Chovar Blues Mobile Size

१२. विचित्रको काम्टे

“के त्यो काम्टे खतरनाक होला ?’ गीताले डराउँदै भनी देख्ता त दयालुजस्तो देखिन्छ । हामी उसलाई बोलाऔं न !’

आशिषले ढोकामा टकटक हिर्कायो । काम्टेले वास्तै गरेन । आशिषले अलि बेसरी ट्वाक-ट्वाक गर्यो । यसपल्ट भने काम्टेले मुन्टो घुमाएर हेर्यो । उसले केटाकेटीहरूलाई देखेर खुसी हुँदै भित्र डाक्यो ‘भित्र आऊ न ।’

‘हामी भित्र आउन्नौं’ अमरले भन्यो ‘हामी तिमीलाई निम्तो पो गर्न आएका ।’

चिँम्टा लिन आएका !’ काम्टेले हाँसो उठ्तो अनुहार लाएर भन्यो ‘चिम्टो त छैन मसँग; छोरीलाई दाइजो दिएर पठाएँ। मसँग त यिनै थोत्रा काम्टाहरू मात्र छन्‌ ।’

“चिम्टा भन्या होइन, निम्ता भन्या, निम्ता’ गीताले खितखित गर्दै भनी ‘चिया खाने निम्तो पो भनेको । तिमीलाई तिम्रो साथी के-नाम-के-रेले चिया खान डाकेको छ भन्या ।’

“पाकेको ?…’ काम्टेले फेरि हाँसो उठ्तो गरी भन्यो ‘के पाक्थ्यो अहिले ! भर्खरै त चामल भिजाएको छु।’

“ओहो ! यो मान्छेलाई बुझाउन पनि कति गाह्रो’ अमरले अलि झर्कंदै भन्यो ‘हामीले त भात पाक्यो भन्या होइन । तिमीलाई चिया खाने निम्तो गरेको छ भन्न आएको । तिम्रो साथी के-नाम-के-रेले तिमीलाई चिया खान बोलाएको छ।’

‘ए, चिया खाने निम्तो ?’ काम्टेले बल्ल बुझेर दङ पर्दै भन्यो ‘अघि नै किन नभन्या त ?… खोइ, कहाँ छ चिया !’

‘तिम्रो साथी के-नाम-के-रेको घरमा !’ अमरले भन्यो ‘उनी तिमीलाई बादलमुनि भर्याङको मुखमा पर्खेर बसेका छन्‌ । तिमी झट्टै आऊ रे ।’

“ए, पर्खेर बसेका छन्‌ ? हो, उनी मेरा धेरै मिल्ने साथी हुन्‌ ।… म तुरुन्तै जान्छु ” यति भनेर काम्टे आफ्ना थोत्रा काम्टा बजाउँदै, नाच्तै हिंडयो ‘हो, हो मेरा साथीले चिया खान बोलाएका छन्‌ ।… म जान्छु चिया खान ।’

काम्टे थोत्रा ताप्के बजाउँदै, उफ्रदै इन्द्रजाली रूखको टुप्पोतिर दगुर्यो । केटाकेटी हाँस्तै उसको पछि लागे । काम्टेले बादलको भ्वाङबाट तल चियायो । साँच्चै भर्याङको मुखमा श्री के-नाम-के-रे पुस्तक पढ्दै बसिरहेको थियो ।

‘ओ ! मेरो साथी के-नाम-के-रे !” काम्टे खुसी हुँदै चिच्यायो । तलबाट के-नाम-के-रे ले मुन्टो उठाएर हेर्यो । बादलमाथि भ्वाङबाट आफ्नो साथी काम्टेलाई चियोइरहेको देखेर ऊ पनि खुबै खुसी हुँदै करायो ‘ए, ए मेरो प्रिय साथी ! तिमीसँग भेट नभएको जुगै भयो । कति रमाइलो !… कति रमाइलो !… आऊ-आऊ, एक-एक कप चिया खाऔं ! घरमा चिया उम्लिरहेको छ ।’

“कुम्लो ?’ काम्टेले कराएर भन्यो ‘मैले कुम्लोसुम्लो त केही पनि ल्याएको छैन ।… म त तिमी पर्खिरहेका छौ भन्ने सुनेर त्यसै दगुरेर आएको ।’

तिमी पनि उही सिल्लड काम्टेका सिल्लड काम्टे नै रहेछौ’ के-नाम-के- रे ले हाँस्तै भन्यो ‘मैले कुम्लो भनेको हो र ?… चिया उम्ल्यो होला पो भनेको ।’

“ए, चिया उम्ल्यो भनेको ?… म त कुम्लो भन्यौ पो भन्ठान्या । लौ म आएँ ।’

अनि ऊ चिया खाने आतुरीमा बादलको भ्वाङबाट हाम्फाल्यो । … ऊ भर्याङबाट एकैपल्ट खुर्मुरिंदा आफूलाई सम्हाल्न नसकेर एकैपल्ट तल झर्यो । टाङटाङ र टुङटुङ गर्दै ताप्केहरू जुध्न थाले । यसरी साथी घुर्मुरिदै खसेको देखेर श्री के-नाम-के-रेले उसलाई समात्न खोज्यो । तर उसले पनि काम्टेलाई थाम्न सकेन । अनि दुवै इन्द्रजाली रूखका हाँगाबाट तलतिर पाकेको आँप झरेझैं झर्न थाले । उनीहरू हाँगा-हाँगामा ठक्कर खाँदै भकुन्डे भाइको घरबाट पनि तलतिर भरे ।

“लौ, यी दुइटा त खुर्मुरिए तलतिर !’ भकुन्डे भाइ दङ पर्दै नाच्न थाल्यो । “…क्या रमाइलो । …उनीहरू लुगा धुने अटलमा खसेका भए क्या मज्जा हुन्थ्यो हगि ?…त्यो लुगा धुने केटी कसरी डराउँथी होली ।…हा: हा: हा:, हि: हि: हि… ‘

सबै केटाकेटी भकुन्डे भाइसँगै हाँस्न थाले । साँच्चै त्यो काम्टे बूढो कति हाँसो उठ्दो अनुहारको थियो । …ऊ कसरी बादलमाथिबाट घुरमुर्रिदै तल झर्यो । त्यो सम्झी-सम्झी गीताको पेट हुँडलेर आउँथ्यो । ऊ खितखित गर्दै हाँस्न
थाली ।

अब चुप लाग गीता’ अमर झर्क्यो । ‘अब हामी पनि तल ओर्लनु पर्छ । काम्टे र के-नाम-के-रे त तलै पो पुगे क्यार । तर हामी होस्‌ गरेर ओर्लनु पर्छ है । …फेरि हामी पनि खुरमुरिऔंला । लौ भकुन्डे भाइ तिमी यस रूखका बासिन्दा, तिमी नै पहिले ओर्ल ।’

अनि भकुन्डे भाइ पहिले रूखमा ओर्ल्यो । त्यसपछि सबैजना एक-एक गर्दै ओर्लेर रूखको माथिल्लो हाँगामा जम्मा भए । अनि बिस्तारै हाँगा-हाँगा टेक्तै तल झरेर भकुन्डे भाइको घरमा पुगे । हिमानी अझै त्यहीँ बसेर रुँदै थिई । तर अमर हरूलाई देख्नासाथ ऊ खुसी भएर चिच्याउँदै ढोकातिर दगुरी ‘ओ ! अमर ! ओ भकुन्डे भाइ ! गीता, आशिष ! तिमीहरू आयौँ ? … श्री के-नाम-के-रे बूढाले केही त गरेन ?’

“ऊ त काम्टे बूढोसँगै रूखबाट तल खुरमुरियो’ गीताले खितखित गर्दै भनी ।

‘हुँ ?… हिमानीले आश्चर्य मान्दै भनी ‘ए एक्कैछिनअघि माथिबाट जोडसँग केही खसेको थियो । म त चट्याङ पर्यो पो भन्ठानेकी ।… तिनीहरू पो खसेका- रहेछन्‌ ? … कसरी खसे हँ ?… के भएर खसे ? मलाई त डर पनि लाग्यो ।’

अमरले हाँस्तै काम्टे र के-नाम-के-रे कसरी खुरमुरिए भनेर बतायो । सबै कुरा सुनेर हिमानी पनि पेट मिचिमिची हाँस्न थाली । बल्लबल्ल हाँसो रोकेर ऊ बाहिर निस्की र हाँगाबाट तल चियाउँदै चिच्याई ‘ए अमर |… गीता यहाँ आऊ त !… क तल हेर त ।… श्री के-नाम-के-रे र काम्टै ।’

सबै बाहिर आए र तलतिर चियाएर हेरे । नभन्दै श्री के-नाम-के-रे र काम्टे बडो कष्टले के-नाम-के-रेको घरतिर चढ्दै थिए । उनीहरू चियाका बारे कराईकराई केही भनिरहेका थिए ।

‘उनीहरूले हाम्रो बारे सबै बिर्सिसके ।’ अमरले हाँस्तै भन्यो ‘बिचरा स्वाँठ बूढाहरू !… हेर भकुन्डे भाइ, जे भए पनि अबदेखि त्यो बूढाको मुखमा बयर कोचेर उसलाई दुःख नदिनू । बिचरो निर्दोष बूढो ।’ ।

‘अब हामी पनि घर जाने होइन दाइ ?’ गीताले भनी ‘ह्वाँ आमा कति आत्तिनु भयो होला ।’

“हो, अब हामी पनि चिप्लेटीबाट तल झर्नु पर्छ’ अमरले भन्यो ‘लौ भकुन्डे भाइ, चिप्लेटीको ढोका खोलिदेऊ त ।’

“होइन, चिया पनि नखाई जाने ? पख न, म झट्टै चिया र खजुरी बनाउँछु ।’ हिमानीले भनी र झटपट मकैको खजुरी र चिया बनाई । सबैले चियासँग खजुरी खाए। अनि आ-आफ्ना रङका गद्दामा बसेर चिप्लेटीबाट तल झरे । गद्दा लोखर्केको जिम्मा लगाएर घरतिर दगुरे ।

‘अहिलेसम्म त्यो हाँसो उठ्दो काम्टे आफ्नै धरतीमा फर्किसक्यो होला हगि दाइ ?’ गीताले बगैंचाको ढोकाबाट पस्तै भनी । तर अचम्म उनीहरू घरभित्र पस्न नपाउँदै, काम्टाहरू बजेको टाङटाङ र टुङदुङ आवाज सुनियो । उनीहरूले अचम्म मान्दै मुन्टो घुमाएर हेरे । काम्टे त आफ्ना ताप्केहरू बजाउँदै त्यतैतिर आउँदै थियो । यतिखेर उसले टाउकामा बडेमानको थोत्रो ताप्केको टोप लाएको थियो ।

काम्टाहरू बजेको स्वर सुनेर आमा पनि भित्रबाट ढोकामा आउनुभयो । त्यो विचित्र रूपको काम्टेलाई बगैंचामा पस्न लागेको देखेर आमाले शङ्कालु स्वरमा सोध्नुभयो ‘को हो यो गाइजात्रे मान्छे ?… किन आएको यो यहाँ !’

“ऊ… ऊ… खोइ’ अमरले हड्बडाउँदै भन्यो ‘ऊ काम्टे बादलमाथिको धरतीमा बस्छ ।… ऊ…ऊ त्यसै हाम्रो पछि लागेर आएछ ।’

अनि आमाले बडो मन नपरेका आँखाले हेर्नुभयो । काम्टे आफ्नो ताप्के बजाउँदै गीत गाएर नाच्न थालेको थियो-

‘उम्मल डुम्मल खैरेपात
आसाकुटी महाधौ
मेरो घर त बादलमाथि
हर हर महाद्यौ पानी धौ द्यौ ।’

काम्टे नाच्दै आएर ढोकाको संघारमा बस्यो । आमाले रिसाएर भन्नुभयो । ‘किन बसेको संघारमा ?’

‘होइन मैले अँगार खाएको छैन । मैले केही घसेको पनि छैन । बिहानदेखि भोकै छु म’ काम्टेले रून्चे स्वरमा भन्यो । अनि आफ्ना दुइटा काम्टा जोडसँग जुधायो । त्यस स्वरले आमा तर्सैर उफ्रनुभयो । काम्टे खुसीले गीत गाउँदै दगुर्यो । ‘तिमीहरू यहाँ लुकेर बसेका ?…’

‘तिमी यहाँ कसरी आइपुग्यौ ?’ अमरले सोध्यो ।

‘भकुन्डे भाइले बाटो बताइदियो र अनि म आएँ।’ काम्टेले भन्यो ‘नत्र, तिमीहरूलाई कहाँ-कहाँ खोज्नु पर्थ्यो । म त तिमीहरूलाई चिया खाने निम्तो दिन आएको, मेरो घरमा ।’

‘होइन, यो मान्छे को हो ?’ त्यति बेलासम्म आमा पनि उनीहरू भए ठाउँ आइपुग्नुभयो र सोध्नुभयो “के यो सिल्लड मान्छे हो ?’

‘होइन आमा’ अमरले भन्यो “ऊ काम्टे हो !..’ बादलमाथि धरतीमा बस्छ ।… ऊ अलि रमाइलो छ ।… हल्ला धेरै गर्छ । म उसलाई बगैँचामा लान्छु ।’

‘हो, लैजाऊ ।’ आमाले भन्नुभयो र उहाँ आफ्नो काममा लाग्नुभयो । ‘म तिमीहरूका लागि चिया र खाजा पठाइदिन्छु ।’

“के रे ?’ काम्टेले कानमा हात राखेर सोध्यो “के भन्नुभएको आमाले ?… गीत गाउन भन्नुभा’ हो ? …के उहाँलाई गीत मन पर्छ ? …लौ म गाउँछु ।” यति भनेर ऊ फेरि काम्टो बजाउँदै नाच्तै गाउन थाल्यो-

‘उम्मल डुम्मल खैरे पात
खुट्टाको सट्टा दुइटा हात
आवाकुटी महाधौ
गुन्द्रुक ढिँडो सप्राक सुप्रुक
थालको सट्टा पालको पात ।”

अमरले उसलाई धकेल्दै बगैँचातिर लग्यो । अनि आशिषले उसको कानैमा मुख लाएर सोध्यो ‘होइन, तिमीले यो के गीत गाएको ?… कसले बनाएको यो गीत ?’

“कसैले पनि बनाएको होइन’ काम्टेले भन्यो “मैले नै बनाएको । …यति जाबो बनाउन के महाभारत छ र ?… हेर, सबै लाइनको आखिरमा ‘तं’ आउँछ-
हात, पात, लात, बात यस्तै ।… सजिलो छैन ?”

सजिलो त छ’ आशिषले भन्यो ‘तर यस्तो जाबो गीत !’

“के तिमीलाई मन परेन ?’ काम्टेले अँध्यारो मुख लायो । ‘मैले त तिमीहरूलाई मन पर्ला भनेर ।… भैगो अब म गाउन्नँ । बरू जाऔं । म तिमीहरूलाई चियाको निम्तो गर्न आएको ।’

“के तिमीले के-नाम-के-रेलाई पनि डाकेका छौँ ?’ अमरले अलि मुख बिगारेर भन्यो । ‘मलाई ऊ मन पर्दैन ।’

“के ?… पानी पर्दैन ?’ काम्टेले भन्यो ‘होइन, त्यहाँ पानी सानी केही पर्दैन । कहिलेकाहीं हिउँ भने पर्छ ।’

मैले त्यसो भनेको होइन’ अमरले अलि झर्केर भन्यो ‘त्यहाँ श्री के-नाम- के-रे पनि आउँछ कि भनेर पो सोधेको !’

गोदेको ? … कसलाई गोदेको ?’ काम्टेले फेरि उल्टो कुरा गर्यो। “कसैलाई पनि गोदेको छैन ।’

“कस्तो बज्रस्वाँठ रहेछ’ अमरले आजित भएर भन्यो ‘एक थोक भन्यो, अर्को थोक सुन्छ । (अलि कराएर) …श्री के-नाम-के-रे !… श्री के-नाम-के-रे भनेको ।’

‘ए, के-नाम-के-रे ?’ यसपल्ट काम्टेले ठीक सुन्यो । ‘ऊ त रूखबाट खुरमुरिँदा गर्दन अररिएर घरमै सुतेको छ ।… मैले जाऔं भनेको, मानेन ।… हामी जाँदा भेटेर जऔँला ।’

‘ठीक छ, जाऔंला’ अमरले भन्यो ‘तर आमालाई नसोधी हामी कहीं जाँदैनौं । …आमा ! यो काम्टे हामीलाई बोलाउन आएको रे चिया खान । …हामी जाऔं आमा ?’

‘हुन्छ, जाओ’ आमाले कुचो लाउँदालाउँदै अडेर भन्नुभयो ‘तर जहाँ गए पनि होस्‌ गरेर जानू । …यो काम्टेको ढाँचा-काँचा ठीक छैन ।’

‘होइन आमा, काम्टे नराम्रो मान्छे होइन ।’ गीताले भनी ‘ऊ अलि ख्याली तालको, हाँसो उठ्तो मान्छे छ, त्यत्ति हो । …तर, ऊ साह्रै असल मान्छे हो ।’