लेखसारः
‘वर्गप्रेम’ नेपाली साहित्य क्षेत्रको उत्कृष्ट कविता सङ्ग्रह हो । जो प्रगतिवादी कवि नेत्रलाल पौडेल अभागीको पछिल्लो कविता सङ्ग्रह हो । प्रगतिशील लेखक संघ दाङले २०६२ सालमा प्रकाशनमा ल्याएको ‘वर्गप्रेम’ मा ४७ वटा कविताहरु समेटिएका छन् । समाजमा जनचेतना ल्याउने र जागरण जगाउने उद्देश्यले रचना गरिएका कविताहरुले निम्नवर्गीय जीवनको प्रतिनिधित्व गरेका छन् । पञ्चायती शासनको क्रुरताको विरुद्धमा परिवर्तनको अपेक्षा गर्दै लेखिएका कविताहरु ‘वर्गप्रेम’ मा समेटिएका छन् । ध्वनि सिद्धान्तको आधारमा अध्ययन गरिएको प्रस्तुत कविता सङ्ग्रहको अध्ययन गर्दा अभिव्यञ्जित सन्दर्भगत अर्थ चारवटा रहेका छन् । जसमा संकलित कविताहरुमा ध्वनित राजनीतिक र परिवर्तनको सन्दर्भ महत्त्वपूर्ण मानिन्छ । पञ्चायतकालीन राजनीतिक परिवेशलाई आधार बनाई लेखिएका कविताहरुमा परिवर्तनको स्वर मुखरित भएको छ । कविले ध्वनि विधानको उत्कृष्ट प्रयोग गरेको पाइन्छ ।
शब्द कुञ्जीः ध्वनित, गोर्की, निरंकुश, नर्कको कथा, व्यङ्ग्यार्थ, चमत्कार, वाच्यार्थ, प्रतिबिम्व
१. विषय परिचय
‘वर्गप्रेम’ (२०६२) कविता सङ्ग्रहका रचनाकार नेत्रलाल पौडेल अभागी हुन् । नेपाली साहित्यको विकासमा नेत्रलाल पौडेल अभागीको योगदान महत्त्वपूर्ण रहेको छ । उनी साहित्यमा प्रगतिवादी दृष्टिकोण व्यक्त गर्ने अभागी कवि, अनुवादक, लेखक, कोषकार अनि सम्पादक व्यक्तित्वकारुपमा परिचित छन् । पञ्चायतकालीन कठोर अनि भूमिगत जीवनका कारणले नेत्रलाल पौडेल अभागीले ‘कवि धर्ना, भरतपुरे कान्छो, गोर्की नेपाली, रमा, भुवन केशर, विष्णुकविता, जोशबहादुर’ आदि उपनामबाट रचना प्रकाशन गराएको पाइन्छ । उनका रचनाहरु सन्देश, ज्योत्सना, आँकुरो, राप्ती, गोचाली, जनताका गीत, दैनिक निर्णय, सङ्कल्प, अक्षयलोक, विद्यार्थी कदम, छहरा, सुस्केरा, झिसमिसे, सिमानापारीको हुँकार, पौरख, घोषणा, हातेमालो, अन्तर्ध्वनि आदि पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् (शर्मा, २०६८, पृ.५) ।
तेह्र-चौध वर्षको किशोरावस्थादेखि नै साहित्यमा कलम चलाएका नेत्रलाल पौडेल अभागीका रचनाहरू प्रकाशनमा भने बीसको दशकदेखि आएको पाइन्छ । अभागीका फुटकर रचनाहरू वि.सं. २०२२ बाट प्रकाशनमा आए तापनि सङ्ग्रहका रूपमा भने उनको मृत्युपश्चात् अर्थात् वि.सं. २०४२ सालबाट मात्र आएको पाइन्छ । जसमा ‘नर्कको कथा’ खण्डकाव्य (२०४२), ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ कवितासङ्ग्रह (२०४२), ‘वर्गप्रेम’ कविता सङ्ग्रह (२०६२) रहेका छन् । त्यस्तै नेत्रलाल पौडेल अभागीका कृतिहरु अप्रकाशित अवस्थामा रहेका छन् । उनका शुक्रराज (खण्डकाव्य), जिम्वाल चन्द र हली सेते कामीको कथा (काव्य), गंगाचिनी (महाकाव्य), सगरमाथाको चुचुरोमा टेकेर (कवितासङ्ग्रह), लेखथानसे वैरागी काइला सम (नेपाली कविताहरुको थारु भाषामा अनुवाद) लगायत अन्य थुप्रै रचनाहरु अप्रकाशित अवस्थामा रहेका छन् । बहुमुखी प्रतिभाका धनी नेत्रलाल पौडेल अभागी सफल गीतकार पनि हुन् । उनको ‘मित्रजीको नातो’ बोलको गीत रामेशद्वारा संगीतबद्ध रहेको छ । नेत्रलाल पौडेल अभागी सफल अनुवादक पनि हुन् । नेपाली, अंग्रेजी, थारु र हिन्दी भाषामा दख्खल राख्ने नेत्रलाल पौडेल अभागीले ‘माओका केही रचनाहरु’, रविन्द्रनाथ टैगोरको ‘गीताञ्जली’, टल्सटायको उपन्यास ‘सोनाटा’, ‘चेखोवका कथाहरु’, ‘होचिमिन्हका कविताहरु’, रैल फक्सको उपन्यास र लोकजीवन आदि कृतिहरुको नेपालीमा अनुवाद रुपान्तरण गरेका छन् ((शर्मा, २०६८, पृ.५) ।
नेत्रलाल पौडेल अभागीको अन्तिम कृतिका रुपमा २०६२ सालमा प्रकाशित ‘वर्गप्रेम’ प्रगतिवादी दृष्टिकोणले भरिएको कविता संग्रह हो । जो ध्वनि विधानका दृष्टिले उत्कृष्ट मानिन्छ । अध्ययनका लागि ‘वर्गप्रेम’ कविता सङ्ग्रहमा प्रकाशित ४७ वटा कविताहरुलाई छनौट गरिएको छ । यस कविता सङ्ग्रहमा संकलित कविताका कवितांशबाट ध्वनित हुने व्यङ्ग्यार्थको खोजी गरी यहाँ विश्लेषण गरिनेछ । ‘वर्गप्रेम’ नेपाली समाजभित्रका सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, लैंगिक र वर्गीय समस्याहरु केलाउँदै प्रगतिवादी दृष्टिकोण व्यक्त गरिएको उत्कृष्ट कविता सङ्ग्रह हो । जसमा प्रयुक्त व्यङ्ग्यार्थलाई पहिचान गरी अध्ययन र विश्लेषण गर्नु औचित्यपूर्ण रहने देखिन्छ ।
२. अध्ययन विधि
‘वर्गप्रेम कविता सङ्ग्रहमा ध्वनि’ शीर्षकको अध्ययन गर्नका लागि आवश्यक सामग्रीलाई निम्नानुसारको विधिको प्रयोग गरी संकलन र विश्लेषण गरिएको छ ।
‘वर्गप्रेम’ कविता संग्रहमा प्रकाशित कविताको ध्वनितात्विक अध्ययन गर्ने क्रममा पुस्तकालयीय अध्यधयन विधिको प्रयोग गरी प्राथमिक र द्वितीय स्रोतका रुपमा सामग्री संकलन गरिएको छ । संकलित सामग्रीको विश्लेषण गर्ने क्रममा निगमनात्मक र आगमनात्मक विधिको उपयोग गरिएको छ । यसमा सिद्धान्त वा नियमलाई अगाडि सार्दै त्यसैका आधारमा निष्कर्ष निकालिएको हुँदा यसमा निगमनात्मक विधि प्रयोग भएको छ । जसमा ध्वनि सौन्दर्य तथा यो विषयसँग जोडिएका अध्ययन, विश्लेषण र अनुसन्धानमुलक आलेखहरुलाई द्वितीय स्रोतका रुपमा उपयोग गरिएको छ । त्यस्तै ध्वनि सिद्धान्तसँग सम्बन्धित हालसम्म प्राप्त सामग्री र संकलित तथ्यहरुकै आधारमा व्याख्या, विश्लेषण, वर्गीकरण र मूल्याङ्कन गरी निष्कर्ष निकालेर विषयलाई पूर्णता दिने काम भएकाले यसमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । यो अध्ययन पूर्वीय काव्य विश्लेषण पद्दतिको ध्वनि सिद्धान्तसँग सम्बन्धित छ । यो अध्ययनलाई पूर्णता दिन पुस्तकालयीय सामग्रीलाई उपयोग गरी गुणात्मक विश्लेषण विधिको प्रयोग गरिएको छ ।
३. सैद्धान्तिक अवधारणा
शक्तिले व्यक्त भएको अर्थलाई ध्वनि भनिन्छ । साहित्यशास्त्रमा ध्वनिवादका प्रवर्तक आनन्दवर्धन हुन् । उनले ध्वनिलाई काव्यको आत्मा मानेका छन् । नवौं शताब्दीका आनन्दवर्धनले काव्यको आत्माको विषयमा रहँदै आएको विवादलाई निरुपण गर्दै ‘ध्वनि काव्यको आत्मा हो’ भनेका छन् (उपाध्याय, २०६७, पृष्ठ १६६) । आनन्दवर्धनले आफ्नो भनाइलाई पुष्टि गर्न शास्त्रीय प्रमाणहरु प्रस्तुत गरेका छन् । ध्वन्यालोकमा अरु काव्यात्मक तत्त्वहरुलाई ध्वनिभित्र समेट्नु र यसलाई सार्वभौमिक सिद्धान्तको रुप दिनु आनन्दवर्धनको मुख्य उद्देश्य रहेको देखिन्छ । ध्वनिको परिभाषाका क्रममा उनले ध्वन्यालोकमा ‘शब्द र अर्थले आफ्नो वाच्य अर्थलाई गौण बनाएर प्रधान रुपमा व्यङ्ग्य अर्थको बोध गराउँछ, त्यहाँ ध्वनि काव्य हुन्छ’ (अधिकारी, २०६७, पृष्ठ ८५) भनेका छन् । यसले वाक्यमा अमुख्य रुपमा व्यक्त भएको व्यङ्ग्य चाँहि गुणीभूत व्यग्य भएको बताएको छ । आनन्दवर्धनले जस्तै ध्वनिलाई मम्मटले काव्यलाई उत्तम बनाउने सिद्धान्तका रुपमा परिभाषित गरेका छन् । जहाँ व्यङ्ग्यार्थ चमत्कारमा वाच्यार्थलाई अतिक्रमण गर्दछ त्यहाँ ध्वनि नामक उत्तम काव्य हुन्छ (मम्मट, २०४६, पृष्ठ २८) । त्यस्तै ध्वनिलाई परिभाषित गर्दै विश्वनाथले वाच्यार्थ भन्दा बढी चमत्कार गर्ने व्यङ्ग्ययुक्त काव्य ध्वनि वा उत्तम काव्य हो (विश्वनाथ, १९८१ सन्, पृष्ठ २९५) । आनन्दवर्धनदेखि विश्वनाथसम्मका आचार्यहरुका मतलाई आधार मान्दै ध्वनिलाई काव्यको स्थापित चिन्तन भन्न सकिन्छ । ध्वनिलाई संस्कृत काव्यशास्त्रीय चिन्तन परम्पराको स्थापित सिद्धान्त मान्दै आनन्दवर्धनले यसको स्थापना गरेको पाइन्छ । रस, रीति, अलङ्कार, गुण आदि काव्य सिद्धान्तले काव्यको सम्पूर्णतालाई समेट्न नसकेको हुँदा र काव्यको मर्माद्घाटन गर्ने सिद्धान्तको आवश्यकता भएकाले आनन्दवर्धनले ध्वनि सिद्धान्तको स्थापना गरेका हुन् (गड्तौला, २०७१, पृष्ठ ६६) ।
ध्वनि शब्दको निर्माण ‘ध्वन्’ धातुमा ‘इ’ प्रत्यय लागेर भएको हो । जसले भाषिक– साहित्यिक क्षेत्रमा बेग्लाबेग्लै पहिचान र महत्त्व राख्दछ (नेपाल, पृष्ठ २५) । यसलाई साहित्यशास्त्रीहरुले ध्वनि शब्दलाई व्याकरणशास्त्रबाट लिएको केशवप्रसाद उपाध्यापले बताएका छन् । उनले साहित्यिक ध्वनिवादको आधार व्याकरणको स्फोटवादलाई मानेका छन् । साहित्यिक ध्वनिवादको आधार व्याकरणको स्फोटवाद हो । स्फोटवाद भनेको ध्वनिहरुद्वारा अभिव्यङ्ग्य हुने अर्थबोधक शब्द हो (उपाध्याय, २०६७, पृष्ठ १६८) । उनले व्याकरणमा स्फोटरुप नित्य अर्थलाई व्यक्त गर्ने शब्दको नाम ध्वनि मानेका छन् । व्याकरणशास्त्रमा अर्थव्यञ्जक शब्दको रुपमा मात्र ध्वनिको प्रयोग भएको पाइन्छ । तर, ध्वनिशास्त्रीहरुले यसबाहेक व्यङ्ग्य अर्थ र व्यञ्जना शक्ति, व्यञ्जना अर्थ र व्यङ्ग्य काव्यलाई पनि यसै शब्दले व्यवहार गरेका छन् । यसरी साहित्यशास्त्रीहरुले व्याकरणबाट लिएको ध्वनि शब्दलाई आफ्नै ढंगले विभिन्न अर्थ दिएका छन् भन्न सकिन्छ । काव्यमा ध्वनिको प्रयोग अनिवार्य मानिन्छ । आचार्य आनन्दवर्धनले ध्वनि शब्दलाई पाँच अर्थमा प्रयोग गरेका छन्ः–
क) प्रतीयमान अर्थ अभिव्यक्त गर्ने वाचक शब्द ध्वनि हो ।
ख) प्रतीयमान अर्थ व्यक्त गर्ने वाच्यार्थ ध्वनि हो ।
ग) व्यङ्ग्यार्थ पनि ध्वनि हो ।
घ) व्यञ्जना व्यापार पनि ध्वनि हो ।
ङ) माथिका चार ध्वनिको अवस्थिति काव्यमा हुनेहुँदा काव्य पनि ध्वनि हो ।
आनन्दवर्धनका ध्वनिसम्बन्धि पाँच अर्थलाई विश्लेषण गर्दा ध्वनिको प्रतीमान अर्थ नै व्यङ्ग्य रहेको निष्कर्ष निकाल्न सकिन्छ । जसले अभिभात्मक र लाक्षणिक भन्दा बढी व्यङ्ग्यार्थ प्रतीत भावलाई वा प्रतीयमान वा अभिव्यङ्ग्य वा अनुभुयमान अर्थलाई जनाउँछ (रेग्मी, २०७८, पृष्ठ ३६०) । व्यङ्ग्यार्थले काव्यलाई उत्कृष्ट बनाउने हुँदा वाच्यार्थ भन्दा बढी रमणीय या चमत्कारक व्यङ्ग्यार्थलाई ध्वनि भनिन्छ । ‘वाच्यार्थभन्दा बढी रमणीय या चमत्कारक व्यङ्ग्यार्थलाई ध्वनि भनिन्छ । जब व्यङ्ग्यार्थ वाच्यार्थको अपेक्षा बढी चारुतापादक या उत्कर्षक हुन्छ तब ध्वनि हुन्छ’ (पौड्याल, २०६८, पृ. ९८) । यसर्थ वाच्यार्थलाई गौण तुल्याएर शब्दको प्रतीयमान अर्थ अभिव्यक्त हुने काव्यविशेष नै ध्वनि हो ।
साहित्यमा ध्वनिवाद अनुभूति अथवा भावपक्षीय सिद्धान्त हो । यस वादको उदयले अव्यवस्थित भएको काव्यसौन्दर्य तत्त्वहरुको उपयुक्त स्थान निर्धारण हुन्छ । ध्वनिवादीहरुले ध्वनिलाई शरीरका रुपमा कल्पना गरी यसका अंगप्रत्यंगहरुको बाँडफाँड गरेका छन् । शरीरको आत्माझैं रसलाई काव्यको आत्मा मानेका छन्, अलङ्कारलाई काव्यको सौन्दर्य बढाउने तत्त्व मानेका छन् । कवितामा ध्वनिको सम्बन्ध रहेको हुन्छ । कविताका आवश्यक तत्त्व अलङ्कार, गुण र रसका बीचमा ध्वनि सम्बन्ध रहेको हुन्छ । ध्वनिकार आनन्दवर्धनले ध्वनि र अलङ्कारका बीचमा आभूषण र आभूषणधारीको जस्तो सम्बन्ध रहेको बताएको छन् । उनका अनुसार अलङ्कार सौन्दर्यका हेतु वा साधन हुन् भने ध्वनि अलङ्कार्य हो ।
३.१. ध्वनिको वर्गीकरण
ध्वनिको भेद सम्बन्धि एकमत पाइँदैन । ध्वनिवादीहरुका बीचका यसको भेद–प्रभेदका विषयमा एकमत पाइँदैन । ध्वनिवादका प्रवर्तक आनन्दवर्धनले ध्वनि सिद्धान्तका दृष्टिले काव्यलाई उत्तम, मध्यम र अधम काव्यका रुपमा वर्गीकरण गर्दै यसका आधारमा ध्वनिकाव्यलाई रस, भाव, अलङ्कार र वस्तु गरी ध्वनिभेदको संकेत गरेका छन् । ध्वनिभेद गरेर नथाकेका ध्वनिवादीहरुले फरक फरक मत सार्वजनिक गरेका छन् । जसक्रममा मम्मटले ध्वनिको भेद १०४५५ पुर्याएका छन्, भने विश्वनाथले ५३५५ मात्र पुर्याएका छन् (अधिकारी, २०६७, पृष्ठ ८८) । ध्वनिभेदलाई एकरुपता ल्याउन सकिएको छैन । ध्वनिभेदमा फरक फरक मत व्यक्त गरेका ध्यनिवादीहरु अभिव्यक्तिका दृष्टिले ध्वनिका तीनभेद स्विकारेका छन् । अभिव्यक्तिका दृष्टिले ध्वनिका तीन रुप देखिन्छन्–रसध्वनि, वस्तुध्वनि, अलङ्कारध्वनि (उपाध्याय, २०६७, पृष्ठ १९८) ।
३.२. रसध्वनि
जुन वाक्यमा वाच्यार्थ र व्यङ्ग्यार्थ एकैसाथ प्रकट हुन्छ र रसको अभिव्यक्ति प्रधान रहन्छ ,त्यसलाई रसध्वनि भनिन्छ । रसादि व्यङ्ग्य हुने हुँदा यसलाई रसध्वनि पनि भनिन्छ । जसलाई पाठकले सजिलै बुझ्ने हैसियत राख्दछन् । यसमा काव्यकृतिको रचनामा वर्ण विषयमा भन्दा अभिव्यक्त रसको प्रधानता रहन्छ ।
जस्तैः
यो एकान्त विहार, यो चहकिलो शृङ्गार, यो चाँदनी
यो शैया फूलको लताभवन यो, यस्ती प्रिया कमिनी,
यो मौका, वय यो, महाप्रणय यो, स्वर्गीय यो कौतुक
यो सम्पूर्ण कुरा चटक्क भुल्ने धिक्कार नालायक ।
लेखनाथ पौडेलः (सूक्तिसिन्धु)
माथिको कवितांशमा रसध्वनि अभिव्यक्त भएको छ । जसमा विप्रलम्भ शृङ्गार रस भएको छर्लङ्ग देखिन्छ । वाच्यार्थ सँगसँगै विप्रलम्भ शृङ्गार रस ध्वनित भएको छ ।
३.३. वस्तुध्वनि
व्यङ्ग्यार्थमा अलङ्कार नरही कुनै विषयवस्तु वा पुरै अवधारणामा व्यङ्ग्यार्थ व्यञ्जित हुन्छ भने त्यहाँ वस्तुध्वनि हुन्छ (मरहट्टा, २०१७ सन्, पृष्ठ ९५) । जुन काव्य कृतिमा विषयवस्तु नै प्रधान भएर आएको हुन्छ । त्यस्तो ध्वनिलाई वस्तुध्वनि भनिन्छ । यस्ता प्रकारका रचनाहरूमा वाच्यार्थ पछि विषयवस्तु नै प्रधान भई प्रकट हुने गर्दछ । अभिव्यक्तिका अन्य पक्ष गौण भई वक्ताको मूल आसय अनुरूपको विषयवस्तुको प्रमुखता रहने व्यङ्ग्यार्थलाई नै वस्तुध्वनिका रूपमा व्याख्या गरिन्छ ।
जस्तैः
मिल्दैन पथिक ! नक्कली पथरिलो गाउँमा यहाँ केही
वस, मह–गोरसधारा–स्वाद लिनामा भए स्नेही ।
सोमनाथ सिग्देल
माथिको कवितांशमा वस्तुध्वनि अभिव्यक्त भएको छ । जसमा विप्रलम्भ शृङ्गार रस भएको छर्लङ्ग देखिन्छ । वाच्यार्थ सँगसँगै विप्रलम्भ शृङ्गार रस ध्वनित भएको छ । यी पंतिमा नक्कली वस्तु नपाइने वरू मह, घिउ, दूध ताजा र सक्कली पाइने उल्लेख गर्दै यसमा रस भए वस भन्ने वाच्यार्थमा महंग्गो रस (ग्रामीण नारीको रस रूपी यौवन) चाख्ने भए वस भन्ने प्रेम क्रिडारूपी विषयवस्तु व्याङ्यार्थमा प्रकट भएको हुनाले यो वस्तुध्वनि हुन पुग्यो ।
३.४. अलङ्कारध्वनि
जुन काव्य कृतिमा वाच्यार्थ बोधपछि अलङ्कार ध्वनित हुन्छ, त्यसलाई अलङ्कारध्वनि भनिन्छ । जुन स्थलमा अलङ्कारको अभिव्यक्ति हुन्छ, त्यस्तो काव्यकृतिमा अलङ्कारध्वनि रहेको मानिन्छ (उपाध्याय, २०६७, पृष्ठ १९९) ।
जस्तैः
प्रभु नि भावनामा बसाएँ
मन भवन दुवै यी नाथलाई चढाएँ ।
नय विनय दुवै छन् उहाँका पियारा
भनि भक्त सारा गर्दछन् पुकार ।
सोमनाथ सिग्देल
माथिको कवितांशमा अलङ्कारध्वनि अभिव्यक्त भएको छ । जसमा प्रयोग भएका मन (नमन नय (विनय जस्ता अलङ्कारलाई प्रयोग गरी व्याङ्ग्यार्थ उमारिएको छ । यी विरोध अलङ्कारलाई प्रमुख रूपमा उभ्याएको हुनाले यस प्रकारको अभिव्यक्तिलाई अलङ्कारध्वनि भनिन्छ ।
४ वर्गप्रेम कविता सङ्ग्रहको विश्लेषण
‘वर्गप्रेम’ नेपाली साहित्य क्षेत्रको उत्कृष्ट कविता संग्रह हो । प्रगतिवादी कवि नेत्रलाल पौडेल अभागीको पछिल्लो कविता संग्रह हो । प्रगतिशील लेखक संघ दाङले २०६२ सालमा प्रकाशनमा ल्याएको प्रस्तुत कविता संग्रहमा ४७ वटा कविताहरु समेटिएका छन् । समाजमा जनचेतना ल्याउने र जागरण जगाउने उद्देश्यले रचना गरिएका कविताहरुले निम्नवर्गीय जीवनको प्रतिनिधित्व गरेका छन् । तात्कालीन नेपाली समाजभित्रका ज्यादति, सामाजिक विषमता, आर्थिक विषमता, मासिनले भुल्दै गएको मानवता, सरकारी उच्च ओहोदाका जिम्मेवार व्यक्तिहरुको व्यवहार, रवाफलाई भावनाका माध्यमबाट साहित्यको रुप दिने ‘वर्गप्रेम’ का कविताहरुले जनतामा जागरण ल्याउन तत्पर रहिरहेको पाइन्छ । एकातिर तत्कालीन शासन व्यवस्थाको कर्तुतलाई छताछुल्ल पारेका कविताहरुले क्रान्तिको विगुल फुक्न सफल भएका छन् । त्यही विगुल फुक्ने क्रममा जन्मिएका सिर्जनाको सिंगो रुप हो– वर्गप्रेम । प्रस्तुत कविता सङ्ग्रहमा पाँच पंक्तिका कवितादेखि लिएर २ सय ३२ पंक्तिसम्मका कविता रहेका छन् । यहाँ ‘वर्गप्रेम’ कविता सङ्ग्रहमा प्रकाशित कविताहरुलाई ध्वनित व्यङ्ग्यार्थलाई मुख्य तीन सन्दर्भमा जोडेर अध्ययन गरिएको छ ।
४.१. राजनीतिक सन्दर्भ
‘वर्गप्रेम’ कविता संग्रहमा प्रकाशित अधिकांश कविताहरुमा राजनीतिक सन्दर्भ भेटिन्छ । पञ्चायतकालिन राजनीतिक सन्दर्भमा लेखिएका नेत्रलाल पौडेल अभागीका कविताहरु राजनीतिक चेतना प्रदान गर्ने मुख्य अस्त्र सावित भएका छन् । पञ्चायतकालिन कठोर अनि भूमिगत जीवनका कारणले नेत्रलाल पौडेल अभागीले ‘कवि धर्ना, भरतपुरे कान्छो, गोर्की नेपाली, रमा, भुवन केशर, विष्णुकविता, जोशबहादुर’ आदि उपनामबाट रचना प्रकाशन गराएको पाइन्छ । उनका रचनाहरु सन्देश, ज्योत्सना, आँकुरो, राप्ती, गोचाली, जनताका गीत, दैनिक निर्णय, सङ्कल्प, अक्षयलोक, विद्यार्थी कदम, छहरा, सुस्केरा, झिसमिसे, सिमानापारीको हुँकार, पौरख, घोषणा, हातेमालो, अन्तध्र्वनि आदि पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । परिवर्तनका लागि एकता आवश्यकता औंल्याउँदै कविले परिवर्तनका लागि संघर्षमा उत्रिन आह्वान गरेका छन् ।
इन्कलाव इन्कलाव इन्कलाव भन्न दे
नत्र भने थुप्रिएको जोश अब पोख्छौं ए
दाजु भाइ मिलेर पथ निर्माण गर्न दे
मुक्त गरी आलोचक आलोचना सुन्न दे ।
(इन्कलाव भन्न दे पृष्ठ ३८)
पञ्चायती शासन व्यवस्थाका कारण जनताहरु समस्यामा परेको भन्दै कवि नेत्रलाल पौडेल अभागीले अधिकार प्राप्तिका लागि जनताहरु जागरुक हुनुपर्ने विचार अगाडि सारेका छन् । अधिकार मागेर नपाइने हुँदा खोसेर लिन तयार हुनुपर्ने भन्दै कवि नेत्रलाल पौडेल अभागीले शासकसँग जनताहरुले प्रतिप्रश्न गर्नुपर्ने विचार अगाडि सारेका छन्–
शिक्षा खई दीक्षा खई ? कालो अक्षर भैंसी
रोग लाग्दा ओख्तो कहाँ ज्यान जान्स लौसी
किन हुन्छ यस्तो बाबै ! अब सोच्नुपर्छ
सोची बुझी एक भई अघि बढ्नुपर्छ
नजुटेर एक्लै बसे के पो हाम्रो हुन्छ ?
एक भई अघि बढे स्वर्गै हाम्रो हुन्छ ।
(हामीहरु मिलेपछि, पृष्ठ १७)
४.२. समसामयीक सन्दर्भ
‘वर्गप्रेम’ समयको प्रतिबिम्व झल्किने कविताहरुको संगालो हो । नेत्रलाल पौडेल अभागीले पञ्चायती कालो समयको प्रतिबिम्व कवितामा उतारेका छन् । पञ्चायती शासन कालमा जनताहरुका आकांक्षाहरु पुरा नभएको प्रसङ्ग केलाउँदै कवि नेत्रलाल पौडेल अभागीले जनताहरु देश छोड्न बाध्य भएको पीडा व्यक्त गरेका छन् ।
दुःखैले छोड्दैछौँ गाउँघर
गरिब चुस्ने व्यवस्था हटाऔँ
हुन्छ हजुर म सोच्छु हजुर
संयुक्त यही बसी शोषण हटाऔ
बाटो थुनौं जानुपर्ने लाहुर ।
(प्रश्न उत्तर, पृष्ठ ३६)
पञ्चायती शासन व्यवस्थाका कारण जनताहरु विदेशिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनु दुःखद् पक्ष रहेको भन्दै कवि नेत्रलाल पौडेल अभागीले लाहुर जाने बाटो थुन्नुपर्ने विचार व्यक्त गरेका छन् । व्यवस्था परिवर्तन नहुँदासम्म निमुखा वर्गको उन्नति नहुने दाबी गर्दै कविले यो दिशामा लाग्न आह्वान गरेका छन् । नेपाल लाहुरे जन्माउने देश का रुपमा परिभाषित हुन थालेकोतर्फ चिन्ता व्यक्त गर्दै कवि नेत्रलाल पौडेल अभागीले लाहुरे कुरेर ढोकामा बसेकी आमाको दयनीय अवस्थाको चित्रण गरेका छन्–
दीनहीन भै बस्दी होलिन्
मलाई सम्झी रुँदी होलिन्
भाग छोराको राख्दी होलिन्
गएको छोरो आउला भन्दै
बाटो हेरी बस्दी होलिन् ।
(आमाको सम्झनामा, पृष्ठ ३८)
४.३. परिवर्तनको सन्दर्भ
‘वर्गप्रेम’ प्रगतिवादी कविताहरुको संगालो हो । जसले परिवर्तनको आवाज ओकलेको छ । परिवर्तनकामी विचार कवितामा व्यक्त भएको छ । कवि नेत्रलाल पौडेल अभागीले आफ्नो कविता यात्रालाई पञ्चायती शासनको अन्त्यका साथै समाज रुपान्तरणको साधनका रुपमा प्रयोग गरेका छन् ।
आज मेरो देशैभरि पोतिएको अँधेरो
भोलि त पक्कै हट्छ हट्छ
म विश्वस्त हुन्छु
मेरो देशमा भोलि बिहानको लालीमा छाउनेछ
सूर्जे उदाउनेछ
र आकाश चम्किनेछ ।
(जीत उज्यालोको हुन्छ, पृष्ठ ७)
पञ्चायतको कालो बादल नेपाली भूमिमा लामो समयसम्म नरहने दावी गर्दै कवि नेत्रलाल पौडेल अभागीले परिवर्तनका लागि संघर्षमा होमिन आह्वानसमेत गरेका छन् । मान्छे दिनप्रतिदिन स्वार्थको चंगुलमा फस्दै गएको भन्दै कविले वर्गशत्रुको विपक्षमा उभिन र परिवर्तनको हिस्सेदार बन्न आम नेपालीहरुलाई आग्रह गरेका छन् ।
वर्गशत्रुका अगाडि हतियार मिल्काई
उभिन सक्दिन
आफ्ना वर्ग भाइलाई धोका दिई
विभिषणको भूमिका
खेल्न सक्दिन ।
(वर्गप्रेम, पृष्ठ ५५)
४.४. भविष्यप्रतिको आशावादी सन्दर्भ
‘वर्गप्रेम’ कविता सङ्ग्रहमा प्रकाशित कविताहरुले भविष्यप्रतिको आशावादी स्वर व्यक्त गरेका छन् । पञ्चायकालीन कालो छाँयाबाट मुलुक मुक्त हुने र जन आकांक्षा पुरा हुने विश्वास कवितामा व्यक्त भएको छ । संक्रमणकालको फाइदा उठाएर जनताको रगत चुसिरहेका सामन्तहरुको अन्त्य भएर छाड्ने संकल्प कवि नेत्रलाल पौडेल अभागीले गरेका छन् ।
अहिले यो अँधेरी रातमा
तिमी जे पनि गर्न सक्छौ
गर
भोलि बिहान भएपछि देखौला
तिमी आँखा चिम्लेर झोक्रिनेछौ
म गीत गाउँदै नाँच्नेछु ।
(उल्लुसँग, पृष्ठ २९)
५.निष्कर्ष
‘वर्गप्रेम’ प्रगतिवादी कवि नेत्रलाल पौडेल अभागीको उत्कृष्ट कविता सङ्ग्रह हो । पञ्चायती शासनको क्रुरताको विरुद्धमा परिवर्तनको अपेक्षा गर्दै लेखिएका कविताहरु वर्गप्रेममा समेटिएका छन् । जुन परिवर्तनको महत्त्वपूर्ण अश्त्र बनेका छन् । ध्वनि सिद्धान्तको आधारमा अध्ययन गरिएको प्रस्तुत कविता सङ्ग्रहको अध्ययन गर्दा अभिव्यञ्जित सन्दर्भगत अर्थ चारवटा रहेका छन् । ‘वर्गप्रेम’ कविता सङ्ग्रहमा संकलित कविताहरुमा ध्वनित राजनीतिक र परिवर्तनको सन्दर्भ महत्त्वपूर्ण मानिन्छ । पञ्चायतकालीन राजनीतिक परिवेशलाई आधार बनाई लेखिएका कविताहरुमा परिवर्तनको स्वर मुखरित भएको छ । कविले ध्वनि विधानको उत्कृष्ट प्रयोग गरेको पाइन्छ ।
…
सन्दर्भ सामग्रीः
१– मम्मट (२०४६)–काव्यप्रकाशः वाराणसी चौखम्भा संस्कृत संस्थान ।
२– विश्वनाथ (१९८१ सन्)–साहित्यदर्पणः वाराणसी कृष्णदास अकादमी ।
३–उपाध्याय, केशव (२०६७)–पूर्वीय साहित्य सिद्धान्तः साझा प्रकाशन ।
४–अधिकारी, हेमाङ्गराज (२०६७)–पूर्वीय समालोचना सिद्धान्तः साझा प्रकाशन ।
५–महक, महेन्द्र (२०६८)–साहित्यकाश त्रैमासिक पत्रिका वर्ष १, २ ।
६–मरहठ्ठा, प्रभा (२०७४)–जर्नल सप्तगण्डकी बहुमुखी क्याम्पस, भोल्यूम ८ ।
७–रेग्मी, कमला (२०७८)–स्कुल जर्नल भोल्यूम ४ ।
८–नेपाल, शैलेन्द्रुप्रकाश–माधव घिमिरेका खण्डकाव्यको ध्वनितात्विक अध्ययनः अप्रकाशित, विद्यावारिधि शोधपत्र, नेसंवि ।
(लेखक स्पान मोडेल कलेज घोराहीमा प्राध्यापनरत हुनुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।