हाम्रो यात्रा मुक्तिनाथदेखि कागबेनीसम्मको मात्र थिएन तर यात्राका क्रममा कागबेनीमा बसेको त्यो एउटा साँझ चाहिँ अरु साँझको तुलनामा बढी स्मरणीय बन्न पुग्यो । हामी दुई जना (म र दाइको छोरो रामु) यही २०५८ सालको दसैंको टीकाको पर्सिपल्ट स्याङ्जाको ज्याग्दीखोला स्थित आफ्नो गाउँ छोडेर पोखरा आएका थियौँ । हामी विगत केही वर्षदेखि क्याम्पस पढ्ने क्रममा पोखरामा छौँ । दसैं मानेर फर्केको साँझ हामीले मुक्तिनाथसम्म हिँडेर जाने र फर्कंदा जहाजमा आउने योजना बनायौँ । भोलिपल्ट बिहान उठेर हामीले यात्रा सुरु गर्यौं । पोखरादेखि म्याग्दीको बेनीसम्मका लागि बस चढ्यौँ । बेनीभन्दा मास्तिर बस जाँदैनथ्यो । काली गण्डकीको किनारैकिनार गोरेटो बाटो पैदलै हिँड्नु पर्थ्यो । बेनीमा खाना खाएपछि हामीले पैदल यात्रा सुरु गर्यौं । गलेश्वर, चमेरे हुँदै तिप्ल्याङ पुग्दा मध्यान्ह घर्किसकेको थियो । दुईतिर अग्लाअग्ला पहाड, बिचमा कालीको एकोहोरो सुसाइ । एकातिर थियो डरलाग्दो पहरो । त्यही पहराको फेदीमा दुईचारवटा झुप्रा । एउटा झुप्राको अगाडि बसी हामीले चिया पिएर आफ्नो गन्तव्यलाई निरन्तरता दियौँ । रातो पानी पुग्दा साँझ खसिसकेको थियो । हामीले त्यहीँ नै बास बस्नुपर्छ भन्ने ठानेका थियौँ तर एक जना स्थानीयलाई सोध्दा के थाहा लाग्यो भने रातोपानीबाट तातोपानीसम्मको दुरी भनेको लगभग आधा घन्टा– पैँतालिस मिनेटको बाटो हो । हामी तातोपानी नै पुगेर बास बस्ने निधो गरी पहरामा जोडिएको काली गण्डकीको झोलुङ्गे पुल तरेर बाटो लाग्यौँ । जुनेली साँझ हुनाले गोरेटामा हिँड्न चाहिँ त्यति समस्या थिएन ।

तातोपानीमा पुगेर एउटा होटलमा झोला राख्यौँ । ढुङ्गामाटाले बनेका केही घरहरुमा नै त्यहाँ होटल व्यवसाय चलाइएको रहेछ । पोखरा– काठमाडौँको यात्रामा मुग्लिनको जस्तै यस रुटमा तातोपानीको महत्त्व रहेछ । ट्रेकिङमा हिँडेका विदेशीहरु पनि प्रायःजसो यही ठाउँमा एक रात बस्ने गर्दा रहेछन् । होटलवाला दिदीले हामीलाई तातोपानीमा गएर एकछिन डुब्ने सल्लाहा दिइन् । मैले सुनेको पनि थिएँ– तातोपानीको त्यस कुण्डमा डुबेपछि लुतो तथा छालाका रोगहरु सञ्चो हुन्छन् भन्ने कुरा । हामी केही समय त्यहाँ डुबेर आई खाना खायौँ । भोलिपल्ट बिहान झिसमिसेमै अगाडि बढ्यौँ । दानामा पुग्दा बल्ल घाम झुल्किए । बिहानको चिया हामीले त्यहीँ नै पियौँ । रुप्सेको छहरामा फोटो खिचेर केही अगाडि बढ्दा डरलाग्दो पहरो आइलाग्यो । तल कता हो कता खोँचमा काली सुसाएको थियो । पारिपट्टि बाँदर पनि लड्छ कि जस्तो भीर । वारि पहरो खोपेर बनाइएको साँघुरो बाटो हामी हिँडेका थियौँ । बाटाको छेउबाट तलतिर हेर्दा कहाली लाग्थ्यो । दुवैतिर डरलाग्दा पहाडहरु ठडिएका । बिचमा काली गण्डकीको गल्छी । सायद यही नै थियो विश्वको सबैभन्दा गहिरो गल्छी ।

नारायण मरासिनी

म्याग्दीको सीमा काटेपछि हामी यस रुटमा पर्ने मुस्ताङको पहिलो बस्ती घाँसा पुग्यौँ । लगभग ११ बजिसकेकाले त्यहीँ नै खाना खाने मेसो मिलायौँ । वनेली चिस्यानको बाटो हुँदै अगाडि बढ्यौँ । लेते-कालोपानीबाट उत्तरतिर काली गण्डकीको फराकिलो बगरको छेउ हुँदै बढिरह्यौँ । नदीले निकै धेरै भूभाग ओगटेको रहेछ । कोबाङको पारिपट्टि हावा र पानीले बनाएका अनौठा अनौठा भूआकृतिहरु देखिए । अगाडि बढ्दै जाँदा एकातिर धौलागिरि र अर्कोतिर नीलगिरिमा चम्किलो हिउँ देख्न पाउँदा हामी यति खुसी भयौँ कि त्यही खुसियालीमा सम्पूर्ण थकानलाई बिर्सेर पनि हामी हिँडिरह्यौँ । जीवनमा यस किसिमको प्रकृतिसँग मैले पहिलोपटक साक्षात्कार गर्दै थिएँ । मन हर्षले विभोर थियो । आँखाहरु बाटामा भन्दा बढी वरिपरिका दुश्यमा थिए । कोबाङबाट उत्तरतिरको बाटो पनि सहज । सम्म भूभागको तेर्सो बाटो । थाक टुकुचे पुग्दा अँध्याराले छोपिसकेको थियो । तैपनि एकाध घन्टा हिँडेर हामीले मार्फामा बास बस्ने निर्णय गर्यौँ । स्याउबारीसँगै जोडिएको एउटा होटलमा बसेर हामीले भोलिपल्ट मुक्तिनाथलाई अन्तिम गन्तव्य बनाएर फर्कने योजना बनायौँ ।

मार्फाबाट बिहान ६ बजेतिरै उठेर बाटा लाग्यौँ । त्यो दिन थियो, २०५८ साल कार्तिक महिनाको १६ गते अर्थात् नोभेम्बर १ तारिक । जोमसोम बजारमा पुगेर एयरपोर्टको छेउमा बसी चिया पिउँदै गर्दा हामीले भोलिपल्ट वा पर्सिपल्ट पोखरा फर्कनका लागि एउटा पसलवाला थकाली दाइसँग जहाजको टिकटबारे सोधपुछ गर्यौँ। उनी पोखरा बढी नै मात्रामा आउजाउ गर्ने व्यापारी रहेछन् । पोखरामा नगर बस चढेजस्तै हो, यहाँबाट पोखराका लागि जहाजको समस्या पर्दैन, टिकट जुनसुकै बेला पनि पाइन्छ भन्ने कुरा उनले गरेपछि हामी खुसी हुँदै भोलि वा पर्सिलाई फिर्ती टिकट नै नकाटी मुक्तिनाथका लागि अगाडि बढ्यौँ । यद्यपि भोलिपल्ट फर्कने क्रममा जहाजको टिकट नपाइएकाले जीवनमा पहिलोपटक जहाज चढ्ने मेरो इच्छा भने त्यति बेला पूरा हुन पाएन । हामीले उही बाटाको यात्रा दोहोर्याउँदै फर्कनु परेको थियो । तर पनि बास बस्ने क्रममा भने हामीले पहिलेका ठाउँहरुलाई दोहोर्याएनौँ । पाँच रातका बास पाँच भिन्न भिन्न ठाउँमा बस्न पुग्यौँ ।

जोमसोमबाट कालीगण्डकीको किनारै किनार हामी उत्तरतिर लाग्यौँ । गण्डकीले फराकिलो बनाएको बग्र्यान भूमि । बढी उचाइको बगरमा हिँडाइ त्यति फास्ट हुँदोरहेनछ । हिँडाइमा हिजो अस्तिको जस्तो रफ्तार पनि थिएन । एक्लेभट्टीबाट मुक्तिनाथका लागि सर्टकट बाटो रहेछ । अगाडि बढेर कागबेनीबाट पनि मुक्तिनाथ जान मिल्ने तर त्यो बाटो फेरो पर्ने भएकाले हामीले एक्लेभट्टीबाटै उक्लने विचार गर्यौँ । खाना खाने बेला भइसकेको र यहाँभन्दा माथि खाना खाने अर्को ठाउँ नजिकै छैन भन्ने बुझेपछि हामीले खाना त्यहीँ नै खायौँ ।

मुस्ताङी सिमीको दाल र भातले पेट डम्म फुलेको हुँदा एक्लेभट्टीबाट ठडिएको उकालोमा हाम्रा पाइलाहरू त्यति छिटो चल्न सकिरहेका थिएनन् । झारकोट पुग्नुभन्दा अगाडि तलतिरबाट आएको तीव्र गतिको हावाले पनि दुःख दिइरहेको थियो । हावाले उडाएको बालुवाका कारण आँखा राम्ररी खोल्न पनि गाह्रो । वरिपरि कतै हरियाली थिएन । रुखबिरुवा नै नभएपछि अक्सिजन कहाँबाट पुगोस् ! कताकति झारका थुप्राजस्ता काँडेदार वनस्पति मात्र । वारिपारि जताततै टुप्पामा हिउँ जमेका र तलतिर धुस्राफुस्रा पहाडहरु । मरुभूमिमय जमिन । काली गण्डकीको पारिपट्टि देखिएका कलात्मक खालका अनौठा अनौठा भूआकृतिहरु हेर्दै उकालो चढ्यौँ । खलाँतीले जस्तै सास फेर्दै फेर्दै हामी उकालिइरह्यौँ । लगभग उनन्चालिस सय मिटरको उच्च भूभागमा सास फेर्न कठिन हुनु स्वाभाविक पनि थियो । कहाँ न महाबाट आएका खैरेहरु त यति मजाले हिँडिरेरहेका छन् भने हामी त आफ्नै देशमा नि भन्दै भतिजो रामुलाई भेट्न म उसको पछाडि पछाडि घिसारिइरहेँ, लतारिइरहेँ ।

बिहान छ बजे मार्फबाट हिँडेका हामी अपरान्हको साढे तिन बजेतिर मुक्तिनाथ पुग्न सफल भएका थियौँ । लगभग दुई घन्टाजति मन्दिर परिसरमा बितायौं । दुई–तिनवटा फोटा खिचेर हामी पुनः ओरालो लाग्ने तयारीमा जुट्यौँ । १०८ वटा धाराको त्यो चिसो पानीले मुख धोएका कारण शरीरले अलि बढी नै जाडाको अनुभव गरिरहेको थियो । हामी बिस्तारै बिस्तारै ओरालो लाग्यौँ । मन्दिरभन्दा केही तल रानीपौवामा चिया पियौँ । साँझ पर्न लागेकाले त्यहाँबाट तल झरी झारकोटको कुनै एउटा होटलमा बास बस्ने सोच बनाएर हामीले ओरालालाई निरन्तरता दिन थाल्यौँ । हामी जति बेला झारकोट स्थित बस्तीको अन्तिम अन्तिमतिर आउँदै थियौँ ठिक त्यति नै बेला लास्ट होटलको गेटमा उभिएर एउटा विदेशी पर्यटकले हल्लाखल्ला मच्चाएको सुनियो । के भएछ भनेर हामीले बुझ्न चाह्यौँ । उसले टुटेफुटेको अङ्ग्रेजीमा हामीलाई भन्यो, “यहाँ बस्ने खालका गतिला होटलहरु पनि रहेनछन्, न त खानेकुरा नै राम्रो पाइने । म त झर्छु तलतिर । यहाँ त कसै गरे पनि बस्दिन ।” हामीसँग यति कुरा गर्नासाथ ऊ आफ्नै भाषामा भुतभुताउँदै तलतिर झर्यो ।

साँझ परिसकेको थियो । हामी झारकोटको यही अन्तिम होटलमा बस्ने भनेर माथिबाट ओर्लेका थियौँ । अब यहाँबाट बास बस्नका लागि अर्को ठाउँमा झर्ने भनेको कागबेनी । हिँडाइले थाकेको अवस्थामा कागबेनी पुग्न लगभग साढे २ अर्थात् अँध्याराको समयमा तीन घन्टै जति पनि लाग्न सक्छ तर त्यो परदेशी भने एक्लै ओरालो झरिरहेको थियो; नितान्त एक्लै, चिन्तित मुहारमा । उसलाई देखेर हामीमा दयाको भाव पलाउन थाल्यो । अब के गर्ने ? तल झर्ने हो भने साँझ परिसक्यो, समय पनि धेरै लाग्छ । हामी ओरालो नझर्ने हो भने ऊ एक्लै ओरालो लागिसकेको छ । यतिबेला अन्य व्यक्तिहरु पनि यहाँबाट ओरालो झर्नेवाला कोही देखिएनन् । म अलि भावुक प्रकृतिको मान्छे । अरुको दुःखलाई पनि आफ्नै जस्तो महसुस गर्ने बानी छ मेरो । मेरो देशमा आएको कुनै एउटा विदेशी अलपत्र नपरोस् भन्ने मनसायले भतिज रामुलाई मैले सम्झाउँदै भनेँ, “रामु, त्यो पनि त हामी जस्तै मान्छे हो । उसलाई एक्लै छोड्नु त हुँदैन यार ! हामीले उसलाई साथ दिनै पर्छ । बरु आज हामी यहाँ नबसौँ, त्यसलाई लिएर कागबेनीसम्म झरौँ ।”

रामुले मेरो भनाइमा सहमति जनायो । हामी त्यो कहाँको हो कहाँको खैरेलाई साथ दिने मनसाय लिएर झारकोटबाट पुनः ओरालो सुरु गर्यौँ । अब साँझ मजैले परिसकेको थियो । हामीले उसलाई भेटाउनका लागि पाइला अलिक छिटोछिटो बढाउन थाल्यौँ । केही तल झर्दा कागबेनीतिरबाट उक्लेका दुईतिन जना स्थानीय मान्छेहरु भेटिए । तिनीहरुले अगाडि भेटेको विदेशी रुँदै ओरालो झरेको बताए । तिनीहरुले उसलाई फर्काउन चाहेका रहेछन् तर मानेनछ । ती स्थानीयहरुले हामीलाई “तपाईंहरुले उसलाई जसरी भए पनि कागबेनीसम्म पुर्याइदिनु होला है” भने । हामी अगाडि बढ्यौँ । बाटामा ऊ ठुलो स्वरले कराएको सुनियो र हामीले पनि उसका लागि प्रत्युत्तरस्वरुप चिच्याइदियौँ । स्वर सुनेर उसले हामीलाई पर्खिबसेको रहेछ । हामीलाई देख्नासाथ नमस्कार गर्यो । शिष्टाचारको आदानप्रदान पश्चात् हामी तिनै जना विस्तारै ओरालो लाग्न थाल्यौँ । उसले पिठ्यूँमा एउटा झोला भिरेको थियो । जाँगे लगाएको निकै अग्लो थियो ऊ । हातमा एउटा लट्ठी लिएको थियो ।

भतिज रामुले माथि झारकोटबाट एउटा शिखर चुरोट सल्काएर तान्दै आएको थियो । रामुको मुखमा शिखर चुरोट देख्नासाथ उसले मुखबाटै थुतेर फ्याँकिदियो अनि आफ्नो खल्तीमा रहेको ५५५ को बट्टाका साथमा लाइटर पनि हामीतिर तेर्स्यायो र आफूले समेत सल्कायो । उसले आफू निकै टाढा मनाङको याकखर्कबाट थोरोङ पास गरी झरेको कुरा सुनायो । पहिले आफ्नै देशमा रहँदा खुट्टामा गोली लागेको र कहिलेकाहीँ धेरै हिँड्नुपर्दा दुख्ने गरेको पनि बतायो । आफ्नो गोडालाई सराप्दै “मलाई तलको कुनै एक होटलमा पुर्याइदेऊ” भनी हामीसँग अनुनय–विनय गर्यो । हामीले उसलाई ‘सर’को सम्बोधन गर्दा आफ्नो नाम ‘मार्चिन’ बताएर यही नामले सम्बोधन गर्न आग्रह गर्यो । सँगै केही तल मात्र झरेका के थियौँ ऊ त बाटै छेकेर डङग्रङ्ङ पसारियो । हाम्रो मनपेट बुझ्न नाटक गरेको त होइन ! हामीलाई शङ्का लाग्यो । ऊ सुँक्क सुँक्क गर्दै रोएजस्तो सुनेँ मैले । बाटै छेकेर पसारिएको उसलाई मैले पछाडिबाट दुवै हातले समातेर उठाउने प्रयत्न गरेँ । तर त्यति ठुलो विकासे जन्तु कहाँ म जस्तो लुरेले उठाउन सक्थेँ र ! बडो मुस्किलले मेरै काखमा टाउको अड्याएर बस्यो ऊ । हेर्दाहेर्दै उसले ह्वाल्ल बान्ता गर्यो । “मैले त रगतै बान्ता गरेँ नि साथी !” भन्दै खल्तीबाट सानो टर्च लाइट झिक्यो र बालेर भुइँतिर हेर्यो । नभन्दै केही मात्रामा रगत पनि मिसिएको जस्तो मैले देखेँ ।

मैले उसको शरीरबाट आएको गन्धमा नेपाली स्थानीय रक्सी गनाएको महसुस गरेँ । साह्रै धेरै पिएको रहेछ उसले, नत्र भने किन यसरी बाटाबाटामै वाक्दै हिँड्थ्यो र ? उसैको झोलाबाट पानीको भाँडो झिकी हामीले उसलाई मुख खोकल्न र सफा गर्न लगायौँ । “अब बाटो लाग्नुपर्छ” भनेर रामुले भन्न मात्र के भ्याएको थियो मार्चिन त झन् त्यही धुले बाटामै पो सुत्न थाल्यो ! हामीलाई “तिमीहरू जाओ, अब यहाँभन्दा तल झर्न सक्दिन, यहीँ नै सुत्छु” भनी अड्डी कस्न थाल्यो । हामीले सक्दो सहयोग गर्छौं भनेर निकै फकाएपछि मात्र ऊ मेरै शरीरको भर परी बल्लतल्ल उठ्यो । त्यति नै बेला मुक्तिनाथभन्दा माथितिर थोरोङको पहाडबाटबाट टुप्लुक्क जून पनि देखा परे । आज कोजाग्रत पूर्णिमाको दिन । आफ्नै अगाडि उज्यालो फैलिँदा निकै राहत मिलेको अनुभव भयो ।

जूनको उज्यालामा हिँड्न सजिलो हुने हुँदा रामुले हर्षविभोर भएर जूनलाई नमस्कार गर्यो । उसले मार्चिनलाई सुनायो, “द्याट इज आवर गड ।” रामुकै देखासिकी गरेर मार्चिनले पनि जूनलाई नै लक्षित गरी जम्ला हात जोड्यो । हामी जूनको उज्यालामा पुनः ओर्लिन थाल्यौँ । उसको हिँडाइ कछुवाकै तालको थियो । हामीले जबरजस्ती गर्नु पनि भएन । उसैको तालमा लय मिलाउँदै हामी दुई भाइले समेत कछुवा गतिले नै पाइला चाल्न थाल्यौँ । जोमसोमका लागि एक्लेभट्टीको बाटो सोझो पर्थ्यो तर त्यहाँ होटलहरु कम भएको हुँदा बास नपाइएला कि भन्ने डरले हामीले लामो बाटो भए पनि कागबेनी झर्ने सोच बनायौँ । साथी मार्चिन मात्रै होइन, हामी पनि पहिलोपटक मात्रै यो बाटो झर्दै थियौँ । मुख खाली हुनासाथ मार्चिनले चुरोटको बट्टा तेर्स्याउँथ्यो र आफूले पनि सल्काउँथ्यो । आफ्नो कुरा काट्छन् भन्ने ठानेर हो कि कुन्नि ! हामी दुई रामु र मेरा बिचमा पनि नेपाली नबोल्न आग्रह गरिरहेको थियो । उसको मातृभाषा अङ्ग्रेजी होइन रहेछ । उसको अङ्ग्रेजी बोली पनि हाम्रो जस्तै कनिकुथीको थियो । उसले नेपाली लोकल रक्सीलाई घृणा गर्दै हामीलाई पिउने नपिउने बारेमा सोध्यो । रामुले ‘सम टाइम, सम टाइम; लिटल, लिटल’ भनेर कुरा मिलाउँदै कहिलेकाहीँ पिउने गरेको बतायो । हामीलाई आजको साँझ खुवाउने पियाउने बन्दोबस्त पनि मार्चिन आफैले गर्ने कुरा बतायो । “हामी तिनै जना एउटै रुममा सुत्नुपर्छ” भन्दै उसले जति जे खानपिन गरे पनि आजको रातको सबै खर्च आफूले व्यहोर्ने कुरा बतायो । हाम्रो देशमा आएको अतिथिलाई हामीले सत्कार गर्नु पर्नेमा उल्टै उसले नै हाम्रो सत्कार गर्ने मनसाय प्रकट गर्यो ।

एक्लेभट्टी तथा कागबेनी झर्ने दोबाटामा आइपुगेपछि ऊ फेरि बस्यो र बर्बराउन थाल्यो । दुईतिरको बाटो जोडिएको उक्त समथर भूमिमा बसेर उसले हामीलाई नै लक्षित गर्दै भन्यो, “मलाई मार र मसँग भएका केही रुपैयाँपैसा तिमीहरूले लुटेर लैजाओ । म प्रतिकार गर्न पनि नसक्ने अवस्थामा छु । तिमीहरुले समयको सदुपयोग गर । यहाँ यति बेला कसले थाहा पाउँछ र ?” उसले आफ्नो भकुल्ले ज्याकेटको भित्री खल्तीबाट पैसा निकाल्न खोज्यो । “यस्तो नभन साथी ! यस्तो गर्नु हुँदैन । तिमीले यस्तो बोल्नु पनि हुँदैन” भन्दै मैले आफूमा रहेको मानवता उदाङ्ग पारेर उसलाई अँगालामा कसेँ । ऊ साह्रै खुसी भएर जुरुक्कै उठ्यो र नाच्न थाल्यो । नाच्दानाच्दै उसले रामुलाई आफ्नो अँगालामा बेर्यो । रामु उसको अँगालामै बेरिएको बेला मैले एउटा फोटो खिचेँ । मलाई पनि मार्चिनले आफ्नो अँगालामा कस्यो । यो दृश्यलाई रामुले खिचेको थियो तर दुखको कुरो यी दुवै फोटा क्यामेराको रिल सकिएपछि खिचिएका रहेछन् । एउटा पनि प्रिन्ट भएन ।

हामीले एकापसमा दुःखसुख साट्दै बाटो काटिरहेका थियौँ । मार्चिनले आफ्नो घरपरिवारदेखि लिएर बाल्यकालसम्मका संस्मरणहरु सुनाइरह्यो । भाषाको समस्याका कारण सबै नबुझे पनि मैले कताकति बुझेँ । नेपालको यात्रामा अमेरिकाकी एउटी केटीलाई साथी बनाएको र आजै बिहानसम्म पनि दुवै सँगसँगै हिँडेको अनि आफ्नी अमेरिकी केटी साथीले बढी लागु पदार्थ सेवन गर्ने हुँदा सङ्गत छाडिदिएको कुरा बतायो । उसले बताउने क्रममा नेपालमा देखिएको वर्तमान राजनीतिक उतारचढावका बारेमा पनि आफूले जानेबुझेका सबै कुरा बतायो ।

छोटा दिन, लगभग पौने नौ बजेतिर हामीहरु कागबेनी झर्यौँ । सुरुका दुईवटा होटलमा पर्यटकहरु भरिइसकेको हुँदा हामीले तेस्रो होटलमा बास पायौँ । बिजुली बत्ती एक घण्टाका लागि निभेको रहेछ । मैनबत्ती बालेर हामीहरु एउटा कोठामा बस्यौँ जुन कोठामा हामी तीन जनाका लागि तिनवटा बिस्तरा थिए । रामुले जाडो भगाउने पेय पदार्थ र च्याङ्ग्राको सुकुटी मगायो । मार्चिनले आफूलाई एक गिलास हट लेमुन र एक बट्टा चुरोट मगायो । आफूले अहिले अरु चिज केही नखाने बरु कफी र चुरोट मात्रै पिएर सुत्ने कुरा गर्यो । म मार्चिनकै गफ सुन्नमा मस्त थिएँ । सित्तैमा पाएपछि मान्छेले चुक पनि तीन पाथी खान्छ भनेझैँ रामुले फेरि, फेरि र फेरि पनि पेय पदार्थका सिसीहरु मगाउँदै रहेछ । “जति पिए पनि भेट्दै भेट्दैन नि अङ्कल !” रामुले हाँस्दै भन्यो । मैले झ्यालको तलतिरबाट बगिरहेकी कालीगण्डकीलाई देखाउँदै त्यहीँबाट आएको चिसो सिरेटाको कारण होला भनी अनुमानको झटारो रामुतिर फालेँ । यति नै बेला बिजुली बत्ती बल्यो । हामीले मार्चिनको अनुहारतिर दृष्टि पुर्यायौँ । ऊ फिस्स हाँस्यो । कैलाकैला दाह्रीजुँगा, कहिलेदेखि फालेको थिएन कुन्नि ! देख्दै डरलाग्दो, बगाल छाडेर हिँडेको एक्ले ढेँडुजस्तै थियो ऊ । उसको अनुहारलाई राम्रोसँग नियालिसकेपछि म भित्रभित्रै हाँसेँ । हाँसोलाई बाहिर प्रकट हुन दिइन । उसले उज्यालामा आफ्नो क्यामेराले हाम्रो फोटो लियो । अब भने साढे दस बजिसकेको थियो । हामीले भात खायौँ तर उसले भने हामीलाई साथ दिनका लागि एक कप कालो कफी पियो, अन्य खानेकुरा केही पनि खाएन ।

बिहानै उठेर चिया पिएपछि हामी दुई जोमसोमतर्फ फर्कने तरखर गर्दै थियौँ, ऊ सुतिरहेको थियो । उठायौँ । उठेपछि आफू अझै दुई दिन यही कागबेनीमा आराम गर्ने र केही दिनपछि पोखरा आएर हामीलाई भेट्ने भनी बाचा बाँध्यो । एक महिनाभन्दा बढी समय व्यतित भइसकेको छ । ऊ पोखरा आयो वा आएन, हामीलाई थाहा छैन । आफ्नो देश डेनमार्कमा पुगेपछि चिठी पठाउँछु भन्थ्यो । अहिलेसम्म त ऊ डेनमार्क पुगिसकेको छैन होला तर म भने उसकै चिठीको प्रतीक्षामा छु । मेरो प्यारो साथी मार्चिन जसले मेरै देशमा मलाई नै अतिथिको रूपमा सत्कार गरेको थियो ।