जब कुनै घरमा छोरीको विवाहका कुराहरू हुन थाल्छन् तब एउटा असल केटाको खोजी हुन थाल्छ । केटाको परिवार कस्तो छ ? छोरीले भन्दा बढी पढेको छ कि छैन ? उमेर बढी छ कि नाइँ ? हामीभन्दा धनी छ कि नाइँ ? मुलतः छोरीलाई पाल्न सक्छ कि नाइँ ! यस्ता सयौँ प्रश्नले एक छोरीको परिवारलाई खुब पिरोल्छ । तर यी सोच्दा सोच्दै यो बिर्सिन्छन् कि आफ्नो छोरी पनि कुनै पुरूषभन्दा कम छैन । उसले पनि परिवार पाल्न सक्छे । हाम्रो परिवार पनि कुनै केटाको परिवारभन्दा गरिब छैनौँ । छोरीले पनि केटाले भन्दा धेरै पढेकी छे । अनि मेरो छोरी कुनै गाईभैँसी होइन उसलाई पाल्न सक्ने केटा चाहिने । यस्ता कुराहरू केटी स्वयम् वा उसको परिवारले कहिल्यै सोच्न भ्याउँदैन । उसलाई मात्र चाहिएको हुन्छ एक सक्षम पुरूष । प्रायः धेरैको घरमा छोरी कलेज पढ्न सुरू भएपछि छोरीको विवाहको लागि योग्य केटा खोज्ने रफ्तार बड्न थाल्छ । अनि धेरै केटीले एउटै चाहना राख्छन् त्यो हो आफूभन्दा सक्षम श्रीमान् । आफ्नोभन्दा बढी हैसियत भएको केटा । बरू केटाको अगाडि सधैँ झुक्न किन नपरोस् तर आफू भन्दा सक्षम नै चाहिन्छ उनीहरूलाई । आफ्नो जिन्दगी आफैँले बनाउने हो भन्ने सोच धेरै केटीले विवाह गर्ने बेला भुल्छन् । र एउटै लक्ष्य पूरा गर्नतर्फ लाग्छन् त्यो हो आफूभन्दा सक्षम केटा खोज्ने ।

हर आमाबाले आफ्नो छोरीले कहिल्यै दुःख खेप्न नपरोस् भन्ने सोचाइ राख्छन् । छोरीभन्दा बढी पढेको, छोरीको भन्दा उमेर बढी भएको अनि छोरीलाई सुखले पाल्न सक्ने सक्षम केटाको खोजीमा रहन्छन् । भेदभाव आमाबुबाबाट नै सुरू भएको छ । आफ्नो छोरीलाई छोरोको भन्दा कम हैसियतमा राख्ने । आफ्नो छोरीलाई छोरोको तुलनामा असक्षम घोषणा गर्ने । आफ्नो स्तर भन्दा तल्लो स्तरको केटोसँग सम्बन्ध गाँस्दा छोरीले केही गर्न नसकेर सधैँ दुःख पाउने हो कि भन्ने गलत सोचाइले नै हो आज पनि पुरूषको दबाबमा महिलाहरू परेका । एउटा परिवारभित्र पुरूष भन्दा महिला बढी सक्षम भई भने उक्त परिवारभित्र ऊ कहिल्यै दबिएर बस्नु पर्दैन । तर हाम्रो गलत सोचाइले आज कयौँ महिलाहरू सक्षम भनिएका पुरूषबाट सधैँ आँसु खसाउन बाध्य छन् । म कमाएर ल्याउँछु, मैले त गरिरहेको छु, तँभन्दा म योग्य छु भन्दै आफ्ना श्रीमतीमाथि हाबी भइरहेका छन् । महिलाहरूको आफ्नै गलत सोचाइको कारण सक्षम पुरूषबाट यो सुनिरहनुपर्ने हुन्छ कि तैले परिवार हेर्ने हो,भान्सा समाल्ने हो अनि सन्तान जन्माउने हो ।

एउटी सक्षम केटीले असक्षम केटासँग सम्बन्ध गाँसेर सँगसँगै जीवन बिताउने लाखौँमा एक दुई मात्र भेटिन्छन् । आफूप्रति भरोसा नभएको कारणले हो या मैले केही गर्न सक्दिनँ भन्ने सोचले हो, प्रायः केटीहरूले आफ्नो जीवनसाथी सक्षम नै होस् भन्ने सोचाइ राखेका हुन्छन् । पुरूष भएर बाँच्न पनि निकै गाह्रो छ तर पुरूषको दुःखलाई समाजले स्वीकार्दैन । कुनै एक पुरूष असक्षम हुनु भनेको उसले नारी जीवन साथी भेट्न मुस्किल पर्नु जस्तै हो ।

समाजमा नारीहरूले भोग्नु परेको समस्याको जाल पनि यही सक्षम पुरूषको खोजीको कारण नै हो । आज जुन जुन समाजमा नारीहरूलाई भेदभाव गर्ने गरिन्छ नारी स्वयम् आफ्नै कारणले पनि हो । आफ्नो जीवनसाथी रोज्ने अधिकार सबैमा हुन्छ तर आफूभन्दा तल्लो स्तरको पुरूषसँग विवाह गर्दा जिन्दगी नै सुखद हुँदैन भन्ने सोचाइले उनीहरूभित्र नै एक दुःखको पाटो दिएको छ । जब आफूभन्दा सक्षम पुरूषसँग सम्बन्ध गासिन्छ तब उक्त महिला जहिले उही पुरूषदेखि तल्लो चपेटामा परिरहेकी हुन्छे । समाजमा हर घरमा यही समस्या हुन्छ । अनि समाजमा महिलामाथि पुरूष हाबी हुन्छन् । सक्षम पुरूष कुनै महिलाको दबाबमा बस्नै सक्दैन । ऊ आफै सक्षम छ अनि महिलाको दबाबमा बसोस् पनि कसरी ? एक डाक्टर पढेको पुरूषले आफ्नो स्तर भन्दा तल्लो स्तरकी केटीसँग सजिल्लै विवाह गर्न सक्छ तर एक डाक्टर पढेकी केटीले आफ्नो स्तरभन्दा तल्लो केटासँग विवाह गर्न मान्दिनँ । केटालाई एक असल श्रीमती चाहिएको हुन्छ तर केटीलाई आफूभन्दा पनि बढी सक्षम केटा चाहिन्छ । हाम्रो परिवार,हाम्रो समाज अनि हामी आज पनि उही पुरानो सोचले अगाढि बढिरहेका छौँ । श्रीमानले धन कमाएर परिवार पाल्ने अनि श्रीमतीले जहान र घर समाल्ने जस्तो पुरानो सोचलाई छोड्न सकिरहेका छैनौँ । त्यसैको वरिपरि नै घुमिरहेका छौँ । हातमा प्ले कार्ड बोकेर बाटो बाटोमा महिला अधिकारको नारा लगाउँछन् । महिलाको पीडा लेखिएका प्ले कार्ड देखाउँछन् तर लाष्टमा आफ्नो जिन्दगीलाई कसैको गुलामीमा लगेर छाडिदिन्छन् । आफ्नो क्षमतालाई लुकाएर अरूको गुलामीमा बाच्न पाउँदा खुसीले नाच्ने कयौँ महिलाहरु हुनुहुन्छ । आफ्नो उमेरभन्दा ठूलो र आफूभन्दा सक्षम पुरूषसँग विवाह गरेर उक्त पुरूषको गुलामीमा जीवन बिताउन राजी बन्न हतार गर्नेहरू लाखौँ छन् । अनि परिवारमा, समाजमा उक्त सक्षम भन्ने पुरूषबाट अपहेलित भएका महिलाहरू पनि हजारौँ छन् ।

एक सक्षम जीवनसाथी खोज्ने चाहनाले कयौँ महिलाहरूले आफ्नो जिन्दगीलाई नर्क बनाइदिनु भएको छ । सधैँ श्रीमानको दबाबको कारण आफ्नो मनभित्रका हजारौँ सपनाहरूलाई तुहाइदिनु भएको छ । आफ्नो लाइफ पाटनरभन्दा म असक्षम छु भन्ने सोचाइले कयौँ महिलाको जीवन दुःखले बितिरहेको छ । अनि सक्षम र असक्षमको वादविवादले दुईबिच सम्बन्ध विच्छेद भएका उदाहरणहरू हाम्रा आँखा वरिपरि नै धेरै छन् । आफूभन्दा कम पढेको केटासँग सम्बन्ध गास्न हतपत कुनै पनि केटीले चाहना राख्दिन । आफूभन्दा तल्लो स्तरको पुरूषसँग विवाह गर्न पनि कोही केटीले खोज्दिन । केवल हरेक केटीले आफूभन्दा सक्षम केटालाई नै जीवन सुम्पिन चाहन्छन् । हाम्रा जिजु आमाको पालादेखि नै यस्तै सोच आइरहेको छ । अनि परिवारभित्र नै उही सक्षम पुरूषदेखि महिलाले हिँसाको सामना खेप्दै आउनु पर्ने हुन्छ । उहिले हजुरबाको पालामा पनि खेत हेरेर छोरी दिने चलन थियो रे । जसको घरमा खेत धेरै छ उसलाई सक्षम र छोरी पाल्न सक्ने केटा सम्झिएर छोरीलाई उसैको जिम्मा दिइन्थ्यो रे । अनि छोरी सधैँ उही केटाको गुलामीमा जीवन बिताउनु पर्ने बाध्यता । बाहिरबाट आहारा दिएर पिञ्जडामा पालिएको सुगाको झैँ जीवन जिउन बाध्य थिए हजुरआमाहरू । एक शब्द आफ्नो श्रीमानको अगाडि बोल्ने कष्ट गर्दैन थिए । आफ्नो जिन्दगी त्यसरी नै बाचिरहे । आज पनि समय उस्तै छ सक्षम केटा खोज्ने निहुँमा जीवनलाई पिञ्जड भित्र थुन्ने युवतीहरू थुप्रै भेटिन्छन् । आफूले पनि श्रीमान पाल्न सक्छु भन्ने सोच एकादुईको मात्र आउँछ । सधैँ अरूको भरोसामा मात्र बाच्ने सपना किन देख्छन् होला नारीहरूले म सधैँ सोच्छु ।

आफूभन्दा असक्षम पुरूषसँग विवाह गर्दा समाजका मान्छेले, आफ्नै साथीभाइले के भन्लान् भन्ने डरले पनि कयौँ केटीहरूले आफूभन्दा सक्षम पुरूष नै खोज्ने गर्छन् । आफ्नो जिन्दगी कसैको दबाबमा बिताउने नै होइन । बरू आफूले सकेको गरेर देखाउने हो भन्ने सोच हर केटीहरूको दिमाखमा आउनु पर्छ । आफूभन्दा असक्षम केटासँग बिहे गरेर आफ्नो कमाइले परिवार धान्दै स्वतन्त्रता पूर्वक बाच्न सक्ने हैसियत पनि हर कोही केटीले राख्न सक्नुपर्छ । सक्षम पुरूषको खोजी गरी ऊसँग सम्बन्धमा बाधिएर उसको दबाबमा बसी परिवार र भान्सा समाल्ने युगको अन्त्य हुनु आवश्यक छ ।

सक्षम पुरूषको खोजी गर्दा गर्दै आफ्नो भविष्यलाई बिच बाटोमा नै छाड्ने केटीहरू हजारौँ भेट्न सकिन्छ । भर्खर कलेज पढ्दै गरेका हुन् या कलेज सकेका हुन् जब उनीहरूको विवाह सक्षम केटासँग हुन्छ तब उनीहरूको पढाइ नै सकिन्छ । एक दुईले मात्र पुनः पढ्ने मौका पाउँछन् नत्र सबैका त्यसै सकिन्छ । कलेज पढाइ सकिन्छ । कलेज पास हुनेहरूको डिग्री नपढी पढाइ बिच बाटोमा नै छोडिदिन्छन् । एउटै मात्र कारण मेरो श्रीमान मभन्दा सक्षम छन् उनले मलाई पाल्न सक्छन् । यस्तो गलत सोचाइले आफ्नो भविष्य नै छोटाइदिन्छन् । सन्तान र भान्सा समाल्ने काम मेरो हो भविष्य देख्ने श्रीमानको, यस्तो भ्रमले ग्रसित सोचाइले आज उनीहरूको पढाइ,करियर, सपना सबै तुहिएको छ । म अझ अगाडि पढ्छु, म अझ अगाडि बड्छु भनेर आफ्नो श्रीमानलाई कमले मात्र भन्छन् । त्यही कम मध्य पनि एकादुईको कुरो श्रीमानले सुन्छ अरूको त त्यसै सकिन्छ । अबको यो युगमा नारीहरू स्वयंले आफ्नो हैसियत आफैँ बनाउन सक्नुपर्छ । म पनि कुनै केटाभन्दा कम छैन मैले पनि आफ्नो श्रीमानलाई पाल्न सक्छु । जस्तो सुकै केटासँग सम्बन्ध गास्न सक्छु भन्ने हिम्मत लिएर अगाडि बड्न सक्नुपर्छ । कसैको अघि झुक्ने सम्बन्ध किन गास्नु बरू निडर भएर बाच्न सक्ने सम्बन्ध गास्न सिक्नुपर्छ । सक्षम श्रीमानको खोजीमा आफ्नो सपनालाई अलपत्र पारिनु हुँदैन । सधैँ हिम्मत बटुले अगाडि बडिरहनु पर्छ….।