबाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

