‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उदेश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता चार पुस्तक । ‘मामुली मान्छे’देखि ‘भग्नावशेषमाथि टोलाएको परेवा’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
====
१. मामुली मान्छे – बलराम तिमल्सिना
प्रगतिशील कवि, कमरेड बलराम तिमल्सिनाकृत कवितासङ्ग्रह हो, मामुली मान्छे । सङ्ग्रहमा सङ्ग्रहित कविताहरुले मुलत: राजनीतिक विषयवस्तुलाई आधार बनाएका छन् ।
‘कमरेड बलराम तिमल्सिना दश वर्षीय जनयुद्धका एक सशक्त राजनीतिक योद्धा र प्रगतिवादी कवि दुवै हैसियतमा राजनीतिक क्रान्ति र जनयुद्धको मैदानमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक लिएर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि दृढतापूर्वक उभिनुभएको थियो ।’, पुस्तकको भूमिकामा चैतन्य लेख्छन्, ‘परन्तु आन्दोलनमा हुन गएको गम्भीर धोका, विश्वासघात र धक्काका कारण सो लक्ष्य हासिल हुन सकेन । ठीक त्यसैले पनि उहाँका कविता राजनीतिक विषयवस्तुमा आधारित बन्न गएका छन् । परन्तु उहाँ त्यस प्रकारको राजनीतिक विषयवस्तुलाई भावधारा, आवेगयुक्त चेतना र बिम्ब, प्रतीक तथा अलङ्कार विधानमा संश्लेषित गरी कलात्मक तथा सौन्दर्यात्मक रुपमा प्रस्तुत गर्न शानदार रुपमा सफल हुनुभएको छ । यस कृतिमा प्रचुर मात्रामा नवीनता, मौलिकता र भाव–भङ्गिमाका शिल्पगत विशेषता पाइन्छन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
२. छोरीले जन्माएका आमाहरू
छोरीहरुका कलमबाट जन्मिएका आमाहरुको कथा हो, छोरीले जन्माएका आमाहरु । पुस्तकमा आमाहरुका जीवनका विभिन्न पक्षहरुको चर्चा गरिएको छ । यो पुस्तक आमाहरुको व्यक्तिगत जीवन, आमाले बाँचेको समयमा महिला–पुरुषको अवस्था चित्रण, आमाछोरीको संस्मरण तथा हजुरआमा, आमा र छोरीहरुको बाँचेको जीवनको तुलनात्मक नालीबेली हो । पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, डा. कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मञ्जु थापा, मीरा बस्नेत, डा. मोनिका आचार्य र सञ्जीता बराइलीले लेखेका ‘आमाका कथाहरु’ सङ्ग्रहित छन् ।
‘आमाहरुकै साथ, सहयोग र प्रेरणामा हुर्के–बढे–पढेका हामी छोरीहरु नै आज आफ्नो कलमबाट आमाहरुको जीवनी कोर्न सफल भएका छौं र आमाहरुको इतिहास जोगाउने प्रयत्न गरिरहेका छौं ।’, पुस्तकको भूमिकामा पुस्तक परिकल्पनाकार तथा संयोजक मञ्जु थापा लेख्छिन्, ‘आमाहरुको जीवन र उहाँहरुको कर्म पहिल्यै अस्तित्वमा थियो र छ, तर तिनलाई विस्मृतिमा जान नदिई लेखनीमार्फत जन्माउने काम छोरीहरुले गरेका कारण यस कृतिको नाम पनि छोरीले जन्माएका आमाहरु राख्नु उचित लाग्यो ।’
पुस्तकलाई अक्षर क्रिएशन्स नेपालले प्रकाशनमा ल्याएको हो । ४ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय ५० रुपियाँ रहेको छ ।
३. जनविद्रोह र सिद्धान्त – हस्तबहादुर केसी
‘जनविद्रोह र सिद्धान्त’ हस्तबहादुर केसीको सैद्धान्तिक राजनीतिक विषयहरु समेटिएको नवीनतम पुस्तक हो । पुस्तकलाई ‘दर्शन’, ‘राजनीतिक अर्थशास्त्र’, ‘वैज्ञानिक समाजवाद’, ‘कम्युनिस्ट आन्दोलन’ र ‘राष्ट्रिय स्वाधीनता’ गरी पाँच खण्डमा अध्ययन गरिएको छ ।
‘आज नेपालमा साम्राज्यवादको जबर्जस्त हस्तक्षेप र दक्षिणपन्थी संशोधनवादको तिव्र हैकमको कारण माक्र्सवादको सैद्धान्तिक अध्ययन र सिर्जनशील प्रयोगको प्रश्नमा नयाँ युवाहरुको रुचिलाई विकर्षित गर्ने र उपभोक्तावादी विकृतिलाई आकर्षित तुल्याउने निकृष्ट प्रकारको षड्यन्त्र भइरहेको छ ।’, पुस्तकको भूमिकामा मोहन वैद्य किरण लेख्छन्, ‘यस स्थितिमा माक्र्सवादको गम्भीर अध्ययन, मनन र क्रान्ति सम्पन्न गर्नका लागि यस कृतिले निश्चय नै महत्त्वपूर्ण सहयोग पुर्याउने छ । यस प्रकारको रचना तयार पार्नु हुने कमरेड हस्तबहादुर केसी विशेष धन्यवादको पात्र हुनुहुन्छ ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ६ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ९ सय रुपियाँ रहेको छ ।
४. सृष्टि – राजेशमान के.सी.
दृष्टिविहीन अभिभावक संघ, नेपालका संस्थापक अध्यक्ष राजेशमान के.सी.को छन्दवद्ध कविताहरुको सङ्ग्रह हो, सृष्टि । सङ्ग्रहमा लकडाउन, नेपाल प्रहरी, नेपाल छैन सानो, शान्ति, देशभक्तिलगायत शीर्षकका ४२ थान कविताहरु सङ्ग्रहित छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा वरिष्ठ प्रवर्धन अधिकृतका रुपमा काम गरी निवृत्त भएका केसीले यस कवितासङ्ग्रहको नाम दृष्टिविहीन छोरी सृष्टिकै नामबाट राखेका छन् भने पुस्तकको कभरमा समेत छोरीको तस्बिर राखेका छन् । छोरीका बारेमा कवि लेख्छन्, ‘दृष्टिविहीन सृष्टि के.सी. ब्लाइण्ड रक्स नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् । चिकित्सकको गलत औषधि प्रेस्किृप्सनका कारण १६ वर्षको उमेरमा दुवै आँखाको ज्योति गुमाउन पुगेकी सृष्टिले दृष्टिविहीन अपाङ्गताका बावजूद आफ्नो अदम्य साहस र उच्च मनोबलद्वारा पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा समेत आफूलाई अब्बल सावित गरेकी छिन् ।’
पुस्तकलाई सिर्जना अभियान, भक्तपुरले प्रकाशनमा ल्याएको हो । ८५ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
५. भग्नावशेषमाथि टोलाएको परेवा – सुशील नेपाल
लामो समयबाट अमेरिका बस्दै आएका स्रष्टा सुशील नेपालकृत कवितासङ्ग्रह हो, भग्नावशेषमाथि टोलाएको परेवा । सङ्ग्रहमा शीर्ष कवितासहित भुइँचालो, एक्लो मन र यो असहजता, म एउटा अपूर्ण मान्छे, नमेटिएका पाइला, म नजरबन्दमा छु, नाएग्रालगायत ६५ थान कविता सङ्ग्रहित छन् ।
‘कविताकृतिमा मूलत: हुनुपर्ने काव्यात्मकता, गेयात्मकता, भावात्मकताका आधारमा हेर्दा कृति अकबरी सुन बनेको छ ।’, भूमिकामा खेमराज पोखरेल लेख्छन्, ‘किनभने कविका आफ्नै जीवनका गल्छेँडाहरु कृतिभरि छताछुल्ल भएर आएका छन् । कविको विविध खाले जीवन भोगाइबाट कविता निसृत: भएका छन् । भोगाइमा विशृङ्खलित राजनीति छ । नेपालको राजनीतिको गन्तव्यहीन यात्राका कहर छन् । सामुन्नेमा समाज छ । समाजको दोचारे प्रवृत्ति छ । दुईजिब्रे छ समाज । खासमा भन्ने हो भने कविका कहर छन् ।’
पुस्तकलाई राजमित्र प्रज्ञा–प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । १ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५ रुपियाँ रहेको छ ।
६. चौसट्ठी वर्ग मिटर – जीवन लामा यात्रा
पत्रकारितामा संलग्न जीवन लामा यात्राकृत नवीनतम कवितासङ्ग्रह हो, चौसट्ठी वर्ग मिटर । कविले सङ्ग्रहित कविताहरुमा समाजका जल्दाबल्दा घटनाक्रमलाई कविताको रुप दिएका छन् । पुस्तकमा ‘राङराङथलीको काख’, ‘आश्वासन’, ‘अब म सहर फर्किन्नँ आमा’, ‘देवताको स्वरुप’लगायत शीर्षकका ३५ थान कविता सङ्ग्रहित छन् ।
‘कविता कर्ममा समर्पित हुनु आफैंमा चुनौतीपूर्ण यात्रामा निस्कनु हो । मानिसको सभ्यतासँगै यो विधा जोडिएर आएकाले यसको भव्यतासित जोडिदै आफ्नो स्पेसको निर्माण गर्नु असाधारण क्षमता चाहिन्छ ।’, भूमिकामा कवि श्रमण मुकारुङ लेख्छन्, ‘काव्यमाथि विश्व साहित्यमा अनेकौं प्रयोगहरु भइसकेका छन् । अझ, मुक्त द्वन्द्वमा लेख्ने हामी कविहरुलाई आफ्नो मौलिक शील्पकारिता निर्माण गर्ने भीमकाय चुनौती हुन्छ । तर फेरि, आविष्कार गर्ने सम्भावना पनि यही मुक्त द्वन्द्वले नै स्रष्टालाई दिन्छ । त्यो भाषा, भावना र चेतनासित गतिलै लाक्पा नखेली प्राप्त हुँदैन ।’
पुस्तकलाई याम्बुरी बुक प्वाइन्ट प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।