नेटफ्लिक्सले सत्य घटनामा आधारित अपराध कथालाई निकै रोचक तरिकाले पस्किने गरेको छ । चाहे त्यो डकुमेन्ट्री होस् या कथानक लामो शृंखला, ती दुवैको उच्च गुणस्तर हुने गरेको छ ।
पछिल्लो समय डेहमरको निकै चर्चा छ । एक समय जेफ्री डेहमर यति कुख्यात थिए कि उनीमाथि फिल्म बनाउनेहरू निकै तँछाडमछाड गरिरहेका थिए ।
सन् २००२ मा डेहमर शीर्षकको फिल्म बनिसकेको थियो र पनि निर्माताहरूलाई त्यो त्यति चित्त बुझेन । त्यसपछि सन् २०१७ मा पनि माई फ्रेन्ड डेहमर शीर्षकमा हलिउडले अर्को फिल्म बनायो । अघिल्लो भन्दा पछिल्लो फिल्म केही रोचक त बन्यो तर जति क्रुर थियो जेफ्री, त्यो फिल्ममा पस्कन असफल भए ।
शायद यही कारणले नेटफ्लिक्सले डकुमेन्ट्रीसँगै १० भागको नाटकीय शृंखलासमेत यही बेला रिलिज गरेको छ ।
निर्माता मात्र होइन, दर्शक पनि उसका बारेमा बनेका प्रायः चिजबिजहरू विविध कोणबाट हेर्न चाहन्छ । नत्र दर्जनौं टेलिभिजन डकुमेन्ट्री, दुई वटा फिचर फिल्म, नेटफ्लिक्सको एउटा लामो डकुमेन्ट्री भइकन पनि त्यही मानिसमाथि बनाइएको शृंखला हेर्न किन मरिहत्ते गर्थे होलान् ! यो शृंखला रिलिज भएलगत्तै सर्वकालीक सबैभन्दा बढी हेरिएको शृंखलामा यो सातौं नम्बरमा थियो ।
सन् १९७८ देखि १९९१ सम्म उसले अमेरिकाको विस्किन्सन र ओहियो राज्यमा डेढ दर्जनभन्दा बढी किशोर तथा काला जातिका युवाहरू मारेको अभियोग प्रहरीले लगाएको थियो । उसले कबोलेको त डेढ दर्जन मात्र थिए तर प्रहरीले अझ बढीको हत्या गरेको आशंका गरेको थियो ।
आखिर त्यत्रा युवाको हत्या गर्ने डेहमर कसरी प्रहरीको नाकैमुनिबाट जोगिन सक्यो भन्ने कथा नै यसको मूल कथा हो । साथै, काला जातिका वा एसियाली मूलका युवाहरू कति डर र खतरामा बाँचिरहेका छन् भन्ने पनि यसले प्रस्ट देखाएको छ ।
[embedyt] https://www.youtube.com/watch?v=HDf3XH-iOqU[/embedyt]
कथाअनुसार, डेहमरले बाल्यकालदेखि नै साना मरेका जनावरहरूमा रूचि राख्छ । उसको त्यो रूचि देखेर उसको बुवाले चिरफार गर्न सिकाउँछ । यसपछि उसले विभिन्न किसिमका जनावरहरू भेला पार्ने, तिनको मुटु, कलेजो र आन्द्राहरू हेर्ने गर्थ्यो । छोरोको यस्तो रूचि देखेर विज्ञान विषयमा यसले निकै राम्रो गर्ला भनेर देशकै चर्चित विज्ञान कलेजमा भर्ती गरिदिन्छ तर ऊ कलेज जानुभन्दा पनि साना जनावर खोज्ने र तिनको चिरफार गर्नेमै बढी रूचि राख्न थाल्छ ।
एक दिन घरमा कोही नभएको बेला उसले एउटा केटोलाई घरैमा डाक्छ । घरमा मज्जाले बियर पिउँछन् दुवै तर वादविवाद हुन थालेपछि डेहमरले त्यो युवालाई घनले हानेर मारिदिन्छ । मरेको मान्छेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने उसलाई ठूलो समस्या हुन्छ । राति अबेर उसले त्यो मारेको केटालाई टुक्राटुक्रा पारी प्लास्टिकको ब्यागमा अन्तै व्यवस्थापन गर्न खोज्छ तर प्रहरीले उसलाई बीचमै रोक्छ । तर प्रहरीले गाडीमा खानतलासी केही नगरी छाडिदिन्छ ।
घर फर्केर उसले जलाउँछ र हड्डीहरू करेसाबारीमा फ्याँकिदिन्छ ।
निकै पछि जब प्रहरीले उसलाई त्यो व्यक्तिलाई मारेपछि पक्राउ हुने डर लागेन भन्ने प्रश्नमा भनेको थियो, शुरूमा डर लाग्यो तर पछिपछि बानी पर्न थाल्यो ।
[embedyt] https://www.youtube.com/watch?v=NVHHs-xllqo[/embedyt]
यसपछि उसलाई मान्छे मार्ने चस्का लाग्न थाल्यो । त्यसैले कम शंका गर्ने, कालाजातिहरूको बढी बस्ती भएको ठाउँ र खासगरी समलिङ्गी युवाहरूलाई उसले आफ्नो कोठामा बोलाउने, मस्तसँग रक्सी खुवाउने र लठ्याइसकेपछि उसको हत्या गर्ने गर्न थाल्यो । यसबीचमा उसबाट बचेर एक जना केटो भाग्न खोज्दा प्रहरीले उल्टै डेहमरकै जिम्मामा छाडिदिन्छ ।
यो बेला पनि डेहमर पक्राउ हुँदैन बरू दुई जना समलिङ्गीहरूको विवाद र झगडाका रूपमा मात्र लिन्छ । कयौं पटक डेहमरको छेउको अपार्टमेन्टमा बस्ने बस्ने एक जना महिला ग्लेन्डा क्लिभल्यान्डले प्रहरीलाई फोन गरेर डेहमरको शंकास्पद क्रियाकलापलाई नियाल्न आग्रह गर्छिन् तर प्रहरीले उनको कुरा सुन्दैन ।
तर यहीँ उसले लगातार समलिङ्गी युवाहरू फँसाउने, घरमा ल्याउने, विषालु पदार्थ खुवाई लठ्ठ पारी उसको एक एक अंग काट्ने गरेको खुल्छ ।
आखिर कोही किन सिरियल किलर बन्छ ? त्यसका पछाडि के कारण हुनसक्छ ? के यो एउटा वंशाणुगत रोग हो ? यस्ता कैयन् पक्षमा यसले टिप्पणी गर्छ । सँगैमा, जब हुर्कंदो उमेरका बालबालिकाहरूलाई अभिभावकले राम्रोसँग ध्यान दिँदैनन्, आफ्नो खुसीलाई नै प्राथमिकता दिन्छन्, यस्तो बेलामा खराब जिन बोकेर हुर्केका बालबालिकाहरूले आफूभित्र हुर्काइरहेको गलत प्रवृत्तिलाई अझ परिस्कार गर्दै नराम्रो कुलतमा लाग्ने सम्भावनामाथि यस शृंखलाले टड्कारो रूपमा बताएको छ ।
[embedyt] https://www.youtube.com/watch?v=pvQP-85ADRE[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

