साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजलको मैदानमा बञ्जाराको साहस

फूलद्वारा लुटिँदा म परदेशमा थिएँ
तिम्रो सिँउदो भरिँदा म परदेशमा थिएँ ।
जुगौँ लगाई बनाएका सपनाका मन्दिरहरू
पालैपालो भत्किँदा म परदेशमा थिएँ
कस्ती भाकी थियौ होली तिमी बेहुलीमा
तिमी रुँदै अन्मिँदा म परदेशमा थिएँ
कहाँ पो भर हुँदो रहेछ र समयको
जूनको आकार बदलिँदा म परदेशमा थिएँ ।

२०५६ सालबाट गजल लेखन सुरू गरेका लोकेन्द्र बञ्जाराका मधुपर्क र आँकुरा पत्रिकामा त्यो समयमा दुई गजल छापिएका हुन् । रचना छापिएपछि पैसा पाइन्छ भन्ने हेक्का उनलाई थिएन । अहिले ठूला पत्रकार भएका एकजनाले त्यो पैसा म निकालेर लैजाऊँ ? भनेपछि उनको चेत खुलेको थियो । त्यसै समयमा लोकेन्द्र र अन्य साथीहरू मिलेर पूर्वाञ्चलको दमक आसपासमा रहेर गोजीबाट पैसा निकालेर साहित्यिक कार्यक्रमको आयोजना गर्थे । त्यो बेला हवाई पत्रिकाको लहर थियो । देशका विभिन्न जिल्लाबाट सयौं हवाई पत्रिकाहरू निस्किन्थे । झापाको दमकबाट लोकेन्द्रले पनि साहित्याकाश भन्ने हवाई पत्रिका निकाल्ने गर्थे । द्वैमासिक रूपमा निस्कने सो ४ पन्ने पत्रिका करिब १८ अङ्कसम्म निकाले उनले ।
अहिलेको जस्तो फेसबुक र अनलाइन पत्रिकाहरू केही थिएनन् तर रेडियो नेपालका विभिन्न प्रसारण केन्द्रहरू र एफएम रेडियोहरूले लोकेन्द्र बञ्जाराका गजल र साहित्याकाश पत्रिकालाई जहिल्यै स्थान दिन्थे । त्यही पत्रिकामा नियमित रचना प्रकाशित हुने सर्जकहरू जस्तोः बुद्घिसागर, महेश कार्की क्षितिज, सुन्दर कुरुप, ज्ञानु विद्रोही, निर्दोष डेबिट, पुष्प अधिकारी अञ्जली आदि देशले चिन्ने साहित्यकार भएका छन् । पूर्वाञ्चलमा रहेर लोकेन्द्र र उनका साथीहरूले नेपाली गजलको उन्नयनका लागि पूर्वाञ्चल गजल मञ्च भन्ने संस्था गठन गरेका थिए । गजलको विस्तार र उत्थानका लागि यस संस्थाले केही वर्ष धेरै साहित्यिक गतिविधि गर्‍यो ।

bahulako diary small and inside post

लोकेन्द्रको विदेश प्रस्थान र गजलको सपना

देश छोडेर म नि हिँडेँ भाग्य खोज्न अरबतिर
जिउँदो लाश बनी हिँडेँ भाग्य खोज्न अरबतिर ।
बाध्यताको जञ्जीरले कस्दै कस्दै ल्याएपछि
विवश सम्झेँ अनि हिँडेँ भाग्य खोज्न अरबतिर ।

गजल लेखन प्रक्रियामा आएका सम्पूर्ण सर्जकलाई संस्थागत गर्न भने लोकेन्द्र र उनका साथीहरूले सकेनन् किनभने लोकेन्द्र र अन्य साथीहरू निम्न वर्गीय परिवारमा जन्मेका मान्छे थिए । उनीहरू जुटेर पनि एक दिन गाँस, बास र कपासका लागि फुट्नु नै पर्ने भयो । पत्रिका, साहित्यिक संस्था र गजल लेखनले मात्र परिवार चल्ने अवस्था रहेन । त्यसपछि गजल लेख्ने कलम झोलामा राखेर लोकेन्द्र दुबईतिर हानिए । प्रकाश आङदेम्बे फिल्मतिर लागे । आआफ्ना बाटामा लागेर पनि सहयात्रा छोड्न चाहिँ छोडेनन् उनीहरूले । लेखन सुरूमा पत्रिकामा नाम छपाउने रहरबाट आदत बनिसकेको थियो । दुबईमा करिब एक दशक बस्दा लेखेका गजलहरूको सङ्ग्रह उनले जैतुन (२०७४)नाम दिएर निकाले । यस अघिको उनको पहिलो गजल सङ्ग्रह ‘आँखाभरि सपना’ (२०६२) हो । लोकेन्द्रले विदेश पुगेर न त घरदेश बिर्से न त गजललाई । उनले विदेश बाध्यता माने तर आफूले रोपेको साहित्यको सपनाको बिरुवा उनले कहिल्यै बिर्सेनन् ।

लोकेन्द्र प्रस्ट वक्ता पनि हुन् । उनले नढाँटी भनेका छन्, “हातमा ठेला नै उठ्ने तातो खाडीको बालुवा चालेर आएको मान्छे म, गजल नै धेरै लेख्छु यसैमा दिल बस्यो, दिल छोडेर कहाँ जानु ? गजलकै लागि केही गरूँ भन्ने मनमा लागेर आउँछ ।”

त्यसो त दुबई बसाइका क्रममा लेखेका केही मनपर्ने गजलहरू मोबाइलबाटै गुमाएको नमिठो घटनाले उनलाई हरेक क्षण चिमोटिरहन्छ । परदेश बस्दा एउटा राम्रो गजल सिर्जना गरौँ भन्ने भन्दा पनि लेखनको लत नछुटोस् भन्नका खातिर कामले अत्यन्तै थाकेर बोल्न नसकेको अवस्थामा पनि जस्तो आउँछ त्यस्तै गजल मोबाइलमा नोट बनाएर राखेको यथार्थ उनीसँग छ ।

नेपाली गजल लेखनमा युवाहरूको चासो

फूल नराम्रो कहाँ हुन्छ चुन्न जान्नुपर्छ
गजल झिल्के कहाँ हुन्छ सुन्न जान्नुपर्छ
यो जिन्दगी गणितको विषयजस्तै हो
घटाउन, जोड्न, भाग गर्न, गुन्न जान्नुपर्छ
अवसरले मान्छेलाई कहिल्यै पर्खिँदैन
समय छँदै यसलाई ड्याम्म थुन्न जान्नुपर्छ
ढोका बन्द भयो भने झ्याल खुल्न सक्छ
सपनाको बुट्टे रुमाल बुन्न जान्नुपर्छ ।

कति लेखकहरूले गजल नै नभएको रचनालाई पनि गजल भनेर नामकरण गरिदिँदा आफूलाई दुःख लागेको अनुभव उनी सुनाउँछन् । गजलको क्षेत्रमा आफूलाई यसरी अरूले चिन्नुका पछाडि आफ्नो सङ्घर्षलाई उनले बिर्सेका छैनन् । आफूले पनि साहित्यको यात्रा थालनी गरेको यही गजल लेखनबाट नै हो भन्ने कुरा निर्धक्क भन्छन् । गजल लेखनबाट साहित्य यात्रा प्रवेश गरेका सबै स्रष्टा गजल लेखनमा टिकिरहन सक्दैनन् र सकेका छैनन् भन्ने उनको बलियो तर्क छ । किनभने गजललाई सतहीमा बुझ्नेले गहिरिएर बुझेकै हुँदैन । रदिफ र काफिया मात्रै चिनेर गजल बन्न सक्दैन । काफियाको सही प्रयोग गर्न सकिएन भने गजल केवल भावना मात्रै बन्छ, गजल बन्न सक्दैन । प्रेम प्रणय र शृङ्गार हुँदै गजल अब सडकदेखि सदनसम्म पुगिसकेको यथार्थ छ । उनी अबको लामो समय नेपाली साहित्य गजलप्रधान रहने उनी देख्छन् ।

लोकेन्द्र बञ्जाराका गजलहरूको अध्ययन
लोकेन्द्र बञ्जाराले दुई गजल सङ्ग्रह ‘आँखाभरि सपना’ र ‘जैतुन’ (२०७३) प्रकाशित गरिसकेका छन् । विषयवस्तु चयनमा सचेत भएर गजल लेख्ने लोकेन्द्रले अर्थपूर्ण शेर समायोजन गर्दै समाजमा भएका विकृति विसङ्तिलाई पनि आफ्ना गजलको विषय बनाउने गर्दछन् । उनका गजल प्रेम विषयमा पनि लेखिएका छन् तर प्रेमका गजलमा पनि उनले समाज र दर्शनलाई सँगै लैजान बिर्सिएका छैनन् । विदेशिनु पर्ने युवाहरूको साझा समस्यालाई उनले गजलको मुख्य विषयवस्तु बनाउने गर्दछन् । रदिफ काफिया प्रयोगका दृष्टिले पनि लोकेन्द्र सचेत देखिन्छन् ।

फर्कें भने भनुम्ला जीवनको गहिराइ कति रहेछ
म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ ।

तेरो आफ्नो के छ ? भन्छन् सोध्छ्न् यही देखाउँछु
म जस्ता गरिबहरूको आँसु पनि त सम्पत्ति रहेछ ।

क कसलाई थाहा छ ठीकै छ थाहा नहुनेले बुझ्नुस्
कि पहिरोको एउटा समानार्थी शब्द पिरती रहेछ ।

बाबु खसे, आमा हिँडिन् म थलिएँ अरू के गर्छस् ?
ओई जिन्दगी, उठाइदे मलाई तैले गर्नु यत्ति रहेछ ।

यहाँ समाख्याताका रुपमा आएका लोकेन्द्र जीवनको गहिराइलाई प्रस्तुत गर्दैछन् । “फर्केँ भने भनुम्ला जीवनका गहिराई कति रहेछ” भन्दै गजलको उठान भएको छ । गजलकार अथवा समाख्याता कहाँ गएका हुन् भनेर गजलमा स्थान सन्दर्भ त आएको छैन तर पनि हरेक रचनाबाट हरेक पाठकले संज्ञान सन्दर्भ बुझ्न जरुरी हुन्छ । संज्ञान सन्दर्भ भन्नाले कुनै पनि सङ्कथन पढिसकेपछि लेखकले के भन्न खोजेको हो भन्ने कुरा पाठक स्पष्ट हुनु हो । “म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ” भन्दै समाख्याताले आफूलाई ढुङ्गासँग तुलना गरेका छन् । गजलकारले यहाँ भीरको ढुङ्गोलाई क्षणिक रूपमा मात्रै अडिएको देखेका छन् । यो झर्छ अडिन सक्दैन भन्ने विचार गजलकार राख्दछन्, ढुङ्गालाई गजलकार लोकेन्द्रले स्थीर आँखाले देखेका छैनन् । गरिबीको अर्को नाम लोकेन्द्र आँसुलाई देख्छन् र आफ्नो सम्पत्ति नै आँसु हो भन्ने कुरामा उनी दृढ रहन्छन् । बाबुको मृत्युपछि आमाले घर छोडेको अनि समाख्याता जीवनसँग आजित भएर परदेश गएको छ र ऊ फर्केर आएपछि आफ्ना जीवनका कहानीहरू सुनाउन चाहन्छ तर कहानी सुनाउन चाहेको पात्र यही हो भन्ने कुराको जानकारी छैन, त्यो सम्बोधित पात्र नेपाल पनि हुन सक्दछ ।

भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो
उसैले त पसिनाको रङ्ग पनि विशेष देख्यो ।

हातका औंलाहरू रोप्दै पग्लिएर सकिनुमा
किसानले परिश्रमको जगमा श्रीगणेश देख्यो ।

बाँच्नै केही नजान्नेले पनि आफू बाँचे जस्तै
भरियाले भीरमै भारी अड्याउने अडेश देख्यो ।

सम्बन्धित पोस्टहरु

मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही
किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो?

यही देशलाई सराप्दै ऊ गएको थ्यो विदेश जाँदा
राम्रो पुगी नसकी नै झल्झली यै देश देख्यो ।

बञ्जारा गजलमा पीडा लेख्न रुचाउँछन् । पीडाको आकार र प्रकार नभएकै कारणले मान्छेले यसैबाट सत्व ज्ञान प्राप्त गर्दछन् भन्ने विचार लोकेन्द्रको हो । “भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो,” भन्दै गजलको उठान गरेका लोकेन्द्र भाग्य भन्दा पनि ठूलो कुरा ठेस मान्छन् । त्यो ठेस गरिबीको हो । जब एउटा मान्छेलाई अभाव पर्छ त्यसपछि त्यो अभाव पूर्ति कसरी गर्ने भन्ने विषयमा उसभित्र तनाव उत्पन्न हुन्छ र ऊ परिस्थितिको दबाब सामना गर्न पसिनाको पहाड उचाल्न र पसिनकै नदी बगाउन तयार हुन्छ । र त, गजलकार भन्छन्- उसैले त पसिनाको रङ पनि विशेष देख्यो ।” यहाँ समाख्याता आफ्नै वरिपरिको भौतिक सन्दर्भ प्रस्तुत गर्छन् । किसानले पसिनाको जगमा श्रीगणेश देख्नु, भरियाले भीरमा भारी अड्याउने अडेस देख्नुमा लोकेन्द्रको गजलको भौतिक परिवेशको मुहान नेपाली गरिब मान्छेका पसिनाको थोपा थोपामा छ । कहिलेकाहीँ उनका गजलको विषय सिमाना पनि पुग्छ । नेपालको सिमाना मिचिँदैछ र त्यो मिचाइलाई मजस्तै नेपालीले रोक्नुपर्छ भन्ने विचार गजलकार लोकेन्द्रको छ । तर लोकेन्द्र छिमेकीसँग प्रेमपूर्ण व्यवहार गर्छु भन्दै गजलमा यसो भन्छन्ः

मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही
किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो

लोकेन्द्रले गजलमा लेख्ने विषय नै देश हो, माटो हो र युवाहरू विदेसिनुपर्ने बाध्यताको पाटो पनि हो । लोकेन्द्र बन्जाराको गजल लेखनलाई नजिकबाट चिनेका गजलकार, समालोचक एवम् पत्रकार घनेन्द्र ओझा यसरी लेख्छन्,“उनको लेखनको विशेषता भन्नु नै प्रस्तुतिको कोमलता, विषयवस्तु चयनको सचेतता, लयमा सचेतता, अर्थपूर्ण शेर संयोजन, रदिफ प्रयोगमा विविधता, काफिया प्रयोगमा सचेतता आदि हुन् । त्यो भन्दा बढी नेपाली गजलमा बढ्दो अराजकताबाट निकै टाढा रहेर यस्ता विवाद र बहसबाट अलग्गै रहेर सुन्दर सिर्जनामा लागिरहनु उनको महत्त्वपूर्ण स्वभाव ईर्ष्यालाग्दो छ ।”

हातमा नाङगो तरवार छ उसको
त्यसैमा अन्धो संसार छ उसको

ऊ सधैँ फूलको चुँड्दछ डाली
कति कमजोर आधार छ उसको ।

झिँगा उसलाई मन पर्दैनन्
माकुरीसँग प्यार छ उसको

उठ न जाग हे शोषित पीडित
हामीमा अत्याचार छ उसको । (जैतुन,पृ.६४)

पाथी थिएँ मानो भएँ परिस्थितिले
आफैँमा विरानो भएँ परिस्थितिले । (जैतुन,पृ.६१)

भन्ने मनै छैन यार के भन्नु भन्दिनँ
दुःखको समाचार के भन्नु भन्दिनँ

पौरखीको निधारमा नेपालको माटो लागोस्
म नेपाली मेरो पाउ सधैँ असल बाटो लागोस् । (आँखाभरि सपना)

हामी खेद्ने तिमी भाग्ने समय आउँछ हेर्दै गर
हाम्ले दिने तिम्ले माग्ने समय आउँछ हेर्दै गर । (आँखाभरि सपना)

कोही मान्छे देशलाई खुसी दिन जन्मिन्छन्
कोही मान्छे सबैको हाँसो लिन जन्मिन्छन् । (जैतुन,पृ.७)

मान्छे बेच्छन् मान्छे किन्छन् तिम्रो शहरमा
मलाम गाको पैसा लिन्छन् तिम्रो शहरमा । (जैतुन, पृ.१५)

लोकेन्द्र बन्जाराका गजलहरूमा विद्रोहको आवाज समेटिएको हुन्छ । देशलाई अधोगतिमा लैजानेहरूप्रति उनको आवाज र विद्रोही चेतना कोमल भावमा आएको हुन्छ । समय एउटै रहँदैन कुनै दिन देशले काँचुली फेर्छ अनि शोषक सामन्तीहरूको दिन सकिन्छ भन्दै समानताको पर्खाइमा पनि बन्जाराले आम नेपालीहरुको आवाज उठाएका छन् । आँखाभरि सपना र जैतुन यी दुई गजल कृतिहरूमा आफ्नो गजल क्षमतालाई बन्जाराले पस्किसकेका छन् । जैतुन गजल सङ्ग्रहका लागि उनले मोतिराम सेतुराम गजल पुरस्कार अनाममण्डली २०७३ प्राप्त गरिसकेका छन् ।

नेपाली गजललाई राम्ररी चिनेका बन्जाराका गजलहरू माया प्रेम, समाज, देश र संस्कृतिकै वरिपरि घुमेका छन् । विकृति विसङ्गति र विदेसिएका युवाहरूको घर देशको मायालाई सभ्य ढङ्गमा गजलमा समेट्न सक्नु लोकेन्द्र बन्जाराको गजल लेखनको विशेषता हो । लोकेन्द्रका गजलहरू सशक्त हुँदाहुँदै पनि केही गजलहरूले गहिरो भाव बोक्न नसकेको आभास पनि हुन्छ । काफिया मिले पनि, संरचना मिले पनि गजलले खोजेको भावको तह पूरा हुन बाँकी रहेको आभास पनि भेटिन्छ, जस्तैः
मुटुभरि चोटैचोट आँखाभरि पानी
दैव पनि मैलाई हान्छ ढुङ्गा छानीछानी । (पृ.५१जैतुन)

मलाई खालि आँखा तर्छ तिम्रो नयाँ मान्छे
वचनपिच्छे खिसी गर्छ तिम्रो नयाँ मान्छे । (पृ.४६जैतुन)

घाम नै पग्लिन्छ तिमीलाई देखेर
समय रोकिन्छ तिमीलाई देखेर । ( पृ.५६)

माथि साक्ष्यका लागि टिपिएका गजलहरू गजलको नियममै लेखिएका छन् । लोकेन्द्र बञ्जाराको गजललेखनको तह प्रस्तुत गजलांश भन्दा माथि हुनुपर्ने हो, यो कुरालाई गजलकारले विचार पुर्‍याउनुपर्ने देखिन्छ । अबका दिनमा लोकेन्द्र बञ्जाराका गजलहरूमा दार्शनिक पक्ष उच्च रहनुपर्ने देखिन्छ । चाउचाउ गजल लेखन गर्ने अनि हराउने अहिलेका युवाहरूका लागि बञ्जाराले गजलमा फरक धारको बाटो तयो गर्नुपर्ने देखिन्छ । कुनै लेखकले लेखेका कृति पढेपछि हरेक मान्छेले आफ्नो भावना हो भन्ने समानधर्मिता महसुस गर्न सकेपछि मात्र लेखक सबैको हुन्छ । गजलमा पनि त्यो समानधर्मिता कायम हुनुपर्छ । लोकेन्द्रको गजल पढेपछि जो कोही मान्छेले आफूलाई त्यो रचनामा भेटोस् । बञ्जाराका प्रेम गजलहरूका तुलनामा देश, समाज र संस्कृति विषय समेटिएका गजलहरू सशक्त रहेका छन् ।

प्रतिक्रिया
Loading...