अध्याय – बीस

केहीबेर हिँडेपछि फुच्चे राजकुमार मानिसहरूको बस्तीमा आइपुग्यो । त्यहाँ मान्छेको घर जाने बाटोको छेउमा गुलाबको फूलको बगैँचा थियो | उसले नियालेर हेर्दा सबै फूल उसका फूलसित मिल्दाजुल्दा लाग्यो उसलाई ।

“को हौ तिमीहरू ?” बडो अचम्म मानेर सोध्यो फुच्चे राजकुमारले |

‘हामी गुलाबका फूल हौं ।’

फूलले भन्यो । राजकुमारलाई औधी दुःख लाग्यो फूल देख्दा । उसको फूलले त संसारभरिका फूलहरूमा आफू मात्र एउटै जातको फूल हुँ भनेको थियो तर यहाँ त हजारौँ जातका फूलहरू देखिए । सबै सुन्दर, त्यो पनि सिङ्गो एउटा बगैंचामा |

‘यदि मेरो फूलले यो दृश्य देख्यो भने ऊ ज्यादै दुःखी हुनेछ ।’ फुच्चे राजकुमारले भन्यो ।

ऊ खूब: खोक्नेछ अनि उपहासबाट बच्नका लागि मरेको नाटक गर्न पनि पछि पर्ने छैन । म उसको स्याहार-सुसार गर्न बाध्य हुनेछु । अन्यथा ऊ साँच्चिकै मर्न बेर पनि लाउँदैन ।’ राजकुमारले मनमनै भन्यो ।

फुच्चे राजकुमारले सोच्यो एउटा फूल साथमा राखेर म आफैलाई खुब धनी छु ठान्थेँ । वास्तवमा मसित त गुलाबको एउटा मात्र फूल रहेछ । अनि घुँडासम्म आउने तीनवटा ज्वालामुखी मात्रै रहेछन्। यतिले मात्रै त ठूलो राजकुमार बन्न सक्दिन म ।’ घाँसमा पल्टेर रून थाल्यो फुच्चे राजकुमार । त्यही बेला त्यहाँ एउटा फ्याउरो टुप्लुक्क आईपुग्यो ।