पूर्ववत: कथनअनुसार दोस्रो कप चिया हाम्रो हाता लागिसकेको छ । चिया खाइरहँदाको हाम्रो मौनतालाई चार कप चियाले सुरुप्प सुरुप्प पारिरहन्छन् । यसपश्चात् जानकी मन्दिरका महन्तकोमा जाने त भन्ने कुरा उठ्छ । उठेको कुरा बस्न नपाउँदै म आफ्ना प्रश्नहरू बिसाइहाल्ने आतुरता देखाउँछु । मेरो आतुरताको अघि प्रेमको दाइको चल्दैन । उनी, ‘तिमी सोध म खिच्छु’ भन्न लाग्छन् । र, यो बेसै भयो ।
पहिलो र दोस्रो प्रश्न हुनु पर्ने थियो, ‘सुरकिशोर दासको आगमनलाई कसरी बुझ्ने ? चतुर्भुज गिरी को हुन् ?’
यिनै प्रश्न गर्न खोज्दै थिएँ, एक्कासि कुनै बाइकको निकै तिखो हर्नले मेरो कान घोच्यो । काठमाडौंमा हर्न निषेध भएता (२०७४/०१/०१ गतेदेखि) पनि काठमाडौंकै छोटा भाइ (सहरीकरणको हकमा मात्रै) को रुपमा हुर्किरहेको यस सहर (नगर ?, त्यो इतिहासकारहरूले भन्लान् ।) ले ‘दाजू सुध्रिएको मेसो पाएकै रहेनछ ।’ छोटे भाइ अर्थात् जनकपुरधाम अझै पनि चर्को आवाज निकालेर दौडिरहेको थियो । यति सुन्दर र सांस्कृतिक ‘नगरी (मलाई यो सहरलाई नगर नै भन्न मन छ)’ को यो उपद्रव मलाई कत्ति मन परेन । प्रस्तावित जानकी मन्दिर तथा विश्व सम्पदा कोरिडोरको भागहरूमा ‘सीताराममय’ मधुर ध्वनि गुन्जायमान बनाउने तथाकथित कार्यकम (आ.व. २०७९ को नीति तथा कार्यक्रम, २८, २९ बुँदा) राखेको पालिकाले हर्न निषेध गर्नुपर्ने आवश्यक्ता अहिलेसम्म देखेको जस्तो लागेन । देख्नुपर्ने नदेख्ने, अनि नानाभाँती कार्यक्रम राखेर भोटबैंकको खेती गर्नेहरूलाई पट्याङ्ग दिनुपर्ने हो । दिउन हो जनताले, यो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा जनकपुरमाथि बेइमान गर्ने नेतागणहरूको ‘गाला रातै, गाला रातै’ भएको देख्न पाइओस् । सदिच्छा छ !
र, यसप्रकार पहिलो प्रश्न हुन् पुग्यो, “जनकपुर यति अव्यस्थित किन ?”, घिमिरे लामै समयदेखि राजनीतिमा रहेका कारण यो प्रश्न उनको मुखेन्जी सोध्नु निको लाग्यो । सन्जीव शाह मुसुक्क हाँसे । यो मुस्कानको अर्थ घिमिरेको लामो उत्तरपश्चात् मात्रै बुझेँ ।
घिमिरेले प्रथमत: गोस्वामी तुलसीदास रचित ‘रामचरित मानस’को एक प्रसङ्ग सुनाए । प्रसङ्गअनुसार, रामायणकालमा राम-सीताको विवाहमा सहभागी हुन आएका ब्रह्मा तत्कालीन जनकपुर देखेर मन्त्रमुग्ध भएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘निज करनी विधि कतहु न देखा ।’ अर्थात्, ‘मैले जस्तो जनकपुरको निर्माण गरेको थिएँ, त्यसभन्दा धेरै सुन्दर देखेँ ।’ कविश्वर चन्दा झाद्वारा लिखित मिथिला भाषा रामायणमा पनि जनकपुरको सुन्दरता र सम्पन्नताको भरपुर वर्णन छ भन्ने कुरा पनि उनीद्वारा नै थाहा हुन् आयो ।
यो थाहा पाएपछि एउटा नमिठो दु:खले दुखेँ …आत्थो । विश्वको आदिकालीन जीवन्त सांस्कृतिक थलोको त्यो वर्णन सुन्न पाउँदा कति हो कति रमाएको नि । अनि, एकैछिनमा आफू बसिरहेको अर्गज्जा किनारलाई नियाल्दा कति हो कति दुखेको पनि । ..आत्थो ।
यता, भानुभक्त रामायाण बालकाण्डको यस पंक्तिले जनकपुरधामको सम्पन्नताको वर्णन गरेको पढ्न पाइन्छ;
सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल सहर् मा चल्या ।
नाच् कीर्तन् सीतका प्रकाश् कन हुन्या रात् मा खुप् बल्या ।।
जो मण्डप छ विवाहको तस उपर् झुम् का हिराका झुल्या ।
मूँगा मोति जुहार् जनकपुर् महाँ घर् घर् सबैका झुल्या ।। (श्लोक १११)
त्यो सुन्दरता र सम्पन्नता खोइ भनेर कसलाई सोध्ने ? बरू आउनुहोस्, तुलसीदासकृत रामायाणको यस पंक्ति पनि पढौँ र थप प्रश्न गरौँ;
नव पल्लव फल सुमन सुहाए, निज सम्पति सुरुख लजाए (५)।
चातक कोकिल कीर चकोरा, कूजत विहग नटत कल मोरा (६)।।
अर्थात् वृक्षवृक्षमध्ये कसैमा नयाँ पालुवा पलाइरहेका, कसैमा फल फलिरहेका, कसैमा फूल फुलिरहेका, सुशोभित थिए । ती वृक्षले आफ्ना पल्लव फलफलरुपी सम्पतिले कल्पवृक्षलाई पनि लज्जित पारेको थियो (५) । चातक (काकाकुल) कोइली, सुगा, चकोर इत्यादि पक्षी मिठो बोलिरहेका, मयूर नाचिरहेका थिए (६) (स्वामितुलासीदासकृतरामायाण, पृ. २५०) ।
रामले राजा जनकको बगैँचा देखेको बेला (रामसीताको बगैँचामा देखादेख हुनुपूर्व)को वर्णन यो हो, तुलसीदासले त बगैँचा देखिएर वसन्त ऋतु नै लोभिएको समेत उल्लेख गरेका छन् । बगैँचाको लतावितान (लहराका झाङ)को पनि उनले खुलेर प्रशंसा गरेका छन् । कहाँ एकछत्त हर्न बजिरहेको यो जनकपुर, कहाँ त्यो जनकपुरको वर्णन ? कानमा कताकता कन्सुत्लो पसेजस्तो पो भयो । कालगति र समयको मारका कारण मात्रै जनकपुरको यो दुर्गति भएको भनेर कदाचित भन्न सकिन्न ।
दासले अगाडि लेखेको यी दुई पंक्ति पनि पढौँ;
मध्य बाग सरु सोह सुहावा, मनिसोपान विचित्र बनावा (७) ।
बिमल सलिलु सरसिज बहु रंगा, जल खग कूजत गुंजत भृङ्गा (८)।।
अर्थात्: बगैँचाको बीच सुशोभित थियो, त्यसमा सुन्दर तलाउ थियो, त्यो तलाउमा विचित्र मणिको सिँढी बनेको थियो । त्यसमा निर्मल जल र अनेक रंगका कमल थिए, जलपक्षी आफ्नोआफ्नो शब्द गरिरहेका, भ्रमर गुञ्जन गरिरहेका थिए (ऐ.)।
यिनै पंक्ति सम्झँदै म सामुन्नेको अर्गज्जा सरलाई नियाल्छु, एउटा हाँससमेत देख्न मुस्किल पर्यो । कमलका ठाउँमा जलकुम्भीको जालो देखिन्थे, अलिक बेर बसेपछि मात्रै तलाउको पानीको गन्धलाई आत्मसात् गर्न सकिन्थ्यो । अरग्ज्जालाई थोरबहुत सफाइ गरिँदै आइएकाले किन्चित सफ्फा जस्तो देख्न्थ्यो, तर जानकी मन्दिर सामुन्नेका दुई तलाउ करिबन मृतप्रायः भइसकेका छन् । पोखरीहरू आफैँमा विगतको वातावरण अथवा हावापानीको इतिहासलाई आफ्नो गर्भमा सुरक्षित राख्ने प्राकृतिक दस्तावेज हुन्, यीमाथिको यो खेलाँची सानो अत्याचार होइन । पोखरीलाई पोखरी वा ताल नभनेर ‘सागर’ भन्ने मिथिला संस्कार (गंगा सागर, धनुष सागर आदि) यो हदसम्म किन ओर्लिएको होला, सोचनीय कुरा छ ।
शाह अझै पनि मुस्कुराइरहेका छन् । अरे, कस्तो व्यंग्यात्मक हाँसो । दुख्यो..आत्थो ।
***
यसपछि घिमिरेले फटाफट कलियुगमा आइवारी अस्ति भर्खरको एउटा घटना कोट्याए, घटना थियो सहिद दुर्गानन्द झाबारे । तर त्यसलाई फटाफट तुरेर उनी भन्छन्, “इ प्रत्येक प्रश्न विवादास्पद अछि आ निर्विवाद रूपें हम अखनो इ कहबाक स्थितिमे नहि छी ।” उनले झाबारे धेरै कुरा नबताए पनि म यस कुरालाई लिएर निकैबेर घोत्लिरहेँ, जो संस्मरण लेखिरहेको यस प्रहर पनि हुबहु छ ।
आफ्नी प्रेमिकासँग एक उराँठीलो दिउँस कठ्याङ्ग्रिरहँदा पंक्तिकारले पुनर्निर्माण चलिरहेको वसन्तपुर सङ्ग्रहालय परिवेशमा एउटा मोटरगाडी देखेको थियो । र, त्यो गाडी विक्रमको १९ सालमा राजा महेन्द्रलाई लक्षित गरी दुर्गानन्द झा र अरविन्द ठाकुरले कांग्रेसकै निर्णय (महेन्द्रको निरंकुश कदम विरूद्ध) अनुसार जानकी मन्दिर परिसरमा बम विस्फोट गराउँदाको चिनो बोकेर ‘केन्द्रीकृत राज्य सत्ता’लाई सुनपानी छर्किरहेको जस्तो देखिन्थ्यो । यद्यपि सो गाडी त्यही हुनुपर्दछ (जहाँसम्म बुझ्न आएकोमा, वसन्तपुर दरबार सङ्ग्रहालयका कतिपय सामग्री नारायणहिटी सारिँदै छ) । पंक्तिकारकी प्रेमिकाले त्यो गाडीअघि फोटो पनि खिचेकी हुँदा, र उसलाई अत्यावश्यक रुपमा अत्यन्त राम्रा पोजका फोटा चाहिनाले ५/७ मिनेटको सो अलमलमा गाडीलाई मज्जाले नियाल्न पाएको थियो, जो पंक्तिकार यद्यपि सम्झन सक्दछ ।
वि. सं. २०२० माघ १५ गते (काँग्रेसको बलिदानी दिवस) फाँसीमा चढाइएका झा कांग्रेसको नेतृत्त्वबाट नभई ओली प्रधानमन्त्री रहेको एमाले सरकारको तर्फबाट वि सं. २०७२ फागुन १९ गते सहिद घोषित भए, यो कसोकसो अडमिल्दो लागेकै हो, लागिरहेकै छ । धनुषाको जटही गाउँमा जन्मिएका दुर्गानन्दले श्रीमती काशीदेवीलाई पटक-पटक एउटा गीत सुनाउदथे रे- ‘दो हंसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे ।’ पंक्तिकारले यो गीत चुन्नुको कारण जनकपुरको विकास/निर्माण ठप्प हुनु र जनकपुरमाथिको शाही राज्य सत्ताको निरन्तर उपेक्षा कताकता समानन्तर जस्तो देखिन आउँछ । विश्लेषक चन्द्रकिशोर झाले त शाही सत्ताले जनकपुरलाई नियोजित रूपले उपेक्षा गरेको थियो भनेर पत्रपत्रिकामा बोलेकै छन् ।
नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति हुन् दुर्गानन्द झा । उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो। तर उनले उतिबेलै भनेका थिए- ‘म लामो यात्रामा गए पनि लोकतन्त्र अवश्य फर्कनेछ’ भनेका थिए।’ तर, आजको जनकपुरलाई नियालीरहँदा गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु (पारिनु) निकै बिडम्बनापूर्ण लाग्यो ।
यहीनेर पंक्तिकार केदामणि आ. दीक्षितको ‘यात्रा-प्रसङ्ग नेपाल’ नामको किताबबाट केही पंक्ति टङ्कण गर्दछ- “त्यहाँ ठुल्ठुला हवाइजहाज पनि उत्रिन सक्ने नयाँ दौडमार्ग पनि हिन्दूस्थान सरकारको सहयोगबाट बन्न लागेको रहेछ ।..यत्रो विशाल हवाईमैदान तयार हुँदैछ तर, मोटर चल्ने पक्की बाटो नभएकाले अलि लाज मर्नु कुरा भएको जस्तो मनमा लाग्यो । हामी सबै काम अरूकै सहयोगबाट बनोस् भन्ने आशा गर्छौं । त्यसो हुँदा, अरूको आशा गरी हिँड्दा, अरूले बनाइदिएमा, बनाइदिनेको स्वार्थबाट बन्ने हुन्छ । हामीले यसो गर, उसो गरी बनाइदेउ भन्नै पाउँदैनौँ र उनीहरूले पनि त्यसमा वास्ता गर्दैनन् । आफ्नै सरकार, आफ्नै धन र जनले बनाउने कोसिस गरेमा अवश्य नै बन्ने थियो र अर्काको मुख हेर्ने बानी पनि छुट्ने थियो ।”
वि.स. २०३१ मङ्सिर २४ गते आइतबार दीक्षित प्लेनमार्फत जनकपुर ओर्लिएका रहेछन् । उनले लेखेका यी पंक्तिहरूबाट त्यतिबेला जनकपुरप्रति राजा महेन्द्रको बेवास्ता रहेको प्रष्ट हुन् आउँछ । यद्यपि नेपालको इतिहासमा महेन्द्र कालखण्डबारे समुचित राष्ट्रिय बहस त फेरि पनि आवश्यक नै छ किनभने नेपाली कांग्रेसभित्रको सत्ता कलह र भारतीय चलखेल यही कालखण्डमा बेसी देख्न पाइएको थियो । पूर्व-पश्चिम राजमार्ग, थुप्रै सिँचाइ योजना र उद्योगधन्दाको जग विश्वेश्वरप्रसाद कोइरालाकै शासनकाल बसालिएका र तिनलाई पूर्णता दिने काम महेन्द्रबाट भएकाले ‘महेन्द्र महात्म्य वाचन’ गरिहाल्न पनि परेकै त छैन ।
***
यहाँनेर राजा महेन्द्रले २०१८ साल माघ ९ गते जनकपुरको रङ्गभूमि मैदानमा आयोजित स्वागत समारोहमा जनताद्वारा चढाइएको अभिनन्दनपत्रहरूको प्रत्युत्तरमा सुनाएको भाषणलाई टङ्कण गर्नु मुनासिब लाग्यो;
उपस्थित महिला तथा सज्जनवृन्द,
आज यसपवित्र पूण्यभूमि सीताको जन्मस्थानमा आई यहाँका जनतासिट भेटघाट गर्न पाउँदा हर्ष लागेको छ । राजा जनक र सीताले विश्वको अगाडि राखी गएको आदर्शलाई अंगाली जनताको सेवा गर्दै जानु हामी सबै नेपालीको परम कर्तव्य छ भन्ने कुरा यहाँका हावापानीले हामीलाई सम्झना गराउँछ । मलाई लाग्दछ जमना बदलिन्छ, परिस्थितिको हेरफेर हुन्छ, तर आदर्श सदा आदर्श नै रहन्छ ।
तर यस्तो पवित्र स्थानमा गरिबी र अनेक कष्ट देखा पर्नु सार्है असंगत कुरा हो । तसर्थ हामीले पुनित आदर्शलाई अंगाली सबैको भलाइ नै आफ्नो भलाइ भनी इमान्दारीसाथ काम गर्दै गएमा मात्रै हामी नेपाली सबै यस्ता कष्टहरूबाट पार हुन्छौँ । यसमा मेरो दृढ विश्वास छ र सबै देशभक्त नेपालीबाट पनि यसमा सहयोग पाउने नै छु ।
दु:खको कुरो छ, मुलुकको यस्तो अवस्थामा विदेशिएका केही व्यक्तिहरूले शान्तिलाई खलल पारी नचाहिँदो गोलमाल गर्ने र जनतालाई दुख दिने चेष्टा गर्दैछन् । यस्तो कुभावनाले देश कहिल्यै बन्दैन । देश सबैको हो । मिलिजुली काम गरे मात्र देश बन्दछ । मलाई पूरा विश्वास छ, सबै नेपाली एक भई देश बनाउन अघि बढ्नेछन् । किनकि हामीले गरे नसक्ने केही छैन । केवल एकता र जाँगरको आवश्यकता छ । हाम्रो भविष्य सुन्दर छ, हामी नेपाली देशभक्त छौँ, मुलुकको लागि मरिमेट्न जान्दछौँ । यो सबैले बुझेकै छन् र अझै राम्ररी बुझून् बुझाउन यही मेरो आज सबैमा आह्वान छ ।
आज मलाई यहाँ यत्ति नै भन्नु छ । यहाँ भेला भएका र यस सभाका आयोजकहरू सबैलाई हार्दिक धन्यवाद दिन्छु । जय नेपाल । (श्री ५ महाराजधिराज महेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेका घोषणा, भाषण र सन्देशहरू, नेपाल-भारत् लाइब्रेरी )
***
देशको सबभन्दा ठूलो मन्दिर, सबभन्दा धेरै कर तिर्ने कारखाना र राष्ट्रको एक मात्र रेल सेवा भएको नगरको गणतन्त्र आएपश्चात् श्रीवृद्धि किन हुन् सकेन ? कहाँ समस्या भयो ? कसले गर्यो ? लगायतका प्रश्नहरू यद्यपि रहिरहेका छन् । ०४६ को राजनीतिक परिवर्तनपछि जनकपुरमा महेन्द्रनारायण निधि, लीला कोइराला, रामचन्द्र झा, विमलेन्द्र निधि आएकै हुन्, केन्द्रमा यिनीहरू अडेकै छन् । तर, यी प्रश्न मैले उहाँहरूलाई सोधिनँ । यी प्रश्न राजनीतिजीविसँग भन्दा स्थानीयवासीसँग सोध्दा मुनासिव हुने लाग्यो (सायद सोध्नुपर्थ्यो कि?) । यसै विचार गरेर म आफैँले पहिल्यै सोध्छु भनेको प्रश्न सोध्ने निर्णय कसेँ ।
र, यहाँनेर हाम्रो सर्वप्रथम सोध्नुपर्ने पहिलो प्रश्नको आह्वान हुन्छ, “सुरकिशोर दासको आगमनलाई कसरी बुझ्ने ?”
यस प्रश्नको उत्तर सरद्वयले जानकी मन्दिरमै रहेको बताउनुभयो । हामी जानकीमन्दिरतर्फ लम्कियौँ । दीक्षितले ०३१ सालमा हिँडेका आर.टी.ओ.ले बनाएको सडकमा हामी पनि हिँड्दै थियौँ, तर देशभरझैँ यहाँ पनि सडकको स्थिति ठिक छैन । बाटामा गाइगोरु भरपुर देखिन्छन्, जो जानकी मन्दिर प्राङ्गणमामा पनि उसैगरी देख्न पाइन्छ, यसलाई मैले मिथिलाकै एक रंग- ‘मिथिलांग’ मानेको छु ।
र, उहाँहरूले हामी दुई दाजुभाइलाई जानकी मन्दिरको भव्यता हुँदै छोटे महन्त (सहायक महन्त)को कुटी (कोठा) मा पुर्याउनुभयो । छोटे महन्तले जीले स्वागतमा रातो दोसल्ला ओढाइदिँदै गुलियो लड्डु खुवाउनुभयो । उत्तर पनि गुलियो हुनेछ भन्ने कुरामा म ढुक्क भएँ ।
स्रोत सन्दर्भ:
‘यात्रा प्रसङ्ग-नेपाल’ : केदारमणि आ. दीक्षित
श्रीमद्गोस्वामितुलसीदासकृतरामायाण
भानुभक्तको रामायण
वाल्मिकी रामायण में राज्य, समाज एवम् अर्थ-व्यवस्था: डा. शान्ति स्वरूप गुप्त, डा. श्रीनिवास मिश्र
श्री ५ महाराजधिराज महेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेका घोषणा, भाषण र सन्देशहरू
राष्ट्रिय मूर्तिकला: एक अध्ययन – मदनमोहन मिश्र
गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका दुर्गानन्द झा, नागरिक दैनिक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।