साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विरोधाभाषको मिठो तनाव

गम्भीर विषयमा प्रवेश गर्ने कुनै योजना थिएन आज । अनौपचारिक छटामा गफ्फिदै थिएँ तिमीसित । मनमा न कुनै करको कहर थियो, न त बौद्धिक दबाबको बोझ नै ! हल्कापाराले त्यत्तिकै तिम्रो बातमा बात मिलाइदिइरहेकी थिएँ । तनावमुक्त अनुभूति म रमाइरहेकी थिएँ । गफैगफको सिलसिलामा एकाएक गम्भीर विषयमा प्रवेश गर्यौ तिमी । एकपछि अर्को गर्दै अजङ्ग अजङ्गका प्रश्नहरू उठाउन थाल्यौ । जीवनबारे जीवनसितै उत्तर नभएका प्रश्नहरू मेरा अगाडि तेर्स्याउन थाल्यौ । अनुभूतिको लय पूरै फेरियो मेरो । छिनको छिनमै मन कहाँबाट कहाँ पुग्यो ! तिम्रो प्रश्नको प्रभावले मनभित्र बेग्लै हलचल मच्च्याइदियो; रोमाञ्चको नयाँ उभार मेरो मनभित्र सिर्जाई दियो । “प्रश्नहरूको बाढी पानीको बाढीभन्दा शक्तिशाली हुन्छ,” कवि मातृका पोखरेलको कविताको हरफ अनायास सम्झिन पुगेँ मैले ।

जीवनमा जब-जब लस्कर बाँधेर प्रश्नहरू मसित जोरी खोज्न आउँछन्, यस्तो अवस्था मलाई अत्यन्तै रोमाञ्चक लाग्छ । प्रश्नहरूसित भिडिनु पर्दा वा भिड्न पाउँदा जुन किसिमको रन्थन मनमा उभरिन्छ, रन्थनको त्यस्तो उभार मलाई अत्यन्त प्रियकर लाग्छ । यद्यपि उठेका, उठाइएका सबै प्रश्नहरूको उत्तर भेट्टाउन सम्भव छैन जीवनमा, यो यथार्थ आफ्नो ठाउँमा छ नै, तर पनि प्रश्नहरू मलाई असाद्धै मनपर्छन् । प्रश्नहरूको लखेटाइका कारण उत्तरको खोजी गर्ने उद्वेलन मनमा जसरी अनायास जागृत हुन्छ, त्यो जागृति आफैँमा एउटा मिठो आनन्दको अनुभूति हो । त्यही आनन्दमा डोरिँदै–बेरिँदै मन अनायासै चिन्तनमननको एकाग्र मुडमा अवतरित हुनपुग्छ, त्यो अवतरण आफैँमा एउटा ठूलो प्राप्ति हो जस्तो अनुभूति हुन्छ मलाई । म ठान्दछु, एकाग्रताको त्यो अवस्था एक प्रकारको ध्यानको अवस्था हो । ध्यान चाहे त्यो ‘ओम्’ जपको लयसँगसँगै तानिएर मनमा उत्पत्तिएको दिव्य आनन्दको अनुभूति होस् या प्रश्नहरूको लखेटाइले मनभित्र सिर्जिएको रोमाञ्चक रन्थनको उभार, आखिर ध्यान भनेको ध्यान नै हो । ध्यानले कुनै न कुनै ज्ञानको उज्यालोमा अवश्य पुर्याउँछ मान्छेलाई । ध्यानले सधैं नै ज्ञानको उज्यालोतर्फ उन्मुख हुन उत्प्रेरणा दिलाउँछ मान्छेलाई ।

प्रश्नहरूको उपस्थिति मलाई औधि प्रियकर लाग्छ । प्राध्यापन पेसाको प्रभाव पो हो कि ? थाहा छैन । तर जे होस्, प्रश्नहरूको आतंक औधि रोचक लाग्छ मलाई । कक्षामा पनि प्रश्न सोध्ने विद्याथीहरूलाई नै बढी मन पराउँछु म, न कि म एकोहोरो बोलिरहुँ र विद्यार्थीहरूचाहिँ कापीमा घोप्टिएर मलाई टिपिरहुन् । त्यस्तो कक्षामा पढाउन उभिनपर्नु मेरा लागि धेरै नै दिक्क लाग्ने कुरा हुन्छ । त्यसैले कक्षामा सुरुमै विषयबारे विद्यार्थीहरूलाई तिनका जिज्ञासाहरू बोल्न लगाएर र बीचबीचमा प्रश्न गर्न उक्साएर म आफैँ नै आफूलाई त्यस्तो दिक्क लाग्ने स्थितिको बन्दी नबनाउन प्रयास गर्छु । कक्षाको मात्र कुरा होइन, अन्यत्र पनि प्रश्न उठाउन चासो देखाउने मान्छेमै अनायासै मेरो ध्यान बढी आकर्षित हुन्छ । आँखामा आँखा जुधाएर प्रश्न गर्न सक्ने मान्छे मलाई बढी मन पर्छ । त्यो भन्दा पनि कति हो कति, बढी मन पर्छ मलाई त्यस्तो मान्छे जो जीवनमा कतै जवाफ नै नभएको प्रश्न उठाउन साहस गर्छ, उत्साह देखाउँछ । जस्तो किः तिमी ।

bahulako diary small and inside post

तिमी मेरी प्रिय विद्यार्थी , कक्षामा मैले चाहे जस्तै गरी आँखामा आँखा जुधाएर प्रश्न सोध्थ्यौ मसित अघि । अहिले त आफैँ गुरुमा बनिसक्यौ तिमी । र, पनि बखत बखतमा मसित प्रश्न गर्न छाडेकी छैनौ तिमीले । मित्रवत् सानिध्य मसित तिम्रो, तिम्रा हरेक प्रश्न प्रियकर लाग्छ मलाई । किनकि तिम्रा प्रश्नहरू प्रायः गरी जीवनसित जोडिएका हुन्छन्, दर्शनले छोइएका हुन्छन् । कुरै कुराको सिलसिलामा आज पनि त्यस्तै दार्शनिक स्पर्शको प्रश्न उठायौ तिमीले ।

आजको तिम्रो प्रश्नले मेरो मनमा उमारेको अनुभूतिको प्रारम्भिक तरंगलाई सम्बोधन गर्नका लागि सुरुमा कवि मातृकाको कविताको एउटा उद्धरण अगाडि सारेँ मैले । ‘प्रश्नको बाडी’ शीर्षकको उनको कविताको पुछारको अंश हो त्यो हरफ । त्यो कविता मूलतः राजनीतिक विषयसम्बद्ध हो । मुलुकको समसामयिक राजनीतिक वस्तुस्थितिमा छाएको विकृति तथा विसंगति एवं नेतृत्वतहमा देखिएको गैरउत्तरदायी चरित्रप्रतिको आक्रोशको स्वर हो त्यो कविता । अझ तोकेरै भन्नु पर्दा, जनतालाई काम छउञ्जेल भाँडो काम सकिएपछि ठाँडोको व्यवहार गर्ने वा गर्न दुस्साहस गर्ने क्रान्तिकारी राजनीतिक जत्थाका नेतृत्व तहलाई तिनका आफ्नै कार्यकर्ताहरूको कडा औंला उठाई हो, त्यो कविता । यस मानेमा बिल्कुल राजनीतिक आशयको हो मातृकाको उक्त कविता । जीवन दर्शनसित सम्बन्धित तिम्रो प्रश्नका अगाडि मैले सुरुमै राजनीतिक विषयकेन्द्री कविताको हरफ सम्झनुलाई ‘अलि नमिल्ने कुरा भयो’ भन्ने पो ठान्यौ कि ? त्यस्तो नठान्नु तिमीले । बरू कविताको त्यो हरफलाई आफ्नो प्रश्नसित मिलाएर बुझ्न बल गर्नु । बुझ्नु तिमीले, ‘नमिल्ने’ भन्ने कुरा केही पनि छैन यहाँ । आवश्यकता हो, मिलाएर बुझ्न अक्कल पुर्याउनु, मिलाएर बुझ्न ध्याउन्ना गर्नु बस् ! त्यसो गरे वा गर्न सके सबै कुरा मिलेकै मिलेको मात्र देखिन्छ यहाँ । नमिलेको कुरा पनि नमिलेकै अवस्थामा ‘मिलेकै त छ नि’ भन्ने जस्तो भान भैदिन्छ हामीलाई । यस्तो भान हुनु याथार्थमा हामी मान्छेहरूको विशेषता पनि हो र बाध्यता पनि हो । प्रत्येक क्षण आफ्नै भागको आयु चपाउँदै जीवनमा निरन्तर अगाडि बढिरहनु पर्ने नियति च्यापेर आएका हामी मान्छेले जीवनमा सधैँ सबै कुरो मिलेकै मिलेको मात्र देख्न–हेर्न खोज्नु कहाँ सुहाउने कुरा हुन्छ र ?

तिम्रो प्रश्नमा प्रवेश गर्नुपूर्व यहाँ यतिका भूमिका बाँधेँ मैले । नठान्नू , यसो गरेर मैले आफ्नो बौद्धिकता प्रदर्शन गर्न खोजेकी हुँ । बरू बुझ्नू, तिम्रो प्रश्नको प्रभावअगाडि आफ्नो सीमा सोझै कबुल्न नसकेर मैले आफूभित्र एक्कैछिन शक्तिको आराधना गरेकी हुँ । नभन्दै, यति भूमिका बाँधिसकेपछि बल्ल आँट आयो मलाई, तिमीसित आँखामा आँखा जुधाएर यो भन्न कि ‘मसित तिम्रा यी प्रश्नहरूको कुनै त्यस्तो किटानी उत्तर छैन । अझ मसित मात्र होइन, तिम्रा यी प्रश्नहरूको अन्तिम उत्तर यहाँ कसैसित पनि छैन, कहीँ पनि छैन ।’

तिमीले सोध्यौंः ‘यो जीवन के हो ? किन यसमा दुःखको स्थायी बास तर सुखचाहिँ आक्कल झुक्कल मात्र ? पीडाको अविरल वर्षा तर आनन्दचाहिँ बाछिटा मात्र ? जीवनमा कहिले खाएको विष पनि त्यत्तिकै छलिन्छ तर कहिले भने खाँदैनखाएको विषसमेत लागेर अग्घोसित छटपटाउन बाध्य भइन्छ, किन ? सोच्तै नसोचेको कुरा पनि कहिलेकाहीँ त्यत्तिकै भागमा आइपर्छ, फेरि कहिले भने आफ्नो भागमा आइसकेको जस्तो लाग्ने खुशी पनि बिना कारण त्यत्तिकै हातबाट चिप्लिजान्छ । यस्तो किन हुन्छ जीवनमा ? के हो आखिर यो जीवन ? आँसु हो कि उत्सव हो यो ? के हो यसको परिभाषा ?’

साँच्चै नै गम्भीर प्रश्नहरू उठायौ तिमीले आज ! बुझ्नु तिमीले, यस्ता प्रश्नहरूमा छलफल त अवश्य गर्न सकिन्छ तर सार केही निकाल्न सकिन्न । ‘ढाँटहरू’ अवश्य रचना गर्न सकिन्छ तर सत्य कुरा किमार्थ ठम्याउन सकिन्न । त्यसैले आज तिम्रा यी प्रश्नहरूलाई लिएर छलफलमा पस्नुअघि म केही कुरामा तिमीलाई सुरुमै सजग गराउन चाहन्छु । सुन, यस्ता प्रश्नहरूबारे सोच्ने बानी गर्न थालियो भने जिन्दगीभर यस्तो बानीबाट पन्छिन मन लाग्दैन, तर्किन मन लाग्दैन, चुँडिन मन लाग्दैन, छुट्टिन मन लाग्दैन । बुझ्नु तिमीले, रक्सीको लत भन्दा पनि कडा हुन्छ चिन्तनको लत । यस्तो लतलाई समाएपछि यसलाई यदि आफ्नो बोधमा सही ढंगले व्यवस्थापन गर्न सकिएन भने मनको सन्तुलन खलबलिन सलबलिन पनि बेर लाग्दैन । त्यसैले मेरो पहिलो सल्लाह छ तिमीलाई– जीवनबारे यो हदसम्म गम्भीर नबन्नु नै जाति ! होइन, ‘गम्भीर बन्छु’ नै भन्ने तिम्रो अडान हो भने ‘आफ्ना यी प्रश्नहरूको किटानी उत्तर कतै पनि भेट्टाउन सम्भव छैन’ भन्ने तीतो सत्यप्रति पूर्ण सजगता राखेर मात्र यस्ता प्रश्नहरूप्रति जागरुक बन्नु तिमी ।

तिमीलाई थाहै छ, जीवन दुई ‘प्लस दुई बराबर चार’को गणितमा बुझिने शास्त्र होइन । जीवनको गणित नितान्त बेग्लै छ, अत्यन्त कठिन छ, अमूर्त छ । जीवन अव्याख्येय छ । पार पाइनसक्नुको रहस्यमय विज्ञान हो यो जीवन । प्रकृति आविष्कारक हुन्, यो रहस्यमयी विज्ञानको । झर्नका लागि फुल्ने अनि फुल्नकै लागि झर्ने एउटा फूलको कथाजस्तै रहस्यमय हो यो हाम्रो जीवन । यसलाई रोचक कथा मानेर पढिदिए ‘यो साच्चै नै रोचक कथा हो’ जस्तो लागिदिन्छ । होइन, ‘झर्नकै लागि फुल्न पर्नु जीवन त वास्तवमा पीडा पो हो त !’ भन्ने कोण उजाए फेरि उही जीवन ‘अत्यन्त पीडादायी कथा’ जस्तो जँचिदिन्छ हामीलाई । यो त फगत कोणको कुरा मात्र हो । वास्तविकतामा चाहिँ जीवन के हो ? यसबारे कहिल्यै पूरा भेउ पाउन सकिन्न । न सुरुको कथा थाहा हुन्छ, न अन्त्यको कथा भन्न आफू बाँकी भइन्छ दुनियाँमा । जन्मनुअघि पनि अँध्यारो, मृत्युपछि पनि अँध्यारो, हरेक मान्छेको जीवन दुई सघन अँध्यारोको बीचमा च्यापिएर अडेको एउटा क्षणभंगुर यथार्थ हो । केही समयका लागि ‘झिलिक्क’ बलेको फगत एकटुक्रा उज्यालो हो यो जीवन । जन्मेपछि नमरुञ्जेलसम्मको एउटा अवधिको नाम न हो आखिर हरेकको जीवन ! सार र निस्सार दुवै तत्त्व सँगसँगै मुछिएर अस्तित्वमा अवतरित भएको मान्छेको जीवनबारे गहिरिएर विचार गर्ने हो भने साँच्चै नै द्विविधामा परिन्छ । घरि यो ‘केही’ हो जस्तो पनि लाग्छ , घरि यो ‘केही पनि होइन’ जस्तो पनि भान भइदिन्छ । ‘हो’ र ‘होइन’ दुवै तत्त्व एकै साथ अटाएको यो जीवनप्रति तिमीजस्तै म पनि बखत बखतमा खूब अलमल्लिने गरेकी छु । तर रमाइलो कुरा के भने त्यस्तो ‘अलमल’ कहिल्यै झिँजो लाग्दैन मलाई । बरु उल्टै त्यस्तो पलमा जीवनलाई अझै नजिकबाट बोध गर्न सकेको आभाषले म पुलकित हुने गर्छु । आफू आफैँभित्र कतै गहिरोसित छोइएको अनुवभ गर्छु र सिर्जनात्मक बन्न प्रेरित हुन्छु । जीवनबारे अलमलिएको त्यस्तै एउटा क्षणमा मैले ‘जीवन’ शीर्षकमा एउटा कविता रचेकी थिएँ । त्यो कवितामा जीवनबारेको आफ्नो बुझाइलाई मैले अभिव्यक्ति दिएकी छु । त्यो कविता यहाँनिर तिमीलाई सुनाउनु शायद प्रासंगिक नै होला भन्ठान्छु म । सुनः

सम्बन्धित पोस्टहरु

जीवन

देखेँ देखेँ जस्तो लाग्छ
हेर्न केही भ्याइँदैन
प्रश्नैप्रश्न जताततै
उत्तर कतै पाइँदैन
भीडहरूमा एक्लो–एक्लो
आफैँलाई आफू नौलो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि यो केही पनि होइन जस्तो ।

अन्त्यपछिको सुरु हो कि
सुरुबाटै अन्त्य हो यो
अनिच्छाको प्राप्ति हो कि
प्राप्तिको इच्छा हो यो
कहिले अत्यासको भीर जस्तो
कहिले उत्साहको उकालो यो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि यो केही पनि होइन जस्तो ।

हाँस्न खोज्दा आँसु झर्छ
पुछ्न खोज्दा रसाउँछ
तड्पाउँछ/बिझाउँछ
भाग्न खोज्दा पच्छ्याउँछ
कहिल्यै तृप्त नभइने
जीजिविषाको शूल जस्तो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि यो केही पनि होइन जस्तो ।

अभिशाप हो स्वतन्त्रताको
कहाली आफ्नै चेतनाको
अरोजाईको रोजाई यो
जिम्मेवारीको कबुल जस्तो
न खा’को विष हो यो
न ला’को प्रित हो
नजन्माको सन्तानको
माया मोहको रित हो यो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि यो केही पनि होइन जस्तो ।
(साभारः मधुपर्क , २०६५ साउन)

जीवनबारे थुप्रै रेडिमेड परिभाषाहरू पढ्न पाइन्छ । संसारभरिका कैयन् विद्वान् लेखक, दार्शनिक चिन्तकहरूले जीवनबारेमा एकसेएक परिभाषा बनाएर हाम्रो अगाडि टक्य्राइदिएका छन् । तिनै परिभाषाहरूमध्ये कुनै एउटा परिभाषालाई टपक्क टिपेर यहाँ त्यसैबारेमा मात्र छलफल गर्ने हो भने पनि तिम्रा प्रश्नहरूलाई सम्बोधन गर्न काफी हुन्थ्यो होला । तर म त्यसो गर्दिनँ, गर्न चाहन्नँ पनि । त्यसो गर्नु ढाँट हुन्छ । त्यसो गर्नु तिमीप्रति मात्र होइन, मैले म आफैँप्रति पनि ढाँट गरेको ठहर्छ । किनकि त्यस्ता रेडिमेड परिभाषाहरू कुनै पनि आफैँमा पूर्ण होइनन्, पूर्ण छैनन् । तिमी नै भनन, एउटा जीवन विषयलाई लिएर जब अनेक विद्वान्हरूले अनेक किसिमका परिभाषा पस्केका छन् भने तीमध्ये कुनलाई ‘सही हो’ ठानेर टिप्नु हामीले ? आखिर ती सब परिभाषाहरू सम्बन्धित विद्वान्हरूका आआफ्ना बुझाईका सीमा न हुन् ? बनिबनाउ त्यस्ता परिभाषाहरू केवल कामचलाउ बुझाईहरू मात्र हुन जीवनबारेका । आजसम्म ज्ञानको दुनियाँमा कसैले पनि जीवन विषयमा सर्वस्वीकार्य कोण निर्माण गर्न सकेको छैन । सबैले एकमुखले सहमति जनाउन सक्ने परिभाषा खोइ र आजसम्म कसैले बनाउन सकेको ? र, यदि कसैले ‘बनाउँछु’ भनेर तम्सिए पनि त्यो कुनै हालतमा सम्भव हुने कुरा होइन । तर्क त हरेकले दिएका छन् कि तिनले बनाएको परिभाषा नै जीवनको वास्तविक परिभाषा हो भनेर । तर यस्तो विषयमा तर्क काफी हुन्न , अनुभवको पत्यार बढी महत्त्वपूर्ण ठहर्छ । अर्काको विश्वास जित्न सक्नु एउटा कुरा हो तर अनुभव कसैको पनि अर्को कुनै व्यक्तिले जित्न सक्तैन । एउटा मान्छेको अनुभवभित्र अर्को मान्छे कुनै हालतमा पनि छिर्न सक्तैन, भलै त्यो जतिसुकै नजिकको मान्छे किन नहोस् !

कसैलाई कुनै एउटा चिन्तकले अघिसारेको विचारमा विश्वास लागिदिनु र त्यसको पक्षमा उसले आफ्नो तर्क र बुद्धिसमेत खर्चेर वकालत गर्दै हिँड्नु एउटा कुरा हो, त्यो उसको रोजाइको कुरा हो । त्यसमा ठाडै केही भन्न नमिल्ला पनि । तर पनि मेरो भनाइ के भने – जब बनिबनाउ परिभाषाहरू कुनै वास्तविक सत्य नभई केवल सम्बन्धित परिभाषकहरूका आआफ्ना बुझाइहरू मात्र हुन् भने त्यो बोक्नु नै किन ? यदि ‘बुझाइ’ नै बोक्नु छ भने किन अर्काको बोक्नु ? आफ्नै बुझाइ बोक्नु सही हुन्छ नि ! होइन र ? कलेज विश्वविद्यालय तहका परीक्षाहरू पास गर्न अवश्य नै अर्काले बनाइदिएका त्यस्ता बनिबनाउ परिभाषाहरू घोक्नु पर्छ होला, घोकेरै मात्र पास गर्नु सकिन्छ होला त्यस्ता परीक्षाहरू तर जीवनको परीक्षा घोकेर पास भइन्न । तिमीलाई थाहै छ, जीवनको परीक्षा हरेकले भोगेरै पार गर्नुपर्ने हुन्छ ।

म ठान्छु, बनिबनाउ सिद्धान्त र शास्त्रहरू सबै बौद्धिकताका मानक हुन् । जीवन वस्तुतः बुद्धि र तर्कले समग्रमा ठम्याउन सकिने विषय होइन । तिमीले भनेको जस्तै यो जीवनमा सोच्तै नसोचेको खुशी एकाएक हात लाग्छ कुनै बेला, अनि फेरि कुनै बेला हात परिसकेको खुशी पनि त्यत्तिकै माछा चिप्लिएजस्तै गरी हातबाट चिप्लिएर सुलुत्त झरिदिन्छ । आखिर किन ? जीवनमा मान्छेले बखत बखतमा बिना दोष दण्डको भागी हुन बाध्य हुनु पर्ने किन ? त्यस्तो बेला किन उसले आफ्नो सफाई दिन नपाउने ? यो जगतमा आइसकेपछि हरेक व्यक्ति आफ्नो जीवनका यावत् पलहरू र परिणामहरूप्रति पूर्ण रूपमा उत्तरदायित्व निर्वाह गर्नु बाध्य बन्छ, तर प्रश्न के भने किन उसको जन्ममा चाहिँ उसको स्वेच्छाको हक चल्दैन । आखिर किन ? कुनै पनि बेला जे पनि भैदिनसक्ने अनिश्चितिको बन्दी किन सधैं बन्नुपरेको मान्छेले ? आखिर मर्नु नै छ भने जन्मन्छ नै किन मान्छे ? किन मृत्युलाई कसैले पनि नाघ्न सक्तैन ? आदि यावत् प्रश्नहरू जीवनका अनुत्तरित प्रश्नहरू हुन् । यद्यपि यी प्रश्नहरूलाई हल गर्न विभिन्न दर्शनहरूमा विभिन्न तर्कहरू अगाडि सारिएको पाइन्छ, कारणहरू बुझाउन प्रयास गर्न खोजिएको भेटिन्छ तर त्यो सबै प्रयास केवल ज्ञानको गुठरी मात्र सिद्ध भएका छन् । सम्बन्धित चिन्तकका आआफ्ना ज्ञानका सीमाहरू हुन् ती । यी प्रश्नहरूबारे अकाट्य उत्तर कसैले पनि ठम्याउन सकेको छैन, कुनै तर्कले पनि यी प्रश्नहरूको मुख सदाका लागि थुन्न सक्दैन । मान्छेको जीवनबाट अस्थिरता र अनिश्चितताको भय सदाका लागि उप्काएर फालिदिन सक्ने तागत आजसम्म कुनै तर्कले बोक्न सकेको छैन, कहिल्यै सक्तैन पनि । तर्कहरू जीवनको गहिरो सत्यबाट भाग्ने बञ्चना मात्र हुन् । जीवनका यावत् अनुत्तरित सवालको हल तर्कबाट कहिल्यै निसृत हुनसक्तैन । एक प्रकारले भन्ने हो भने तर्कहरू फगत ढोंग मात्र हुन् सुन्दर आवरणका । सत्य हो केवल अनुभव मात्र । अनुभव भन्दा तीखो सत्य अरू केही छैन जीवनमा । व्यक्तिलाई उसको अनुभव र भोगाईले सिकाएको जस्तो गरी जीवनको चोटिलो पाठ अरू कसैले सिकाउन सक्तैन, पढाउन सक्तैन । जीवनको दुर्दमनीय अत्यास अर्थात् अस्थिरता र अनिश्चितताको कहालीलाई थेग्न हरेकले आफ्नै अनुभवका आधारमा आफूभित्र आफैँ आफ्नो ‘आड’ निर्माण गर्नु पर्छ, गर्न सक्नु पर्छ । म त भन्छु – विचार सबैको पढ्नु, सबैको विचार सुन्नु , त्यो पढाइ र सुनाइलाई आवश्यक मात्रामा मनमा गुन्नु पनि, तर अन्धो भएर कदापि कसैको विचार पछाडि नकुद्नु तिमी । आफ्नो ‘आफू’ लाई कदापि नहराउनु; नअल्पाउनु तिमी । आफ्नो अनुभव र भोगाइले सिकाएको पाठलाई तिमी कदापि कम नआँक्नु । जीवन भोगाइलाई नै मुख्य साक्षी बनाएर जीवन विषयक आफ्ना तमाम प्रश्नहरूबारे आफ्नो बुझाइ तिमी आफैँ ठम्याउन बल गर्नु ।

तिमी मेरी प्रिय विद्यार्थी, मन मिल्ने साथी पनि हौ तिमी मेरो । तर के गर्नु, चाहेर पनि म तिम्रो अनुभवभित्र पस्न सक्तिनँ । तिम्रो अनुभवको तहमा उत्रिएर तिम्रा प्रश्नहरूको उत्तर म तिम्रा लागि तयार पारिदिन सक्तिनँ । तिम्रा लागि म आफू जीवनको रेडिमेड परिभाषा बन्न सक्तिनँ । अझ नढाँटी भन्ने हो भने, आफ्नै लागि पनि म जीवनको त्यस्तो कुनै औपचारिक परिभाषा बनाउन सक्तिनँ । म त केवल अनुभव मात्र गर्न सक्छु आफ्नो जीवनलाई । केवल बोध मात्र गर्न सक्छु आफ्नो जीवनलाई । र, जीवनले मलाई सिकाएको जीवनबारेको मेरो बुझाइ मात्र तिमीलाई बताउन सक्छु, तिमीलाई सुनाउन सक्छु । मेरो बुझाइमा यो जीवन अनगिन्ती विसंगतिहरूको भीडमा सधैँ संगतिको खोजी गरिबस्ने गर्ने एउटा अद्भुतको साहस हो; आशाको रहरलाग्दो अनुहार हो । दुःख जीवनको जग हो, सुख यसको जलप । त्यसैले त दुःखमा पनि सधैँ सुन्दर देखिन्छ जीवन; सधैं सुन्दर (जस्तो) लाग्छ जीवन !

प्रश्नहरू जीवनको उकुसमुकुस र अत्यासहरूलाई खुकुलो पार्ने एउटा मिठो कला हो । अनि जीवनमा आफू ‘हुनु’को बोध पनि हो त्यो । जीवनमा प्रश्न उठाउन सधैँ आँट गरिरहनु पर्छ । प्रश्न रस हो । प्रश्न तरंग हो जीवनको एकरसतामा । प्रश्न गर्न छोड्नु भनेको जीवन सकिएको वा सकिदै गएको कुराको संकेत हो । त्यो संकेतलाई प्रश्नको बलले सकेसम्म ठेल्दै पछाडि धकेल्न बल गर्नु पर्छ हरेकले । प्रयासमा सफल भइएला वा नभइएला, त्यो बेग्लै कुरा हो तर इमानदार प्रयास गर्न कदापि छोड्नु हुन्न जीवनमा । यो कुरा मलाई जीवनले नै हो सिकाएको, जीवनले नै हो बुझाएको । यो जीवनलाई छाम्दा कहिलेकाहीँ त मलाई अचम्मै पनि लाग्छ ! भय पनि यसैभित्र छ, भर पनि यसैभित्र । अत्यास पनि यसैभित्र छ, आश्वासन पनि यसैभित्र । पीडाको पोखरी हरदम यसैभित्र छड्किरा’छ, खुशीको मूल पनि यसैभित्र फुटिरा’छ । कसरी यसले आफूभित्र एक्कै साथ परस्पर विपरीत पात्रताका तत्त्वलाई समान सन्तुलनमा उचालिबस्न सकेको होला ? लाग्छ, यो जीवन आफैँमा एउटा घाउ हो र आफैँमा त्यो घाउको औषधि पनि । जीवनबारेको आफ्नो बुझाइलाई सारमा अभिव्यक्ति दिनु पर्दा म भन्छु– जीवन यथार्थमा विरोधाभाषको एउटा मिठो तनाव हो । तनाव ! तर मिठो ! मिठ्ठो तनाव !!

प्रतिक्रिया
Loading...